Nawaraj Subba – Yo Sadak Kasko ho?

नवराज सुब्बा – यो सडक कसको हो ?
(मधुपर्क बैशाख, २०६७)

अपहरित यो सडकमा
पहिलो कुरो त
गुड्नलाई पेट्रोल छैन
छैन इन्धन गाडीमा, छैन कहिले पेटमा
कहिलेसडकजाम छ, कहिले चक्काजाम
यस्तै खाल्डाखुल्टी छन् सडक र छातीमा

अरुसित कहिले आफैसित छेलिएर
अनगिन्ति खाडलहरू छिचोल्दै हिँड्नु छ यात्रामा
आइपुगियो आज यहाँ
सायद पर्खदै होलान् कसैले मलाई कतै
मुख्य कुरो भोक निभाउनु छ घरको
अनि धेरैको आँखा लागेको यो स्वतन्त्रताको यौवन
बचाइ हिँड्नुको पीडा सुनाउनु छ सबैलाई
आज अचानक म र मेरो घरबीच बाटोमा
कˆर्यूको फणा फिँजाएर निर्लज्ज बसेको
यो सडक कसको हो ?

जीवनलाई सडक बनाएरै हिँडियो यतिन्जेल
तर गन्तव्य सर्दै गयो क्षितिजसँगै परपर
यो यात्रा, पङ्चर टाल्दै जानुपर्ने चक्का अनि
घरिघरि बन्द भइरहने इञ्जिन चलाएर
घिसार्दैछु म यता जीवन
टायरको धूँवामा निस्सासिएका आशा निल्दै
सिकारीझैं यात्री ढुकेर बसेको छ उता सडक
जो अमिलो, अपच, सन्त्रासका फाल्साहरू
बाटाभरि छताछुल्ल बमन गरेर
बेमौसम लम्पसार छ आज
जहाँ यात्रीले बिना अपराध
जरिबाना तिर्दै हिँड्नु छ
म त साँच्चै अल्मलिए
यसरी मन माड्दै हिड्ने
यो सडक कसको हो ?
मनहरू भाँड्दै हिड्ने
यो सडक कसको हो ?

Giri Shrees Magar – Prashna

गिरी श्रीस मगर – प्रश्न

लग्यो पानी विदेशीले हाम्रो धारा उजाड छ।
न जिउमा लुगालत्ता मुखमा त्यो न माड छ।।
बिजुली सपना झैं भो देश नै अन्धकार भो।
सोध्दछ आज नेपाली यो कस्को सरकार हो?

दुखेको जनवस्तीमा Continue reading “Giri Shrees Magar – Prashna”

Manoj Kafle (Mansoon) – Tukriyera Feri (Nepali Gajal)

मनोज काफ्ले ‘मनसुन’ –  टुक्रिएर फेरी

टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु

छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउ
जीवन भयो पातै पात सोरीएका खातहरु

सहिदिउला निधारमा कोरीएको Continue reading “Manoj Kafle (Mansoon) – Tukriyera Feri (Nepali Gajal)”

Rakesh Karki – Eklai Bolne Baani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – एक्लै बोल्ने बानी (गजल)

एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन्
फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन्

पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र
त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

कसैलाई मायाको तोड होला प्रेमीको विछोड होला
एक्लै बर्बराउन थाल्छन् जब पींडाले पोली दिन्छन्

आफूभित्रको पीर आफैँलाई आफैँ बोलुँ सुनुँ भन्दा
डाक्टरले किन होला मानसिक रोगको गोली दिन्छन्

– लस् एन्जेलस्

Homnath Pathak – Kachhuwa (Nepali Baal Kabita)

