Suren Upreti – Aama

सुरेन उप्रेती – आमा

आमा तिमी कौशलताले, धर्ति सजाउने
आविष्कारकी जननी हौ, संसार बनाउने
बिना तिमी यो धरतिमा, सिर्जन्नथ्यो केही
तिमी कति महान छौ, धरा वोल्छ यही

आफुलार्इ मेटाएर ,सन्तानका लागी
भोक तिेर्खा निन्द्रा थकान, सबैलार्इ त्यागी
दिन रात बाह्रैमास, सोच्छिन उनकै खातिर
सुख अनि संबृद्दिका ,निम्ति हुन्छिन हाजिर

पढोस बढोस नाम राखोस् ,स्वस्थ बनोस भन्दै
सातै बारमा ब्रत बस्छिन, दीर्घायूहोस भन्दै्
केहि खानु भन्दा पहिला ,सन्तान सम्झिएर
गाँस निल्न गाह्रो पर्छ ,याद बल्झिएर

मिल्ने भए नानी भित्र लुकाएर राख्छिन्
मुटुभित्र छाती भित्र छुपाएर राख्छिन्
पिलाउँछिन् अमुल्य रस छाती सुकाएर
उज्यालोमा राख्छिन् सन्तान आफु जलाएर

सन्तान दुष्ट खराव हुन्छन ,राग लिन्नन् आमा
सबै पिडा आफैं लिइ ,झुक्न दिन्नन् आमा
चोट खोट सबै सहने ,सागर हुन है आमा
ममताले धरति पोत्ने ,महासागर हुन है आमा

मातातिर्थ औशि २०७३

Chandika Bhattarai – Meri Pyari Chhori

चन्डिका भट्टराई – मेरी प्यारी छोरी

अचम्म लाग्छ मलाई, तिम्रा यी साना आँखामा
आफ्नो सिङ्गो संसार देख्दा
यी साना ओठमा सजिएको मुस्कान हेरि
जिवनका ठूला ठूला तनाव बिर्सदा।

अचम्म लाग्छ मलाई, तिम्रा यी साना मुठ्ठीमा
यति धेरै खुशी अटेको देख्दा
तिम्रा यी साना खुट्टाहरुले उभिनुको लागि गरेको संघर्ष हेरि
आफुले पाइला पाइलामा गरेको संंघर्ष बिर्सदा।

अचम्म लाग्छ मलाई
पलपल तिमी ले आफुतिर आकर्षित गरेको देख्दा
चुलबुलिएर तिमिले गरेको बदमासी पनि
मलाई यति धेरै मन परेको देख्दा।

अचम्म लाग्छ मलाई
तिमि प्रतिको यो माया मोह देख्दा
तिम्रा साना साना गतिविधिमा अल्झिएर
आफ्ना ठूला ठूला लक्ष्यहरु मा छायाँ पार्दा
दिन प्रतिदिन तिमी बढेको हेरि,त्यसैमा मोहित भै बस्दा।

मेरी प्यारी छोरी,
जब तिमी बामे सर्दै आएर,मेरो काखमा लुटुपुटु गर्छौ,
साना तिम्रा हत्केलाले, मलाई स्पर्श गर्छौ,
खेल्दै, चल्दै मलाई खोज्दै पल्याक पुलुक हेर्छौ,
तिमिलाई थाहा छैन, खुशी र उमङ्ग का
अनेकौं रङ्ग मेरो मनमा, जिबनमा भर्छौ।

तिमि लड्छौ,पल्टन्छौ फेरि आफै उठ्छौ
नयाँ केही देखे ,नियालि खुबै हेर्छौ
माइक्रोसकोप जस्ता तिम्रा आँखा,
भुइँ का साना दाना पनि देख्छौ
चुम्बकले फलामका टुक्रा तानेझैँ
फेरि ति साना दाना नि औँलाले टिप्छौ।
खेल छ तिम्रो आफ्नै,आफ्नै छ खेल्ने तरिका
अचम्म लाग्छ यो जानेर कि
तिम्रै वरिपरि छन् मेरा खुशी संसार भरिका।

मेरी प्यारी छोरी,
यसै फुरुङ्ग भइ डुल्छौ तिमि यता उता
सोच्छु म , साच्चै भगवानकै रुप हो यो बाल अवस्था
पत्थर कै मुटु होला त्यो मानिसको जो नियाल्न सक्दैन
स‌ृष्टिको यो अनुपम सुन्दरता॥

काठमाडौं।

Sujan Budhathoki – Aama

सुजन बुढाथोकी – आमा

मानोउ कि आकास जस्तै ठूलो
एउटा सफा क्यानभाषमा,
केटाकेटीहरु आएर चित्रकलाको अभ्यास गर्छन,
चित्र कोर्छन
बिग्रन्छ,
अनि मेट्छन,
फेरि कोर्छन
बिगार्छन
अनि फेरि रिसाएर
हेर्छन
जहाँ
एउटा रिसाएको मान्छेको अदभुत अनुहारलाइ देखेर,
अनि आफ्ना बाबालाइ डराउदै बोलाएर भन्छन
“यहाँ
हेर्नु त ”
अन्तत,
हेर्दा
त्यो तस्बिर ती नानिहरुलाई नै हेरेर स्वयम् हासिरहेको हुन्छ
किनकि त्यो उनिहरुकै आमा हुन ।

Dipendra KC – Itihas Ra Aama

दीपेन्द्र के.सी. – इतिहास र आमा !

