Hangyug Agyat – Ma Hongkong Bhai Sakechhu

हांगयुग अज्ञात – म हङकङ भइसकेछु

सातिन र हेप्पीभ्यालीमा दौडिने
बाजीको घोडाजस्तै
अथवा जमिनमुनि दौडिने
रसआवरको रेलजस्तै
यो एसियाको विश्वसहरमा
श्रम बेच्न दौडेको पनि
थाहै नपाई
एक दशक भएछ
र हिजो बेलुकी
जब माया सेलुनमा
ऐना अगाडि उभिएँ
तब देखेँ
फुल्न थालेका रहेछन्
कनसिरीमा कपालफूलहरू
ओहो ! देश फर्किन्छु भन्दाभन्दै
म त हङकङ भइसकेछु,

ताइमोशान र मंकीहिलको जङ्गलमा
चासोक, साकेवा र ल्होसार मान्दामान्दै
बिबिक्यूमा पोलिपठाइएछ उमेरको पखेटा
इन्डियाक्लव र कङ्गनको बफेमा
पुलाउ र पर्ककरी पस्किादापस्किदै
कतिबेला रित्तो पारिएछ मस्तिष्कको प्लेट
कतिबेला रेड वाइनले कुल्ला गरिएछ
आदर्शको फट्फटाइरहने जिब्रो
कतिबेला बियरले पखालिएछ
देशको तस्बीरलाई मनको कुनाबाट र
कतिबेला टोस्ट गरिपठाइएछ कायाकल्पको नाममा
आफ्नो सर्वहारा पृष्ठभूमिको गरूङ्गो मुट्ठी !

ओ, मेरा साथीहरू हो,
युनलङ थियटर र चुनवान टाउनहलमा होस्
अथवा कम्युनिटी हल यायातेइमा होस्
थाहै नपाई मैले बिर्सेछु
मेरो रगत, पसिना र आँसु ! अथवा,
नाचघरमा कम्मर मर्काउँदामर्काउँदै
कतिबेला भुाडीले आकास ताक्न थालेछ
र आँखाका चेपबाट
रेखाहरू तन्किन थालेछन्
मार्कसिक्सको सपनाबाट ब्यूँझेर
हिजो बेलुकी
जब उभिएँ माया सेलुनमा
तब देखेँ घामले डढेको
आफ्नो दिक्कलाग्दो अनुहार
ओहो ! देश फर्किन्छु भन्दाभन्दै
म त हङकङ भइसकेछु,

ओ, मेरो देश
म हङकङ भइसकेछु
तेसैले मेरो काखीमा हिजोआज
डुङ्डुङ्ती समुद्र गन्हाउन थालेको छ
मेरो नङमा गन्हाउन थालेको छ
लापसाप
मेरो हातमा गन्हाउन थालेको छ
इनामेल
मेरो ढाडमा गन्हाउन थालेको छ
बासीभात
मेरो खुट्टामा गन्हाउन थालेको छ
बाह्रघण्टा
मेरो मुखमा गन्हाउन थालेको छ
तिउलेलम्बू
मेरो छातीमा गन्हाउन थालेको छ
नेपोइः
हो, म हङकङ भइसकेछु !
मेरो सिङ्गो शरीरमा
गन्हाउन थालेको छ आइडी,

तेसैले ओ मेरो देश
अब इमेल नगर तिमी
नपठाऊ तिम्रा दुःखहरू
यहाँ तिम्रो गोर्खा छोरा
यहाँ तिम्रो कवि छोरा
हङकङ भइसकेको छ
र तिमीले
लाहुरेको गफमा सुनेजस्तो
यो हङकङ साँच्चैमा सुन्दर
र सुखी छैन,

यहाँका अग्ला भवनहरूमा
धेरै होंचा विचारहरू बस्तछन्
यहाँका सफा सडकहरूमा
धेरै फोहरी नियतहरू हिँड्दछन्
तेसैले ओ मेरो देश
तिम्रो इमेलको जवाफमा
म सुखहरू पठाउन सक्दिनँ
म शान्तिहरू पठाउन सक्दिनँ
मात्र पठाउन सक्छु
अहङ्कार, इर्ष्या र जलनहरू !
हो, कति चाँडै
म हङकङ भइसकेछु

देश फर्किन्छु भन्दाभन्दै
देशको नामै बिर्सिसकेछु
म त हङकङ भइसकेछु

म त हङकङ भइसकेछु ।

Hangyug Agyat – Yo Sahar

हांगयुग अज्ञात – यो सहर

यो सहर आफू मात्रै रमाई बाँचेको
धेरैधेरै गाँऊहरू रूवाई हाँसेको

बाटुलीले भुल्न थाली पँधेरीको जून
कस्ले सक्छ उस्ले जस्तो मनको पीर छुन
रानीवनको रानीचरी पिजँडामा आयो
सपनाले Continue reading “Hangyug Agyat – Yo Sahar”

Hangyug Agyat – Rukh

हाङयुग अज्ञात – रुख

उभ्दा-उभ्दै
चौकीदारको जिन्दगी
१२-१२ घण्टा कंक्रिटको जंगलमा
पैतलाबाट जराहरू पलाएर
हातबाट पातहरू पलाएर
जीउबाट हाँगाहरू पलाएर
म त रुख भइसकेछु !

