Prashanta Kharel – Anido Ma

प्रशान्त खरेल – अनिदो म

रातको निस्तब्धतामा
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।

ओभाएको तिम्रो शरिरमा
पसिना लतपतिएको चिन्ह
मधुर उज्यालोमा
प्रस्टै देखिन्छ
उसका आयातित
बस्त्रहरू भन्दा पनि
सुन्दर देखिरहेछु म

हावामा फैलिएको
पसिनाको
एकतमासको गन्ध
लट्ठ बनाइरहेको छ मलाई
खै उसका अत्तरहरू
अचेल किन
उति सुवासिला लाग्दैनन् ।

तिम्रो गठिलो शरिर
ठेला उठेका
हत्केला र पाइतालाहरू
जिस्काइरहन्छन्
उसको सुन्दरतालाई
टाढै बाट

ताता स्वासहरू
न्यानो सामिप्यताको
भोक जगाउन
सक्षम छन्
चिमोट्दै उसको
न्यानो आलिङ्गन ।

तिम्रो थकित वय
निस्फिक्रि विस्तारामा
तृप्त छ
ललकार्दै उसका
रातका छटपटिहरू

सन्तुष्टिका रेखाहरू
चम्चम् चम्किरहेकाछन्
तिम्रा निधारमा
खिज्याउँदै उसका, मेरा
अनगिन्ति अतृप्त
भोकहरूलाइ, सपनाहरूलाई ।

उफ् ! यो रात
विहानी कहिले होला ?
दियोको तेल
निख्रदैछ
विस्तारै विस्तारै
तैपनि
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।।

गौरादह ४, झापा

R M Dangol – Dash Gajaa Wari

आरएम डंगोल – दशगजावारि

एकजना जँड्याहाले मेरो हातबाट
मेरो कविताको एउटा शिर्षक खोस्यो
र, ठूलो स्वरले पढ्यो-
दसगजावारि …
र, थप्यो एक हरफ-
‘कालापानीपारि’

म झस्किएँ
मेरो अधुरो कविताको शिर्षक
र उसको संवेदनशील मस्तिष्क
सम्भवतः ऊ जाँड खाएको अभिनय गर्दै छ

मैले बुभेँ
उसले जाँड खाए पनि नखाए पनि
ऊ पनि एक नेपाली नै हो
त्यसपछि मैले सुरु गरेँ…

दसगजावारि
हामी मेलम्चीको बिम्बले तिर्खाएका मानिस
हामी कारगिलको बिम्बले आतङ्कित बस्ती
आफ्ना घाउको डिलमा उभिएर
बेवारिस नदीमा डुबुल्की मारिरहेका
हामी, हाम्रो बाँकी दुनियाँसँग बेखबर
धेरै टाढा छौँ जस्तो लाग्छ
तर सुदूर अर्को किनाराको घाउ
हामीलाई नै किन दुख्छ हँ ?
किन कोसोभोको घाउले हामीलाई नै चहर्याउँछ –
अभावको यो हीनग्रन्थि पालेर
हाम्रा खुकुरीको धारबाट
स्वार्थको नदी बगिरहेको बेला
हामीलाई हाम्रो आकाश हेर्ने फुर्सद छैन
सत्ताक्रीडाको यी आकाशे पुलहरूमाथिबाट
हामीभन्दा माथि देखिने
ती विदेशी हार्मोनले अग्लिएका झैँ देखिने सगरमाथाहरू
‘कामसूत्र’ विज्ञापनबोर्ड बोकेर
हामीमाथि लादिएका ती स्वयम्भू डा“डाहरू

यी हल्लाका हावा
यी खान्दानी सा“झ
रगतमा हार्मोनको कमीले पहेँलिएका
हाम्रो शिरमाथिको अस्ताउँदो घाम
हामी प्रौढावस्थामा झैँ घाम ताप्दै छौँ

