Saroj Dhital – U Aayena

सरोज धिताल – ऊ आएन

भनेर त कहिल्यै आएन ऊ
भनेर त कहिल्यै गएन ऊ ।

पर्खेर बसेँ कि बसिन म कुन्नि !
शायद ऊ म पर्खेकै ठान्थ्यो
र त आउँथ्यो बरोबर
मेरो सपनामा पनि

आफ्नो ठानेँ कि ठानिन उसलाई कुन्नि !
शायद ऊ मलाई आफ्नै ठान्थ्यो
र त पस्थ्यो बराबर
मेरो मनभित्रको मनमा पनि ।

ऊ आउने–जाने बाटो
कतै भत्किएछ कि कुनै बेला,
मलाई वास्तै भएन छ
मनको चुकुल लगाइदिएछन् कि
कसैले कुनै बेला
मलाई होसै भएन छ ।

आलस्य र अकर्मण्य
अनि तिनका असङ्ख्य सन्तानसँग
मैले चाडपर्व मनाई रहेँ
मैले भोज खाइरहेँ ।

एक दिन
जब मलाई शून्यताको आभास भयो
जब एक्लोपनको मलाई त्रास भयो
खोजेँ उसलाई यतै कतै छ कि भनी
छामी हेरेँ
मनभित्रै पो लुकेको छ कि भनी

भनेर त कहिल्यै आएन ऊ
भनेर त कहिल्यै गएन ऊ
तर यसपालि
नभनीकन पनि आएन

आउँदै आएन ।

१२-३-२००३

Saroj Dhital – Aansu

सरोज धिताल – आँसु

ऊ आँसु बनेर बगी
सडक भरी
र जमी झरीको चिसोमा
ऐना भएर उठी मान्छेको सामु
र फुटी सहस्र टुक्रामा ।

ऐनाका टुक्राहरूभित्र
खण्डित, अपूर्ण
आफ्ना हजार रूपदेखि
मान्छे जब सक्पकायो

“ऐनाभित्रको पाखण्डी, पापी
म हैन”— भन्न खोज्दा
मान्छे जब लक्पकायो

जमेकी ऊ सल्बलाई
अलिकति चल्मलाई

“लौ न ! अझै त लाज बाँकी रहेछ मान्छेमा ”
भन्दै
पग्लिएर अलिकति झिनो जीवनको तातोमा

फेरि
आँसु भै टल्पलाई ।

Saroj Dhital – Meri Timi

सरोज धिताल – मेरी तिमी

रहर छ भने
भुईंकुहिरो भएर आऊ
र मलाई छोपिदेऊ
म चुपचाप मुस्कुराइरहन्छु
रमाइरहन्छु ।

चाहन्छ्यौ भने
सिमसिम पानी बनेर आऊ
विस्तारै विस्तारै मलाई लछ्रप्प भिजाऊ
म आंखा चिम्लिदिन्छु ।

घामै भएर आऊ र तताऊ मलाई
वा जून भएर आऊ र नुहाऊ मलाई
बाढी भएर आऊ र बगाऊ मलाई
वा हुरी भएर आऊ र उडाऊ मलाई

म मुस्कुराइरहन्छु
रमाइरहन्छु
किनकि
कल्पकल्पदेखि
तिमी मभित्रै छ्यौ
र म तिमीभित्रै