Bibek Dulal Chhetri ‘Damak’ – Ma Ta Sarhai Bigren

विवेक दुलाल क्षेत्री “दमक” – म त सार्है बिग्रे

अहिलेसम्म
आफूमात्र अघाउने प्रपन्चमा छु
आजसम्म
आफैलाइ मात्र सोच्ने बिचारमा छु
ममाथि
अहमको पदार्पण भएको छ
म गजक्क परेर
अरूले गरेको नमस्कार
अरूले Continue reading “Bibek Dulal Chhetri ‘Damak’ – Ma Ta Sarhai Bigren”

Saroj Dhital – Janata

सरोज धिताल – जनता

“त्यसै हाँस्छ यो मोरो ”
सायद तिमीले नै भनेका थियौ
अलि अलि लजाउँदै
आफ्नो कुनै मूर्खतामाथि ।

ऊ भने
अनुशासित भएर हाँसो थाम्दै
चुपचाप
लुसुक्क
लाग्यो क्यारे एकातिर
तिम्रा कृत्यहरूबारे एक शब्द नबोली ।

“त्यसै रुन्छ यो मोरो”
आज तिमी गर्जिदैछौं हातमा लट्ठी लिएर
निकै गर्वका साथ
आफ्नो शक्तिमाथि ।

ऊ भने
सुधीर भएर आँसु थाम्दै
चुपचाप लागेको छ
मन्दिरतिर
तिम्रो मनभित्र
अहङ्कार गर्जिदै छ

त्यो गर्जनले बहिरा भएका तिमी
शायद सुन्न सकिरहेका छैनौँ ।

प्रार्थनामा लीन ऊ
ईश्वरसँग भन्दै छ
प्रभु मलाई शक्ति देऊ
म क्षमाशील रहन सकूँ ।

Thakur Belbase – Neela Paila Tekne Rata Manchheharu

नीला पाइला टेक्ने राता मान्छेहरू


ढुङ्गाको छाती खोपेर
सहिष्णुताको आवाज सुन्न
आतुर मान्छेको
मन्दिरस्थापना सोचिरहेको छु

रगतले मुख धुन इच्छा राख्ने
ईश्वरप्रति
मेरो खेद छ

ताराहरूका छाती कुल्चिएर
आप्mनो अधिपत्यको
उचाइगर्व खोज्ने
ईश्वरमा
जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

आक्रोशका रगतले
नसाहरू भरेर
खडेरीको मौसम सिर्जना गर्ने
ईश्वरमा
मेरो समवेदना रहन सक्दैन

भोको पेटले
पानी उमार्न
माटोसँग भगीरथयुद्ध छेड्ने
मान्छेअगाडि
नतमस्तक क्षितिज आफै ओर्लन्छ

सम्भ्रान्त बस्तीतिर बहकिने
ईश्वर

शरीर ओछ्याएर बाँधमा
एउटा नदी नै पटाएर
मरूभूमिको बस्तीतिर
पारिजात फुलाउने मान्छे
के मान्छे अर्को ईश्वर जन्मन सक्दैन
हरेक प्रभातमा यही
कल्पना गर्ने गर्छु

एउटा यस्तो मान्छे
बारुदबाट समयलाई
सधैँ बचाओस्
एउटा नीलो आकाश उघारोस्
अनि
रक्तहीन समयलाई निर्भय फैलन दैओस्
त्यो मेरो भगवान् मान्छे

म निरन्तर आराधना गरिरहेको छु
नीला पाइला टेक्ने
राता मान्छेहरू

Gayatri Bista – Indrenimaya Aakash

गायत्री विष्ट – इन्द्रेनीमय आकाश
(Source: मधुपर्क पुस, २०६७)

बादल फाटेको आकाश
इन्द्रेनीले सजिएको
आँखा भरि भरि
सजाउँछु म
झिलीली ताराहरु
पोल्टाका पोल्टा
आँगनीमा पोखेर
एकाधिकार जनाउँदिन
दुईंवटै तारको धुन
अहाँ ! कर्णपि्रय
पैतालाको पदचाप
उकालो उकालो
हिमशिखर चुम्न
एक्लो यात्रा
सांङ्ग हुन सक्दैन
दुई गोडाको पदचाप
दुई हातको हातेमालो
इन्द्रेनीमय आकाश
वस! इन्द्रेनीमय आकाश ।

