Abhas – Man Ko Sara Andhyaro

मनको सारा अँध्यारोलाई कुचो लगाई बढारुँला
साथ पाऊँ विन्ती हजूर जुनी सँगै गुजारुँला

फूल टिपी माला गाँसे दुई दिनमै ओइली जाला
चोखो प्रितलाई देउता भाके सस्तो चर्चा फैली जाला
औँसीको यो मध्य रातमा रुपको झूटो गाथा किन
तिम्रो उचाई मानेँ हजूर अर्को सगरमाथा किन

पारी वनमा आगो लाग्दा दुखी हुन्छ मेरो मन
मनकै तापले जली जाउँला दुखाउँछेउ किन झन्
अब पार पाइँदैन माया बन्धन बुझेकै हो
खेपेकै हो शिरको घाम बर्खायाम रुझेकै हो

Prakar Antar – Traas

प्रकार अन्तर – त्रास
(Sent to Sanjaal Corps via Email)

ब्रह्मलाई
शुन्य बाकसमा राखेर
म भुँडी मात्र लिएर
बाटोमा हिंड्छु

म स्वतन्त्रताको
सिमाभित्र छैन
म बाहिर छु
यहाँ,मान्छेहरु
अराजकतालाई नै
स्वतन्त्रताको सगरमाथा ठान्छन्

म दशगजाभित्र पनि छैन
त्यहाँ हुनू, नहुनु जस्तै हो
म एउटा सिमाभित्र अवश्य छु
यहाँ कुनै विधान छैन
वातावरणको
बन्दुकका सीमान्त आकाशबाट
छिनछिनमा
ताता ओला बर्षन्छन्
छिनमै परिवर्तन हुन्छ पर्दा
र जब,
उखरमाउलो घामले
टाउकाहरुमा टेकेर
उत्ताउलो नाँच देखाउँछ
म सबै बिर्सन्छु,
कहाँ छन् आफन्तहरु
यहाँ वरीपरी त्रास मात्र देखिन्छ ।

Acharya Prabha – Kasari Khayo Agole Hera Kamal Ko Sharir

आचार्य प्रभा – कसरी खायो आगोले हेर कमलको शरीर
(शोक बिव्हल कबिता)

किन खायो आगोको लप्काले
त्यो नीरिह सुन्दर,स्वच्छ परीलाई ?
किन डाहा गर्‍यो अदृश्य शक्तिले
मनमा नै उडिरहने त्यो निश्छल चरीलाई ?

छातीभरी Continue reading “Acharya Prabha – Kasari Khayo Agole Hera Kamal Ko Sharir”

Bipin Singhal – Purano Yaad Haru

बिपिन सिंघल – पुरानो यादहरु

पुरानो यादहरु
साच्चै :मनमै विझदोरहेछ !
त्यो साथ ~अल्पवयस्क को
त्यो माया ~ विवादि जस्तो !

उनको मिठो बोली
मात्र होइन
शरीरमा वेष्टित
अलवान मा
उनी परि झै –
सृजना थिइ !

अझ याद छ –
उनको विक्षुब्ध पन
र विभीषक अनुहार
जुन म प्रती
अस्फुट थियो !

आज “मौन” छु ~
केवल उनको सम्झना र
अश्रुसिक्त आँखा मा !

पुरानो यादहरु
साच्चै :मनमै विझदोरहेछ !

Krishna Pakhrin – Jeni Suteki Chhe Nani Suteki Chhe

कृष्ण पाख्रिन – जेनी सुतेकी छे ! नानी सुतेकी छे !

