Kabin Basnet – Ghiraunla Ko Phool

कबिन बस्नेत – घिरौंलाको फूल

प्रेमको पहिलो स्पर्शले वञ्चित
नववधूले
पतिवियोगको सन्तापमा
आँसुको अन्तिम थोपा बगाएपछि
अचानक मनभित्र साहस बटुलेर
भविष्यलाई मुस्कुराएर स्वीकार गरेझैं
खरको छानोमा सिरान हालेर
खस्रा पातहरूलाई अंगालोभरि बेर्दै
फुलेको छ – घिरौंलाको फूल ।

सुदुर यात्रामा हिँडेको बटुवाले
बाटो बिराएर
अल्मलिदै, छट्पटिदै, हराउँदै जाँदा
दुर्गम गाउँको अपरिचित बस्तीमा
छुटेका सहयात्रीहरूलाई एक्कासी भेट्दा
हठात् खुशीले उफ्रिएर नाचेझैं
लहराहरूले छेलिएर
भँगेरासँग प्रणयलीला रच्दै छ – घिरौंलाको फूल ।

जीवनभर
कठोरतम् तपस्यामा लीन रहँदा पनि
ईश्वर-प्राप्ति नभएपछि
हताश, निराश
एक वृद्ध साधकको आत्मामा
अनायासै ईश्वरत्वको घाम झुल्किदा
कृतार्थ जोडिएका नमनयुक्त हातहरूझैं
झुपडीको शिरमा ताज भएर
शोभायमान छ – घिरौंलाको फूल ।

Chakendra Rai Kaidi – Yesto Nahos

चकेन्द्र राई कैदी – यस्तो नहोस

मायाँमा अडिएको छ दुनिया
विश्वासले चलेको छ संसार
प्रेमी प्रेमिकामा धोका नहोस।
श्रीमान श्रीममतीमा घात प्रतिघात नहोस।
सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा
सानो Continue reading “Chakendra Rai Kaidi – Yesto Nahos”

Manoj Bogati – Khaderi Ko Akshar

भिज्न दिनू आँखालाई
आँखा भिज्दा
मन मलिलो हुन्छ।
जहॉं उम्रन्छ
हॉंस्ने आकांक्षा।
तिमीलाई थाहा छ
मनको आगो जब आँखाबाट निस्कन्छ
कसरी जल्छ मर्यादा
कसरी डढ्छ स्वर्ग।
भिज्न दिनू आँखालाई
आँखा भिज्दा नै जीवन भरिलो हुन्छ
जहॉं फुल्छबॉंच्ने भरोसा।
पीड़ाको कुनै आकार हुँदैन
तरै पनि मनको कत्रो पाखा ओगट्‌छ यसले
पीड़ा फुट्‌दा त्यही पाखामा पैह्रो जान्छ।
पैह्रो गएको पाखामा
खड़ेरी मात्र उम्रन्छ।
अहो!
आँखामा खड़ेरी लाग्नु कत्रो अनिकाल हुन्छ।

भिज्न दिनू आँखालाई।

Chaman Ghale ‘Pidit’ – Dikka Lagchha Yi Gadha Haru Ko Taal Dekhera

चमन घले पीडित – दिक्क लाग्छ यि गधाहरुको ताल देखेर

नागर्जुनमा बाउ मुसु मुसु हाँस्दो हो
सिङ्गापुरमा छोरो उफ्रि-उफ्रि नाँच्दो हो
खुसी हुँदै यि गधाहरुको ताल देखेर

राष्ट्रपती जिद्दी उस्तै ट्वाके परेछन्
प्रचण्ड त झन् सोरैआना ख्वाके छदैछन्
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर

उता गिरीजालाई के गरुँ के गरुँ भैसक्यो
शेरु त्यसै भक्-भक्-भक्-भक्-भक्भक्यो
चुनावहरुवा माकुनेको मुख्मा र्र्याल आइसक्यो
फोरमले झन्डै सित्तैमा गिफ्ट ह्याम्पर पाइसक्यो

सिंहदरवार भित्रको खाली कुर्ची देखेर

उफ्!