Rakesh Karki – Kalle Bhanchha Bideshma

इन्जिनियर राकेश कार्की – कल्ले भन्छ विदेशमा

कल्ले भन्छ विदेशमा संस्कृति छुट्छ
कामै मात्रले सांसारिक मायामोह भुल्छ
यहाँ त हरेक मृत्युमा बरखी बारेका छन्
शिरदेखि पैतालासम्म सेतै हिऊँ ओढेका छन्

कल्ले भन्छ विदेशमा भाषा विर्सन्छ
अमेरिकन पनले नेपालीपन छोपिन्छ
यहाँ त आतंकले अन्योल नेपाल बोल्छ
दाजुभाइको वियोगले अमेरिकै पोल्छ

कल्ले भन्छ विदेशमा जो कोही हराउँछ
आफ्नो आफन्त भुली एक्लै रमाउँछ
यहाँ त बेरोजगारी हातगोडा चलेका छन्
र पनि घाइते गाउँबेशी दु:खेका छन्

नेपाली वंश जगेर्ना गर्न कोही
टेष्टट्युब वेवी जन्माएका छन्
विचरी सताईएकी विधवा चेली
वेहुली बनाई अन्माएका छन्

यस्ता रमाइला खुशी सुन्दा
विदेश मै पनि लालीगुराँस फुल्छ
घडीको सुइ सँगै घुम्दा घुम्दा
एकैछिन मनले थकाई भुल्छ

कल्ले भन्छ विदेशमा नेपाली जन्मिदैन
पुर्खाको रगत नशा नशामा बग्दैन
यहाँ त पितृको आशिक शिरमा थाप्ने छन्
नेपाली सन्तानले डाँडाकाडाँ ढाक्ने छन् ।।

लस् एन्जेलस्

Bodh Raj Pant – Desh Euta Profile

बोध राज पन्त ‘अनागत’ – देश एउटा प्रोफाइल

मैले यो धर्तीमा सोंचें फूलफूल पलाउँछ
फुलले खटीरा पीला भित्रभित्र गलाउँछ
कोशी कर्णालीको माया छातीमा सल्बलाउँछ
भाग्य नेपालीको बास बस्न यै ठाँउ आउँछ
ढल्छन् दूर्गहरु छिट्टै स्वार्थका ब्यभिचारका
झूपडी झूपडी पुग्छन् चेतना अधिकारका
न क्वै अन्यायमा रुन्छ धातमा प्रतिघातमा
मेरो देश म हेर्ने छु अन्नका खातखातमा
मेची शिर उठाएर महाकाली चियाउला
गण्डकी किस्तीमा फूल लिएर भेट्न आउला
नेपाली भित्र नेपाल हर्षले खित्खिताउला
बैनी भेट्न भनि रारा फेवा आगन धाउला
हेर्थें आकाशका तारा हर्षले टिल्पिलाउँथे
जुनको गोधुलीभित्र देखिन्थे र बिलाउँथे
हिमाल छाती खोलेर उभिन्थ्यो शूरवीर झैं
पहाड मुक्तिका निम्ति देखिन्थ्यो तीक्ष्ण तीरझैं
कति आशा लिई छाती गोली खान तयार थे
सधवा विधवा बन्न खुसीले तम्तयार थे
काँधमा लाश छोराको बोकेर लडखडाउदै
हिडथे बाबुहरु बाटो पताका फर्फराउदै
अब नेपालमा यौटा विहानी झिल्मिलाउँछ
सदियौं देखिको कालो मैलो आफै हराउँछ
मैले सोंचे तिमी सोंच्यौ ,सबैको साेच यै थियो
थाहा थिएन त्यो हाम्रो साेचमा खोट कैं थियो
अ‍ैले यो धर्तीमा देख्छु काँढा काँढा जताततै
पाकेका खटीरा पीला गीला गीला जताततै
पैताला मनि कुल्चेर आफ्नो मस्तकको गति
श्रीमति बेच्न हिड्दैछन हिन्दू आदर्शका पति
किन कर्णालीको माया आज छिन्नबिच्छिन्न छ
उही छाती उही मुख आवाज भिन्नभिन्न छ
हिजोका बाँसुरी आज खैंजडीझैं कराउंछन्
आदर्श शीतबिन्दुझैं यत्ति छिट्टै हराउछन् ?

