Rajeshan Rai – Saathi

साथि

तिमी संगको याद
मनमा संहालेर राखेको पनि धेरै बर्ष बितिसकेछ
सधै संगै जानिजानि गल्ति गरेको पनि
मनमा ताजै झल्किरहेछ
तिमीलाइ याद होला नहोला
यो नटुङगिने गोरेटो सङ्गै तिम्रो यात्रा कहा पुग्यो होला
ति हाम्रा अतित आजको तिम्रो हासोमै बिलिन भयो होला
तर
त्यो समय त्यहि छ
त्यो याद उस्तै छ
तिमी मैले गाउने गीतको भाका उहि छ
मात्र बद्लियौ त तिमी र म
स्वतन्त्रमा रमाउने मन
जिम्मेवारि र जागिरमा बाधियौ तिमी र म
समाज र सस्कृतिको नियमले बाधियौ तिमी र म
त्यसैलेत भयो होला हाम्रा ति निर्मल सम्झनाको धुन मधुरो
रहे होलान् धेरै सपनाहरु अधुरो
समय धेरै बितिसकेछ
सम्झनाका मात्र केहि टुक्रा विलिन हुन खोज्दै कताकता अल्झिरहेछ

Rajeshan Rai – Jiwan

जिवन


हुरहुर बलेको परालकाे आगो जस्तै
एकै छिनमा सक्किजाने जिवन
छ्यातछुल्ल भएको गाग्रिको पानी जस्तै
एकै छिनमा रित्ति जाने जिवन
हिजो जन्मियर आज हुर्कि भोलि माटो भइ जाने जिवन
सास फेर्दा फेर्दै दुइ मुठ्ठी सास अचानक सक्कि जाने जिवन

खै कुन अर्थमा व्याख्या गरु जिवनलाइ
व्याख्या गर्दा गर्दै ढलि जाने पाे हाे कि जिवन
ढले पछि युगयुग सम्म नउठ्ने पो हो कि जिवन

थोरै उमेर बा-आमाको हातमा बित्ने जिवन
थोरै उमेर बिद्धालयमा गरुबा-गुरुआमा संगै बित्ने जिवन
थोरै उमेर मायासंग रमाउदा रमाउदै बित्ने जिवन
अनि थोरै उमेर साथि भाइसंग कुराकानि गर्दै बित्ने जिवन

यति चाडै बित्ने उमेर देखेर कल्पना गर्छु
अजम्बरि भइदिएको भए कस्तो हुन्थ्यो होला जिवन
सधै बा-आमासंग बिताउन पाए कस्तो हुन्थ्यो होला जिवन
सधै मायासंग बिताउन पाए कस्तो हुन्थ्यो होला जिवन
सधै साथि भाइसंग बिताउन पाए कस्तो हुन्थ्यो होला जिवन

हुन्थ्यो होला धेरै दुख कष्ट
तापनि दुख कष्ट संग जुधी
खुसी हुन सक्थ्यो होला यो जिवन ।

Rajeshan Rai – Maya Ra Ma

माया र म

अन्धेरो रात, एकान्त अनि म
जुनको किरण बनेको आफ्नै छाँया संगै कुरा गर्दै बसेको छु
तिम्रो माया, मिठास अनि म
तिम्रो पहिलो स्पर्स यादमा सम्हालेर राखेको छु

रातभरको फोनमा मिठो बोलाइ
अनि बिहानभरको मिठो सपनामा तिमीलाइनै देखेको छु
केहि नबोलि मनै मनबाट नै
यो जिवन तिमीलाइनै सुम्पी सकेको छु

त्यसैलेत विश्वास छ मलाइ
हुनेछै मात्र मेरी तिमी
हुनेछौ सधै संगै तिमी

टाढा दुरि, समय अनि हामी
एक अर्काको फोटो हेरि फोटोसंग झगडा गर्दैछै हामी
मनभरि माया, याद अनि हामी
टाढैबाट हात हल्लाएर एक अर्कालाइ इसारा गर्दैछै हामी