होमनाथ पाठक – कछुवा

सोझो थियो कछुवा छट्टु थियो खरायो
दौडको होड राख्यो घमण्डी खरायो

आफै जस्तै कछुवालाई फाने गर्यो कछुवाले
उस्तै उस्तै कछुवाहरू प्रत्यके ठाउँ मा बसे

गटे सेट गो भन्दै दौड सुरु भयो
हावाको वेगमा खरायो दौडेर गयो

जुन स्टेसनमा पुग्दा पनि कछुवालाई देख्दा
घमण्डी खरायोको राम्रै मर्यो मेख्ता

Deepak Raj Pandey – Andhyaro

दीपकराज पाण्डे – अँध्यारो

अँध्यारोले चपाइरहेछ
गाउँ, शहर, पहाड, तर्राई र सिंगै देश
अनि निलेको छ जून घाम पनि सुलुत्त !
यसरी चारैतिर अन्धमुष्टि अँध्यारोले
साम्राज्य फैलाएको बेला
कतै तिमी वनमै निभ्न लाग्यौ कि ?
कतै तिमी मनमै निभ्न लाग्यौ कि ?
निभ्ने होइन बल्नुपर्छ तिमी
झिल्को होइन बल्नुपर्छ तिमी
झिल्को होइन मुस्लो भएर
र चिर्नुपर्छ अँध्यारोलाई
उज्यालोका धारिला आराहरूले
र ल्याउनुपर्छ उज्यालो
पुस्तौं पुस्ताका लागि
ता कि यहाँ अँध्यारो ढिम्किनै नपाओस् ।

Indra Narthunge – Simmako Naam Ma Naya Chiththi

इन्द्र नारथुङे – सिम्माको नाममा नयाँ चिठ्ठी

तुँवालोको खास्टो ओढेर
सँधै गजधम्म बस्ने निनाम्मा
एक्कासी आधा उधारिएको देखेर
म अलिकति परिवर्तन भएको छु सिम्मा
सायद,
उज्यालोको क्यानभासमा
प्रतिविम्ब उतार्न थालेको छु
तिम्रो र मेरो ।

चौबन्दीको तुनामा तिमीले भिर्ने त्यो बिनायो
म पनि बजाउन चाहन्छु आज
सिम्मा,
भाका तिम्रै भए पनि
शब्द मेरो हुने छ त्यहाँ
आमाले सुनाउने मूलखाँबोको कथा
नक्छुङले फलाक्ने मुन्धुमहरु
थिविया चरीले बोहोरीको रुखमा बसेर कराउने
विरही स्वर
मेरो शब्दभित्र पक्कै हुने छैनन्
विश्वास गर सिम्मा
मेरो गीत तुवाँलो हटेको निनाम्मा जस्तै
सागर पोतिएको हुनेछ,
निराकार, निरामय, निरावृत,
निरालस्य, निरापद्, निराकुल…..
जहाँ हामी,
घाम सँगसँगै उदाउने छौं
घाम सँगसँगै अस्ताउने छौं ।

सिम्मा,
हामीले धेरै पुज्यौं दायलुङलाई
र,
थकाई मेट्न वालाखा पुग्यौं ।
साकेलामा नाच्यौं अनगिन्ती सिलीहरु
हुनसक्छ,
खर्कभरि बुकी फुल्दा
रहरहरु फुले होलान् तिम्रो र मेरो
तर एकदिन
गोठालाको खस्रो हातले निमोठियौं र,
दर्शनढुङ्गामा चकमकको ठ्याक्कसँगै बल्यौं झुलो बनेर ।

हो,
निनाम्मा उघ्रिएको बेला
मन उघार्नु पर्छ अब ।

के छैन हामीसँग
सबथोक छ
पूर्खाको विरासत
तोयामाखियामाको तान
र, घु¥यानमा सिस्नोको झाडी लुटिएको छैन अझै
यति हो,।
अरुको सुरक्षार्थ बुट बजार्दाबजार्दा दिमाग भुत्तिएको छ
सेहें मनहरुको मान राख्दाराख्दै सपना लुटिएको छ
त्यसैले त सिम्मा,
साकेला गीतको भाकाहरुमा
म नयाँ शब्दहरु थप्दै छु,
“सेल्मे र ट्याम्के हाराहार
अधिकार सबैको बराबर
सैसैला हो हुर्रा हाहा” ।

सिम्मा,
निनाम्मा उघ्रिएको बेला
सँघार नाघेर आँगनमा निस्कनु पर्छ आज
पाखाभरी राताम्य फुलेका गुराँशहरुसँग
हामी लिम्चिङबुङ दाँजिनु पर्छ
भत्काएर संस्कारका पर्खालहरु
ढलाएर शासकका शालिकहरु
च्यातेर नाटकका पर्दाहरु
रोकेर निरन्तरताका गतिहरु
एउटा नयाँ बिहानको संखघोष गर्नुपर्छ
सबैले छुन सक्ने
सबैको हुन सक्ने
त्यो विहान
बादल फाटेको निनाम्मा जस्तै
सागर पोतिएको हुनेछ
नराकार, निरामय, निरावृत
निरालस्य, निरापद्, निराकुल…..
जहाँ हामी
घाम सँगसँगै उदाउने छौं
घाम सँगसँगै अस्ताउने छौं ।

