Parmananda Sapkota – Prem

परमानन्द सापकोटा – प्रेम

हाम्रो प्रेम त दुई मनको पिंजडा थियो प्रिय
ताल्चा हामिले नै लगाएका थियौ ।
चाबी त हामीसँग मात्र थियो
संग संगै खोल्ने वाचा गरे कै थियौ ।
तिम्रो हातको चाबी हरायौकी कसैले चोरीदियो प्रिय
की त नाट्यकर्मिको भूमिकामा थियौ ।
संसार पनि त एक नाटक घर नै हो प्रिय
अकस्मात किन खलनायकको भेषमा आईदियौ?
फलामका डण्डिभन्दा बलिया मेरा भावानालाई प्रिय
पिंजडाकै कसिङ्गर बनाईदियौ
तर थाहा छैन तिमीलाई प्रिय
मेरो जिवन अर्कै पिँजडा बनिदियो ।
म पनि त ब्याकुल बनेको छु नि प्रिय
समय र परिस्थितिले ताल्चा लगाईदियो ।
के शिशिर पछि बसन्त आऊदैन र प्रिय
देख्ने आँखालाई नै अन्धो बनाईदियौ ।

J B Sherpa – Desh Dukhi Raheka Ghau Haru

जे बी शेर्पा – देश दुखीरहेका घाउहरु

छाक जुटाउन धौ धौ परे पनि
मिठो खान र राम्रो लाउन चाडै कुर्न परे पनि
धुलो र पसीना जीवन भए पनि
साग सिस्नु र ढ़िडोमै हुर्के पनि
बचे खुचेको केही थोत्रो आशा बाहेक
मलाई तिमी संग खासै गुनासो थिएन ए काठमांडू !
तर आज
म आफ्नै देशमा वैरीहरुद्वारा लुटियी रहेछु
लखेटीइ रहेको छु
शरणार्थी बनेको छु
अनि देख्छु, मेरो भत्किएको घर आँगनमा
तिरंगा ** को कालो छायाँ
उ, सुन्दै छु फेरी पनि ,
सीमापारबाट बुटहरुको गड्याम गड्याम क्रूर आवाजहरु
अर्को गायत्री ** र देबी ** को खोजीमा आउदैछ
अर्को दशगजा सारिदै छ र विर्खमानहरु मारिदै छन्
साथ साथै मेरो अस्तित्व, अस्मिता र स्वाभिमान
क्रूर हाँसोसंगै बुट मुनि दबाई रहेछ
एक्कासी छाती दुखेर आउछ , घाऊहरु बल्झिनछन
म हठात आँत्तिन्छु , रुन्छु भक्कानिएर
काठमान्डूलाई गुहार्छु आर्तनाद गर्छु
आँसु रित्तिन्छ
धेरै पछि काठमान्डू बोल्छ – “तिम्रो आँसु र रगत झूठ हो”
ए काठमांडू ! एक पटक आफैंलाई चिमोटर हेर
मेरो आँसु र रगतको आलो टाटो ,
अनि यी देश दुखी रहेका घाऊहरु बाहेक
के दशी प्रमाण देखाऊ ?
तै पनि भन्छु यी सारा घाऊहरु छोप्दै
भैगो तिम्रो सुरक्षा,सहारा र विकाशको आश्वाशन चाहिन्न
म केवल मेरो माटो चाहन्छु , उखेलिएको जंगे खम्बाहरु जहाँ को त्यहीं चाहान्छु
म केवल मेरो माटोमा देशको झंडा फरफराएको चाहन्छु
ए काठमांडू कहिले काहीं ,
अमर सिंह, भक्ति थापा र बलभद्र कुँवरको वीर गाथाहरु सुन्ने गर
शहीदहरुको देश प्रेम बुझ्ने गर
मलाई थाहा छ तिमी अचेल लेंदुप दोर्जे झै
लोभिएका छौ,वहकिएका छौ
हामी कहिल्यै शासित थिएनौ
लढयौ, मर्यों तर सिर झुकाएनौ
एक पटक त सोच फेरी, एक पटक त रोज फेरी
दास बनेर दरवारमा वस्नु या
स्वतंत्र भएर छाप्रोमा वस्नु ?
दास बनेर हैदरावादी बिरयानी खानु कि
स्वतंत्र भएर गुन्द्रुक ढिँडो खानु
दास बनेर अत्याचार सहनु राम्रो कि
स्वतंत्र भएर डटेर लड़नु राम्रो
ए काठमांडू !
म आज फेरी देश दुखी रहेका घाऊहरु छोप्दै
छातीमा ज्वालामुखीहरु सम्हाल्दै
अंतिम पटक तिमीलाई पर्खी रहेको छु ।