त्यसैलेत विश्वास छ मलाइ
हुनेछैँ नजिक एकदिन हामी
हात समाइ हिड्नेछैँ जुन दिन हामी

त्यसैलेत विश्वास छ मलाइ
हुनेछैँ नजिक एकदिन हामी
हात समाइ हिड्नेछैँ जुन दिन हामी

Rajeshan Rai – Mero Gaun

मेरो गाँउ


हेर्दा कति सुन्दर छ, सुन्दा कति मिठ्ठो छ
दिक्तेल मेरो गाँउ
मेवा, साप्सु, दिखुवा खोलाले सल्लाह गरेर
माया गरि बिचमा राखेको ठाउँ
पारिबाट टेम्के र मेरुङ
माथिबाट मुढे र देवीस्थानले
काखमा राखेको नाम
आहा कत्ति राम्रो ठाउँ
दिक्तेल मेरो गाँउ

धेरै जातजाति, धेरै भेषभुषा र धेरै संस्कृति
समेटि छुट्टै इतिहास भएको ठाउँ
दिक्तेल मेरो गाँउ

हेर्दै हेरौ हेरौ लाग्ने
साकेला नाच
राईहरुको मौलिकता बोकेको नाच
उधौली उभौलि नाच्दै प्रकिति पुजा गर्दै नाच्ने नाच
ढोल झा्म्टा बजाएर उफ्रिदै नाच्ने नाच
रमणीय दृश्य साथै झिलीमिलि हरेक साझ

सुन्दा नै रमाइलो लाग्ने
लाख्खे नाच
नेवारहरुले नाच्ने गरेको धर्मीक नाच
मुकुट र बेग्लै भेषभुषा लाइ नाच्ने नाच
ढोल झा्म्टा बजाएर उफ्रिदै नाच्ने नाच
रमाइलो गर्दै संस्कृति बचाउदै हामि माझ

आहा कति धेरै संस्कृतिले सम्पन्न भएको गाँउ
मिलीजुली समाजमा सबलाइ एउटै ठान्ने ठाउँ
आहा कत्ति राम्रो ठाउँ
दिक्तेल मेरो गाँउ

Rajeshan Rai – Byatha

व्यथा

त्यो दिन यदि तिमी मेरो भेट नभैदिएको भए ।
सायद देख्दिन थिए होला ठुलाठुला सपना
सायद रोज्दिन थिए होला फराकिला गोरेटो
त्यहि झुठा सपनामा रमाउदैनथ्यो हाेला मेरा आँखा
त्यहि काँडासरि गाेरेटाेमा लरबराउदैनथ्याे हाेला मेरा पाइला

सायद हुदैनथ्याे हाेला मनभरि अनेकौ साेच
सायद हुदैनथ्यो होला मुटुभरि अनेकाै बाेझ
त्यहि अनेकौ साेचमा डुबेर बिलिन हुदैनथ्याे हाेला मेरा माया
त्यहि अनेकौ बोझमा उकुस मुकुसभइ फांसि लाउदैनथ्याे होला मेरा रहर

तिमीलाइ पो गर्न सहज छ ।
तिमीलाइ पो भन्न सहज छ ।
मेरो अर्थहिन बकम्फुसे जवानीको काहानी
मेरो लाजमर्दो जिवनको काहानी
मेरो पिडादाइक यात्राकाे काहानी

तर मलाइ त्यसमा केहि अापत्ति छैन
किनकी मलाइ मात्र थाहा छ मेराे
अर्थपुर्ण जवानिको गोरेटो
खुसिले भरिएको जिवनको पाटो
मनमोहक यात्रा साथै सधै हिड्ने त्यो बाटो

त्यो दिन यदि तिमी मेरो भेट नभैदिएको भए ।
सायद हुदैनथ्यो हाेला यी पिरमा परेका मेरा शब्द
सायद हुन्थे होला मेरा काहानी लेख्ने मन स्तब्ध।

Rajeshan Rai – Man

मन

याद मात्र ..तिम्रो
याद मात्र ..तिम्रो आउछ अचेल
किन होला थाहाछैन
सायद पुराना कुराहरु अत्तिनै गहन थिए
उचालेर फ्याक्न सकेन मनले ।
सम्झनामा अल्झिएर बाकी रहेका
केहि स-साना यादका चैटाहरु झट्टै पन्साउन सकेन मनले ।
तिम्रो झुठो माया र बाँकी सबै सम्झनाहरु
जरैसंग उखालेर फाक्न तम्सन्छु म
तर कता कता फेरी तिम्रै नाम पुकारि दिन्छ मनले

