भूपिन ब्याकुल – नींद
सुत्ने बेलामा क्षितिजमा
एउटा सग्लो जून देखेको हुँ
सपनाको ऐँठन बाट अत्तालिंदै
राति
सिर्फ
एकपटक
ब्यूँझिएको हुँ
र त्यो बेला देखेको हुँ आकाशमा
अनुहार मेटिएको आधा जून
तर अहले मध्याकाशमा
किन कतै पनि जून देख्दिनँ म् ?
बादल लागेको पनि छैन
जून डुब्ने समय भएको पनि हैन
र आकाशमा जून नहुनु
मेरो कुनै भ्रम पनि हैन !
के एकै रातमा पनि
फरकफरक अनुहारका जूनहरु उदाउँछन् ?
त्यो नुतन र चुपचाप रातमा
त्यो फरक र सुनसान रातमा
म आफ्नै जिज्ञासाको जवाफ खोजिरहेको थिएँ
आँखा मिच्दै र आङ तन्काउदै घडी हेरें
घडीभित्र भूमिगत बसिरहेको समयले
मलाई मिहीन आवाजमा भन्यो-
कति लामो निंद सुतेको तिमी ?
थाह छ ?
तिमि पुर्णिमाको मध्यरात सुतेका थियौ
र आज
औंसीको रातमा ब्युँझिएका छौ !