अन्जु सुबेदी – चेतनशील मान्छे
सदरमुकाम खलंगाको उकालो काट्दै गर्दा
पीपल चौपारीमा बाबा र म ।
“धेरै पढ्नुपर्छ छोरी,
मानिस मात्र त एक चेतनशील प्राणी हो।”
बेसीमा भर्खरै रोपिएका हरीया धानहरु
फाट भरि, डोकोबोकेर घास खोज्दै आमाहरु ।
एउटा चरो भुर्र उडेर आई हागामा बस्यो,
मेरा बालशुलभ जिज्ञासाले प्रश्न कस्यो ।
“बाबा त्यो चरो कि चरी ?”
“खै बा ,चरो नै भन्छौं
चरोको कुनै जात हुंदैन
चरोको कुनै भात हुंदैन
चराहरु पनि स्त्रिलिंग र पुलिंग हुन्छन
तर सबै चरा नै देखिन्छन ।”
“बाबा !
चरा होस् वा चरी उत्तिकै उड्छन् है आकासमा?”
“हो बाबा”
“चरी पनि उड्छे?
के उनीहरुको पनि आफ्नो सस्कार हुन्छ?
के उनीहरुको पनि आफ्नो समाज हुन्छ?”
“चराहरु स्वतन्त्र छन् छोरी”
“बुझें बाबा हामीहरु चेतनशील मान्छे!”