Tanka Subba – Computer Sathi

टंक सुब्बा – कम्प्यूटर साथी

ब्रह्माण्डलाई अवलोकन गर्न
यो जमानामा
चराहरु झै प्वाख फिजाएर
उडिरहनु पर्दैन शून्यकाशमा
क्षण-क्षणको परिदृश्य बटुल्नलाई
पाउकष्ट गरिरहनु पर्दैन सडक-सडकमा
एउटा साघुरो कोठामा
भलाकुसारी गरे हुन्छ कम्प्यूटर साथीसंग
जसले अमनचयन देखाउछ छिनभरमा मनुष्यको
पदार्पण गराउछ श्रव्यदृश्य कोसौं टाढाको
र ताजा सन्देश फैलाउछ
द्वीप महाद्वीपका
सागर महासागरको
देश महादेशको
ऐना भएर उभिदिन्छ कम्प्यूटर साथी
सारा ठाउको
कौतुहल मेटाउछ मानवको
भू-अखण्डता हेर्नलाई
स्पर्श गरे हुन्छ कम्प्यूटर साथीलाई
जसले हृदयका पानाहरु पल्टाएर
देखाउन थाल्दछ
युद्घमा होमिएका मान्छेहरु
अभावले जीर्ण भएका देशहरु
प्रकृति प्रकोपले जीण भएका वस्तीहरु
कही हर्षोल्लासले उडाइएका बेलुनहरु
यसरी छामेर संसारलाई
उभ्याइ दिंदोरहेछ आखा अगाडि अनेकौं रङ्गहरु
जसले विह्वल हुन्छु
र बेस्सरी चिच्याउछु वेदनाले
हडबडाएर अंगाल्छु कम्प्यूटरलाई
अनि सल्बलाउछु अध्यारो कोठाभित्र
पाउछु आफैंभित्र दुःखेको संसारलाई
यहा सारा कुरा देख्न र जान्नलाई
काफी छ मेरो साघुरो कोठा
काफी छ मेरो कम्प्यूटर साथी
अब कुनै लोकको प्रतिविम्व हेर्नलाई
हुइकिरहनु पर्दैन आकासमा रकेट चढेर
सूचना पाउनलाई हिंडिरहनु पर्दैन
सडकमा पाउकष्ट गरेर
हाजिर छ सधैं कम्प्यूटर
यदि खेलाडी बन्न चाहानु हुन्छ भने
कुनै खेलको
आवश्यक छैन उत्रनु खेल मैदानमा
खेलाए हुन्छ मस्तिष्क
उफारे हुन्छ विवेक
बन्न सक्नु हुन्छ सयौं खेलको नायक
यसरी कम्प्यूटरको छातीमा
सारा कुरा भरिन्छ र कोरिन्छ भने
सत्यतालाई दखिन्छ र सुनिन्छ भने
म यो साघुरो परिवेशबाट
पठाइरहेछु सन्देश शान्तिको
जहा जहा अशान्त हुन्छ
त्यहा त्यहा पुर्या्ई देऊ
हृदयमा प्रेमका गीतहरु गुञ्जाइदेऊ
पाषण छातीहरुमा कोमल आत्मालाई फुलाई देऊ
परम साथी हुनुको अर्थ
बुझिदेऊ
मानिदेऊ
किनकी म सधैं हाजिर छु तिम्रैं सामु

Moti Ram Bhatta – Dinko Pachas Ta Ke

मोतीराम भट्ट – दिनको पचास त के

दिनको पचास त के हजार पटक् कती समझाउनू
म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।

रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू ।

नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू ।

वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको
मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।

मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,
अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू ।

तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।

मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने
आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू ।

तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,
खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू ।

सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्
अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू ।

Indra Kumar Sunuwar – Timro Yaad

ईन्द्र कुमार सुनुवार – तिम्रो याद

कुर्दा कुर्दै थाकिसकें तिमी कहा छौ प्रिय!
तिमी बिना लाग्छ सबै जीवनमा अपृय
छन् सबै तर देख्छु चारैतिर सुन्यता
कुन भाग्यरेखाले छेकिदियो भयौ कता कता

सपनी देखे अरुले नै तिम्रो सिउँदो रङ्गाउँदैछ
किन हो किन छातीभित्र आधिबेहरी मचिंदैछ
बिहान देखें काँचको ऐना झराम्मै फुटिरैछ
कोल्टे फेर्यो समयले हाम्रो नाता टुट्नु रैछ

माया छुट्यो साथ टुट्यो जोडिदिने वस्तु भेटिन
मर्नु बाच्नु एउटै भयो मनमा खुसी कतै देखिन
तिमीलाई भुल्न सक्छु कि भनी परदेश लागें
जति दुख पाए पनि तिम्रो लागी खुसी नै मागें

