Bhupin Byakul – Ishwar Haru Ko Yuddha

भूपिन ब्याकुल – ईश्वरहरुको युद्ध

इतिहासमा कुनै एकदिन
रक्सि पिएर मातेको सूर्य
अन्तिम पटक उदाउनेछ क्षितिजमा
र धरमाराउँदै हिंड्नेछ
आकाशको गोरेटोमा पूर्ववत्

त्यस दिन पृथ्वीमा
मान्छेभित्र सपनाका ज्वालामुखीहरू
सम्भवत: अन्तिमपटक फुट्नेछन्
त्यस दिन पृथ्वीमा
मान्छेभित्र महत्वाकांक्षाका भूकम्पहरू
सम्भवत: अन्तिमपटक बिउँझनेछन्
र साँझसम्ममा
मन्दिर, मस्जिद, गिर्जा र गुम्बाबाट
इश्वरका आवाजहरु हाराएर जानेछन !

कालो रातभरि
कुमारी हातले लालटिन समाएर
कुनै बैंशालु जून उदाउनेछैन आकाशमा
र स्वयम् पृथ्वी नै छिर्नेछ
ब्ल्याकहोलको खुला ढोकाभित्र !

भोलिपल्ट बिहान
गोली लागेको सूर्य उदाउन सक्नेछैन
आकाशको किनारमा कतै पनि !

महाप्रलयको त्यस दिन
पृथ्वीमा इश्वरको युद्धसुरु हुनेछ

त्यही दिन
सम्पूर्ण मन्दिरहरु, मस्जिदहरू, गिर्जाहरु र गुम्बाहरु
युद्धशिविरमा रुपान्तरित हुनेछन्
र जहाँबाट
हातमा आत्याधुनिक हतियारहरु बोकेर
स्वयम् जिजस, अल्लाह र कृष्णहरुले
अन्धाधुन्ध गोली चलाइरहेका हुनेछन !

इश्वर्हरुले
आफ्नो अस्तित्वका निम्ति
हाम्रा घरहरु भत्काइरहेका हुनेछन
हाम्रा कटेराहरु जलाइरहेका हुनेछन
र हामीबाट
हाम्रो माटो खोसिरहेका हुनेछन्

त्यस दिन हामीले
ईश्वरहरुका मनभित्र
पापका महासागर बगेको देख्नेछौँ
र त्यही
क्रुर-प्रतिच्छायाहरु चल्मलाएको देख्नेछौं
र त्यही दिन हामीभित्र
अप्रत्याशित, ईश्वरीय बिस्वास
लास परेको हुने छ … … … !

ईश्वरहरुको युद्धमा
स्वभाविक
ईश्वरहरु मरिरहेका हुनेछन्
तर अस्वाभाविक
मान्छेहरु बाँचिरहेका हुनेछन् :
इतिहासमा कतै नबाँचिएको
एउटा नुतन जिन्दगी … … …!

Ramesh Pallav – Nanga Manchhe Haru

रमेश पल्लव – नाङ्गा मान्छेहरु

नयाँ दौरा-सुरुवाल
वा भनौ नयै सुट-पाइन्ट
वा भनौ नयै पाइजामा-धोती
आलिसान महलहरु
विलासी चिल्ला कारहरु
आकाश छुने चिप्ला आवाजहरु
देश भसाउने कामहरु
सगरमाथा होच्याउने पाइलाहरु
बुद्ध रुवाउने षडयन्त्रहरु
एउटा माच
निरीह कुसीहरु
नाटकमाथि नाटकहरु
बाहिर सुकिला र भित्र काला मान्छेहरु
तँछाड-मछाड नाचिहरेका छन् ।
बाहिर िसंगारिएका
सुकिला र टक्टकाउँदा ‘दही चिउरे’ अनुहारहरु
बेसुरका तालमा
अत्तो न प पत्तो गीतहरु गाएर
नाचिरहेका छन्/ हाँसिरहेका छन् ।
भोज-भतेर/ जलपान
व्हिस्की/रम/ब्राण्डीमा
रनभुल्ल मान्छेहरु
बेकाइदाका बकम्फुसे गफहरु
लाखौं-कराडौंका आँशुहरु पिइरहेका छन् ।
ताण्डव नृत्यमा-
वस्त्रभित्रका निर्वस्त्र
नाङ्गा मान्छेहरु हाँसिरहेका छन्
नाङ्गा मान्छेहरु नाचिरहेका छन् ।

