हाम्रा आँखाबाट आँसु
समाप्त भइसकेको छैन
सुक्खा भइसकेका छैनन् हाम्रा आँखाहरु
हाम्रा आँखाहरुमा
बाँकी छ अहिले पनि
अलिकति नुन
अलिकति पानी
हेर, गिलो छ
नारायणगढ, पोखरा, जनकपुर
काठमाडौं, भक्तपुर, पाटन
र कीर्तिपुरको माटो
आँसुले भिजेको भूमि हो यो
आँसु रक्त
र रक्त आँसुमा परिणत भएको छ
अब कुनै अन्तर छैन
रक्त र आँसुमा
आँसु र रक्तमा
लाखौंलाख आँखाबाट
बगिरहेछ रक्त
र रातो छ यो धरती
रक्तरञ्जित छ नेपाल
आँसुको व्यापार गर्नेहरु हो !
बलात् हाम्रा आँखा बगाउनेहरु हो !
आँसुको सम्बोधन हो यो
संकल्प हो रक्तको
यही समय हो यो
हो, यो यही समय हो
जब रक्तले तिमीहरुसँग
आँसुको हिसाब खोज्छ
(२०४६)
Tag: Nepali Poems
Uttam Bhaukaji – Anurodh
उत्तम भौकाजी – अनुरोध
समाऊ-
मेरा यी हातहरू समाऊ
मलाई तिमी
आफूजस्तै निष्कपट बनाऊ ।
सङ्घारमा-
शकुनको दियो बलिरहेछ
दियो सँगसँगै
चलमल चलमल
मेरो मन
बत्ती र पुतलीजस्तै
चञ्चल-चञ्चल भइरहेछ ।
जीवनको-
यस उल्लासमय घडीमा
तिम्री अर्धाङ्गिनी
अर्थात्, यो नवदुलही
श्रृङ्गारको स्वरूप बोकेर
तिम्रै हातमा हात मिलाउँदै
सपनाको नौलो संसार
भोग्न आँतुर छे,
राजी छे ।
लैजाऊ-
सँगसँगै लैजाऊ मलाई
… र कस, आफ्नो बाहुपासमा
वेस्सरी कस !
मेरा यी अङ्ग-प्रत्यङ्गबाट
निस्कने प्रिय धुनमा
मेरो जीवनको लय भेट्टाउन सकूँ,
खुसीखुसी
रोमाञ्चक यो क्षणमा
मेरा सारा तिर्सनाहरू
चुपचाप ! मेटाउन सकूँ ।
Thakur Belbase – Achanak Yo Sanjh
ठाकुर बेलवासे – अचानक यो साँझ
(मधुपर्क साउन, २०६७)
अचानक
यो साँझ
बाँच्नुपर्ने दिनहरू, वर्षहरू
अझै धेरै, धेरै छन्
जस्तो लागेर आयो ।
अचानक
यो झरी परेको साँझ
विगतका दुःखहरू
जो मरीमरी बाचेको स्वाँङ गरेका
दिनहरू भुलेर
आगामी दिनहरू
वर्षहरू
सबैसबै खुशी नै खुशीले भरिएका छन्
जस्तो लागेर आयो ।
अचानक
यो छिप्पिदो एकान्त साँझमा
दुःखको रङ कस्तो हुन्छ ?