सुन्दर सपना तिमी हौ म टुटे नि तिमी सजिराख्नु
तिम्रो मधुर मुस्कान बहुमुल्य छ सधैंभरि हाँसिराख्नु
मेरो आत्मामा तिमी छौ अनि आत्मा कहिल्यै मर्दैन
हाम्रो सङ्गम नभए पनि तिम्रो याद कहिल्यै रित्तिंदैन

Deep Raj Neyong-Hang – Salbalayeka Chepganda Haru

दीपराज नेयोङहाङ – सल्बलाएका चेपागांडाहरु

चेपागांडाहरु संग हुर्किएको मन
धानका गावा गावामा खेल्छ
समय कालखण्डमा धाँजा परेका मृटिकामा सास्ती भोग्दै
पुनारावृतिको आशामा
उभिएका छन् – भ्यागुत्ता बन्न नसकेका मनहरु

आकास झर्ने लागेको छ
धन्य – सयौं हुटिट्याउहरु उत्तानो छन्
ढुक्क एक मन लिएर
सयनी गुम्फ़न भित्र छिरेका तनहरु
एक्कासी आधारातमा हप्सिलो गीतमा
अघोरी बाबाहरु बागमती किनारा किनारा
छमछमी नाच्न थालेपछि
मुटुका तरंगहरु अप्रत्यासि हुइकिन्छन
अनवरत बतासिएर
रित्तो गाग्रो सुसेल्दै
अथक – रित्तो पेट हुनुमा
अथक – पसिना चुहाउनुमा
छुँदै-हुँदै आफ्नै तरंगहरु एकाग्र
भुमरिन्छन झुपडीहरुमा र बन्छ
एक ब्रह्माण्ड

सृष्टिमा माहागुरुहरुको उत्पति हुनुले
तिलहरु पहाडमा अनुदित हुँदै गर्दा
पहाडहरु तिलमा अनुदित हुँदै गर्दा
बिप्लेटिएका सहस्र जिन्दगीहरु
पाताले झरना भित्र पातालिरहेछ
उर्गल भित्र ढुट्टिएका दानाहरु झैं
अध्यारोले पिल्सिएका
जाडोले चिम्सिएका मनहरु
आवाजमा “प्रमिथस” कुर्लिरहेछ्न
कोलोराडो र गिला घाँटीका
मुहान र किनाराहरु
खोटेसिक्कामा लिलामी गर्नु भन्दा
सिंगो शरीर जिजीबिषामा तर्पण गर्ने मनहरु
सहर्स स्विकार्छन- जल्लाह्दहरुलाई
इतिहास र वर्तमानको समिकरणमा
अस्तित्वको योगफल निकाल्न ।

पथरी – ५ किराती चोक
कोशी – मोरङ
हाल आबुधाबी यूएई

Saroj Dhital – U Aayena

सरोज धिताल – ऊ आएन

भनेर त कहिल्यै आएन ऊ
भनेर त कहिल्यै गएन ऊ ।

पर्खेर बसेँ कि बसिन म कुन्नि !
शायद ऊ म पर्खेकै ठान्थ्यो
र त आउँथ्यो बरोबर
मेरो सपनामा पनि

आफ्नो ठानेँ कि ठानिन उसलाई कुन्नि !
शायद ऊ मलाई आफ्नै ठान्थ्यो
र त पस्थ्यो बराबर
मेरो मनभित्रको मनमा पनि ।

ऊ आउने–जाने बाटो
कतै भत्किएछ कि कुनै बेला,
मलाई वास्तै भएन छ
मनको चुकुल लगाइदिएछन् कि
कसैले कुनै बेला
मलाई होसै भएन छ ।

आलस्य र अकर्मण्य
अनि तिनका असङ्ख्य सन्तानसँग
मैले चाडपर्व मनाई रहेँ
मैले भोज खाइरहेँ ।

एक दिन
जब मलाई शून्यताको आभास भयो
जब एक्लोपनको मलाई त्रास भयो
खोजेँ उसलाई यतै कतै छ कि भनी
छामी हेरेँ
मनभित्रै पो लुकेको छ कि भनी

भनेर त कहिल्यै आएन ऊ
भनेर त कहिल्यै गएन ऊ
तर यसपालि
नभनीकन पनि आएन

आउँदै आएन ।

१२-३-२००३

Rakesh Karki – Fatakka Thakaaidine Raataima Timile (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – फतक्क थकाइदिने रातैमा तिमीले (गजल)