दसगजावारि
पीडा र व्यथाका यी मट्टितेल लाइनहरूमा
खै हाम्रा पाइतालाहरू कहाँ छन् !
हाम्रा लहराजस्ता सपनाहरू
टेको लगाउने ती थाँक्राहरू कहाँ छन् !
थाहा छैन
हाम्रा जराहरू दसगजावारि छन् कि पारि छन्

सत्ताक्रीडाको यो अगम्य जङ्गलबाट
वर्षौँ अघिदेखिको उही पुरानै नालायक नारा
हामी भीमसेन थापाको काँधमाथि
सत्ताक्रीडाको भर्याङ चढिरहेछौँ
दसगजावारि, कालापानीपारि
खै हामी कहाँ छौँ ?

मेरो कविता अझै अधुरो छ,
त्यो जँड्याहाको हातमा पर्यो भने
मेरो यो कवितामा अझ धेरै कुरा थपिनेछन्
म उसैलाई पर्खिरहेछु ।

Rakesh Karki – Mero Sanhilo (Nepali Geet)

इन्जिनियर राकेश कार्की – मेरो साहिँलो

बगेको खोलो हजुर फर्की आउँदैन
बितेपछि जोवन हजुर लर्की आउँदैन

मेरो साहिँलो कता गयो लाहुरे भएर
बनाउँछु भन्थ्यो झुप्रो चाँडै आएर
टाढा टाढा उदङ्गीएको बन फाँडेर
आयो कि त भनि हेर्छु आँखा तानेर

बगेको खोलो हजुर फर्की आउँदैन
बितेपछि जोवन हजुर लर्की आउँदैन

कमाउँदैमा बिर्स्यो होला खबर गरेन
बिहे त गर्यो मन पर्यो परेन
मासिएछ कोइली पनि शुन्य बनैमा
आई साथै लान्छ कि त आशा मनैमा

बगेको खोलो हजुर फर्की आउँदैन
बितेपछि जोवन हजुर लर्की आउँदैन

– लस् एन्जेलस्

Shyamal – Aba Kahan Jane

अब कहाँ जाने ?
केश बनाइसकिएको छ
र दलिसकिएको छ अनुहारमा क्रिम
कपडामा छरिएको छ सेन्ट
र ऐनामा सयौँ पल्ट जुधेका छन्
आफ्नै आँखाहरू
शृङ्गार सकिएको छ
सुन्दरी, अब कहाँ जाने ?
सडकमा
सलबलाइरहेछन् युवाहरू
सिकारको खोजमा
तिम्रो शरीरको आरोपित सुगन्धको
विषालु उन्माद
छरिनेछ हावामा
र पुग्नेछ उनीहरूको नाकसम्म
शृङ्गार सकिएको छ
सुन्दरी, अब कहाँ जाने ?
जताततै फोहोर छ
भोकै छन् मानिसहरू
र तिम्रा बहिनीहरू सस्तोमा बेच्छन्
आफ्नो जवानी
मानिसहरू पछारिएका छन्
सडकमा
र झन्डा उठ्दै छ सहिदको
निर्जीव हातबाट
जताततै फोहोर छ
तिमी जति छर्क
आयातित पफ्र्युम अनुहारमा
जतिसुकै छर्क
झन्– झन् कुरूप हुँदै गइरहेको देख्दै छु म
भित्रभित्र धमिराले खाएको
काठको सुन्दर मूर्तिझैँ तिमी र यो देश
दुवै छन् यहाँ
तिम्रो शृङ्गार सकिएको छ
सुन्दरी, अब कहाँ जाने ?

