Damodar Pudasainee – Kumsusan Ko Maun Awaj

दामोदर पुडासैनी किशोर – खुम्सुसाँगको मौन आवाज

(खुम्सुसाँग भवनभित्र राखिएका उत्तर कोरियाली नेताद्वय किम इल सुँग र किम जोँग इलको शब हेरेपछि रचिएको कविता )

महान प्रलय
एकाएक टक्क रोकिएको छ
बेगवान समय
लडेको छ अन्तिम किनारा भन्दा अझै पर

एउटा बेगवान घोडा
दौडदा दौडँदै
लडेको छ चीर निन्द्रामा

हिजोसम्म
जो जोसँग क्षेमकुशल सोध्दै हिँड्दथ्यो उ
आज उनीहरू सबै आइरहेछन् उसको वरिपरी
एकोहोरो हेरिरहन्छ सबैलाई
तर केही देख्न सकेकोछैन कसैलाई उसले

कयौ ज्वालामुखीहरू
कर्याम कर्याम चपाएको हो उसले
कयौं भिषण कम्पहरूलाई
थला बसालेको हो
उठनै नसक्नेगरि
कयौँ जाग्रत पहाडहरूसँग
जुँध्यो आगो निल्दानिल्दै
यो बेला
आगोको डंगुर पेटमा हुलेर
निसँकोच आकाश हेरिरहेछ

पाइला पाइलामा प्रहार ब्यहोरेर
प्रहारको बिरूध्द कडा प्रहार नगरेको भए
कहाँ यति उचाईमा पुग्थ्यो र जीबन

जीवनभरिका महान बिरासत
उसले सुम्पियो अरूलाई
कहाँ झुक्याएर हिँडनसक्छौ र तिमी टाढा?
आफन्तहरू हत्केलामा उसलाई राखेर
उसँगको अतित सँझिरहेछन्

शब ब्युँझाउँने कि जीवन ?
मृत्यु सँझने कि जन्म?
पुरानै बाटो हिँडिरहने कि नयाँ ?
प्रश्नहरू फक्रिरहेछन्
हरेक बर्ष फक्रने खुर्पानीका फूलहरूजस्तै

एउटा लामो लामले सलाम ठोकिरहेछ निरन्तर
उसले भने हरेक सलामको अर्थ खोज्न छोडेर
टुलुटुलु नियालिरहेछ

जीवनको महान योध्दा
हुन सक्तैन सबैको प्यारो
भिषण हुरीलाई
हत्केलाका रेखाहरूमा हिँडाउँन सक्ने मान्छे
अथवा
कयौ हिँस्रक दाह्राबाट जोगिन सक्नेलेनै
फिँजाउँनसक्छ बिजयको झण्डा
शिखरमा सुतिरहेको सिँहको
एकदिशामा बिजयको
र ,अर्को दिशामा प्रहारको
जुलुस आयोजन भइरहेछ

उस्तै उस्तै हो
बिबादमुक्त जीवन
र, लमतन्न सुतिरहेको पत्थर

कसैको प्यारो होस् या नहोस्
मृत्युको पर्खाल नाघ्नसक्तैन कसैलेपनि
मृत्युसँग अँगालो हालेर
उ एउटा महानसत्यको प्रदर्शनी गरिरहेछ

जीवनभर अरूलाई बचाउँन खोज्नेलाई
मृत्युपछि बचाउँन खोजिरहेछन् अरू मान्छेहरू
जीवनपछिको बचाई भ्रम हो या सत्य
मौन प्रश्नहरूका लहरहरूमा
ब्यूझिरहेछ उ ,एउटा ज्यूँदो शबको आधार टेकेर

जीवनभर महान सँघर्षमा होमिनेहरूले
मृत्युपछिपनि बिश्राम पाउँनेछैनन्
लमतन्न सुतिरहेको लासको आदेश कुरिरहेछन्
दौडिन ठिक्कपरिहेका
युध्दकालिन घोडाहरू

मृत्युको बिजयध्वजालाई
आफ्नै कब्जामा राख्न खोज्दैछन्
केही मान्छेहरू

आमनेसामने बसेका मृत्यु र जीवन
एकआपसमा गिज्याउँदैछन् दुबैलाई

-२०७६ बैशाख २गते सोमबार
(२०१९ अप्रिल १५,कोरियाली नेता किम इल सुँगको १०८ औं जन्मदिन )
खुम्सुसाँग सन प्यालेस ,प्योँगयाँग ,उत्तरकोरिया