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले

घरी घरी आवेगमा माया बटुलेर
लुकाउने अँगालोको तातैमा तिमीले

घुमाउने ल रमाउने हँसाउने दिनैमा
फतक्क थकाइदिने रातैमा तिमीले

लस् एन्जेलस्

Likhat Pandey – Aagaka Filinga Haru

लिखत पाण्डे – आगाका फिलिंगाहरु

तुषारोले पुरेको चुलामा
आगो सल्काउँदा
उत्साहले रक्तिन्छन्
नौलो ओठहरु,
अँध्यारोले पोतेको संघारमा
राँको उदाउँदा
डरले तर्सिन्छन्
काला रातहरु ।
कति प्रिय हुन्छ आगो
ठिहिराएका औँलाहरुलाई
कति प्यारो हुन्छ उज्यालो
बादल परेका नयनहरुलाई।
करविरको ओत मुनिबाट
मान्छेको हाड चाट्नेले
आगाका फिलिंगाहरु उठाएर
चिसो हिउँमाथि थुपार्ने गरे,
कहिले सुखानीको जङ्गलमा लगेर
तिनले आगाका फिलिंगाहरुको
छात्ती चर–चरी चिरे,
कहिले भिमानको झारीमा पु¥याएर
आगाका फिलिंगाहरुको घाँटी निचोरे,
छिन्ताङ र पिस्करमा लोहोराले पिसिए
आगाका झरिला जोवनहरु ।
वीर प्रसुता धर्तीको कोखमा
शहीदका रगतले गर्भाधान गरेपछि
करविरका दूदूहरुले निभाउँदैमा
किन ओइलिन्थे र आगाका फिलिंगाहरु
इतिहासको अजायव घरमा थन्किएको
पुरातात्विक जिवाष्म
अर्थात् फाटेका लुगाहरुको
एउटा भुल्लो अवशेष
डढेर खरानी नबनुञ्जेल
आगो दन्किएर बलिरहन्छ
यस ठाउँमा ।
हो अहिले आगो जन्माउने हातहरु
हत्कडीमा सजिएका छन्
आगो हिँडाउने गोडाहरु अहिले
नेलकडीमा बाँधिएका छन्
उज्यालो चाहने सारा आँखाहरु पनि
अहिले त्रासको धारिलो सङ्गिनभित्र
उनिएका छन्
मेरो आँगन हिरोसिमा र नागासाकी
बनेर रहिरहन सक्तैन यतिखेर
नवजात ओठहरु हिउँमाथिबाट नै
ज्वालामुखी जन्माउन
कालो झण्डाको जुलुश हिँडाइरहेछन्
उज्यालोको निम्ति झुप्राहरु
बिस्तारै आप्mनो ठाउँबाट
आगो सल्काउने प्रयास गरिरहेछन् ।
हातमा झुलो चकमक र दर्शन ढुङ्गा लिएर
म सडक र गल्लीहरुमा उत्रिएको छु
शस्त्रास्त्रसहित सुसज्जित हुनु पर्ने बेला छ यो
आगोको निम्ति पहिले बाजा उठाउनेहरुले
अहिले आप्mनो सारङ्गीहरुमा
फलामे तार फेरेर खिया पार्नु हुँदैन
आप्mनी जननीको मुहारमा
पूर्वी अरुणिमा झुल्काउन
आकाशको अगेनामा सबै मिलेर
सगर उठाउनु पर्छ
पर्खिएका छन् नजरहरु गोरेटा गोरेटामा
नजरभरि रगतले रचेको दिन भर्न
एक मुरी शाहस बटुलेर
हिमाली आँगनबाट
एकै चोटी आगोका फिलिंगाहरु उठ्दै
ज्वालामुखीको शीखा उठाउनुपर्छ।

Manoj Bogati – Aama Ko Mobile Phone

मनोज बोगटी – आमाको मोबाइल फोन

1.
रायो सागमा पानी हाल्दै गर्दा बज्छ
छोराको सम्झना।

हेल्लो…अँ, सागमा पानी हाल्दैछु।

कसरी बिटा?
रू.दस?
छाक पनि पुग्दैन, यत्रो दाम?
सुनेकी छन्‌
प्रश्नै प्रश्न झुण्डिएको शहर आउँदा।

एकहातमा पानीको पाइप अर्को हातमा मोबाइल फोन
विहानैको आमा। आमाको विहानै।
सागपातलाई थाहा छ यो चलिबल्ने नाटक।

बीपीएलको राशिन थाप्ने लहरमा बज्छ आमाको मोबाइल फोन।
रातो बटन थिचेर हल्लो भन्छिन।
आवाज नआएपछि यो नेटवर्क पनि… भन्छिन्‌।

एक महिनामा बल्लबल्ल दिएको मट्टितेल थाप्न जॉंदा
गनगनाउँछिन्‌

…पैसै छैन फोनमा।
मिसकल पनि हुँदैन।

केक्के थिच्दा कलरट्यून पसेको छ। पैसा काट्‌छ।
पैसै नभएको फोन जस्तै हतारमा पनि बोक्न बिर्सन्नन्‌।
कम्पनीको म्यासेज आउँदा
पढ्ने मान्छे खोज्दै हिँड्छन्‌।
भन्छिन्‌-पढ़, पढ़ के लेखेको रहेछ मनोजले।