क्यालिफोर्निया, अमेरिका

Bikram Subba – Ek Din

थकित बूढो घाम
गोधुली-क्षितिजतिर जब पस्छ
जिन्दगीको हाँगाबाट
मेरो उमेरको एउटा पात
अँध्यारो नदीमा खस्छ…

Dr. Madhu Madhurya – Dashain Haru Pachhi Ko Dashain

डा. मधु माधुर्य – ‘दशैंहरु’ पछिको दशैं

…..
कहिले थिएन र यहाँ दशैं ?
र दशैं आयो भनेर रमाउने गर्छौं
हामी “बोका”हरू ??
…..

* * * * *

….रातो टीका, हरियो जमरा र मायालु घाम
रोटे-पिङ्ग, मालश्री धून र विदाको उमंग
लंगुरबुर्जा, नयाँ लुगाफाटो र खसीबोका
भोज-भतेर, टिकाटालो र आशिष-वर्षा
सयपत्री फूल, लाखौं अश्रु -धारा र सुर्ता-आंधी
पूजापाठ, जुवा-तास र सोमरस-बाढी

यिनै “एट्रीव्युट” हरुको एकमुष्ठ पुनरावृत्ति बनेर
हरेक वर्ष
हाम्रो मन-मस्तिक र माटोमा
दशैं
आउंथ्यो / जान्थ्यो ….

पहिले जस्तै अहिले
दशैं कसैकोलागि दशा भएर आउंथ्यो/ आइरहेछ
दशैँ कसैकोलागि पर्व भएर आउंथ्यो/ आइरहेछ …
समर – मिथकको भौतिकीकरण:
“दानवत्व” उपर “देवत्व” को विजय-नाटक
भगवती माताको हातबाट दानव दुर्गाको वधमा टुंगिन्छ ….
देवासुर संग्रामको यो दर्शन रहस्य :
“विपक्षीलाइ ‘दानव’ घोषणा गर,
सत्ताको भक्ति गाउन लगाई शासन गर !”
बुझ्दै जाँदा देख्नेछौ –
यहाँ सँधै दशैं नै दशैँ छ
रक्तपात र लड़ाईं छ
अर्थात् फगत दशैं छ ….
वलीका वोका तैनाथ छौं हामी
पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म ….
कुनै देव-देवीहरूको उपासना गर्ने पूजारीहरू
थरिथरिका झण्डा लिएर आइरहन्छन् ….
गगनसिंहलाई वली चढाउने पूजारीहरू
नारायणहिटी परिवारलाई वलीमा चढाउने पूजारीहरू
आन्दोलन, द्वन्द र क्रान्तिहरुको आगोमा मान्छे वली चढाउने पूजारीहरू
कुन देवता खुशी पार्न दशैं मनाइ रहन्छन् ??? …
हिजोआज –
धुमधामकासाथ दशैं मनाउने थलो बनेकोछ
सिंहदरवार
देशलाई च्याँखे थापेर जुवा खेल्दा
दुख्दैन मुटु पूजारीहरुको
र लहर चलिरहन्छ अट्टहासको …

* * * * *

कहिले थिएन र यहाँ दशैं ?
र दशैं आयो भनेर रमाउने गर्छौं
हामी “बोका”हरू ??
राणाको पालामा थिएन कि दशैं राणाहरुलाई ?
राजाको पालामा थिएन कि दशैं राजाहरुलाई ?
लोकतन्त्रको पालामा छैन कि दशैं सत्तासिन पार्टीहरुलाई /नेताहरुलाई ?

