Bhojraj Baral – Aama Malai Pani Euta Chhuttai Desh Chahiyeko Chha

भोजराज बराल – आमा मलाई पनि एउटा छुट्टै देश चाहिएको छ

कोशी रिसाउदा अस्तित्व मेटिनेहरुलाई
सडकबाट कोशौ हिंडेर मात्रा छानो देखिनेहरुलाई
प्यास लाग्दा अरुको मूल ताक्नु पर्नेहरुलाई
पैरोले गाउँ नबगाओस भनी देवी देउता भाक्नु पर्नेहरुलाई

आजका नेपालीलाई नेपाल होइन थुप्रै छुट्टै देशहरु चाहिएको छ
आमा मलाई पनि एउटा छुट्टै देश चाहिएको छ

सगरमाथा र चीनाउने हिमाल पनि सिमानामै तेर्सिए
सिद्धार्थ भारत गएरै बुद्ध भए
सितालाई पनि बिदेशमै बिहे गरियो
अरनीको चीन गएर मात्रै चिनियो
राजा पनि हिन्दूस्तान बाट आएका रे
पशुपतीमा पनि बाहिरैकाले पूजा समाले

सबैलाई बिदेश सँग नाता गासेरै भलो भएको छ
त्यसैले आमा मलाई देश भित्रै बिदेश चाहिएको छ

गासका लागि वा बासका लागि
ऐश्वर्य खोज्न वा ऐश्वर्य लुकाउनका लागि
सके ज्ञानका लागि नसके ज्ञानकै निहुमा
बहादुरीका लागि वा बाध्यताको पिठ्युमा

सबैलाई जानै पर्ने त्यो बिदेश मलाई पनि चाहिएको छ

नेपाल होइन नेपाल भित्रै थुप्रै छुट्टै देशहरु चाहिएको छ
मलाई नेपाल भित्रै थुप्रै छुट्टै देशहरु चाहिएको छ

– London