Komal Bhatta – Chhutayerai Khusi Hanso (Nepali Gajal)

कोमल भट्ट – छुटाएरै खुसी हाँसो

छुटाएरै खुसी हाँसो,रुवायो आज तकदिरले
भिजाएरै झर्यो आँसु,धुवायो आज तकदिरले

सुनौला कल्पना गर्दै,फुलेथ्यो फूल झैं जीवन
खसालेरै भूमि माथि,कुवायो आज तकदिरले

सगर् छुन्छु भनी हिंड्दा,खपें आपतहरु सारा
थचारेरै पूरै लोप्पा खुवायो आज तकदिरले

न पाएँ शान्तिले बाँच्नै,न लियो ज्यान मारेर
घिसारेरै लगी रौरव, छुवायो आज तकदिरले

म को हूँ को थिएँ भन्ने,भयो ऐले कथा जस्तै
घचेटेरै भङ्गालोमा, डुवायो आज तकदिरले

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Baidyanath Upadhyaya – Samjhana Ko Jhyal Bata

वैद्यनाथ उपाध्याय – सम्झनाको झ्यालबाट

म हेरिरहेछु
तिमीले वेवारिस
लाचार बनाएर छोडेका
एक एक शब्दहरूलाई।

तिमी अरूलाई
जातीय हितको कुरो सम्झाउथ्यौ
भाषा साहित्य र संस्कृतिको
जगेडा गर्नुपर्छ भन्थ्यौ
शब्दहरूको जाल बुन्दै
घोक्रो सुकुन्जेल
भीडमा चिच्याई चिच्याई
भन्दै हिडथ्यौ
हामीले जातीय चेतनाको
विकास गर्नुपर्छ।

म आज
तिमीलाई तिम्रै शब्दहरूको
शोक सभा देखाउन चाहन्छु।
भाषा साहित्य संस्कृति प्रति
तिम्रै निर्लिप्तताले
लाचार, विवश र हीन भयेका
ति शब्दहरूले
आश्रयहीन, बुभूक्षु र निर्वस्त्र
दोबाटोहरूमा
जिजीविषाहरूको मृत्युशोक
मनाइरहेको यो दृश्य
मेरो सम्झनाको झ्यालबाट
च्याइरहेछ।

संवेदनाको खडेरी परेको
संक्रमणको
यो समयमा
म अति लाचार छु
म मेरो संझनाको झ्याल
बन्द गरिरहेछु।

Keshav Baniya – Charo Ra Mero Kaal

म अब केहि शुरु गर्न चाहन्न,
मै हिडी आएको, त्यो बाटो पनि बिर्सन
चाहन्छु,
मेरो अगाडी चारो उडिरहेको छ,
म आकाशमा उसको बाटो कोरिरहेको छु,
बस्, यहीं अडियोस,
यहि परेवाको असिमित बाटो रहोस र,
अनि, मेरो असिमित कालखण्ड,
यहि बनोस मेरो जीवनको एकमात्र,
सफलता,
सोच्न केहि नपरोस,
सोचूं त् मात्र केवल त्यहि चारो निमित्त,
दुनियाँलाई एक निमेष पनि हेर्नै नपरोस्,
दुनियाँको पैंचो सास समेत फेर्नै नपरोस्,
म सर्जक बनु,
चारो प्वाँख फडफडाओस्,
मा हेरिरहुँ,
मलाई हेरे जस्तै,
दयरिक्त, लाल आँखा नपल्टाई,
माथि बाट,
बाटो कोर्ने,
मेरो सर्जकले,
सोच्दैमा,
ड़वांग आवाज निस्कियो,
कान सुन्नै भयो,
चरो घुमिरहेछ,
अलि तिव्र,
गुरुत्वानुकुल,
फर्की हेरेको,
अर्को सर्जाम युक्त सर्जक रहेछ,
तर बाटो मेट्ने,
वर्तमान मेट्ने,
आखिर चरोले जमिन भेट्छ,
पछ्याउदै उस्को कालो प्वाँख ,
मैले वर्तमान भेटे जस्तै,
म हुन्छु चंख स्वप्न गगनबाट,
अनि पछ्याउदै मेरो काल।

