Samba Dhakal – Akshar Ko Birasat

साम्ब ढकाल – अक्षरको विरासत

अक्षरहरु हिँडिरहे
नपुगुन्जेल हिँडिरहे
अक्षरहरु हिँडिरहे / हिँडिरहे ।
मान्छेहरुलाई भेट्न हिँडिरहे
मान्छे भेटुन्जेल हिँडिरहे
मान्छे फेला पार्न हिँडिरहे
मान्छे फेला नपारेसम्म हिँडिरहे
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।
हिँड्नु नै ठूलो हो भनेर हिँडिरहे
फगत हिँड्नुलाई भन्दा हिँड्नु पर्छ भनेर हिँडिरहे
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।
मान्छेबाटै सिकेर हिँड्न थाल्यो उसले
हिँडेरै टाढा पुगेको देखेर
कतै पुग्न हिँडेको देखेर
अक्षरहरु हिँडिरहे /हिँडिरहे ।
कहीँ पुग्न त हिँड्नै पर्ने रहेछ
कतै नपुग्न पनि हिँड्नै पर्ने रहेछ
रोकिनुभन्दा हिँड्नु राम्रो जस्तो लागेर
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।
अडिनुभन्दा हिँड्नु गजब रहेछ
अडिएर कतै पुगेको देखिएन
कतै पुगेर अडिएको पनि देखिएन
हिँडिरहँदा नै यी सबै हुँदोरहेछ
अक्षरहरु हिँडिरहेछ/ हिँडिरहेछ ।
हिँड्नुको विकल्प अब छँदैछैन
हो रहेछ हिँडिरहेर नै सबैथोक हुनेरहेछ
पुग्नु नपुग्नु मतलबै राखेनन्
नहिँडेरभन्दा हिँडेर नै कतै पुगिने रहेछ ।
हिँड्नु/हिँड्नु/हिँड्नु मात्र हिँड्नु भएको छ
अक्षरहरु हिँडिरहेछ हिँडिरहेछ ।
के मान्छेहरु यहाँसम्म आइपुगेको
हिँडिरहेर होइन ?
– (५/५५ अब्बलडाँडा, रचनाकुटी, हेटौँडा)

Baidyanath Upadhyaya – Ma Kahan Chhu

बैद्यनाथ उपाध्याय – म कहाँ छु

जीवनका पानाहरुमा
कोरिएका छन
अव्यक्त वेदनाका धर्साहरु!
कसरी मानूँ म
यो मेरो जीवन हो?
जबकि आफ्नोपनको
कहीं कतै आभाष पनि छैन
यो देह त
आफ्नै यात्रा हिंडिरहेछ।
असमन्जसताको तुवाँलो छाएको
यो समयमा
खोज्दैछु
म कहाँ छु!

Rakesh Karki – Thappad Le Pani Najhaskane Gala Bhayo

इन्जिनियर राकेश कार्की – थप्पडले पनि नझस्काउने गाला भयो

गर्छन् भनि जिताउदा गलामा माला भयो
सिद्धान्तको कुरा गर्नेको पछि अर्कै चाला भयो

नेताज्यू अध्यक्षज्यू हजुरहरूको
खान पाए अनुसारको छाला भयो

रातोपिरो चिल्लो पुक्क बाक्लो
थप्पडले पनि नझस्काउने गाला भयो

हजुरहरुसंग मात्र ढुकुटीको साँचो
राष्ट्रको लागि बन्द ताला भयो

मुख भए पनि बोल्न नपाउनेको
बोलीदिने हजुरको साला भयो

योजना कमिसन हजुरहरु मात्र ओढ्ने
बिचरा नाङ्गा जनतासंग टाला भयो

करोडौँको महलमा करोडौँको चर्पी
नारायणहिटीको पर्खालमा नाला भयो

घरधन्दामा पहिले पट्पट् फुटेका हातमा
अहिले श्रीमतीज्यूलाई सुनको बाला भयो

हजुरको मुटुमा फुल्दो हो रङ्गीचङ्गी फूल
गरिबको मुटुमा अभावको भाला भयो

Ananta Gopal Risal – Nepali Sanskar

अनन्त गोपाल रिसाल – नेपाली संस्कार

‘खस् बाट खसेकाले खसी बन्न पुग्यौँ ‘ भनी
खुस्कनु हुन्न है हामी, खाँसी खस् खस् भये पनि!
हाम्रो सम्मान,सम्पत्ती, सद्भाव जन जातमा
भाषा,धर्म,अनुष्ठान ! प्रेम-बैभव साथमा !!

संस्क्रीती मान्यता वेद, पालीबाट बन्यो नयाँ
न-य-पाली बन्योँ हामी, चम्किन्छ्ओँ विश्व माझमा !
अनास्था, लोभ, शन्ताप, संकिर्ण किन? जालमा?
आफ्नो आधार विज्ञान, नबिर्स्यौं अनिकालमा !!

हैन साथ संगै जांदा, क्षमा-माफ त्यो गर्दिनु !
मिलेर जान सक्दैनौं, पार-पाचुके गर्दिनु
परिवार थियौं हामी, परिवार रहौं सधैं !
बन नेपाली संसार-जहां छौँ विश्वमा कतै!!

भाषा नै धनहो जस्को, जस्को भाव छ उन्नती
धर्मले गरियो रक्षा, पर-भाव पदोन्नती !
शिक्षा छ, संपती मात्रै, संस्कार छैन है पता!
मूर्दा तुल्य त्यो बन्नेछ- पाताल पुग्छ सभ्यता !!

शिक्षा-साहित्य जस्तो हो, संपती ती किताब हुन्
भाव, संस्कार त्यो छैन, पत्रै-पत्र बेकार हुन् !
चिन्दै अक्षर आत्माको, परमात्मा चिनाउने
शब्द्-ज्ञान भये आज, धेय-ध्यान पुर्याउने !

तारामा अब देखिन्छन्, नेपाली छन्द बज्दछ
मेघ गर्जन्छ ईन्द्रआदी ,भूमी नेपाल भज्दछ !!
अर्को नेपाल जन्मन्छ, हिमाली भाव खोल्दछ !
स्वर्गमा अब देवादि नेपालीबाट बोल्द्छ !

Kedar Shrestha Gagan – Hansda Bolda (Nepali Geet)

केदार श्रेष्ठ‘गगन’ – हाँस्दा बोल्दा

नगरे’नि माया मलाई, हाँस्दा बोल्दा हुन्छ
किन राख्नु पीडा मनमा ,ब्यथा खोल्दा हुन्छ ।

दिनमा रोए पनि जून,रातमा हाँस्ने गर्छ
वादलसँग आकाशमा प्रीति गाँस्ने गर्छ
हाँसे,बोले पीडा पग्ली मन हल्का हुन्छ
किन राख्नु पीडा मनमा ,ब्यथा खोल्दा हुन्छ ।

फूल हेर वाधा पन्छाइ सधैँ फुलिदिन्छ
काडाँहरु बिचमा पनि सधैँ हाँसी दिन्छ
मन भए मेरो मनमा, तिमी डुल्दा हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

–केदार श्रेष्ठ‘गगन’
भीमस्थान–५,सिन्धुली
हाल–यू.ए.ई.

Ahuti – Baisaun Shatabdi Ma

आहुति – बाइसौं शताब्दीमा

घामको उज्यालो यहीँ हुनेछ
यहीं रहनेछ रातको जून
घुमिरहनेछ माटोलाई म्वाई खाएर शीतल पवन
तर रहने छैनन् कतै बादशाहहरू
बज्ने छैनन् धतुराका फूलजस्ता विषालु बिगुलहरू
बाध्य हुने छैनन् बनाउन शिशुहरू
बाँसुरीजस्ता नलीहाडलाई बन्दुकका नाल
पसिना र रगतको आगामी सय वर्षको नदीले
पखाल्नेछ धर्तीको धेरै धेरै कुरूप शेष
बाइसौं शताब्दीमा
इतिहास बनिसक्नेछ जड्डबहादुरहरूको आजको अवशेष ।

हामी त हुनेछैनौं
हाम्रो रगत र पसिना पढिरहेका नानीहरू हुनेछन्
यस शताब्दीका अत्याचार लेखाजोखा गर्ने सन्तानहरू हुनेछन्
गर्वले सुनाउँदै संघर्षका गाथाहरू
शिशुहरूलाई दुध चुसाइरहेका पनातिनीहरू हुनेछन्
उन्मुक्त हाम्रा सन्ततिको भीडमा
आजको बादशाहको झोक्राइरहेको पनाति हुनेछ
पुर्खालाई धिक्कारिरहेको त्यो निर्दोष प्राणी पनि हुनेछ।

आजको वादशाह त रहनेछैन
पुर्खाको क्रूरता भुल्न चाहने बादशाहको पनाती रहनेछ
पढ्नेछ उसले जब आजको बीभत्स इतिहास
देख्नेछ पहिलो पानामा
जिजुबाजेका षड्यन्त्रका काला शीर्षकहरू
दोस्रो पानामा भेट्नेछ उसले
मान हरिएका अपमानित सन्तप्त दलितहरू
तेस्रो पानामा चिच्याउनेछन्
अन्यायले थिल्थिलिएका जनजातिहरू
चौथो पानाको शिरदेखि पाउसम्म
झाङ्काल गर्नेछन् नाड्डोझार लुटिएका नारीहरू
पाँचौं पानामा त्यतिबेला पनि रोइदिनेछ
बन्धक पर्न लागेको आजको सगरमाथाको प्रदेश ।