हिजो जंगलमा देख्दा दुर्गा वाहनझैं थिए
सदाचारी थिए बोल्दा मोती टप्टप खस्दथे
भोका नाङ्गा दरीद्रीका मुक्तियोद्धा महारथी
न्याय आवाजका शंख फुक्ने अर्जुन सारथी
आज हिंशक हिंसामा दत्तचित्त म देख्दछु
रक्तको कुण्डमा मुण्ड गाडेको पनि देख्दछु
जस्को कांध चढी हिड्छन् उसैको शरच्छेदन
जस्को विश्वासमा बाँचे उसैको गति भेदन
हिजोको पर्णकुटी जो उन्को आश्रयको थलो
आज छैन त्यहां भीमकाय बिल्डिङ पो फल्यो
थाहा थिएन विश्वास आस्था बेचेर बिक्दछ
खिया विवेकमा लाग्छ आत्मा बेचेर बिक्दछ
नारा भाषणमा देश मानो सुन्दरी हो अझै
तिमी भन्छौ, म देख्दैछु देशलार्ई बूढी बज्यै
टेक्ने छैन कुनै लौरो हात खुट्टा बिदीर्ण छन्
हड्डीमा धमिरा लागे आकांक्षा जीर्ण जीर्ण छन्
छोराको घरमा जान्छिन् चौकिदार धपाउँछ
छोरीको घरमा जान्छिन्् भोटे कुकुर आउँछ
सोध्छु नेपालकी आमा तिम्रो भाग कति पर्यो
भन्छिन् विश्वासको अश्व भीरबाट खसि मर्यो
बाठोको पुत्र हो लाटो, लाटो भाषण गर्दछ
लङ्गडो माइती नातो दौडमा अघि पर्दछ
अन्धोले देशको भाग्यचित्रमा रंग भर्दछ
योग्यता बन्दकोठामा छट्पटिएर मर्दछ
यस्तो कीन? प्रजातन्त्र यसैलाई भनिन्छ र
भक्तिको शक्तिमा मात्रै यस्को बाटो खनिन्छ र
देशको अंशबण्डामा प्रजातन्त्र जुटेपछि
स्वार्थका निम्ति योद्धाका मनोभाव फूटेपछि
बाँकी के हुन्छ ए मान्छे के खान्छौ भोलीको दिन
मैले सक्तिन मान्छे हूँ आफ्नो औकात बिर्सिन
म यौटा कवि मात्रै हूँ देखेको बोल्न खोज्दछु
आत्मघात जता देख्छु उतै बिद्रोह बोल्दछु
नारा भाषणमा मात्रै देशभक्ति हुनेभए
मेरो जिब्रो म थुतेर गण्डकीमा बहाउँछु
स्वार्थ सन्त्रास अन्याय प्रजातन्त्र हुने भए
मेरो आस्था म थुतेर कोशीमा ठिठुर्याँउछु

यता नुन नपाएर हूम्ली क्वै भोकले मर्यो
उता सून चपाएर क्वै स्वार्थ शोकले मर्यो
झूठ्ठा आरोपमा मान्छे छिडीमा कुहियो मर्यो
पुर्वाग्रह भरिएछ प्रजातन्त्र कता पर्यो ?
भेटी माग्दछ हाकीम देश कैं मालमा दुख्यो
योजना तुहिए देश शकुनी चालमा दुख्यो
मिचिए दश्गजा देश आफ्नो आकारमा दुख्यो
तस्करी फैलियो देश भ्रष्ट आचारमा दुख्यो
कविले कविता बेच्यो देश मेरै दुखिरह्यो
कसैले सरिता बेच्यो देश मेरै दुखिरह्यो
पिताले पूत्री बेच्यो रे देश मेरै दुखिरह्यो
सीता साबित्रीको देश धेरैधेरै दुखिरह्यो
शिष्टता मासियो देश कैले संसदमा दुख्यो
पजेरो भित्र टोलायो कैले सांसदमा दुख्यो
तानातान छ खुट्टाको कुर्सीमा पदमा दुख्यो
कति हो सहने? देश सहने हदमा दुख्यो
आफ्नो विश्वासको मान्छे खसीबोका भएपछि
जता चिल्लो सुघाइन्छ उता उता गएपछि
चिल्लोमा लर्किइ देश रगताम्य भएपछि
कति सहन्छ मान्छेले देश नै नरहे पछि
यस्ता बिकृतिका मूल च्याति फाल्न सकिन्न र ?
स्वार्थका दुर्ग आगोमा राखी गाल्न सकिन्न र ?
सकिन्छ, हामीमा यौटा संकल्प फूट्नू पर्दछ
सबै नेपालीमा यौटा आकांक्षा जुट्नू पर्दछ
यत्नले छाइए छानो बर्षामा चुहिदैन रे
आफ्नो बस्ती डढाएर आगो ताप्नु हुँदैन रे
आउ विश्वासको फुल फुलाउन जुटौं अब
जुटेमा हामी भत्कन्छन् फुट्नेका आत्मगौरव