यो सब मैले जानेर गरेको हैन
यो सब मैले जानेर गरेको हैन
यो सब मनैले आफ्फै गरिदिन्छ
र तिम्रो मुहारको तस्बिर फेरी एक पटक झल्काइदिन्छ

झल्किएको तस्विर सहित याद फेरी झल्किदिन्छ
अनि हिजोको याद एकचोटि फेरी आज भैदिन्छ
अनि भनत कसरी भुल्न सँकु हाम्रा ति अतित
कसरी वयान गरु हाम्रा यी आज

तिमीले त मलाइ न-घरको न-घाटको बनायै नि लाटी
ठुलो भुल मैले गरेछु
चोखो मन तिमीसंग साटी
अहिले मेरो मनले तिम्रो मनलाइ नै खोज्दछ
मेरो अतितले तिम्रो नामलाइ नै रोज्दछ
कसरी मेल गँराउ यो हुन नसक्ने कुरा
कसरी याद गरु त्यो धारिलो छुरा
जस्ले मेरो मन जोडिनै नसक्ने गरि हजारैको सङ्ख्यामा टुक्क्राइ दियो।

B J Bantawa Rai – Bisthapit Sapana Ra Kalpana

बि. जे. बान्तवा राई – बिस्थापित सपना र कल्पना….!

मेरो कल्पना र मेरो सपना केवल कल्पना र सपनामा सिमित रह्यो,
कल्पना र सपनामा मुर्छित मन, त्यहिं मुर्छनामा छाती पिटी रोई रह्यो।
हरेक कल्पना र सपनामा बिषमताको खडेरी अभाव बनि बर्सी रह्यो,
म अन्योलतामा रुमल्लिएको यात्री झैं बिवशता सम्हाली रहें।
मैले देखेको खुशीको काल्पनिक संसार चेरापुञ्जी झैं रुझी रह्यो, रुझी रह्यो।
क्षण-क्षणमा टुक्रा टुक्रा बनाउने अभावको चट्ट्याङ परि रह्यो,
आफुभित्र समेटिएका कोलाहल मन भुखमरीले यत्रतत्र छटपटि रह्यो,
न मेरो सपना, कल्पना र चाहनाले सागर छुएको नदी बन्न सक्यो
न मेरो सपना र कल्पनाले कसैको हृदयलाई आत्मबल नै प्रदान गर्‍यो।
म केवल खुट्टा बिहिन अपाङ्ग झै, बैसाखीको खोजीमा भौतारी रहें
न कतै ति बैसाखी रुपी छालहरु म सम्म आईपुग्न सकें।
म बग्दा बग्दै, बालुवा बिचैमा हराएको त्यो खोला खहरे बन्न पुगें
न मैले गन्तब्य पैलाउन सकें, न म हुनुको अर्थ दिन सकें
म त केवल त्यो हरियालीको सुख पाउन खोज्दा खङ्ग-रङ्ग सुकेको रुख भएछु।
सपना र कल्पनाको पछि दौंडिदा दौडिंदै हार्न पुगेको एउटा धावक भएछु।

 

Sitaram Acharya ‘Sagar’ – Kina Dinchhyou Pida [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – किन दिन्छ्यौ पीडा

हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा
चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा

धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू
मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा

दुख, पीडा सहुँला म रोएरै भए पनि
हर्षका आँसु झार बरु किन दिन्छ्यौ पीडा

रमाऊ तिमी आफ्नै खुशियाली रमझममा
‘सागर’ एक्लो पार बरु किन दिन्छ्यौ पीडा

Chanki Shrestha – Galat Manchhe

एउटा कलिलो बचेरा हातमा लिएर
टाढा कतै हिँडिरहेको थिएँ
आँधीको चापमा
केही कलिला हाँगाहरू भुइँमा खसिरहेका थिए
तिनलाई पनि हातमा लिएर
हल्लाउँदै हिँडिरहेको थिएँ ।
टाढा कतै
एउटा सुन्दर फूल
स्वागतमा हामीलाई हात हल्लाइरहेको थियो
क्षितिजपारि डुब्न लागेको घाम पनि
मायाले एक क्षण टक्क अडिएको थियो ।

तर, केही क्रुद्ध मान्छेहरू
मेरो हातबाट त्यो बचेरा खोस्न खोजिरहेका थिए
कि तुरुन्त त्यसलाई सुम्पन निदेश दिइरहेका थिए
जब म यसलाई लिएर कतै भाग्न खोजिरहेको थिएँ
जबर्जस्ती यसको
एउटा खुट्टा काटेर तिनीहरू कतै भागेका थिए ।