Mukesh Rai – Abiral Bagirahechha Maai Ra Jogmaai

मुकेश राई – अबिरल बहिरहेछ माई र जोगमाई

उषाको लाली बनी स्पर्श गर्छ सुर्यको नवज्योतिले
जब श्री अन्तु र सन्तकपुरको शिखर
ब्युझन्छन जगत एक भई नवनिर्माणमा
जुटछन सारा नेपाली बोकी सुनौलो आकांक्षा प्रखर
असीमित निलगगनको आँचल तल
टलपल शितका मोती बटुलेर सिँगारिन्छे हरियाली चियाबारी
हरदम दुईपाते सुइरो बोकी एकताको माला गाँस्न
प्रयत्नरत छन फिक्कल र कन्याम
सिद्धीको चन्चल छङ् छङ् कहीँ
नागबेली बनी सुसाइ रहने यहीँ छ सुनमाई
शरद ऋतुमा नाची हिंड्ने नवरङी पुतली झै
मन मस्तिस्क भरी बसेका छन मेरो सुन्दर गाउँ
अनि बालापन
ति मयुरपंखी दिनहरुका धुमिल यादहरुमा
समेटिएका मेरो बर्तमान परदेशी परिबेश
बिबश, वाध्य म छोडि आएँ त्यो प्यारो घरदेश
श्री अन्तु वर्षौंदेखि अतिथी आगमनमा सु-स्वागत भनी उभिएकै छ
सल्लेरी र जितपुर ईलामलाई हरीयालीले श्रीगाँरेर मुस्काइ रहेकै छ
कहिले लालुपाते,चाँप,गुराँश र चिमलको सप्तरङमा सजिएर सन्तकपुर
कहिले बादलको घुम्टो ओडी
न्यानो आभाष दिएकै छ देउराली
सुन फल्ने सुनमाई बेंशी, बुधबारे र दानाबारी
मङसिर पाकेर पँहेलपुर बनी सजिन्छे
बर्षौ भयो ईलाम त्यहिँ छे, परिबेश् त्यही छ
असारे रोपाई र हक्पारे घन्कीरहेकै छ,
शायद बद्लिएका छौ त हामी परदेशी
भुलेका छौ त हामीले हाम्रो संस्कृति
माई र जोगमाई फर्की आउ परदेशी भन्दै
याचना गरेर पहाड, बेसीं, खोंच र तराइ बन्दै
खोला र सागर भएर हामीलाई खोजी रहेछ
यसरी नै सधैं-सधैं
परदेशी मनमा देशप्रेम छर्न बिदेशमा बिलिन नभै
घरदेशको यादहरु समेटेर अस्तित्व बचाइ राख्न
आव्हान गर्दै अबिरल बहिरहेछ माई, जोगमाई ।

ईलाम, हाल: बेलायत

Hem Nath Ghimire – Mera Paiyun Ra Timra Sakura

हेमनाथ घिमिरे – मेरा “पैयूँ” र तिम्रा “साकुरा”

बसन्तको आगमनसंगै
सिंगो बसन्तकै प्रतीक बनेर
पूरै वातावरणलाई नै बसन्तमय पारेर
हाँगा-हाँगामा
पात-पातमा
ढकमक्क भई
फुलेका छन्
तिम्रा साकुराहरु ।

सायद
मेरा पहाडका
कुना र कन्दरामा पनि
तिम्रा “साकुरा”का सगोत्री
मेरा “पैयूँ”हरु
फुल्ने कोशिष गर्दै होलान् ।
तिम्रा “साकुरा” झैं
ढकमक्क फुल्न नसके पनि
फाटफूट फुलेका होलान् ।

म सुन्छु
र देख्छु पिन
मेरा केही “पैयूँ” हरु
तिम्रोमा आई “साकुरा” बनेका छन्
तिम्रै “साकुरा” झैं
स्वच्छ प्रफुल्ल भई
ढकमक्क फुलेका छन् ।

मलाई गौरव लाग्छ
फुल्ने अवसर पाएमा
मेरा यी “पैयूँ” पनि
तिम्रा “साकुरा” भन्दा
कम त रहेनछन् ।

तर
कताकता डर लाग्छ
मनमा शंका पलाउँछ
कतै
मेरा यी”पैयूँ”हरु
“साकुरा” नै बनेर
यतै बिलाउने त हैनन्
आफ्ना कुनाकन्दरा
र आफ्ना सहोदर “पैयूँ” लाई
चटक्क बिस्रने त हैनन्
आशा गर्छु
मेरो यो शंका
शंका मै सिमीत रहोस् ।
कामना र आग्रह गर्छु
“साकुरा” बनेका
मेरा प्यारा “पैयूँ”हरु
आफ्ना ती कुनाकन्दरा
र आफ्ना सहोदर
ती “पैयूँ”लाई नबिसर्िउन्

पूनः त्यहीं गएर
ती सहोदर सबै “पैयूँ” लाई पनि
आफू झैं “साकुरा” बनाउन्
र सिंगो पहाडलाई नै
ढकमक्क फुलाउन् ।

डा. हेमनाथ घिमिरे
बाहुन डाँडा लमजुङ् ।

Kalyan Shrestha – Barshat

कल्याण श्रेष्ठ – बर्षात ! (कबिता )

सामान्य दिनचर्याका
ब्यस्त मध्यम बर्गीयका लागि
अफिस आवरमा बसभित्र
ठेलाम ठेलसंग मिसिएको
पसीनासंग घोलिएको
झ्यालबाट छिर्ने दुखेसो होस
या
असामान्य दिनचर्याका
कमजोर Continue reading “Kalyan Shrestha – Barshat”

Rupesh Rai – Uttar Adhunik Sapana Ra Nidra

रुपेश राई – उत्तर-आधुनिक सपना र निद्रा

आएन निद्रा रातभरि
छट्पटाइरह्यो उत्तर-आधुनिक सपनाहरू।

फर्लङ्गै छ रात पनि
सपनामा ! कसो मितज्यू गफ सकिएन ?