– मणिग्राम,रुपन्देही

Narayan Shrestha – Eklo Pahad

नारायण श्रेष्ठ – एक्लो पहाड

गोरु गाढा र ट्रयाक्टरको आवाज पछ्याउंदै पुग्ने गाउंलाई
वालुवाको सानो ढिस्कोले छेक्छ केहीवेर
सांझको पातलो घामको छायांमा विलाउन खोज्छ
पीपलको पात र सल्लाको आवाज
ओराली परेको गोरेटो वाटोमा पाहुना हुनेछन–चाड मनाउन आएका
दोहोरी लत्तै फर्कने छन्,
लेउ लागेको चिप्लेटीमा पाईलाहरु पर्नेछैनन
वाटोभरि विछ्याउंदै, देउरालीको भीमसेन पातीले
सम्झना गर्नेछन काट्न वांकी वाटोको यादलाई
केटाकेटीहरु अतालिनेछन वाटोको लम्वाई नापेर
खोल्सा खोल्सीमा वगेको पानीको आवाज
निकै पुरानो नोष्टाल्जियामा वांच्दै गरेको उउटा आधुनिक गाउं
पुरानु दोहोरी गीतको धुन
आधुनकि टेलीभिजनले छरेको रंग
यो राजनीतिको भाकाले कोरेको नयाँ सीमारेखा
सास फेर्न पनि गाह्रो छ
उधारो छ पाखाभरि पहिरो र पसिनाको
फेर्न मिल्ने भाकाहरु छैनन
रित्तो काईंयोको पोथ्रा र वांसघारी
सुनसान चीया पसल र पानी पंधेरो
केटाकेटी र वुढावुढीको लहरे खोकी मात्रै छ गाउंमा!

मसिना शीतको थोपा आकाश चीर्छ
शरदको जून पोखिन्छ र मानिसहरु मायालु वन्छन
वाक्लो लवजमा कोही आउने छ
विद्रोह जस्तो पदचाप लिएर
अपहरण गरेर वस्नु पर्छ पानी तीर्खालाई
वालुवाको कविता लेखिएको क्षण पनि
सम्झाउन खोज्नु पर्ने छ
सुल्पा तानीरहेको वुढालाई,
तखतामा सजाईएको छोपको अचारलाई र आमालई
तर्पायं परेको ढुङ्गेलो वाटोभरी
यादले सताउने छ!

उ गयो यो अंध्यारो जस्तो वाटो चिरेर
त्यसभन्दा पर अर्को भूगोल पनि हुनु पर्छ
एउटा सम्झना लिएर
जून पोखिएको वाटो हाँदै
सलाम गाउंलाई –
लाहुरेको कथाजस्तो
कतिखेर ओईलाउने र कत्तिखेर वौराउने वावरी फूलको लहर
सुकेर, ओईलिएका थांक्राभरिका तरकारी
वजार हुने छैन
सारन तारनमा अडिउन्जेल चल्नेछ
यो सम्वन्धको डोरी
गाईगोठ जस्तो अल्मलाई
ढुङ्गा, गीटी र वालुवा भरिएको यात्रा
आफै उठेको विस्तारै
आफै झरेको विस्तारै
विपर्यास गति लिएर
न अघि न पछि
वढ्नु छ केवल प्रतयेक दिन मनिदरको घण्टीसम्म
कहांनेर भेटुं होला
यो निस्चल पानीको वहाव र प्रेमको संगमलाई

गाउंभरि कुकुर मात्रै भुक्ने छन– सांझभरि
खुकुरी वज्ने छ – छापामारको मार्चपास जस्तो
हिनहिनाएर वाटो काट्ने त्यो मात्र हुने छ
त्रास भरिएको अर्को दीनले छोप्छ फेरि
हामी समेटीन सक्दैनौं
मसिना स्वरहरुको अर्थ केही हुन्नन् –
कि हावाले उडाउंछ
कि पर्खालले छेकीदिन्छ!

