Charan Pradhan – Swachalit Desh

चरण प्रधान – स्वचालित देश
(मधुपर्क भदौ , २०६७)

कसले चलाइरहेको छ यो देश ?
बीच सडकमा लम्पसार सुतिरहेका खातेहरुले
वा
गोला, बारुदको नशाले चूर मातेहरुले ?
खाते -जो आफैँ अचल छन्
उसले के चलाउला र !
माते -जसले ढाल्नेबाहेक अरु जानेकै छैन
उसले पो के चलाउला र !
सल्काइरहेको देखिन्छ
जलाइरहेको देखिन्छ
चिथोरिरहेको देखिन्छ
निमोठिरहेको देखिन्छ
तथापि
कसैले पनि चलाइरहेको देखिँदैन,
र पनि ढल्मलाउँदै चलिरहेको छ
मेरो देश ।
सायद स्वचालित छ मेरो देश !

– असन, काठमाडौँ