आईरनीहरू गाउँ पसेर
खासाको रिदम लगाइरहेछन्। अनुप्रासहरू घरैपिछे
अम्बल-डम्ल खेलिरहेछन्। सेलो र सवाई कतै उफ्री रहेछ, सायद।

कति… चिन्तनशील छ दिमाग ! फुर्सदमा पनि कुचुकुचु गरिबस्छ।
थाकेर भुसुक्क निदाउँ भन्छु… उत्तर-आधुनिक सपना र
मबाहेकका कुराहरू आँखा च्याती टुलटुल
हेरिबस्छ विश्वबजारमा।

म ! म ! म ! म !

उँहुँ… पत्यार लाग्दैन, चिम्म गर्छु फेरि
आँखीभौं उघार्दै निद्राहरू फुतु-फुतु निस्कन्छ।

हराउँछु। माथिदेखि तलसम्म
सोचेँर। कालो सेतो हुन्छ यी वर्ण र
पन्नाहरू। श्रीगणेश र इतिश्री जस्तो।

मेरो निद्रा कस्तो होला… यो मान्छे…

यो मान्छेले। के खोजेको हँ ??
तथ्य ?….?….?

रातभरि घुरेर डिप्रेसनले विज्ञानको अविष्कारलाई सल्हा दियो। हजूर अब एउटा औषधी यस्तो बनाउनुहोस् जसको सेवनले सारा मानिस पागल बहोस्। अर्थात् म पागल हुँदा कसैले मलाई पागल नभनोस्।

Abir Khaling – Asmita Ko Geet

अबीर खालिङ्ग – अस्मिता को गीत

हतभागी मेरा कति अनुर्वर बेलाहरू
फल नलागी सुकिसके /
देशको उर्वरा माटोमा ।
म देश जोतिरहेछु।
खडेरीग्रस्त मौसममा पसीना को के मूल्य हुंदछ
गोडीरहेछु बियाड धानको
हिल्याईरहेछु देश
खनिरहेछु देश

मलबांसले हानेको मेरो चिसो आंगमा घाम कहिले लाग्छ ?
पर्खाईको रित्तो लामो संगीतमा
हाम्रा आकांक्षाका शब्दहरु शहीद भईसके ।
देशले गाएको हर्षगानामा
खोई मेरो चिनारी
कोरस गाउँदै राजमार्गमा हिंड्न पाऊं ।

देश बिणामा मैले
आफ्नै धून बजाउनमात्र चाहेको हूँ
आफ्नै राप अलाप्न चाहेको हूँ
आफ्नै संगीतको स्वर्गीय आनंद अनुभूत गर्न चाहेको हूँ
बिणाका तारमा मैले
हाम्रा अस्मिताका सूरहरु झंकृत पार्न चाहेको हूँ ।

अखवारका हेडलाइनहरुद्वारा बहिस्कृत
मेरा अदम्य चाहना र तृष्णाहरु
छटपटीको मरुभूमिमा किन हराउंछ ?
न्यायको न्यानो घाम नपाई
अवहेलनाको बाढीले बगाउंछ?

मलाई कौसीमा उभ्याएको कति भयो?
मूलप्रवाहबाट उच्छेदित
अगर बगर सुकेको कति भयो?
म तिम्रो मुटुमा श्वासप्रश्वासमा
तिम्रो विगत , वर्तमान र भविष्य हुन चाहन्छु ।
तिम्रो बानी र व्यवहार हुन चाहन्छु ।

विविधतामा एकता भन्दै
कति हिंडीसकें म तिमी संग तिम्रो हात समाएर ।
हरेक पल्ट तिमीले सोध्यौ मेरो नाम ।
मेरो जात, थर र गोत्र
हाँसेर खेल्न दिएनौ त्यो घरको मझेरीमा ।
आँगन को डीलमा उभिएर तिम्रो हात सामाउन खोज्दै
यति यति पानी घेघेरानी खेलीरहें
सर्वांग पानीमा डुब्दा पनि
म बिचमा उभियेकी रानी हुन पाइन ।

(Sent to Sanjaal Corps via Email)

Bibash Bipra – Tesro Najar

बिबश बिप्र – तेस्रो नजर

समुल नतर्कीहरु
मयूरका प्वाँख सापटी माग्दै
खोल्सा खोल्सामा नाचगान गरिरहेछन
राँके भुतहरु
राँको बाल्दै
तालमा ताल मिलाउदैछन
सतीसाल र बयरहरु
मधुर मनोकांक्षा बोकी
रंगनाच चिहाँउदाछन
पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l

खहराहरु
बान्की मिलाउदै उँभोतिर उक्लीरहेछन
ढिस्काहरु
भेलको बाटो पहिल्याउन
निरन्तर माटो खन्दैछन्
भुत र प्रेतहरु
नयाँ बटुवाको आगमन ब्यग्र भइ कुर्दाछन
किचकन्नीहरुको भान्छामा हर्षको झोल उम्लदो देखिन्छ l

चालवाज जोकरहरु
पत्ता सम्हाल्दै
मकैका दाना गनिरहेछन
बकम्फुसे टपरटुँइयाहरु
चोरीका दुई-चार मकैको च्याँखे थाप्दैछन
सुर र सुराहरु
काँचका पारदर्शी गिलाससँगै छचल्किदाछन
कुकुरको घाँटीमा झुन्डेको घन्टी
एकोहोरो शंख फुक्दो देखिन्छ l