दुःख भन्ने शब्द
अति हलुका लागेर आयो
स्मृतिपटलमा दुःखका
कुनै पनि अवशेष घुम्न सकेनन् ।
यसरी म
खुशीले बाधिएँ कि
संसार अति सुखमय छ
र यहाँ पीडा – दुःख केही छैनन्
दुःख त यी सडकले पाउने हो
जसका छातीमा असङ्ख्य
मान्छे र गाडीहरू हिँड्छन्
पीडा त
यी खोलाका ढुङ्गाले मात्र झेल्ने हो
जसलाई बहुलाएको बाढीले
लछार्दै – पछार्दै खियाउने गर्छ
यो पृथ्वीका मान्छेहरू त
हाँस्नका लागि मात्र जन्मिएका हुन्
म हाँस्न र रमाउन मात्र जन्मिएको हँु
जस्तो लागेर आयो ।
मर्न आतुर हुने त
दुःखमा मात्र रहेछ
सुन्दर पनि
कुरुप लाग्ने त पीडामा मात्र रहेछ ।
सम्बन्धहरू कोक्याउने त
अभाव अनि घृणामा मात्र रहेछ ।
खुशी आँखाले
यो रोइरहेको साँझ पनि
कति माधुर्य देख्दोरहेछ
अचानक
धेरैलाई विपत्ति परेको
यो साँझ
मलाई पि्रय-पि्रय लागेर आयो ।
तीस वर्षको उमेरमा
पहिलो पटक मैले
साँझका चराहरूसँग
रमाएर गीत गाएँ ।
उमेरको तीस वर्षमा
अचानक
म हाँसे
र बाँच्नुपर्ने धेरै युग छन्
जस्तो लागेर आयो ।
तीस वर्षसम्म
यो जब्बर र क्रुर समयले
खहरे खोलाको ढुङगाजस्तो
मेरा बाला, किशोर र जवान उमेरलाई
लछार्दै – पछार्दै किनारा छोडिदिएपछि
जीवनको अन्तिम दिन गनेर
उभिएको यो साँझमा
अचानक
तिमी आयांै
अचानक
मैले हातको डोरी छोडिदिएँ ।
र
तिम्रो अनुहारमा हेरिरहेँ
मैले खुशीसाथ
बाँच्नुपर्ने धेरै वर्षहरू
गन्दैगन्दै
अचानक
तिम्रो अनुहारमा
म हराएँ ।
Chanki Shrestha – Desh Lai Bagauna Tamtayar Yi Nadi Haru
थुप्रैथुप्रै मुहानहरू
भरिभराउ छन् रगतले
चारैतिरबाट बग्दै आएका छन्
चारैतिर बग्दै गएका छन् यहाँबाट रगतका नदीहरू ।
बगैँचा हुँदै
कुलो-कुलेसो हुँदै
आली र कान्ला हुँदै
जंगल, बुट्यान र रूखका टोड्का हुँदै
मुलायम फूल र कोपिलालाई रुझाउँदै
बगेको छ साना बालकहरूको रगत
वृद्ध मान्छेहरूको रगत
कलिला युवतीहरूको रगत ।
बढदै बढ्दै आइरहेछन्
बढ्दै बढ्दै बढ्दै गइरहेछन्
रगतका यी खोलाहरू
रगतका यी नदीहरू, सागरहरू, महासागरहरू
सिंगै देशलाई बगाउन
तम्तयार भएर बढ्दैछन्
बढ्दै बढ्दै बढ्दै आइरहेछन्
बढ्दै बढ्दै बढ्दै गइरहेछन् ।
Bhupi Sherchan – Dui Tukra
१
जहिले पनि भर्खरकी किशोरीजस्ती
साँच्चिकै तिमी हिमालकी छोरीजस्ती
कुन्नि के छ तिमीमा, जो अरुमा छैन
कि तिमीलाई जति पाए पनि थोरैजस्ती
२
एकलास तिम्रो बाटोमा रमाइलो दिन सक्तिनँ म
तिमी थाकेर ढल्दा सहाराको हात दिन सक्तिनँ म
बर्सनै नपाई डाँडा काटेको बादल मेरो यौवन