*****
किरात चाम्लिङ राई भाषाका शब्द र मिथकहरुको अर्थ

सिम्मा —खुसे, कान्छी छोरी
निनाम्मा–आकाश
लिम्चिङबुङ–लेकमा फुल्ने एक प्रकारको वास्नादार फूल
वालाखा —-पानी भर्ने पँधेरो (किरात राईका बिजुवाहरुले मुन्धुम फलाक्दै
जाँदा पहिलो पल्ट बिसाउने ठाउँ)
मुन्धुम——किरातहरुको धर्म शास्त्र
तोयामाखियामा—एक किरात लोककथा भित्रका किराती दिदीबहिनी, छोरीचेली
साकेला——किरात राईहरुको बिजुवाले जमिन खोस्रेर निकाल्ने अण्डा आकारको ढुङ्गा, (जुन ढुङ्गाको रङ हेरेर शुभ अशुभ छुट्याईने गरिन्छ) ।
सिली——-साकेला नाच नाच्ने विधी
दायलुङ——चुल्हा, अगेना
नक्छुङ——किरात राई जातिको बिजुवा
मूल खाँबोको कथा—किरात राईहरुमा प्रचलित एक मिथक
थविया चरा र बोहोरीको रुख—किरात राईहरुमा प्रचलित एक मिथक
सेहें —–तलबितल परेर मृत्यु भएकाहरुको आत्मा, जसले बाँच्नेहरुलाई दुःख दिन्छ भन्ने भनाई छ ।

Sulochana Manandhar Dhital – Jajarkot

सुलोचना मानन्धर धिताल – जाजरकोट

सिङ्गो पोखरीमा
विष घोलेपछि
के ठूलो माछा
अनि के सानो माछा
सबैलाई मर्नु नै त छ !

Basu Dev Adhikari – Safa Tempo

वासुदेव अधिकारी – सफा टेम्पो
(मधुपर्क जेठ, २०६८)

कति चढ्नु
प्रदुषित टेम्पो ?
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।
कीर्तिपुर जान
उत्ति लाग्ने हो पैसा
उस्तै लाग्ने हो समय
किन चढ्ने धुँवाको Continue reading “Basu Dev Adhikari – Safa Tempo”

Lucky Chaudhary – Madhuparka Timlai Subhakamana

लक्की चौधरी – ‘मधुपर्क’ तिम्लाई शुभकामना !
(मधुपर्क भदौ , २०६७)

मधुपर्क तिम्लाई मेरो, मुरीमुरी छ बधाई ।
जारी रहोस् अनवरत्, साहित्यिक तिम्रो लडाइँ ।।
बयालीस वसन्त पार गरी, त्रिचालीस लाग्यो ।
वाङ्मय क्षेत्रको श्रीवृद्धिमा, सबलाई नाघ्यो ।।
अझ लम्क अगाडि, नथाक क्यै गरी ।
जुध्नु छ तिम्ले, निरन्तर अगाडि बढी ।।
लाखौँ पाठक तिम्रा, शुभचिन्तक जो छन् ।
तिम्लाई पढी गर्छन्, एक अर्कासँग मन्थन ।।
धेरै तिम्ले गर्‍यौ, अझ धेरै गर्न बाँकी छ ।
तिम्रो ज्ञानवर्द्धक खुराक, हाकाहाकी छ ।।
तिमी नै हौ अगुवा, साहित्यिक फाँटको ।
नगर्नु है भेदभाव, कुनै जातिवादको ।।
तिम्रा पथप्रदर्शक बढून्, अनगिन्ती ।
निडर, निष्पक्षी बन, गर्छु म बिन्ति ।।
नलागोस् दाग कुनै, घृणा र पक्षपातको ।
सबको मनमा बस्नु, नगर्नु काम विश्वासघातको ।।
समाज बदल्ने अभियान तिम्रो, शिखर चुमोस् ।
क्यै गरी तिम्रा साहस, आँट, कदाचित नगुमोस् ।।
मैदानमा एक्लो खेलाडी, नठान्नु है तिमी ।
अरु पनि छन् पछाडि, यो बात जान्नु है तिमी ।।
तिम्ले बाटो बिर्से, अरु अगाडि बढ्लान् ।
तिम्रो एक लापरवाहीले, तिम्रै बुइ चढ्लान् ।।
तिम्रो शान, मान, विरासत, गुम्ला नि
तिम्ले चुम्ने ताज, अरु कोही चुम्ला नि
लाखौँ तिम्रा सिपाही छन्, कदाचित नडराऊ ।
सबको मन जिती, करोडौंमा आफूलाई पुगाऊ ।।
न थाक, नलेऊ विश्राम, गर हरदम सामना ।
सगरमाथा शिखर चुम, यही छ शुभकामना ।।