बिराटनगर, हाल: आबुधाबी

Manorama Sunuwar – Chhayan Yoddha

मनोरमा सुनुवार – छायाँ योद्धा

यूद्ध,
तिम्रो शक्ति प्रर्दशनको थलो
सत्ता कब्जाको उपाय
वीरता प्रमाणितको दह्रो कसी
तर यूद्ध,
कदापी तिमी एक्लै लड्दैनौ
संभवत तिमीसंगै
तिम्रोभन्दा विकराल यूद्ध
हामीले लड्दै आएको हुनुपर्छ ।

यूद्धस्थलमा तिमी लडिरहँदा
शत्रुपक्षको तरबारले
पहिले हामी रेटिन्छौं
अभावमा
भोकमरीमा
असुरक्षामा,
तिमीले प्रहार गरेको आर्टिलरीबाट
गोला बनेर फेरि
हामी नै बज्रन्छौं
विपक्षीको परिशरमा
अनि प्रत्येक रात
प्रत्येक दिन
आफैँ ध्वस्त हुन्छौं
कहिं सेक्स स्लेभज्ञ बनेर
कहिं कम्र्फट वुमनद्द बनेर ।

हाम्रो मातृत्वलाई
चुनौती दिने यूद्धले
फेरि हामीसंग नै योद्धाको माग गर्छ,
शरिर अव कारखानामा
अनुवादित हुन थाल्छ,
तथापि
जैविक कारखाना
दृष्टि विहिन हुन सक्दैन
सक्दैन हुन सम्बेदनाहिन,
आफन्तसंग वियोगको
आँशुमा पौडदै
लड्नुछ संघर्षको मैदानमा
प्रत्येक निमेषमा ।

बलत्कार,
हामीमाथि मात्रै प्रहार हुने
तिम्रो यूद्धको एक अभिन्न हतियार,
हामी हजारौं मृत्यू वरण गर्दै
बाध्यछौं विउतिन,
अनि यो कुरुप र विकृत युद्धसंग लडेर
तिमीछेउ आइपुग्छौं,
फेरि तिमीबाट तिरस्कृत हुनुको पीडासंगैं
जीवनको अर्को युद्धमा होमिन पुग्छौं ।

इतिहास साक्षी छ,
श्रृङखलाबद्ध वर्वर यूद्धहरू
यसरी लडिरहिउँ हामीले,
रुवाण्डाको जातीय यूद्धमा
पूर्व यूगोस्लाभियामा,
पाकिस्थान /बंगलादेशमा
विश्वयूद्ध /शितयूद्ध/ गृहयूद्धहरुमा
भूगोलका रेखा रेखामा
लडिएका यूद्धहरुमा ।

हामी तिम्रो यूद्धभूमिमा
यौन सेवा प्रदायक, भान्छे, सेविका
वफादार आत्मघाती दस्ता,
अनि तिमीसंगै
काँधमा बन्दुक बोकेर हिड्ने लडाकु,
तथापि यूद्ध
तिम्रो मात्रै पेवा
तिमी मात्रै यसको विजेता ।

कहलाएँनौ कहिल्यै हामी विरंगना
टाँगिएन कहिल्यै हाम्रो छातीमा भिक्टोरिया क्रश
गाइएन कहिल्यै हाम्रो विरताको गाथा,
यद्यपि
हरेक थरी यूद्धमा विचलित नभइ
निरन्तर लडी रहन सक्ने,
आदम्य साहस भएका
हामी
वास्तविक योद्धा
यसअर्थमा
तिमी
फगत छायाँ योद्धा !

हालः श्रीलंका

Baidyanath Upadhyaya – Euta Saglo Pratibimba

वैद्यनाथ उपाध्याय – एउटा सग्लो प्रतिबिम्ब

चौतरफा
विश्वायनको हुरी चलेको छ
कपास सरी उडिरहेछन
नैतिकता, आदर्श र
मान्यताका धुजाहरु
भागमभागको
यो चर्को प्रतिस्पर्धामा
लडखडाएका पाईलाहरू सम्हालदै
आफ्नै Continue reading “Baidyanath Upadhyaya – Euta Saglo Pratibimba”

Bhima Rai – Jeevan Saathi

भिमा राई ‘तोलाछा’ – जीवन-साथी

असिम दुरत्वको क्षितिजलाई
सम्पूर्ण उर्जाको अवशेष लाग्दथ्यो
ठुलो साँझ पर्न अघि
चरीहरू चिरबिऱ्याई रहेको बेला
एकतमासको भावबोधसित
टोल्याईरहने जीवनका पलहरू
आज अचानक त्यै क्षितिजको लालिमामा
भष्म भएझैं लाग्छ
तिम्रो जन्मदिनमा शुभकामना टकराउने उमङ्ग
शुभकामना बोल्ने ओंठहरू
स्तब्ध-स्तब्ध
केवल विस्फारित आँखाहरू तड्पिरहन्छ।
फल-औषधी लिन गएको तिमी
फुस्रो अनुहार लगाएर
आँखाभरी ग्लानीका ओसहरू बोकेर
अघिल्तिर उभिएको तिमी
रित्तो-रित्तो झोला तर छात्तिभरी प्रेमका अंकुरहरू
जो म स्पष्ट देख्दछु।
तिमीलाई म औधी प्रेम गर्छु।
जीवनको एउटै चौतारी
आँधी र हुरीका रातहरुमा भरासिलो छहारी
कहिले क्रान्तिको घनघोर उर्जा बनेर
कहिले बसन्तको स्वर्णिम सपना भएर
यो मानसपटलमा तिमी सुर्य जस्तै उदायौ
मेरो हृदयमा चन्द्र जस्तै छायौ
रुँदा-रुँदै माया बसेको
आँसुहरूका माँझ, पसिनाहरूका माँझ
पिढ़ाहरूका गित गाउँदा गाउँदै
हाम्रा पीरहरू साझा भए
हामी सहयात्री साझा अभिप्राप्तिको
कोल्टे देशको
लङ्गडो व्यवस्थामा
हाम्रो प्रेम औधी सोझो भयो
हामी हाम्रहरुको निम्ति
कठोर त हुनै पर्छ
उत्पीडितहरूका बस्ती-बस्तीमा
पददलित समाजको उच्छ्वासभित्र
हामी समाहित हुन पर्छ
एउटा बुलन्द आवाजको निम्ति
एउटा सजिव परिवर्तनको निम्ति।