2.
छोराले घर छोड़ेर गएदेखि
आमाको मनमा पापैमात्र पसिबस्छ।
आमाको मनको फाइदा उठाएर
आइबस्छ नराम्रो सपना।

दिउँसो हातमा भाउचर बोकेर
मान्छे खोज्दै हिँड्छन्‌। गाउँमा।
धुर्तहरूले आफ्नै फोनमा हालेर
पसेन बज्यै -भन्छन्‌।

घर र छोरा
दुश्मन जस्तो भएको मनपर्दैन आमालाई।
गाउँ र छोरा
पराईजस्तो भएको पनि मनपर्दैन आमालाई।

आमालाई तर
टुमटुम पनि मनपर्दैन
पैसै नकमाएपनि
छोरा शहरमा भएको कुराकुन्नी केक्के दबाएर पनि हॉंसेरै सुनाउँछिन्‌।

मोट्टी बुहारी, भुक्कुल्ले नाती र दिनैपिच्छे बूढ़ो हुँदै गइरहेको छोरा
अनि इन्दिरा आवासको घर
अनि आमा
आमा।

आमासित डिजिटल संसार छैन
टिपिकल संसार छ
अनि संसार छ।

3.
जुन दिन नेटवर्क थिएन
त्यहीदिन घरमुनि पैह्रो गयो
फोन नै लागेन।
आमालाई पुर्‍यो पीरले।

आमाको पीरपनि विमार भइसकेको छ
सँधै ड्युटीमा लाग्दा।
कुन दिन नागा बस्छ कुन्नी त्यो।

सुनसानले आमालाई दिक्क पार्छ
त्यसबेला बज्नुपर्छ रिङटोन।
आमाले छानेको रिङटोन।

रिङटोन बज्न छोड़ेपछि केही पनि बज्दैन
यति सुनसान हुन्छ घर
आमा छैन जस्तो।

फोन गर है
घरिघरि केको डर हो फोनमा नै अह्राइबस्छिन्‌।

आमा नभएको घर नै हुँदैन
त्यसैकारण
छोरा शहरमा
आमा गाउँमा।
बीचमा
आमाको मोबाइल फोन।

4.
भन्न खोजेर पनि सकिनन्‌
टाउको दुखेको कुरा।
ससानो कुरा नभनेर घाउ नै भइसकेको छ।
अहिले आमाको मन पनि दुख्छ।

गाउँमा बिहे छ
पुरानो साड़ी छ
र छ त्यही गिलाससेटको सस्तो उपहार।

गाउँमा मरौ छ
छोराको महिना मरेको छैन।

गाउँको छिमेकीको छोराको बर्थडे पनि छ
आँटा सकिएको छ
राशिन दिएको छैन।

निम्नवर्गलाई लुट्‌न गाउँकै गुरूमाको बारीमा बसाइएको छ टावर।
आमा खुशी छन्‌।

फोन लाग्छ
सुन्दैन
पैसा काटिन्छ।

बल्लबल्ल फोन लाग्दा भन्छिन्‌
-मलाई त फोन नै गर्दैनस्‌ त।

5.
बारीको डल्ले खुर्सानी कसले टिपिदिएछन्‌।
बारीको घॉंस कसले काटिदिएछन्‌
एकछिन्‌ माथ्लो गाउँजॉंदा
उम्रँदै गरेको सागबारीमा
कसको कुखुराले भुत्भुते खेलेछन्‌।

आमालाई फोनमा अरू कुरा गर्न आउँदैन।
तल्लोघरको भाउजु कोसित भागिछन्‌।
बूढ़ोकन्ये हरीले बिहे गरेछन्‌।
राम्रो कुरा
गाउँमा स्कूलभवन बनिने भएछ।
त्यसैको निम्ति आमा गिटी कुट्‌न जॉंदैछिन्‌
खै, यो राम्रो कि नराम्रो कुरा।

बेलुकी फोनमा भनिन्‌
-साह्रै गलिएछ र दुइमग जॉंड़ खाएर अलिक आराम भो।

6.
आमाले हर्लिक्स मागिनन्‌
टनिक मागिन्‌
भनिन्‌-
यसपालि अलिक थपेर पठाइदे पैसा
वरिपरि बार लगाउनु पर्‍यो।

आमाले लगाएको बारले छोराछोरीलाई रोक्न सक्छ
अरूलाई पनि रोक्न सक्छ कि!

आमाले लगाएको बारले कसलाई सुरक्षा गर्छ
आमालाई?
कि
बदमास्‌हरूलाई?

बदमासी गर्न रोक्छ कि आमाको बारले।

सुरक्षाको अर्थ
आमाबाट नै खुल्छ।

एकदिन आमाले नै सुनाइन्‌
-शर्माबाउको टाउको काटेर बॉंसघारीमा फ्यॉंकिदिएछन्‌
त्यो पनि हाम्रै पार्टीको केटाहरूले।

Rabindra Nath Thakur – Ful Ko Arji [From Geetanjali]

फुलको अर्जी
चाँडै गर इश्वर ! यसलाई टिप, ढीलो नगर
यति गर्दा कतै म धूलोमा नलडुँ, यही भय छ !

