प्रमोद सारङ – विहानी र कविताहरू
जब चराहरूले गाउँछन्-
जागृतिका गीतहरू
गुन्ञाएर हार्दिकताको आलाप
प्रेम र उत्साहको सिन्दुरे विहानीमा
त्यसघडी तिमीले
आँगनमा फुलेको गोदाबरी, सयपत्री पनि नियाल्नू
र, सुन्नू एउटा तरङ्गीत धून –
कसरी बोल्छ विहानीले
शितको थोपा- थोपाबाट
सुन्दर कविताको ताजगी !
जस्तो कि एउटा उल्लासको
उदय भईरहेको हुन्छ
जीवनको स्नान गर्दै प्रातगानमा
जहाँ, स्नेह र प्रेमको ताजा सुगन्धले
समातिरहेका हुन्छन् –
जीवनका अनन्त खुशी र गहिराईहरू !
(२०५७, असोज )
Pramod Sarang – Naparkha
प्रमोद सारंग – नपर्ख
नपर्ख,नपर्ख !
कतिखेर फुत्किन सक्छ
हातबाट समय!
कति खेर उड्न सक्छ
तिमीभित्रको बोलिरहने चरा
अङालेर सारा खुशी
भेट जिन्दगीलाई !
हेर त!
हिजो मस्त फुलेको फूल
आज भूँइमा झरेको छ।
आज फुलेको फूल
भोलि कतिखेर झर्न सक्छ ?
कसलाई थाहा छ र?
कुन घुम्तीमा पुगेर
रोकिने हो हाँस्ने रहर !
नपर्ख ,नपर्ख !
(२०७७,जेठ)
Shyamal – Dushta Gatha
ध्यानमुद्रामा
जसले देख्न सक्छ
बलात्कारको सपना
र मन्दिरको देवतासामु उभिएर
जसले वर माग्न सक्छ
आफ्नो दीर्घायुको
जसलाई थाहा छ—कतै छैन ईश्वर
तर जसले किरिया खान्छ
ईश्वरका नाममा सयौं पटक
जसको महलको जगमा छन्
करौडौ मानिसका
कङक्रिट भइसकेका खप्परहरु
र जसले उभ्यायो बङ्गला
अरुका ससाना घरका भित्ताहरुबाट
झिकेर ईटहरु
सुन्नोस् दुष्टगाथा ।
यो सुन्दर पृथ्वी
र यसका जङ्गलका हरिया फाँटहरु
अग्ला—अग्ला हिउँका पहाड,
जोडले बन्ने नदीहरु
र खेतका पहेंलपुर फाँटहरु,
सबैको सौन्दर्य निचोरेर
जसले पिउन सक्छ
गर्मी याममा चिसो सर्बत
जसले जाडो छल्न सक्छ
ओढेर ज्याना कम्बलहरु
जसले सुटुक्क चोर्न सक्छ
अरुका आँखाका नानीहरु
र जसले गाउन सक्छ सन्ध्याकालमा भजन
जसले आफ्ना तीखा नङले झिकेर फाल्छ
आफ्नो पुरानो काँचुली
तपाईहरु पनि सुन्नोस्
दुष्टगाथा !