Sarubhakta – Samprati Mrityu Utsab Haru

जिन्दगी
एस्–ट्रेभित्रका विद्रोहहरु
ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा
शुभ–साइत दुर्भाग्यहरुको
च्याउको रुख चढ्दै
गलगाँड सुन्दरीहरु रगतको नदीमा
माछामार्दै छन्
वन्दी प्रत्यक्षीकरण रिटः मिसिलविना
औद्योगिक जोगीहरु सुरुङभित्र धरहराहरु
उत्पादन गर्दैछन्
अवशिष्ट गौरवगाथाः जाउँ वरु भाडाका
टट्टु वनी विक्नलाई
हामीसित देशमा वालसैन्य छँदैछ
काञ्जीहाउस इफेक्टः सन्निकट शनीका घेराहरु
टेलिस्कोपमा आँखालाई हेर प्रत्यक्षकृत
हुनेछन् – अन्तरिक्ष गोरुगाईहरु
ग्रामिण महाभारतः एउटा सिङ्गो जाती
देश छोडेर कता जाँदैछ ?
सम्प्रति मृत्यु उत्सवहरुमा के जिन्दगीका
भाउ लाइदैछन् ?
जिन्दगीको हाटबजारः सस्ता बमहरु विक्रीमा छन्
के गर्ने, रानीपोखरीहरु देखिन्छन्
आँसुपोखरीहरु देखिदैनन्
द सेकेन्ड सेक्स – भाइटल नापका विस्फोटनहरु
किन एउटा सिङ्गो मानवमा
गुणसुत्रहरुमा विभाजित छ ?
नकरा !
कति ‘बुद्ध ! बुद्ध !’ कराइरहेको
आजभोलि बुद्धभन्दा कम्प्यूटरहरु
ज्ञानी छन् ।

Rakesh Karki – Chari Kati Ramri (Baal Gajal)

इन्जिनियर राकेश कार्की – चरी कति राम्री (बाल-गजल)

लु खेलु यता आउ चरी कति राम्री
चिटिक्क अहो सुन्दरी कति राम्री

ति रङ्गिन मोहक सबैतिर झलझल
सजाइ पखेटा भरी कति राम्री

कुरा अति प्यारो सुनाइन चिरबिर
छ गुञ्जन नानाथरी कति राम्री

फुरुक्क हुदै फुर्र फुर्र उडेको
बतास चलाइ सरसरी कति राम्री

बसेछ नि हातमा मुलायम कस्तो
खुशी कि तिमी हौ परी कति राम्री
——————————————
(बहर : मुतकारिब मुसम्मन् मक्बूज ख
सूत्र : फऊलु++ + फऊलुन् +‍ फऊलु++ + फऊलुन्++++
ISI ISS ISI ISS )
——————————————

Rabindra Nath Thakur – Timro Sukha Mero Adhin [From Geetanjali]

तिम्रो सुख मेरो अधीन
तिम्रो खुशी ममाथि नै अवलक्बित छ !
तिमी मसँग भेट्नलाई तल झरेका छौ !
हे लोकेश्वर ! म न भएको भए तिम्रो म कहाँ हुने थिएँ ?
मलाई तिमीले आङ्खनो संसार–वैभवका भागीदार बनायौ, मेरो अन्तर
तिम्रो अनन्त क्रीडा–भूमि हो ।
मेरो जीवनमा तिम्रो लीला विविध रुपमा व्यक्त भइरहेछ ।
मेरो ह्दयलाई वश गर्नाको लागि नै तिमीले सुन्दर अलंकारहरुद्वारा
आफूलाई सजाउँछौ ।
तिम्रो प्रेम भक्तहरुका प्रेममय ह्दयमा पाइन्छ । तिम्रो मूर्ति पूर्ण
मिलनको समयमा पनि सबैभन्दा पृथक् प्रकाशित हुन्छ ।

Sangeeta Ghimire – Man Lage

सङ्गीता घिमिरे – मन लागे
(मधुपर्क २०६६ चैत)

धेरै भयो छुट्टीएको सँगै बस्न मन लागे
औँसीको रातमा आउनु अरु कसैको लाज लागे ।
बर्षौं बित्यो बिपनीमा एकसाथ नभएको
सपनीमा आउनु है त्यो समाज धक लागे ।
मीठामीठा Continue reading “Sangeeta Ghimire – Man Lage”