चाहेर पनि ए ओइलाउँदी कली ! वर्षाद दिन सक्तिनँ म ।
Bimal Giri – Tarai Roi Rahechha
दु:खको क्षण
पिडाको सागर भित्र
आशुको बुद मिसाउदै
जीन्दगीका नाउ खियाइ रहेछन
आज तमाम तराइबासिहरु
कोशीका भयभित र उदास बगरहरुमा,
बिरह र ब्यथा सँगै सोकाकुल महामुद्रामा
बेदनात्मक बन्धनबाट स्तब्ध
अनगिन्ती सोकाकुल सन्तानहरु बिच
ओठका थैली खोलेर
सिटामोलका दरिद्रिक मानसिकता
बोकी जीवित मृतकका प्रतिमाहरु
सान्त्वनाका फोस्रा शब्दहरु
बाडन ब्यस्त छन ।
हाहाकार र भय सगै
आशुका थोपाहरुलाई शुक्ष्म कण सम्झी
बेदनामा आँशु पिउदै बाचिरहेका
उकुस मुकुस आँखाहरुका समिपमा
औपचारिकताका बकम्फुसे चिप्ला अबिलाषाहरु
ओकल्न आतुर छन बर्तमान बुल् फ्रगहरु ।
(बुल् फ्रग – यो क्यानडामा पाइने भ्यागुता हो
यसको आवाज १ कि. मि. सम्म सुनिन्छ तर केही अर्थ लाग्दैन)
चारपाने झापा
हाल बेल्जियम
Pravin Rai Jumeli – Garibko Kehi Snapshot
प्रवीण राई जुमेली – गरीबको केही स्न्यापसट
कतिले भन्छन् नीयतीले ळेख्यो गरीबलाई
कतिले भन्छन् ईश्वरले रच्यो त्यो जीवलाई
देख्दा र पड्दा यो शब्द नि
तीनै शब्दले निर्मित भए तापनि
यसभित्र समाहित अर्थ अनेकौं
निहित व्याख्या सयौं
अर्नेस्टो र लेनिन प्रहारले ढलेका मानिसहरु
फेरि उठ्छन् जब दुःस्वप्नको सम्झनामा
अभावग्रस्त र भुक्तभोगी देखिए उनीहरु
जसको नयाँ अर्थशास्त्रको तुलनामा
हुन त सृष्टिका अरु थोकहरु झैं प्राणीहरु पनि
त्यो परमशक्तिकै उत्पादन मानिन्छन् नि
यस अर्थमा त गरीबहरु उसकै कृति ठानिनपर्ने
नपुङ्सक्लिङ्गहरुकै प्रतिकृति मानिनपर्ने
तर त्यस अदृश्य शक्तिको सृजनामा त भेदभाव नै कहाँ छ
सबैकै टाउको, हात, खुट्टा र अरु अङ्गहरु समान रुपमा छ
धन र सम्पतिको फाँका त पछिबाट पो
त्यही प्रहारमा ढलेका मानिसहरुले बनाएको नीयति
जसलाई भाग्य र पूर्वजन्मको फल भन्दै
खोजियो बहाना उनीहरुको रगत चुस्नै
‘चुस्नु’ शब्द पनि कति विवादास्पद छ भने नि
अब त उहिले झैं बलले दल्ने समय पनि
दबिँदै गए अरु प्रकारका शक्तिहरुमुनि
अनि खुल्दै आए दानवको चर्तिकला बनी
कसैले भन्छन् मेरो त पेट नै जर्जर
कसैले भन्छन् मेरो त गर्भै अनुर्वर
सुन्छौं कहीं शान्ति मरेको कहीं सुख डडेको
सुनिरहन्छौं कति आश लडेको कति लाश सडेको
कहीं प्रेमको उठीबास कहीं घृणाको मधुमास
कहीं कर्मको अकाल कहीं अधर्मको आभास
कसैलाई अभाव विश्वासको कसैलाई प्रभाव अशिक्षाको
कोही प्रतीक्षित बुद्धिको कोही परिश्रम-दीक्षाको
कति नाच्छन् घर र गाडीको डम्फु घन्काएर