भाग्नुपर्छ यहांवाट पनि भने–
नीलो खोलाको पानी हुनेछु कि नीलो तलाउ
धुपी र लहरे सल्लाको कुमारी गन्धमा हराउने छु
पाईला नै नपरेको भर्जिन पहाडहरुमा
नाउरको प्रेमालाप हेर्दै रमाउन हुनेछ
या चौंरीको खुरवाट उडेको धुलोले अनुहार छोपीदिन्छ
यो पहाडको खोचवाट हिउं झरेको छ
हिउंको थुप्रोमा छायाहरु कोरिन्नन्
ती पग्लिएर झर्ने पानीका आकारहरु हुन

नीलो आकाश र सेतो वादल लुकामारी हुन्छ
तर यो नाङ्गो पहाडले घाम छोपीदिन्छ
पानी परेको वखत ओत लाग्न वलेसीहरु छैनन
त्यो सानो खोलाको धारो, पानी घट्ट र उकालोको घुमाउने चौतारी
उस्तै छैनन्,
फेरिएको छ वादलको रंग,
एउटा छोर्तेन आईपुग्नुपर्छ–
तर हामीहरु हिडीरहेका हुनेछौं

Ritu Ashik – Madhesh

रितु आसिक – मधेस

मुटुभरी छलकपट सँगालेर
तराई मधेश बन्न सक्दैन
तराईको पीडा
दाईजोमा आएको मधेशले बुझ्न सक्दैन ।
राष्ट्रियताप्रतिको अगाध स्नेह
रुपान्तरित राष्ट्रियता
ईतिहासको पौठेजोरीमा
उछीत्तो भएको Continue reading “Ritu Ashik – Madhesh”

Bhupin Byakul – Premi Haru

भूपिन ब्याकुल – प्रेमीहरु

प्रेमीहरु
सिर्फ सम्मोहीत पुतलीहरु हुन्
जो प्रत्येक रात
आफ्नै सपनाहरुको मलामी जान्छन्
र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी
मृत्युको तयारी गरिरहन्छन्
बारम्बार
आगोको समुन्द्र Continue reading “Bhupin Byakul – Premi Haru”

Pawan Chamling Kiran – Samaya Ra Sapanako Hichcha

पवन चामलिङ किरण – समय र सपनाको हिच्चा

हुनसक्छ तिमीले बिर्सिसक्यो
तर पनि याद होला
एउटा सभामा हाम्रो भेट भएको;
तिमीलाई भेटेर मलाई रमाइलो लागेको थियो
मान्छेले मान्छेलाई भेट्दा रमाइलो लाग्नु
आनन्द Continue reading “Pawan Chamling Kiran – Samaya Ra Sapanako Hichcha”

Tanka Subba – Manko Ruprang Dekhindaina

टंक सुब्बा – मनको रुपरङ्ग देखिदैन

मनको रुपरङ्ग देखिदैन
केवल हृदय भित्र
सल्वलाईरहन्छ /छचल्किरहन्छ
त्यसैले मन सधै
के गरु कसो गरु भईरहन्छ
मनको कुनै प्वाख हुदैन
तर उडि रहन्छ जताततै
मनको कुनै पाईला हुदैन
तर डुलिरहन्छ सारा संसार
कहिले दुख कहिले सुख
अनुभव गरीरहन्छ
पदचाप दिईरहन्छ मुटु भित्र निरन्तर
अनि पानी झैं कहिले कहि
छयालब्याल वाटो भरि पोखिन्छ
उन्मत भएको मन
सम्झना र तिर्सनाको दोसाधमा
फूलिरहन्छ जीन्दगी संग
समयको घोडा माथी चढेर
आकाश पाताल हुइकीरहन्छ
पलपल छातीमा
धड्कन झैं धड्किरहन्छ
कहिले निभ्छ कहिले वलेर आगो झै
दन्दनी पोल्छ /जलाउछ
परिवर्तित मौषम जस्तो
मनको
कुनै अङ्ग हुदैन
कुनै रङ्ग हुदैन
त्यसैले त क्षण क्षण मै मोडिन्छ/ तोडिन्छ
कहिले तितो कहिले मीठो
भोग्छ भोगीरहन्छ
मनले
कहिले आशु कहिले हासो
टेक्छ मनले
कहिले आफ्नो कहिले पराई
देख्छ मनले
जीवनको उचाई र गहिराई
नाप्छ मनले
त्यसैले त मनको रुपरङ्ग देखिदैन
केवल हृदय भित्र
सल्वलाईरहन्छ /छचल्किरहन्छ

Seema Abhash – Chhodera Jane Haru

बग्ने पानीमुनिको ढुङ्गो झैं
लेउ लागेर छोडिएपछि पिँधमा
कहाँ चिसो भन्न पाए र

इन्द्रेणी ओराल्ने गरेका
उपत्यका कहाँ विलाए
माझीले चलाउन छोडेको
डुङ्गा किनारमा छोिड
जलकुम्भी झैं तैरदै
कुन बाटो रोजे
सेता हाँस बनेर