पढ्न नसकेर आनै खालको बदनाम इतिहास
बन्द गर्नेछ उसले इतिहासको पुस्तक
तर रातको पहिलो प्रहरको सपनीमा आउनेछन्
थानाभित्र मारिएका यस शताब्दीका कविहरू
दोस्रो प्रहरमा बोल्नेछन्
उसको जिजुबाजेले काटेका कलमका ओठहरू
तेस्रो प्रहरको लहरमा तैरिनेछन्
निरपराध मारिएका लासका खातहरू
चौथो प्रहरमा रुनेछन्
आज मारिएका अभागी सिपाहीका विधुवाहरू
अन्तिम प्रहरको सपनीमा ऐøया–आत्था गरिरहनेछ
उसको जिजुबाजेले युद्ध लादेको रक्ताम्मे अभागी देश ।

बाइसौं शताब्दीमा हरेक दिन
हरेक बाहशाहीका भग्नावशेषमाथि खेल्नेछन् शिशुहरू
त्यतिबेला बन्नेछौं हामी बच्चाहरूका प्रेरणा–स्रोत
बाहशाहहरू बन्नेछन् आनै सन्ततिको पीडा–केन्द्र
जूनको मन्द किरणमा तृप्त निद्रा भोग्नेछन् प्राणीहरू
तर निन्द्राबाट झस्केर हरेक रात
छटपिटन बाध्य हुनेछ बादशाहको पनाती
सम्झेर आनो खलकको यस शताब्दीको अत्याचार
पसिनाले निथु्रक्क भिज्नेछ उसको शरीर
आँशुले लतपतिनेछ अनुहार
झुक्नेछ एकान्तमा पनि पटक–पटक शिर
ग्लानिले फत्फत् कुहिनेछ उसको हृदयको मानव–गर्व ।

Khusi Mainali – Utha Naari Ho

खुसी मैनाली – उठ नारी हो

निहत्था एउटी नारीको सिउँदो खाली हुँदा
सहानुभूति पनि दर्शाउन नसक्ने तिम्रो अमानवीयता
आधा नेपाली आकाश सात समुन्द्रपारी पाखुरी बजार्न जाँदा
मूकदर्शक भएर हेर्ने तिम्रो नीरिहीपना
दुई छाक र एक सरो कपडाकै लागि हजारौँ कोस दुरीमा भौतारीँदा
धित मर्नेगरी दुधको लाम्टा चुस्न नपाएका नावालाग छोडेर
लालावालाको स्मृति मेट्न झोलामा फोटो खाँदेर मुग्लान भासिएका
नारीको वाध्यतालाई कहिल्यै बुझ्न चाहेनौ
कहिल्यै रसाएनन् तिम्रा आँखा
कहिल्यै बुझेनौ पीडा उनीहरुको
ए पुरुष भनाउँदा दमन लाद्नेहरु हो
अव त पीडाको अजस्र पहाड बोकेकी नारीलाई बुझिदेऊ
त्यसैले अब छोडीदेउ थोत्रा आडम्बरहरुलाई
तोडी देउ अब सामन्ति संरचनाका पिल्लरहरुलाई
साहस गर वर्ग सँघर्षको जालोलाई जरैबाट उखेल्न
नारी र पुरुष वीचको असमानतालाई मसानघाट पुरयाउन

नव भृकुटी र सीताको अवतारको खाँचो छ यहाँ
पुरुषहरुको तानाशाही अखडा भत्काउनु छ यहाँ
त्यसैले सुत्ने बेला हैन यो अधिकार लिने समय हो
आँसु पिएर हैन लडेर पहिचान लिने समय हो यो
खबरदार समाजका भरौटेहरु नारीहरुलाई खेलौना नठान अब
सहनशीलताको बाँध फुट्यो टुटीसके बन्धनका जन्जिरहरु अब
नारी दमनको विरुद्ध लड्नेहरुको चुनौती र न्यायिक युद्ध
थाम्न सक्ने हैसियत तयार गर ।
नारीको सम्वेदना छाम्न सक्ने हैसियत तयार गर ।

– धनकुटा – १ हिले बजार
हाल: इजरायल

Daya Krishna Rai – Nagar Badhu Haruko Aawaaj

दयाकृष्ण राई – नगर बधुहरूको आवाज

लाटाको देशमा गाँडा तन्नेरी
भएर आयो गणतन्त्र
दरबारबाट काँचुली फेरेर
संग्रहलय बनेर,
डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर
फिस्स हाँसिरहेकोछ नारायणहिटी !
नयाँ नेपालको नयाँ संविधान चाहि
के भएर आउने हो कुन्नी ?
सबै कुरा नाँपे,
सबै कुरा लेखे भन्लान
नेताहरू…….!
ईस…….तिनीहरूको संबिधान !
खै कहाँ अटायौं हामी ?

नयाँ संबिधान लेख्न जनमत संकलन गर्न
हाम्रो कोठीसम्म,
किन आएनन प्रचण्ड,
किन आएनन गिरिजा,
किन आएनन माधव नेपाल

बल्ल-तल्ल एक चिम्टी नुन जति
बैस साँचेर आएका मधेसी प्रतिनिधिलाई
नेल ठोकेर, जेलमा कोचारे
हामी भनि रहेछौं
कठैबरा-बिचरा
हामीलाई माया गर्ने एउटै मात्र सभासदज्यु
आई लभ यु !
तर अरुले भन्छन बेसै भयो
अझै थोरै भयो सालेलाई

यो भन्दा पहिला
को वरिष्ठ को कनिष्ठ सबै आई रहेकै थिए
हामीले नयाँ नेपालको
नयाँ जिन्दगी चलाई रहेकै थियौं

एउटै थालमा खाएर,
एउटै ओछयानमा सुतेर
सानो कुरामा चित्त नबुझे पछि
रङ्गेहात पक्राउ,
हामीलाईनै नेल ठोकेर जेल चलान गरेर
पालेको चराले आँखा ठुग्ने
ईन्स्पेक्टर, डेस्पी र एस्पी सबै
मुर्दाबाद !

ईन्क्लाव-जिन्दाबाद !
गणतान्त्रिक नयाँ नेपाल
जिन्दाबाद !
खोई हाम्रो बाँच्ने अधिकार ?
खोई हामीलाई अर्को रोजगार ?
हाम्रो स्वतन्त्र बाँच्ने अधिकारबाट
बन्चित गराउने सबै
मुर्दाबाद !

रेड लाईट एरिया घोषणा गर
हाम्रो घर परिवार को लागि हामी मरिसक्यौ ।
प्रतिष्ठित समाजको लागि हामी मरिसक्यौ ।।
तरै पनि
बेश्या बादिनी
जिन्दाबाद !
गणतान्त्रिक नयाँ नेपाल
जिन्दाबाद !

नोट:
दुई वर्ष अघि संविधान निर्माणकालागि गाउँ-गाउँमा जनमत संकलन गर्न जाने समयमै सभासदलाई कोठीमा रङ्गेहात पक्राउ गरिएपछि यो कविता लेखिएको हो । निर्धारित समयमा संविधान निर्माण नभएपछि भरखरै एकवर्ष म्याद थपिएको शुभअवसरमा नगरवधुहरूबाट फेरी पनि नेताहरूलाई खवरदारी ।

Chandra Ghimire – Dont Touch Me Oh Kabita Haru

चन्द्र घिमिरे – डन्ट टच मी ओ कविताहरू !

बिहान
चिऽऽऽसो स्वप्नदोष सुरुङबाट म उम्कन्छु जब
दुर्गन्धित अन्डरवेयर अनुहार पखाल्छु
जन्डिस स्टोभ सल्काउँछु
चिया उमाल्न
धुजिएको अखबार मार्का कमिजमा आइरन कुदाउँछु
सरकारी वनजस्तो पातलो दारी मिलाउँछु
छिमेकी घर हेर्छु
झ्यालमा ओएसिस युवती देखे
पैले, कपाल मिलाउथँे
बैँस सुसेल्थेँ
कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !

दिउँसो
स्लो पोइजन खाना होटेलमा उधारो खान्छु
एउटा श्रम–शिविरजस्तो जागिर
जहाँ धाउँछु
दिनभरि स्वाभिमानको छाला काढ्छु
घरी–घरी घडीमाथि शंका उमार्छु
गर्भवती टाइपिस्टबारे
सामाजिक प्रदूषण फैलाउँछु
र पनि कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !

बेलुका
अल्छे ढोका मेरो स्पर्शले
ब्यूँझन्छ आङ तानेर क्यारऽऽऽ
ओछ्यानमा पल्टेर
आरक्षित दुर्भाग्यजस्तो सिलिङको कालो माकुरो ताकेर
गाउँमा उमेरले लखेटेका बाआमा सम्झन्छु
बैँसले बहिष्कृत
र पनि अविवाहित ठूल्दिदी कल्पन्छु
नपढेर गाउँमा साइरन बजाउँदो भाइलाई सम्झन्छु
कर्तव्यबोधले मैलाई लात हान्छ कस्सेर
र पनि कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !

साँझपख
पसलको एक छेउ
ट्रान्जिस्टर नारायणगोपाल सुसाइरा’ हुन्छ
“जीवनदेखि धेरै धेरै नै थाकेर……”
अर्को छेउ म
मृत्युभन्दा तीऽतो रक्सी खिप्दै उक्लन्छु
मतालु सिंढी टक–टक–टक–टक
साँघुरो गल्ली
अतिक्रमण गर्छु एकाएक जब
सडकछाप कुकुर गाली भुक्छ ‘साऽऽऽला’
जति बेला पुग्छु डेरा
घरपट्टिकी छोरी कविता
मैले म्वाइँ खाएदेखिन् मकहाँ धाउन छाडेकी छे
कौसीबाट लुकेर
सिमसिमे नजरको टर्चलाइटले
चियो गरिरा’ हुन्छे ।

आजभोलि
कविताहरू मदेखि रुष्ट छन्
मेरा नियतिसँग असन्तुष्ट छन्
ओ कविताहरू !
नटोक मलाई
अरू मात्न देऊ
क्रमशः स्खलित हुन देऊ
मर्लिन मुन्रोले आत्महत्या गर्दा
रात मलाई हाराकिरी गर्न देऊ
बिन्ती !
तिम्रो टापूमा मलाई डाक्ने नगर
मेरो दुःस्वप्नको हाट तिमी नभर
प्लिज, समान्था फक्स बजाउने नगर “टच मी…”
महंगीमा मेरो माया
कवितासरि सस्तिएछ
अस्वीकृत कविताको लाम
बजारमा सूचिकृत हुन सकेन
अस्ति भट्टीमा धरौटी बस्न सकेन
भिसा नमाग, ओ कविताहरू !
आइन्दा कविता लेख्दिन
डन्ट टच मी ओ कविताहरू !

Momila – Antarim Nostalgia

मोमिला – अन्तरिम नोस्तालजिया

हरेक बिहान म
अकारण
आफ्नै सपनाहरूको कैदी बन्छु
तर नजरमा मलाई
अपराधी चिनिन मन्जुर छैन ।

अहिले म
निगरानी आँखा छलेर
बेतोड भागिरहेछु
मेरै मनको सुदूर प्रदेशतिर
जहाँ Continue reading “Momila – Antarim Nostalgia”

Chetnath Harit – Sahidko Ragatle Polchha

चेतनाथ हरित – सहिदको रगतले पोल्छ !
(मधुपर्क २०६६ मंसिर)

सधैँ गन्गन् / निरन्तर पर्पर्
उही परिवेश, उनै आवाज
उही धरातल, उनै आत्मवञ्चना
हेर्दाहेर्दै/पर्खंदापर्खंदै
वाक्क लागेर जनता
लोकतन्त्रको देउरालीमा बसेर गम्दैछन्-
कि यिनका बोली र काममा सामिप्य आउने कहिले ?
यिनका द्वेष र अन्तरकलह सिद्धिने कहिले ?
‘सङ्गीत-कुर्सी-दौड’ जस्तै यी अनवरत दौडिरहेछन्
मक्किएका तिनै पुराना कुर्सी ताक्दैछन्/हानथाप गर्दैछन् !
जे बोल्छन्- त्यो गर्दैनन् हाम्रा नेताहरू
जे गर्छन्- त्यो पनि बोल्दैनन् हाम्रा नेताहरू
सहरमा एउटा कुरा गाउँमा अर्को कुरा
राजधानीमा उटा कुरा ‘गृहनगर’मा अर्को कुरा
सदनमा एउटा कुरा सडकमा अर्कै कुरा
ठाउँपिच्छे शब्द फरक र अर्कै कुरा गरेर
सनसनी मच्चाउनु यिनको नियति बनेको छ
सुनेर छक्क पर्दैछन्- ‘जनता’
देखेर अचम्मित बन्दैछन्- ‘भोटबैंक’
कि-
अब पनि भरोसामा नयाँ ‘खम्बाहरू’
यसरी नै अस्थिर रहन्छन् भने
अझै पनि आस्थाका नयाँ ‘धरोहरहरू’
वाणी र कर्ममा एकरूपता देखाउँदैनन् भने
सहिदको रगतले भत्भती पोल्नेछ तिनीहरूलाई !
‘जनमत’ ले सराप्नेछ अवसरवादी साइँदुवाहरूलाई !!