भर्खरै कोलाहल, होहल्ला गरेर
तिनको असन्तुष्टीमा एउटा नयाँ महाभारत सकेर
कसरी – कसरी
जेनी सुतेकी छे !
नानी सुतेकी छे !!
यहाँ हल्ला नगर !!!
तिमीहरुको हल्लाले ऊ ब्युंझिन सक्छे ।
तिमीहरु कोलाहल नबन !
ऊ फेरी श्री ३ भएर हल्ला गर्न सक्छे ।
आज दिनभरी नानीले
भाडाकुटी, वनभोज खेलेर
राष्ट्रिय सँस्कृतिका उदाहरणहरु
लाखेनाच, घोडेजात्रा
पल्टनजात्रा, गाईजात्रा इत्यादी
खेलहरुको लाममा
धेरै बेरसम्म
थाकुन्जेल खेलेकी छे ।
अहिले नानी सुतेकी छे ।
ए, हल्ला गर्नेहरु !
हल्लालाई लगेर खबरकागजमा देउ
त्यो राष्ट्रिय खबर हुन सक्छ ।
तिम्रा हल्लाहरु उम्मेदवारलाई देउ
आम निर्वाचनको घोडादौडमा, हल्ला दौडिन सक्छ ।
अथवा जनमतको तैयारीमा हल्लाहरु
समर्थक, विरोधी दुवैको
हल्लाको पोस्टर भएर भित्तामा टाँसिन सक्छ ।
तर जेनी सुतेकी छे !
यहाँ हल्ला गर्न मनाही छ ।
हो-हल्ला, कोलाहल ऊ आँफै नै हो ।
बन्देज छ तिमीलाई !

नानी सुतेको बेला
हिजोआज खबर केही छैन ।
त्यसैले खबर नभएको अखबारपत्रले
खबरकागजको राम्रो भ्रम दिएको छ ।
त्यो खबरकागजमा नानी सुतेको खबर छैन ।
अथवा हल्ला, कोलाहल मच्चाउने
एउटा सिंगो खबरकागज ऊ आँफै हो
कसैलाई केही थाहा छैन ।

ए सपनाहरु !
तिनको निंद्रालाई तिमीले नछेक !!
सपनाहरु, कतै तिमीले तिनको निंद्रामा
अतिक्रमण त गरेका छैनौ ?
तिनको निंद्राको स्वयत्ततामा
कतै कसैले पर्खाल लगाउनु त खोजेन ?
तिनको निंद्रामा
कतै कसैले तन्द्राका अभेद्य जंगलहरु रोपेर
बिकासका बिज्ञापन त बनाएन तिनको निंद्रालाई ?
नानी निंद्रामा मस्त छे, जेनी सुतेकी छे ।
हल्ला निषेध छ, बन्देज छ, मनाही छ ।
नानीसँगै आमा
आमासंगै परिवार
र परिवारसँगसँगै मध्यरातमा
यो देश नै सुतेको छ ।
ब्युँझाउने बिकासे भालेहरु
बेला, कुबेला बास्ने गर्छन् ।
अलार्म लगाउने थोत्रे घडी
घडीसाजकहाँ बिग्रिएर थन्केको छ ।
यी सबैको अर्थ नानीलाई के थाहा ?
जेनी सुतेकी छे, नानी सुतेकी छे ।


उनको निंद्रासँगसँगै परिवार
समाज, वातावरण र देश नै सुतेको छ ।
सावधान ! सावधान !!
यो बेला हो-हल्ला नगर, बन्देज छ, मनाही छ,
र निषेध छ ।
जेनी सुतेकी छे, नानी सुतेकी छे ।
जेनी जस्ता अहिले धेरै धेरै नानीहरु सुतेका छन् ।

Bhupin Byakul – Euta Pratiksha Ko Bipaksha Ma

भूपिन ब्याकुल – एउटा प्रतिक्षाको विपक्षमा

बरु मलाई
एक लर्कन गलत बाटो हिँडीराख
र पर्खिराख त्यो पुरानो चौतारीमा भन
बरु मलाई
यात्रामा चाहिने जुत्ता सिलाइराख भन
अनुहारमा सौन्दर्यहरु मुजा परेको कविताहरु Continue reading “Bhupin Byakul – Euta Pratiksha Ko Bipaksha Ma”

Mina Bantawa ‘Mridu’ – Gurans Bhir Ma [Nepali Muktak]

“गुराँस भिरमा”

गुराँस भिरमा पनि फूल्दो रहेछ !
हाँसो पिरमा पनि खुल्दो रहेछ !!
केवल, दुःखमा साथ तिमी नभएर के भो र !
अँध्यारोमा त आफ्नै छायाँले पनि भुल्दोरहेछ !!