घरमा पुज्ने भूमें देउता ढोगी गएपछि
घरमुनि सेताम्मे फूल्ने अम्बकका रुखछेउ
किन फर्किएनन्
घण्टी फूल फूल्दै झर्दै गरेको यामको बेवास्तागरी
आलुबखडाका फूलमा ओर्लने न्यानो घामको छायाँ नाप्दै
किन पश्चिम भज्याङ तरेर
कोशीको बगरै बगर लस्करै गईरहे
सहनाई बजाउँदै
सेतो फेटा गुतेर

छोडेर गएपछि
नदिले किनार भत्काएको छैन
बढाएको छैन बगर
नीलो दहमा पौडने माछाका भुराहरु बढेका छैनन्
बिहान खस्नु अघि नदीले गाउने भाका फेरिएको छैन
हिंडेभन्दा टाढा पुगेको छैन भज्याङ छिचोल्ने बाटो
बेहुली चरीले उज्यालोको रंग फेरेको छैन

त्यहाँभन्दा पर ठोक्किएको छै बतास
जहाँ छोडिएको थियो
माहुरीको घार जस्तो सुन्दर पुख्र्यौली थलो

किन फर्कदैनन् छोडेर जानेहरु
बचेरा उडेको चराको गुँड जस्तै
टुहुरो बनाएर देउराली
न्यास्रो मानेर चुपचाप उभिरहेको वरपिपल नसम्झी
बाढीतिरै सोहोरिएर
जिउभरिको कपडा च्यातिउाजेल बगीरहँदा
दोभानको किनारैपिच्छे
छोडिएको छाँया खोज्दा खोज्दै
हराएको वयस्कपन
ढुङ्गामा थुपारेर
बेसरम च्यातिएको
बुढो धोती जस्तै
गाँस्न नमिल्ने जिन्दगी घिसारी
दोभानमा थकाई बिसाएर
मुठ्ठिभरि घाँस च्यापेर
खच्चड हिँड्न छोडेको
र जूनकिरी बल्न छोडेको गल्लीका
काँडा कुल्चँदै
किन गईरहे छोडेर जानेहरु
दियालो बाल्दै
जीवनभर गाईएका सुमधुर धुनसँगै ।

Bhupin Byakul – Kahin Napugeka Yatri Haru

भूपिन ब्याकुल – कहीं नपुगेका यात्रीहरु

फ्रेस हाउसमा काटिनका लागि
पालो पर्खेर बसिरहेका कुखुराहरु देखेपछि
म सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु !

बसले उडाउदै गएको धुलोको गुम्बज पछिपछि
टायर Continue reading “Bhupin Byakul – Kahin Napugeka Yatri Haru”

Hom Bahadur Chhetri – Raja

होमबहादुर छेत्री – राजा
(कुवैत)

म एक राजा हुँ !
मेरो राज्यमा
दुख, शोक, सन्ताप, व्यथा
पीडा, कुण्ठा,
उत्पीडन
छटपटी मात्र होइनन
तर
उ पनि वास गर्दछन
उ — मेरा देवकोटा!!

Sudhir Chhetri – Gidda 2001

सुधीर छेत्री – गिद्ध 2001

1.घामको रातो पखेटा
चुडिएर झर्नलाग्यो अब जटायुको झैं,
डोकोभरि हरियो जङ्गल अनि
खुट्टामा लाएको सरगमी पाउजु
पोखिएको रगतमा पोतिनलागे,
ठाउँ ठाउँ पोखरी जमेको छ
अवस्थितिको धमिलो Continue reading “Sudhir Chhetri – Gidda 2001”

Rupesh Rai – Netra Jal Le Lekhiyeko Bhitri Kura

रुपेश राई – नेत्र जलले लेखिएका भित्री कुरा

कहाँबाट सुरू हुन्छ
गाउँ अनि कहाँनेर टुङ्गिन्छ सहर?
बाँदरबाट मान्छे हुनुको कुरा जस्तो।
मलाई विश्वाेसै हुँदैन
मेरै कुरा।

घरमाथिको रमिते डाडामा
गएर, भक्कु लोभारूँ जस्तो लाग्यो
आफ्नै अनुहार। गतिछाडा स्वभावले।

जहिले पनि हारेर
नियास्रो अनुहार बोकी
ग्यिल्टी विचारहरू तैंछाड र मैछाड
गर्दै प्रतिसोधको भावना घुटुक्क-घुटुक्क
निलिदिन्छ लोकल र इम्पोर्टेड
रेस्तुरामा।

गाउँ र सहरको कोकटेल
वासना। देशी अतिथिलयमा मेमोरेन्डम
चडाउँदै जवानीको हस्ताक्षर गरिदिन्छ
विदाउट प्रोटेक्सन अनप्रोफेसनल पोलिटिसीयनहरू।

यो समाजले के दियो र?