Damodar Pudasainee – Gham Nirman Ko Bela

दामोदर पुडासैनी किशोर – घाम निर्माणको बेला

युध्दनै युध्द जितेर
यहाँसम्म आइपुगेको छु
गाँस ,बास र कपासमा नयाँ रँग भर्न
निरन्तर नयाँ युध्द गरिरहेछु

युध्द मैदानमा पनि
प्रेम त पलाउँछ ,पलाईरहन्छ
युध्द मैदानमा उभिएको सिपाही
प्रेम त सँझन्छ,सँझिरहन्छ
त्यही प्रेम बचाउँन पनि
उ युध्दमा होमिइरहन्छ

यतिखेर तिमीसँगको प्रेमभन्दा
जीवनमा नयाँ रँग भर्ने
युध्द प्यारो छ मलाई

कसैले बम बर्षाएको घाउ
अझै आलै छ मेरो छातिमा
कोठामा थुनेर आगो लगाएपछि
निस्किएको नानीहरूको क्रन्दन
गुन्जिरहेछ अझै मेरो कानमा
बिछिप्त छन् आमाहरू
बलात्कारको घाउ
र नानी खोसिएका रित्ता काखहरू
सुमसम्याउँदै

बन्दुकका नाल र बारूदका थुप्राहरूमाथि उभिएर
कसरी गरिरहन सक्तछु र म तिमीलाई चुम्बन
तिम्रा पनि त अझै बाँकि छन्
कयौ युध्दका अध्यायहरू
तिमीलाई म
बायुझैँ बहिरहने भावनाको प्रेमभन्दा
जीवनका असँख्य युध्दहरू छिचोल्न आग्रह गर्छु

बाघका क्रुर पन्जाहरूले
झम्टियो ,टोक्यो र चिथर्यो
म जस्तो मायालु खरायोको शरीरमाथि
म घाइते र बिछिप्त बनेपछि
ढोका थुनेर बसिरहेछ छ उ
र ढोका थुन्न चिच्याइरहेछ अरूलाईपनि

कसैले ढोका थुनेर
थुनिदैन मेरो घाम
अरूले वरिपरि पर्खाल ठड्याएपनि
मलाई चाहिने घाम
निर्माण गरिरहेछु म आफैंले