मिना बान्तवा “मृदु”

Arjun Parajuli – Majhi Dai Ra Janga Bahadur

अर्जुन पराजुली – माझीदाइ र जङ्गबहादुर

माझी दाइले माछा मार्ने जाल
जङ्गबहादुरले जाल गरेर खोस्यो
जुन जालमा पहिले पहिले
माझी दाइले
माछा फसाउँथे र आफ्नो छाक टार्थे
त्यही जालमा जङ्गबहादुर अहिले
माझी दाइलाई फसाउँछ र
आफ्नो छाक टार्छ

माझी दाइले
मान्छे तार्ने डुङ्गा
जङ्गबहादुरले
अब खोलो अन्तै सार्ने भनेर खोस्यो
जुन डुङ्गाबाट माझी दाइ
घरी वारि ल्याउँथे जङ्गबहादुरलाई
घरि पारि लान्थे जङ्गबहादुरलाई
त्यही डुङ्गामा आज
जङ्गबहादुर आफैं
माझी दाइलाई पारि तार्ने काम गर्छ
उसले पारि यसरी तार्छ
यसरी तार्छ
यसरी तार्छ
माझी दाइको लास एकैचोटि
नेपाल टेलिभिजनमा फेला पर्छ ।

Abir Khaling – Samaya Dans

अबिर खालिङ्ग – समय दंस

क्रुरताको मुट्ठीमा बन्द वर्तमान मस्त छ
असहिष्णुताको सारंगी रेटेर
समय वुद्दत्वको ढोङ रचिरहेछ
छलकपटको कपिलवस्तुमा ।

वैलाबेलाको थारो मौसममा
कोही गीत गाउन मस्त छ अहिले
थाहा Continue reading “Abir Khaling – Samaya Dans”

Prabhat Aryal – Baato

म आँखा खोलेर हेर्छु
बद्लियेछ यो ठाउँ
पुरानो त केवल म मात्र रहेछु
हिजो पनि येही थिए म, भोलि नि हुनेछु
छैन कुनै गन्तब्य मेरो
न त सुरुवात छ, न त अन्त्य मेरो

मुटु पनि छैन
छैन कुनै आवाज नै
केवल छन् त यी आँखा
जस्ले देख्चन कहानी हरेक बर्गका
केवल छन् त यी आँखा
जस्ले देख्चन कहानी हरेक बर्गका

म देख्छु फोहोर टिप्द्दै हिड्ने ति बालबालिका
टप्प परेर इस्कूल जाने भोलिका कोपिला
जीवन कस्तो उमेर एयूटाई , फरक ति समस्या
म देख्छु भाईसाथी संगै हास्दै चहलपहल गरेको
अनि उता हेर्छु, देख्छु भोक ले एयूटा भाई रोएको
म देख्छु लाखौ कमाउने ति सयोउ मान्छे
अनि सय रुपैया मा दिन काट्ने ति लाखौ मान्छे

जब रात पर्छ, म जागेकै हुन्छु
म सुन्छु रातमा डराउँदो आवाज एक्लै हिड्ने नारीको
घर नभई मेरै साहारामा रात काट्ने ति बैनीको
जीवन कस्तो, उमेर छुट्टै तर समस्या उस्तै
उनको मनमा मर्दको डर
अनि ति बैनी को मनमा, सानो घर को रहर

म देख्छु कयौउले अन्तिम सास लिएको
अनि कोसैले पहिलो चोटी सास फेरेको
म देख्छु थरीथरी का गाडी
म देख्छु मान्छे का ठुला सपना को भारि
म देख्छु जैले हुने त्यो रुवाबास
सुग्न्छु नसामा चुर भएका ठिटाको बास

अनि सोच्छु
पुरानो त केवल म मात्र रहेछु
सबैको सोच बद्लियेछ
मानबताको त के कुरा
म त केवल एयूटा बाटो हुँ
न त कुनै गन्तब्य छ मेरो

Dhooswan Sayami – Raaji Ko Naam Ma

धुस्वां सायमि – राजीको नाममा
(रचना द्वैमासिक)

