Ram Prasad Prasain – Lajjawati ‘Girish’ Ma (Poem 2)

रामप्रसाद प्रसाईं – लज्जावती ‘गिरिश’ म

प्रतिरोधबिहीन
नि:शब्द
लज्जावती

/
ला

(टच-मि-नट)
भन्दा भन्दै
प्रयोगशालामा,
कायापलट हुन्छु
कुमारी आमामा।

एक पृथक पहिचान
मान्छे न/हुनुको
पीडाले बांचेको
बिबश अस्तित्व
‘काफ्काको झुसिल्किरो’
शनै शनै
बागमती क्षेत्रमा
‘गिरिश’ बन्छ भने
मान्छे भन्दा
ढुङ्गो बढी बोल्छु,
म।
भूमण्डलको
‘टेक्टोनिक’ कम्पनमा,
लाभा-लाभा फालिंदै
ज्वालामुखीमा,
चांदीको घेरा भेट्ने
बिबिध अश्रु-अग्नि
म बिबश रामवाण,
उत्तोतर प्रगतिको कामना
अ/घोषित
मृत्युरेखामा।

अ/स्वीकृत अनुहारहरू
चेतनाका फालीहरू
युध्दोतर अभिष्टहरू
समयको चेपारोमा,
विश्रृङ्खल श्रृङ्खलाहरू
बेकम्मा आस्थाहरूका
लालपुर्जाहरू
एक बिबश मान्छे
सुकुम्बासीको
धनीपुर्जा
सम्बन्धबिछोड
गर्छ,
एक सुकुमार
स्वामित्वको।

अ/चेत
बिम्मतिका
विधेयकहरू
मोर्चाबद्ध
प्रारित भइरहेछन्
किनकि
मेट्रोपोलिसको चश्माले
चोमोलोङ्गमाको
घेटोटाइजेसन नियाल्छ,
मरियाना ट्रेन्चलाई
दुरबीन लगाएर।

जुलाई २५, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Purna vaidya – Pani Ko Artha

पूर्ण बैद्य – पानीको अर्थ

सायद, पग्लनुको अर्थ,
पानी हो –
ठोस-कठोर तिमी
आफ्नो स्वार्थमा
जब कहिले पग्लन्छौ
करुणाको घाममा

तिम्रो आँखामा
पहिले पानी नै त देखा पर्छ
जसले तिमीभित्र भित्र सुक्दै गइरहेको
जुन मानवताको बीज छ
त्यही यसले भिजाउँछ

पहिले, बीज नै नभिजिकन
कहाँ के उम्रिन्छ र ?
तिम्रो हृदय फाँटहरूमा ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Geeta Karki – Bhid Haru Ma Eklo Yatra Gariraheki Nora

गीता कार्की – भीडहरुमा एक्लो यात्रा गरिरहेकी नोरा

हुनसक्छ नोरा यही कतै होस्
आहतदेखि आहतसम्मको यात्रामा
आफूलाई सडकमा ओछ्याएर
आफै गाडी कुदाइरहेकी होस्
दन्त्यकथाको शिशिरजस्तै
हराएकी होस् अर्कै भूगोलमा

सायद इब्सेनका आँखाहरूमा
अपराजिता फुलेकी होस् नोरा
इब्सेन फूलका शैय्यामा
भोल्तेयर, दाँते र सेक्सपियर पढिरहेका हुन्
र टोल्भार्ल्डहरू पुतली नचाइरहेका हुन्
पुतलीहरू-
पाउजेबका सङ्गीतहरू रोकेर अनायास
बढारिरहेका हुन् सुकेका पतकरहरू

हुरीपछिको मौन आकाशमा
फेरि ताराहरू बल्छन्
कमल फुल्छ पानीमा
भीडहरूबीच एक्लो यात्रा गरिरहेकी नोरा
विस्थापित हुन्छे यात्रामै

उसका प्रश्नहरूले जवाफ पाऊन्-नपाऊन्
इनसाइक्लोपिडियाका पानाहरू नै उसका अर्थहरू हुन्
क्षितिजका रङ्गहरू नै उसका सपनाहरू हुन्
आफू हिंडेका-नहिंडेका बाटाहरूमा
कतै भीरहरूमा
ऊ अपराजिता फुलेकी होस्
म उसलाई तिनै बाटाहरूका, भीरहरूका
सेता-निला फूलहरू चढाएर
नियाल्छ-
क्षितिज, आकाश र बस्तीहरूमा
र, ऊ भिजेका बस्तीबाट उठेका बाफ
उसका घाउका रेखाहरूबाट कोत्रिएका वेदना
पग्लिरहन्छन् हरपल मेरा आँखाहरूबाट ।

Bimal Vaukaji – Garba

विमल भौकाजी – गर्व
(नेपाल साप्ताहिक ३९७)

मसँग एउटा सुन्दर देश छ
मसँग चन्द्र-सूर्य अंकित झन्डा छ
तर, तिमीसँग के छ ?