जब म यसको
उपचारका लागि चिकित्सककहाँ गएको थिएँ
उपचारको नाममा यसको एउटा पखेटा काटेर
तिनीहरू पनि कतै भागेका थिए ।

त्यस दिनदेखि निरन्तर हिँडिरहेछु
एउटा खुट्टा र एउटा पखेटा काटिएको यो बचेरा लिएर
हो, हिँडिरहेछु
यो बचेराका काटिएका पखेटा र खुट्टा फिर्ता लिन हिँडिरहेछु ।

कहाँ भेटिएलान् ती मानिसहरू
जसले यसको पखेटा र खुट्टा काटेर लिएका थिए

Dinesh Chapagain – Dashain 2068 : Paanch Haiku Haru

दिनेश चापागाईं – दसैँ २०६८: पाँच हाइकुहरू

भिड बजार
लुगा जुत्ता किन्ने कि?
प्वाल खल्तीमा ।१।

स्वच्छ आकाश
चङ्गा चैट गर्ने कि?
झर्यो भुईँमा ।२।

रित्तो सडक
तास जुवा खेल्ने कि?
फुली स्वास्नीको ।३।

हरियो बाँस
पिङ मच्चाउने कि?
अस्पतालैमा ।४।

रसिलो घाम
जिब्रो फट्कार्ने कि?
बोकाको आँसु ।५।

Komal Shrestha Malla – Dekhchhu (Muktak)

कोमल श्रेष्ठ मल्ल – देख्छु (नेपाली मुक्तक)

तिमी भन्छौ
म सुन्छु
पीडा सोध्छौ
आँशु बहेकै छु
होला
उस्तै उस्तै अधर
तर मुस्कान
फरक फरक देख्छु ?

Durga Prasad Pokhrel – Anautho Kalakar

दुर्गाप्रसाद पोख्रेल – अनौठो कलाकार

कतै स्वप्न जस्तो कतै याद जस्तो
कतै तिर्सनाको उही म्याद जस्तो
कतै आज जस्तो कतै भोलिपर्सी
अहो! कोर्छ त्यो चित्त-संसार-फर्सी ।

कतै साधु ध्यानी कतै चोर सन्की
कुनै Continue reading “Durga Prasad Pokhrel – Anautho Kalakar”

Laxmi Prasad Devkota – Raja Kewal Ek Kalam Deu

क.

राजा, केवल एक कलम देऊ !
सावनमा !
क¥याङकुरुङको प्वाँखको डन्डी,
हिमाली बादल छोएको,
मानसरोवर सलिल उछाली,
धोएको !
निर्जन–बासा, एकलासी,
प्रेमको बिन्दु रोएको,
जीवनमा !

ख.

राजा, केवल एक कलम देऊ !
सावनमा !
घामछायाको विशाल वनमा,
इन्द्रेणीको लच्कनमा,
किरण–कणीको सुन्दर, सुन्दर,
मिश्रणमा !
सुन्दरताको मिश्रणले बरबर, बरबर,
क्वै भावुकको रोदनमा,
मुजूरहरुको नर्तनमा,
कमलको भाउ कीचडका,
रमरममा

ग.

तित्रा बादल
तित्रा बादल
तीन–तारे तितिरबितिरमा
बोलिरहेको पक्रन्छु
थोपल पङ्खी गगनमा,
बेच्छु जुगान्जुग जनजनमा
बोलुन् बराबर क्षणमा !
विजय धनुष तब लच्केला
कालउपर !
कुवेर दीन हुन्, इन्द्र डाहामा,
हाँस तिमी
भर्दै उर, हे भर्दै उर !

घ.

अमरत्वको ली झम्के परेली
कविता
बोल्ली मलाई, “श्रृगार किन्दिनोस्
बाबा सविता ! ”

ङ.

धाई बनाउँछु त्यल्लाई
तालिम नरमले
काँढा मरुन् सब पृथिवीका
शीतल मलमले !
तीन–तारे तित्रा मर्दैनन्
बोल्छन् जगजुग
मर्दछ काल शरमले !
साँची राख्दछु आजको ढुकढुक,
आजको बरबर,
राजा !
कवि भै साउनचरी
केवल एक कलमले !