-गुल्मी, हालः काठमाडौँ

Komal Bhatta – Jaaga Naari

कोमल भट्ट – जाग नारी
(२०६९ नारी दिवस बिशेष)

जाग नारी ज्ञानचक्षु बाल्दै बाल्दै अघि बढ
कुरीतिका बोटहरु ढाल्दै ढाल्दै अघि बढ

घर भित्रै पिल्सिएर कति पीडा भोग्छ्यौ अझै
सडेका ती कुमान्यता फाल्दै फाल्दै अघि बढ

दिनहुँका अपहरण,बलात्कार र हत्या सबै
रण चण्डी बनेर नि गाल्दै गाल्दै अघि बढ

आफ्नो पौरख देखाएर सक्नु पर्छ देशै हाँक्न
पाखुरामा जोश,जाँगर हाल्दै हाल्दै अघि बढ

दिदी ,बहिनी,जननी र प्रेयसीलाई पुरुष पनि
सम्मानको शुभकार्य थाल्दै थाल्दै अघि बढ

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Harisundar Chhukan – Ghar Ko Katha

हरिसुन्दर छुकाँ – घरको कथा

एउटै छानामुनि बाँच्ने हामी एक जोडी
दुईमुटु तर एक शरिर
अभाव र समस्याले चुक्ली लगाँउदा
ठाकठुक हुन्छ कहिलेकाहीं
हामी बुभ्mछौं
संगै सुतेपछि गोडा लाग्छ नै ।

प्रिया
रित्तो गाग्री लिएर
धारामा पुग्छिन् सखारै

गाग्रीभरि गुनासाहरु भरेर ल्याउँछिन्
अनि
चियासंगै उम्ल्याएर
चोटा र भ¥याङमा परेड खेल्छिन्
ठुला ठुला आंखा पार्दै
फनफन र झ¥याक—झुरुक नाच नसकिदै
गिलासभरि घुर्कि पोख्छिन्

म बिस्तारै बोल्छु
“गरीवी,अभाव र विवसतालाई
चियाको घुट्कोसंगै निल्नुपर्छ”
म आग्रह गर्छु
“हामी चिया विस्तारै र संगै पिउं न है”
उनि फन्केर जान्छिन्

कसौडी, थाल र डाडु पन्युको
टिङ् टिङ् –टाङ् टाङ् संगितसंगै
ताल न सुरको
“हाम्रो पनि उसको जस्तो भए पो ।”,
“फलानो र ढिस्कानोको जस्तो भए पो ।”
शब्द संगाल्छिन् उनि

यिनै शब्द र संगितको सहायताले
दैनिक दुईपल्ट गाउने दैनिकी बनाउंछिन्

म असह््य हुन्छु
म उनलाई मेरो जीवनप्रति धिक्कार्न भन्छु
चुत्थो रहर पनि पुरा गरिदिन नसक्ने म लाछी
जोइको इच्छा आकांक्षा पुरा गर्न नसक्ने पोइ
आफैप्रति घूणा हुन्छ मलाई
शिर उठ्दैन मेरो
आफ्नो दुःख र पिडादेखि डराएर
उनलाई समेत बिना अर्थ रुवाउने म कायर
अनि मेरा यी नयनहरुबाट
बिस्तारै बिस्तारै
आंशुको मुलको प्रतिस्पर्धा हुन्छ
घुंक्क घुंक्क र सुंइ सुंइ आवाज कानमा ठोक्किन्छ
तब म सम्झिन्छु
“रोएर समाधान हुदैंन ”

मट्टितेल तान्ने
कालो धुंवा फाल्ने
शिशीको टुकीको मधुरो उज्यालोमा
म बिस्तारै आँखा र टाउको उठाउंछु
थरथर कांपेका यी हातहरुका कारण
घप्ल्याक्क शिशी ढल्छ
मट्टितेल छताछुल्ल भई पोखिन्छ
मधुरो टुकी बत्ती झ्याप्प निभ्छ
निस्पट्टमा
म छामछुम छामछुम गर्दै
एउटा दियो बाल्छु
दियोको प्रकाशमा म
मेरी प्रियाको उज्यालो मुहार पाउँछु

ताथली—७, भक्तपुर

Mani Raj Singh – Sapana

मणिराज सिंह – सपना

विचार
स्वतन्त्रता
र समर्पण
सपनामा पनि नाचिरहेको हुन्छ
सपना नहुदो हो त
मान्छेको
धर्म,
कर्म
र वंश
कसरी लहलहाइ रहन्थ्यो ।

विचारले,
मनहरू डो¥याइरहन्छ
सपनाले त्यसरी नै
मनहरू कोट्याइरहन्छ, घच्घचाइरहन्छ
र त इतिहासमा पनि
सपनाहरू नाचिरहेका हुन्छन्
बुख्याँचाहरू बाँचिरहेका हुन्छन्
नङ्ग्राहरूले कोपरेर आफ्नै अनुहार कुरुप बनाइरहेका हुन्छन्
अन्धकार घचेटिरहेका हुन्छन्
एउटा सुन्दर भविष्यको खोजीमा
विचारहरू गुटमुटिएर
समयसँग लुकामारी खेल्दै
सपनाहरूलाई म्वाइँ खाँदै
तगाराहरू पन्छयाउँदै बाटो कोरिरहेका हुन्छन्
पर्खाल ढालिरहेका हुन्छन्
चुकुल खोलिरहेका हुन्छन् ।

