‘भोक लाग्यो’ ठिटोप्रति
न गाँसको प्रबन्ध
न बासको प्रबन्ध
तैपनि
बाँचेकै छ
हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै सधै असङ्ख्य पाउमुनि कुल्चिएर
कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिश्चित भविष्यको अन्तरीक्षमा
बिना कुनै स्पेस सूट !
‘अक्सिजन मास्क’
र सुरक्षित सञ्चालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
नयाँ सडकको पेटीमा
झुत्रो प्यारासुट ओढेर
यो शिशु
जन्मियो यिशुजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’ बोकेर ।
पुसको जाडो
रांै ठाडो हुने रात
उदास, उजाड, पूmटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ झुत्रो बोरा र पुरानो अखबार ओढेर
अखबार ः जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’ का समाचार
मन्त्रीज्युबाट उद्घाटन,
मिठाई र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चित भै सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार र झुत्रे बोराका
लुगा पनि
झुण्ड्याइने छन्—म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
र त्यस बेला लेख्नेछ इतिहासकारले
‘उहिले–उहिले’ को नेपालमा
दुई थरिका मानिस थिए
एक थरी
जो अखबारमाथि पल्टन्थे
हेडलाइनको सिरानी हालेर
महत्वपूर्ण खबर बनेर,
अर्को थरी
जो त्यो खबरको न्यानो ओढेर
पुस–माघको जाडो काट्थे बेखबर भएर
उहिले–उहिलेको नेपाल
एउटा बासी अखबारजस्तो थियो ।
Category: Bhupi Sherchan
Bhupi Sherchan – Mardaichha Hami Ma Hami Bancheko Yug
बाँधका मुहान
अनि खोला नाला र तालका कुराहरुमा
थापेजस्तै माछा समाउने पोडेहरुले डोका र जालहरु
यो युग जसमा बाबुहरुले
भोगपछिको जिम्मेदारीसँग बाँच्न
थाप्तछन्
गर्भाशयतिर लम्केका आफ्नै सम्भावित सन्तान
शुक्रकीटहरुलाई नष्ट गर्ने पासोहरु,
र आमाहरु
आफ्m्नो आनन्दलाई चिन्तामुक्त गर्छन्
गर्भाशयको ढोकामा
आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई
निषेध गर्ने पालेहरु उभ्याएर
यो युग जसमा
भाग्यवश
संयोगवश
पाए भने कसैले प्रवेश गर्भाशयभित्र
तीमध्ये पनि कैयन् नष्ट गरिन्छन्
आफ्नै आमा–बाबुद्वारा खटाइएका
जिउँदो वा मुर्दा समाउने आदेश पाएका
यमदुतहरूद्वारा
यस युगमा
यस्तो युगमा जन्मेका छौं हामी
जन्मिनुअगावै मृत्युको त्रास बोकेर
हत्याको सुइँको पाएर
आएका छौं हामी यस पृथ्वीमा
आफ्नै निर्माताहरुको इच्छाविरुद्ध
उनीहरुको षड्न्त्रलाई तोडेर
पहिलो पटक
नीलो चहकिलो आकाशमुनि पहिलो पटक
पहिलो
पहिलो
र पहिलो पटक
खोल्यौं पनि त हामीले आँखा यस धरतीमा
पोलिनलाई ठीक भइसकेका
नाजी ग्याँसच्याम्बरका कैदीहरुले मुर्छा पारेर
अन्तिम घडीमा मुक्ति पाएर आँखा खोलेजस्तो
आफुलाई मृत
र आँखाअगाडिको संसारलाई
मृत्युपछिको अर्को लोक भन्ठानेर
त्यसैले हामी बाँचिरहेका छौं
बाँच्नुप्रति चिसो र शङकालु भएर
र हामी हुर्किरहेका छौं त्यस युगमा
जुन युगमा
हामीभित्र
हामी सँग–सँगै
हुर्किरहेको छ एउटा तीब्र अनास्था
स्वयं यस युगप्रति नै
यस युगको अस्तित्वप्रति नै ।
Bhupi Sherchan – Maani Nabhayeko Jindgani
आउँछन् जब किरण भोरका
झ्यालभित्र ज्वरको रापझैं
उठ्छु चूपचाप ओछ्यानबाट
घाममा सुकाएको गीलो कपडाको बाफझैं
हराउँछु दिन–दिनभरि घरबाहिर
रक्सी पिएर बिर्सेको पापझै
रातको साथमा घर फर्कन्छु
नशा उत्रेपछिको पश्चात्तापझैं
आह ! यसरी बितिरहेछ जीवन
सन्निपातको रोगीको प्रलापझैं ।
Bhupi Sherchan – Dui Tukra
१
जहिले पनि भर्खरकी किशोरीजस्ती
साँच्चिकै तिमी हिमालकी छोरीजस्ती
कुन्नि के छ तिमीमा, जो अरुमा छैन
कि तिमीलाई जति पाए पनि थोरैजस्ती
२
एकलास तिम्रो बाटोमा रमाइलो दिन सक्तिनँ म
तिमी थाकेर ढल्दा सहाराको हात दिन सक्तिनँ म
बर्सनै नपाई डाँडा काटेको बादल मेरो यौवन
चाहेर पनि ए ओइलाउँदी कली ! वर्षाद दिन सक्तिनँ म ।
Bhupi Sherchan – Hami
हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठुलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्वलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्छौं
र आफूलाई गतिशील भन्ठान्छौं,
अनि एक चोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुलेझैँ
हामी भूक्तछौं