मसँग अग्लो सगरमाथा छ
मसँग शान्तिवाहक बुद्ध छ
मसँग लालिगुराँस छ
मसँग डाँफे-मुनाल छ
मसँग फेवा-रारा छ
तिमीसँग के छ ?

मसँग वीर बलभद्र छ
मसँग स्वाभिमानी अमरसिंह छ
मसँग बडामहाराज पृथ्वीनारायण छ
मसँग चेली भृकुटी छ
मसँग कलाकार अरनिको छ
तिमीसँग के छ ?

मसँग कवि भूपी शेरचन पनि छ
मसँग उसको कविता पनि छ
र, कवितामा एउटा साँघुरो गल्ली छ
‘साँघुरो गल्लीमा चोक छ
त्यहाँ के छैन ? सबथोक छ
असङ्ख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ ।’
तर, तिमीसँग के छ ?
भन, के छ तिमीसँग ??

Shreeshisha Rai – Sapana Ko Wari Pari

श्रीशीशा राई – सपनाको वारीपारी

कतै निदाईहाले पनि अबदेखि
कहिल्यै पुरा नहुने सपना नदेखुँ भनेर
सुतेको हुँ म
निदाउनु एकछिन अघिसम्म पनि
दुनियाँलाई सपना मात्रै नबाढुँ भनेर
मुठ्ठी उठाईरहेको थिएँ

सपनामा–
मेरो देशभित्र एउटा देश माग्छ हाङ बुद्धिकर्ण
तर देश देश जस्तो हुनलाई शान्ति चाहिन्छ भन्छ
चमार हल्लाउँदै उसले ढ्या……म्म ढोल बजाएपछि
मैले सौहार्दतामा जाँडको एक सुरुप पिएँ र
एउटा शान्त देश हातमा राखिदिएँ
उसले जीतको उल्लास मनायो

विउँझिदा
विपनासँग समागमका लागि
मेरो पाइला एक कदम अघि थियो
यहिनेर लोडसेडिङ, भोक र अँध्यारो बाटो थियो
आफ्नै लामखुट्टेहरुले झुलको छिद्रवाट चोरेर
मेरो पाखुरा चुसेछन्
कन्याउँदा कन्याउँदै
भुईमा खसेको कलम टिप्न पाइनँ मैले
सँगै सुतेकी मेरी श्रीमति विरालो झैँ घुरिरहेकी छ
म उनलाई विउझाउन सक्दिन किनभने
अन्तरसंघर्ष छ, बोलचाल छैन

ई यसरी,
विपनातर्फको मेरो यात्रा अल्मलिन्छ
र मेरा सपनाहरु सँधै व्यर्थ हुन्छन्

तरहरा, सुनसरी

Komal Bhatta – Ki Ta Timle Pratibha Nai

कोमल भट्ट – कि त तिम्ले प्रतिभा नै (गज़ल)

कि त तिम्ले प्रतिभा नै लुटेको भे हुन्थ्यो
नत्र तिम्रो खराव आदत छुटेको भे हुन्थ्यो

निन्दनीय कार्य गर्छौ लुकी छिपी सधैं
समीपमै आई बरु कुटेको भे हुन्थ्यो

सत्यताको आँखा भित्र छारो हाल्नलाई
कठालोमा समाएर चुटेको भे हुन्थ्यो

देख्दा राम्रो अनुहार कपट राख्ने मनमा
जालीसङ्ग सबको नाता टुटेको भे हुन्थ्यो

भित्तो भित्तो चाहारेर चोट दिनु भन्दा
घरमै बसी थाङ्ना भोटा खुटेको भे हुन्थ्यो

तिरस्कृत हुने कर्म आजै देखि त्याग्दै
आफैँ कोशिश गर्छु भन्दै जुटेको भे हुन्थ्यो

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Bhojraj Baral – Aama Malai Pani Euta Chhuttai Desh Chahiyeko Chha