जहाँतहीं
गाउँ—सहर, जताततै
फैलिन्छ दुष्टगाथा हरेक प्रहर
मानिसको शरीरमा पढ्न सकिन्छ—दुष्टगाथा
वायुतरङ्गबाट सुन्न सकिन्छ—दुष्टगाथा ।
रेडियोलाई थाहा छ
यो कुन दुष्टको मौसम हो
क्यासेटमा सुरक्षित हजारौं दुष्टहरु
अर्को नयाँ दुष्टको प्रतिक्षामा छन्—दराजमा
र अर्को दुष्ट नयाँ काँचुलीमा प्रकट हुन्छ
अखबारको सम्पादक
अफिसको हाकिम
र अरु—अरु
लिपिबद्ध गर्दै छन् दुष्टगाथा
कृपया सुन्नोस्—दुष्टगाथा ।
यो बन्द गर्न
अघि बढेको जुलुस
तितरबितर भइसक्यो
र चालू छ, सुन्नोस्—दुष्टगाथा ।
Biplav Pratik – Saamanjasya
बिप्लव प्रतिक – सामञ्जस्य
तोते बोल्थेँ, दौडिँदै केराघारीलाई अँगाल्थेँ
भोगटेका रूख चढ्थेँ, खस्थेँ
र सूर्योदय हुनेबित्तिकै बाबा र आमाको वात्सल्यबाट
फुस्किएर आँगनमा र्झर्थें
घर फर्किंदै गरेका चराचुरुङ्गीका बथान
धानखेतमा बसेर हेर्दाहेर्दै सुर्य अस्त हुन्थ्यो ।
दौँतरीहरू हुन्थे, तिलौरी हुन्थ्यो
दसैँमा टीका अनि फेरि द्यौसी र झरिझरिे हुन्थ्यो
त्यो शैशव थियो ।
कुनै मोह थिएन, उमङ्गबाहेक
कुनै त्रास थिएन, परम्पराको बाहेक
हो, मोह थियो र त्रास पनि थियो
शैशव थियो त्यो ।
आज म हुर्किएको छु
मोह र त्रास पनि हुर्किएको छ
नयाँ रूप छ र त्यसको रङ्ग फैलिएको छ ।
अब म आरुबारीमा आरु चोर्न जान सक्तिनँ
अब म स्कुल जान र त्यहाँबाट बीचमै कक्षा छाडेर भाग्न सक्तिनँ
तर, खुसीहरू चोर्न सक्छु
आफ्नो महत्वाकाङ्क्षाको धनुषले
कसैको बलि दिन सक्छु
औँलाहरूको डरले म आफैँबाट
भाग्न सक्छु
म कर्तव्यबाट भाग्न सक्छु, म बाटो बिराउन सक्छु
हो, पक्का हो !
मोह पनि हुर्किएको छ
त्रास पनि हुर्किएको छ
केही बदलिएको छैन
केवल दृष्टि बदलिएको छ
परिभाषाहरू बदलिएका छन्
केवल यत्ति हो कि
कट्टु लगाएर सिँगान पुछ्दै
नाङ्गा खुट्टा, धुस्रैफुस्रै
कसैले देख्छ कि भनेर पल्याकपुलुक हेर्दै
अब म आरुबारीमा आरु चोर्न जान सक्तिनँ ।
घट्टेकुलो, २ नोभेम्बर १९९२
Shailendra Sakar – Jiwit Nayak Ko Aatma Katha
शैलेन्द्र साकार – जीवित नायकको आत्मकथा
(मधुपर्क २०६६ जेठ)
ऊ ठीक सात बजे उठ्छ
सात बजेर पाँच मिनेटमा रेष्टरुममा हुन्छ
त्यसपछि दाँत माझ्छ
बीस पटक माथिल्लो दाँत र
वीस पटक तल्लो दाँत बु्रसले माझ्छ, मुख धुन्छ
र सात बजेर बीस मिनेटमा ऊ बसभित्र हुन्छ ।
आठ बजे उसको काम सुरु हुन्छ
पाँच बजे अफिस छुटेर घर र्फकन्छ
केहीबेर गीत सुन्छ, खाना पकाउँछ
र टि.भि. हेर्दै खाना खान्छ
यसरी नै धेरै वर्ष विताएको छ उसले
ऊ मात्र एउटा पात्र हो उपन्यासको
उपन्यास लेखक हरेक पात्रलाई अन्त्यमा मृत्यु दिन्छ
यो सबैलाई थाहा छ ।
कुनै खराव लत छैन
कुन कारणले लेखकले उसलाई असमयमै मार्ने ?