Yuddha Prasad Mishra – Nyaya Nabolnu Ho Bemaani

युद्धप्रसाद मिश्र – न्याय नबोल्नू हो बेमानी

पुरुषको इज्जत फाली
न्याय नबोल्नू हो बेमानी
त्यस्तालाई दूर धकेल्दै
बढ्दै जाऊ स्वाभिमानी

न्याय नबोल्नू………..

घरको फोहर मैला फाल
घोर विरोधी किल्ला ढाल
व्यापक छौ तिमी विजय छ तिम्रो
राख भावना तर बलिदानी

न्याय नबोल्नू………..

पीडितहरूको घाउ दुखेको
पीडालाई आफ्नै ठानी
लड्दै जाऊ यस्तो स्थितिमा
गर्नु छ अब के आनाकानी

न्याय नबोल्नू…………

तिम्रा अविरल श्रमका पौरख
धरतीतलका यो हरियाली
खोस लुटेका नैर्सर्गिक हक
वीर हृदयको देखून् पानी

न्याय नबोल्नू………

पतनशील छन् प्रतिगामीहरू
उत्सर्गिक तिमी आफू चाहिँ
बस्नु कसोरी मुठ्ठी बाँधी
त्यस्ताहरूसित पनि डर मानी

न्याय नबोल्नू………..

२०४६ मार्ग २८
लहर – २०

Yadunath Saral – Timi Ra Ma

यदुनाथ सरल – तिमी र म
(मधुपर्क जेठ, २०६९)

मैले पाइनँ पढ्न बाल्य वयमा भन्ने तिमी हैन र ?
चिन्ता रोग र शोक केकति परे त्यो सम्झना छैन र ?
त्यो शारीरिक कष्ट धेर तिमीमा क्यै पर्न आएन र ?
त्यो उन्मूलनका निमित्त गरिए शल्यक्रिया हैन र ?
त्यो चर्को घरकाजले म र तिमीलाई अत्याएन र ?
टन्टा झन्झट पीरले वरिपरि घेरी सताएन र ?
जान्थेँ जागिर धान्न झट्ट म उठी अन्तै कतै बाहिर
भन्थेँ सन्तति वस्तु खेती घरमा हेर्ने अरू को छ र ?
तिम्रो शुभ्र ललाटमा सिन्दुरको रेखा सधैँ भर्भर
प्रातः काल हिमालमाथि पहिलो झुल्का सरी सुन्दर
त्यो सौभाग्य समग्र शोभित बनी झल्की रहोस् यो घर
भन्ने सार्थक चाहना म र तिमी बाँची रहे हुन्न र ?

Hima Sharma – Timro Astitwa Khai

हिमा शर्मा – तिम्रो अस्तित्व खै

तिमी त्यही नारी
जहाँ तिम्रो सिरमा सगरमाथा छ
पहाडका लेकबेंसीमा गुराँस फुलेको छ।
तराइका हरिया फाँटहरुमा धान झुलेको छ।
तिमी त्यही नारी तर
तिम्रो अस्तित्व खै?
प्रत्येक Continue reading “Hima Sharma – Timro Astitwa Khai”

Digesh Raut – Maile Haar Khayen Saathi

दिगेश राउत – मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन

धेरै सोचेँ मैले, प्रयत्न धेरै गरे
तिमी जस्तै बर्तमानको खोलो तर्न, ईतिहासको डुंगा पनि चडे
आफ्नै बिगत पल्टाउदै आँफै सँग पनि लडेँ
तर नेपाल र नेपालीको पहिचानको भार मैले बोक्न सकिन
मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन|

तिमीलाई चम्किला हिराका टुकडा झैँ लाग्यो
मैले हिउँका थुप्रा देखेँ,
तिमी सगरमाथाको अगलाई नाप्दै ब्यस्त थियौ साथी
मैले पशु र मान्छे संगै भारी बोकेर हिंडेको देखेँ,
ओखतीको खोजीमा हिडेका डोके-यत्री भेटेँ
सन्सारका अग्ला ८ हिमाल छ भनेर सुनेको थिएँ
एउटा दुइटा त मैले पत्ता लगएँ
अरु त कता हराए भेट्न सकिन
मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन।