भोजराज बराल – आमा मलाई पनि एउटा छुट्टै देश चाहिएको छ

कोशी रिसाउदा अस्तित्व मेटिनेहरुलाई
सडकबाट कोशौ हिंडेर मात्रा छानो देखिनेहरुलाई
प्यास लाग्दा अरुको मूल ताक्नु पर्नेहरुलाई
पैरोले गाउँ नबगाओस भनी देवी देउता भाक्नु पर्नेहरुलाई

आजका नेपालीलाई नेपाल होइन थुप्रै छुट्टै देशहरु चाहिएको छ
आमा मलाई पनि एउटा छुट्टै देश चाहिएको छ

सगरमाथा र चीनाउने हिमाल पनि सिमानामै तेर्सिए
सिद्धार्थ भारत गएरै बुद्ध भए
सितालाई पनि बिदेशमै बिहे गरियो
अरनीको चीन गएर मात्रै चिनियो
राजा पनि हिन्दूस्तान बाट आएका रे
पशुपतीमा पनि बाहिरैकाले पूजा समाले

सबैलाई बिदेश सँग नाता गासेरै भलो भएको छ
त्यसैले आमा मलाई देश भित्रै बिदेश चाहिएको छ

गासका लागि वा बासका लागि
ऐश्वर्य खोज्न वा ऐश्वर्य लुकाउनका लागि
सके ज्ञानका लागि नसके ज्ञानकै निहुमा
बहादुरीका लागि वा बाध्यताको पिठ्युमा

सबैलाई जानै पर्ने त्यो बिदेश मलाई पनि चाहिएको छ

नेपाल होइन नेपाल भित्रै थुप्रै छुट्टै देशहरु चाहिएको छ
मलाई नेपाल भित्रै थुप्रै छुट्टै देशहरु चाहिएको छ

– London

Shiva Prakash – Asat Dristi

शिव प्रकाश – असत् दृष्टि !

म अहिले जहाँ छु
त्यसैलाई राम्रो मानिरहेको छु
राम्रोमात्र हैन,
अति राम्रो !
तर जहाँ सधैं
नराम्रोको खोजी भइरहेको हुन्छ
जस्तो कि
एटम बम !
अहिले म जहाँ छु
त्यसैलाई सुरक्षित मानिरहेको छु
सुरक्षितमात्र हैन,
अति सुरक्षित !
तर जहाँ सधैं मानवीय विनासको
उद्योग चलिहरेको हुन्छ
जस्तो कि
आणविक भट्टी !

Anju Subedi – Parkhaai (A Love Poem)

अन्जु सुबेदी – पर्खाई ( A love poem)
आँखाहरु बिछ्याई रहें,उनी हिड्ने गोरेटोमा
मन मेरो ओछ्याई रहें ,आशाको उहि डोरेटोमा
चराहरु वास बसे ,सुन्य भयो बाँसघारि
नयनहरु चियाई रहें ,झ्यालबाट घरि घरि /

देख्दै Continue reading “Anju Subedi – Parkhaai (A Love Poem)”

Dr. Madhu Madhurya – Bigyapan

डा. मधु माधुर्य – विज्ञापन

नखुर्मुरुन्जेल
वीरताको भूमिकामा
कहालीलाग्दो भीरको बाटो हिंडेर
युग-युगान्तर
समयलाई/ संसारलाई तर्साइरहेका छौं
केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं
कसैको अनुरोधमा
आफैलाई गिराइरहेका छौं

संदिग्ध बिज्ञापन झन् झन् फणा उठाईरहेको छ:
पित्तललाई सुन भनेर झ्याली पिटीरहेछ
हाम्रा यान्त्रिक / दिग्भ्रमित आँखाहरु टोलाईरहेका छन्
कांचलाई हिरा भनेर फलाकिरहेको छ
हाम्रा यान्त्रिक/ भुत्ते कानहरु चुपचाप सुनिरहेका छन्
अब सुनलाई सुन भन्न गाह्रो भो !
अब हिरालाई हिरा भन्न गाह्रो भो !
हाम्रै नेताको भाखामा
विज्ञापनले विश्व-मानचित्रमा
देशलाई अन्तै कतै देखाउने दुस्साहस गरिरहेछ
अब देशलाई देश भन्न पनि गाह्रो भो ?
पन्चामृत र सर्वत सुकाएर
विज्ञापन हामीलाई कोला-विष पिलाई रहेछ
हामी आमाले खुवाएको दूध बिर्सेर रमाईरहेका छौं
स्मृतिको दस्तावेजमा आफैलाई मेट्ने चेस्टा गरिरहेका छौं