Tanka Subba – Bipatti Ma Pareka Chhan Chara Haru

टंक सुब्बा – विपत्तिमा परेका छन् चराहरु

फूलहरु
टिपिएकाछन् विषालु हातहरुले
र कुल्चिएका छन् भूइभरि थुङ्गाहरु
चैत्र वैशाखको विकराल मौसम जस्तै
पिउदैछन् फसादी करेसावारीहरु
तसर्थ
बिताइरहेछन् संक्रामक क्षण
दिनहरु अनायस
फूलसंग रमाउने चराहरु
हिंसामा अनुवाद भएपछि
अनिदो भोग्दैछन्
आफ्नै वासस्थानमा चराहरु
व्यथित छन्
समयको प्रदूषित आचरणले
किनभने रुखहरु विरुप भएर
हरियालीबाट बिछोडिएका छन् वनपाखाहरु
उजाडिएका छन् परिवेशमा
संगिनीहरुको भाका संगीतमा नउनिए पछि
दुख्दा रहेछन् छातीहरु
त्यसैले क्षणहरु सन्त्रासमय बनेका छन्
किनकी शिकारीहरु
बन्दूक भिरेर वन पसेपछि
विपत्तिमा परेका छन् चराहरु

Hemanta Pardeshi – Nostalgia Ka Anshu Haru

हेमन्त परदेशी – नोष्टाल्जियाका आँशुहरु

खजुरको बोटको फेदमा बसेर
आँखाले भ्याएसम्मका
बन्जर रेगिस्तानका
अपरिमित दृश्यहरु नियालिरहेको
बिचरा दिलबहादुर !

सधैँ झैँ यसपल्टको दशैँमा पनि
घर जान सकेन ।
ठ्याक्कै तीनसाल भो
घर / परिवार छाडेर
मुग्लान भासिएको ऊ
अनि , त्यति नै भो
यो सुख्खा मरुस्थललाई
उर्बरभूमिमा रुपान्तरण गर्न
नुनिला पसिनाका बुँदहरु
बगाउँन थालेको उसले ।
हो,
रहर पटक्कै थिएन उसलाई
आफू जन्मेर हुर्केको गाउँ-घरलाई
चटक्कै मायाँ मारेर
सात समुन्द्रपारिको बिरानो देशमा
खेतालो / गोठालो बन्ने
तर ,
सक्दै सकेन हेर्न उसले
बाबाको शीरको फाटेको टोपी
आमाको आङ्को टालेको चोली
अनि ,
अग्नीलाई सातफेरा मारेर
भर्खरै घर भित्र्याएको
श्रीमतिको मुहारबाट
अनायसै अस्ताएको पूर्णिमाको जून ।

धेरै सोच्यो, धेरै सम्झ्यो
अनि, सोध्यो आफ्नै मनसित
र, एकदिन
समयसुनामीको छालसँगै
दिशाहीन गन्तब्यको पोको बोकेर
बाटो लाग्यो ऊ
भक्कानो फुटेको मुटुलाई
धैर्यताको तुरुङ्गमा हालेर
लुखुर लुखुर सहरतिर ।

अनपढ थिएन
त्यति अन्जान पनि थिएन ऊ
तीरमा बगाएर शीरमा खोज्ने
चलायमान यो दुनियाँदेखि
तर,
अल्मलियो बिचरा !

कथित आधुनिक सहरको
दुर्भेद्य एवं दुर्बोध्य भीडहरुमा
यता गयो उता हरायो
उता गयो यता अल्मलियो
जापान, कोरिया, अष्ट्रेलिया
सिङ्गापुर , मलेसिया, अमेरिका
इराक अनि अफगानिस्तान
कहाँ कहाँ पुगेन र ऊ ?
दलालका नक्कली कुराहरुमा l
तर पनि,
हिम्मत हारेन उसले
अर्थात, बाध्यता र विवशता
उसको हिम्मतको रक्षा कवच बनेर
ठिङ्ग उभियो ऊ सामु l
चुहिएको घरको छानो
नछाइ हुँदै भा’थिएन
धमिराले भित्रैसम्म खाएर मकिएका
घरका खाँबा र बलोहरु पनि
नफेरि पटक्कै धर थिएन
त्यसैले,
दासता र पराधिनता नै सहि
सुदुर भविष्यको सुन्दर परिकल्पनामा
झोलाभरि निला सपनाका
कलमी बोटहरु बोकेर
बालुवाको देशतिर उड्यो ऊ
हवाईजहाजमा सररर ।

हो,
आतुर थियो ऊ
आफ्नै पसिनाको जलले
मरुस्थलको बन्जरभूमिलाई
हराभरा बगैँचामा रुपान्तरण गर्न
र ,
सपनाका निला फूलहरु फूलाउँन
त्यसैले ,
दिन-रात भनेन कहिल्यै
आँधी , हुरी र खप्नै नसक्ने
चर्को घाम पनि भनेन उसले ।
तर बिडम्बना !
पिँध छेडिएको भाँडो
चुहिएको चुहियै
न कहिल्यै भरियो
न त केही अडियो नै
बरु उल्टै,
अर्थशास्त्रको नियम र परिभाषा भन्दा
बिल्कूल फरक सिद्धान्तमा प्रतिपादित
माग, आपूर्ति, बितरण र उपभोग-को
क्रय, बिक्रय र मोलतोलको जालसाँजीमा
आफैले आफैलाई बेचेको
आफ्नै मूल्यको शोधभर्ना गर्न समेत
हम्मे हम्मे परिरहेकोछ उसलाई ।

दशैँ आयो !
दशैँ आयो !
सबैको मुखबाट सुनिरहेकोछ ऊ
र ,
सुनिरहेकोछ
बा-आमा र मान्यजनहरुको हातबाट
टीका, जमरा र आशिर्बाद थाप्न
अनि,
आ-आफ्ना जीवनसङ्गिनी
र,
बालबच्चाहरुलाई
पोहोर साल दिएको
“अर्को सालको दशैँमा भेटौँला”-को
आश्वासन पूरा गर्न
परदेशीहरुको
घरदेश फर्किने कुरा ।

तर ,
विवश छ ऊ
आफ्ना सारा चाहनाहरुको
दाहसंस्कार गरेर
परदेशको साँघुरो घेराभित्र खुम्चिन
अनि, विवश छ
मुटुमा भक्कानो फुटाएर
घरदेशको हार्दिक सम्झनामा
खजुरको बोटको फेदमा बसेर
आँखाले भ्याएसम्मका
बन्जर रेगिस्तानका
अपरिमित दृश्यहरु नियाल्दै
दुई आँखाका डीलबाट
नोष्टाल्जियाका आँशुहरु तप्प तप्प खसाल्न ।

Bikram Kangbha – Shalik

विक्रम काङभा – शालिक

भो अब, तिमी ढल्नु पर्छ ।
खियाले जिर्ण तिम्रा स्तम्भहरु
तिम्रो धरोहर थाम्न काबिल छैनन ।

मान्छेहरु
जो माथि टेकिएर
तिमी ठडिएका छौ
तर जसको रक्षा गर्न
तिम्रा डुडां हातहरु सक्षम छैन्न ।
त्यसैले, शालिक ।
तिमी अब ढल्नु पर्छ ।

तिम्रा आखांहरु
जो रोशनी गुमाएर अन्धो छन् ।
त्यसैले तिमी अब तिम्रो दृष्टि भ्रममा नपर,

तिम्रा चेतनाहरु
जो जडतामा विवेक शुन्य छन् ।
तिम्रो सिङ्गो शरिर
छिया छिया भएर
प्राण बिहिन छ र मात्र तिमी
ठिङ्ग उभिएका छौ ।

अब, कुनै पनि बहानामा
शालिक, तिमी ठडिन हुन्न ।

इतिहासमा,
धेरै शक्तीशाली शालिकहरु ढलिसके
राजा- महाराजाका, बादशाहका, तानाशाहका ।
त्यसैले, शालिक ! तिमी अब ढल्नु पर्छ ।

न इतिहासले तिमीलाई टेका लगाऊन सक्छ
ना बलि चढाएर तिम्रो आयु लम्बिन सक्छ ।
किनकी, मन्दिरहरुमा अब तिम्रा
भग्वानहरु छैनन ।
त्यसैले-
भो शालिक, अब तिमी ढल्नु पर्छ ।

किनकी, मान्छे अब
आफ्नै बलि दिएर
तिम्रो शालिक ठड्याउन मन्जुर छैनन ।

र अब, तिम्रो ठाउँमा
अर्कै एउटा नयां शालिक
ठड्याउनु छ ।

Shrawan Mukarung – Prem Parwa

आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू आँखाभरि थापेर
आकाशगङ्गालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ

बारीको डिलैडिल उफ्रिहिँडेँ मृगझैँ
माथिका यी अँध्यारा पर्वतहरू
तलको त्यो रेलको रित्तो बाटो, नुनिलो आभास…
जम्मै बिर्सिएँ मैले !