कति गाँउछन् पैसाको मुरली रन्काएर
कोही टुक्रिएको खुट्टा देखाएर जदौ गरिबस्छन्
कोही नलाग्ने मुखबाट राल काडिरहन्छन्
आर्जित भ्रम र नीयतीको क्रम टुटदैन कि कसो
यसैले पो खोज्न कति गाह्रो छ यो गरीबीको मेसो
कमाउन सकिने त ज्ञान पनि हुन्छ धन बाहेक
कमाउन सकिने त इज्जत पनि हुन्छ सुन बाहेक
गरीबीको पनि रुप छन् कति प्रकार
भनी सम्झाउन खोज्छन् रचनाकार
यसैले यहाँ त सबैकै गलेको छ गरीबीले काँध
वाचाहरु असङ्ख्य आए पनि मेटिँदैन यसको साँध॥
Kali Prasad Rijal – Maya Garne Ko Chokho Maya Pani Dekhiyo
माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचा बन्धन पनि देखियो
फूल सुकुमार छ को निस्पाप छ कोमल भन्थे
फूलको धारले रेटेको पनि देखियो
रोई रोई नछुट्टिने कसम खानेले
हाँसी हाँसी कसम तोडेको पनि देखियो
सबको भगवान छ भगवानले हेर्छन् भन्थ्यौ
तिम्रो भगवानले हेरेको पनि देखियो
शब्द – कालीप्रसाद रिजाल
स्वर – नारायण गोपाल, रामकृष्ण ढकाल, लोचन भट्टराई
संगीत – नारायण गोपाल
Laxmi Prasad Devkota – Badal Ko Swagat
ओहो पङ्खे मोती–पोल्टी सागर–चेली चाँदी छाल !
वाष्पिल सिंहमा वायुपङ्खी, हिउँचुलीमा छहरी याल !
भूतल शीतल पारी सियाली, कलिली निलाई पर्वत ढाल,
बुरबुर डाली कुइरो चीनी, सल्ला सियामा मर्मर जाल,
कृषियुगका सब आदिम गाना गर्छन् छहरी मोती कमाल !
बिजुली नागिनी सँगमा चम्के,
स्वर नगवेली लहरा फन्के,
वाफन फोही गिरी गडराए,
कुइरी झरीले छोयो ढाल !
धर्ती दुहौँला, छाती फुहौँला धानी असारे कुर्ली टाल !
बर्खा, बिजुली, धूप सहौँला,
धूमका मुनितिर रोप्न नुहौँला, पोषन भूका भोका बाल !
जबतक हाम्रो हात कोदाली, टर्ला जगमा रे अनिकाल !
स्वर्ग नहोला नित मुख नीलो,
जगत्को छाना बुट्टिन ढिलो ! चल्ला सागर छाल !
रत्नाकरको याद नटुट्ला जनवन माथि तप्त विशाल !
सङ्घर्ष ध्वनि छ आज गगनमा,
प्रगति छ मिठो आज पवनमा,
सातरङ्गी विजयपताका चम्किरहेको हेर ! कमाल !
Komal Shrestha Malla – Man Peeda
कोमल श्रेष्ठ मल्ल – मन पीडा
परेछ मन पीडामा
र आसु झरेछ
फेरि कोशी आसु
छातीले भोग्दै
मुटुले अनुदानका
सुम्सुम्याई खोजेछ
के सक्थ्यो ? तटबन्ध बाध्न
कृतीम हौसलाका पुष्पहरुले ?
फेरबदलका भुवा उडाई
मनका आफन्त मन
के बुझ्थ्ये र ? डर लाग्दा भैपरीहरु ? कहालीलाग्दो उदेक सपना
र यथार्थ बिपनाका भोगाईहरु !!
हुदो रहेछ जिवन
पिरका भीरहरुमा
अनी कल्पनाका उडानहरु
खस्दारहेछन
यातनाका शिबीर शिबीरमा ??
