Bajra Kumar Rai – Birodhaavas

बज्र कुमार राई – विरोधाभास

आज निष्पट अँध्यारो छ
भोलि उज्यालो आउँछ पक्कै
तर, खोइ म के भनु ?
कसरी भनु ?
भोलिसम्म बाँच्नै नसक्ने
यी हर अन्धकारका
अभागी यात्रीलाई

जीवन संघर्ष हो
र,संघर्ष सधैं बिजयी हुन्छ भनेर
म कुन महान युध्दको इतिहाँस देखाउँ?
रगतको आहालबाट
गरीबको विभत्स्य टाउको झिकेर
जसलाई,
न झण्डाले चिन्यो
न डण्डाले चिन्यो
निरर्थक मारिए
विचरा ती भोलिका उज्यालो देख्न चाहनेहरु

किन हो खोइ !
मलाई त यस्तो लाग्छ
भोलिको उज्यालोमा
एकाबिहानै
काग,गिध्द र हुचिलहरु
सर्प, बिरालो र मालसाप्राहरु
ब्वाँसो,स्याल-प्याउराहरु
उठ्ने छन् जुरुक्कै
अशक्त मान्छेको गन्धले
र, फेरि लुछ्ने छन्
फेरि घिसार्ने छन्
मान्छेलाई।
अनि, म कसरी भनु ?
उज्यालोमा मान्छे सुरक्षित छ भनेर
भलै म उज्यालो र भोलिको कट्टर दुष्मन होइन

ए! भोलिको सपना सजाउनेहरु हो
भोलि पक्कै आउँछ
उज्यालो भएर
आशा गर
पक्कै त्यो
आउँछ आउँछ
तर,कसरी आउँछ !
त्यो भोलि नै देख्नेछौ .

Bajra Kumar Rai – Jiundo Yo Lash Lai (Nepali Gajal)

बज्र कुमार राई – जिउँदो यो लाशलाई ढलाई देऊ बरु

जिउँदो यो लाशलाई ढलाई देऊ बरु,
चिन्तामाभन्दा चितामा जलाई देऊ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु,
आउ यो भौतिक शरीर बलाई देऊ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो,
पलपलको यो लाचारीबाट छलाई देऊ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ,
आउ आँशुमै बिष छरेर चलाई देऊ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता,
भैगो त्यो बहुरुपी माया नलाई देऊ बरु