दियेश रत्न शाक्य – कोरोना, अब तिमी भाग्नु पर्छ
देख्यौ कोरोना
अहिले हामी ‘ लकडाउन’ आन्दोलनमा छौं
घर बन्द/सहर बन्द/देश बन्द/विश्व बन्द
र मात्र एक सुत्रीय माग छ
कोरोना ,अब तिमी भाग्नु पर्छ
तिमी कहाँबाट आयौ
मलाई थाहा छैन
तर यो लोकमा बसेपछि
लोकतन्त्र कुल्चिन पाइन्न
र यो विश्वको हरेक कुनाबाट आएको
बुलन्द बिरोध तिमीले सुन्नु पर्छ
कोरोना, अब तिमी भाग्नु पर्छ
तिमी रहिरहेसम्म यो पृथ्वी उही रहने छैन
मान्छे मान्छे बीचको सम्बन्ध उही रहने छैन
मान्छे मान्छे बीचको बिश्वास उही रहने छैन
मान्छे मान्छे बीचको दूरी उही रहने छैन
प्रत्येकले आफ्नो नामको पछाडि
जात/थर जोडेर
आफ्नो संस्कृति अगाडि
भाषा /धर्म जोडेर
पहिचानको
पृथकताको
स्वर्णिम फूलबारी बनाएको यो समाज
पक्कै पनि उही रहने छैन
हुन सक्छ हस्तिनापुर टेकेकाहरू
भोलि चपरी मुनि पर्न सक्छन्
उच्चासनमा अभ्यस्त हुनेहरू
वास्तविक सतहमा भासिन सक्छन्
कोरोना ,जसै तिमी उभियौ
हामी सबैले हात स्वच्छ बनाउन सिक्यौं
नाक र मुख स्वच्छ बनाउन सिक्यौं
अब भन तिमी प्रस्थान गर्नको लागि
के अझै तिम्रा रिजर्वेसन बाँकी छन्?
के तिमी थप स्वच्छ हावा र स्वच्छ मन
भनिरहेका त छैनौ?
यसलाई यसरी बुझौं
कुनै सरकारको घोषणापत्रमा नभएको
कुनै श्वेत पत्रमा नदेखिएको
एउटा युगलाई चटक्कै अर्को युगसंग जोड्ने
सुपर ग्लु हामीसंग छैन
पृथकतालाई बैश्विक एकतासंग
राष्ट्रबादलाई बिश्वबादसंग
कस्सिने गरि जोड्ने डोरी हामीसंग छैन
ओहो हामी त मान्छे पो हौं त
प्राणीहरूमध्ये सर्वश्रेष्ठ
हामीबाट हजारौं आफन्तजन खोसेर
हामीलाई सामुहिक पक्षघातमा डुबाएर
हाँक दिने एउटा भाइरसको हर्कट
कदापि सह्य छैन
देख्यौ कोरोना
यो लकडाउन र सुनसान सडक
आँधी आउनु अघिको सन्नाटा हो
जहाँ बहनेवाला छ
हजारौं शोकको गीत
करोडौं भोकको आक्रोश
एउटै मिसन तिमीलाई
यो लोकबाट सदाको लागि हुत्याउन
कोरोना! ओ कोरोना!
बेलैमा यत्ति चेतना भया
अब तिमी चुपचाप भाग्नु पर्छ