Jhamak Ghimire – Desh Ma Ra Akanksha

झमक घिमिरे – देश, म र आकाङ्क्षा

देश ! तिम्रो गर्भासयसँग विद्रोह गरेर
मलाई आफ्नै आकृति कोर्न मन छ
जुन आकृतिबाट कुनै सयममा
एउटा जीवनचक्र मेरो पनि थियो भन्ने
यही धरतीलाई थाहा होस्
प्रकृति र समयको जीवनवृत्तमा
मेरो पनि अस्तित्व थियो भन्ने थाहा होस्
मन सल्किएको बेला
मलाई सहीद हुन मन छ
मानवता खोसिएको भूमिबाट
एउटा अर्को बुद्ध जन्माउन मन लागेको छ
जो मेरो युगको प्रतीक बनेर उभियोस्
मृत्युपर्यन्त अलग परिभाषा बोकेर उभियोस्
देश ! तिमीलाई बलात्कार गरेर
एउटा परिवर्तनको युग जन्माउन मन छ
त्यो युगमा एउटा उत्साहको घाम लागोस्
जून पनि त्यो विशाल आकाशमा
आफ्नै स्वच्छन्दता बोकेर हाँसोस्
थुप्रै मनहरू रोएको बेला
मलाई अलग रुवाई रुन मन छ
जुन रुवाईपछि एउटा मीठो आभास होस्
जुन रुवाई मलाई तिम्रै काखमा बसेर रुन मन छ
जो मानवताको स्वरहरू लिएर
साख्ये तिम्रो कानमा गुञ्जियोस्
देश ! कोख प्रसव वेदनाले थलिएको बेला
तिम्रो आँखाबाट त्यसको बाढी उर्लिएको बेला
मलाई एउटा सत्य कुरो खोल्न मन छ
थुप्रै असत्यबाट एउटा सत्य ओकल्न मन छ
तिम्रो कोख अझै उजाड बनेको छैन
तिम्रो मातृत्वमा कुनै खोट छैन
तिम्रो कोखबाट सपुत मात्र होइन
कपूतहरू पनि जन्मिरहेछन्
जसले तिम्रो मातृत्वको अपमान गरिरहेछन्
तिम्रो ममतामाथि कुठाराघात गरिरहेछन्
तिम्रै गर्भमा बसेर
तिम्रै विरुद्ध धावा बोलिरहेछन्
यतिबेला मलाई प्रश्न गर्न मन लाग्छ
तिम्रो सन्तान कुन हो ?
के मेरो आँखाले परिवर्तनको सपना देख्नु पाप हो ?
मनले सुन्दर आगतको कल्पना गर्नु अपराध हो ?
ए, आमा ! तिम्रा ओंठहरू किन मौन ?
तिम्रो मन किन स्तब्ध ?
हो, आमा तिमीलाई यो प्रश्न छ
यो गल्ती हो भने फुटाईदेऊ मेरो आँखा
यो पाप हो भने तोडिदेऊ कल्पना
देश ! तिम्रो आत्मा मृत युगसँगै पोलिएको बेला
म समयको कसम खाएर भन्छु,
तिम्रो कोखबाट एउटा नयाँ बुद्ध जन्मिनुपर्छ
देश ! तिम्रो करणी गरेर
मलाई नवयुग जन्माउन मन लागेको छ ।

Krishna Sen Ichchhuk – Euta Gaunle Ko Diary

कृष्ण सेन इच्छुक – एउटा गाउँलेको डायरी
(इतिहासको यस घडिमाबाट)

