Bhupi Sherchan – Mero Jiwan Lake Jhain

मेरो जीवन लेकझैं पुरानो थियो
मेरो दुनियाँ
मुर्दा पोल्ने बगरझैं सुनसान थियो
र म आफ्नो जीवनको लेकमा
चमरी गाईको गोठालाझैं एक्लो थिएँ
तर एक–दिन
तिमी मेरो जीवनमा भैंचालाझैं अकस्मात् आयौ
तिमीले मसित प्रीत लायौ
मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ
मैले बधाई दिएँ आफ्नो यौवनलाई
अन्तमा तिमीले पनि कसैको प्रीत लायौ
तर
जस्तो कि थियो मलाई डर
निरन्तर अपमानित भएको मानिसको हृदयभित्र
अभिमान थाकेझैं
वृद्ध शरीरभित्र प्राण थाकेझैं
तिमी मेरो प्यारमा थाक्यौ
अनि फेरि आउँला भनी
नदीको लहरमा नाचेको पातझैं
भोरको प्रतिक्षामा बाँचेको रातझैं
तिमी बेपत्ता भयौ
कुन्नि कता गयौ
यद्यपि मलाई थाहा थियो
तिमी अब कहिल्यै आउँदिनौ
मेरो स्वरमा स्वर मिलाएर अब तिमीले
कहिल्यै गाउँदिनौ
तैपनि मैले तिम्रो प्रतिक्षा गरेँ
असङ्ख्य मिलनको इच्छा गरेँ
तिमी भने
कुनै अप्रसिद्ध नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैं
वादा गरेर पनि कहिल्यै आइनौ
म भने
आज पनि विना कुनै आशंका
विना कुनै विश्वासको
कुनै कुरुप बूढी कन्याको सिउँदोले
सिन्दूरलाई पर्खेझै्र
तिमीलाई पर्खिरहेछु
किनकी आज म भित्र–भित्रै
हिमशिलाझैं चर्किरहेछु ।

Sarubhakta – Pratikchhit Pratikchhya

जीवन = नौका
पीतसागरमा दुर्घटनाग्रस्त छ
नौसैनिकहरु लापता छन्
बुटिकका
खप्तडका बाबाहरु
साइवर प्रेम÷घृणामा व्यस्त छन्
खोई कहाँ पुग्यो विश्वतापमान ?
म हरितगृहतिर बसेर
इत्ना ओजन विनासको तमासा हेर्दैछु
सुरुङभित्रको पृथ्वी
गिरफ्तार मनोकामनामा ज्क्ष्ख् सेलिब्रीटी जन्माउँछन्
म हिमतालका आकाशेपुलमा सिरुवा मेला पो भर्दैछु
कासनोभा ः रतीरागका ओशोतपोवनहरु
संकटकालीन वत्ती घोखा परेको छ
आह ! यो सैतानहरुको दुनियाँमा
गुनासो पोखुँ म कुन ईश्वरसित ?
सरिया कानुन ः सुनाखरी फुलेको छ
मत्ताहात्तीका विगविगीमा
विद्युतप्रवाहित छन् हात्ती सुँढे माछाहरु
क्योटो प्रोटोकल ः ट्याङ्करमा पानी चुहिएको छ
आउ, हामी निर्वासित मनहरु वोकेर
वम वोकेका हिमलहरुलाई विदाई गरौं
सावुनका स्याउ खाएर
हिउँ फुलेका रुखहरुले कायाकल्प पर्खिरहे
आजभोलि समयहरु पृथकतावादी कब्जामापो छन्
साम्वा नृत्य महोत्सव
कहिले हुन्छ झलकमानदेखि फत्तेमानसम्म ?
म त सुन्दर कविता रच्ने
कुरुप कविहरुद्वारा उत्पीडित पो छु
वर्मुडा त्रिकोण ः सगरमाथाहरु हराएका छन्
अद्यापि लिङ्ग र जलहरीहरु
खोजीदस्ता जन्माउने प्रतीक्षामा
प्रतीक्षित छन्