अगेनामा आफनै जीवन फुकेर
दुःखहरु जान्छन धुरीबाट
र, न्याना लाग्छन
छातीजस्ता भित्ताहरु ।

तिमी अगेनामा बस्नु
र, हामीहरु वरिपरि घेरिनु
माहुरीको घारमा
औधी सन्तोषको रौनकता भुनभुनाएर
घरभरी चँचलता दौडनु
इतिहासको खोंचमा उभिएर हेर्दा
भीर बोकेर उभिएकी छिन
र, दौडिएका छौं हामी जीवनको सम्म राजमार्गमा ।

एउटा अध्याय यहाँ पनि छ इतिहासको—
हयाँगरजस्ता लाग्ने करङहरुमा
टाँगिएका मैला कपडाहरु
हाम्रा सुकिला जीवनका अर्थहरु रहिछन,
उनको निद्रा अपहरण हुनु
र, छेउमा हामी ढुक्क निदाउनु
यी पनि हाम्रै सपनाका पहरेदारी रहिछन् ।

सम्झनाका नदीहरु बगाउँदै आँखाबाट
तर पनि अटाएकै छन्
हाम्रा भागका सपनाहरु
एक्लैबाट धेरै
र, टुक्रिएकर पनि फेरि एक्लै
हाम्रै राजमार्ग फराकिला पार्न लागिरहने
“आमा” !
त्यसै कहाँ बनिदोरहेछ र
“आमा” !
थाहा भयो
समयले गलहत्याएर इतिहासको चाङमा राखिदिएपछि ।
महानताको व्याख्या यसै हुन सक्दैन
छोराहरु आयोजित/प्रायोजित
औपचारिकताको आडम्वरी भेलामा ।

१६-०३-२०१६
बागलुङः हाल लुभेन बेल्जियम ।

Damodar Pudasainee – Pahad Ra Aama Haru

दामोदर पुडासैनी किशोर – पहाड र आमाहरू

आमाहरू
पहाडहरू हुनुहुन्थ्यो
जीवनभर हामीलाई सिकाइरहनुभयो
पहाडनै बन्न

आमाहरूलाई
भोकले जिस्क्याइरहन्थ्यो
फर्की फर्की आएर दाह्रा धसिरहन्थ्यो
शोक र सुर्ताले
आमाहरू
भोकलाई सुकुटी बनाउँन सुकाइरहनुहु्थ्यो
चिशा छिंडीहरूमा र चिल्थरा टालेका कपडाहरूमा
र शोकहरूलाई कुल्चदै कुल्चदै
केही न केही बिउका पाँजाहरू रोपिरहनुहुन्थ्यो
जाँगरका भेलहरू नसा नसामा बगाएर

आमाहरू हुनुहुन्थ्यो
पहाडजस्तो
र ,स साना छुनुमुने नानीजस्तो
रिसाउँदा पनि सत्य बोल्नुहु्न्थ्यो
खुशाउँदा त बुनिरहनुहुन्थ्यो
सत्यका बिशाल बुट्टाहरू

आमाहरूबाट
मायाको मुल निस्कँदा
सफा ,स्वच्छ र निस्वार्थी थियो
प्रेम भन्ने कुरा
जब आमाबाट निस्केर अरूको हातमा पुग्यो
तब प्रेमनै कालो ,छिरबिरे र काँडादार बन्यो

कयौ हुरी ,कम्प र प्रलय आउँदा
दह्रिलो मेरूदण्ड बनेर
छेकिरहनुभयो आमाहरूले
र जीवनभर कसैले हल्लाउँन नसक्ने
पहाड बन्नु भन्नुभयो हामीहरूलाई

आमाहरू सम्झेपछि
पहाडहरूपनि लाग्छन्
आमाहरूजस्तै
उज्याला,स्नेही र उर्जाशील

अचेल आमाहरूको अभाब
मेटाइदिन्छन्
पहाडहरूले

नियालेर हेर्नुस् त
हरेक पहाडहरूमा
आमाहरू
मुस्काउँदै मुस्काउँदै
उकालो चढिरहेका हुन्छन्

म अहिले आमाका सुन्दर सँझनाहरू
साट्ने गर्छु
पहाडका गोरेटा ,फूलका थुँगा
र ,चराका आवाजहरूसँग

आमाहरू
आकाशभरि फैलिनुभयो
र धर्तिभरि उम्रनुभयो
आमाहरूकै निशर्त मायामा
म आफ्नो अनुहारलाई
बनाउँन खोज्दैछु
पहाडझैँ रँगिन र पहाडझैँ उज्यालो

२०७६ बैशाख २१ शनिबार
ग्वँग:बुँ ,नयाँबसपार्क,काठमाडौ

Manisha Awasthi – Ghaite Meri Aama

मनीषा अवस्थी – घाइते मेरी आमा

रगत बगेको छ यहाँ
एक नेपाली ढलेको छ
दुईछाक टार्न ५०लाखको सपना देखाएको छ

हेर्दाहेर्दै देशमा
अधिकारको भेशमा
रक्तपिपासु पसेको छ
सोझा किसानको मेशमा

अधिकारलाई बन्दहड्ताल नाम दिएर
डलरको खेल खेल्नेहरु
रगत पिउदै डलर खेलाउदै
हामीलाई फुटबल बनाइ रहदा
हामी चुपचाप चुपचाप

बिचरा हामी अधिकारको नशा पिएर
नशामा लठ्ठ हुँदा
धन्य लाग्छ छातीमा गोली थाप्दा

धन्यका वास्तविक पात्र
चार तलाको झ्यालबाट चियाउदै
गोल भन्दै ताली बजाउदैछन

छोडौं अर्काका लागि गोल गर्न
आफ्नै लागि खुट्टा बजारौं
खेल आफ्नै पक्षमा पारौ
त्यतिबेला हुनेछिन खुशी मेरी आमा
र शय्याबाट सकिनसकी अंकमाल गर्नेछिन्