नीला पाइला टेक्ने राता मान्छेहरू
म
ढुङ्गाको छाती खोपेर
सहिष्णुताको आवाज सुन्न
आतुर मान्छेको
मन्दिरस्थापना सोचिरहेको छु
रगतले मुख धुन इच्छा राख्ने
ईश्वरप्रति
मेरो खेद छ
ताराहरूका छाती कुल्चिएर
आप्mनो अधिपत्यको
उचाइगर्व खोज्ने
ईश्वरमा
जीवनका शुभकामनाहरू छरिन सक्दैनन्
आक्रोशका रगतले
नसाहरू भरेर
खडेरीको मौसम सिर्जना गर्ने
ईश्वरमा
मेरो समवेदना रहन सक्दैन
भोको पेटले
पानी उमार्न
माटोसँग भगीरथयुद्ध छेड्ने
मान्छेअगाडि
नतमस्तक क्षितिज आफै ओर्लन्छ
सम्भ्रान्त बस्तीतिर बहकिने
ईश्वर
शरीर ओछ्याएर बाँधमा
एउटा नदी नै पटाएर
मरूभूमिको बस्तीतिर
पारिजात फुलाउने मान्छे
के मान्छे अर्को ईश्वर जन्मन सक्दैन
हरेक प्रभातमा यही
कल्पना गर्ने गर्छु
एउटा यस्तो मान्छे
बारुदबाट समयलाई
सधैँ बचाओस्
एउटा नीलो आकाश उघारोस्
अनि
रक्तहीन समयलाई निर्भय फैलन दैओस्
त्यो मेरो भगवान् मान्छे
म निरन्तर आराधना गरिरहेको छु
नीला पाइला टेक्ने
राता मान्छेहरू