दिक्क लाग्छ यि गधाहरुको ताल देखेर…

स्याऊ र केरा जस्ता नेताको निती देखेर
टायरको हाँडी काठमाण्डु सिटी देखेर…
नेताहरुमा ठप्पै नभाको युनिटी देखेर…

Durga Lal Shrestha – Ankhai Ankha

दुर्गालाल श्रेष्ठ – आँखै-आँखा

क्षितिज ठानी आँखा बिसाउँछु
आँखाबाहेक देख्तैनन् आँखाले;
अहो मलाई खेदिरहेछन्
चारैतिरबाट आँखै आँखाले !
एकटकले रुख हेर्छु,
अनायास पात-पातबाट
टुपुल्किदै, हेर्छन मलाई
ट्वाल्ल ट्वाल्ल आँखै-आँखाले !
के के न भने जस्तो
मभित्र मै पसे जस्तो
सुन्दै गर्छु, धेरै-धेरै
क्यै नभने पनि आँखै-आँखाले !
मैले आँखा नखोलेको हो कि ?
खोलेर पनि नदेखेको हो ?
यतिञ्जेल नउठेर मलाई
सोधिरहेछन् आँखै-आँखाले !

Shreeshisha Rai – Pani Rapantaran

श्रीशीशा राई – पानी रूपान्तरण

बगिरहेछ
पानी बगिरहेछ

तर यो अब पानी मात्र रहनेछैन
यो दूध बन्छ अब

बुँद बन्छ अमृतको
त्यसो त यो चाहेमा

जाँड – तरल बनिदिन सक्छ
भाङ – रहलपहल बनिदिन सक्छ
नसा – Continue reading “Shreeshisha Rai – Pani Rapantaran”

Dr. Suraj Niraula – Khoi Ke Lekhna Sakchhu ra Kabita

डा. सूरज निरौला – खोई के लेख्न सक्छु र कविता

कहाँ हरायो मेरो देश ?
बलि राजाले सर्वश्व दान गरेको देश
गौतम बुद्धले सन्यास लिएको देश ।
गरिब दुःखीलाई आफ्नै तलब बाडने
लप्रदे जन्माउने यो देश ।
मान, इज्जत र प्रतिष्ठा बेचेर
पैशाको होडबाजीमा लडिरहने
योद्धाहरुको उदगम स्थल बनेको छ ।
ह्रदय बिनाका यान्त्रिक मानवहरुको
बिच सिद्रा झै चेपिएको म,
खोई के लेख्न सक्छु र कविता ।
कहाँ गयो मेरो शिक्षा ?
पढेको छु, पाइदिन जागिर कतै,
खोज्दा अनुभव माग्छन सधै ।
नथालिएको कार्यको अनुभव ल्याउ कसरी,
सोर्सफोर्स नभई जागिर खाऊ कसरी,
लाग्छ पलायन भई जाऊ अन्तै ।
घुस खुवाउन असमर्थ लाचार, बेरोजगार,
अनि बरालिदै हिड्ने थकित
शिक्षित वेरोजगार म,
खोई के लेख्न सक्छु र कविता ।
कसरी म स्वस्थ्य हुनसक्छु ?
मेरो पसिना को कमाइ काटेर
देशको राजस्व बढाउने,
आफ्नै उपचार गर्न जादा
ऋणमा चुर्लुम्मै डुबाउने ।
सेवामा भन्दा मेवामा लोभिने चिकित्सकहरु
प्राइभेट क्लिनिकमा भेट्न सल्लाह दिने ।
रोगीले निशुल्क औषधि उपचार पाउने
नेताको भाषण सुन्दा
अमिलिएको मन सगैं
थलिएको सिकिस्त विरामी म,
खोई के लेख्न सक्छु र कविता ।
कसरी सोच्न सक्छु म यो देश ?
आधुनिक युग पार गर्दै,
फिङ्गर टिप्स मै साँगुरीदै
कटेम्पोररि युगमा आइसक्दा,
भोका र नाङ्गा छोराछोरी पाल्न,
विहान उठी खाना र कपडाको
खोजीमा तल्लिन अझै
जङ्गली अवस्थाको मजबुर नेपाली म,
खोइ के लेख्न सक्छु र कविता ।

Bikalpa Shrestha – Mrityu Danda

मृत्युदण्ड

“तेरो अन्तिम इच्छा के छ भन ?
अब को एक घण्टामा तँ फाँसी लाग्दै छस”

म मन्द मुस्कान अनुहारमा राखेर जेलर तिर हेर्छु
र मुस्कुराउदै भन्छु ” केही छैन ”
नाक खुम्च्याउदै जेलर जान्छ

एक घण्टा
मैले जिन्दगिको एक चौथाइ उमेर सम्म
साचेँर राखेको सपना पुरा गर्ने मलाइ समय मिलेको छ
एक घण्टा

म कसरी भनुँ जेलरलाइ कि
म पर्देश आउने बेला मेरि आमालाइ
रातो सारि ल्याइदिन्छु है भन्या थिए

कसरी भनु कि
अन्तिम भेटमा बाबाको पुरानो ढाका हेर्दै
भन्या थिए बाबा तपाइलाइ
एउटा नया ढाका ल्याइदिन्छु है

म कसरि भनुँ कि मेरि बहिनिले
भन्या थिइ कि दादा आउने बेला
एउटा ल्यापटप ल्याइदे है

म बुझ्न सक्छु , यो मेरि बहिनिको स्वार्थिपन थिएन
यो त उस्को आश थ्यो ओ
म फर्केर आवोस , आराम कुशल
चाहे हातमा ल्यापटप होस या नहोस

म कसरी भनुँ कि म त एउटा गरिब केटो
म त आफ्नो,आफ्नो आमाबाबाको
सपना पुरा गर्ने सपना देखेर
यो सपनाको सहरमा आएको हुँ

जिन्दगिको एक चौथाइ उमेर सम्म मैले
मेरो सपनाको समुन्द्र बाट एक थोपा रहरहरु जिएको छैन
अनि एक घण्टामा म अन्तिम इच्छा कसरी पूरा गरुँ

म कसरी भनुँ म बिदेश आउन अघि
मेरि आमाको एक मात्र सम्पती
उन्को सुनको मङ्गल्सुत्र धरौटिमा राखेकी छिन
त्यो सुन उकास्नु छ
म कसरी सम्झाउ कि
मेरो बाबाले आफ्नो कपाल
सेतै फुलुन्जेल सम्म कमाएको पैसा
मेरो जिन्दगिमा लगानी गर्नु भएको छ
म स्वदेश फर्किएर बाबाको कपालमा
खुशिका रहर लाग्दा रङ्गहरु भर्नु छ

मलाइ मेरो आमाबाबा सङ्ग
गाउँकै मेलापातमा रमाउन जानू छ
अनि म सङ्ग समय छ एक घण्टा

ल हुन्छ जेलर सहाब
मेरो एउटा चाहना छ पूरा गरिदिनुस
मेरो देश गएर त्यहाका युवाहरुलाइ भनिदिनुस कि
पर्देश दलदल हो
जहाँ फसे पछि निस्कना गाह्रो हुन्छ
बरु गाउँकै मेलापातमा रमाउ
मेरो देश गएर भनिदिनोस कि पर्देश यस्तो ठाउँ हो
जहाँ आफुले नपिएको बिषले पनि असर गर्दो रहेछ

बिन्ती छ तपाइलाइ मलाइ यो दलदल बाट निकाल्नोस
मेरि आमा छोराले नया सारी ल्याइदिन्छ भनेर
पुराना सारिहरुले सागबारी बारिन रे
मेरो बाबाले छोराले ढाका टोपी ल्याइदिन्छ भनेर
पुरानो टोपी बाक्सामा थन्काए रे
मेरो बहिनिले दादाले ल्यापटप ल्याइदिन्छ भनेर
साथिहरु माझ फुर्ती लाउन थालिसकी रे
अनि म यहाँ आफुले पिउदै नपिएको बिषले पल पल मरिरहेछु

जेलर सहाब अनि तपाईं
अनि तपाईं मलाइ एक घण्टाको समय दिनु हुन्छ
मेरो अन्तिम रहर पूरा गर्न, मेरो अन्तिम इच्छा जिउन

मेरि आमालाइ गएर भनिदिनुस कि
बच्चामा सुसुले तिम्रो पछ्यौरी भिजाउने छोरोले
बुढेसकालमा तिम्रो आँखा बाट खुशिका आंशुहरु झार्न सकेन

गएर भनिदिनुस मेरो बुवालाइ कि जब मेरो मृत्युको खबरले
मम्मिले देख्नुहुन्छ कि भनेर लुकि लुकि रुनुहुनेछ
तब यो छोरो चाहेर पनि आँसु पुछ्न सक्ने छैन