Laligurans – Jali Maya

लालीगुराँश – जाली माया

समाजको बन्धन छोडी
नाता सम्बन्ध सारा तोडी
साथ दिएँ उसलाई
सुखी जीवन बिताउँला भनी
तर निर्दोष मेरो मायामा
बिना बर्षातै पहिरो गएछ
उसका सबै वाचा र कसम
तृष्णाको भेल भै बगेछ ।

निरस Continue reading “Laligurans – Jali Maya”

Kewalpure Kisan- Ghorindai Ghorindai

केवलपुरे किसान – घोरिँदै घोरिँदै

के दिनमा पसेछु सहर, सहर पस्न मलाई थिएन रहर
लाउन खान टिबिल टिबिल छेलोखेलो होइन
पाखोबारी राम्रै थियो धान फल्ने चाहिँ होइन
गुजारा चाहिँ चल्थ्यो चल्थ्यो मरिहत्ते गर्दा
त्यहाँ बस्न मन लागेन बूढी थला पर्दा

अहिले पनि सम्झना भैरहन्छ मेरो केवलपुर
त्यतैतिर फर्कौं क्यार के छ तिम्रो सुर ?

अहिले पनि उस्तै छौ कि अलि राम्री भयौ
मैले छोड्दा तिमी अलि साँक्क सुँक्क रोयौ
आजसम्म जिउँदै छ है तिम्रो कोखको घाउ
तिमीसित झुम्मिनलाई गर्दै छ है दाउ

बेला बेला सम्झना भैरहन्छ सम्झना भैरहन्छ
मुटु केवलपुर म आउँ क्यार तिमीतिरै के छ तिम्रो सुर

आजसम्म उस्तै छन् कि ती बारिका पाटा
मेटिएका छन् कि छैनन् रगतका टाटा
दुइतिरको चेपुवामा कसो परिनछौ
त्यत्रो गडबड हुँदा पनि तिमी मरिनछौ
कोल्पुखोलो सोधिरहन्छ भन्थ्यौ तिमी पैले
पौडी खेल्न सिकाउँथ्यो सम्झना छ अैले
सलिन डाँडो के गर्छ हँ गाई चराउने पाखो
छहारीमा सुत्दा सुत्दै म गोठालो भा’को
ऐँसेलु खुब खाको
मेरो मुटु केवलपुर
फाल हालौँ कि कुनै दिन के छ तिम्रो सुर
नागढुङ्गाको छेडोबाट चियाउँदै हेर्छु
बाहिरतिर जाँदा बढी सास लामो फेर्छु
धार्के पुग्दा त्यै उकालो उक्लौँ उक्लौँ जस्तो
बुढेसकालको फितलो मन केश पाके जस्तो

कठैबरी माया लाग्छ मेरो केवलपुर
हस्याङफस्याङ आइपुग्छु कि पर्ख केवलपुर

बुढो कैले खुर्मुरिन्छ मन्मा कुरा खेलाऊ

Hari Govinda Luitel – TV Jyada Herera [Nepali Bal Kabita]

टि.भि. ज्यादा हेरेर
पढाइ बिग्रियो
टि.भि. ज्यादा हेरेर
लेखाइ बिग्रियो
हाम्रो सानो बाबुको
जाँचै बिग्रियो

यता रैछ सिरियल
रेस्लिङ, जादू, कमेडी
अन्ताक्षरी, फेसन शो
उता रैछ दोहोरी

किचिक्क रिमोट थिचेर
यता कार्टून लगायो
किचिक्क रिमोट थिचेर
उता म्यूजिक लगायो

‘ज्यादै हत्ते नगर्नू
ठीक्क मात्र हेर्नू
धेरै नजीक नबस्नू
टाढैबाट हेर्नू
-सझाउँदा नि रिसायो
चोसो पसार्यो
-बुझाउँदा नि रिसायो
झर्को देखायो

