Pramod Sarang – Manchhe Ra Nadi

प्र​मोद ​सारंग – मान्छे र​ न​दी (कविता)

टाढिएर​ आफैँदेखि
च​ट्टान र​ खोंचह​रूस​म्म​
डुब्दै र​ उत्रिदै ग​न्त​व्य​मा पुग्न
मान्छे न​दी भ​एको हुन्छ​ !

स​ङ्ग्ल्याएर​ फेरि
ध​मिला स​म्ब​न्ध​ह​रू
धोएर​ आँशु र​ हाँसोका दैनिकीह​रू
आशाका उही पारिला
र​, उज्याला दिन​ह​रू कुर्दै
घाम​का न्यानो स्प​र्श​ह​रूमा
मान्छे न​दी भ​एको हुन्छ​।

शाय​द,
म​हासाग​र​स​म्म​ पुग्नु छ​
मान्छे र​ न​दीलाई
गाउँदै -गाउँदै दिन​रात​
संघर्षका आफ्नै गीत​ह​रू !



(२०७१,पुष​)

Marcel Mansingh – Manav Upahar

शिर्षक :- मानव उपहार
कवि:- मार्सेल मानसिहं मुर्मु

अति नै विशुद्ध प्रकृतिको मानवको छ यो जीवन,
फरकपन्ता सबैमा रहे पनि सज्जिनु पर्छ यहाँ,
कतै खुसीको हाँसो आलाप व्यापत त कहीं दुखको विलाप,
यति भिन्न प्रकृतिले राज गर्छ, हुन्छ मानव जहाँ।

बीउ रोप्यो, त्यो हुर्कियो फक्रि सकेसी कसैले ग्वाम बनायो,
मेहनत गर्यो, त्यो बानी बसाल्यो कसैले त्यसलाई हसुर्यो,
उमार्ने म, त्यो हुने सब मध्येका कोहि, आफु गुम्यो,
स्विकारोतीमा रहेछ त्यो महान्ता बनाई सारा आफु अर्थपूर्ण।

जन्म दिनेले पाइला बडाउन सिकाउछ, बडने नि चक्रभागी,
अघि बढ्दा आफ्नो मात्र होइन सबको निम्ति हुनुपर्छ लागी,
जति लाग्यो, गर्यो, हिसाब नगरी रहुँ सन्तुष्ट केही नमाघी,
कारण आफु हिडेको पाइलाले गरोस सृष्टिकर्ताको प्रशंसा।

म हौउ त्यसैले एक असल अौजार मानवताको,
म बनु त्यसैले एक ज्योति बडारिएका निम्ति हसुर्ने,
म रहुँ त्यसैले एक उदाहरण रहि सकारात्मक सदा,
म गुम भई दिउ सकिने जति उहीँ ईश्वर एकको महिमा।

(मार्सेल मानसिहं मुर्मु
स्थायी ठेगाना- बिसनपुर,(साविकको- होक्लावारी-८), कानेपोखरी गा.पा.-१, मोरङ्ग
अस्थायी ठेगाना- गोर्खा
पेसा- शिक्षक)

Kedar Sunuwar Sangket – Arko Manav Ra Tyo Samaya

अर्को मानव र त्यो समय

म एउटा नक्सा बनाउन चाहन्छु
चौथो संसारको अन्तिम दिनमा

बेक्कार लाग्छन्
– सेटालाइट्का अप्रेटरहरु
– यो आकाश मेरो भनेर कुर्लनेहरु
– ती तिम्रा इच्छाहरू
– मेरोमात्र भन्ने ती औजारहरू
– यूद्धपोतका बन्दोबस्ती सामानहरु

यस्तो होस कि
नक्सा बालुवाको होस
जो हावाले मेटी दिन सकोस
यो जगत मान्छेकै हो
मान्छ्े जगतको भै सकेपछि
समुन्द्र त पानी हो
र त्यो पनि हाम्रै हो
सानै किनार किन नहाृेस
त्यो समान बाँडिनु पर्छ
जो सवै देशका सिमाना र्र्छोएर बग्नु पर्छ
सबैले नुनिलो पानी पिउनु पाउनु पर्छ ।