मेरो बहिनिलाइ गएर भनिदिनुको
तिहारको तिर्सना मेटाउन अर्को कर्म दाजु बनाउनु
अब यो दाजु तिहारमा सप्तरङ्गी टीका लगाउन आउने छैन

गएर भनिदिनुस मेरो देशको व्यपारिहरुलाइ
अब नया व्यपार सुरु गर्नु , पर्देशिको आँसु
लगानी चाहिन्दैन , फालाफाल छ
अनि नारा राख्नुहोला
“पर्देशिको आँशु बिक्रीमा एक्दम सस्तो ,
आउनुस मिलाएर लानुस ”

गएर भनिदिनुस मेरो देशका ६०१ इमान्दारहरुलाइ कि
अब जमिन बेच्यौ
खोला बेच्यौ
जङ्गल बेच्यौ
देश नि बेच्छौ कुनै दिन
तर अहिलेको लागि चाहिँ
पर्देशिको लास बेच
अनि भन्नुस ” आउनुस किन्नुस दुनियाको सबै भन्दा सस्तो लाश ”
पर्देशिको लाश , नेपालिको लाश

तर शरकारलाइ त के प्रस्ताव राख्नु र
फुर्सद कहाँ छ र आफू बिरुद्ध उठेका
आवाज गित र लोकभाकाहरुलाइ दबाउदा दबाउदा
लुट्न सके लुट कान्छ लुटन सके लुट
अरु देशमा पाइन्दैन नेपालमै हो छुट

हैन जेलर सहाब म त कहाँ पो पुगेछु
यो तपाइको बसको कुरा कहाँ हो र
बरु
ल ठिक छ मेरो अन्तिम
एउटा इच्छा पूरा गरिदिनोस
मलाइ मेरो देशको
सगरमाथाको चुचुरोमा गएर सबैले सुन्ने गरि
चिच्याइ चिच्याइ भन्ने मन छ
म निर्दोश हो , म निर्दोश हो
मलाइ बाच्न देउ
म निर्दोश हो

सक्नु हुन्छ , सायद सक्नु पर्ने त तपाइको एक घण्टाले

बरु महोदय मलाइ मेरो अन्तिम इच्छा नसोधिएको भए हुन्थ्यो
कमसे कम यादहरुले मुटि कब्जा गर्ने थिएनन
पीडा हुने थिएन
म दुख्ने थिइन
अनि म हासी हासी फाँसी चढ्न सक्थे
अनि म हासी हासी फाँसी स्विकार गर्थे

अनि देश तिम्लाइ अन्तिम सन्देश
अब देखि पर्देश छिर्ने हरेक नेपालिको
पुत्ला बनाएर जलाइदिनु
के गर्नु र पर्देशिको त न त बुढेस्कालमा
आमा बाबा हेर्ला परिवार स्याहार्ला भन्ने आश हुदो रहेछ
न त मरे पछि सजिलै लास भेटिन्दो रहेछ

Baidyanath Upadhyaya – Pahal

वैद्यनाथ उपाध्याय – पहल

दुनिया का असंख्य
पीडितहरू माझ
म आफ्नो पीडाको बोझ खोलेर
कस्लाई देखाउँ
सबै दुखी छन
सबै पीडित छन
यो दुख र पीडाको छछल्कोमा
को पो सग्लो छ र !
सबैलाई आ आफ्नै दुख
भारी छ।
सँधै आफ्नै दुख र पीडालाई
अधिक ठान्ने
यो मान्छेको जमातमा
आऊ! दुख,पीडा, लाचारीहरू सबै
हामी आपस्तमा
कुनै यस्तो पहल गरौं
जीवनलाई कुनै
सरल बाटोतर्फ डोऱ्याँऊ!