जथाभाबी हेरेर
बानी भाँडियो
पढाइतिर लाग्ने मन
अन्तै बाँडियो

हाम्रो सानो बाबुको
जाँचै बिग्रियो
चश्मा लाउनु पर्ने भो
आँखै बिग्रियो ।

Gokul Bhandari – Hami Mare Pani Hamro ANESAS Rahi Rahos

गोकुल भण्डारी – हामी मरेपनि हाम्रो अनेसास रहिरहोस्‌

“नेपाली खसको मात्रै, अरुले बोल्नु हुन्न त्यो
पञ्चायती प्रशासन्‌को कालो षड्‌यन्त्र मात्र हो
लादियो यो जबर्जस्ती, गोली ठोकेर माथमा
नबोल्ने जतिलाई चै, बांधियो नेल हातमा “

यस्ता विद्वेषले व्याप्त हल्लाले देश ग्रस्त छ
देश टुक्राउने तत्व यस्तैमा आज व्यस्त छ
अस्ती सम्म थिए हाम्रा देवकोटा, महाकवि
उनै व्यक्ति भए आज, सामन्ती खसका कवि ?

नेपाली जनजिब्रोले मालती मंगले टिप्यो
मुना मदनको रोदन्‌ कस्बाट, कहिले छुप्यो ?
यी दुबै कृति लेखीए नेपालीमै भनेपछी
आज चांहि्‌ अकस्मात, किन दुर्दुर्‌ छिछि छिछि ?

यो सबै क्रोध, अज्ञान, स्वार्थका वशमा परि
प्रतिक्रिया त्यसैको नै देखिदैंछ घरी घरी
फर्की हेर्छन्‌ कुनै जाती, एक्‌ डेड्‌ सौ सालका कुरा
कोही देख्छ्न्‌ कबिलामा हिडेको बन टाकुरा

आफ्नो संस्कृति, भाषाको मोह गर्नु गलत्‌ कुरा
नलागोस्‌ अर्थ यस्बाट, बुझ्ने हो कि पुरा कुरा ?
जगेर्ना संस्कृति भाषा गर्नु् ज्यादै जरूरी हो
किन्तु हौं अग्रगामी र सापेक्षी बर्तमानको

बद्‌लिदै जान्छ भाषा र संस्कृति, देश कालमा
पैलेकै रुपमा फर्कौं भन्नेको आज जालमा
पर्यौं हामी भने हुन्छ, देश टुक्रा छरिबरि
त्यो बेला क्वै हुने छैन, फगत्‌ शत्रु वरिपरि

इन्टर्नेट र कम्प्युटर्‌ टिभी सर्वत्र फैलिए
के सक्छौं झिक्न तिन्लाई ? सबैको बोली भैसके
कर्णालीबाट निस्केको खस्‌ भाषा यसरी बढ्‌यो
अरुलाई लडाएर न कैल्है उच्च यो बन्यो

गुछ्छा हुन्‌ फूलका हाम्रा सयौं भाषा र भाषिका
नेपाली हो सबैलाई बांध्ने धागो समष्टीका
बिना धागो, बिना मियो एकता हुन्छ के गरी ?
टुक्रिए देश जिब्रोमा, आंखामा – जोडनु के गरी ?

आफ्नो सम्बृद्धीको निम्ति आफ्‌नै देश फुटाउने ?
भाइको रिसले गर्दा, शत्रु ल्याई लुटाउने ?
यो भन्दा दुर्नीति के छ ? विरोधाभास झन्‌ कति ?
खुट्टा काटेर उभ्भिन्छु भन्ने मूर्ख कति कति

नेपाली हौ्‌ सबै हामी, छरिए जुन्‌ कुना पनि
भाषाको सेतु चाहिन्छ, बोली बेग्लै भए पनि
एकताको बनोस्‌ केन्द्र, सबैको उन्नति गरोस्‌
हामी मरेपनि हाम्रो अनेसास रहिरहोस्‌