Dr. Suraj Niraula – Desh ra Dusta

डा. सुरज निरौला – देश र दुष्ट

मेरो देशभित्र सलबलाएका
पाखण्डीहरुको गलामा
१०८ को लगाम कसिदेऊ ।
चम्चे टेकुवा टेकेर चढेकाहरु,
टेकिएका अाफ्नै धरातल
बारम्बार छाम्ने गर,
दलदल माथि ठडिएको तिम्रा संरचना
क्षणभर मै टुट्न सक्छ ।
अध्यारो कुवामा रुमल्लिएकाहरु,
अल्पज्ञानमै त्यसरी चिच्याउने नगर,
तिम्रा खोक्रो अावाजको भुमरीमा
कैयौ निर्दोष फस्न सक्छ।
अत्याचार र भ्रष्टाचारको कालो करतुतमा
रमाउनेहरु,
सर्पले एकदिन तिमीलाई नै डस्न सक्छ ।
यी ब्वाँसोहरुको चङ्गुलबाटै
मेरो देश लुछिन सक्छ ।
सोच्ने गर्छु,
ठाँऊ ठाँऊमा फुटेको मेरो देश
टाईटेनिक झै एकदिन डुब्न सक्छ ।

तिम्रा समाजका विकृती
अनि कुरितीका पाठ भो
मलाई अब नपढाऊ ।
तिम्रा इर्ष्याले घोचेको मेरो मन
पटक पटक अझै चस्किरहन्छ ।
मेरो पसिना पिएर जिउने तिम्रो प्रवृती
तारोमा राखेर एकपटक पट्काउन मन लाग्छ ।
नरभक्षी भई तिम्रा छाती चिथोरेर
रगत पिएरै बर्षौको प्यास बुझाउ झै लाग्छ ।
सोच्नेगर्छु,
अरिङ्गालक‍ो झुन्डबाट
चटक्क मेर‍ो देश छुटाउन मन लाग्छ ।

तिम्रा दलगत, व्यक्तिगत
स्वार्थले छियाछिया पारेको मेरो देह
अनि तिम्रो सत्ता लिप्साले
अाजित मेरा मस्तिष्क अब धेरै नचर्काऊ ।
नकुदाऊ मेरा पाइलाहरु,
नदेखाऊ अब मरुभूमीको मृगतृष्णा ।
नेपाल अामालाई दुष्टहरुको
चङ्गुलबाट छुटाई सुटुक्क बोकेर
हिमशिखरबाट बग्ने पारदर्शी
कञ्चन पानी सँगै
कलकल बग्न मन लाग्छ ।
प्रातः कालको पंक्षीहरुका संगित
मिश्रित मन्द पवनको स्पन्दन् सँगै
उनकै काखमा लुटुक्क
निदाउन मन लाग्छ ।
अनि विहान अाँखा खोल्दा
सूर्यको पहिलो लालीसँगैं
उनैलाई हेर्न पाए पुग्छ ।
सोच्नेगर्छु,
ग्वाम्लाङ्ग अङ्गालो मारेर
मेरो देश जोगाउन मन लाग्छ ।
दुष्टबाट देश बचाउन मन लाग्छ ।

Diyesh Ratna Shakya – Yo Hawa Kina Uttaulo Bandai Chha

दियेश रत्न शाक्य – यो हावा किन उत्ताउलो बन्दैछ?
                   
यो हावा किन आजकल
बढी नै उत्ताउलो  बन्दैछ हँ ?

मास्क लगाएको
मेरो नाकलाई गिजोल्न
बिहान सखारैदेखि
चोक / सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध
मकहाँ उडाएर ल्याउँछ

कार्बन उत्सर्जनले आराम लिएर
आकाश खुल्ला भएको
यो समयमा
म स्वागत गर्दै
मेरो शरीरभित्र फिजाउन चाहन्छु
-सगरमाथामा गाडेको नेपाली झन्डा
  छोएर अघि बढेको हावा
-लुम्बिनीमा बुद्ध पदचाप स्पर्श गरेर
 फर्केको हावा
-मन्दिरबाट धुपको सुगन्ध बोकेर
 उडेको हावा
-जंगलबाट लालीगुराँसको बास्ना
  टिपेर लम्केको हावा
तर अफसोच !
यो हावाले बोकेर आउँछ केवल
गर्मीले कुहिन लागेका गन्धहरु