Chandkina Bhattarai – Aina Bhitra Ko Manchhe

चन्डिका भट्टराई – ऐना भित्रको मान्छे

अनायासै मेरा आँखा, अर्का जोडि आँखासंग ठोकिए,
म एकछिन रोकिएँ,
अनि हेरे टक्क अडेर,
नियाले धेरै बेर छक्क परेर,
आश्चर्य!
ऐना भित्रको मान्छे म जस्तै देखिन्छ,
उहि रुप,
उहि रङग,
अनि उस्तै हाउभाउ।
म हल्लिदा उ पनि हल्लिन्छ।
म बस्दा उ पनि बस्छ।

अनुहार पनि मेरै जस्तो
त्यो ऐना भित्रको मान्छेको।
होइन, त्यो मेरो अनुहार कसरी हुनसक्छ ?
मलाई त सबैले ‘तिमि कति हसिलि’ छौ भन्छन्,
तर त्यो ऐना भित्रको अनुहार त हाँस्नै बिर्सिए जस्तो देखिन्छ।
कद सँगै बढेको पद,
अनि पद सँगै बढेको जिम्मेवारी।
ति जिम्मेवारी निभाउदा निभाउदै
बर्षौ देखि नहाँसेको जस्तो अनुहार।
सायद् हाँस्न बिर्सिसक्यो त्यो ऐना भित्रको मान्छेले।

आँखा पनि मेरै जस्ता
त्यो ऐना भित्रको मान्छेको।
अह ! ति कसरि हुनसक्छन् मेरा आँखा?
हरेक रात मेरा स्वामीले अँगालोमा बेर्दै भन्नुहुन्छ मलाई,
‘तिम्रा आँखा सार्ै चमकिला र चञ्चल छन्,
अन्धकारमा पनि चम्कन्छन,
झिमझिम गर्दै कति बोल्छन् तिम्रा आँखा।
तर ति ऐना भित्रका आँखा त शिथिल र शान्त छन्।
सबैका सपना आफ्ना बनाउदा बनाउदै
सपना देख्नै बिर्सिएका जस्ता आँखा।
हरेक पल अरुका लागि झिमकिदा झिमकिदै
झिमकिन नै गार्हो भएका जस्ता आँखा।
सायद् झिमकिनै नपरे हुन्थ्यो जस्तो लाग्छ ति आँखालाई।

अहो! हेर्दा म जस्तै देखिन्छ
त्यो ऐना भित्रको मान्छे।
तर त्यो म‌ कसरी हुनसक्छु ?
मेरो घरमा पाहुना लाग्न आउने सबैले मलाई भन्छन्,
‘यिनी कहिल्यै थाक्दिनन् ‘
घर परिवारको काममा सधैं व्यस्त,
फुर्सदसँग कोसौ टाढा,
दिनहुँ को कामकाजमा निकै अभ्यस्त।
तर कति थकित र निहत्ता देखिन्छ
त्यो एेनाभित्रको मान्छे।
आफुलाई भन्दा बढी आफन्तलाई
माया गर्दागर्दै थाकेको मान्छे,
आफ्ना रहरहरुको बलि चढाइ
आफ्ना हरुका लागि बाँचेको मान्छे,
आफुलाई बिर्सिएर आफ्नै जिवनसँग हारेको मान्छे।

हो मेरै जस्ता आँखा,
मेरै जस्तो अनुहार,
तर म होइन त्यो ऐना भित्रको मान्छे।
म होइन त्यो ऐना भित्रको मान्छे।

काठमाडौं।

Mina Bantawa ‘Mridu’ – Mero Janma Bhumi

मेरो जन्म भुमि मेरो देश
म जन्मेको झुपडी मेरो देश
हिमाल हास्ने मेरो देश
गुँरास र सुनाखरी फुल्ने मेरो देश
मखमाली र बाबरी झुल्ने मेरो देश
आहा! कत्ति रमाइलो मेरो देश
मेरो जन्म भुमि मेरो देश
मेरो जन्म झोपडी मेरो देश
सगरमाथा हिमालको टाकुरामा छ
बिहानी पख हिमाल हास्ने मेरो देश
डाँफे र मुनालले नाच्ने गाउने मेरो देश
गुन्द्रुक र ढीडो मेरो मातृ खाना हो
म च्यांग्रा र भेंडी तारे र माली चराउने गोठाले हूँ,
म गोठालोमा दण्डी र बिंयो खेल्न मन पराउछु
म एक धावक पनि हुँ
पच्चिम किल्ला काँगडा
अनि पुर्वमा टिस्टा सम्म धाई सकेको छु
मेरो देश विर बिरंग्गनाले आर्जेको देश
मेरो देश एक घाँसीले `बुद्ध` जन्माएको देश
मेरो देश`ने` मुनि ऋषीले ध्यान गरेको देश
मेरो देश गोपाल ग्वालाले गौ चराएको देश
तेसैले मलाई मेरो देश स्वोर्गे लाग्छ
मेरो देशको पाटी र पौवामा
बसेर सितल ताप्न आनन्द लाग्छ
चौतारीमा बसी बाक्चाल खेल्न मन लाग्छ
देउरालीमा स्याउला चढाई
देशको लागि भाकल गर्न मन लाग्छ
यही मेरो जन्म झुपडी मेरो देश हो
यहिँ मलाई स्वर्ग छ खुसि छु
तेसैले यही मेरो कर्म छ
यहीं मेरो धर्म छ