– धनगढी, कैलाली

Asha Gurung – Euta Sankalpa

आशा गुरुङ – एउटा संकल्प

म हिंड्न खोजिरहेकी छु तर कतै बिच बाटोमा आफू हराएजस्तो
म पोखन चाहन्छु आत्मबाटै तर म सकिरहेकी छैन
म आकाशमा खुल्ला सयर गर्ने प्रयास गर्छु
तर चुम्बक झै एकैठाउँ टाँसिरहेजस्तो म चल्नै सक्दिन

म आँफैलाई थाहा छैन के भैरहेको छ मलाई
कसैले अठ्याइरहे जस्तो, कसैले घाँटी निमोठिरहे जस्तो
म आँफैभित्र उकुसमुकुस हुन्छु तर ब्यक्त गर्न असमर्थ छु
म केहीसँग अल्झिरहेजस्तो,कसैको सहाराको पर्खाइमा छु

तर वास्तबमा म आँफैभित्र अल्मलिरहेकी छु
त्यसैले आँफैसँग भित्रभित्रै आफ्नै लागि लँडाइ गरिरहन्छु
म चाहँदिन म त्यही दोभानमा बाँचिरहुँ
म चाहँदिन त्यही त्रिबेणीहरुमा आफुलाई घोचिरहुँ

म निस्किन चाहन्छु त्यो भयाबहबाट
र राख्न चाहन्छु आफुलाई बिशाल आकाशको छातीभित्र
जहाँ म केबल सिमित हुँदिन म भित्रै जसरी म थिएँ
त्यसैले सकिनसकी धकेल्छु आफुलाई सकारात्मक सोचहरुसगैँ
अन्तत बिजयी पनि हुन्छु आशाहरुको नौलो किरणहरुसगैँ

जहाँ म फुल्न सक्छु,फक्रन सक्छु बिस्तारै भएपनि
म पोख्न सक्छु मेरा भावनाहरु स्वतन्त्र रुपले
जसरी चराहरु उड्छन निस्चिन्त आफ्नै वेगमा मनपरी
म बग्न सक्छु अबिरल नदीजस्तै एकैमासमा
जसरी यसको कसैलाई कुनै प्रश्न छैन,गुनासो छैन न त प्रतिकार नै

फेरी पनि मैले घचेटेँ आँफैलाई त्यो कल्पनाको संसारमा
जहाँ सपनाहरुको बास छ, जहाँ सिर्जनाहरुको भण्डार छ
जहाँ म डुबिरहन सकुँ,घोत्लिरहन सकुँ र ब्यक्त गरिरहन सकुँ निरन्तर
लीइ सुन्दर्,सभ्य अनि सन्तुष्टिको पाठहरु अबका बाँकी दिनहरुमा

बिचलित नहुँ म कहिले त्यो अन्धकारको बाटोहरुमा
म हुनेछु मेरो विश्वाशहरुको साथमा हरेक मोडहरुमा
जसरी यसले मलाई साथ दिरहनेछ,
जिउने हिम्मत म भित्र जगाइरहनेछ ।।

इजरायल

Narad Bajracharya – Bhabisyawani

नारद बज्राचार्य – भविष्यवाणी

सुन
म भविष्यवाणी गर्न गइरहेछु
म भविष्यवाणी गर्न गइरहेछु
म भविष्यवाणी गर्न गइरहेछु

चर्का आवाजहरु
कतै गायब हुनेछन्

उठेका हातहरु
सम्म्याइने छन्

दगुरेका पाइतालाहरु
ताछिनेछन्

मन्दिरमा मात्र
पुजारी पुजिनेछन्

सुन
तिमी जो हुनुपर्छ भन्थ्यौ नि
त्यो हुन्दैन
जो नहुनु पथ्र्यो भन्थ्यौ नि
त्यहि हुनेछ