तिम्रो
आगमनको सूचना
जब मेरो घरसम्म पुर्‍याउँछ हावाले
मेरो आँगन
तिमीलाई अभिवादन गर्न
एक्लोपनको उदासी भुलेर फक्रिन्छ
र, मलाई यो
पनि थाहा छ –
जब-जब म सोच्दछु तिमीसम्म आउन
तिम्रो बगैंचामा फक्रिरहेका साना फूल
सुगन्ध छोडेर ओइलाउँछन्
तब मलाई थाहा हुन्छ
मलाई देखेर
तिम्रो मुहारमा फक्रिएको जून
केवल
एउटा मुखौटा हो
जुन शिष्टतावश
तिमी मलाई देखाउँछयौ ।

Govinda Singh Rawat – Timro Maya Ma

एउटा बिम्ब बनेर आयौं प्रतिविम्ब बनेर छायौं
केही क्षणको मिलापलाई माया बनायौं
कैदी बनायौ प्रेमको सजाय पाए दाम्पत्यको
परिवारको कारागारमा जन्म कैदको सजाय सुनायौं ।

एउटा अपरिचित मान्छेको आगमनले
जीवनको गणित नै सरल पारी दियो
तिम्रो स्वाभिमान र अटल निर्णयले
संर्घष गर्दै गयौं सफलताको
अनि आश्रय बनायौं बात्सल्यको
मायाको छानो र विश्वासको गारो हालेर ।

तिम्रो मायाको संसारमा रमाएर
जीवनलाई आपुनै रंगमा रंगाएर
एक आर्काको मायामा हराएको पनि
रजत वर्ष भई सकेछ ।

दिन महिना साल
ऋतुको परिवर्तित ब्यवहार
उमेरले धरहरा चढ्दै गयौं
मायाले सगरमाथा
कैदको पच्चिस बसन्तमा पुगेर आज
प्रेमको मूल्यांकन गर्न मन लागिराछ ।
के पायौ के गुमायौ
आपुना पाईतालामा कुल्चिएर हामीले
एउटा नव गनतब्य पहिल्यायौं
एउटा बेग्लै परिवेशबाट आएको मान्छेलाई
आपुनो रंगमा रंगाएर पहिचान दिलायौं
तिमीले मलाई मबाट हामी बनायौं
तिमीले मलाई मबाट हामी बनायौं ।

टोरोन्टो, क्यानाडा

Rabindra Mishra – Mrityu Paschat

रवीन्द्र मिश्र – मृत्यु पश्चात्

मलाई थाहा छ
तिमी
हलुकासँग मेरो अस्तु बगाएर लाने
नदी जस्तै रूने छौ
कैयौं दिनसम्म
तिमी मेरो शून्यतातर्फको यात्रामा
शोकाकुल हुनेछौ
परम्पराले तिम्रा रंगहरू धुजा, धुजा
र सौन्दर्य टुक्रा, टुक्रा पार्नेछ
तर प्रिये
यदि तिमीले
तिम्रो सदाबाहार रंग र मुस्कानका साथ
विधातालाई स्वीकारिदियौ
र एउटा गुमेको जीवनको ठाउँमा
रक्ताम्य पहाडका अंध्यारा झुपडीमा
निसाहाय बाँचिरहेको
कुनै आर्को जीवनमा खुशी भरिदियौ भने
मेरो आत्माले चिर शान्ति पाउने छ ।

– रवीन्द्र मिश्र, २८ पुस २०६२

Nawaraj Subba – Purana Jutta Haru

नवराज सुब्बा – पुराना जुत्ताहरू

आज
मसंग गफ मिल्ने
अर्थात् मलाई बुझने यो घरमा
मेरा यिनै पुराना जुत्ताहरु मात्र
बाँकी रहे अब !