Siddhicharan Shrestha – Baa Aaunu Bhayeko Chhaina

सिद्दिचरण श्रेष्ठ – बा आउनुएको छैन

पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनुभइरहेछ-
बा आउनुभएको छैन ।

युग बदलिइसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जन्जिर टुटिसक्यो
अझ पनि आजादी आएको छैन
प्रगति आएको छैन,
प्रजातन्त्र आएको छैन,
आमा कराउनुभइरहेछ-
बा आउनुभएको छैन ।

हाम्रो विचारको घुयँत्रोले
हाम्रो कल्पनाको वज्रले
अन्धकारको टाउको फुटिसक्यो
अझ पनि नयाँ बेहान आएको छैन
नयाँ युग आएको छैन
आमा कराउनुभइरहेछ-
‘बा आउनुभएको छैन ।’

Dinkar Nepal – Ma Feri Haaren

दिनकर नेपाल – म फेरी हारें

म फेरी हारें ।
पहिले ढुङ्गा-मूढा
अनि धनुषबाँण
बन्दुक बारुद तोप टैंक
र अणुबम
इतिहासदेखि इतिहाससम्म
एकपछि अर्को
विजय ध्वनि गाउँदै रहे।

प्रत्येक पटक
म हारी रहें।
मासुका Continue reading “Dinkar Nepal – Ma Feri Haaren”

Kala Rai – Mero Bishwas

कला राई – मेरो विश्वास

टेकेर परदेशको माटो
झ्याम् झ्याम्
ढवाङ् ढवाङ्
ढोल झ्याम्टासँगै
नाच्दा किरात पहिरनमा
हल्लाउदै साकेवा पाइला
यस्तो लाग्छ
जुरुक जुरुक तालमा
नाचिरहेछ ताइमोसन

व्यक्तिगत स्वतन्त्रताको
दुहाइसँगै
केही महानुभावहरु
किन नबनुन
आधुनिक धर्मावलम्बि
किन नमिसिउन
समुद्रको नुनिलो पानीमा

मलाई
हिजो जत्तिकै
प्यारो लाग्छ
स्वर्गवासि दिपाले
सिकाउनु भएका
साकेवा सिली
अनि
मॆरैं सम्झनाको
छायाँ बोक्ने
अरुण, तमोर

मेरो विश्वास
पुरानो बनेपनि सबैकुरा
कहिल्यै पुरानो हुदंैन
सम्झना र संस्कृति ।

भोजपुर, साङपाङ, हालः हङकङ

Gopal Kawali – Hiun Le Bhijai Anga

गोपाल कवाली – हिउँले भिजाई अंग

हिउँले भिजाई अंग, बाल खोल्दै बोलाई रह्यौ
जानी जानी हात तानी, मात घोल्दै बोलाई रह्यौ

चिस्यान यस्तो बरफमाथि, आगो जम्छ घरि घरि
छिन्केर बैंशको आँटो,रस मोल्दै बोलाई रह्यौ

पारिजात छरेर आँगन, सेताम्मे फूल मन्जरी
सोड़षी तरुनी जस्तो, पलक डोल्दै बोलाई रह्यौ

रुखका पात छन् सेता, यत्र तत्र सफेद छ
बर्फिलो अँगेनो भित्र, रुप पोल्दै बोलाई रह्यौ

‘जुलियन’ यसरि मस्त, मग्न पार्ने जवानहरु
स्वाश रोक्दै ओठ टोक्दै,प्याट्ट चल्दै बोलाई रह्यौ