र, लामो समयसम्म
त्यो नहुनुपर्ने
भएर – फैलिने छ
फैलिने छ
फैलिने छ
र,
फुट्नेछ ।

कुलेश्वर, काठमाडौं

Bishnu Nanda Chamling – Pakhuri Sipma Halhali Jindagi (Nepali Gajal)

बिष्णु नन्द चाम्लिङ्ग – पाखुरी सीपमा हल्हली जिन्दगी (गजल)

पाखुरी सीपमा हल्हली जिन्दगी ।।
आतुरी मातमा तल्तली जिन्दगी ।।

बातमा प्यासले खोज्दथे पोखरी,
सम्झियो माथले कल्कली जिन्दगी ।।

माधुरी मातमा Continue reading “Bishnu Nanda Chamling – Pakhuri Sipma Halhali Jindagi (Nepali Gajal)”

Bhupin Byakul – Shabdakosh

भूपिन ब्याकुल – शब्दकोश

मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णाली पारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले

कर्णालीमा शब्दकोश
केहि पानाहरु खाली छोडेर
प्रकाशित कुनै वैरागी किताबजस्तो लाग्छ
जहाँ नछुट्नुपर्ने धेरै कुराहरुसंगै
छुटेको छ कर्णालीको नाम
अथवा कर्णाली
त्यही वियोगीकविजस्तो लाग्छ
जसले आफ्नै आँखाअगाडी
कविताले आत्महत्या गरेको देखेको छ
अथवा त्यो समयजस्तो लाग्छ
जसले देशलाई अश्लील गालि गरिरहेछ !

यो शब्दकोश
जसमा अर्थको चमक हराएका शब्दहरुमात्र छन्
यो शब्दकोश
जहाँ प्राण उडेका खालीखाली पृष्ठहरु छन्
कसरी थाह पाउँछ
कि कर्णाली
कति ज्यालामा भोकभोकै कालापहाडमा भारि बोक्छ ?
कसरी ज्यान दाउमा राखेर
विलासीहरुको लागि यार्सागुम्बा टिप्छ ?
कति लामो लाइन लाग्छ खाद्य डिपोमा
सात किलो चामल वा एक पोका नुनका लागि ?

कसरी दशैं मनाउँछ
रित्तारित्ता मदुसहरुबाट हावा झिकेर ?
यो शब्दकोश
जहौँ अर्थको टलक हटाएर शब्दहरुमात्र छन् !

निश्चित छ
शब्दकोशको कुटिल सम्पादक
उसलाई कर्णालीको गीत सुनेर कुनै खतरा छैन
अझैसम्म लागिरहेकै छ उसलाई
कर्णाली एउटा असफल गायक हो मुक्तियुद्धको
र उसको सफलता
केवल करुण रसका उदास गीतहरु गाउनुमा सीमित छ !

कर्णाली
के तिमी चाहन्नौ
कि तिमीले गाइरहेको दुक्खको गीत
पृथ्वीले सुन्ने अन्तिम शोक्गीत बनोस्
र अब त्यस्तो शब्दकोश लेखियोस
जहाँ तिमीले
जीवनका किनाराहरुमा
भोकका लहरहरु लेख्नुनपरोस
अभावका लहरहरु लेख्नुनपरोस

Bikram Subba – Daahine Shakti

विक्रम सुब्बा – दाहिनेशक्ती

भ्यालेन्टाइनको रातो थुंगाका ओँठले
मेरो निँधारको स्वाभिमान चुमेर
तिमीले मायाको वीउ छरिदिएपछि
मेरा मनका पातहरूमा टेकेर
जीवनमा मायाको भुवैभुवा फुलेकोछ

मेरो ओँठका किरणहरू चुमेर तिमीले
मुस्कानमा प्राण हालिदिएपछि
दुई अधरका तरंगहरूमा
मनमोहक रंगीन ईन्द्रधनुष फलेकोछ

चुमेर तिमीले मेरा आँखाका भञ्याङहरू
सुन्दर दृष्टिका वेर्नाहरू सारिदिएपछि
मेरा हरेक नजरका हाँगाहाँगामा
पिपिरी पात बजाउँदै प्रेमपालुवा हल्लिरहेकोछ

मेरा कानहरू सरगम सप्तकले चुमेर
तिम्रो बोलीको भायोलिन-तार रेटिदिएपछि
मेरो रगतमा लिखित नोटेशनका धूनहरू
सिम्फोनीको भाषामा प्रेमसागर उरालिरहेछन्