चराहरू खेल्छन् मनको हाँगाहाँगा
घरि यो हाँगा, घरि त्यो हाँगा
गीत गाउँछन् चिरिबिरी च्याट..च्या ट्…
च्याट..च्या ट्…चिरिबिरी…!
र उडिजान्छन् स्वतन्त्रताको नीलो आकाश,
म जड
बुटभरि दबाएर आकांक्षाको बतास
खस्दै निरिह वर्तमान
स्खलित समयको पहेंलो पात
म त रुख भइसकेछु !
अब रुख भैसकेपछि
फेरि नहुन नपाइने रहेछ
बाँचिसकेको जीवन पनि
फिर्ता नपाइने रहेछ !

अब रुख भैसकेपछि
मान्छे जस्तो यता उता हुलमुलमा
षडयन्त्र रच्दै राजनीतिको
ठुटे नेता हुन पनि नसकिने रहेछ
अब रुख भैसकेपछि
एकै ठाउँ उभिएर निस्सारताले
बिस्तार बिस्तारको मृत्यु कुर्नु सिवाय
कुनै क्रान्तिकारीले जस्तो
उफ्रिदै भाषण ठोक्न नसकिने रहेछ !
बोसोको आलस्यता थप्दै बुद्धिमा
कल्पनाले घुमेर देशविदेश
एकै ठाउँ साइकिक् उभिरहनु
म चौकीदार _____________!

! गुर्का ..ठिंगरिंग पसल पसलमा ..
बैंकमा …ढोका ढोकामा …लवी लवीमा
रहरका सुकेका हाँगाहरू
मनले पिटिक् पिटिक् भाँच्दै
मुटुमा यथास्थितिको झ्याउ पलाएर
म त रुख भइसकेछु !

रुख भैसकेपछि
रुख नै हुनु पर्दो रहेछ
र यो सहरको प्रदुषित भीडबाट भाग्नु
रुखले पनि कविले जस्तो सोच्नु पर्दो रहेछ
नत्र कुरेर बस्नु पर्ने रहेछ
कुनै आँधिबेहरी …कि
जरैसित उडाएर लैजावोस् जडता
उभ्दा-उभ्दै
चौकीदारको जिन्दगी
यसरी नै हामी रुख हुन्छौं
र मान्छेहरूको बगालबाट अलग हुन्छौं !

उभ्दा-उभ्दै
चौकीदारको जिन्दगी
१२-१२ घण्टा कंक्रिटको जंगलमा
पैतलाबाट जराहरू पलाएर
हातबाट पातहरू पलाएर
जीउबाट हाँगाहरू पलाएर
म त रुख भइसकेछु !

Hangyug Agyat – Badhi

हांगयुग अज्ञात – बाढी

जब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
बाँध र पुलहरू भत्किन्छन्
खेत र बाटोहरू भत्किन्छन्
घर र सम्बन्धहरू भत्किन्छन्
जब बाढी आउँछ
तब धेरै धेरै कुराहरू भत्किन्छन्,

तर खै ! किन भत्किदैनन् –
सप्तकोसीको राष्ट्रघाती सन्धी
टनकपुरको आत्मर्समर्पणवादी सम्झौता
खै ! किन भत्किदैनन् –
शासकहरूको राष्ट्र बेच्ने हस्ताक्षर
खै ! किन भत्किदैनन् –
शासकहरूको सिंहदरबार !

जब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
विश्वास र आदर्शहरू भत्किन्छन्
मन र इच्छाहरू भत्किन्छन्
आशा र भरोसाहरू भत्किन्छन्
जब बाढी आउँछ
तब धेरै धेरै कुराहरू भत्किन्छन्,

बाढी नदीको होस् या आँसुको
बाढी राजनीतिको होस् या जीवनको
बाढी आखिर बाढी नै हुन्छ
त्यो आए पछि धेरै कुराहरू भत्किन्छन्
इनार र माछापोखरी
कुलो र पैनी सबैसबै भत्किन्छन्
पाठशाला र स्वास्थ चौकी
पसल र दुरसंचार सबैसबै भत्किन्छन्,

तर साथी हो
संसारमा एउटै मात्र यस्तो बाढी छ
जसले केही कुरा भत्काउँदैन
बरू जोड्छ भत्केका बाँध र पुलहरू
बरू गाँस्छ भत्केका मन र विश्वासहरू
बरू निको पार्छ बाढी र पैरोका घाऊहरू
बरू निको पार्छ भुँइचालो र महामारीका चोटहरू,