पोखिन लागेको यो समयलाई
बाँधिराख्न
जब म ध्यान बस्न थालेको हुन्छु
यो हावा मुर्दाघरको गन्ध
मतिर उडाएर ल्याउँछ
यो हावा कहिले हुनहुनाएर आउँछ
मानौं मसंग थरिथरि मन्त्रको
ब्यापार गर्न खोज्दैछ
र सौदाबाजी नमिलेको निहुँमा
हुत्याउन खोज्दैछ

यै हावामा हुर्रिदै हरेक बिहान                                              
मेरो घरभित्र छिर्छ खबर पत्र
जसलाई पुछारसम्म पढ्न नपाउँदै
मैले तयार गर्नुपर्छ
मेरो दैनिकी
शोक पत्र वा बिरोध पत्र

म सोचिबस्छु
यो हावासंग सकिंदैन
जता पनि बहँदै यसले संसारभरका
डेमोक्रेसी कण्ठ पारेको छ
अथवा जानाजान यो असनको
अटेरी साँढे बन्न खोजेको छ

खोइ यै हावाले सिकाएरै हो कि
आजकल
फेसन /प्रशासन
राजनीति/ शिक्षा नीति
ब्यवहार/संस्कार
धर्म /कर्म
सबका सब उत्ताउलो भएको छ

मलाई शंका लागेको छ
यो हावाको अक्सिजन मात्रामा
पक्कै पनि
केही न केही तत्त्व मिसिएको छ
जुन मतिभ्रम छर्न काफी छ
निर्निमेष हेरिरहूँ
यो हावाको
अनुगमन गर्न
शुद्धीकरण  गर्न
कुन समय/कुन क्रान्तिसम्म
आफूलाई उचाल्नुपर्ने हो?

Baidyanath Upadhyaya – Ma Ta Malaami Hindi Rahechhu

वैद्यनाथ उपाध्याय – म त मलामी हिंडिरहेछु

म त
आफ्नै इच्छा-आकांक्षाहरूको
मलामी हिंडिरहेछु।

यो अपशकुन समयमा
सामर्थ्यको साँगुरो गल्लिभित्र
आत्महत्या गरिरहेका हुन्छन
अनगिन्ती अभिलाशाहरू।

जलिरहेकै छन चितासरी
विवशताको कात्रोमा लपेटिएका
मेरा चाहनाहरू।

धेरै सपना थिए
कुनै दिन
इन्द्रेणी सजाउने
आकाशभरी
जीवनको खुला फाँटभरी
नियतिको कोपदृष्टी परेको
यस घडीमा
भताभुंग मेरो गाँउ-बस्ती
छर-छिमेक सबैसंग
एक साथ
म त
आफ्नै इच्छा-आकांक्षाहरूको
मलामी हिंडिरहेछु!

Dr. Suraj Niraula – Aajkal Timi

डा. सूरज निरौला – आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
हरियो वन, रमणीय धर्ती मासेर,
षडयन्त्र, ईर्ष्या र स्वार्थको खेति गर्छन् रे ।
चाप्लुसी र भष्ट्राचार गर्न नजान्ने
सधै त्यहाँ पछि पर्छन् रे ।
हिजो आज !
सब् अनुहार ढाकेरै हिड्छन् रे ।
त्रसित भएर सब् कोठै भित्र लुक्छन् रे।
आफु बाच्नलाई
मर्दा पनि कोहि उठाउदैनन् रे ।
आफ्नै परिवार मै सिमित छन् रे,
मानिस फेरि उहीँ
जङ्गली अवस्थामै फर्किए रे।
के यो सत्य हो ?
सुन्छु, कोरोना पछि लागेकी छिन रे ।
भन त, आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
कोही पहिरोमा पुरिए रे,
कोही बाढी सँगैं बगे रे ।
कति भोकभोकै रहे रे,
कति अकाल मै मरे रे ।
प्रकृति पनि कति ईखालु,
कुकर्मको प्रतिशोध उनी,
आफ‌ै लिदैछिन् रे ।
सुन्छु, कोरोना पनि पछि लागेकी छिन रे
भन न, आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
जन्मिएर मर्दा सम्मको न हो जीवन,
त्यो पनि मरेरै जिउछन् रे ।
पैसा कै पछि मात्र दौडन्छन् रे ।
आफ्नै स्वार्थमा पौडन्छन् रे ।
आँशु अरुक‍ो देखेर हाँस्छन् रे।
आफु बाच्न अरुलाई मार्छन् रे ।
कन्चन पवित्र जल बग्ने खोलामा
प्रदुषित भावनाहरु बगाउछन् रे।
सब यन्त्र मानव भई जिउछन् रे ।
मानवता त हराई सकेको धेरै भो रे,
के यो सत्य हो ?
सुन्छु, कोरोना पनि पछि लागेकी छिन रे
भन त, आजकल तिमी के गर्दैछौ ?
धन्यवाद ।