यो फूलले तिम्रो मालामा स्थान पाओस् अथवा नपाओस्,
कसले जान्दछ ? तैपनि, आङ्खनै आघात–स्पर्शले नै यसलाई
भाग्यवान बनाओस् !

टिप–टिप अब ढिलो नगर !
दिन बितिसक्छ, अँध्यारो जम्दछ,
तिम्रो पूजाको समय नबितोस्, यही भय छ !

जो धेर–थोर रंग यो फूलमा छ, अनि जुन थोरै सुवास–अमृतले यसको
ह्दय परिपूर्ण छ, जबसम्म तिम्रो सेवाको मुहुर्त शेष हुँदैन त्यतिञ्जेल
यसलाई उपभोग गर !

टिप, टिप, अब ढिलो नगर !

Khemchandra Adhikari – Devkota Prati

खेमचन्द्र अधिकारी – देवकोटाप्रति

सन्ध्याकालमा
भिखारी र यात्री अतिथिहरू बनेर
वसन्तपूणिर्माप्रति न्याय गर्नुपर्‍यो भनी
सम्झाउन आएको बेला
मैले हुरीको गीत गाइदिएँ,
शाहजहाँको इच्छा व्यक्त गरेँ ।
पागल र गरिब आएर
ज्वरशमन प्रकृतिको व्याख्या गर्दै
राजासँग कलम मागे,
हामी नेपालीको गैंडोपासना र
साँढे बन्ने इच्छा सम्झी
मेरो बक फुट्यो-
प्रभुजी भेडो बनाऊ ।
नववर्षको समयमा वनमा
झञ्झाप्रति बेवास्ता गर्दै
घाँसीले तिनको घँसिया गीत गाइरहेको बेला
मानिसको विराटरूप देखी
इन्द्रेणीको सात रङ्को रहस्य बुझेँ ।
गौँथली र देवकोटाले कसरी बात मारे होलान् ।
दार्जीलिङको बाघचुलीमा गर गम्दा पनि
पत्तो पाइँन ।
बाघले बच्चा किन खान्छ, र
एक सुन्दरी वेश्याप्रति किन मोह जाग्छ
यसको रहस्य पत्ता लगाउन सकिनँ ।
बढीकी विष्णुमतीसित
पितृविलापको चर्चा गरिरहँदा
विष्णुमतीको धमिलो पानीको
अपव्याख्या गर्दै
धोबिनीले पगली बोली
तर
जब मैले झञ्झावर्णन सुनाइदिएँ
त्यसपछि
मुनामदनको झ्याउरे लय सुसेल्दै
मायाविनी सर्सीलाई भेट्न ऊ गई ।
लुनी, कुञ्जिनी, शाकुन्तलजस्ता
प्रख्यात सहपाठीले सुनाएको
प्रमिथसको पराक्रम
सृजामातालाई सुनाएपछि
मेरो मन
अहिले केही हलुङ्गो भएको छ ।

हाल- कीर्तिपुर, काठमाडौँ

Komal Shrestha Malla – Hatyara Sapana

कोमल श्रेष्ठ मल्ल – हत्यारा सपना

आँखाबाट,
पवित्र गंगा बहिदिन्छ,
सायद मृत्यु सँग डरायरहो , दिन पातलिनु
रात बाक्लिनुले
भयंकर डरलाग्दो सपना बोकेर सायद सतायर हो ।
उसले
जिन्दगी उडाउछ
र सुन्दर शहर देखाउछ
बाचा कसम खुवाउछ,
माया प्रितको सवारी चलाउछ ग्̂ वरिपरि स्वर्गका अप्सराहरु
र परिहरु छम्म छम्म नचाउदै असिमित खुसी भरेर स्वयमवरको औठी लगाउदै बन्धनमा बाधेर
मायाको हार चमकाउदै
बधाई र शुभ कामनाको पुष्प, विजय उत्सव मनाउदै विदाईको डोली चढाउछ
तर अपशोच
विपनामा आइपुग्दा
असिमित शोचमा डुवाउछ लाग्छ हत्यारा सपना हा

Tanka Subba – Bhavprasta Boliharu

टंक सुब्बा – भावप्रष्ट बोलीहरु

गौण इशारा शब्दका केही अंशहरु
विचारलाई अभिव्यक्तिमा प्रस्तुत गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु
इश्वरले दिएको बरदान
पाएपछि जीवन नस्वीकारी कहा भो र ?

