Tanka Subba – Bhavprasta Boliharu

टंक सुब्बा – भावप्रष्ट बोलीहरु

गौण इशारा शब्दका केही अंशहरु
विचारलाई अभिव्यक्तिमा प्रस्तुत गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु
इश्वरले दिएको बरदान
पाएपछि जीवन नस्वीकारी कहा भो र ?

प्रकृतिको कुरुप नियति
सहज असहज नब्यहोरी कहा भो र ?
मान्छे हुनुको अर्थलाई अंगालेपछि
भावीको लेखान्त भन्न कहा पाइयो र ?
एउटा सग्लो शरीरबाट वञ्चित भएपछि
गौण इशारामा शब्दका केही अंशहरु
अन्तरआत्मालाई अभिव्यक्तिमा व्यक्त गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु ।

दृश्यको अनौठो साहारा
अस्पष्ट भाषाका दिल पुकारा
प्रत्येकको छातीमा झ्याङ्गीने मायाको लहरा
जसले गहिराइ बोकेको हुन्छ सग्लो मान्छेको जस्तै
स्वाभिमान बोकेको हुन्छ उच्च हिमाल जस्तै
सत्यता डोर्याएको हुन्छ भगवान जस्तै
बुझ्न नसकिएला क्षणभर मै
पढ्दा अमुक मान्छेको मुहार
तर बेदना हुन्छ उस्तै
चाहना हुन्छ त्यस्तै
काटे रगत हुन्छ रातै
त्यसैले उपेक्षामा अपेक्षा बोकेर
गौण इशारा शब्दका केही अंशहरु
भावनालाई अभिव्यक्तिमा प्रस्तुत गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु