रवीन्द्र मिश्र – भूकम्प पछि
ईश्वर नै ईश्वरले घेरिएको आँगनमा
ईश्वर नै लडेपछि
म कसलाई पुकारूँ !
ईश्वर नै ईश्वरले भरिएको देशमा
ईश्वर नै ढलेपछि
म कसलाई गुहारूँ !
आज लाग्दैछ
ईश्वर पनि दुई थरीका छन् यहाँ
एउटा, मान्छेले बनाएको
आर्को, रहष्यमा लुकेको
मान्छेले बनाएका ईश्वर
मान्छेकै विम्व रहेछन्
ती टुट्छन्, फुट्छन्
ठडिन्छन्, ढल्छन्
मान्छेजस्तै कमजोर छन्
हेर न,
मछिन्द्रनाथ, काष्ठमण्डप, कालमोचन
ती कसरी असाहाय पछारिएका छन्!
रहष्यमा लुकेका ईश्वर चाहिँ
कहाँ छन्, कहाँ छन्
ती कहिले अनिकाल भएर उदाउँछन्
कहिले अनावृष्टि भएर अस्ताउँछन्
कहिले आँधी भएर छोप्दछन्
कहिले पहिरो भएर बग्दछन्
ती न मान्छेको प्रार्थना सुन्दछन्
ती न मान्छेको व्यथा बुझ्दछन्
‘हे राम, हे राम’को क्रन्दनमा पनि
ती रहष्यकै गर्भमा लुक्दछन्
आज मैले जसलाई पुकारेँ, ती आफैँ ढलेका छन्
आज मैले जसलाई गुहारेँ, ती मौन बसेका छन्
हे भक्तहरू हो,
भन्देउ न मलाई, साँच्चिकै ईश्वर कहाँ छन् !
– रवीन्द्र मिश्र, मध्यरात, १२ वैशाख २०७२