तर लेखक भने चिन्तित छ- कसरी आफ्नो पात्रलाई मार्ने ?
पात्रलाई त्यो कुरा एकदिन थाहा हुन्छ
ऊ आफ्नो लेखकलाई भेटेर प्रश्न गर्न चाहन्छ
मैले किन असमयमै मर्ने ?
तर लेखक आफ्नो प्रत्येक उपन्यासमा
पात्रलाई मार्न बाध्य छ
उसले मर्नैपर्छ ।
तर कसरी ? क्यान्सरले एक्कासि ऊ मर्न सक्दैन
त के हृदयघात गराएर उसलाई मार्ने ?
लेखक एकदमै चिन्तित छ ।
पात्रलाई लेखकको गोप्य योजना थाहा हुन्छ
ऊ समालोचककहाँ पुग्छ र अनुरोध गर्छ
‘मलाई बचाउन लेखकलाई भन्दिनु पर्यो
समालोचक भन्छ-असम्भव, उसले तिमीलाई बचाउनै सक्दैन
उसका प्रत्येक नायकहरू यसरी नै असमयमै मर्छन् ।
नायक बाँच्ने कोसिस गरिरहन्छ
कोसिस नम्बर १- कुनै काम ठीक समयमा नगर्ने
नम्वर-२ जागिर छाड्ने र दिनभर कतै नजाने
नम्वर ३-कसैको फोन रिसिभ नगर्ने । त्यो लेखकको कल हुन सक्छ ।
अनि कहिल्यै नसोचेको एउटी साधारण ठिटीको ‘बार’ मा पसेर
ऊ दिनभर बिताउँछ
कारण यस्तो ठाउँ उसको नियन्ता
उसको जन्मदाता लेखकलाई थाहनै नहोस्
ऊ लेखकलाई फोन गर्छ
घण्टी बजिरहन्छ फोन उठ्दैन
अन्त्यमा बल्ल फोन उठ्छ
लेखक भन्छ- तिमीले छिट्टै मर्नुपर्छ
मेरा प्रत्येक पात्र यसरी नै छिट्टै मर्छन्
लेखक उपन्यासको अन्तिम परिच्छेद लेख्दैछ
केही घटित हुनु नै छ
लेखक पाण्डुलिपिको अन्तिम परिच्छेद लेख्दैछ
‘नायकले उपन्यासको लेखकलाई फोन गर्छ
र आफू मर्नुपर्ने उचित कारण माग्छ
तर लेखक भने जवाफ दिन चाहँदैन ।
विस्तारै पात्रलाई लाग्न थाल्छ
लेखकले उसलाई बिर्सिसक्यो
अनि ऊ आफ्नै पुरानो घडीको हिसाबमा
अनायास बस विसौनी पुग्छ
बस सात बजेर बाइस मिनेटमा हिँड्छ
उसलाई पक्का छ
त्यही बेला एउटा बालक साइकलमा दौडेर
बसतिर आउँदैछ
ऊ ठीक सात बजेर बीस मिनेटमा बस चढ्न सक्दैन
बस हिँड्छ
बालक बचाउन ऊ बसको अगाडि हुत्तिन्छ
उसको हात भाँचिन्छ
र टाउको गम्भीर चोट लाग्छ
ऊ बेहोस हुन्छ
अस्पतालमा ऊ ब्यूँझन्छ
डाक्टर उसलाई भनिरहेको हुन्छ-अहिले तिमी खतरामुक्त छौ
एक मिनेटले तिमी बाच्यौ
लेखक आफ्नो उपन्यासको अन्तिम वाक्य
यसरी लेख्न बाध्य भयो-
यसरी ऊ बाँच्यो
एउटा बालकलाई बचाएकोले ऊ बाँच्यो
प्रत्येक उपन्यासको मेरो नायकझैँ ऊ मरेन ।
Tirtha Raj Adhikari – Makaika Phool Haru
तीर्थराज अधिकारी – मकैका फूलहरु
(मधुपर्क २०६६ चैत)
केवल भोकलाई अघाउन
अनेकौं उपकरणहरू
परस्पर अनुवन्धित छन्
तल आगो छ
माथि ओदान छ
ओदानमाथि हाँडी छ
आगाको राँकोसँगै
हाँडीको तात्नेव|mम छ
तात्नुको सीमालाई पर्गेल्दै
पारखी हातहरू
हाँडीमा मकैका घान हाल्छन्
मकैका दानाहरू
पोलिदा पीडाले रन्थनिन्छन्
हाँडीको गर्भमा परस्पर जुध्छन्
कप्टेराले छेकिन्छन् / बिट नाघ्न सक्दैनन्
जीवन पोलिन्छन्
हार्नुको क्षणलाई स्वीकार्दै
बल थाक्छन् / तुजुकको विश्राममा
मकैका दानाहरू निर्जीव फूल बन्छन्
जीवनबिनाका यी फूल
आगो फुक्नेका
ओदान बसाल्नेका
हाँडी बसाल्नेका
कप्टेरा चलाउनेका
घान हाल्ने र निकाल्नेका
भोकका मीठा परिकार हुन्
जीवनको समाप्तिमै पनि
यी दाँतको घट्टमा अझै पिसिन्छन्
जिब्राको इसारामा अझै घिसिन्छन्
घाँटीको पहराबाट लड्दै
पेटको गुफामा पस्छन्
कणकणको अवशेष
पानीको घुट्काघुट्कामा बग्दै
सजीव मकैका दानाहरू
निर्जीव फूलहरूमा फवि|mएर
आफ्नै अस्तित्वबाट टाढा हुन्छन् ।
चसरस्वतीनगर, काठमाडौं-६
Krishna Kattel – Hasna Khoji Raheko Sapana
कृष्ण कट्टेल – हाँस्न खोजिरहेको सपना
सपना जस्तै हैन यो सपना
जून मेरो जीवनले समाएको सपना
मध्ये सुनसानको मध्ये निन्द्रामा
नचाइदिएजस्तो,हसाँइदिएजस्तो
चढाइदिएजस्तो,अनि लडाइदिएजस्तो ।
मेरो सपना त
मेरी आमाको दुःख
मेरा ुबाु को पट्पटि फुटेको पैताला
मैले देखेका कथित ठूलाहरु बिरुद्धको हो ।
आजसम्म कहिल्यै रमाउन नजानेको मेरो सपना
क्षणिक रमाउने रहरले
कदापी, सपनाजस्तै सपना बन्ने छैन ।
आजसम्मको भोगाइले
संगतले र संस्कारले
मलाइ उपहार दिएको सपनामा
कहिल्यै हाँस्ने लेखिएको छैन
कहिल्यै मज्जा लिने लेखिएको छैन
मेरो सपनाले पिठ्युमा नानी
र, टाउकोमा भारी बोकेकी आमा देखेको छ
रहरलाइ दायित्वसँग बन्धकी राखेर
सडकपेटीमा आल्चा बेच्दै गरेका बा देखेको छ ।
बाटो ढाक्ने गरेर कलिला नानीहरुले
भेडाच्याङ्ग्रा खेदेको देखेको छ
भोको पेट र बेसहारा जीवन लिएर
भुँइमा लम्पसार परेको दुँधे बालक देखेको छ
त्यसैले यी सब् देखेर हाँस्न सक्दैन मेरो सपना
जसरी हाँसिरहेका छन्
हाम्रा देशका कथित बाठाहरु ।
हो,एकदिन मेरो सपना हाँस्नेछ
जून दिन् मेरो सपनाभन्दा पहिले
सारा दुखहरु भुलेर
यी दीनदुखीहरु हाँस्नेछन्
त्यहि दिनको खोजीमा छ मेरो सपना ।
ओखलढुङ्गा कटुञ्जे ५
– बिहीबार, 26 भाद्र, 2071
Bidhya Prasad Ghimire – Bhari Bhari Prem Ghada
विद्याप्रसाद घिमिरे – भरि–भरि प्रेम–घडा
भरि–भरि प्रेम–घडा दिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !
सुन्दर मेरा हिजोहरू उसकै नाममा थिए
अधुरो यो बाँकी जीवन उसैलाई नै दिएँ
निष्ठूरी त्यो बैगुनीलाई नपाए के भो र
निर्मोहीलाई सर्वस्व सुम्पिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !
सके जति सहेँ पीडा धेरै बाँचिसकेँ
जति हाँस्नु जिन्दगीमा सबै हाँसिसकेँ
छाडिदेऊ भो साथ मेरा सारा खुसीहरू
सपना ठानी जिन्दगी यो जिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !
भरि–भरि प्रेम–घडा दिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !
Keshav Baniya – Anjan Dhungo Ra Manis
केशव बानिया – अन्जान ढुङ्गो र मानिस
हिंड्दा हिंड्दै बाटोमा,
ठेश लागे कतै,
दोष मैले,
ढुंगालाई नै दिन्छु,
लडेको त म हुँ नि,
किनकि |
तेत्रा बाटो हिंडी आएको,
म,
गलत त कतै हुनै सक्दिन,
बाटोका कुनै,
सानोतिनो,
जाबो ढुंगोलाई,
गन्दै अघि,
यदि म बढ्ने हो भने,
मेरो चेतना र ढुंगे युगमा,
मात्र चार कोषको दुरी भेटिनेछ,
मेरो एक कदममा,
संसारले चार काया फेर्न,
म दिनै सक्दिन |
दुनिया येस्तै छ,
ठुलो संग टक्कर खाएकी,
घोचो त होचोलाई नै मिल्ने भो,
अनि,
मैले त्यो निर्जीव पासाण लाई,
दोषी करार दिंदा,
वकालत पनि त गर्न सक्दैन,
आफ्नो बचाऊ को लागि,
त्यसैले,
म,
मस्त कराउछु,
त्यसलाई,
चुप्प सुन्दछ मेरो कुरा,
घोस्रो मुन्टो लगाएर,
अझ,
मेरो हट्यो भने,
उचालेरै पछार्छु,
आफ्नो बहादुरीको परिचय दिंदै,
नदुखे झैँ गरि,
च्याँ चुँ पनि गर्दैन,
त्यसैमा म,
गर्भवान्वित भै,
आफ्ना कदमका,
सम्भावना अझ बढे झैँ लाग्छ,
यसरि नै बाटोका,
ढुंगा उछिन्दै जान सके,
पक्कै पनि,
शिखरको यात्रा पूर्ण हुनेछ,
ऊपर हेरी,
यहि सोच्दै हिड्दै गर्दा,
अलि पर पुगेसी,
भंग हुन्छन,
मेरा प्रगतिका सपना र सपनाका लहरहरु,
ठोक्किएसी,
एउटा सजिव मान्छे संग,
अनि,
खुम्चिंदै आउछन,
बिस्तारै,
मेरा पाईलाका,
सम्भावना हरु पनि,
कराऊँ त,
शरीर भन्दा ठुलो,
छ ऊ,
त्यसैले,
भुईंमा,
हिलोमा लड्दै,
आफ्नो दोष कबूल गरि,
दुखे पनि,
च्याँ चुँ केहि नगरी,
घोस्रो मुन्टो लाएर,
फेरि प्रगतिको,
अर्को क्षण,
खोज्न,
अघि बढदछु |
Ahuti – Gahungoro Africa
आहुति – गहुँगोरो अफ्रिका
मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्छु
तिमी मेरो अपमान गर्र्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको ‘अछूत’ हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु !
त्रि्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या
जलाउने साहस गर
म त्रि्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
त्रि्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीका हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरा रक्त नलीमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म त्रि्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
त्रि्रो मनका मनोरञ्जित ग्रन्थीलाई च्यात
त्यहाँ मेरो सङ्गीतका मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ, वादी हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि त्रि्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म त्रि्रो गोरूसँगै माटोमा पौडिने मुसहर हली हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
त्रि्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
त्रि्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन – म र्सवत्र छु !
मलाई तिमी कसरी ‘अछूत’ बनाउन सक्छौ ‘छूत’ मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको ‘अछूत’’ हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !
Bibash Bipra – Jindagi Ta Kavya Po Bhai Sakechha
बिबश बिप्र – जिन्दगी त काब्य पो भैसकेछ
कहाँ ! अब जिन्दगी त काब्य पो भैसकेछ
पत्रेफूलको जस्तो खस्दैछन
जिन्दगीका पातहरु पनि एक-एक गरि
माटोमा-
पानीमा-
र
फुर्र उड़दाछन् हावामा
यसरि फैलदोछ जिन्दगीको चाहत
जसरि किरणहरु ।
जिन्दगी त काब्य पो भैसकेछ
मान्छेका हात-हातमा
झोला, सिरानी,डेस्क र टेबुलमा
पढ्दा पढ्दै छोडेका,
या
मयुरको प्वाखको साँध हालेर
बन्द गरिएका – पुस्तकहरुजस्तै ।
मान्छेहरु, कि अब आधा जिन्दगी बाचिसके l
अथवा- ब्लान्केट ओढेर यो जाडोमा – पढीरहेछन
जिन्दगीको किताब-चिया-कफीको सुरुपसंगै
वा प्रेमिकाको टाउको सुमसुम्याईसंगै
वा कान्तिपुर डायरीसंगै
वा आमाहरुले गाउने हरि भजनसंगै
आदि-
इत्यादि !
हो अबको आधा जिन्दगी – काब्य नै रहिरहनुपर्छ
जसरि – उपन्याशका पानाबाट
भुरुरु….
अक्षरउडेर मगज भित्र पस्छन
ठिक त्यसरी नै – मान्छेहरु बाच्ने साम्राज्यमा बास बस्नुपर्छ – उपन्याश, गीत, कथा, कविता र निबन्धका अक्षरहरुले ।
ता कि ? फुलले फुलको सुगन्ध पढ्न सकोस
काँढाले फुलको सुगन्ध बुझ्न सकोस
हो ! त्यो बुझाइमा मान्छेहरुले लिन सकुन
बाँकी आधा जिन्दगीको काब्य मन्त्र
अथवा – जीवन ।
अब जिन्दगी त काब्य पो भैसकेछ
पत्रेफूलको जस्तो खस्दैछन
जिन्दगीका पातहरु पनि एक-एक गरि
माटोमा-
पानीमा-
र
फुर्र उड़दाछन् हावामा
यसरि फैलदोछ जिन्दगीको चाहत
जसरि किरणहरु ।
Momila – Manchhe Ko Bhagawan
मोमिला – मान्छेको भगवान
मान्छेले बनाएको मन्दिर
मन्दिरभित्रको देवता
मान्छे उसैसँग डराउँछ ।
युग पगालेर
मान्छेले स्थापन गरेको आस्था
उही ईश्वरका अगाडि
मान्छे अपराध गर्छ ।
कहिले बेमौसममा अपराधबोध गरेर
मान्छे नै मान्छे बन्छ
कहिले अपराध नदोहोर्याएर मान्छे
मान्छेकै भगवान् बन्छ ।
Bimal Giri – Samaya
बिमल गिरी – समय
मेरो अबोध मन
आज कता कता रुमल्लिरहेछ
गाउँघर, बनपाखा, कन्दरा र डाँडाकाँडा
समतल र नागीहरूमा ।
आँखाले सम्झिरहेछ बिगतलाई
डाँडापाखा उकालीओराली र
चौतारीहरूमा, भञ्ज्याङहरूमा
सुसेल्दै र रमाउदै
हिंडेका क्षणहरू,
जाने त गैहाल्छ समय जस्तै
जाने भन्दा बस्नेलाई असह्य हुदोरहेछ
मुटुमा एक तमासको दु:ख अनी पीडा हुँदोरहेछ
आज समय दुखिरहेछ
तिमी गयौ
सबै गयो
मृदुल ओठहरूले बिहानी अरुणोदयसंगै
शुष्क गलाबाट निस्केको करुण क्रन्दनले
कता कता द्रबित बनाइरहेछ।
आज
अङ्गप्रत्यङ्गहरुको समय नापतौल गरिरहेछ
आँसु रित्तिएर सुक्का भएका आँखा
अबरुद्ध गलासङै समय
भागिरहेछ।
Hom Bahadur Chhetri – Hijaaja Kunni Ke Bhayechha
होमबहादुर छेत्री – हिजाज कुन्नि के भएछ
मनको रथमा
कृष्णलाई सारथी बनाएर
महाभारतको युद्ध लड्नेहरु भन्दा धेरै छन्
मसानघाटका मृतात्माहरु
मुटुको झ्याल बन्द छ
आँखामा पट्टि छ गान्धारी जस्तै
धिर्तराष्ट्र Continue reading “Hom Bahadur Chhetri – Hijaaja Kunni Ke Bhayechha”
Biplav Pratik – Bado Amurta Katha Chha Yo
बिप्लव प्रतिक – बडो अमुर्त कथा छ यो
(बडो अमूर्त कथा छ यो)
जन्म जसरी एउटा सन्जोग
मृत्यु पनि एउटा सन्जोग
सन्जोगकै जिन्दगी जिउनुपर्ने बाध्यतामा
हरेक मानव पिल्सिएर रोगी भए तापनि
स्वस्थ भएको अभिनय गरिरहेछ
(बडो अमूर्त कथा छ यो)
जुन दिन मान्छेले सन्जोगसँग विजय प्राप्त गर्नेछ
त्यही दिन विनाश सुरु हुनेछ
र सृष्टिले विश्राम लिनेछ
(बडो अमूर्त कथा छ यो)
सन्जोग कसैलाई साह्रै सुखदायी हुन्छ
सन्जोग कसैलाई साह्रै दुःखदायी हुन्छ
त्यही सन्जोग तिमी भोगिरहेछौ
त्यही सन्जोग म भोगिरहेछु
त्यही सन्जोग हामी भोगिरहेछौँ
(बडो अमूर्त कथा छ यो)
नयाँसडक, २९ सेप्टेम्बर १९८७
Homnath Pathak – Matribhumi
होमनाथ पाठक – मातृभूमि
मातृभूमि तिम्रो लागि सहिद पनि बन्न सक्छु
तिमीलाई चिनाउन प्रयोग होऊन् मेरा ज्ञान चक्षु
मेरा कर्महरू खुसी पारुन मातृभूमि तिमीलाई
पहरेदार बन्न सकूँ, सुख दिन सकूँ नेपालीलाई
Bibek Dulal Chhetri ‘Damak’ – Timro Samunne Garibi (Gajal)
विवेक दुलाल क्षेत्री “दमक” – तिम्रो सामुन्ने गरिबी (गजल)
तिम्रो सामुन्ने गरिबी आइ झुक्नेछ एकदिन