तर यी पुराना जुत्ताहरु
कहिले यो कुना कहिलो त्यो कुनामा राख्छु र मिलाउँछु
कहिले यता सार्छु, कहिले उता सार्छु र थन्क्याउँछु
यिनीहरूलाई राख्ने, थन्क्याउने ठाउँ कतै पुग्दैन
भण्डारमा अरुहरूलाई ठाउँ पुगेको छैन
भर्‍याङको कुना पनि अब यिनको भएन
सबै ठाउँ छोरा, नातिका सुत्ने कोठा,
पढ्ने कोठामा बद्लिएको छ घर
राख्ने ठाउँकुना कतै पुगेन
यी पुराना जुत्ताहरूलाई
अब यो घरमा
काम नलाग्ने थोत्रा राख्न सुहाउँदैन भन्न थालियो
तर यिनलाई फालिहाल्न पनि माया लाग्छ
सम्झन्छु, कुनै बेला यिनै जुत्ता मेरा पाइलाहरू थिए
जसले मेरा दुःख सुखमा साथ दिएका थिए
घामपानी, सफलता, विफलतामा पनि संगै थिए
यही घरमा कुनै समय यिनै जुत्ताहरू
हातले मोल्दै टल्काइन्थ्यो र लगाइन्थ्यो शानले
यात्राको पहिलो र अन्तिम छाप लगाउने यिनै हुन्थे
आज त्यही घरमा
पुराना भएपछि यिनको बस्ने ठाउँ गुमेको छ
सुरक्षित हुने अधिकार पनि खोसिएको छ
अब नसुहाउने भएका छन् रे
यी पुराना जुत्ताहरू
मेरो जीवन जस्तै

फाटेका जुत्ताहरूलाई
आफ्नो वरिपरि राखेर
अन्तिमपटक आज सुम्सुम्याउँदैछु
त्यो जुत्ता म बेहुला हुदा लगाएको जुत्ता हो
उ त्यो चाहिँ बेहुलाको बाबु हुदा लगाएको जुत्ता हो
अनि यो जुत्ता चाहि हजुरबूबा हुदा लगाएको जुत्ता हो
आज एकैठाउँ पोको परेर फाल्न अघि
यी जुत्ता र आफुलाई एकसाथ सुम्सुम्याउँदैछु
फाल्न अघि घोरिन्छु र सुन्छु
जुत्ताहरु एक स्वरमा भनिरहेछन्-
घरको कुनामा बसेर
आफ्नैसित कति गुनाशा गर्र्छौ स्वामी ?
व्यर्थ नखसाऊ आँखाको त्यो पानी
बरु हिँड जाउँ ! कतै
आखिर,
तिम्रो नियति पनि
हाम्रै जस्तो भएको छ
यो घरमा ।

Sudhir Chhetri – Traasadi Traasadi Traasadi

सुधीर छेत्री – त्रासदी त्रासदी त्रासदी

आज भर्जिनियाको समाचार-सारांश छ:
अमेरिकाको एक युनिभर्सिटीमा दक्षिण-कोरियाली विक्षिप्त छात्रद्वारा फायर गरिँदा
तिस मृतकहरूमध्ये भारतीय मूलका शिक्षक र छात्राको मृत्यु ।

कम्युनिष्ट मेनिफेष्टो काखि च्यापेर
सुदामा

इतिहासमा आफ्नो नाम हाइलाइट गरेर
हातमा स्केचपेन खेलाउँदै फर्केको स्वाभिमानी
राजा पुरुहरू
यो कालको बङ्करमा बसेर
आफ्नो प्राप्तिको एक्सरे-प्लेट हेरिरहेछन्
अनि च्यापिएको अरण्यकान्डले बेरेर
पिज्जा निलिरहेछन् ।

यो सहस्राब्दीले
मुखमा
बन्दुकको सिग्रेट झोसेर
मृत्युको धुवाँ फुकिरहेछ ।

शान्तिले आफ्नो कालो बुट सडकछेऊको कलिलो बालकलाई पालिस गर्न लाउँछ । विद्रोह पनि आदिवासी बालिकाले ढकढकाएको यौवनको दैलोमा ठूलो ताला भाषणको निम्ती स्क्रिप्ट तयार गर्दै तातो चियाको तलतल मेट्न चाहान्छ । काठे गुडियाको अनुहार भावशून्य रहिरहन्छ । पोस्टरका परेवाहरु चल्मलाउँदैनन् ।

मायाको दस्तावेजसित
एन्थ्र्या्क्स जान्छ दाह्राको एम्बुस बोकेर
अनि
सिनो गन्हाउँछ लाश बोकेर
इराकबाट
आउँछ
एयरपोर्टमा एउटा त्रासदी ।

भिडियो गेमको पर्दाबाट
कुनै बालकलाई
काउण्टर स्ट्राइकले
आधुनिकतम पिस्तोल थमाउँदै
बीभत्सरसको तातो जुस पिलाइरहेछ ।
स्कुलबाट
खेतबारीहरूबाट
थुर्रिएको गोलीको आवाजले
हावालाई मृत्युमय
रङ्ग दिएकोछ ।

जलेको बस
रगत पोतिएको सडक
चप्पलहरू र आरडीएक्स
फुटेको मादल र टीएनटी
कारगिल र सताइस जुलाई
११ सितम्बर
कलिङ्गसितै शहीद अशोक ।

Chanki Shrestha – Yatra

यिनै रगत बगेका खोलाहरू तर्दै
यिनै हाँगा-हाँगामा लाशका टुक्रा फलेका रुख
यिनै मान्छेका हड्डी कोचिएका टोड्काहरू हेर्दै
विषाद र दुःखका अविरल आँसु चुहाउँदै
जिन्दगीको हरियालीको खोजीमा सुरु गरेका थियौँ यात्रा हामीले ।

हिँडिरह्यौँ-
हामी कति काँडैकाँडा टेकेर हिँडिरह्यौँ
कति भीरैभीर कुदिरह्यौँ
धैरै हिँड्यौँ जंगलै जंगल
धेरै हिँड्यौ भत्भती पोल्ने बगर ।

हिँड्दा हिँड्दा आज
बर्षौँपछि फेरि उही रगतको खोलाको किनारमा
आइपुगेका छौँ हामीहरू
फेरि लाम लागेका छन्
लाशका टुक्रा फलेका रुखहरू
र, मान्छेका हड्डी कोचिएका टोड्काहरू ।

बढ्दैछ, निरन्तर बढ्दै बढ्दै आइरहेछ
रगतको बाढी नदीहरूमा
ओर्लँदै ओर्लँदै आइरहेछन् गिद्धहरू
बग्ने क्षण कुरेर बसिरहेछौँ हामी रगतका नदीका किनारहरूमा
हो, कुरिरहेछौँ हाम्रा शरीरका टुक्रा कोचिने क्षण यिनै टोड्काहरूमा ।

Rajab – Sittai Ma Akhawar

अखबार पोस्टर होइन
यसलाई यसरी नपढ
पोस्टर सरी
हुनत यी पोस्टरजस्तै
सजिएका छन्
पसलका भित्तामा
तर यी भ्रमका पोस्टरहरू हुन्
त्यसो त कत्ति अखबार
भ्रमका अखबार र
वास्तविक पोस्टर छन्
तर अखबार
तिम्रो पार्टीको
वा दक्षिणपंथी
र वामपंथीका पोस्टर होइनन्
साके से का साडीहरूझैँ
यी पसलमा झुण्ड्याइएका अखबारहरूमा
छापिएका
ताजा समाचारहरू
कसैको खरो श्रमले लेखिएका छन्
तिमी सिँत्तैमा पढिरहेछौ
अत्याचारको समाचार पढ्दापढ्दै
तिमी अत्याचार गरिरहेछौ
सित्तैँमा अखबार पढिरहेछौ