प्रकृतिको कुरुप नियति
सहज असहज नब्यहोरी कहा भो र ?
मान्छे हुनुको अर्थलाई अंगालेपछि
भावीको लेखान्त भन्न कहा पाइयो र ?
एउटा सग्लो शरीरबाट वञ्चित भएपछि
गौण इशारामा शब्दका केही अंशहरु
अन्तरआत्मालाई अभिव्यक्तिमा व्यक्त गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु ।

दृश्यको अनौठो साहारा
अस्पष्ट भाषाका दिल पुकारा
प्रत्येकको छातीमा झ्याङ्गीने मायाको लहरा
जसले गहिराइ बोकेको हुन्छ सग्लो मान्छेको जस्तै
स्वाभिमान बोकेको हुन्छ उच्च हिमाल जस्तै
सत्यता डोर्याएको हुन्छ भगवान जस्तै
बुझ्न नसकिएला क्षणभर मै
पढ्दा अमुक मान्छेको मुहार
तर बेदना हुन्छ उस्तै
चाहना हुन्छ त्यस्तै
काटे रगत हुन्छ रातै
त्यसैले उपेक्षामा अपेक्षा बोकेर
गौण इशारा शब्दका केही अंशहरु
भावनालाई अभिव्यक्तिमा प्रस्तुत गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु

Abir Khaling – Sarpa Kheti

आबिर खालिङ्ग – सर्प खेती

चपरी तानेर हिलोहरु
समय सुग्घर बाँचेको
बाउसेहरु फ्याउरीसँगै सिंगौरी खेल्दै
अलपत्र छन समय खेतमा ।

ठूलै सपनाको ठूलै खेत छ
अम्ल वर्षाको यो मौसममा
हिलाईरहेछु गह्रा खेतको
गर्नेछु सर्प खेती ।

पछि ३३
विष वमनको महायुगमा
पनातिले बुझ्नेछ बरातुको
समय चेतना र भविष्य दृष्टि ।

Chanki Shrestha – Hatiyar Nirmata

प्रागइतिहास साक्षी छ-
फलामको सुदर्शन चक्रबाटै विन्ध्याचलमा मारिएका थिए सुदाम
जो आर्यावर्तमै फलामका सबभन्दा पोख्त कारिगर थिए
फलामकै हतियार निर्माता लोहासुर
दोस्रो पल्ट मारिएका थिए फलामको हतियारबाट
र, त्यो तरबार पनि फलामकै थियो
जसलाई अर्जापेर
महाराज रामबाट कलमी गरिएको थियो शम्बूकको शिर ।

त्यसपछि पनि अरु कैयन् कैयन्
फलामका हतियार निर्माताहरू मारिए
फलामकै हतियारबाट ।

तिनैबाट निर्मित हतियार खोसेर
गरिएको थियो तिनीहरूको हत्या
जसले विपत्मा सापटी दिएका थिए हतियार ।

(आफ्नै हतियारबाट भएन कहिल्यै तिनीहरूको सुरक्षा
आफै बाट निर्मित हतियार कहिल्यै तिनीहरूको आफ्नै भएन ।)

आर्यावर्तको यस पावन भूमिमा
सुदूर अतीतबाट साभार भएर
घुमिरह्यो समयको चक्र बारम्बार
जहाँ गुरुमाता अहिल्यालाई अपहरण गरेर
बीच सडकमै बलात्कार गर्छन् महाशक्तिशाली महाराज इन्द्र
जहाँ अपराध पनि शक्तिशालीहरूका लागि
भइदिन्छ अधिकार ।

युगअनुसार बदलिने हावाको झोकासँगै
निरन्तर पल्टिरहेछन् समयका पानाहरू
र, लोकतन्त्रको मध्यान्तरमा
हतियार निर्माताहरू
आज आफ्नै लागि हतियार बनाइरहेका छन् ।

Rakesh Karki – Kaamdaar

इन्जिनियर राकेश कार्की – कामदार

दिउँसो पनि काम राती पनि काम
सुस्ताउँदैन कामदार जून होस् कि घाम
साह्रै थाक्या जस्तो पसिना पुछ्दै
बोल्दैन भन्दैन ब्यथा मन भित्रै

यता गर्छ उता गर्छ फटाफट् फटाफट्
नयाँ काम गर्न तयार हुन्छ झट्पट्
घण्टा घण्टा जोड्दै गर्छ वोभर टाइम
पेनी पेनी बटुल्दै बचाउँछ डाइम

कोही साहुनी कस्ति कोही साहु कस्ता
प्याच्च भनिहाल्छन् एकैछिन बस्दा
सहीदिन्छ कठैबर भइ मरेतुल्य
दशथोपा पसिनाको एकथोपा मूल्य

भविष्यको सपना यही भो बाटो
क्षण क्षण सम्झिन्छ गाउँको माटो
दिन महिना गर्दै बिते कति बर्ष
कामदारको जिन्दगीमा कहिले आउला हर्ष ।।

– लस् एन्जेलस्

Acharya Prabha – Samjhana Dar Lagyo (Nepali Gajal)

आचार्य प्रभा – सम्झन डर लाग्यो (गजल)

सम्झन डर लाग्यो
बिर्सन कर लाग्यो

तिम्रा नाटक हेरी
केनै पो भर लाग्यो?

यत्ती ढाँट्यौ मलाई
झनै अभर लाग्यो ।

जाली,झेली देख्दा त
अझ पो पर लाग्यो ।

बिस्वाश यत्ति थियो
शंखा नै तर लाग्यो ।

(रचना ३ /२५ /२०१० )

Min Bahadur Bista – Jar Saheb Ko Kukur

मिन बहादुर बिष्ट – जरसाहेबको कुकुर

बसन्तको पदचाप बज्नु हुदैन कहीँ
हावाले सिठी बजाउँदै दगुर्नु पनि हुदैन
नदीले यात्राका पैतालाहरु बगाउनु हुदैन कहीँ
भालेले समयको सङ्केत पनि दिनु हुदैन ।
चराहरुको भावविमोहित सङ्गीत गुन्जनु हुदैन कहीँ
केराको पातमा लोखर्के पनि नाच्नु हुँदैन
आरुको बोटमा ताराहरु झुण्डिनु पनि हुँदैन
आकाशमा बादल उड्नु हुँदैन कहिल्यै
बादल ओढेर जूनले बादलकै कोठाभित्र निदाउनु पनि हुँदैन
कोखिलामा चिचिलाहरु च्यापेर आमाहरुले कतै निस्कनु हुँदैन कहिल्यै
ज्यावल बोकेर किसानहरु फाँटतिर लाग्नु पनि हुँदैन
फाँटमा जौका टुँडाहरु लहलहाउनु पनि हुँदैन
बगैँचामा रङ्ग-बिरङ्गका फूलहरु पनि फुल्नु हुँदैन
तोतेबोली बाल्दै ससाना केटाकेटीहरुले पृथ्वीजस्तो गोल भकुण्डो
उफार्दै, गुडाउँदै मैदानतिर कुद्नु पनि हुँदैन
गौँथलीले बर्षातका निम्ति गुँड बनाउनु पनि हुँदैन
हूँदैन, सूर्य उदाउनु पनि हुँदैन, सूर्य अस्ताउनु पनि हुँदैन
चौबीसै प्रहर अपराधीले झैँ शङ्काले कान ठाडा पार्दै
बाह्रै मास घृणाको तीखो नजरले चारैतिर हेर्दै
हरसमय फोहोर र भद्दा आवाजले गाली गर्दै सबैलाई
हरवस्तु काँचै चपाउँला वा निलुँलाझैं गरी
भोको अजिङ्गरले झैं
थुतुनो फट्फटाउँदै
र तरबारजस्ता तीखा दाँतहरु चम्काउँदै
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ ।
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको थुतुनोजस्तो थुतुनो लिएर
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको मिजास जस्तो मिजास गरेर
मानौं जरसाहेबको अर्को रुपझैं
संसारका प्रत्येक कुरुप, फोहोर र
भद्दा कुकुरहरुको सम्मानमा
पुच्छरले सलामी चढाउँदै
मानिसको सुन्दर इलाकाभित्र
घरी धुरीमा चढेर, घरी पर्खालमाथि बसेर
आतङ्क र अराजकताको साइरनजस्तो
भद्दा आवाजमा भुकिरहन्छ
र जरसाहेब
त्यस नमीठो, रुखो र असभ्य आवाजलाई
यस प्रयोगको सबभन्दा मीठो सङ्गीत ठान्दै
खित्का मारेर हाँस्नुहुन्छ
उस्तै नमीठो, रुखो र असभ्य आवाजमा ।