क्रोधका फूलहरु वशन्तमा फुल्न सक्दैनन
दानवहरू जन्मिएकाबेला
मानवहरु हेरेर बस्न पनि हुँदैन
तर यहाँ एउटा बृहत जालो छ
त्यो जालोको माकुरे खेलाडीहरु
हामी भन्दा अर्कै छन्
शत्तिमान छन्
तिनीहरु सकृय हुनुहुन्न
निस्कृय हुनुपर्द छ

परमाणु क्रोधको उल्का हो
बैज्ञानीकहरु तिमीलेनै यस्को रोकथाम आफैंल गर्नु पर्छ
अलिक दिन पछी माछाको नक्सा
केवल नक्सामा देखिने छ

अब पँन्छीहरुको गुञ्जन स्वर
गुगल्ले मात्र सुनाउने छ

हामी अव शोकको प्रतिक्षामा छौँ
रबरका तरुणीहरुको सम्भोग शिखरमा
अनित
मानिसको आयु
डाएपर जस्तो हुने छ

रगतका रंगहरु बदलीनेछन
आज मान्छे रातोमा बदल्दै छ
मानिस साँच्चै रातो हुने छ

विज्ञानले हामीलाई उडायो
अव खस्ने छौँ अन्त अन्त कतै

अनयासै सुँङ्छु
मेरो आफ्नो शरीरको गन्ध आफैले
मेरो जिउको बासना आमाको जस्तो मगमगाउछ
त्यो नो महिनाको वात्सल्यपलको उपज हो

म बुबाको मृत्यु पछीको अर्को एक रूप हुँँ
अर्थात मैले मूर्तरुपको निरन्तरता दिदैछु
मेरो अर्काे गन्ध
जहाँ बाबाको बिर्य गन्हाउन सक्छ ।

मेरा पुर्खा
म रगत भएर
अर्थात
म रगत सरेर बाँचिरहेछु

यो समय आंतङ्कित जस्तो लाग्छ हैन
यसको व्याख्याता हामीनै हौँ

सेतेले काले देख्ने वित्तिकै
भित्र–भित्रै
मेरो बाजेको दास हुन सम्झन्छ

कालेले सेतेलाई देख्ने वित्तिकै
मेरा बाजेलाइ दास बनाउने सम्झन्छ

हिउँ पग्लने छ
दूधको रँग कालो हुनेछ
मासुको स्वाद तितो र
पानी बाक्लो हुनेछ
किनकी हामीलाई विज्ञानले
तातो, कालो र रातो हुन सिकायो ।

अव नयाँ ग्रहहरुको चमकले चकित हुनु छ
जस्तै ग्रहन लागे झैँ
सूर्यको प्रकाश महिनौ कुर्नु पर्ने छ
सदाको झैँ अब
चन्द्रमा मुस्कुराउन्दैन प्रिय मित्र

कृत्रिम ज्योतिको शहरहरूमा
हामी हल्लिने छौँ

चट्टानहरू राता देख्नु हुनेछ
मैदानहरू तातिने छन्
आखिरी तपाईंलाई विनाशले शुभकामना दिनेछ

हामी कहिल्यै पूर्ण भएनौं
बरु पृथ्वी पूर्ण थियो र छ आज सम्म
जहाँ त्यहाँ सुरुवात थियो
र, अन्त्य पनि थियो

यो त,
यो जगत बन्नु भन्दा पहिले पनि
– यस्तै थियो
– प्रलय भयो
– फेरी बन्यो
– फेरी प्रलय हुन्छ
– फेरी बन्ने छ यस्तै जगत
– यस्तै जीवन
– क्रमशः प्रलय यस्तै जीवन
तेस्रो विश्व यूद्ध
हो तेस्रो विश्व यूद्ध
अर्थात रिमोटको यूद्ध
समाप्त
सङ्केत
हाल काबुल