हो, साथी हो
यो यौटा यस्तो अद्भूत बाढी हो
जसको निम्ति हामीले सधैँ भेला हुनु पर्छ
र मान्छेहरूको डुबेका सपनाहरूलाई किनार दिनु पर्छ
र यो बाढीको नाम हो
सहयोगको बाढी
जसले सधैँ सङ्लो हृदयको लहरमा
हामीजस्तै मान्छेहरूको जीवनलाई
समाउने यौटा आधार दिनु पर्छ
हो, साथी हो
धमिलो पानीको बाढी विरूद्घमा
सहयोगको सङ्लो बाढी आउनु पर्छ
तरजब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
तब धेरै धेरै कुराहरू भत्किन्छन्
इमान र लाजहरू पनि भत्किन्छन्
लाज र इमानहरू पनि भत्किन्छन् ।

( यो सप्तकोसी बाढी पीडितहरूको सहयोगार्थ हङकङ नेपाली महासंघद्वारा आयोजित कार्यक्रममा वाचित कविता हो । )

Hangyug Agyat – Raja Ko Mrityu

हांगयुग अज्ञात – राजाको मृत्यु

कति प्रश्नहरूको जवाफ दिएर
कति जवाफहरूको प्रश्न भएर
कति इतिहासहरू उधारेर
कति रहस्यहरू बुनेर
सडकका भित्ताहरूमा वंशावली लेख्दालेख्दै
बिजुलीका मिटरबक्सहरूमा हुकुम कोर्दाकोर्दै
काउलुन पार्कको राज मरेछ,

उसको लासले
दर्जनौ तोपको सलामी पाएन
उसको लासले
लाखौ जनताको मलामी पाएन
उसको लासले
फूलहरूको चिता पाएन
उसको लासले
राष्ट्रिय झण्डाको कात्रो पाएन
उसको लासले
कुनै देशको राजाले पाउनुपर्ने
मृत्युपछिका राजकीय सुविधाहरू पाएन
यत्तिसम्म कि
उसको मृत्युलाई स्वर्गारोहण पनि भनिएन,

सिमेन्टको मेच आफ्नै गद्दीमा
सात बजेर उन्नाइस मिनेट जांदा
स्युयकसित
छिन्ताओ पिइरहेको अवस्थामा
बिना श्रीपेच, बिना राजदण्ड
बिना रानी, बिना राजकुमार
बिना राजपुरोहित, बिना सैनिक
बिना प्रजा, बिना सुसारे
बिना ढोके, बिना धुपौरे
पचहत्तर बर्षको उमेरमा
कुनै सन्की पुलिसको गोलीले होइन
कालगतिले
काउलुन पार्कको राजा मरेछ,

विद्युतीय चितामा राखेको
उसको लासलाई
कसैले दागबत्ती दिएन
बुढो सरकारी जल्लादले

केवल भित्ताको स्वीच दबायो
र मनमनै झक्र्यो
‘माफान तीउ….!!’

रेडियो र टेलिभिजनहरूमा
कुनै शोकधुन बजेन
अखवारहरूमा रङ्गीन कलेवरमै छापिए
सार्वजानिक विदा दिइएन
शोकसभाहरू भएनन्
कसैले श्रदान्जली अर्पण गरेन
ऊ त्यसै मर्‍यो
ऊ त्यत्तिकै मर्‍यो,

ऊ मरेका सात दिनपछि
मध्यान्ह १२ बजे
लगभग अढाइसय बर्ष पुरानो
बरको रूख पनि
कंक्रीटको सडक पल्टाएर
जरैसित ढल्यो
बिना टाइफून आफै ढल्यो,

काउलुन पार्कमा
ऊ एक्लैले चलाएको अघोषित राजतन्त्र
र त्यो पुरानो बरको रूख ढल्नु
सञ्जोग थिएन
सडकका भित्ताहरूमा वंशावली लेख्दालेख्दै
बिजुलीको मिटरबक्सहरूमा हुकुम कोर्दाकोर्दै
काउलुन पार्कको राजा मरेछ
धेरै प्रश्नहरूको जवाफ दिएर
काउलुन पार्कको राजा मरेछ ।

(प्रस्तुत कविता मूलबाटो डट्कमद्वारा आयोजित ‘मूलबाटो नाईट’ मा बाचन गरिएको कविता हो)

Hangyug Agyat – Mero Jokasta Ama Ko Samarthanma

हांगयुग अज्ञात – मेरो जोकास्टा आमाको समर्थनमा

महावाणी
ओ ! मेरो जोकास्टा आमा
अब म तिमीसित बिहे गर्छु,
र टाइरासीयस बूढोको छाला काढेर
एकजोर जुत्ता सिलाउँछु !
-श्री ५ हाङयुग अज्ञात