जीवन-समापनका श्रृंखलाहरु छन्
विज्ञापनमा –
रंगीला आकृति / रातहरु छन्
मृत्युका आवाज/ छायाहरू छन्
सेक्स र नशाहरु छन्
कहाँ छन् विज्ञापनमा
फूलको स्पर्श र सुवास?
उर्लेको आस्था र साँचो प्रेमका तरंगहरु ?
देशभक्ति र मानवताका भावनाहरु ?

लौ हेर !
फेरि पनि बिज्ञापनको पर्दामा
आधुनिक भष्माशुरहरु
सल्बलाईरहेका छन्
देश सम्झेर आफ्नै पुर्पुरोमा
कतिखेर हातहरु बिसाउँछन्
थाहा छैन…..
आऊ
टुटेफुटेका हातहरु जोडेर
राम्रो प्रार्थना गरौँ |

Bibek Dulal Chhetri ‘Damak’ – Rahar Ko Lagi Rahar (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – रहरको लागि रहर (गजल)

रहरको लागि रहर पालेर के काम
आफूसग भएको खुशी बालेर के काम

प्रपंचको आवरणमा लुट छ सर्वत्र
जो देखियो एक एक गरी टालेर के काम

जो कोहीलाई कहा मिल्छ र प्रेम विरासत
विछिप्त सिउदोमा सिन्दुर गालेर के काम

पैसा कमाउन रहर कस्लाइ हुन्न र
तर कालो धन अगालो हालेर के काम

उस्को हत्या भो -”स्कुल सट्टा मन्दिर बनाएँन रे ”
अब हर आस्थाको धरोहर ढालेर के काम

नहिडेको बाटो हिड्न मन लागेको छ मलाइ
विवेकले अमुल्य समय फालेर के काम.

अस्तु

दमक ,झापा

Prakar Antar – Bishwas

प्रकार अन्तर – विश्वास
(Sent to Sanjaal Corps via Email)

१.
मलाई
आस्थाका बिम्बहरु मन पर्छ
फूलका पत्र-पत्रहरु,
त्यहाँ अडिएका शितका थोपाहरु,
बिहान उदाउने घाम
र त्यही शितको ऐनामा
त्यसको प्रतिबिम्ब !

मलाई प्रतिबिम्बहरुमा विश्वास छ
केही बिम्बहरु भयानक हुन्छन्
के भयानक हुँदैमा
अबिश्वास गर्नू ?
मैले देख्छु-ती छन्
र अझै हुनेछन्
गोधुलिको रक्तमुछेल आकाश
प्रभातको रक्तमुछेल आकाश
एउटा घाम डुब्दैछ
एउटा घाम उठ्दैछ
म देख्छु-ती छन्
मनमा सजाउनू र नसजाउनू
अर्को कुरा
मलाई विश्वास छ तिनमा
र तिनका प्रतिच्छायाहरुमा

२.
यो ढुकढुकमा सत्य !,
म बाँच्दिन पाप बोकेर
यो रामयुगमा सत्य !
बोल्दिन घुस खाएर
मलाई यो समयको सख्त प्रतीक्षा छ
लौ लैजाउ घाटतिर,
मान्छे मरेको छ
र उसको लासबाट
साँझमा यौटा अजिगंर निस्कियो ।
कस्ले लैजान्छ र ! घाटमा,
मान्छे मरेको छ।

Shreehari Luitel – Briddha Ko Spandan

श्रीहरि लुईटेल ‘दुःखी’ – बृद्धको स्पन्दन
(मधुपर्क जेठ, २०६८)

सुक्यो देह मेरो
मकैको ढोडसरी ।।
झर्‍यो पात मेरो
शिशिरको रुखसरी ।।
भए म आज किन
खोलाको बगरसरी ।।
लौरोको साथी भो
शरीर पनि भो लौरोसरी Continue reading “Shreehari Luitel – Briddha Ko Spandan”

