सुधीर छेत्री – हिप्पोक्रिट संवेदनशीलता
“साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -यी के हुन् ? सब अक्षरका खेलमात्र हुन्, अक्षरको एक विशेष मर्यादाक्रम हुन्। आजको भोलि नै यिनलाई बदलिन सकिन्छ, यिनलाई म अहिले नै बदलिनसक्दछु।”
-शङ्कर लामिछाने,
एब्स्ट्र्याक्ट चिन्तन प्याज
कार्निभल चल्दैछ। कार्निभल।
समुद्री ढुङ्गाजस्ता
चिप्ला भूगोलमा
हातहरू पसारिरहेको छ माग्दै केही
थकित अक्टोपस्। मलिलो गर्भाशय छ
मागिरहेछ वीर्य।
त्यसका रूबी झैं टल्कने आँखामा त्रास
एकथरिको बाक्लो।
घनीभूत आतङ्क।
देशको डायरीमा
अनुच्छेद गॉंसेर
कति फर्किपनि सके।
कति अब फर्कंदैनन्।
देशले रगत माग्यो।
कॉंडेतारबाट औंलाहरू बटुलेर
फर्कियो मेरो अङ्गुलीमाल।
मध्यान्हतिर
गाउँका सबै मान्छेहरू
लक्षणाको चोया काट्दैछ।
पोका-पोकामा शून्यता बोकेर बेचिहिँड़्ने
शङ्कराचार्य
खु इ य्य ओछ्याएर बसेको छ।
मार्शल डुश्याम्पले
पिसाब फेर्छ
आधुनिकताको टोपीमा।
वामपन्थीहरू
द्वन्द्ववादको नेपकिनले रगत पुछ्दैछन्
अनि
ट्रोजन हर्सहरू कुदेका-कुदेकै छन्
भुटानी शरणार्थीहरूका सिन्दूर टेक्दै।
कम्रेडले दॉंत कोट्याउन छोडेको छैन।
अध्यात्मको पारदर्शी कवचबाट छर्लङ्ग देखापर्दैछ
कीर्तनका करङहरू।
समयको उपत्यका-उपत्यकामा टेकेर
वर्त्तमानको स्वयंसेवकले
खण्डित शिलालेख कोरेकारहेछन्।
मेरो अभिव्यक्ति
विखण्डनमाथि उफ्रँदै हिडेको छ-
-आचारसंहिताले हात्ती छामिबस्छ
-हिस्सीले कम्मर मर्काइरहन्छ
-अलच्छिन चिलहरू सिलहट कोर्छन्
-खेतभरि ग्रामबालाहरू कागज झैं च्यातिन्छन्
-किसानलाई ऋण साह्रै स्पष्टवक्ता लाग्छ
-फ्लाइओभरमुनि संविधानहरू गुडिरहन्छन्
-पूर्णविरामहरू प्रुफरिडरलाई गुहार-गुहार भन्छन्
-आठौं अनुसूचिबाट शब्दहरू रोएको आवाज आइबस्छ
-इन्द्रजाल पढिरहेछन् खाकी रङ्गका युनिफर्महरू
-चिट्चिट् पसीना आएको छ उद्भिदको निधारमा।