Janak Karki – Manche Dekhi Sabadhaan

जनक कार्की – मान्छे देखी सावधान

विश्व मानचित्रमा
एउटा यस्तो देश छ।
जहाँ कुकुरहरु टोक्दैनन
अकारण

बरु मान्छेहरुले मान्छेलाई
टोलटोलमा चोकचोकमा
ल्याएर टोक्छन पालैपालो
अनि तमासा फैलाउछ्न
सारा जग लोकलोकमा

यो देखेर कुकुरहरु बेखुसी छन
भुक्दै छन मान्छेहरुको खिलाफमा
आज उनिहरुले
एउटा साइनबोर्ड लेखेर
झुण्डाएका छन
जसमा लेखिएको छ
“मान्छे देखी सावधान”

Baidyanath Upadhyaya – Thulo Manchhe

वैदयनाथ उपाध्याय – ठूलो मान्छे

ठूलो मान्छे बन्नु पर्छ भने
पहिले त तिमी मान्छे बन्नु पर्छ
मान्छे हुनु भनेको
आफैंप्रति इमान्दार बन्नु हो।

तिमी आफुप्रति इमान्दार छैनौ भने
तिमी जुनसुकै उच्च ओहोदामा रहे पनि
तिमीले जत्तिनै ठाट-बाट देखाए पनि
समाज जीवनमा
त्यस्को कुनै मोल छैन।
“अरूलाई तिमी भाषा-साहित्य संस्कृति
जोगाउनु पर्छ
हामीले आफ्नो भाषाको
कदर गर्नुपर्छ भन्छौ”
अँ, यीनै कुराहरू
आफ्नै छातीमा हात राखेर भन
तिमी आफैंले
भाषा साहित्य र संस्कृतिको
के कत्ति जगेडा गरेका छौ
तिमीले त आफ्नो दिनचर्यामा
नेपाली पत्र पत्रिकाहरूलाई पनि
सामिल गरेका छैनौ।
तिमीमा नेपाली हुनुको
कुनै गौरव छैन
अब तिमी केवल
भाषणबाजीमा मात्रै जीवित छौ
किनकी तिमीले भनेका कुरा
तिम्रो जीवनमा कहीं कतै
लागु हुँदैन भने
ठूलो मान्छे हुनु त टाढाको कुरो
असलमा
तिमी मान्छे पनि बन्न सकिरहेका छैनौ।

Mahesh Prasai – Manushya Ko Bighatan Mathi

महेश प्रसाईं – मनुष्यको विघटनमाथि

अकस्मात् एक दिन
एउटा प्रेतात्मा
मसानबाट
फुत्त बाहिर निस्कियो
र मानिसको भेषमा
देखा प¥यो,

सडकको
बीच चौराहमा,
उसलाई
पार्लियामेन्टमा जानु थियो,
हाउसमा प्रवेश गर्नु थियो,
त्यहाँ मानव सौन्दर्य गुमाएका
अनेकौं कुरूप मनुष्यहरूका
कृत्रिम हाउभाउ
र नक्कली तामझाममाथि
नोट अफ डिसेन्ट
लेख्नु थियो
लेख्ने निर्णयमा
पूर्ण प्रवेश गर्नु थियो,

उसको प्रवेश
उपस्थितिलाई
थरीथरीका
सुकिलामुकिला
दौराकमिज
इस्टकोट
सुरूवालहरूले कसरी लिने हुन,

अप्रत्याशित उत्पन्न
यो विरोध प्रस्तावमाथि
छलफल कसरी गरिनेछ
बेखबर थियो कार्यसूची,

तथापी ऊ
ती कुरूप
छद्मशील आकृतिहरूका
द्वैध चरित्रलाई उछिनेर
कुटिल राजनीतिका विरुद्ध
सङ्कल्प प्रस्ताव
दर्ता गर्ने टुङ्गोमा पुगेको थियो ।

– शुक्रबार, 2 श्रावण, 2071