मेरो अराजक कविता –
दशैं स्थगनको अग्नि-प्रस्ताव
विनिर्माण शैलीमा सलल बग्छ
बाह्य / आधुनिक सुर-असुरहरुको नाट्य-पर्दा च्यातेर ….
दशैंलाई नौलो परिभाषामा बाँधेर !!!

मेरो दशैं –
मबाट आरम्भ हुनु पर्छ अब
मभित्रका लाखौँ असुरहरुलाई भस्म पार्नुछ
मभित्रका करोडौं दुस्वप्नहरुलाई भस्म पार्नुछ
काम-क्रोध-लोभ-मोहका अनगिन्ति शृंखलाहरु भत्काउनुछ
तिम्रा / हाम्रा दशैंहरु
रक्त-प्रवाहबिना उत्सवमय हुनेछन्

मान्छेको
सयपत्री मुस्कान
जीवनको बाटोमा
फक्रिरहनेछ
विहानी दूबो झैं
मौलाई रहनेछ
हरक्षण अनुभूतिमा
नौलो मान्छेको
नवदशैं प्रवाहित हुनेछ ….

शान्त तलाउमा
फक्रिरहेको
कमलजस्तै हामी अब ….
दिवंगत खुशीहरुको
दशैं मनाइरहेका हुनेछैनौं

हो,
हामी
उत्सवमय जीवनभोगीहरु
दशैं कै लागि
जन्मेका थियौं …

हाल: मस्को, रसिया

Yogendra Raj Sharma – Kehi Bimba Ma Ratna Park

योगेन्द्र राज शर्मा – केही विम्बमा रत्नपार्क

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो………

व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो,
अनिश्चित जीवनको
र बताइदियो-
भीरमा अझै रातो फरिया
अल्झिरहेको छ;
अझै धेरै बर्ष, त्यहीं अल्झनेछ;
घाम-पानीले नफाटुन्जेल,
पहिरोमा भिर नखसुन्जेल ।

बदाम-पानी बेच्ने
एउटी केटीलाई दिनभर
चपाइरहन्छन् केही आँखाहरुले ।
उ मेरी बहिनी हो ।
बाँच्नुको अनैतीक परिभाषामा,
उनिहरुले सोचेजस्तो,
आफ्नै मासु बेचेर
बाँचेकी छैन उ;
खहरे जीवन !

अल्ली पर
ओभर-हेड ब्रिजमा,
व्यापारी चिच्याइरहेछ-
अल -आएटम-पाँच, अल आएटम-पाँच ………
एकोहोरो
मिल कराए झैं ।

२०६७-०४-०१, रत्नपार्क, काठमाडौं

Kusum Gyawali – Ilam Ra Kathmandu

एकगासकै लागिमात्र त्यागेर स्वाभिमान
काठमाडौंसँग दयाको हात पसार्दैन इलाम
निसास्सीदो कन्यामको कुहिरोले
जबरजस्ती मुख छपक्क छोप्दा पनि कहिलै
अत्यासले काठमाडौंको उपनिवेश स्विकार गर्दैन इलाम
हरेक मिरमिरेमा Continue reading “Kusum Gyawali – Ilam Ra Kathmandu”

Krishna Bahadur Chhetri – Timro Shubakamana Bokeko Postcard

तिम्रो हातको वसन्तले रचेको
सुन्दरताका सघन हरियालीहरु
तिम्रो मुटुको सास फेर्दे
पोष्टकार्डको नरम ओच्छ्यानमा
मेरो हृदयलाई सिरानी बनाई
गहिरो निद्रामा सुतिरहेछन्
म तिनलाई बारम्बार हेर्दै
आफ्नो एकान्तलाई रमाईलो पारिरहेछु

Kusum Gyawali – Paani

नचल्ने घोषणा गर्दैमा बराजुले
पानी अचल हुन सक्तैन
बादलका कोमल गुल्थाहरूले पनि
पानी बनेर सहजै भत्काउँछन्
प्रतिवन्धका चट्टानी कानूनहरू

लाग्दो हो बराजूलाई देखेर अग्ला बाँधहरू
आदेशहरूले अविछिन्न थुन्न सकिन्छ पानीलाई
पातले छाँगाबाट हाम फाल्दा लाग्दो हो वराजुलाई
एकै चिहानमा गाड्न सकिन्छ सहजै पानीलाई
बोकेर पनि छातिमा आगो
शान्त र ठन्डा भएरै बग्छ पानी
निस्कँदा अविराम संघर्षयात्रामा खोला-खोल्साहरूमा पानी
ठट्टा गर्छ असारका ब्यस्त रोपाहारहरूसँग

अराजक मानिदैन पानीले नमान्दा पनि कुनै
शक्तिका अकाट्य सिमानाहरू
समुन्द्रको शालीन गाम्भीर्य नाप्न सकिएको
मानक गहिराइ हो
पानी थुन्न खोज्दाखोज्दै पहिरोका लामा हातहरूले
पहिरोमै बगेका छन् कैयौं घमन्डी पहाडहरू
भासीएको सेतीको पानीसंग मान्छेले नभेटेको
लज्जाको गहनता हुन्छ
पूराणले रङ्ग घोल्दैमा पानीमा
पानी कहिल्यै रङ्गिएन उन्मादले

हराउँछन् पढ्न नभ्याउँदै पानीमा लेखिएका
सिमानाका आकारहरू
तिनै अक्षरहरूका लागि
भयानक युद्ध लडे मान्छेहरूले
युद्ध समाप्तीको टेवुलमा
नभेट्दा पानीमा कुनै आकृति
पानी कहिलै दोशी मानिन सक्तैन

बराजु ! तिमीले पढ्न सकेनौ भनेर
संघर्षका गतिशील पानीयात्रा
गतिहिन बन्न सक्तैन पानी
बुझ्न नसकेपछि ओजोनका प्वालहरू
ग्रहण पखाल्न सक्तैन पानीले
पानी परिभाषित हुदैन
पूराना जंगली गीतहरूले

नवजात शिशुलाई नुहाई दिंदा
पानीमा अलिकति आमा बग्छे
खसीरहँदा नशामा स्फटिक स्लाइनको प्रवाह
पानीमा अलिकति प्रेयसी बग्छे
भञ्ज्याङ्गमा प्यास मेटाउँदा भरियाको
पानीमा अलिकति जीवन बग्छ

त्यसैले
छिमेकीले देख्ने गरी मलाई पानीको इतिहास लेख्न देऊ
झुप्राको वस्ती नडुब्ने गरी मैदानमा
मलाई पानीको आत्मावृत्तान्त लेख्न देऊ
सपनाहरूको राजधानी हो पानी
मलाई गहिरो आस्थाले सलाम गर्न देऊ।

Rakesh Karki – Pradhan Mantri Jyu

इन्जिनियर राकेश कार्की – प्रधानमंत्री ज्यू

सबैले छानेर छोडेको साडी जस्तै
गतिभूलि ठोक्किएको गाडी जस्तै

दुनियाँको आँखामा छारो हालेर
प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै

बिग्रीएर भत्किएर अलपत्र परेको
इतिहास हराएको सिंधुलीमाडी जस्तै

Tanka Subba – Jiunu Ka Kram Upakram Haru

टंक सुब्बा – जिउनुका क्रम उपक्रमहरु

पछ्याउँदा पछ्याउँदै
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थालेपछि
अनगिन्ति उकाली र ओह्रालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ती र मोडहरु छाउन थाल्छन्
तव जिउने क्रमका सीधा धर्साहरु
अस्वभागिक रुपले
बाङ्गोटिङ्गो बन्न थाल्छन्
अनि नचाहेरै पनि संकट मोलेर
कठिनाईसँग पौँठेजोरी खेल्नु पर्छ
र झेल्नु पर्ने अनेकौ पाटाहरु पार गर्दै
समय सापेक्ष बन्नको लागि
तिनै स्वरुप बद्लिएका गोरेटाहरुलाई
पछ्याउन विवश बन्नु पर्छ
सहज यात्राको खोजीमा
जब पाईलाहरु अगाडि बढ्न खोज्छन्
तब तिनै जिउनुका क्रम उपक्रमहरु
मडारिन थाल्छन् अनेकौ समस्याहरुको हुरी बताससँग
तै पनि जोखिम यात्रालाई पछ्याउनु परेकै हुन्छ
यसरी नै हरेक मान्छे
जीवन जिउनुको नाममा
फँस्दै जान्छ कहाली लाग्दा गोरेटाहरु पछ्याउँदै
सवैलाई लाग्छ यस्ता गोरेटाहरु नाँघ्दै जाँदा
गन्तव्यमा पुगिन्छ
आखिर कहाँ छ त्यो गन्तव्य ?
किन कसैले किटान गर्न सक्दैनन् ?
कि, त्यो नै अन्तिम गन्तव्य हो ?
यहाँ त अन्तिम भन्नु पनि झुटो मात्र रहेछ
किनकि अन्तिमपछि पनि
अनगिन्ति अन्तिमहरु हुँदारहेछन्
अब कुनलाई अन्तिम गन्तव्य ठान्ने ?
जब कि, अन्तिम सोंचेको र ठानेको गन्तव्य नै
अन्तिम नभई दिएपछि
जीवन यसरी नै सत्यताको खोजीमा
झुटोको आवरणभित्र फँसिरहेको हुन्छ
तर पनि बाँचुन्जेल अनेकौं आँधी-वेहेरीको सामना गर्दै
अगाडि बढ्नुलाई जीवन ठान्दछ,
वास्तवमा त्यो त जिउनुको क्रम-उपक्रम मात्र रहेछ
आखिर पछ्याउँदा पछ्याउँदैका
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थालेपछि
अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ती र मोडहरु छाउन थाल्छन्
तव जिउने क्रमका सीधा धर्साहरु
अस्वभागिक रुपले
बाङ्गोटिङ्गो बन्न थाल्छन् ।

Aryabiman Chitrakar – Uslai Prashna Nagara

आर्यविमान चित्रकार – उसलाई प्रश्न नगर

उसलाई रंगको प्रश्न नगर
जसले तिम्रो सादापनमा पनि इन्द्रधनुषको आभाष गरेको छ….
कालो निलो हरियो र रातो मा के छ र??
जब उसले तिम्रो जीवननै रंगाएको छ

उसलाई उत्साह को प्रश्न नगर
जसले तिम्रो खिन्नतामा हर्षविभोर छाएको छ
दुख सुख र तुषारपातमा के छ र??
जब उसले तिम्रो जीवनमा हर्सौल्लास ल्याएको छ

उसलाई वासनाको प्रश्न नगर
जसले तिम्रो तृष्णामा पनि भरोशा गरेको छ
निराशा, छल र कपट मा के छ र???
जब उसले तिम्रो जीवनमा सुनौलो आशा पाएको छ

उसलाई रंगको प्रश्न नगर
जसले तिम्रो सादापनमा पनि इन्द्रधनुषको आभाष गरेको छ….
कालो निलो हरियो र रातो मा के छ र??
जब उसले तिम्रो जीवननै रंगाएको छ

Gopal Kawali – Shunya Sanga Shunya Jode

शुन्य संग शुन्य जोडे, गुणन गरे शुन्य हुन्छ
ध्रुब सत्य त्यसै होला, मान्य उत्तर शुन्य हुन्छ

छैन केहि तर पनि,केहि छ कि आफ्नो जस्तो
हर सम्भव प्रयत्न छ ,आखिर प्राप्ति शुन्य हुन्छ

हातै भरि ठेला उठाई,पैतालामा खिल पल्टाई
नखाई नखाई कर्म गर्यो,चाख्ने फल शुन्य हुन्छ