र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौं बाँकी जीवन
टरे टरे टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौ
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौ
तर, हामी भित्र-भित्रै खोक्रा छौं
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको ‘छवाइयँ’ भन्दा बढी वजन छैन।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौं
हाम्रो बाहिरको उचाइ झूटा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइभन्दा
यसको बढ्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उचाइमा रमेका छौ, लट्ठिएका छौं, फूलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौं
हीनतको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वणिर्त ‘गुलिभर’ झै
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ
र त हामी आफ्नो हीन चावनाका
सियो जत्रा स-साना हतियारहरुको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग-प्रत्यङ्गमा चढछौं
उफ्रन्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैँ
हामी पुज्न थाल्दछौं त्यो साधरण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी ‘लिलिपुट’ का मानव हौं।
हामी लघूमानव हौं।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टायाई दिनुपर्ने,
हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटि हौं
एउटा मानोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं।
हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचायैको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौ
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं
र द्रोणचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं
तर, हाम्रो कुशलतादेखि आर्श्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौं
र मक्ख पछौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौ
र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं
हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतलाः जसको भरमा शरीर उभिन्छ
पाइतलाः जसको आधारमा शरीर हिँडछ
पाइतलाः तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महान्तामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैँ-सधैँ नतमस्तक रहन्छ
हामी पाइतला हौ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातिले तक्मा टाँस्छ
हाम्रो टिका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ।
हाम्रो ताक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला।
हामी केही पनि होइनौं
र शायद त्यसैले केही हौं कि!
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि!
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि!
त्यसैले आओ ए शून्य पूजकहरु!
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई।
Bhupi Sherchan – Mero Jiwan Lake Jhain
मेरो जीवन लेकझैं पुरानो थियो
मेरो दुनियाँ
मुर्दा पोल्ने बगरझैं सुनसान थियो
र म आफ्नो जीवनको लेकमा
चमरी गाईको गोठालाझैं एक्लो थिएँ
तर एक–दिन
तिमी मेरो जीवनमा भैंचालाझैं अकस्मात् आयौ
तिमीले मसित प्रीत लायौ
मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ
मैले बधाई दिएँ आफ्नो यौवनलाई
अन्तमा तिमीले पनि कसैको प्रीत लायौ
तर
जस्तो कि थियो मलाई डर
निरन्तर अपमानित भएको मानिसको हृदयभित्र
अभिमान थाकेझैं
वृद्ध शरीरभित्र प्राण थाकेझैं
तिमी मेरो प्यारमा थाक्यौ
अनि फेरि आउँला भनी
नदीको लहरमा नाचेको पातझैं
भोरको प्रतिक्षामा बाँचेको रातझैं
तिमी बेपत्ता भयौ
कुन्नि कता गयौ
यद्यपि मलाई थाहा थियो
तिमी अब कहिल्यै आउँदिनौ
मेरो स्वरमा स्वर मिलाएर अब तिमीले
कहिल्यै गाउँदिनौ
तैपनि मैले तिम्रो प्रतिक्षा गरेँ
असङ्ख्य मिलनको इच्छा गरेँ
तिमी भने
कुनै अप्रसिद्ध नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैं
वादा गरेर पनि कहिल्यै आइनौ
म भने
आज पनि विना कुनै आशंका
विना कुनै विश्वासको
कुनै कुरुप बूढी कन्याको सिउँदोले
सिन्दूरलाई पर्खेझै्र
तिमीलाई पर्खिरहेछु
किनकी आज म भित्र–भित्रै
हिमशिलाझैं चर्किरहेछु ।