यतिखेर
युध्दको नयाँ पहाडमा उभिएर
तिम्रो प्रेमको प्रस्ताव सोचिरहेछु

साँच्चै प्रेम र युध्दमा
कसको पल्ला भारि हुन्छ?
सोच,सोच्नुपर्छ तिमीले पनि

२०७५ चैत्र ३० गते शनिबार(२०१९ अप्रिल १३)
प्योँगयाँग,उत्तरकोरिया

Damodar Pudasainee – Byunhjhaundai Butwal Lai

दामोदर पुडासैनी किशोर – ब्युँझाउँदै बुटबललाई

बिधान बनाउँनेहरू निदाइरहेछन्
बिधान ब्युँझाउनेहरू पनि निदाइरहेछन्
उज्यालो खोज्नेहरू बजाउँदैछन् निद्राको बाँसुरी
देशको साँचो खोल्नेहरूपनि निदाइरहेछन्
कालो बर्को ओडेर
घुम्लुँग सुतिरहन मिल्दैन शहरले
शहर त ब्युँझिरहनुपर्छ
जँगलमा फिरफिराइरहेका पातहरूझैँ
शहर ब्युँझ्योभने
चल्छ जुनसुकै बेला
तिम्रो र मेरो आवतजावत
भइरहन्छ सधैंभरि
तिम्रो र मेरो सल्लाहसाउति
जागा भइरहन्छ निरन्तर
मान्छे मान्छेको अनुराग
शहरको बगैँचामा
जाँगरका चराहरू उँडाइरहनुपर्छ
अथवा,दौडाइरहनुपर्छ
संसार नाप्नसक्ने तिम्रो र मेरो बेगलाई
निदाइरहने शहरमा
सजिन सक्दैन कदापि
मान्छेको मायाको बिरौटो
भालेबास्नु पूर्वनै
ब्युँझायौं हामीले बुटबललाई
बिहानहुनु अघिनै
झर्नाका रँग उमार्दैछौ
हामीले बुटबलमा
बुटबलहरू
निद्राको चक्करमा
अल्झिनै मिल्दैन
जिजीबिषाका बेगहरूमा
बुटबललाई ब्युँझाएर
मान्छे खोज्ने क्रम जारी छ
रामापिथेकसहरूको पनि
भेला हुँदैछ सबेरैदेखि
गोयबल्सहरू
खुरूखुरू बसाइ सर्न बाध्यछन्
रात धुजाधुजा पारेर
बिहान नचाइरहने बुटबलबाट
आफैं ब्युँझदैन
मुसारेर ब्युँझाउँनुपर्छ शहर र बस्ती
म ब्युँझेर पूर्बको पर्दा खोलेछि
भर्खर ब्युँझेको बालकले
अनुहारबाट फूलको ज्योति उमारेझै
तरबर्र उम्रेका टुसाहरू जस्तै
मन मनबाट पिपिरा उठाउँन तम्सिरहेछ ,बुटबल
निरन्तर जागा राख्न
काउकुति लगाइरेछु
बुटबललाई
तिमी आउँने दिशा र समय
खोतल्दैछु
बुटबलबाट
अबदेखि
कहिल्यै ननिदाउँने बुटबलको
लेखिरहेछु
प्रेमिल कहानी
बुटबलसामु
एकाएक पुडका बन्दैछन्
उचाइहरू

-बुटबल,होटल मिरर इन,बसपार्क
२०७५ मँसिर १७

Damodar Pudasainee Kishor – Pokhara Ma Bijuli Nachamkeko Bihan

दामोदर पुडासैनी किशोर – पोखरामा बिजुली नचम्केको बिहान

यो रात
बिजुली चम्केन पोखरामा
घाम खोज्न गएको बिहान
आइपुगेको छैन
अहिलेसम्म
माछापुच्छ्रे
किन यत्ति उदास उभिएको छ
सेतो परिधाननै फ्याँकेर
सन्तोषमा सुत्न सकेन रात
हुरी बनेर बत्तिरह्यो श्वासको गति
दिनमा पनि
घामनै बसाईँ सर्ला जस्तो छ
कतै टाढा
अथवा डुब्छकि कसो फेवातालभित्र
रातको मातले लडखडाउँदै
कसैको प्रतिक्षामा
मौन उँघिरहेछ लालुपाते
यो फूलबुट्टे पोखरामा
ढकमक्क फूलहरू छन्
ताल ,पहाड र हिमालमा
तर ,रातभर वास चलेन
सुस्केरा नसाटिएकोएको बरबादमा