हिॐ पग्लेर बनेका खोल्सासँग उर्लदैँ
पहाडका हरिया बन-जङ्गल छिचोल्दै
ठुला-ठुला पहाड काटेर तिमी अगाडी बढ्दै नै थियौ
तिमीझैँ मैले नी प्रयास गरेँ तर सकिन
त्यो ठाउँको बिकट्तासँग मैले झुध्न सकिन
त्यसैले,
म भने फुट्न अटेका हिम्तालबाट बच्दै,अनी भुईँचालो र पहिरो तर्कदै
एकपछि अर्को पहाड उक्लदै र ओरल्दै,एउटा थुम्कोबाट अर्को थुम्को घिर्लिङ् चढ्दै
भिरमा झुन्डिएर घाँस काट्ने घाँसीसँग,
कुटो र कोदलाबोकेर भीर-पाखामा करेसाबारी खन्ने खेतालासँग गफ गर्दै थिएँ
थकेर हैरान थिएँ, तिम्रो तिब्रता सँग-सँगै पाईला चाल्न सकिन
मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन|

फेरि तिमी अगी बढ्दैनै गयौ
तराईका हरिया फाँट बिचै-बिच, धानका बालासँग झुल्दै
उर्लदै बग्ने खोलामा डुबल्की मार्दै,
म भने गोरु र भैंसीले खेत जोतेको हेर्दै थिएँ
अचानक नबाँधेको खोलो उर्लियो
घर-खेत अनी पुल सबै सोरेर लाग्यो
तिम्रो यात्रा चलीनै रह्यो आनि म त्यहीँनै अड्किएँ
मेरो चिट्ठी बोकेको हुलाकको गाडीनी हराएछ बगेर
त्यसैले त्यो रात प्वाल पारेको झुल भित्र टुकी बालेर,
लम्खुट्टेको टोकाइ सहँदै म यो यात्रा-सारांश लेख्दै थिएँ
खुला आकासमुनी बस्दापनी त्यो रात राहतको सास फेर्न सकिन
मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन।

Bikram Subba – Dui Shahar

विक्रम सुब्बा – दुइ शहर

उता चिडियाखाना छ
र्सपहरु छन, गोहीहरु छन्
स्याल र भालूहरु छन्
गिद्धहरु छन्

यता मन्त्रालयहरु छन, संसद र क्याविनेट छ
प्रधानमन्त्री,
मन्त्री,
अध्यक्ष र सांसदहरु छन्
वाग्मतीको पुलले
यी दुबै शहरहरुलाई
चुपचाप जोडिदिएको छ

Abir Khaling – Gajmer Budhako Anuhar

अबिर खालिङ्ग – गजमेर बूढाको अनुहार

कुनै तरुणीको कम्मरमा
भरिएको गाग्रो भएर
बस्न सक्दैन गजमेर बूढाको अनुहार ।
कुनै नवयौवनाको निम्ति
रुखको हाँगोमा बसेको जोडी रूप्पी पनि
हुन सक्दैन गजमेर बूढाको अनुहार ।

टाडा कतै जाँदा
गजमेर बूढाको अनुहारले
लोधर लगाउँछ
शुभसाइतलाई उसको अनुहारले
अपसगुन जनाउँछ ।

खुकुरी जति चल्छ
त्यतिनै साँझ बिहानको चूल्हा जल्छ
बूढा गजमेरको छातीको समुद्रमा
मुटुको नाव चल्छ
परिवारका चार जोडी आँखामा पनि
सन्तोषको दीयो जल्छ ।
यो भाटी उसको फोक्सो हो
परिवार शरीरमा
श्वास वितरण गरिरहन्छ ।

अभावका रेखाहरुले
उसको जिन्दगीको चित्र
समय क्यानभासमा कोरिदियो
भाग्यको घामले
जिन्दगीको पाखा नछोई अस्ताइदियो ।

अब कहाँ पाइन्छ र खोजेर देश
गजमेर बूढाको अनुहारमा
देश विदेश गईसकेको छ
गजमेर बूढाको अनुहारबाट ।

अरनिकोको हातमा कतै
गजमेर बूढाको बाजेले बनाएको
छिनो र मार्तोल थियो कि?
बलभद्र र अमरसिंहका हातमा
उसकै बाबुले कमाएको खुकुरी पो थियो कि ?
अहिले गजमेर बूढालाई सबैले छि:छि गर्छन
अपसगुन सम्झेर सबैले दूर:दूर गर्छन ।

नियतिलाई मान्दैन ऊ
प्रारब्धसँग गुनासो गर्दैन ऊ ।
त्यसैले लिहिमा फलाम पि्टछ
मान्छेको ईश्वर फलाम /
फलामको ऊ
फलामलाई उसले आकृति दिन्छ
उसको कार्य कति प्रणम्य हुन्छ ।

(Sent to Sanjaal Corps Via Email)