विण्ड्‌सर्‌, क्यानाडा
कृष्ण जन्माष्टमी, २००९

Damodar Pudasinee – Akshar Bina Ka Shabda Haru

दामोदर पुडासैनी किशोर – अक्षर बिनाका शब्दहरू

शरणार्थी चराझैँ उडिंरहेको बेला
भेट भएको हो हाम्रो
कँक्रिटको कुनै ओडारमा

भीड थियो
भीडमा साँझको बाँसको झ्याँगमाझैँ
कल्याँगकुलुँग गरिरहेथे सबैजना
भीडभित्रै भयो कसैको मौन सँझौता
त्यसपछि
एकको बाटोमा अर्को फूल रोप्न खोज्छ
एउटा जून हिँडिरहँदा अर्को रोशनी थपिरहन खोज्छ

समयको राजमार्ग बनाउँने  ठेक्का लिन पनि तयार
समयलाई काँधमा बोकेर
नयाँ धर्म प्रबर्तनको लागि पनि तयार
सँझौतापछि सारेगम भन्दा सुन्दर अर्को स्वर गुन्जिरहेछ

सँझौता अघि
सँझौता हुन्छ हुन्ननै थाहा थिएन
मौननै किन नहोस्
सँझौता भएपछि
उपस्थितिका भन्दा अनुपस्थिति हिसाबहरू
बढी प्रबिष्ट हुन थालेका छन् आ-आफ्नै खाताहरूमा

साक्षी सहितका लिखित सँझौताहरू भन्दा
साक्षी बिनाका मौन सँझौताहरू
सबल हुनेरहेछन्

समयसँगै यात्रा गर्दा
हृदयबाट मूल फुटिरहेछ अब्यक्त किनाराहरूको
अक्षर र शब्दहरूमा रूपान्तरित छैनन् ती कुनैपनि
शर्तहरूमा उल्लेखनै नगरि शर्त पालना गर्दैछ दोस्रो पक्ष

मनमा जून  उदाउँनुपूर्बको साँझ
र उभिएको जमिनको यादले सताइरहेछ
जहाँबाट फुटेथ्यो एउटा सुगन्धित मूल
किनारहरूबाट खडाभएथे धमाधम
सँझौताका मौन शर्तहरू

वासनासहित हल्लिरहेका फूलहरू
निष्कलँक उडिरहेका पँक्षीपँख पनि
सधैं समयसँगै पिछा गरूँन् भन्ने
शर्तहरू जागारहुन् भन्दैछ
बायाँपट्टिको अर्को किनार

मौन सँझौतापत्र
मनको अन्तिम भित्तामा
जोडदारसँग लेखिने क्रम जारी छ

जागा बन्दैछन्
अक्षर बिनाका शब्दहरू

-२०७६ बैशाख १९
जेनल होटल ,बिराटनगर

Homnath Pathak – Sikshya

होमनाथ पाठक – शिक्षा

पखालेर हिलो मैलो सफा वनाएर
शिक्षा दिन्छन् गुरुहरू पसिना बगाएर

तर ठान्छन् आज शिष्य धनले किनेको
मूल्य छैन गुरुहरूले बाटो देखाएको

शिकार आफै गर्न‘पर्छ गुरु सिकाउँछन्
अर्कैको आहारा खोस्न बरु रमाउँछन्

शिक्षकलाई छैन आदर मुन्टो बटार्दछन्
खुट्टो तानी सहकर्मीलाई त्यसै पछार्दछन्

जबसम्म पैसाको रवाफ रहने छ यहाँ
आमा बाबु गुरुहरू सम्मानित हुने कहाँ

Acharya Prabha – Khushi Le Hansa Anukul Timi

परदेशमा भए पनि, खुशीले हाँस अनुकूल तिमी
दु:खको भूमरीलाई हाँसोले नास अनुकूल तिमी ।

नसोँच कहिल्यै म मात्र, बिदेशको पीडामा छु सधैं
खुशीमा फूलको माला, प्रेमले गाँस अनुकूल तिमी।

छट्पटिमा बिते कठै! तिम्रो रात अनि दिन पनि
मनको पीडालाई, धैर्यताले मास अनुकूल तिमी ।

बगाउँदैछौ पसिना बिदेशमा, त्यो क्षणिक हो जान
तरै पनि देशलाई, मनमा टाँस अनुकूल तिमी ।

