भूपिन ब्याकुल – लोकतन्त्रलाई प्रश्न
नानीमा आशा टाँसिएका आँखाहरु छन्
परेलीमा निराशा टाँगिएका आँखाहरु छन्
लोकतन्त्र
तिमीसंग ती आँखाहरुलाई दिन
कुन-कुन नयाँ दृश्यहरु छन् ?
तिमीलाई उज्यालो इन्द्रेणी बनाउन
उनीहरुले आङको घाम दिएका छन्
उनीहरुले पसिनाको रङ
र जीवनको निजी गन्ध दिएका छन्
कतिपय
फुकेका खाली हातहरु छन्
कतिपय
बन्द मुठीहरु छन्
लोकतन्त्र
तिमीसंग ती हातहरुमा थमाउन
कुनकुन नयाँ जून घामहरु छन् ?
स्कुलको पुरानो ऐनामा
जीवनको नयाँ बिम्ब हेर्न लालयित
केटाकेटीहरुलाई
जीवनको क्रुरताबाट झिकेर
कसरी पुर्याउँछौ स्कुल ?
के राखिदिन्छौ ?
स्कुल हिंडिरहेका नानीहरुको झोलामा
किताब कि बन्दुक ?
के पलाउँछौ किसानको खेतहरुमा ?
जीवन कि आँसु ?
जे भित्र्याउँछौ मजदुरका झुप्राहरुमा
उज्यालो कि अंध्यारो ?
के झार्छौ गरिबहरुका आँगनमा
उल्का कि तारा ?
समयको चुली चढ्न ब्यग्र बाटाहरु
निदाइरहेका छन् गाउँहरुमा
तिनीहरुलाई कसरी ब्युँझाउँछौ ?
दु:खको गाढा ऐँठन छ
मधेसको फिक्का अनुहारमा
त्यसलाई कसरी उप्काएर फाल्छौ ?
ऊनसँग साटेर
नून कसरी पुर्याउँछौ बस्तीहरुमा ?
कसरी पुर्याउँछौ ?
प्रश्न गर्न बर्जित
यो मुलुकमा
एकसाथ धेरै प्रश्नहरु सोध्न खोजिरहेका छन्
मानिसहरु
लोकतन्त्र
तिमीसँग उनीहरूलाई दिन
के-के नयाँ उत्तरहरु छन् ?
के-के नयाँ उत्तरहरु छन् ?