पोखरा ग्रयाण्डी होटल,पार्दी ,पोखरा
२०७५ मंसिर १४

Damodar Pudasainee – Nirbastra Ghaam Ra Lolayeko Sanjh

दामोदर पुडासैनी किशोर – निर्बस्त्र घाम र लोलाएको साँझ

निर्बस्त्र उठनु
निर्बस्त्र सुत्नु
र ,निर्बस्त्रनै गरिरहनु यात्रा
तृप्तिको असीम समुद्र हो रहेछ
मान्छेले, फेर्न सक्तैन आफ्नो अनुहार
फेरिएका बस्त्रका रूप रँगको
तस्बिर खिचाएर
अथवा, उभिएर शिशा अघिल्तिर
आफैं बदलिएको भ्रममा पर्छ
बस्त्र फेरिनु
बिचार फेरिनु हो
आचार फेरिनु हो
घरिघरिका
अस्थिर आनिबानि छोप्न
मान्छेले लिइरहन्छ बस्त्रको सहारा
तिमी जन्मजात नाँगो रूपसँग सशँकित छ्यौ
र त, शंका उपशँका छोप्न
फेरिरहन्छ्यौ नानाभाँतिका बस्त्र
मैले त माया गर्नु छ सबैलाई
खेलाउँनु छ न्यानु काखमा सबैलाई
माया गर्नेले सँकोच मान्दैन नाँगिन पनि
सँसारभरका मेरा मायालुहरू
अघाएका छैनन्
मेरो नाँगो रूप तापेर
मान्छे,
बस्त्रमा बेरिएपछि
ताप पाइन्छ भन्ने ठान्छ
बास्तविक तातो त नाँगोमै छ
नाँगो हिमाल
नाँगो खोला
नाँगा पहाडहरूसँग पो छ त
मसँग जस्तै असिम ताप
साँच्चै न्यानो बाँडने हो भने
सहाराको जरूरत छैन
रँगिबिरँगी परिधानहरूको
मलाई म जस्तै तिमीपनि
नाँगै हिँडिरहेको हेर्न मन छ
सत्य छोप्न
घरिघरि बस्त्र,अलँकार र शृँगार फेरिरहेको
सुहाउँदैन कसैलाई पनि
मैले त साहस गरेको छु
जन्मेदेखि जीवनभर नाँगै नापिरहन सारा सँसार
किन तिमी मलाई ढाँटन खोजिरहेछ्यौ
क्षण क्षणमा बदिएका बस्त्रका रूपहरूमा लोभिएर
मलाई म जस्तै तिमी पनि
नाँगै उभिएकै मन पर्छ
मान्छे मनमनै
नाँगो रूपको आराधना गर्छ
तर,बखान गर्छ झुठा बस्त्रहरूको
नाँगिन साहस गर्नहरू सामु
लुक्न सक्तैन कोहिपनि
बस्त्रका जालझेली बादलहरूमा

२०७५ मँसिर २१
तौलिहवा,कपिलबस्तु

Damodar Pudasainee – Jeevan Ko Naveen Pradesh

दामोदर पुडासैनी किशोर – जीवनको नवीन प्रदेश

अहिलेसम्म
मलाई कसैले पर्खेको छैन
म अनवरत नपर्खनेहरू भेट्न
बेग मारिरहेछु
समय आउँछ, जान्छ
मान्छेहरू भेटिन्छन् ,छुट्छन्
म भने भेटेको मान्छे र भेटेको समयलाई
सधैं आफ्नै मुठ्ठीमा अँठ्याउँन खोज्छु
हिउँमा लेखिएका अक्षरहरू जस्तो
क्रमश: बिलाउँदारहेछन् ती दुबै मेरो स्पर्शबाट
नवीन रँग र तरँगका आशाका त्यान्द्राहरू चाहार्दै
सँसारको सुरूँग खोतलिरहेछु
रँग र तरँगको खोजीमा
कसले छोडेको छ कसैलाई
एउटा जाज्वल्यमान सूर्य
उज्यालोको खोजीमा
दौडिरहेछ डाँडाकाँडा
कहाँ गएहोलान् उकालो चढेका घोडचडीहरू
कता पुगेहोलान् मायालु गीतका गिताँगेहरू
के पो गर्दैहोलान् युध्दमा जीतेका सिपाहीहरू
के पिउँदैहोलान् कुर्सी छोडेका बादशाह र उनका आफन्त
के सोच्दैहोलान् जमिन बेचेका कृषकहरू
म भने
घामका किरणसँगै हिँडिरहेको मन
र ,खोलाका छालहरूसँगै नाचिरहेका आकारहरूमा
नयाँ सुस्केरा खोजिरहेछु
आफ्नै पँखेटा
किन टाढिँदैछ
आफैँबाट ?
बिश्वासको अग्लो धरहरा
किन ढाल्दैछ
मनको क्रुर भुइँचालोले ?
किन धमिलो धमिलो लाग्दैछन्
ज्योतिका कलिला रेशाहरू?
तुसारोको रापमा
बैंसका जरा खोज्ने अभियान जारी छ
जानेहरू कसैले पनि
एकपटक फर्केर हेर्न सकेका छैनन्
मेरो निर्दोष र दिब्य अनुहारमा
प्रत्येक क्षण
अनौठो बनेर उभिँदैछ सँसार
सँसारलाई निचोरेर
नयाँ सँसार बनाउँन
भर्खरै जग हाल्दैछु म ,नयाँ ठाउँमा
केही मान्छेहरू
घामलाई बन्धक बनाउँने
सुरसारमा छन्
घाम पगालेर प्युँनेहरूलेनै
जित्नेछन् अबश्य एकदिन
यो सँसारलाई
अँध्यारो होस् या उज्यालो
रोग ,भोक र शोक
सबै निस्तेज हुनेछन्
अबका क्षणमा
ईश्वरले होइन
पानीले शासन गर्नेछ
अबको सँसारमा
आगोका फिलिँगाहरूबाट
हामफालेर
बादल बर्षन खोज्दैछ
हतारमा जिन्दगी
प्रेमको मेला चलिरहेछ
हिमालका चुचुराहरूमा
चढने सामर्थ्य हुनेहरूलाई
चुल्हेनिम्तो छ यो शिशिरमा