आँखा चिम्म कान बन्द,अवाज सबै बन्द नै छन्
सन्नाटाको सपनामा,हात लाग्यो शुन्य हुन्छ

यता तान्यो उता तान्यो, आफ्ना आफ्ना डोहोरा छन्
कुनै दिन डोरा छिन्छन्,आफु संग शुन्य हुन्छ

तेरो मेरो उस्को तेस्को,सरासरि धोखा रै छ
आए जसै जानु पर्ने,लाने ल्याउने शुन्य हुन्छ

संधै नजिक नजिक भन्यो,आशपाश डुल्न खोज्यो
चिता जल्छ खरानी भै,श्मसान नै शुन्य हुन्छ!!!

अफगानिस्तान,३०/०१/२०१३

Ashok Ghimire – Andhyaro Bhitra Ko Ujyalo

अशोक घिमिरे – अँध्यारो भित्रको उज्यालो

शनैस् शनैंस् जब प्रकाश रिति“न्दैं जान्छ
अनि सलक्क निलिदिन्छ त्यही परिचित अँध्यारोले
अँध्यारोका अन्तररेशाहरुमा जेलिएर
निर्भिक म खोज्दैछु आज
अँध्यारो भित्रको अर्को उज्यालो ।

अँध्यारो सर्वशक्तिमान
म जन्मे शायद आ“खा चिम्लेर
स्पर्श गरे मेरी आमाको कमनीय शरीर पहिलोपटक
अनि ममताका अन्तरंगी भेलमा समाहित भए
एउटा कटुसत्यता अनुभूति गरे“ पहिलो पटक
त्यही सुन्दर र निस्वार्थ
अँध्यारो मेरो अगाडि ।

सा“च्चै एक मैनबत्ती मेरै अगाडि
सकिनसकी सास फेर्दछ
अनि धपधप रमाउ“दै हराउ“छ अ“ध्यारो निम्त्याउन
किनकि उसलाई थाहा छ मलाई अ“ध्यारो मनपर्छ ।

हो मलाई अँध्यारो मनपर्छ
उज्यालोका प्रत्येक धर्साहरुबाट म तर्सन्छु
उसले त उडाइदिन्छ आकाशमा दिवास्वप्नाहरु, पैसाहरु…
जो टिप्न लालाहित हुन्छन्…
असंख्य वैमनस्य र स्वार्थी आँखाहरु
तब त दिनह“ुको युद्ध छेडिन्छ
मेरो आमाको काखमा
कतिका आँखा रसाउ“छन्
त कतिका रमाउ“छन्
म केबल प्रतीक्ष्ाँरत छु अर्को चुस्की अ“ध्यारोका लागि ।

देख्छु आँखा चिम्लेर जीउ“दा भगवानहरु
मीठा सपनाका तन्द्राहरु
अतीतमा रमाएका स्मृतिहरु
तर देख्छु आ“खा खोलेर भूतका रेखाचित्रहरु,
भगबानरुपी राक्षसहरु
जो सल्यांङबल्यांङ नाच्दछन् नतमस्तक आँखा अगि
तब त अँध्यारोका अन्तररेशाहरुमा जेलिएर
कोलाहल लताकुंजभित्र हराउ“दै
बौलाउ“दै एउटा स्वच्छन्द साम्राज्य खोज्दैछु
काकाकुल यही अँध्यारोमा घिस्रिदै घिस्रिदै
खोज्दैछु
म आज त्यस भित्रको अर्को उज्यालो………….।

Abhas – Anshu Le Yo Man

आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ
रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ
घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ
तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ
रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

फेवा र रुपा बेग्ला बेग्लै तरङ्ग उही फैलिदिन्छ
आँखा हो यो मनको ऐना पोल सबै खोलिदिन्छ
हत्केलाले घाम कसो’री छेकूँ चर्चा फेरि चलिदिन्छ
रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

Rakesh Karki – Los Angeles Ko Traffic Ra Nepal Ko Sambidhan

इन्जिनियर राकेश कार्की – लस् एन्जेलसको ट्राफीक र नेपालको संविधान (कविता)