(वी.पी.को.स्वा.वि.प्र., धरान )

Philos Sharma Paudel – Sandwich

फिलोस शर्मा पौडेल (स्पन्दन)  – स्यान्ड्विच

अपरिपक्व अक्षरमा उसले
लेखेको पत्र
मैले आफ्नो कोटको
दाहिने गोजीमा राखेकी छु
पत्र लेख्दा उसले भर्खरै
स्यान्ड्विच बनाएको हुनपर्छ
कागज थोत्रो हुनलाग्दा समेत
स्यान्ड्विचको त्यो सुगन्ध उस्तै छ
उसको याद आउँदा
कोटको गोजीबाट
पत्र झिक्छु
पत्रमार्फत उसको हात सुँघ्छु
उसलाई पाउँछु
अनि मन भर्छु
मलाई
उसले बनाएको स्यान्ड्विच
निकै
स्वादिलो लाग्छ
त्यो सुगन्ध
नितान्त आफ्नो लाग्छ

Buddhi Moktan – Shahid Ko Laskar Ma Dekhen Timilai

बुद्धी मोक्तान – शहिदको लस्करमा देखे तिमीलाई

शरदको भाइटीकामा आउछु भन्थ्यौ,
निम्ताको पत्र लेखे तिमीलाई
मुक्तिको खातिर लड्छु भन्थ्यौ,
शहिदको लस्करमा देखे तिमीलाई ।

भाइटीका मेरो उज्यालो नै होस्,
आँशुको Continue reading “Buddhi Moktan – Shahid Ko Laskar Ma Dekhen Timilai”

Chandra Gurung – Aama

चन्द्र गुरुङ – आमा

सुनाउँछिन् तल्लोघरे काइँली बज्यै
यसरी टकटक्याउँदै विगत
कि-
बिहेपछि बासित यो घर आइपुग्दा
निकै लजाएकी थिइन् रे
मेरी आमाको अनुहार !

भन्छिन् काइँली बज्यै-
त्यसपछि
आमाको आगमनपछि
हरक्षण
मुस्कुराउँथे Continue reading “Chandra Gurung – Aama”

Komal Bhatta – Pardesh Ma Pyaro Mutu (Nepali Gajal)

कोमल भट्ट – परदेशमा प्यारो मुटु (गज़ल)

परदेशमा प्यारो मुटु दुखाएर बसेको छु
अनगिन्ति कथा व्यथा लुकाएर बसेको छु

रातो दिन घोट्टीएर काम काज गर्दा खेरी
भोक प्यासले शरीरलाई सुकाएर बसेको छु

सबै सोच्छन विदेशमा पैसा फल्ने बोट हुन्छ
कस्लाई भन्नु स्वाभिमान नै झुकाएर बसेको छु

पूर्व जन्म बित्यो क्यारे सरसापटमा डुब्दा डुब्दै
यतिबेला त्यही ऋणलाई चुकाएर बसेको छु

घर भित्र कुकुर पनि अति बलियो भए जस्तै
झमटेकाछन सधैँ भरी घुकायेर बसेको छु

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Basudev Pulami – Desh Ra Kira

बासुदेव पुलामी – देश र किरा

देशको मानचित्र जस्तै छ
उसको नाङ्गो करङसितको छात्ती।

सर्व शिक्षा अभियानको
घोटालाले पिल्सिएको छ उसको जीवनको साउँअक्षरहरू
त्यसैले उसले कहिले जानेन
अ वर्णमालाबाट अधिकार
र आ वर्णमालाबाट आरक्षण बोल्नु।

स्कुल, ऱ्याम्स, सुग्घर लुगाफाटा र घेघेरानीहरू
उहिल्यै नै फ्याक्ट्री र कारखानाहरूले चोरेर लगिदिएको हो
जीवनमा कहिल्यै नफर्काउने गरी।