तिम्रो अघाउन्जेल नै धोको पुग्नेछ एकदिन
यो बेला नदी पहाड चढ़ला ,पहाड नदीमै डुब्ला
तिम्रो भित्रभित्रै Continue reading “Bibek Dulal Chhetri ‘Damak’ – Timro Samunne Garibi (Gajal)”
Biplav Pratik – Swabhab
बिप्लव प्रतिक – स्वभाव
कुनै दिन म पनि कैदमा
एउटा आँखीझयालबाट
एक टुक्रा उज्यालो
घामसँग सुटुक्क चोरेर लिने गर्दथेँ ।
तर, आज त म निकै नजिक छु उज्यालोसँग
उज्यालोले मलाई नै छोएर हिँडिरहेछ
न्रि्रुक्क नुहाएको छु म प्रकाशले
स्वाभाविकै हो मलाई काउकुती लाग्छ
कहिले उफ्रिन मन लाग्छ
कहिले खुसीले कराउन मन लाग्छ
थाहा छ मलाई
र भन्छन् मान्छेहरू
‘मात्तिनु हुन्न सुखमा र आत्तिनु हुन्न दुःखमा’
तर, मान्छेकै प्रकृतिसँग लाचार छु म
आदर्शका तलाउमा नपौडीकन
साँच्चै भन्ने हो भने
आज, म निकै चन्चल छु ।
सिनामङ्गल, २६ मार्च १९८७
Khimananda Pokharel – Eklo Jeevan
खिमानन्द पोखरेल – एक्लो जीवन
(Source: मधुपर्क असार, २०६८)
एक्लो जीवनमा
बाँच्नेहरूको
निराशालाई हेरेँ
मलिन अनुहारका
परेलीहरूलाई हेरेँ
परेलीभित्र छरिएका
प्रतिविम्बित आकृतिहरूलाई हेरेँ
आकृतिभित्र छरिएका
छायाँहरूलाई हेरँें
मभित्रको छट्पटाहट र उकुसमुकुसतालाई हेरेँ
छट्पटाहटबाट छलाङ मार्ने
प्रकृतिलाई हेरेँ
पीडैपीडाले जेलिएको
एक्लो जीवनलाई हेरेँ
अनि
यिनै हेराइको हरेक कथाका
पानाहरू पल्टाउँदै हेरेँ
र
एक्लो जीवनलाई
दिन र रातसँगै
साट्ने कोसिस गरिरहेँ ।
Simanta Lamichhane – Aakash Haru
सिमान्त लामिछाने – आकाशहरु
हामी सबैलाई ढाकेको
एउटा असिमित आकाश छ
जहाँ बादलका टुक्राहरु
मन फुकाएर घुम्छन
अनि रातमा तारा चम्किन्छन्
चराहरु डुलछन्
यसको कुरा गरि साद्दे छैन
तर कसैले ख्याल गरेकी गरेनन् कुन्नि
यहि आकाशको तल
दौडिरहेका सयौं पाईलाहरु छन्
र तिनको पनि आफ्नै एक्लो आकाश छ
जो यो अविछिन्न आकाश भन्दा भिन्न लाग्छ
नितान्त एक्लो लाग्छ त्यो आकाश
त्यो आकाशमा के के छन्
अन्दाज मात्र गर्न सकिन्छ
दोस्रो कोहिले देख्दैनन
त्यो आकाश को रुपहरु
मात्र त्यहि आँखाले देख्छन
जसका लागि ति बनेका हुन्छन
त्यो आकाशको सौन्दर्य चाख्न
मात्र त्यहि आँखाले मात्र पाउछन
त्यो आकाश को चट्टयांगमा तर्सिन
मात्र त्यहि पाईलाले पाउछन
जति सुकै नजिकिएर हिंड
जति सुकै टास्सिन खोज
यो ठुलो आकाश मुन्तिरको
त्यो सानो आकाश देख्न
सारो गार्हो हुन्छ
यी साना साना आकाश हेर्ने प्रयासहरु
ठुलो आकाश जस्तै असिमित छन्
तर यो सानो आकाश
देखिएको छैन कहिले
कहिले पनि दोस्रो कोहीलाई
आफ्नो दर्शन नदिई
यी साना साना आकाशहरु
बिलिन हुने गरेको छन्
अनि यी सयौं पाईलाहरु
यहि ठुलो आकाश हेरेर
चित्त बुझाउने गरेका छन्
अमेरिका