मेरा हत्केलाका भाग्यरेखाहरू चुमेर
तिमीले पिरतीको उर्जा हालिदिएपछि
मेरो शरिरको हरेक आलो अंगप्रत्यंगमा
माया नै मायाको विजुली दगुरिरहेकोछ

मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्
हर मोर्चामा मेरो अजेय तागत भन्नु
मभित्र तिमीले भरेको प्रेमशक्ती रहेछ
यही शक्ती मेरो दाहिने भएपछि
हरेक मोर्चामा हाम्रो प्रेमको
विजयी ध्वजापताका फर्रफराईरहेछन् ।

B J Bantawa Rai – Aba Mera Santan Haru Jaagi Sakeka Chhan

बि.जे बान्तवा राई – अब मेरा सन्तानहरु जागीसकेका छन

शान्ति माग्दा घोक्रो सुक्यो
दुख्न पनि कति दुख्यो
यहाँ पुकार सुन्ने बहिरो छ
चाल्नै हुन्न पाईलाहरु
जताततै पहिरो छ,,
त्यसैले मलाई समादृत हैन
अब बिस्वयुद्द देऊ
किनकी मेरा लागी चुहिंदै गरेका
दुषित रयालहरु सुकाउनु छ
मेरो खारो खन्नेहरुलाई
झुकाउनु छ,,,

झिल्को
झिल्को हुँ म
यदी यो झिल्को नभए
फोकलैंडको जितले मेरो सम्झना गर्दैनथ्यो,
त्यसैले म माँग्दिन, अब म मगन्ते हैन
अर्काको बुईमा चढेर बन्दुक चलाउदिन
अरु जस्तो
मलाई हत्केलामा राखेर खेलाउने कोसिस नगर

भयो
मेरा सन्तानहरुले अरुलाई जिताउदै
अरुलाई जितको माला पहिराउदै
मेरासन्तानहरु,
निशानाबाट ढाल हुँदै युद्द सिकेको
अब म फर्काउदै छु, मेरो सन्तानहरुलाई
आफ्नो हड्डीको रक्षार्थ
मेरा जरा कुह्याउनेहरुको बिरुद्द
मेरा सन्तान तुह्याउनेको बिरुद्द लड्न
मलाई बिस्वले देखेको छैन तर
तर मेरा सन्तानहरुले बिस्व देखेका छन
तातो बम र बारुद भित्र हात सेकेको छन
कहाँ सेकेनन भनन,,,,,
कोसोभो?? कार्गिल??? बर्मा???अफ्गानिस्थान??
मैले के देखिन सोधन मलाई,,,,
मैले छिमेकी हुनुको नाता मेरो भएर
मेरो धर्म निभाउँदा मेरै सन्तानलाई
मलाई मार्न सिकाउछौ, मेरो सन्तानहरु
तिमीहरुको खप्पर फोर्छन
तर म तर मेरो बिरुद्द लड्दैनन
नत्र मेरो ईतिहाँस खोतलेर हेर,
मेरो छोरो बलभद्र अफगानिस्स्तान सम्म
पानी पिउँदै मेरो नामको, मेरो शानको
मेरो रगतको लागी लडेको थियो
अब मेरो छातीभरि मेरै बलभद्रहरु छन
मेरै भक्ती थापाहरु छन।
म अब शान्ती माग्दिन
किनकी माग्नेहरु अपाङ्ग हुन
म अपाङ्ग हैन,

मेरो जराको रस पिएर
बोसो पलाएका ए! काला गोब्रेकिराहरु हो,
मेरो शिरमा उभिएर मेरो बिभिन्न
अमुल्य रत्न चोरी
फोहोर म तिर फ्याँक्ने ब्वाँसोहरु
अब तिमीहरु सँगको त्यो मेरो सम्बन्ध युद्दको
मैदानमा हुनेछ।
म अब एनरिको फर्मी जन्माउँदैछु
तर हिटलर जस्तो पतनशिल हैन
मेरो आँगन पेन्टागन, हिरोसिमा
र नागासाकी जस्तो जलनशिल छैन
नत्र हेर, मेरा घर आँगनहरु
यहाँ दैनिक रुपम जल्छ,, ढल्छ,,, बल्छ
तर,,,,,,, तर,,,,,,, तर
कहिल्यै सकिदैन
जलेर
बलेर
ढलेर
त्यसैले अब बुझ
गोब्रेकिरा र ब्वाँसोहो
मेरो घर र आँगनलाई
सुरक्षित राख्न ग्रेटवाल लाउन पर्दैन
पानीमरुवाहरुले, अर्काको बुइँमा चढ्नेले
बन्दुक चलाउँदा पिल्सिन्न मेरा पर्खालका चर्महरु
तिमीले जुनै रुपले ल्याउ मेरो पतनका लागी
छोड्दैनन मेरा सन्ताहरुले आफ्ना धर्महरु,

