Shrawan Mukarung – Ghar Farkeko Manchhe

घरको मायाले
घर फर्केको मान्छे
आफै घर भएर आइपुगेछ

त्यही आँगन
त्यही बलेँसी
त्यही सिकुवा
त्यही साँझ
त्यही मूल ढोका

त्यही बार्दली
त्यही आँखीझ्याल
त्यही धूपीको रुख
त्यही गमलाको फूल
त्यही सपनाको हुल

त्यही ढिकी
त्यही जाँतो
त्यही जून
त्यही चुराको छुनछुन
त्यही परेवाको गुनगुन

घरको मायाले
घर फर्केको मान्छे
आफैँ घर भएर आइपुगेछ

पच्चीस वर्षपछि
आज
तिमी पच्चीस वर्षअघिको
निश्चल
त्यही घरको यो करुणामयी सँघार
कुल्चिँदै–कुल्चिँदै
भित्र पस !

अहा !
कति सुग्घर गगे्रटो
चौका, ताक, खोपी
र बलिरहेको प्रेमको
त्यही दीप !

त्यही दीपको उज्यालोले
तिमी
हेर उसलाई
जहाँ–
तिम्रो चलिरहेको
राताम्ये बाल–तस्वीर
बेगमबेली फूलको झ्याङभरि
चुपचाप मुस्कुराइरहेछ
सुस्तरी–सुस्तरी…
तिमी अझ
भित्र पस !
एकदम भित्र पस !!
(अनुराधा ! तिमी छ्यौ र पो यो ‘नहुनु’ घर भएको छ)

घरको मायाले
घर फर्केको मान्छे
आफैँ घर भएर आइपुगेछ
यतिका वर्ष परदेशिएको
परदेशमा आफू कर्त छुटेनछ ।