Mukul Dahal – Kabita Ko Janmadin Ma

मुकुल दाहाल – कविताको जन्मदिनमा

आंगनमा अंध्यारो
सांढे भइर¥यो
अनुहारमा बादल
ढाडिइर¥यो
मनमा कालो रात
आएर सुतिर¥यो
स्वादको अर्थ
लेखिएन जिब्रोमा
शरीर सर्वाङ्ग लुक्न
सकेन वस्त्रमा आजीवन
सुकिलो कुन
सुविधा हो
कुन चमत्कार हो
थाहा भएन ।
यस्तो परिवारमा
एकदिन जन्मियो
मेरो कविता ।
ऊ जन्मंदा रोएन
मान्छे जस्तो ।
ऊ जन्मंदा
परिपक्व पूर्ण जन्मियो ।
अर्थ लिएर
आवाज लिएर
स्वर लिएर
मेरा घाउहरू
मेरा दुखाइहरू
मेरा सबै वंशज गुणहरू
लिएर मर्यादित बांच्यो
प्रत्येक जन्मदिनको भीरबाट
म लड्छु तलतिर
ठोक्किन्छु
निलैनिल हुन्छु ।
प्रत्येक जन्मदिनको भ¥याङबाट
ऊ चढ्छ आकाशतिर ।
झन् वयस्क हुन्छ ।
प्रत्येक जन्मदिनमा
म मान्छेहरूको भीड लदाउंछु ।
जीवनको पिण्ड खिइरहेको
आतेसबाट भाग्न ।
ऊ नितान्त एक्लो
निडर रहन्छ आज जस्तै
किनकि
आज उसको जन्मदिन हो ।
म उसमा दीप्त
जीवनको राप
महसुस गरिरहेछु ।
मलाई ठुंंिगरहेको मेरै
चिसो आंखाले हेरिरहेछ ।
म बुझिरहेछु
मेरो चुहिरहेको ।
जीवनको झोल
उसको लामो आयुको
अर्थवत्ताभन्दा
पुड्को छ ।
साकीर्ण छ ।

Bimal Nibha – Ek Dui Tin Char Panch

एक, स्पर्श गर्छ
दुई, फुसफुसाउँछ
तीन, बात मार्छ
चार, मुस्कुराउँछ
र पाँच ? पाँच बरबराउँछ
एक, विचार गर्छ
दुई, काम गर्छ
तीन, मद्दत गर्छ
चार, आविष्कार गर्छ
र पाँच ? पाँच षडयन्त्र गर्छ
एक, कविता लेख्छ
दुई, चित्र कोर्छ
तीन, मूर्ति कुँद्छ
चार, बाजा बजाउँछ
र पाँच ? पाँच क्रुद्ध हुन्छ
एक, प्रेम गर्छ
दुई, विश्वास गर्छ
तीन, हर्षित हुन्छ
चार, रोमाञ्चित हुन्छ
र पाँच ? पाँच विक्षिप्त हुन्छ
एक, चिन्दछ
दुई, बुझ्दछ
तीन, हेर्दछ
चार, महसूस गर्दछ
र पाँच ? पाँच केही पनि गर्दैन
एक, दुई, तीन, चार, पाँच
यो पाँचमा पुगेर
हो, पाँचमा पुगेर
किन सबै हिसाब
गोलमाल हुन्छ ?
(२०४४)

Mani Raj Singh – Tenjing Haru Sadak Ma Orleka Chhan

मणिराज सिंह – तेन्जिङ्गहरू सडकमा ओर्लेका छन्

पौरखी मन उचालेर
स्वाभिमानी आस्था संगालेर
घोडचढीहरू युद्धमा होमिएको बेला
मुकुण्डो भिरेका जोकरहरू
बाटो चौबाटो ढुकेर
नौटङ्की गरिरहेको देखेर
कुण्ठा र निराशाका चट्टानहरू खोपेर
हिमालमा बाटो कोरिरहेका तेन्जिङ्गहरू
फगत नामका लागि सगरमाथा चढ्न छाडेर
सडक र चोकमा ओर्लेका छन् ।
गाईजात्रे उज्यालो च्यातेर
परिवर्तनका तमसुकमा सहीछाप गर्दै
अचकल्टो संविधानको हुक्का गुडगुडाउँदै
उपबुज्रुक बन्न खोजेका बहादुरहरूलाई
घोक्रेठ्याक लगाउन
लेखिएका र नलेखिएका चोटहरू स्याहार्दै
अधुरा आकाङ्क्षाहरू बाँच्दा बाँच्दै
अनुदानको भरमा अलमलिएर
मन तलाउसरि भरिलो बनाएका छन्
कठीन यात्राक्रममा
रातमा पनि हाँसेजस्तै जून
आडम्बरी संस्कारहरू कुल्चेर
नयाँ क्षितिज खोतल्न
तेन्जिङ्गहरू सडकमा ओर्लेका छन् ।