Hemanta Pardeshi – Akhir Timi Ko Hau

हेमन्त परदेशी – आखिर तिमी को हौ

तिमीले मलाई बहिरो भन्यौ
नसुने झैँ गरेरै सहेँ मैले
तिमीले मलाई कानो भन्यौ
त्यसलाई पनि खपेँ मैले
अर्थात,
लुलो,लङ्गडो, डुँडो, खोरन्डो जे जे भन्यौ तिमीले
ती सबैलाई त्यसरी नै पचाएँ मैले
तर आज फेरि पनि तिमी मलाई
तिनै अनेक कनिष्ठ नाम र उपनामले पुकारी रहेकाछौ
अर्थात, तिमी प्रतिको मेरो सम्मान र सहनशीलतालाई
एउटा कम्जोर छात्तीको उपज ठानेर
मेरो स्वाभिमानमाथि नै धावा बोलिरहेकाछौ
तर पनि म त्यसरी नै सहिरहेकोछु
खपिरहेकोछु अनि पचाइरहेकोछु
अर्थात,
तिमी प्रतिको अब्यक्त बिद्रोहलाई दबाएर
शालीनता र सहनशीलताको पर्याय बन्न खोजिरहेकोछु म
तर थाहा छैन,
संयमता र धैर्यताका यी बाँधहरु कतिन्जेल टिक्ने हुन्
अथवा
शालीनता र सहनशीलताले कहिले सम्म धान्ने हुन्
त्यसैले, हाइब्रीड् र कोलोनिङ् नगरिएको
एउटा बिशुद्ध प्रजातिको मान्छेको मनबाटै भन्दैछु म
मसँग त केवल बिरासतमा मिलेका
साधारण मानव क्रोमोजमहरु मात्रै छन्
अर्थात,
मेरा क्रोमोजमहरु तिम्रा जस्ता हाई-ब्रीडियन् र बिकशित छैनन्
त्यसैले त,
रङ्गीताहरु ब्रम्हपुत्र उकालो बगिसक्दा पनि
म भने आफ्नो पुरानै धारमा बग्न विवश बनिरहेकोछु
अर्थात,
उकालो बग्नुको कठिनाई र चुनौतिहरुलाई थेग्न सक्ने
सामर्थ्यता अझै पनि जुटिसकेको छैन मसँग
त्यसैले म तिमीलाई आग्रह् गर्छु
जो जसरी र जता बगे पनि
उसले स्वच्छन्द र उन्मुक्तसित बग्न पाउनुपर्छ
अर्थात,
ऊ ‘ऊ’ नै हो र म ‘म’ नै हो को साश्वत सत्यलाई
मन खोलेर पचाउनु सक्नुपर्छ
नत्र एक दिन,
अवश्य त्यो दिन आउनेछ
कि तिम्रो श्रेष्ठताको बिरुद्धमा पनि
असङ्ख्य चोर औंलाहरु ठडिनेछन्
र, तिमीलाई प्रश्न माथि प्रश्न गर्नेछन्
कि दुनियाँलाई आफू जस्तै सर्बश्रेष्ठ हुनुपर्छ भन्ने
आखिर तिमी को हौ?

पाँचथर, हाल: दोहा, कतार

Sarubhakta – Rashtra Gaan

अग्निमाला
नवः हिमयुगीन अर्घेलाहरु
सिमिट्रीमा रेटिसेन्ट बालहरु
आरोहण गर्छन्
मेथाडोन खाएका हुडिनीहरु
साइवरकोष्टरमा
अपरेशन डेजर्ट स्ट्रोम गर्छन्
गन्धका नाताहरु उस्तै छन्
मात्र नात्रेड्यामस विश्वमा
प्राविधिक गडवडीमा क्षमाप्रार्थनाहरु
आतङ्कका हिमाल चढिरहेछन्
ए हाम्रा सभानाहरु
अल्ट्राभ्वायलेट क्यामेरातिर
कति छन् अदृश्य जोखिमहरु ?
टेलिस्कोप भिरेका गिद्धहरु
शोकेसभित्रका कुकुरभुकाई सुन्दैछन्
उ ः ! परभक्षी आतङ्कका हल्लाहरु
आजभोलि मन्दिरैमन्दिरको देशमा
देवताहरु शरणार्थी बनेका छन्
‘कुकुरदेखि सावधान !’ गिदीमा भ्रम टाँसेर मान्छेहरु
मान्छेहरुद्वारा सावधान छन्
‘भैचालो आउँदैछ ! भैचालो आउँदैछ !’
एउटा सम्भावित भैंचालाको सम्मानमा
मान्छेहरु घर छोडेर कटेरो निर्माणमा
ब्यस्त छन्
‘विद्युतीय धरापमा नपरे फेरि भेटौंला !’
‘सुरक्षा कारवाइमा नपरे फेरि भेटौंला !’
संकटकालमा झ्याप्प निभ्ने संकटकालीन बत्तीहरुमा
एउटा सिङ्गो पुस्ता गीत गाइरहेछ
स्वराष्ट्रिय

Manoj Bogati – Hali Dai Ra Khet

मनोज बोगटी – हलीदाइ र खेत

बिहानको पहेंलो भजन जस्तो
घामकिरणले टल्केको तरूणी खेतको जीउको पसीना
अनि त्यहॉंबाट धुवॉंजस्तो उड़ेको त्यसको कुमारीगन्ध
कुन्नि कसरी थाह पाउँछ हलीदाइले।

दिनभर हलगोरूको पुरूषसित खेलेर थाकेको खेतले पनि
कुन्नि कसरी थाह पाउँछे
हलीदाइको निधारमा भिजेको कोमल सपनाको स्वर्गसुगन्ध।
खेतको अनुहार
पहिलोपल्ट गर्भ बोकेकी दुलही जस्तो सिनित्त छ।

हेर्दै जानू
केही दिनपछि
खेतलाई टेकेर कसरी उभिनेछन्
‌दुइपाते अक्षरहरूले।
त्यसपछि पढ़्‌नू फेरि
खेतको नयॉं शास्त्र।