अबिर खालिङ्ग – विम्ब
अक्षरको कालोपन व्यवहारमा बोकेर
वेईमानीसँग हिंडिरहन्छ
विश्वास…
वेवास्तासंग विचारको बस्तीमा ।
मानिसहरू
शंकाको दीयो जलाएर
विश्वास खोजिरहन्छन सधैंको अँध्यारो मनहरुमा ।
चराले गाएपछि विद्रोहको गान
हावाले फेरेपछि अशान्तिको श्वास…
विश्वासका पातहरू झर्छन ।
तूहिसके विश्वासहरू…
सपनाहीन घरको ।
फूलको / नानीहरुका / चराको / खोलाको / आकाशको ।
विश्वासहीन बाटाहरू कति षडयन्त्र रच्छन ।
आकाशको नांगो आंङबाट
चुहिरहन्छ – घामको पीप /
श्रापित बाँच्नुको पसारोमय स्थितिमा दुर्गन्ध फैलिन्छ ।
हत्केलाले अनुहार छोपेर
कुदिरहेछन सबै
आफैलाई खोज्ने उपक्रममा ।
डढेलो लागेको छ विश्वासको जंगलमा
दमकल खोज्नेहरु पनि
त्यहीं बनवास पसेका छन ।