भोक, तिर्खा र पसिनाले लेख्छ उसले
देशको स्वादिलो तलतल
त्यसै स्वादमा जिब्रो पढकाएर खान्छ देशले खैनी
उसकै रगतको अलिकति चुना दलेर।

ढुङा, रोडा र बालुवामाथि
घस्रिरहेको त्यो नाङ्गो सिगानेकिरा लाग्छ देशलाई त्यसको रूप
तर त्यो रूपबाट देखिने देशको
प्रतिबिम्बलाई हेर्ने राष्ट्रपतिकोमा चस्मा छैन।

Simanta Lamihhane – Katha

सीमान्त लामिछाने – कथा

कथा उही हो
तिमि हामी त मात्रै दोहोर्याउदै छौ
नयाँ ढंगले
यदा कदा नयाँ भाषामा
कहिले आधा त कहिले पुरा शब्दहरुमा
सुगा रटाई गर्दै छौ
तिमि, म,ऊ सबै क्षड़ीक हौँ
मन भीत्र जन्मिने ति कोल्टेहरु मात्रै
आदिम काल देखि चिर स्थाई छन् यहाँ
नयाँ बोतलमा पुरानो रक्सि भरिए झैँ
भरिन्छौँ हामी समयको विभिन्न खोंचहरुमा
आदिम कालदेखिका विचार र चेतनाहरुले
अन्त्यमा मिल्क्याईन्छौ
रित्तिएर सडकमा फालिएको बोतल जस्तै
जो कुनै बटुवा आएर लात्ताले हानेर फुटाएर जान्छ॥

अमेरिका

Krishna Sen Ichchhuk – Aaiti

कृष्ण सेन ‘इच्छुक’ – आइती

परेला रुझेको तिम्रा आँखामा
असीम पीडा छैन
यो पनि म भन्दिनँ
पीरले भक्कानिएको तिम्रो मुटुमा
असह्रय वेदना छैन
यो पनि म भन्दिनँ
पानी दर्किरहेजस्तै तिम्रो मन धर्किरहेछ, आइती
तिमी रोइरहेकी छौ/आँसुकाढिरहेकी छौ
आज तिम्रो सिउँदोको सिन्दूर पुछिएको छ
तिम्रो रहर खोसिएको छ/तिम्रो खुसी खोसिएको छ
मालीबिनाको फूलबारीमा मैलोजस्तै एक्ली छौ, आइती
आज तिम्रो उमेरको जोली खोसिएको छ ।

पहराको निर्जन फूलजस्तो तिम्रो जीवनमा
विपत्‌को पहिरो गएको छैन
यो पनि म भन्दिनँ
विरहले जलेको व्यथित तिम्रो ह्दयमा
सन्तापको वज्र परेको छैन
यो पनि म भन्दिनँ
आज तिमी हैन मेरो जीवनै उजाडिएजत्तिकै उदास छु म पनि
आइती, तिमी नै भन तर रोएर के हुन्छ ?
रहरहरू जलेर खाग भएझैँ बेहाल तिम्रो छातीमा
घात–प्रतिघातको हुन्डरी चलेको छैन
यो पनि म भन्दिनँ
मन भरङ्गिएको शोकसन्तप्त आलो यौवनमा
विषादको हुरी बहेको छैन
यो पनि म भन्दिनँ
आज तिमी हैन मेरो संसारै बिरानिएजत्तिकै विह्रवल छु म पनि
आइती, तिमी नै भन तर पीर गरेर के हुन्छ ?

यो वर्ष
बाँधेर आँसुले हितको मायालाई
ऊ जाने बाटो छेकेकी थियौ तिमी
साहूको पेचले रन्थनिएको खसमलाई
अँगालोको छाँदले बेरेकी थियौ तिमी
गरेर छियाछिया विदीर्ण मुटुलाई
ऊसँग दसबिन्ती हात जोडेकी थियौ, तिमी
तर, तिम्रो शिरको स्वामी
विवशताको चोट र मर्दको इखले
जाल फाँडेर मुक्ताकाशमा उडेको पन्छी झैँ
वेग हान्दै लाहुर गएको थियो
निष्ठुरीजस्तै तिम्रो हितको परानी
तिमीलाई छाडेर दूर कतै भाउन्निएको थियो।

