Dr. Mohan Prasad Joshi – He Pahuna !

डा. मोहनप्रसाद जोशी — हे पाहुना !

हे पाहुना !
किन आफ्नै घर भन्ठान्दै छौ ?
रङ्गरूपमा रुमल्लिएर
दस थरी गर्न थाल्दै छौ,
अतिथिको भाव भुलेर
आफूलाई मालिक मान्दै छौ |

हे पाहुना !
किन आफ्नै घर भन्ठान्दै छौ ?
एक दिनको वासलाई
सधैँको निवास मान्दै छौ,
त्यसमा भएका सामानलाई
स्थायी सम्पत्ति ठान्दै छौ |

हे पाहुना !
किन आफ्नै घर भन्ठान्दै छौ ?
मेरो भन्ने बोझ बोकी
केबिघ्न दु:ख बेसाऊँदै छौ,
फेरि अतिथि बनेमा यात्रा
सरल र सुखद पाउने छौ |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको | डा. जोशीकै ‘कहाँ छ ठाउँ ‘ नामक गीति सङ्ग्रहमा पनि समावेश भएको | सङ्गीत: न्ह्यू बज्राचार्य, स्वर: आनी छोइंग डोल्मा |)