Gopal Prasad Rimal – Mero Prem Ko Katha

एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन्
मेरो रवाफ सहनै सकिनन् ।
म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्
ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन् ।
तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ,
म मानिसको अगिल्तिर के टिक्थिन् ?
अर्की तिनीजस्तै नै बरु काली रहिछिन्
तिनले मलाई सपनामा पाइन् रे
किनभने बिपना बन्धन थियो
बिपनामा खेल मात्र थियो ।
यिनले मलाई बचाइन्, सपनामा पाउनेजस्तै
तिनले चाहिंँ मार्न खोजिन्, रगत पिइन्
बिपनामा नालायक ठहरिएजस्तै ।
कालीहरुको कथा आयो, गोयो ।
अब गोरीहरु छुत्ती खेल्दै छन्
म पनि खेल्दै छु ।
यस्तो प्रेम आखिर लीला न हो
लीलाले पनि मलाई अलमलाउन सकिनन् ।
लीलासित हरदम पाचुके नै छ ।
मलाई त प्रेम र क्रान्ति बराबर छ
सङ्क्रान्ति त महीनौंमहीनौं भइ नै रहेछ ।
मलाई त क्रान्तिसित खेल्ने बानी छ
त्यसैले क्रान्तिले मेरो छहारी सकार्नु छ ।
म त्यसैले जोडा छु, जोडा हुन्छु
क्रान्तिले मलाई नमस्कार गर्न बाँकी नै छ ।
मैले त क्रान्तिलाई सलामी दिसकेँ
क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ ।
म त्यसैको प्यासो छु, त्यसैको प्रेमी छु
क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ ।
म क्रान्तिको भोको छु
क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।

Bikram Subba – Haat Haru

जसै कुमबाट प्रथमपल्ट हातहरू पलाए
मनुष्यहरू दङ्ग परे
त्यस उप्रान्त यही हतियारले
सभ्यतालाई यो चुचुरासम्म पु-याए ।

हातहरूलेले थरि-थरिका हतियार चलाएपछि
हरप्पा, महेन्जोदाडो र सिन्धुघाटीको सभ्यता टुसाए
हो, यिनै हातले औजारहरू अर्जापेपछि
ताजमहल उभियो, मोनालिसा मुस्कुरायो
हातका औँलाहरू बिथोवन र मोजार्टका छातीमा नाचेपछि
सिम्फोनी-सागरहरू उर्लिए
मुलुकका गुन्द्रुक सुकाउँदाझैँ
बाङ्गाटिङ्गा सिमाना र इतिहासका घुम्तीतिर
हातहरूले तीर-भाला र खुँडा-खुकुरीका धारले
हावामा केही काटे
अन्तमा प्रहारगरे बैरीका गर्धनहरूमा छपाछप्
र त मुलुक आफ्नै चारकिल्लाभित्र कायम छ
र त हामी आफ्नै मुलुकका नागरिक कायम छौँ

हातहरू, जसले प्रेमपत्र लेखे…सिउँदोमा सिँदुर हाले
हातहरू, जसले कोक्रो हल्लाउँदै लोरी गाए…
आशिर्वादको टिका लगाइदिए
हातहरू, जसले सपनाको छेउछाउ फूल उमारे…बस्ति बसाए…
हातहरू, जसले पहाड-मधेशमा जात-जातका मानिस
र तिनका इन्द्रेणी-सपनाहरू जोडेर एउटा सिङ्गो देश बनाए
हो तिनै हातहरू अचेल
केटाकेटीका सपनाको सुरक्षामा व्यस्त छन् ।

Lakshmi Mali – Ajako Kavita

औंशीले डेरा जमाएको बेला
जूनको कुरा कसरी लेख्न सकिन्छ ?
कालो रातले ढाकेको ठाउँमा
घामको कुरा कसरी गर्न सकिन्छ ?
रक्तरञ्जित भत्केको सडकमा
पूmलको, विरुवाको
बास्नाको कविता लेख भन्छन्
बारुद र रगतको दुर्गन्धमा
कसरी लेख्न सकिन्छ यस्तो कविता ?
लेखिन्छ यहाँ त
विचलित वर्तमानका
भयावह दृश्यहरु
शोकसंतप्त अनुहारहरु
भोक र छट्पटीका पीडाहरु
चारैतिर आर्तनाद भएको बेला
कसरी लेख्न सकिन्छ
उल्लासका कुराहरु ?