Bimal Nibha – Kavita Ra Fohar Luga Haru
अब म कविता लेख्न
स्थगित गर्छु
र लुगा धुन थाल्छु
किनभने तमाम लुगाहरु
फोहोर भइसकेका छन्
कमिज, प्यान्ट, गन्जी
र मोजाहरु
फोहोरैफोहोरका बीचमा
कविता लेख्न बस्नु
कविताको विधान विपरीत छ
एउटा कविले यसबारे
सतर्क हुनैपर्छ
म मनमनै भन्छु
झ्याल खोलेर हेर्छु
फोहोरको थुप्रो छ बाहिर
मेरो कोठादेखि परको चोकसम्म
चारैतिर÷वरिपरि
मेरो कविता महसूस गर्छ
संसारको गोलो टाउको
फोहोर देखेर टनटन दुखिरहेछ
पच्चीस वर्षअघि
मेरो कविता जन्मेको थियो
त्यसबेलादेखि ऊ निरन्तर
फोहोरको विरोध गरिरहेछ
चाहे त्यो जस्तोसुकै फोहोर होस्
कविताहरु फोहोरका
एक नम्बरका दुश्मन हुन्छन्
कविताको परिभाषा यस्तै छ मेरो
कलमलाई टेबुलमा राखेर
विचार गर्छु म
म आफ्नो कविताको आत्मालाई
हत्या गर्न सक्दिनँ बन्धुहरु
कवितासँग प्रेम छ मलाई
त्यसैले अब म कविता लेख्न
स्थगित गर्छु
र लुगा धुन थाल्छु
(२०४६)
Nistej – Ghoshana Patra
निस्तेज – घोषणा पत्र
यसपाली म चुनावमा जितीगए जाने थियौ कोरिया
आऊ लौन जिताऊ जे जसरि नि हो चिन्ह नि ‘तोरियाँ’
मेरो चिन्ह परेछ लौ बहुमुखी क्या लाभदायी अहो
तरकारी भुटुवा बनाउनु नाता पोलेर चटनी कसो!
तरकारी हरियो अति असल यो खानी भिटामिनको
यसमा छाप लगाऊ हे सुजन हो हौ स्वस्थ आँफै कसो
भोट मात्रै तिमि देउ हे नगरका हे गाँउका सज्जन
नाँउ नोट गरि सकल्का बाँकी रह्यौ खै कुन ?
पुलि छैन भनि सुने भन् सखे तर्छु नदि के गरि
यसपाली बुझियो कुरा गहकिलो खान्न्चु कसम यै घरि
पैले झैं अब बिर्सिइन्न पुल यो बन्ला यसै सालमा
मात्रै एक मद्दत गरे हजुरले निर्वाचनी कालमा ।
नेपालीहरु काममा अति असल भन्दैछ रे कोरिया
लावा लस्कर यो पठाउँछु त्यतै सम्झे फगत तोरियाँ
गण राष्ट्रिय गाउने अब मा झैं सर यहीं बस्तछौँ
बाँकी जाउ कतार या अरब या त्यै कोरिया भेज्दछौँ ।
जितें मात्र भने चुनाव रणमा निश्चित छ मन्त्री हुनु
मन्त्री के म भएँ अनि हजुरले चिन्ता छ के को लिनु
यै हो गूढ रहस्य हे सुजन हो यो राम्ररी बुझ्दिनू
आफ्नो नेक भविष्य को मन भए भोट तोरियाँमा दिनू ।
(संविधान सभा निर्वाचन सम्बन्धि जनचेतना जगाउने उद्देक्षका साथ्
शुक्लाफाँटा एफ एम ९९.४ ले गराएको रेडियो कविता गोष्ठीमा वाचन गरिएको कविता । )
Sabitra Kafle – Santrasta Man
साबित्रा काफ्ले – सन्त्रस्त मन
सन्त्रस्त मन,
भूईं कुहिरोको
धुमिल छायाँ,
सन्नाटा छाएको
सुदूर वस्तिको
एउटा कथा,
कोरिएको छ
मौन आकाशमा ।
खडेरी परेका रातहरु,
