Bibash Bipra – Ganit Man Ani Tathya

बिबश बिप्र – गणित, मन अनि तथ्य

संघर्षको लालकिल्ला भत्किएर
छरिएका
बन्दुकका नाल र कुन्दाहरु
स्यालको भाका कुर्लिएर
अन्धकारको खेति गर्छन l
**
”मानिसका आँखाहरु बल्न सक्दैनन्”
एक स्वयंसिद्ध तथ्य

हराएको सपनाको खोजीमा
एक बिपना-
खुकुरीको दापभित्र लुकेको
उस्तै एक सपनाको स्मरण गर्छ
**
”स्मरण मिठो हुन्छ”
स्वयं एक तथ्य l

गर्नेछ-
एउटा रहरले पनि त्यस्तै परिक्षण
के थाहा ??
खराब परिक्षणको असल नतिजा पो आउछ कि !?
वा-
”भाइस भर्सा”
**
भन्नुस-
एक पूर्ण भबिष्य

प्रसङ्गबस-
असान्दर्भिक सन्दर्भहरु-
”असमय र उसैको क्रियाशीलताको हकमा”
**
जस्तो
मान्छेको शत्रु मान्छे

मान्छे मित्र मान्छेको
फेरी
कागको एक सन्तान
कि
कोइलीको एक अण्डा
अझै
माछा माछाको आहारा
वा
गोहीको रुन्चे अनुहार l

अनायासै-
जन्म यस्तै हुन्छ भन्छु म
कसैलाई प्रश्न पनि गर्दिन l
**
कारण-
सबको एक उत्तर -निर्बिकल्प-
जो-प्रकृतिको नियम …..

– आबुधाबी