ओ ! मेरो जोकास्टा आमा
जसरी नपुंशक समयको विरूद्घमा
कुनै बेला
भर्जिन मेरीले येशु ख्रिष्ट जन्माइन्
तेसरी नै तिमीले जन्माइसकेकी छौ
बिना सम्भोग
बिना वीर्य
यौटा निख्खर र जब्बर मान्छे !
हो, आमा
त्यो धुर्मुस
त्यो घामट
त्यो अराजक
मै हुँ,
आमा मै हुँ त्यो आतङ्कवादी
जो महिनै नपुगी
तिम्रो पाठेघर च्यातेर
यो संसारमा निस्केको छ-
त्यो पापी मै हुँ आमा
जसले तिमीलाई कोखमै हुँदा पनि
लात्ती र मुट्कीले हान्यो
र आफ्नो शरीरभरि बाँध्यो आरडीएक्स
र तेसले खोजिरहेछ यतिबेला
कुनै बेनजीर भुट्टोको जुलुस
मेरो जोकास्टा आमा
त्यो आत्मघाती मै हुँ !
तिमीले जन्माइसकेकी छौ
बिना वीर्यवान पुरूष
यौटा यस्तो कुपुत्र
जसले सधैँ मार्छ इन्दिरा गान्धी
थुन्छ आङसाङ सुकी
डाम्छ इमा गोल्डमेन
र पढाउँछ धर्मका पाठहरू
कि तिमी मेरोलागि
मेरो करङबाट बनाइएकी
मेरो दासी हौ
म तिम्रो मालिक हुँ-
ओ जोकास्टा आमा
तिमीले छोरा जन्माइसक्यौ
र त
यौटा मालिक जन्माइसक्यौ
अब तिमीलाई उसले खुब लुट्नेछ,
तिम्रो कान टोक्नेछ
तिम्रो स्तन टोक्नेछ
तिम्रो फिला टोक्नेछ
तिम्रो मस्तिष्क टोक्नेछ
र भुक्नेछ सन्तुष्टिमा पागल कुकुर
तिमीले त्यो कुकुरमा
अनगिन्ती बिम्वहरू देख्ने छौ,

तर तुरून्त बिर्सिने छौ
हुँडार, ब्वाँसो र फ्याउराहरूको तस्बीर
तुरून्त बिर्सिने छौ सम्भोगको नयाँ परिभाषा
ओ मेरो जोकास्टा आमा
तिमीले त्यो भेँडा गोठालोको अनुहारमा पनि
मलाई देख्नेछौ र फत्फताउने छौ-
वास्तवमा
यौटा फटाहा प्लेबाइ,

डाँका
या अराजक गुण्डा जन्माउनु
र यौटा साँच्चैको गतिछाडा बन्नु
कत्ति गाह्रो हुन्छ ?
हो, मेरो आमा
मैले नै बाँधे
गान्धारीको आँखामा पट्टी
मैले नै तानेँ
द्रौपदीको पेटीकोट
मैले नै लिएँ
सीताको अग्नीपरिक्षा
मैले नै जलाएँ
सतीहरूको शरीर
ओ मेरो जोकास्टा आमा
तिमीले धेरै जन्मायौ
महामूर्ख पुरूषहरू
खोपडीहरूको दरबारमा बस्ने
इदिअमीन जन्मायौ
मृत्युभूमिमा रगतले नुहाउने
पोलपोट जन्मायौ
नश्लवादले बहुलाएर
यहूदीहरूको यमराज बन्ने
हिटलर जन्मायौ,

आमा
त्यो बुश
त्यो सद्घाम
त्यो लादेन
मै हुँ
जसलाई तिमीले जन्माइसेकी छौ
प्रतेक समयलाई गाली गर्दै
तिमीले संसारकै सप्पैभन्दा ठूलो हत्यारो
जन्माइसकेकी छौ
सप्पैभन्दा खतरनाक अपराधी
जन्माइसकेकी छौ
कि मैले तिम्रो स्तन काटेँ
र रगत बेचेँ व्यापारीहरूलाई
कि मैले तिम्रो काख मुतेँ
र निमन्त्रण गरेँ दलालहरूलाई,
ओ मेरो जोकास्टा आमा
मलाई भालाले घोंची-घोंची मार
या झुन्ड्याऊ सरेआम खरीको बोटमा
र झिङ्गालाई भन्किन देऊ
र गिद्घलाई कुर्न देऊ !
तर…तर
ओ मेरो जोकाष्टा आमा
एकचोटि, फगत एकचोटि
तिमीले तिमी आफै जन्मिदेऊ
माचिन्डे !
धेरै भो यो संसारमा
डाँगोहरूको हस्तमैथुन ।