अनिष्ट सम्भावना बोकेर,
उदाउँछ
मरुभूमी बिहान।
र,
एकहुल बाजहरु
नमिठो चित्कार
गाउँछन्
मान्छेहरुको समाधिमा ।
अभ्यस्त बाटो,
क्यानभासमा कोरिएका
स्वप्निल रङ्गहरु,
अब्यक्त पहाड
निर्निमेष हेरिरहन्छ
आफू अगाडिको
कहालिलाग्दो तस्बिर।
र,
गुन्जन्छन गीतहरु
तरङ्ग भएर
पहराको छातिबाट,
चिरेर मौनता
आकाशको ।
Biyogi Budhathoki – Nasha Piyen Bhanthen Dasha Piyiyechha (Nepali Gajal)
वियोगी बुढाथोकी – नशा पिएँ भन्थें दशा पिइएछ (गजल)
(मधुपर्क पुस, २०६७)
नशा पिएँ भन्थें दशा पिइएछ
बोल्ने ओठलाई आफैँ सिइएछ
प्रेमको खोला तर्न भेट्न बोलाएँ
मायाको बदला चोट दिइएछ
मातिएका पाइला लर्खराएथे
होस् खुल्दा उनकै ओत लिइएछ
अठोटको लौरो टेक्दै धेरै धाएँ
बित्थामा निर्दोष पैताला खिइएछ ।
Yatiraj Ajanabee – Shanti Aainan
यतिराज अजनबी – शान्ति आइनन्
अणु बमको बिष्फोट संगै
धुजा धुजा भएर च्यातिएकी,
पिइसकेको रक्सीको बोतलसंगै फ्यालिएकी,
फुत्किएकी मेसिन् गन मिजाइलहरूबाट,
त्यो कोलाहलदेखि
ज्यानमारा बन्दी झैं
हिडेकी आश्रयको खोजीमा कहीं,
रावणले हरेकी सिता झैं
खोसिएकी मेरो जिन्दगीदेखि,
प्रचण्ड हुरीको चक्रब्यूहले रन्थन्याएकी,
आकस्मिक भीमकाय खहरेले लगारिएकी,
आज यी छातौराक बथानमा छैनन्
यी सुन्तलाले चुलिएका डोकामा छैनन्
छैनन् उनी यी तोते बोल्ने बालकका कोक्रामा
खोइ कता बिलाइन्
तापको रापले पग्लेको हिउँ झैं
पलकमै मलाई छोडेर एक्लै
गएकी शान्ति आइनन्
हिजो सम्म त्यही पाखामा आउँथिन्
मस्त मेरो नानीमा निदाउँथिन्
सुमसुम्याउँथिन् मेरा पाखुरा
पलाउँथिन् भएर आँकुरा
भर्दै हरियाली हराभरा
पुग्थिन् कहिले हिउँ फुल्ने टाकुरा,
क्यामेराको लेन्सले तान्यो भनूं
मैले क्यामेराम्यानलाई सोधें
उनलाई मैले एकान्तमा खोजें
उनलाई नै भेट्न भनेर वनपाखा धाएँ
खुप् कुरें भञ्ज्याङ चौतारीहरू
कतिपल्ट पुगें पानीका पँधेरीहरू
कति सल्काएँ दीपकमा रात्री अँधेरीहरू
सेकिएँ सकेसम्म
शिशिरका चिसा सिरेटाहरूसँग
उनकै स्वागतका निम्ति,
ह्याँगिंग गार्डनले मोहनी लायो भनूं
मैले उनलाई फूल-फूलमा खोजें
खोज्दै उनलाई म सगरमाथा पुगें
मैले ढुंगा पनि फुटाई हेरें
हेरें उनलाई प्यासिफिकको तरलतामा
तर उनी भेटिइनन्
हराइन् बितेको समय झैं
पलकमै मलाई छोडेर एक्लै
गएकी शान्ति आइनन्
भाद्र १० २०५७ चन्द्रगढी, झापा
(Sent to Sanjaal Corps Via Email)
Deepak Jadit – Shuvakamana
बनोस नेपाल नयाँ भएर समुन्नत सदा अगाडी बढोस
हरेक नेपाली पाईलाहरु एकैसाथ शिखर तिर चढोस ।