कुदृष्टी नलगाउ ! निदाएका मेरा मेची र कालीलाई
नचलाउनु,,, नब्युँझाउनु
बगाउनेछन सोहोरेर सिनित्तै
खोंचमा कोचेर तिम्रा शिरमा बजार्ने छन
दण्डित बञ्चरोहरु।

त्यसैले नछुनु मेरो चौघेराहरुलाई
तिम्रो खप्परलाई निशाना बनाएर
ग्राण्ड क्यानिन रुपी शिलाहरु
खस्नेछन तिम्रा टाउकाहरुमा
त्यसैले नछुनु, छुने कोशिषनै नगर्नु
तिम्रो शरिर सिलौटोको गोलभेंडा नबनोस्
फट्ट फुटेर छरपष्ट नबनोस तिम्रो
बिस्तारबादी आन्द्राहरु।

धेरै देखे तिम्रो राजनिती कुहिएको
गन्धे, थोत्रे, घिन लाग्दो,
म अब मैकिया वलीको सिद्दान्त
पढाउनु छ,मेरा सन्तानहरुलाई
तिम्रो ढुँडीपरेको राजनितीको बिरुद्द
तिमीले रोपेको राजनिती
मेरो शरिर बाट खौरिएर फाल्नु छ।
मेरा सन्तानहरु अब तिम्रो अन्यौल राजनितीभित्र
कैद हुने छैनन, सजिने छैनन,
बैचारिक कलहमा गाँजिने छैनन

लड्नेछन जो आएपनि
चारै दिशा कालो बादल छाएपनि
अल्बर्ट आईन्सटाईनले झैं
आफ्नो सिद्दान्त लुकेर लेख्ने छैनन
हारको दस्तावेजमा सहीछाप गर्ने छैनन,

मेरो शिशुकक्ष भित्र
थुप्रै हुर्किदै छन,
नील्स बोहर,
सिगमण्ड फ्रायड,
बर्नल बाल ब्राउस,
मेडम क्युरी अन्य थुप्रै आर्क मिडिजहरु,
हैन भने किन लाग्छन म्याग्सेसे का खातहरु,
किन भरिन्छन म्याग्सेसेले मेरा सोकेसहरु,
म्याग्सेसे दिने र दिलाउनेहरु
अन्धा छैनन,
मेरा सन्तानका कला कौशल
अनी शुरता सँगै कैयौं भिक्टोरिया क्रसहरु
त्यतिकै सजावटका लागी झुण्ड्याइएका होईनन,
मेरो पृष्ठभुमीलाई च्यातेर हेर! ब्वाँसो हो
गोब्रेकिरा हो,

त्यसैले

खबरदार! अब तिमीहरु मेरो
शरिरमा कुदृष्टी लगाउने कोशिष नगर
अब मेरा सन्तानहरु जागीसकेका छन/
अब मेरा सन्तानहरु जागीसकेका छन//

बैसाख १५ २०६७

Bishesh Guragain – Bisthapit

बिशेष गुरागाईं – बिस्थापित

सोचाइका फाँटहरु
धाजा फाँटेका गराजस्तै
किन पत्र पत्र चिरिएका छन् तिम्रा
छिमेकीले मिचेको साँधजस्तै
किन साँघुरिएकोछ
किन फैलन सकेनन पंख फैलाउँदै
उढ्ने चराका एक हुल बथान जस्तै भएर

हाम्रा रहर बिगत भन्दा चुलिएका छन्
हाम्रा सपना हिजोका भन्दा स्वदिला भएका छन्
ईच्छा फैलिएर सगरमाथा जित्ने होडमा लागीसके
तिमी उही पुरानो सोचको धरहरा उभिइरहेकाछौ
आजको आजसँग बेमेल भएर

समयसँगै नजर फेरिनुपर्ने
परिष्कृत हुनुपर्ने बिचार
चुलिनु पर्ने ईच्छा
अवतरित हुनुपर्ने नौलो आयाम रहरको