-२०७५ पुस १९ गते बिहीबार
भृकुटी होटल ,गोदाबरी ,ललितपुर

Damodar Pudasainee – Jerusalem Ko Batas

दामोदर पुडासैनी किशोर – जेरूसलेमको बतास

युकलिप्टस र बकैनाको
सल्लाह हुँदैछ शहरमा
मान्छेहरू
सल्लाह भन्दा धेरै
ब्यस्त छन् आकार निर्माणमा

सपनाहरू हिँडिरहेछन्

हिडिरहेका सपनाहरूले
जन्माउँदैछन् नयाँ सपनाहरू

जेरूसलेमकै डाँडामा
भेडा चराइरहेका भेटिए क्राइस्ट
उनका हात खुट्टाहरूमा
किला ठोकेर
क्रसमा टाँग्ने योजना बुन्दैथिए
एकहुल मान्छेहरू अलिपरतिर

ओलिभ माउन्टेनका ढुँगाहरूमा
केही रूखहरू उमार्न
धुलौटे कोर्दै भेटिए मोहम्मद

जेरूसलेमकै पहाडहरूमा
ढुँगा खोपेर मोति निकाल्दैथिए यहुदीहरू
उनीहरूकै हत्केलाका रेखाहरू हेरेर
भबिष्य बताउँदै गरेका भेटिए हिन्दुहरू

शिलालेखका पुराना मन्त्रहरू भत्काउँदै
मान्छे शीर्षकको नयाँ सूत्र लेख्दैछन्
मृत सागरबाट ब्युँझेका मान्छेहरू

धेरै लेखे खबरकागजहरूले
हिन्दुका कुरा
ईशाईका कुरा
इस्लामका कुरा
र यहुदीका कुरा
अचेल ती सबै कुरा छोडेर
प्रकाशित गर्दैछन्
कार्टुन चित्रमा मान्छेको बहुरूप

शान्तिकोलागि
पहाडमा,मस्जिदमा र गिर्जाघरमा
ध्यानमग्न छ जेरूसलेम
उता बारूद,गोली र रसायनको
बढदोछ ब्यापार
गोलेनहाइट र गाजापट्टीमा

आत्तुर छ जीवन शान्तिकोलागि
आत्तुर छ जीवन युध्दकोलागि

जीवनका नवीन बृक्षहरू
फरक रँगमा टुसाउँदैछन्
मृत सागर र मरूभूमिका कान्लाहरूमा

भोको कुकुरले आलो मासु भेटेझैँ
मृत्यु फन्फनी घुमिरहेछ यतातिर पनि
कहिले डाँडा,कहिले खोला र कहिले खोचतिर

जीवनबादीले
कहिल्यै परबाह गर्नु हुँदैन मृत्युको

हारेको मृत्यु
लजाई लजाई अनुहार देखाउँन खोज्छ
कहिले एक्लै
र ,कहिले समुहमा

जीवनको भब्य कन्सर्ट
बेरोकटोक
भब्य चल्छ ,चलिरहन्छ -शहरमा

-२०७५ फागुन २७ गते सोमबार(११ मार्च २०१९)
प्रिमा किँग्स होटल ,जेरूसलेम ,इजरायल

Damodar Pudasainee – Jordan

दामोदर पुडासैनी किशोर – जोर्डन

एउटा अँध्यारो डोम
सल्बलाउँदैछ छानामा
काकाकुल धरती
परेड खेल्दैछ हावासँग

च्यानलका बादल
नेटवर्कको खोजीमा छन्
मान्छेका अनुहार खोज्दैछ
आँधीबेहरीको एउटा जुलुस