गाउँलाई सुटुक्क कान फुक्छ
सहरसम्मको निम्तोले। हजुरहरू
अप्ठ्यारो पनि नमानेको वालछेल कुरा गर्न।

छोरी पाउनु पनि अब
दुर्भाग्य हुन्छ! गान्धी च्यापेर
अहिंसाको गर्भ पतन गराउने
मेरा प्रिय समाज सेवक।
राजनीतिज्ञ, विद्वानहरू!

छाडा व्यवहार
तेर्साएर ‘ल तिमी नसर्ताउ’ ले मसारेर
हर्कत उथुलपुथुल बनाउछ
उसको भित्री मान्छे।
समाजले के पायो र?

बलातकृत आँसु बाहेक!
जति-जति रस चड्दै जान्छ गाउँमा
उति-उति राल झर्दै जान्छ सहरमा।

कानून बन्छ खातामा,
न्याय हुन्छ हातमा।
लागु हुन्छ गाउँमा,
फेसला हुन्छ सहरमा।

एकक्षण झोंक चल्छ नहुँदाको
बिर्सँदै जान्छु थाकेपछि
भूल्दै जान्छु नपाएपछि
म यस्तै हुँ नेपाली विश्वले जानेको।
कुनै कुराको टुङ्गो छैन!
कुनै कुराको आधार छैन!
खिचडी स्वभाव मेरो।

Komal Shrestha Malla – Parade Khelne Chha

कोमल श्रेष्ठ मल्ल – परेड खेल्नेछ

संङ्कीर्ण
पार्टीगत स्वार्थमा केन्द्रित भएर,
मात्र राष्ट्रबादको ?
मुकुण्डो लगाइरहने हो भने
सफलता मर्छ,
बुर्की छर्दै आमाको लास उठाउदै
पार्टीहरुले कृयाकर्म गर्नु पर्नेछ

मलामी जनताहरुले सधै आशोच बार्नु पर्नेछ
त्यसैले,
शान्ति प्रतिको
प्रतिबद्दता,गम्भिरता,

ईमान्दारिताको सहीछाप गर्नेहरु
राष्ट्रभक्ति बोकेर
होस्टेमा हैसे गर
नत्र बिस्तारबादीले
यहाँ संधै परेड खेल्नेछ ….
निरुङकुसताको पातहरु
झर्यो झारियो,
हाङ्गाहरु भाँचिए भाँचियो
रुख ढल्यो, ढालियो
तर नबिर्स
जराहरु अझै उखेल्न बाँकी छ ।
नयाँ नेपाल ?
नयाँ नेपाल निर्माणको नक्सा कोर्नेहरु
शिखरमा शान्तिध्वजा फहराउन बाँकी छ
त्यसैले राष्ट्रभक्ति बोकेर
होस्टेमा हैंसे गर,होस्टेमा हैंसे गर
नत्र बिस्तारबादिले
यहाँ सधै मृत्युको परेड खेल्नेछ …

Yuddha Prasad Mishra – Ghoshana

युद्धप्रसाद मिश्र – घोषणा

झल्केको नवक्रान्तिको दिवसको एैले विहानीपख
जागेको पुरुषार्थभित्र मनको बन्दैछ आक्रामक
प्यूँने रक्त निकृष्ट शासन सधैं चल्थ्यो कहाँ बर्बर
ब्यूँझ्यो देश उठे तमाम झुपडी जाओ लुटेरा पर

आत्माको बलवान सक्रिय कदम् सिद्धान्तको भै ब्रती
मनको उत्कट त्याग साहस कडा जल्दो र बल्दो गति
सम्झेको अपमानलाई सहनू साहै्र ठूलो नीचता
मुट्ठीभर् नरभक्षी केवल उता संसार सारा यता

सक्ने कुल्चिन देशलाई डसने काला विषालु फणा
जागेको बलिदानको हृदयमा उत्मुक्त भै भावना
शोषणको नतिजा भयो हुनु थियो ज्वालामुखी दुर्धर
मुक्तिको पथमा हुँदै धरति छन् सकंष्टदेखि पर

व्यक्ति व्यक्ति सफा विमोचन हुने ठूलो बबण्डर उठी
पीडाग्रस्तहरू तमाम भयको आए सिमाना टुटी
मेटाइदिन१ वर्गभेद छ भनी मानिसका माझको
गज्र्यो निर्भयसाथ “पीडक-खत्तम्”को घोषणा आजको

१५ फेब्रुअरी १९८२
(घोषणा-१)
१. मिटाइदिन

Dipen Tamang – Timi Bina

दिपेन तामाङ – तिमीबिना

अब त
बाँच्नै गाह्रो भएछ
तिमीबिना..!