भुमंडलिकरणको रहस्य भित्र
साँघुरिएको समयले
डायनोसोर र साङ्लोको किम्बदन्ती पछ्याउँदै
अर्को इतिहास स्थापित नगरोस्
आजको आजले तिमीलाई बिस्थापित नगरोस् ।

Rupesh Rai – Chitta Kina Bujhdaina

रुपेश राई – चित्त बुझ्दैन किन

कुन्नि किन,
बालक छँदा ‘देवता’ले
सुनाएका उखानहरू,
‘ममा’ले दिएका उपदेशहरू,
काँड़ा उमारेर शरीरमा
कुत्कुत्याउँथ्यो इच्छाहरू। इच्छाहरू,
सुप्त होइन,
सन्निपातजस्तो। अनाम वेस्वाद।

वेस्वाद पास्नी गरेर इच्छाले मनको
चित्त बुझाउन सकिएन। सकिएन सनतुष्टी पाउन
अखानो पारेर छोड़ेको ‘वच्चा’जस्तो
सड़कमा चित्त बुझाउन व्यस्त दुनियालाई
‘ममा’ भनेर/ ‘देवता’ भनेर।

भनेर कसैलाई,
चित्त बुझ्दैन। बुझोस् पनि किन!!
‘वाद’हरू आआफ्ना झोलामा
‘कपट’ बनेर ठह्रै भइसके ‘तेस्रो ववश्व।

विश्वभा अब चित्त कस्को बुझ्ला र ???
यै चित्त बुझाउन,
‘सुङ्गुर’ले जून चियाउन थालेको छ। ‘सम्बन्ध/साइनो’
लजाउन छोड़ेको छ। गाउँघरमा सहरमा, कुनै एउटा
‘अँध्यारो कोठा’देखि ‘उज्यालो आगन’सम्म।

आगनसम्म साँगुरिएर
डल्लिएको छ व्यवहारिक्ता,
खस्किएको छ सौहार्दता, सभ्य समाजमा। समाजमा,
कर्के आँखा’हरू इर्ष्या च्यापेर,
हाँक्छन् फुर्सदका गफहरू
प्रदुषित चित्त बुझाउन,
खल्लो मानदै मानवता।

मानवता, कहिले मलामी भएर,
कहिले जन्ती भएर
सामाजिक बनेजस्तो गरी,
नाली ओह्रालो बारी र कान्ला हुँदै
बहुलट्टी भएर, स्वास-प्रस्वासमा बहिरहन्छ !!

दार्जिलिङ

Sarita Tiwari – Mero Pyaro Murchunga

सरिता तिवारी – मेरो प्यारो मुर्चुङ्गा

मेरो प्यारो मुर्चुङ्गा !
खर्कतिर लाग्दा
अँगालाभारी धुन समेटेर ल्याउनु
मैले ओढेका रहरहरु
मैले पिएका कहरहरु
र अनुभव गरेका खुशीहरु
सम्पूर्ण
त्यही धुनमा मुछेर
म तिमीलाई खर्कभरी छर्छु !

म आफ्नै वरिपरी जमेकी छु
हिउँले छोपेका चाहन विस्वासहरु
बरफ बनेका छन् सपनाहरु
गोठ, तगरा, वन र खोल्साहरुमा
फिँजारेका तरंगहरु
सब
भयावह वर्तमानमुनि पुरिएका छन्
र पनि
प्रतिक्षारत आशाहरु
एउटा आयाम र उज्यालोको स्वागतार्थ
एक नितान अनुभूतिमा
समानान्तर धुनहरुक रेखा कोर्छन

जिजीबिषाहरुले निथ्रुक्क रुझाएको रात
स्वयंमा
बिक्षिप्त र तितर-बितर भएका बेला

धुनहरु सम्झन्छु मुर्चुन्गाका

मेरो प्यारो मुर्चुङ्गा !
खर्कतिर लाग्दा
अँगालाभारी धुन समेटेर ल्याउनु
म तिमीलाई खर्कभरी छर्छु !

२०५५/०५/१८

Sulochana Manandhar Dhital – Jeewan Ra Mrityu

सुलोचना मानन्धर धिताल – जीवन र मृत्यु

कठिन छ जिउन
थाहा पाउँदा-पाउँदै पनि
कति मूर्ख म
फेरि जीवन नै रोज्दै छु
मृत्युको साटो !