डेट्सका रूखहरूले
काखमा सुकाउँदैछन्
आकाशलाई
आकाशमा
सुरूँग खन्ने योजना बुन्दैछन्
चराबाट बिच्केका मान्छेहरू

सँझना तिम्रो पनि छ
सँझना उनीहरूको पनि छ
सँझनानै सँझनाका कोसेली बेचेर
चित्र ब्यूँताउँदैछन
एक हुल कर्याँगकुरँग

लामको निर्माण
लामको विनिर्माण
लामनै लामका रेखाहरूमा
स्पन्दन लेखिंदैछ
तुवालोहरूमा

एउटा विशाल समुद्रलाई
भर्खरै पिएर रित्याइएको छ
समुद्रनै तीर्खाएर
अजिँगर नाच देखाइरहेछ

मौसम बिज्ञान बिभागको
भविष्यबाणी छ
आज दिनभर बदली हुनेछ
एउटी उदास प्रेमिका
मरूभूमिमा गुलाफ रोप्न थालेकी छ

मान्छेको चिच्याहट
छुरो बालुवा बनेर ब्युँतेको छ

२०७५ चैत्र २ शनिबार
अम्मान ,जोर्डन

Damodar Pudasainee – Tel Aviv Ka Neela Sanjh

दामोदर पुडासैनी किशोर – तेल अभिभका नीला साँझ

मान्छेहरू
सहर छाम्दा छाम्दै
पुग्छन् समुद्रमा
र,छालहरूसँग जिस्कँदा जिस्कँदै
पस्छन् सहरमा

हिजोआज किन हो किन
सहरले समुद्रमा र समुद्रले सहरमा
रँग बदल्ने सल्लाह चलिरहेछ

मान्छेका मनमा
बेलगाम चलिरहेछ आँधिबेहरी
बेलगाम चलिरहेछन् उकुसमुकुस छालहरू
बेलगामनै फैलिरहेछन् अतृप्त ईच्छाहरू
बेलगाम दौडिरहेको मान्छेको मन
समुद्र किनारमा ठिँग उभिन्छ
समुद्रझैँ नीलो बनेर फैलन खोज्छ

ढिक्का बनेर उभिनु भन्दा
थोपा बनेर फैलिनुमा छ सँसारको सार
बाफिलो मन्त्र सुनाइरहेछन्
भर्खर समुद्रबाट सहर छिरेका चराहरूले

बालुवा मनहरू
क्रमश: आकार लिन्छन्
र ज्योतिस्तम्भ बनेर उभिन्छन्
वल्लो चोक र पल्लो गल्लिहरूमा

फूलहरू
फूरफूर गरेर फूलाइरहन्छन् माछेको मनलाई
कयौँ सपनाहरू पुस्तकमा लेखेर
पसलमा सजाइएको बेला
नलेखिएका पुस्तकहरू
उकुसमुकुस उफ्रिरहेछन् छालहरूमा
आरम्भ गर्नेहरूलाई आमन्त्रण गीत सुनाउँदै
क्षितिजदेखि क्षितिजसम्म
समयसँगै दौडिरहेछ एक अँजुली बतास

उस्तै उस्तै रहेछन्
मन ,समुद्र र आकास
नीलो बनेर ब्युँझन्छन्
सेतो ,पहेँलो ,रातो र कालोको स्वाद चाख्छन्
फेरी नीलै बनेर फैलन्छन् किनारका किल्लाहरूमा

सँसारको सबै थकाई मेटाउँन
र,संसारको सबैभन्दा मीठो
नीलो स्वादमा हराउँन
घाम पनि हरेक साँझ पौडन पस्छ
यतै कतैको समुद्रमा

यही सहर र समुद्रको किनारमा
भर्खर ब्युँझेको छ एउटा मान्छे
समुद्रजस्तै एउटै नीलो रँगमा
बचाउँन सक्नुपर्छ उसलाई

नीलो साँझमा
छालसँगै दौडिरहेको बेला
खोजेँ मैले पनि
तिम्रो नीलो मन
र ,तिम्रो नीलो अनुहार

यतिखेर
मेरो मायाको रँगपनि
ब्युँझेको छ नीलो बनेर

२०७५ चैत्र १ गते (२०१९ मार्च १५)शुक्रबार
तेल अभिभ,इजरायल