घाँटी सुकी छाती दुखि, ज्वरो आई लडे पनि
फुराएर लसुन-मेथी, तेल दल्दै बोलाई रह्यौ

अफगानिस्तान,२५/०१/२०१३

Bimal Rai – Samabedana

बिमल राई – समवेदना

हो,
मृत्युलाई बिर्सेर कायापलट फेर्न खोज्ने हामी मान्छे
दनदनी आगोले नजल्ने बिचार पनि-
एक दिन अवश्य मर्छ
हिटलर मरे
मार्क्स मरे
नित्से मरे
अनि,
बिचरी मैना सुनार पनि त मरी
र हामी, अनि हामीले देख्ने विश्व मर्छ
बाँच्नुको बिकल्पबाट हारेको जीवन सबै मर्छ
त्यस्तै गरी
धेरै लामो जिवनको अध्यायबाट
कुटनैतिक चालबाजीको खुल्ला आकाश नाघ्ने दौरानमा
मान्छेको अन्तिम सत्यले तिमीलाई पनि छाडेन
कृष्ण र गणेशलाई सडकमा पु-याउने तिमी बहादुर
अन्तत तिमी मर्यौ
र-
मरे, शिखर हुँ भन्ने तिम्रो मानसीकता
तिता मीठा परिघटनाका एकांकीहरू छाड्दै
जो अरुजस्तै,
सहज र असहज मृत्युको भुमरीले
तिम्रो पार्थिव शरिरलाई आज यो लोकबाट
सदाको लागि बिसर्जन गरिदीयो
अब रहेन तिम्रो दैनिकीहरू
रहला त अब केवल,
बंशौली आडम्बरीतामा लम्केको तिम्रा पदचापहरू
सेतोमा कालो पोत्ने तिम्रो अपूर्ब कौशलता
भोका नाङ्गाको पुकारा गर्दै आफ्नो दुनो सोजाउने कुटिलताहरू
देशको रेखाङ्कन बेचेर मित्रता देखाउने अभिभाकत्व
अनि बहुलतालाई निषेध गरी
पारिवारिक्तालाई अप्नाउने राजनेता
इतिहासको पानाहरूमा ज्वलन्त अङ्कित रहनेछ-
पछिल्लो पुस्तासम्म,

भावी सन्ततीले तिम्रो सक्कली बिचारको अन्दाज गर्नेछन्
मृत्यु भन्दा पनि तिम्रो नेपथ्यका चेहराहरू
तर पनि, मृत्यु अवश्यभावी छ
यसर्थ,
यो पलमा म पनि समबेदनामा समाहित छु
शब्दका दुइफूल चढाउनलाई
तिम्रो निधनको दुःखदतामा ।

Shrawan Mukarung – Harayeko Mero Manchhe

हराएको मेरो मान्छे
तिमी एकदिन जरुर आउँछौ
पिरतीको अर्थ के हो ?
त्यही बेला थाहा पाउँछौ ।

कति भाग्यो चन्द्रमा यो
पृथिवीलाई रुवाएर
तर साँझ आउँछ फेरि
लाखौँ दीप जलाएर
एकान्तमा वेदनाको
माला जब तिमी लाउँछौ
पिरतीको अर्थ के हो
त्यही बेला थाहा पाउँछौ

जहाँ जाऊ जता पुग
भेटिने त उही मान्छे
मानिसकै अनुरोगले
बाँधिएको हुन्छ मान्छे
सम्झनाको कुनै मोडमा
जतिखेर तिमी धाउँछौ
पिरतीको अर्थ के हो
त्यहीबेला थाहा पाउँछौ ।

Kedar Shrestha ‘Gagan’ – Preeti Ka Kura Nakhelaunu Man Ma La

यादहरु यसरी मडारिदै छन्
आकाशको वादलजस्तै
प्रत्येक पलको हावाले
एक ध्रुवबाट अर्को ध्रुव पुर्याएर
सून्यबाट खसालिएकौ ढुङ्गाजस्तो
भएको छ मन
म निस्सासिदै छु हावाको वेगले
एउटा नावालक आमाको खोजीमा
रुँदै Continue reading “Kedar Shrestha ‘Gagan’ – Preeti Ka Kura Nakhelaunu Man Ma La”

