Bhupi Sherchan – Mero Jiwan Lake Jhain

मेरो जीवन लेकझैं पुरानो थियो
मेरो दुनियाँ
मुर्दा पोल्ने बगरझैं सुनसान थियो
र म आफ्नो जीवनको लेकमा
चमरी गाईको गोठालाझैं एक्लो थिएँ
तर एक–दिन
तिमी मेरो जीवनमा भैंचालाझैं अकस्मात् आयौ
तिमीले मसित प्रीत लायौ
मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ
मैले बधाई दिएँ आफ्नो यौवनलाई
अन्तमा तिमीले पनि कसैको प्रीत लायौ
तर
जस्तो कि थियो मलाई डर
निरन्तर अपमानित भएको मानिसको हृदयभित्र
अभिमान थाकेझैं
वृद्ध शरीरभित्र प्राण थाकेझैं
तिमी मेरो प्यारमा थाक्यौ
अनि फेरि आउँला भनी
नदीको लहरमा नाचेको पातझैं
भोरको प्रतिक्षामा बाँचेको रातझैं
तिमी बेपत्ता भयौ
कुन्नि कता गयौ
यद्यपि मलाई थाहा थियो
तिमी अब कहिल्यै आउँदिनौ
मेरो स्वरमा स्वर मिलाएर अब तिमीले
कहिल्यै गाउँदिनौ
तैपनि मैले तिम्रो प्रतिक्षा गरेँ
असङ्ख्य मिलनको इच्छा गरेँ
तिमी भने
कुनै अप्रसिद्ध नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैं
वादा गरेर पनि कहिल्यै आइनौ
म भने
आज पनि विना कुनै आशंका
विना कुनै विश्वासको
कुनै कुरुप बूढी कन्याको सिउँदोले
सिन्दूरलाई पर्खेझै्र
तिमीलाई पर्खिरहेछु
किनकी आज म भित्र–भित्रै
हिमशिलाझैं चर्किरहेछु ।