भूपिन ब्याकुल – घामजूनको माझमा
जसरि दुइ किनारहरुको बीचमा बगिरहेको एउटा नदी हुन्छ
जसरी काँडा र पातहरूको बीचमा एउटा सुन्दर फूल हुन्छ
एउटा प्रिय जीवन हुन्छ जन्म र मृत्युको बीचमा
जसरी घाम र जूनको बीचमा एउटा उज्यालो दिन हुन्छ !
घामजून माझ अटाएको एउटा सिंगो दिनभित्र
पहाडहरु ओर्लंदै गरेको कलिलो बिहान पनि हुन्छ
सुर्यमुखी फूलझैं घामलाई पचच्याइरहने मध्यान्ह पनि हुन्छ
र हुन्छ
प्रतिक्षामा बसिरहेको एउटा उदास साँझ पनि हुन्छ |
मात्र एकदिन सग्लै बाँच्न पनि त
स्वीकार्न जरूरी हुन्छ-
अल्लारे समयका नीलानीला हस्तक्षेपहरु
फरकफरक अनुभूतिका गहिरा रंगहरु
बिचारका कलामय मृत्युउत्सवहरु / नृत्यहरु / गीतहरु ……. !
एउटा अपरिच क्षणसंग अभ्यस्त हुँदा नहुँदै
एउटा बिरानो पललाई आत्मसातगर्दा नगर्दै
खोलाको पानीलाईएक पाइला कुल्चँदा नकुल्चँदै
उपस्थित भैसक्छ्न – समयका परिचयहीन टुक्राहरु
बगिरहने पानीका अविश्रान्त तरंगहरु / लहरहरु
अजिंगरझैं गुडुल्किएर
आलस्यको गीत गाउँदै सुतिरहने भए त अर्कै कुरा
पागलखानाले झैं
मनमस्तिष्क फुकालेर बर्बराउँदै बिताउने भए त अर्कै कुरा
भोग्नको लागि
घाम र जुनको बीचमा एउटा उज्यालो दिन पनि हुन्छ |
अँध्यारोलाई घृणा नगरीकन
उज्यालोलाई मन पराउने बानी बनाएको छु मैले
मृत्युलाई घृणा नगरिकन
जीवनलाई प्रेम गर्ने आदत बनाएको छु मैले
थाह छ जीवनसंग प्रेममय युद्ध लड्दालड्दै
जीवनलाई अँगालोको लहराले बेरेर हिंड्दाहिंड्दै
मुटु र मस्तिष्कका सम्पूर्ण कमजोर हतियारसहित
मृत्युसंग आत्मसमर्पण गर्नु छ
तर जान्दाजान्दै पनि यही सत्य
उज्यालैउज्यालो बगिरहेको जीवन नदीमा
अभावहरु / सपनाहरु / उदासिहरु / उत्सवहरु
समस्त समस्तसंग
पौडिनु छ / डुब्नु छ / उत्रनु छ
डुब्नु छ / उत्रनु छ र फेरी डुब्नु छ
र प्रेम गरेको उज्यालोलाई अन्तिमपटक आँखाले चुमेर
एउटा संघर्षको किम्बदन्ती छाड्दै अँध्यारोमा डुब्नु छ
डुब्नु छ !
घाम र जूनको बीचमा एउटा उज्यालो दिन पनि हुन्छ |