हिजो छिमेक पनि विरानो-विरानो लाग्थ्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नुपर्दो रहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दो रहेछ
मुटु अब पहिले जसरी दुख्दैन
छाती अब पहिले जस्तो पोल्दैन
गहभित्रै सुकेको पीडाको आँशु
पहिले जसरी अब भक्कानो फुट्दैन
लाग्नुपर्दो रहेछ मनभित्र घाम
संसारै उज्यालो देखिदो रहेछ
दुःखी र गरिबको सुखको दिन ल्याउन
गरिब र दुःखी नै एकजुट भएर लाग्दा
तिनै प्रियजनहरुको सम्झनामा
गाउँको नाम नै
शहीद गाउँ भएको छ ।
र, शहीदहरुको हार्दिक सम्मानमा
निर्माण भएका छन्
असंख्य गेट र स्मारकहरु
डाँडा, थुम्का, लेक र पहाडहरुका नाम
बस्ती, भञ्ज्याङ र चौतारीहरुका नाम
शहीदहरुका नाममा फेरिएका छन्
गाउँ फेरिएको छ
गाउँलेहरु फेरिएका छन्
र, आस्थाको शिखर मन
झन् अग्लो भएर चुलिएको छ ।
बौलाहा हात्तीझैं
धेरैचोटी बौलायो दुश्मन
र, धेरैचोटी गाउँमा आक्रमण गर्यो
कराइरहेको छ धुरीबाट
बैरीहरुको पाप बेसरी
शहीदहरुको रातो रगतले
पापीहरुको घिनलाग्दो चिहान खनेको छ
गाउँमा आउँछन् नयाँ साथीहरु
भेटघाट र कुराकानी गर्छन्
आफन्तले झै सुखदुःख बाँड्छन्
दुःखसुखमा साथ दिन्छन्
सहयोग दिन्छन्/सुरक्षा दिन्छन्
र, घर-घरमा र्सवप्रिय बनेका छन्
आधा दशक
धेरै हण्डर र ठक्कर खायो गाउँले
आधा दशक
धेरै आँधी हुरी र तुफानहरु झेल्यो गाउँले
टिन ठटाएर धपाइएको बाली मास्ने बाँदरहरु जस्तै
भागेर गएका छन्
दुश्मनहरु गाउँबाट अहिले
उठीबास लागेका गाउँलेहरु
फेरी गाउँमा फर्केका छन्
नयाँ दिनको नयाँ घाम उदाएको छ
र, नयाँ हावाको नयाँ लहर
चलिरहेको छ गाउँमा अहिले
महिलाहरु गाउँमा
चुलो चौकोमात्र गर्दैनन् अचेल
केटाकेटीहरु गाउँमा
डण्डीवियो मात्र खेल्दैनन् अचेल
बुढाबुढीहरु गाउँमा
काल पर्खेर मात्र बसिरहँदैनन् अचेल
काललाई समेत जितेर
नयाँ जीवन र नयाँ भविष्यको
सुन्दर अभ्यासमा लागिरहेका छन्
फूलिरहेको गाउँको आँखामा लालुपाते
छातीमा लालीगुराँस फक्रिएको छ
साहसको शस्त्रागारमा
फेरिएको छ संकल्प
विवेकको बारुदखाना सल्किएको छ
महान एकताको विशाल भावले
संकिर्णताको जिर्ण पर्खाल भत्किदै गएको छ
हिजो छिमेक पनि विरानो-विरानो लाग्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नु पर्दोरहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दोरहेछ
उदाउनु पर्दोरहेछ मनमा चेतनाको घाम
संसारै उज्यालो लाग्दोरहेछ

०५७ कार्तिक १८ राजविराज कारागार
इच्छुक रचनावली (इतिहासको यस घडिमा) बाट

Rita Khatri – Sahar Ra Pratibandhit Prem

रीता खत्री – सहर र प्रतिबन्धित प्रेम

यो मृत सहरमा
प्रतिबन्धित छन् प्रेम कविता ।
प्रिय कवि !
मैले जूनलाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ ।
घामलाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ ।
तिमी मेरो कविताको प्रतीक
तिमी मेरो जीवनविम्ब
आश्चर्य !
मैले पूmललाई लेखे पनि
तिमीलाई नै लेखेको हुन्छ ।

आकाशजस्तै
मेरा आँखाभरिभरि व्याप्त छौ तिमी
समुद्रजस्तै
मनभरिभरि प्रवाहशील छौ
शब्दमा अक्षरमा अनुभूत गरिरहेकी छु
तिम्रो प्रेमिल स्पर्श
शीतल बतास भएर तिमी मेरो
अङ्गअङ्गमा समाहित छौ ।

प्रभावित छु म तिम्रा भावस“ग
अनुभूतिसँग
विचार र समवेदनासँग
तिम्रा आँखाका आँसु र
ओठमा मुस्कानसँग
जसले जेसुकै भनून्
अहिले म
प्रत्येक श्वास प्रश्वासमा
अनुभूत गरिरहेकी छु
तिम्रो मायाको अनुपम सुवास
प्रत्येक एकाग्रतामा÷निर्जनतामा
तिम्रा वात्सल्यका कोमल छालले
तरङ्गित पारिरहेको छ मेरो मन ।

प्रेमका अर्थ–
ढुङ्गाहरूलाई के थाहा ?
सौन्दर्यको अर्थ–
धृतराष्ट्रहरूलाई के थाहा ?
म तिम्रो –
जीवनसँग नै प्रभावित भएका बेला
भन्नेहरू ठीकै भन्छन्
मैले जूनलाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ
पूmललाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ ।

सत्य हो
सौन्दर्य मेरो दुर्बलता हो
म जूनलाई मन पराउँछु
पूmललाई मन पराउँछु
प्रकृति मन पराउनु
तिम्रो शब्दकोशमा अपराध हो भने
हो, म स्वीकार्छु
म अपराधलाई मन पराउँछु ।