(यो गजल मैले अनुकूलको नामबाट प्रभावित बनी लेखेँ
१९/१९ अक्षरबाट प्रयास छ।समर्पित अनुकूललाई यो शिशु गजल)

Komal Bhatta – Sirjana Lai Khoji Khoji

कोमल भट्ट – सिर्जनालाई खोजी खोजी (गज़ल)

सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी

प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी

दुनियाँका आँखा भित्र छारो हाल्दै पित्तलमा
सुनको जलप लगाएर मोर्न थाले अचेल भरी

नभन्दानि अचाक्लीभो भन्दा रिसले भुत्भुताउँदै
मित्रतालाई झर्ल्यामझुर्लुम फोर्न थाले अचेल भरी

नैतिकता र इमान्दारी रछान माथि मिर्काएर
सच्चा होइन झुट्टा नाता जोर्न थाले अचेल भरी

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Chandra Kumar Ghimire – Mansoon Kavita

चन्द्रकुमार घिमिरे – मनसुन कविता
(असोज मधुपर्क, २०६८)

पानी र बैँस
मनसुनले भिसा के पायो
आकाशको मचानबाट
बादल फत्केर पानी
छानामा
छानाबाट बलेँसीमा
बलेँसीबाट करेसामा
मकैका पल्टनहरूमा
इस्कुसे आरोहणहरूमा
तप-तप-तप-तप
चुहिँदै
वाह ! छेड्यो पानीले शास्त्रीय राग
“झमझम पानी पर्‍यो असारको रात”
सुनेर मास्टर रत्नदासलाई
– ओदानमा सुतेकी दिलमाया
व्यूँझी
र अरब भासिएको लोग्ने सम्झेर
रोमाञ्चित भई
आँगनमा देखेर उसलाई
तर भ्रममा ।
– मध्यरातमा ब्यूँझेर
उमेरले खर्किएकी बिन्दुले
डिभी भरेको रात
हर्षको पँधेरामा गाग्रो भरी
मलेसियाबाट चाँडै फिर्छु भन्ने
पागल-प्रेमी सम्झेर ।
– नव-तन्नेरी दीपेश
अमेरिकी भिसाको भोलि अन्तर्वार्ता
नतिजाको अम्लीय-भय बिर्सिएर
त्यसैत्यसै भयो लीन
मिसिसिपीको सेरोफेरोमा
छुटेकी प्रेमिका भेटेर
तर मृगमरिचिकामा ।
– बूढा भक्तमान बमजन
लाहुरे बिदामा गाउँ फिर्दा
बँैसका मास्टरकार्ड च्यापेर
भरेका
पान्धारेका हाटहरू
मस्सऽऽमस्सऽऽ पिएका जाँडहरू
छिल्ल्िाएका मनसाइँलीहरू, सम्भि”mदै
गँडयौलोझैँ गुडुल्कियो विगतको ओढारभित्र
र खोक्दै बाथरुम जान लाठी खोज्न लाग्यो
तर नभेटेर अड्कियो ।
मनसुन जस्ौ के आयो
हुलिया गुमेको श्यामश्वेत तस्बिरमा
रूप फिर्‍यो
रंग फिर्‍यो
यो धर्तीको औकात फिर्‍यो
अहा ! यो के छुमन्तर भयो ?
जस्तो कि बूढो भक्तमानले
भुक्तान गरेको बैँस एकाएक फिर्ता पायो
युवा बैँकर भएर ऊ, कर्पोरेट अफिसभरि छरियो
ब्यूँझेर छाम्दा
भक्तमानलाई बूढो उमेर झन् घाँडो भो ।

Sharan Aansu – Mero Bato (Nepali Gajal)

शरण आँसु – मेरो बाटो

मेरो बाटो हेर्दा हेर्दै साँझ ढल्यो कि
आमा, तिम्रो स्नेह सुधा मुटु जल्यो कि !

संघारैमा परे पनि अँधेरीको छाया
रातैभरि मझेरीमा दियो बल्यो कि !

