Bhoj Raj Neupane – Mrityu Sparsha

भोजराज न्यौपाने – मृत्यु स्पर्श
(असोज मधुपर्क, २०६८)

कस्तो होला
मृत्युले टेकेको आँगन ?
भर्खरै पोतिएको
उजाड तुलसीको मोठ
समुद्रजस्तै छचल्किएका परिवारका आँखा
शोकाकुल आफन्तजन,
तिल, जौ र कुश छरिएको पिँढी
छरपष्ट बाँसका टुक्रा
सेतो कपडा र अलिकति पिताम्बर
पुरानो गुन्द्री र मैलो विच्छयाउना
पानी खाने करुवा, बटुको र चम्चा
यही हो मृत्युले छाडेको निशानी ।
कसले देख्न सक्छ ?
यहीं कतै बसेको छ मृत्यु
जसले भरखरै कसैलाई कुल्चेको छ ।
फूलजस्तै हो मान्छेको जीवन
अरूको इच्छामा टिपिनु पर्ने
कहिल्यै अघाउन्जेल बाँच्न नपाइने ।
कस्तो अपि्रय हुन्छ मृत्यु
र, कति भयावह हुन्छ मृत्युको खबर
त्यसैले,
मृत्युको खबरको कसैले कल्पनै नगरोस्
र, मृत्युले कसैको आँगन टेक्दै नटेकोस् ।