आधुनिकीकरण तिम्रो रूप
बोली र चालले आफै
उठ्न-बस्न नसक्ने भएछु ।

त्यसैले
जिन्सको खल्तीमा
दङ्ग-दङ्ग गन्हाउने
तिम्रा ग्यालरी पेटका
पिक्चर-भिडियो र
एम.पी. थ्रीको सर्वस्व यातना बोकेर
बजार
गाउँ-बस्ती फनफनी घुमाउँदैछु।

हिजाज
नझस्काएसम्म, नब्यूँझाएसम्म
वीणमा लाठिएको साँप भाको छु
सातो हराएको मान्छे भाको छु।

सङ्घर्षमा
थोत्रे पत्र लेखनलाई पराजित गरि आएको तिमीलाई
बहभरिका
कानका जाली फुट्ने गरी
रातभर-दिनभर
सुनाएको प्रेमका कथाहरू
बिर्सन सक्छु कसरी !

तिम्रो आगमनले
जीवन परिधिभित्र
नपुंसकताको क्लिनिकमा
सय प्रतिशत ग्यारण्टीको साथ
हर्बलको काम गरेको छ।

अपरिचित सुन्दरीहरू
तिम्रो फ्री सिमकार्डको
म्यासेज् र बोली प्रवाहको भेलसँगै
बगेर आउँदैछन् कोठाभरि ! सडकभरि !!

अवसरवादी / सुविस्तावादी
भुक्तभोगीहरू
तिमी जस्तैहरूले गर्दा
नपुंसकताको सिँढी उक्लेर
यौन क्रीडामा डुबुल्की मार्दैछन्।

र ………त
डर छ मनभरि
कतै
हरण गरि लान्छन् कि तिमीलाई
अपरिचित बन्द कोठामा।

अनि…… त
तिम्रो पिक्सेल आँखाअघि
द्रौपतिहरू
बार नतर्कि जस्तै भएर
मिम्रो अङ्ग प्रत्यङ्गमा
औँला नचाई दिन्छन् कि !

दार्जिलिङ

Ram Prasad Prasain – Kavya Dristi Ma Adhmaraa Raat Haru

रामप्रसाद प्रसाईं – काव्यदृष्टिमा अधमरा रातहरु

पारूहाङ्ग-सुम्निमालाई
मकलभरि धुप सल्काएर
मुन्धुम गम्दा
आंशु आंशु हुन्छन्
यी आंखाहरू

बोधगम्यताको अज्ञेय भेदमा
अवचेतन रेडियोधर्मिता
संजीवनी सजीऊन
मुखरित सदाबहार
छन्
बहारहरूमा

अधमरो रातसँगै
स्वपनिल घोप्टे भीरहरू
बक्षस्थलका मानचित्रहरूमा
श्रृजना र सन्त्रासका त्रिशुलीहरू
कलकल कलकल
सुसेल्दैछन्
हु/चीलका स्पन्दनहरूबाट

अ/प्र/भावहरूको बिरौटो
खलोमा बेठी ला/गाउने
अनि
रोपी रोपी मुठी
फलाउने मुरी मुरीको अनुपातमा
कृषि अभियन्ता
बिबश छन्
विडम्बनाका
मर्चा-मसला-मशाल
क्रमिकरूपले ठेलमठेल हुँदाछन्
खोयाबिर्के समयका खर्कहरूमा
फ्यात्त फ्यात्त
झरिरहेका आस्था र स्वाभिमानका
टुँडालहरू
झर्याप्प झुरूप्प
टनकपुरहरूसँगै

मेडुसाका अनुहारहरू
छल्दा छल्दै
बक्राकार बर्तुलभित्र
गर्तमय अस्तित्व
दशा-दिशा मार्गचित्र खोज्छ
‘ब्ल्याक होल’को
महाशुन्यमा
ईल्डोराडोलाई
सुनामीका छालहरूको
पीँधबाट
बल्छीको नापो
फड्कार्दा
आत्म-स्वीकृतिको बुइंगलमा
आम सहमतिको तोक्मा अचेंट्दै
अग्निदीक्षित आंशु का
महाशुन्यमा
प्रज्वलित‘इम्बार्गो’हरू।

अक्टोबर १० सन् २०१०

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)