फैलाएर फेरि पनि कालो पखेटा
उडी जाने समयले तिम्लाई छल्यो कि !

जति कहर काटे पनि नपाएर सुख
मनभित्र विरहको हुरी चल्यो कि !

बिरह र बेदनाले खसालेर आँसु
दुख जिलो गर्दा गर्दै जीउ गल्यो कि !

Ashok Ghimire – Priya Najaru Ma

प्रिय नजरुमा

प्रिय नजरुमा
तिम्रो मुहार हेर्न लालायित यी आ“खाहरु
छयाप्पै भिजीसके ।
तिम्रो मृगतृष्णामा नथाकेका
लोलाएका मेरा कमजोर आ“खाहरु
दौडिरहेछन् एकोरोहो रेगिस्थानमा ।
तिमी अझै पनि सुन्दरताको
त्यही धारिलो कवचले छपक्कै ढाकिएकी छ्यौ ।
कालो बुर्कामा लपेटिएर
नछोपिएका ती दुई सुन्दर आ“खाहरुले म“लाइ
घरिघरि घुरिरहिछ्यौ ।
घरिघरि सताइरहेछौ ।
आफै“लाई लुकाएर अनि बचाएर ।

प्रिय नजरुमा तिमी किन
बुर्काको रंग घरिघरि परिर्वतन गर्दैछ्यौ
ठ्याक्कै एक फेशनेबल मोडल झै“
मेरो रोजांईको रंग ओढेर
किन फागु झै म“लाई बारम्बार हिलो छयापिरहिछ्यौ ।
लाग्दछ रातो सारी नै च्यातेर
बुर्काको लिवासमा ढिं¨ सजिएकी हौ तिमी
एक बेहुली झै“
बिल्कुलै रातो पारदर्शी बुर्का
जहा“ कुण्ठित रहरका झुमरहरु बेतोड हल्लिरहेछन ।

प्रिय नजुरुमा भो हटाइदेऊ
त्यो अनुहारको कृतिम कवच
र उडाइदेउ उन्मुक्त आकाशमा
तैरियोस् बरु त्यो हावाको तलाउमाथि
बगुन तिम्रा अनगिन्ती काला केशका राशिहरु
छरिएर हावाको लहरसंगै ।
पोखियोस् अनुहारमा घामका सुनौलो आभा
मृदुल आ“खाहरुले कोरुन् भविष्यका बक्ररेखा
गुलाबी ओठका खापा फक्रिएर उघ्रिउन
र गुम्सिएका करौडा“ै अक्षरहरु
एक रुमानी रेलगाडी झ“ै बाहिर आउन
प्रेम र विचारको गहिरो आकाशमा ।
तर अफसोच तिमी अझै पनि मौन छ्यौ
र बचाइरहेकी छ्यौ आफूलाई अजरुद्विनहरुका लागि
केही त बोल नजुरुमा
हेर न म शनै शनै मैन झ“ै गलिरहेछु
अनि लगातार दियो झ“ै जलिरहेछु
र लडिरहेछु तिम्रा लागि ।
लडिरहृछु तिम्रो अधिकारका लागि ।

Abhas – Ma Kathor Kavi

मन धराप भएपछि
यसमा केही अट्दैन
तिमी प्रेमको प्रश्न गर्छौ ?
यहाँ त घृणा पनि अट्दैन

त्यही धराप मन बोकेर हिँडेको
एउटा भरिया
म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको
एउटा आश्चर्य
म कठोर कवि
जसलाई
प्रेममा कुनै चासो छैन
र घृणामा पनि
म सम्वेदना बिहिन हुँदै गएको
एउटा मासुको डल्लो
जसलाई
जताबाट ठुँगे पनि हुन्छ
कुनै दर्दानुभूति हुनेछैन
धराप मनमा दर्दको स्थान हुन्न
दर्दहीनलाई
जसरी चोक्ट्याए पनि हुन्छ
तिम्रो खुसी
तिमी खुकुरी बने हुन्छ
तिमी नै अचानो बने हुन्छ ।