मान्छेहरूले वर्षौदेखि पुज्न छाडेको त्यो निरीह मन्दिरलाई
मान्छेहरूले वर्षौदेखि फर्की नहेरेको त्यो नियास्रो द्यौरालीलाई
स्वर्गको लालसामा फेरि
ढोगेँ मैले ।

हजुर आउनुहोला भनेर
अनिदा यी सपनाका चरा र छुङछुङती नाचिरहेको हातका
चुराहरू
मनभित्र त्यसै–त्यसै पोको पारिराखेको सरमलाग्दा के–के, के–के
कुराहरू
यी घरका आशातीत झ्याल–ढोकाहरूलाई
सुम्पिएँ मैले ।
लौ हजुर त झन्–झन् अकासिँदै…?

प्रेम भनेको दृष्टिको अनन्तता पो रहेछ
स्वर्ग भनेको हृदयको उचाइ पो रहेछ
ईश्वर भनेको आफ्नो सबभन्दा प्यारो वस्तु पो रहेछ
वर्षौदेखि बज्न नपाएका यी कुण्ठित घण्टहरूलाई बेस्कन बजाउँदै
चिच्याएँ म–

ए हिँड्दाहिँड्दै निख्रिजाने उकाली–ओराली !
ए बस्दाबस्दै थकाइ मेटिजाने चप्लेटी !
कलिला छाँगा, रुपौला रात
र छुनछुनाउँदा चियाका पातहरू !

कसले भन्छ : यी बतासका झोक्काहरू हाम्रा प्रेमचिह्नहरू
होइनन्
कसले भन्छ : यी दहमा खसेका पातहरू हाम्रा प्रेमपत्रहरू होइनन्
साँघुरो भो मलाई झरीका हारीहरू
साँघुरो भो मलाई सम्झनाका घारीहरू

आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू आँखाभरि थापेर
आकाशगङ्गालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ ।

Bhira Khadka – Aau Timi

भीरा खड्का – आउ तिमी

आउ तिमी
मेरो स्वप्नमा
आँखाको बाटो भएर
अन्तस्करणका
मनोरम बंगैचामा
म तिमीलाई
कुरी रहने छु,
विपनाको धरातलमा
तिमीलाई
पाउन नसक्नुको पिडा
स्पर्श गर्न पाउनुको लालसा
कल्पनामै
म तिम्रो आगमन
रुचाई रहेको छु,
आउ तिमि
मेरो मानसपटलका
जिजीबिषाहरुमा
मेरो ह्रिदयका
रंगिन चाहनाहरु
मनस्थितिका
स्वर्णिम भावनाहरु
मृगतृष्णा मात्रै नबनाउन
मेरो मनमन्दिरमा
कर्णप्रिय घण्ट बजाउन,
आउ तिमी
मेरो स्वप्नाहरुमा
छाऊ तिमी
मेरा रहरहरुमा
आफु
प्रेममई भई
मलाई प्रेमपुर्ण बनाउन

Bhim Birag – Jindagi

भीम बिराग – जिन्दगी

जति हुल भएपनि
एक्लिन सक्छ मानिस
होइन भने जिन्दगीको हाहाकार बोकेर
को बाँच्न सक्थ्यो र ?
जहाँ, बिहान, साँझ र रातहरूले
जिन्दगीलाई अजिंगरले जस्तो डसिरहेको होस्
जहाँ, खतराको आभासभित्र
मुटुले Continue reading “Bhim Birag – Jindagi”

Kedar Shrestha ‘Gagan’ – Mero Mutu

फूल उनी,
जून उनी,
खुन मेरो उनी
देखिन आज मैले
भेट्न किन आइनन्?
किन मेरो आँखाबाट ओझेल परिन्?

प्रिय
कुनै परिबन्धमा त परेनौं?
कतै समय पापीले त बाधेन?
कति आतुर थिए मेरा ओठ
तिम्रो नाममा लेखेको मनको Continue reading “Kedar Shrestha ‘Gagan’ – Mero Mutu”