Ravibabu Pratiksha – Shraddanjali

श्रद्धाञ्जली

कस्तो फूल तिमी फुलेर कहिल्यै झर्दै नझर्ने भयौ
कस्तो मूल तिमी फुटेर जगमा साँच्चै नमर्ने भयौ ।
तिम्रो शिल्प बन्यो विराट प्रतिभा आलोक छर्दै यहाँ
तिम्रा शब्द बने सुमार्ग सबमा सन्देश छर्दै यहाँ ।
विधा लाख दियो लिई कलमले संसार पोती दियौ
जल्दै रात दिनै दियो-कलश झैँ हाँसेर ज्योति दियौ ।
शब्दै दृष्य बन्यो, बन्यो विविधता सिंगो महासागर
जसको जीवन नै अनन्त छरियो संज्ञानमा उर्बर ।
लेख्दै काव्य-सुधार रचेर रचना थाकेन जो क्यै गरी
थप्दै रंगथरी विशाल नभमा आजन्म जीवनभरि ।
गर्छौँ भक्ति सदा पवित्र दिनमा अर्पेर पुष्पाञ्जली
आत्मा शान्त रहोस् महाकवि सधैँ हाम्रो छ श्रद्धाञ्जली ।

बलिया-८, भुरुवा-कैलाली
हालः त्रि. वि. कीर्तिपुर

Manoj Bogati – Pathan 2

मनोज बोगटी – पठन- २

ई-अक्षरहरू डाउनलोड गरेर
कागजमा हेर्दैछु म
प्रिन्टरबाट निस्किएको मेरो पाठको आजको आँखा।

मलाई यत्ति चाहिएको हो
आज बुझ्ने
डा. गोबिन्दराज भट्टराईको पोस्टमोर्डन लिटरेचर-माथिको लेख।

विचार ठुन्का-ठुन्का भएर छरिएको
एक्स् रे हेरेर
पाठकलाई लागेको रोग चिन्नु अघि
मेरो स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपले औंली उठाउँछ।

तक्निकीको पछिपछि कुद्ने कविले
गरेको उत्पादनको वकालत
कम्पनीको विज्ञापन हो कि उसको कला?

मेरो नाममाथि हुन नसकेको तर्क
उसको दाममाथि हुन्छ।

गाईको थुन निचोर्ने औंला
अमूल मिल्कको प्याकेट निचोर्दै गर्दा
कविता पढ्ने पाठकले
विज्ञापन पढ्छ?

प्रकृति र विज्ञानसँगसँगै कुम मिलाएर उभिएको छ अघिल्तिर
मैले दुइमा एकलाई राम्ररी चिन्न सकिन भने
विश्वको सबैभन्दा इमान्दार अन्धो हुन्छु म?

आज पनि
घरमा पढ़ेको चेतनभगतको किताबको रिव्यू
नेट-मा पढ़ें मैले।

Baidyanath Upadhyaya – Ritto Jeevan

वैद्यनाथ उपाध्याय – रित्तो जीवन

जीवनका भोगाइहरू पनि
थुक्क-
कति दिक्क लाग्दा हुन्छन
कोई बेला त आफैंलाई
धिक्कार लागेर आँउछ
एकछिन अघिका खुसीका क्षणहरू
लगत्तै विरक्तिका भावहरूले
घेरिएका हुन्छन।
अनि हाम्रो खुसी
बिजुलीको झिल्का जस्तो
मात्रै हो त ?
सधैंभरी न पुग भएको भान
कसरी भरिएला
यो मनको घैंटो !
मैले चाहेको यो पनि हैन
त्यो पनि हैन
सूर्योदय देखि सूर्यास्त सम्मको
दौडमा भिडिएर
आज व्यर्थैमा रित्तिएजस्तो
लागेको छ
आफ्नै जीवन!

Lalijan Rawal – Peeda Ko Pokhari Bhitra Bata

ललिजन रावल – पीडाको पोखरी भित्रबाट

युगौँदेखि पीडाको पोखरीभित्र रहेर पनि
गालामा कतै कतै आँसुका छापहरु भएर पनि
आप्mना आँखाहरुमा एउटा सुनौलो सपना बोकेकाहरु !
उहिलेदेखिको यो लामो कालो रातलाई ढल्न देऊ
यसैभित्र एउटा बलियो आगोलाई दन्किदै बल्न देऊ ।
तिम्रा हातहरु हावामा
ध्वजाहरु झैँ लहराइरहेछन्
तिम्रा अनुहारहरु यो अँध्यारोमा
ताराहरु झैँ टिमटिमाइरहेछन्
तिम्रा आवाजहरु भयंकर आँधीबेरी चल्दा
जन्मिने ध्वनिहरु झैँ फैलिरहेछन्,
साँझको माझमा उत्रिएर रातको स्तुतिगान
गर्नेहरुलाई गल्न देऊ
विश्वासको दियोमा अझै चेतनाको तेल थपेर
त्यसलाई जल्न देऊ
प्रत्येक ठाउँहरुबाट हावामा मिसिएर
वीरताको साहसको गन्ध फैलिन्छ चारैतिर
त्यही गन्धबाट प्रेरणा पाएर
अर्काे वीर र साहसी जन्मिन्छ अर्कोतिर
शरीरहरु ढल्छन् तिनका तर
शीरहरु हिमाल झैँ ठडिन्छन् मान्छेका हृदयनिर,
जीवन दिएर रगतले उमारेका बोटहरुलाई फल्न देऊ
अहिले बलियो गरी चलिरहेको हुरीलाई चल्न देऊ ।

Tanka Subba – Mahashaya

टंक सुब्बा – महाशय !