खनेर धमिरे खाडल देश डुबाउने कुबुद्धि सारा सडोस
जो जो छन देशलाई छिर्के हान्ने दाउमा अल्झेर आफैं लडोस ।।
एक एक नेपालीको मुटुले एकैसाथ शान्तीको मंत्र पढोस
हुंदैन है आपसी कलहले उन्नती नेपालीमनमा गढोस ।।। १
भेट हुंदा नेपाली भाई भाई चोकमा एउटै खुशीमा हाँसुन
हातेमालो गरिगरि हिंड्दै आफ्नो आफ्नो मनको धमिलो नासुन ।
नारीपुरुष ठुलो र सानो भुलेर माला समानताको गाँसुन
बराबरी आपसमा मानेर उँचनिचको असत् खेती मासुन ।। २
सबै बन्द ढोकाहरु विकाशका गजबार निकासका खुलोस
शुख शान्ती संमृद्दीका आँकुरा नेपाली घर आँगनमा झुलोस ।
बुद्धको संदेश बोकेर आत्मा सहिदको वस्ती वस्तीमा डुलोस
रक्तपात हिंसा काटमार झै झगडा नेपाली दिलले भुलोस ।।
हिंसा प्रतिहिंसाको खेल रगत प्युँने यहि घडीबाट सुलोस
शुभकामना हामी नेपालीलाई नेपाल गुराँस जस्तै फूलोस ।।। ३
तेरो अनि मेरोको भावना मेटिएर नेपाल अब हाम्रो होस
मेचिकाली सम्मै नेपाली मच्चिने सारा नेपाल अब काम्रो होस ।
फुटाई फाईदा लुट्ने बाहिरी जगत्मा नेपाल अब चाम्रो होस
जे जे भयो त्यो भयो सकियो आजसम्म नेपाल अब राम्रो होस ।। ४
Pratima KC – Man Sandhai Desh Magchha (Nepali Gajal)
प्रतिमा के.सी. – मन सधै देश माग्छ (गजल)
मन सधै देश माग्छ परदेशमा नआउनु
नमेटिने तिर्खा लाग्छ परदेशमा नआउनु
जुनसंगै हिड्नु पर्छ फेरी जुनसंगै फर्कनु
मज्दुरीले सीमा नाघ्छ परदेशमा नआउनु
लानु आखिर के पो छर खानु एकैछाक न हो
धन मोह अति जाग्छ परदेशमा नआउनु
चित्त दुख्छ पराइको कुल्ली भएर बस्नु पर्दा
तन पनि सारै थाक्छ परदेशमा नआउनु
खुली दिएर प्रकृतिले जुन घाम हाँसे पनि
तुवालोले मन ढाक्छ परदेशमा नआउनु
अशान्तिले फुल्दा फल्दा देश छोडने मन हुन्छ
आफ्नोपन फेरी भाग्छ परदेशमा नआउनु
१२ फेब्रुअरी २०१२
रेडिंग, बेलायत
Sudhir Chhetri – U Ra Prajatantra
सुधीर छेत्री उ र प्रजातन्त्र
सर्वविदितै छ,
जनगणनामा छोडिएको
उसको टाउको
बुनियादी खॉंचोको रासिनकार्डमा
सत्तालोलुपताको चेसगोटी भएको हो।
रोजगार-योजनाको पुरानो कार्बनपेपरमा
यथोचित चाप नभएर
तल्लो कागजमा उसको नाम
प्राथमिकताबाट मेटिएछ,
यद्यपि
भत्ताको बैशाखीमा अल्झेको
उसको ग्रामीण यौवनले
आयोगहरूको तिरतिरे धाराबाट
बीमाको रहल जेरेकिन भर्ने आश मारेको छैन।
प्रत्येक सेमिनारको टेबलमा
काजु-बदाम
उसलाई विस्मयाधिवोधक चिह्नझैं लाग्छ।
उसको गहुँगोरो अनुहार र हिमाली आँखा
देख्खी विच्छिन्नतावादी छ,
मागहरू अगणतान्त्रिक