जस्तो कि
सानैमा टुहुरा हुने
यस देशमा असङ्ख्य नाबालक छन्/तिनलाई हेर
बैँसमा अबलाको जिन्दगी गुजार्ने
तिमीजस्तै हजार न हजार विधवा छन्/तिनलाई हेर
आर्जन खान नपाउँदै तन्नेरी छोराको
निःसन्तान भईमर्ने
पितृजस्तै वृद्ध मातापिता छन्/तिनलाई हेर
के पाए र तिनले पनि तिमीले जस्तै ती लाहुरेबाट
दसधारा आँसुको भाराबाहेक
के छ र तिनीहरूसँग पनि तिम्रो जस्तै
कष्ट, क्लेश र पीडाबाहेक
आइती, दुःखको भारी र चिन्ताबाहेक ।

यसरी, ती जो लाहुर गएर
अर्कैको मुलुकमा पसिना बगाउने गर्छन्
तिनको पसिनाले खडेरीमा
आफ्नै घरको एक बित्ता बारी भिजे कति हुन्छ
ती जो अर्कैका लागि
नाहकमै लडेर व्यर्थैमा मर्ने गर्छन्
तिनको रगतले आफ्नै देशका
बन्जर, मरु र टार रातै पारी सिँचे कति हुन्छ
आइती, अब त मुख फोरेर बोलिदेऊ
पराईको लाखमा घिनले बाँच्नुभन्दा
आमाको काखमा हाँसी–हाँसी मर्न सिके कति हुन्छ ।

Nawaraj Subba – Prem Sambandhi Chhota Kavita Haru


एउटा तारा हो
टाढा भए शीतल
र नजिक भए गर्मी दिन्छ ।


देउताहरू स्वर्ग जाँदा
छाडेको एउटा नासो ।


सुनको जलप लगाएको
बन्धकी राखिएको
एक पित्तले औंठी ।


फूल जो आफू अनि
अरु पनि जन्मिएको
अनुभव गर्दछ ।


हृदय
जो न्याउलीझैं बास्छ
र झरनाझै बग्छ ।


त्यो वस्तु
जो उमेरले चिनाउँछ
अनि एकान्त मन पराउँछ ।


एउटा देउराली
कसैले टेक्छन्
कसैले ढोग्छन् ।


चलचित्रमा अनुमान गरिएझैं
उही दोहोरिने कथा ।


यताबाट हेरे बादल
उताबाट हेरे इन्द्रेनी
यो घामपानीको खेल ।

ViBid Rose – Mitra Sangako Sambad

मित्रसँगको संवाद

आत्मदया त किन गर्थेँ र हे मेरा परम मित्र
दोबाटोको अपाङ् कुकूर त भोलिको दिनसगँ जुझ्न
भोको पेट लिई स्वाभिमानका साथ सुतिरहेछ मस्त ।
बरू घृणा जरूर हो, लज्जा पनि हो, आफैँसगँ
असफलताको सघाँरमा मुर्छिएको देशमा
भाग्य खोज्दै बरालिदाँको पीडा हो चसक्क ।

म निदाउन नसक्ने त्यही जून मुनि हो मित्र
त्यही जून मुनि, त्यही शीतल बतास मुनि,
जहाँ ब्यास ऋषीले रचे पौराणिक इतिहास ।
जहाँ अत्याचार र पराया दासत्व नस्वीकार्ने
वीरवीरङ्गना लडाकुहरूले बगाए रगत–
मेरो लाचार जीवन हो पुर्खाहरूको उपहास ।

आफ्नैहरूको दासत्व चुपचाप नदेखेझैँ,
टूलूटूलू लाटा र पापा चुट्किलाको पात्रझैँ,
सुनी बसेको छु बलात्कृत चेलीको क्रन्दन
नसाभित्रको शुरो रगतले माग्दैन न्याय
भोको छ विलाश र द्रब्यको, पीशाचझैँ,
निर्लज्ज हेर्दछु बलात्कारीहरूको रमझम ।

तिमी देख्छौ मित्र जीवन सुन्दर
सिदान्तमा असम्भव मित्रता हाम्रो
मात्र कुरूपता देख्छु म जहीँतहीँ ।
तिमी निदाऊ मित्र, म जागै बस्छु
उदाउँछ भोलि कुरूप सुर्य, लोकाचार
मा होमा हो बराबर थाप्नुछ सही ।

Ishwar Ballav – Ujyaloko Gufa

ईश्वर बल्लभ – उज्यालोको गुफा

प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।
यद्यपि यात्रा प्रारम्भ भयो !

तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको Continue reading “Ishwar Ballav – Ujyaloko Gufa”

Sagar Kafle – Mero Tesro Ankha

सागर काफ्ले – मेरो तेस्रो आँखा

मेरो तेस्रो आँखा
तिम्रो दुबै आँखाले देख्दैनन् होला

म नाचि रहेको छु, दौडिरहेको छु
तिमि अगाडिनै
मैले छोई सकेँ मनहरु, आत्माहरु

तिम्रो स्वचलित साधन सँग
म पसिनाबाट दौडने व्हिलचेयरले
बाजि मारेर भन्छु
तिमि स्वबलम्बि भन्दा
‘म’ एक इन्च पछाडि छैन

Context – International Day of Persons with Disabilities (December 3rd)

 

Rajab – Shahar Ra Gaun Ma Bihana

शहरको बिहानमा
चराहरू बोल्दैनन्
त्यस कारण गाउँको र
यहाँ शहरको
बिहानमा फरक छ
गाउँको
बिहानमा
घरका खोपाका चराहरू
दैलि अगाडिको पैयुं को बोटमा
झरिसकेका हुन्छन्
र आँगनमा
फाट्टफुट्ट
छुटेका अन्नका दानाहरू
ताकिरहेका हुन्छन्
फरक छ
शहरको
र गाउँको बिहान
गाउँमा
बिहान हुनेबित्तिकै
चराहरू बोकेर रुखहरू कराउन थाल्छन्
आमाहरू कोप्रामा बच्चाहरू छोडेर
डोकोमा
गाग्री हुलेर
कुवातिर
झर्न र उक्लन थाल्छन्
सूर्यकिरण
पिंढी र तुलसी मठमा
टोलाइरहेको हुन्छ
आँगनमा
पाठा–पाठी र
घरका भुराहरू रमाइरहेका देखिन्छन्
शहरको बिहानमा त
घर–घरका सेरामिक ट्वाइलेट्सका
फ्लसहरू कराउन थाल्छन्
बाहनहरू धूवाँ उडाउन र
मानिसहरू पुनः
दिनभरिको कोलाहलको तयारी गर्न थाल्छन्
मुख्यतः गाउँको बिहानमा
चराहरू
र शहरको बिहानमा
बाहनका इन्जनहरू कराउन थाल्छन्
शहरको बिहानमा
घरघरको छानोले
घरघरलाई छेक्दै
सूर्यकिरण परै बसेको देखिन्छ

२०५२ कात्तिक

Sangeet Aayam – Pariwartan

भर्खर भर्खरै हो
मान्छेहरू नाच्दै सडकमा
विजयोत्सव मनाउदैछन्
भर्खर भर्खरै त हो
भनिन्छ, मान्छेहरू अब रैतीबाट
मालिक हुन पाएका छन्
जतासुकै हातहरू उठिरहेछन्
जुन हातहरूले सधै सधै
मुक्तिकामी गीत मात्र गाएका छन्
लाग्छ, अब तिनै हातहरूले
तानाशाहका बर्बर कथालाई
निसाना साध्नेछन्
चारैतिर खुट्टाहरू दौडिरहेछन्
जुन खुट्टाहरूले सधै सधै
इतिहास बदल्ने लडाइ“ मात्र लडेका छन्
लाग्छ, ती खुट्टाहरूमा झुक्दै
जङ्गली इतिहास घोप्टो परेर
याचना गरिरहेछ
दृश्यहरू उही रहेनन्
परिदृश्यहरू त्यस्तै छैनन् ।
के साच्चै नै अब
देशको पीडाले
निकास पाउने भयो त ?
के वास्तवमै
इतिहासको शैली अब
प्रायोजित नहुने हो त ?
के साच्चै नै अब
समयले आतङ्कका कथा
लेख्नै नपर्ने भयो त –
के वास्तवमैं
शक्तिरूपी तानाशाह बन्ने क्रम
रोकिएकै हो त ?