महाशय !
किन अपमान गर्दै हुनुहुन्छ कवि र कविताको ?
के एउटा कविता च्यातेर,
कविको विचारलाई च्यातिदिएँ भन्ने ठान्नुहुन्छ ?
देश र जनता हुन्
कवि र कविता ।
के सारा जनतालाई दमन गरेर
सत्ता टिकाउन सक्नुहुन्छ एक्लै ?
के देश र जनताको साथ चाहिन्न र महाशयलाई ?

महाशय !
कवि, कवितामा बाँचेको हुन्छ ।
कवि, कविताको सुन्दर छटामा हाँसेको हुन्छ ।
के कविको सुन्दर कवितालाई च्यातेर न्याय गरेझैं लाग्छ ?
कविको एउटा कविता च्यातेर,
महान नठान्नु होला महाशय !
किनकि कविसँग अनेकौ शक्तिशाली र खतर्नाक कविताहरु हुन्छन्,
एउटा सुन्दर र निर्दोष कवितालाई च्यात्न सक्नुहोला
तर खतर्नाक कवितालाई कहिल्यै च्यात्न सक्नुहुन्न ।
किनभने त्यो कविता निडर हुन्छ, व्रिद्रोही हुन्छ,
बरु उल्टै महाशयलाई च्यातिदिन सक्छ,
आफैले कविता च्यातेझैं,
किनकि कविको खतर्नाक हतियार हो कविता ।

महाशय !
राम्ररी सोँच्नुहोला,
कविताको हत्या अपहरण किन गर्दै हुनुहुन्छ ?
महाशयलाई थाहा छ, कविता सबैलाई मनपर्छ
र कविता महाशयलाई पनि मनपर्छ,
तर किन क्रुर बन्दै हुनुहुन्छ,
कवि र कविताको लागि ?
महाशयलाई थाहै होला,
अस्तिको जनआन्दोल-२ मा
कति कविताहरु कुटिए / लुटिए / भुटिए
कति कविताहरु शहीद भए,
के त्यसको लेखाजोखा छ महाशयसँग ?
नहुन सक्छ,
किनभने आदेश मात्र पालना गर्नुहुन्छ महाशयले ।
के यो देशको सच्चा नागरिक भएर,
कहिल्यै सोँच्नुभएको छ,
कवि र कविताको सम्मान गर्नुपर्छ भनेर ?

महाशय !
थाहा पाई राख्नुहोस्
म कवि हु कविता लेख्ने,
त्यसैले देशको कविता लेख्छु,
र्सवाङ्गीण विकासको कविता लेख्छु,
जनचेतनाको कविता लेख्छु,
देशवासीको सुख-दुखको कविता लेख्छु,
यसरी लेखिएको कविताको दुश्मन कसरी बन्नुभयो ?
के व्यक्तिस्वार्थको लागि त्यसो गर्नुभएको त होइन ?
म बारम्बार देखिरहेछु,
कवि र कविताको विरुद्घमा हुनुहुन्छ,
देश र जनताको लागि लेखिएको कविता
के कहिल्यै पढ्नु भएको छ ?
यदि पढ्नु भयोभने,
त्यहाँ नेपाली सुगन्ध पाउनुहुन्छ,
त्यहाँ प्राकृतिक सुन्दरता देख्नुहुन्छ,
त्यहाँ जाति, भाषा, संस्कृति भेट्नुहुन्छ
त्यहाँ वहुल विचारको चौतारी टेक्नुहुन्छ,
त्यसैले कवि कहिल्यै देशद्रोही हुँदैन ।

महाशय !
कविले देश बेचेर खान जान्दैन,
कविले आफैलाई वन्दकी राख्न खोज्दैन,
कविले ऋणै ऋणको भारी बोकेर हिँड्न चाहँदैन,
कवि सधैँ उन्मुक्ती चाहन्छ,
कवि सधैँ स्वतन्त्रताको वकालत गर्छ,
त्यसैले महाशयको विरुद्घमा
कविता लेख्छ कवि,
त्यो महाशयलाई मन पर्दैन,
किनकि महाशयले च्यात्नु भएका सवै कविताहरु,
महाशयकै विरुद्घमा
लेखिएका कविताहरु थिए ।
महाशय !
२३८ वर्षदेखि थिचिँदै आएका कविताहरु,
आज आफ्नो हक-अधिकार खोज्दै उठेकाछन् ।
जाति, भाषा, संस्कृति खोज्दै उठेकाछन् ।
किनभने, यो देश, मात्र कथित जातिहरुको होइन,
यो देश, सम्पूर्ण कविताहरुको देश हो ।
महाशयलाई सपनाजस्तै लाग्न सक्छ,
किनकि, भर्खरै मात्र कविताहरुको जनआन्दोलन -२ ले
वन्दुक हारेको छ,
शासक हारेको छ,
राजा हारेको छ,
त्यसैले कविताहरु अहिले कविता भएकाछन् ।
थाहा पाई राख्नुहोस् महाशय !
कवि र कविता भनेका देश र जनता हुन् ।

Bibek Dulal Chhetri ‘Damak’ – Jati Mage Ni Timi Le (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – जति मागे नि तिमीले (गजल)

जति मागे नि तिमीले रारा दिन सक्तिन
कहिले पुरा नहुने नारा दिन सक्तिन

झुटको खेति गरी के को लागि छली बस्नु
गगनभरी चम्कने तारा दिन सक्तिन

नदि Continue reading “Bibek Dulal Chhetri ‘Damak’ – Jati Mage Ni Timi Le (Gajal)”