काममा जान ढीलो भैसक्यो
घडी हेर्दाहेर्दै समय गैसक्यो
बढ्दै बढ्दैन
हिँड्दै हिँड्दैन
झण्डै झण्डै छोएको
कस्तो जाम भएको
ढेप्पिदै Continue reading “Rakesh Karki – Los Angeles Ko Traffic Ra Nepal Ko Sambidhan”

Krishna Bahadur Chhetri – Banchna Birsera Pani Sochnu Parchha

सधैं गरिरहेको काम पनि
गर्दा – गर्दै कहिलेकाहीँ
म भुसुक्कै बिर्सिन्छु
र त्यसै – त्यसै अलमलमा परिरहेको हुन्छु
त्यसको आरम्भ खोजिरहेको हुन्छु
लाग्छ यसरी नै-
जीन्दगी बाँच्दा-बाँच्दै एकदिन
चटक्क म बाँच्न बिर्सिनेछु
र मर्नेछु
अनि अदृश्य भएर कतै चिहानको सुनसानमा
मृत्युपछि पनि म आफ्नो जीन्दगीको आरम्भ खोजिरहेको हुनेछु
समाधान हुन नसकेका थुप्रै
समस्याहरुको बारेमा सोचिरहेको हुनेछु
सोचिरहेको हुनेछु
फगत् म सोच्न सक्छु
त्यसैले जहिले पनि जहाँ पनि सोचिरहेको हुन्छु।

Janak Karki – Manche Dekhi Sabadhaan

जनक कार्की – मान्छे देखी सावधान

विश्व मानचित्रमा
एउटा यस्तो देश छ।
जहाँ कुकुरहरु टोक्दैनन
अकारण

बरु मान्छेहरुले मान्छेलाई
टोलटोलमा चोकचोकमा
ल्याएर टोक्छन पालैपालो
अनि तमासा फैलाउछ्न
सारा जग लोकलोकमा

यो देखेर कुकुरहरु बेखुसी छन
भुक्दै छन मान्छेहरुको खिलाफमा
आज उनिहरुले
एउटा साइनबोर्ड लेखेर
झुण्डाएका छन
जसमा लेखिएको छ
“मान्छे देखी सावधान”

Ishwar Ballav – Hajar Sapana Haruko Maya Lagera Aaunchha

ईश्वर बल्लभ – हजार सपनाहरूको माया लागेर आउँछ

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ

मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिइन
अल्झें कहीं त के भो बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरि भएर आउँछ

मेरा ती स्वरहरूलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
खुसी नै हो क्या हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौं मनमा उठेर आउँछ

शब्द – ईश्वरबल्लभ
स्वर, संगीत – भक्तराज आचार्य

Tanka Subba – Bhawana Ko Canvas Ma Duniya Lai Potda

टंक सुब्बा – भावनाको क्यान्भासमा दुनियालाई पोत्दा

हृदयको सुन्दर छटामा
यर्थाथको क्यान्भास उभ्याएर
अंगाले जति अन्तरआत्माले
भ्याए जति नाङ्गो आखाको ज्योतिले
कल्पनाको समतल भूमिबाट
कोर्न थाल्छु दुनियाका Continue reading “Tanka Subba – Bhawana Ko Canvas Ma Duniya Lai Potda”

Baidyanath Upadhyaya – Ma Waakarudhha Bhayeko Chhu

वैद्यनाथ उपाध्याय – म वाकरूद्ध भएको छु

मान्छे
भनिरहेछ एकथोक
गरिरहेछ अर्कैथोक
उ जे भनिरहेछ
त्यो अर्थ बुझाउन
आज शब्दहरू अक्षम छन।

उस्को भन्नुमा
गर्नुमा
र हाम्रो बुझ्नुमा
जुन फासला छ
अब त्यो Continue reading “Baidyanath Upadhyaya – Ma Waakarudhha Bhayeko Chhu”