Bhupi Sherchan – Ho Chi Minha Lai Chiththii

आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छे« हिमालको छायामा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर ।
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धूवाँझै
बिस्तारै–बिस्तारै उठेर
मेरो अगाडि उभिइरहेछ
तिम्रो बुढो र पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर ।
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ —‘लेते खोला’
तिमीजस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठूल्ठूला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेका घमण्डीे पहराहरुले
आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन्
मेरो ‘लेते खोला’ !
म ढुक्क छु
तिम्रो बाढीले पनि मिल्काउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई ।
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरुको बीचका सीमारेखाहरुले
मलाई तिमीसँग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना छ
यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी छ
त्यहाँ म तिमीसँग छु
र युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु
तिम्रो प्रत्येक पुलको टुटाइमा म टुटेको छु
तिम्रो प्रत्येक गोल–गोल मङ्गोल अनुहार भएकी
आइमाइको बेइज्जतीमा
मैले आफ्नी पत्नी र दिदी–बहिनीहरुलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध–विहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भूको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमबर्षाको छिर्का
मैले आफ्नो धराहरामाथि परेको अनुभव गरेको छु
र बमबर्षाका रातहरु
मैले पनि जागरणका ट्रेञ्चहरुमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
बरिपरि मुढाहरु दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
र तिम्रो सानो देशको ठूलो आत्माबाट
मैले आफ्नो सानो आत्माभित्र
एउटा ठूलो ज्योति सल्केको पाएको छु
हनोइमाथिको बम
शहरमाथि होइन, मान्छेमाथि बम हो,
र मैले तथा मजस्तै
सारा मानिसहरुले ती बमहरुलाई
आफुमाथि पड्केको भन्ठानेका छौं
मेरो कामरेड !
मेरो हिमाल !
मेरो ‘लेते खोला’ !
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन्
जसरी डढेलोमा रुखहरु डढ्छन्
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरि पलाउँछ
डढेलोपछि उम्रिने असङ्ख्य च्याउहरुजस्तै ।
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छे«को छायामा उभिएर
प्रतिज्ञाजस्तो वरिपरि दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामथ्र्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरीक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढाेंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ ।

Seema Abhash – Sapana Ma

सीमा आभास – सपनामा

सपनामा
मध्यरातमै ब्यूँझिएँ आफ्नै ओछ्यानमा ।
पात झरेको तर पाउलीन नपाएको
देखेँ, रूखजस्तो सपना ।

मेटिएपछि सौभाग्य कोर्ने सिउँदो पछ्याउँदै
बाटो बिराएको बटुवाका पदचाप
बजिरह्यो विरही धुनमा बाँसुरी
उठेपछि छातीबाट ज्वारभाटा
रुँरुँ लाग्ने धुनले रातभरि
फेररिह्यो आँखामा कोल्टो ।

सपनामा
घाम पछ्याउँदै खोलाको तीरैतीर
जून उकालो लागिरहेको बेला
अड्काएर खोला अञ्जुलीमा
नुहाइरहेथ्यो जोगीले यौवन ।

सुईसुई सुस्केरा दिँदै चियाबारीको थुम्कोबाट
सुन्तलाबजारतिर दौडिरहेका
युवकयुवतीमाथि ओछ्याएर छायाँ
गुँइइय गर्दै डाँडो काट्दै थियो हवाईजहाज ।

त्यसैबेला
हरायो लाहुरेको कहानी गाउने सारंगीको तार
हराए भरयिा र रोदी गाउने ठिटी
चिसिएपछि शीतलहरले
कोक्रो बिसाएर बारीको डिलमा
बाँझो बारी खनेथे सुत्केरीहरूले
नाम्लो बाँधेर कम्मरमा
काम खोज्न घर टाढा जाँदै थिए तन्नेरी ।

विदेशिएका छोराछोरीको तस्बिर
राखेर बैठक कोठामा
उनीहरूको जन्मदिनको दियो बाल्ने आमाबुबा
अबेलासम्म जून हिँडेर मेटिएको ।

अन्दाज लगाउँदै गोरेटोको
तिनै छोराछोरी खेल्ने र उफ्रने बार्दलीमा बसेर
गर्थे मुखामुख
पोकापोकी पारेर जिन्दगी फिरन्ते बिहानी चरो
फिरफिरेका पातमा संगीत खोज्दै जीवनको
चुँडेर आफ्नै प्वाँख खोलाकिनारमा
गीत गाउँदै थियो ढुंगा ब्यूँझने गरी ।

त्यहीबेला हिउँले ढाकिएको गोठमा
ताप्दै आगो
टक्य्राकटुक्रुक बसेका किसान बूढाबूढी
पल्याकपुलुक हेर्दै यताउति ठोसिरहेथे आगो ।