आवाज पनि अशान्तिमय,
तर
सहीद भएर बाकसमा उसको राष्ट्रभक्ति
गाउँको बाटो ओह्रालो झर्दा
रक्ताम्मे भञ्ज्याङ् र चौतारीले
संविधानको छन्द रटिरहेको हुन्छ।
अखण्डताको आली-आलीमा
कॉंध पिल्साउँदै उचालिरहेकै हो
सुरक्षा-कवचका हलो-जुवा।
हरिया पातहरूका कार्यकालभरि
हॉंगाका नौकरशाहहरूले
सम्झौताका बुट्टेदार निबन्धहरू लेख्छन्।
प्राइमटाइमका पातहरू खसेपछि
उसको भुमरी निधारमा
फेरि मर्मस्पर्शी पोस्टर पढ्न थुप्रिन्छन्
उपनिवेशी दलालहरू।
Bimal Giri – Prem
जीबन को यो एक
स्रिन्खलाबद्ध यात्रा
अनौठो र अनन्त
दुई ह्रिदएबिच मिलन को बिन्दु
बिशिस्ट र बिशाल गहिराइ
कैहिले गनतब्य एउटै
कैहिले फरक
कहिले हावा को उच्चबास सगै
भित्री मुटुको तह सम्म पुग्ने
स्निघ्ध यात्रा
पवित्र बस्तुत प्रेम हो र पर्खाल
दिगन्तसम्म रहने यात्रा हो
अलौकिक आनन्द हो र
प्रेम बिम्ब हो
प्रेम निशाना हो
प्रेम पल्लवित पुष्प हो
स्वर्गिय आनन्द हो
प्रेम अबिरल बगिरहने
सुन्दर झरना हो
निर्मल खोला हो,निरन्तर बगिरहन्छ
बिहानीको सुर्यको
सुन्दर र मनोरम किरणसगै
प्रेम,जीबनका आस्था
बसन्तले उमार्ने बैश
सभ्यताको प्रतिक र जिन्दगीका क्षणलाई
रङ्गाउने बस्तुहो प्रेम
हृदयको घनत्व नाप्ने
आस्थाको मापडन्द हो प्रेम
मनको आयतन भित्र प्रतिबिम्बित भई
असन्तुस्ट र अपमानित खाल्टोलाई
सम्म्याउने अभिन्न
अलङ्कारीक बस्तुहो प्रेम।
घर देश – चारपाने झापा
परदेश – बेल्जियम
Rama Adhikari Kadambari – Gasnu Parne Man Haru
रमा अधिकारी ”कादम्बरी” – गाँस्नु पर्ने मनहरु
मनहरु
एकताको मालामा गाँसिएकै जाति हुन्छ
मनहरु
मायाको धागोमा उनिएकै बेस हुन्छ
मनसँग मन टाढिएको सुहाउँदैन
मनले मनलाई रुवाएको शुभ हुँदैन ।
मन फाटेपछि
घृणा साटेपछि
हिंस्रक हुन्छ मान्छे
त्रासद हुन्छ समय
जुनसुकै धु्रवको होस्
मन कोमल हुनर्ुपर्छ
जुनसुकै धर्म होस्
मनले त कर्मको पूजा गर्नुपर्छ
मनलाई बारुदको गन्धभन्दा
बाँसुरीको सङ्गीत मनपर्छ
मनले विनाशको आतंकभन्दा
विकासको लहर रुचाउँछ ।
बधशालामा बुद्ध बाँधेर
थपडी बजाउने मनहरुका विरुद्धमा
नवीन क्रान्ति उद्घोष गर्न
विश्ववन्धुत्वको सपना देख्नर्ुपर्छ ।
धर्ती रुवाएर
उत्सव मनाउने
शकुनी मनहरुका विपक्षमा
नयाँ युगको शंखघोष गर्न
‘बसुद्यैव कुटुम्बकम्’ को
धुन गुन्गुनाउनु पर्छ ।
मन आखिर जहाँ रहेपनि
मन नै त हो
श्रम रोपेर सिर्जना पस्कने
मनहरु र बुद्ध बनेर
शान्ति फैलाउने मनहरु
एकआपसमा गाँस्न पाए
सोच्नोस् त कस्तो हुन्थ्यो धर्ती – ।