Rakesh Karki – Nawa Barsha 2070

इन्जिनियर राकेश कार्की – नववर्ष २०७०

सूर्य जून ताराहरुले उज्यालो छरि
हाम्रो भूमिमा ल्याए नववर्ष २०७०
विदेशदेखि गोडाहरु समुन्द्र तरि
लौ आए मनाउन नववर्ष २०७०

हुन्छन् विवेकी हुन्नन् भ्रष्टाचारी
असल सोच देउ नववर्ष २०७०
डुबाउदैनन् देश कालोधन्दाले व्यापारी
लेनदेन सुपथ बनाउ नववर्ष २०७०

हुन्छन् दयावान हुदैनन् अत्याचारी
शुद्ध आत्मा देउ नववर्ष २०७०
हटाइदेउ लोभलालच कमिशनको भारी
कर्ममा विश्वास दिलाउ नववर्ष २०७०

संपूर्ण नेपाली मनमा प्रेम-सुधा भरि
शहर गाउँ आँगन आयो नववर्ष २०७०
सुख समृद्धि होस् देशले प्रगति गरि
बाँडिरहन्छ शुभ-कामना नववर्ष २०७०

Gopi Krishna Dhungana Pathik – Dherai Bhayo Maile Achel (Nepali Gajal)

गोपीकृष्ण ढुङ्गाना पथिक – धेरै भयो मैले अचेल।।।
(Source: मधुपर्क असार, २०६७)

धेरै भयो मैले अचेल गजल नलेखेको
त्यति नै दिन भयो सायद तिम्लाई नदेखेको ।

बात भन्नु मात भन्नु तिमी नै पो हौ कि
वर्षौंजस्तो लाग्छ किन दिन नभेटेको ।

तिम्रा बात तिम्रा मात सबै मेरा गजल
मलाई छल्ने चाँदले दाग किन नमेटेको रु

गुम्सिदिन्छन् भावना सब तिमी छाया पर्दा
चिसो भयो मनको गाँठो किन नसेकेको

Kamal Koirala – Asare Mahima

कमल कोइराला – असारे महिमा
(Source: मधुपर्क असार, २०६७)

चर्काे घाम कडा परेर जगमा सुख्खा छ सारा चीज
तिर्खाले मुख आँ… गरेर दिनमा सुक्छन् गराका बीज ।
सुख्खा भैकन वैलिएर नमरून् भन्दै फिँजाई दया
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
र्झछन् पर्वतबाट श्वेत झरना खोला र खोल्साहरू
देखिन्छन् हरिया वनस्पतिहरू उस्तै पहाडी तरु ।
पानीको भल बग्छ खेतभरि नै भिज्छन् सबैका गरा
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
धस्छन् हातहरू सिँगार्न धरती सङ्घर्ष ठूलो गरी
देखी पौरख त्यो किसानजनको गाथा कहन्छे चरी ।
जोती खेत हिलो भएछ धरती हो बीउ रोप्ने कहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
खेताला अघि नै तयार अनि ती जोत्ने र खन्नेहरू
खप्छन् घाम, झरी सही दुख सबै भोकै मरून् ती बरु ।
गाई गीत कहीँ, कहीँ छमछमी नाच्छन् असारे जहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
खोलाको जलले हिलो दबदबे पारिन्छ धर्ती जब
हेर्दै फाँटतिरै कसेर पटुकी सानी झरिन् ती अब ।
हाँस्दै काम गरी ठिटा अनि ठिटी बूढा र पाका त्यहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
नेपाली त्यो सपना दिमागभरि नै उब्जाउँछन् रासन
जुट्छन् पौरख गर्न मानिसहरू धान्नै छ यो जीवन ।
यस्तो कार्य हुँदै रहोस् झिलिमिली बर्सेनि नौलो यहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।

Manoj Kafle (Mansoon) – Lama Lama Kesh Rasi

मनोज काफ्ले मनसुन – लामालामा केशरासी

लामालामा केशरासी सर्सिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा

सरसर हावा बहिरहयो दुपटाले दाउ हेर्यो
छरपस्ट अंग छोड्यो घर्सिएर लुक्नखोज्दा

गर्जदा Continue reading “Manoj Kafle (Mansoon) – Lama Lama Kesh Rasi”

Dr. Khumnarayan Paudel – Antim Raat

डा. खुमनारायण पौडेल – अन्तिम रात

तिम्रो प्रस्थानपछि
जूनले कतै बिसाउनेछ आफूलाई
घामले उम्रिन बिर्सिने छ क्षितिजमा
अँध्यारो झन् अँध्यारोभित्र
साउती मात्र गर्नेछन् चराहरू
शोकाकुल पहाडहरूमाझ
बग्नेछ निशब्द एउटा नीरनदी
तिम्रो प्रस्थानपछि

तिम्रो प्रस्थानपछि
कोठाका हरेक भित्तामा
टाँगिनेछन् शून्यताका क्यालेन्डरहरू
सोफा, मेच र पलङहरूमा
लम्पसार पर्नेछ गहन रिक्तता
कोठाको हरेका कुनाबाट
चियाउनेछ मौनताको निरीह अनुहार

तिम्रो प्रस्थानपछि
अडिने छैनन् आँखा
पुस्तकका पानाहरूमा
देह, सडक-घर, घर-सडक गर्ने
एउटा सटलबस बन्नेछ
मनभरि बास बस्नेछ एउटै उदास ऋतु
झर्नेछन् इच्छाहरू भईभरि
र्झछन् जसरी-
शरदमा म्यापलका पातहरू

अडिनेछन् घडीका सुइहरू
दिक् र काल निर्वासित हुनेछन्
तिम्रो प्रस्थानपछि

Komal Shrestha Malla – Rojai

कोमल श्रेष्ठ मल्ल – रोजाई

सडकमा
सचेत वा अचेत पदचालहरु
अनि
धर्ती प्रलयका भावना
देखेर ताराहरु जुन संग जिस्किँदै
अन्धकार धावा गर्जन्छन

बादलको तँछाड मछाडमा
बर्षा पन्छिएर
पवन जुहारी खेल्दै
नतमस्तक भैरहन्छ
बेदनाको बाढी पहिरो
पहाड भोगेर
किरण ?
समथर फाँटहरु
चिच्याउदै चिच्याउदै
कुस्तीमा हिमाल छेक्न
नटुङ्गीने फन्को मार्दैछ ??
जलनका विश्वास
आ आफ्नै परिधी बिर्षेर
टुक्कीमा धिप धिप गर्दै
बिभत्स ..
हारमा
छलाङ मार्दै
विजय उत्सब
कल्पनामा दौडाउदै
मात्र बतासे सपना भोगी रहेछ
बन्द गतीको मती
अन्त्यको ज्योति
हात काटेर
काध भाचेर
अनादरका लाचार भारमा
मात्र मृत्युको यात्रा
रोजी रहेछ ?

Sulochana Manandhar – Suryodaya

सुलोचना मानन्धर – सूर्योदय

उठें,
खोजी गरें उज्यालोको।
क्षितिज-
परैबाट मुसुक्क हाँसी
सकी नसकी।
प्रसव पीड़ामा रहिछ ऊ – बिहानै देखी।
कस्तो थियो पीड़ा कुन्नी!
रक्ताम्मे भई क्षितिज – हेर्दा हेर्दै।
सृष्टीको पीड़ा
सर्दै सर्दै आयो ममा पनि
* आमाले सन्तान जन्माउन आँटिछ।
ओहो! क्षण भरमै जन्माई सकिछ
सूर्यलाई।
हेर्दा हेर्दै
एउटा ज्योतिर्पुञ्ज
उज्यालो छर्दै छर्दै फिंजिईसकेछ आकाशभरी
कति छिटो हुर्केछ सूर्य!
ज्योतिर्मय भयो संसार।
बुढ़ी परममाता –
ती जगज्जननी
आँफै धाई बनेकी रहिछन्!
सन्तुष्ट भई मुस्कुराइन् ती पनि
बाल सूर्यको जन्ममा
अनि
जन्माउनु र जन्मिनुको पवित्र पीड़ालाई
पोको पारिन् अनुभवी हातहरुले
र लुकाईदिइन् सृष्टीको एउटा खोपामा
जतन गरेर।
बाल सूर्यकी सन्तुष्ट आमालाई
बधाई भन्नै बिर्सेछु मैले
मनमा गुञ्जीरह्यो एउटै ध्वनी
“ॐ सूर्याय नमः”