Krishna Kattel – Hasna Khoji Raheko Sapana

कृष्ण कट्टेल – हाँस्न खोजिरहेको सपना

सपना जस्तै हैन यो सपना
जून मेरो जीवनले समाएको सपना
मध्ये सुनसानको मध्ये निन्द्रामा
नचाइदिएजस्तो,हसाँइदिएजस्तो
चढाइदिएजस्तो,अनि लडाइदिएजस्तो ।

मेरो सपना त
मेरी आमाको दुःख
मेरा ुबाु को पट्पटि फुटेको पैताला
मैले देखेका कथित ठूलाहरु बिरुद्धको हो ।
आजसम्म कहिल्यै रमाउन नजानेको मेरो सपना
क्षणिक रमाउने रहरले
कदापी, सपनाजस्तै सपना बन्ने छैन ।

आजसम्मको भोगाइले
संगतले र संस्कारले
मलाइ उपहार दिएको सपनामा
कहिल्यै हाँस्ने लेखिएको छैन
कहिल्यै मज्जा लिने लेखिएको छैन

मेरो सपनाले पिठ्युमा नानी
र, टाउकोमा भारी बोकेकी आमा देखेको छ
रहरलाइ दायित्वसँग बन्धकी राखेर
सडकपेटीमा आल्चा बेच्दै गरेका बा देखेको छ ।
बाटो ढाक्ने गरेर कलिला नानीहरुले
भेडाच्याङ्ग्रा खेदेको देखेको छ
भोको पेट र बेसहारा जीवन लिएर
भुँइमा लम्पसार परेको दुँधे बालक देखेको छ
त्यसैले यी सब् देखेर हाँस्न सक्दैन मेरो सपना
जसरी हाँसिरहेका छन्
हाम्रा देशका कथित बाठाहरु ।

हो,एकदिन मेरो सपना हाँस्नेछ
जून दिन् मेरो सपनाभन्दा पहिले
सारा दुखहरु भुलेर
यी दीनदुखीहरु हाँस्नेछन्
त्यहि दिनको खोजीमा छ मेरो सपना ।

ओखलढुङ्गा कटुञ्जे ५

– बिहीबार, 26 भाद्र, 2071

Krishna Kattel – Euta Ichchha

कृष्ण कट्टेल – एउटा इच्छा

तिमीले छोडेर गएपनि
लाग्छ, यी फूलहरु तिम्रै लागि फुलेका हुन्
यी झरना, खोला र नहरहरु
तिम्रै सुन्दरताको वर्णन गर्दै बगेका हुन्

हावाले पनि तिम्रै सुवास छरेजस्तो लाग्छ
घाम र जूनले पनि तिमीलाइ हेर्न
तछाडमछाड गरेजस्तो लाग्छ

म त एउटा पात्र
जो, संसार भन्दा तिमीलाइ ठूलो देख्ने
तिमीले छोडेर के भो त
तिम्रै तितो याद संगालेर भएपनि
हेर्दैछु भत्किएका सपनाका घरहरु ।

मैले दिन नसकेका खुसीहरु
यो संसारले दियोस तिमीलाइ
जसले बिस्र्याइदेओस तिमीभित्रको म
किनकी म त खुसी दिन नसक्ने मान्छे
पीँडा दिएर पाप गर्न चाहन्न ।

मेरा लागि तिम्रै याद काफी छ
यो दुनियाँ तिम्रै पक्षमा होस
यी सज्जनहरु तिम्रै लागी बनुन्
म त तिम्रो जीन्दगीको एकादेशको पात्र
मात्र अतित सम्झिन पाए पुग्छ ।।

ओखलढुङगा, कटुञ्जे,५

– शुक्रबार, 6 भाद्र, 2071

Krishna Kattel – Pahad Ra Mera Baa

कृष्ण कट्टेल – पहाड र मेरा बा

असंख्य पहाडहरुको पत्रमा
उभ्भिएको एउटा पहाड
त्यहि पहाडले जन्माएको मेरा बा
आजसम्म उसकै छात्तिमा हुर्किएर
स्याहारिरहेछन् त्यहि पहाडलाइ ।

शिशिरमा उजाडिएको पहाडको खुसी
मेरै बा को पसिनाबाट फर्किन्छ वसन्तमा
अनि लगाउछ हरियो लाली
देखिन्छ झनै हराभरा र सम्पन्नशाली ।

त्यहि पहाड हो
मेरा बा को सबैथोक
अनि मेरो पनि इश्वर
त्यहिँ रोपिएको पसिना
मोती भइदिएर नै
रगत पसेको हो मेरो मुटुमा ।

कहिले गल्र्याम्म लडिदिन्छ पहाडको एक भित्तो
पर्खाल लगाउछन् मेरा बा
अनि फोरेर चट्टान, माटो बनाउछन्
रोप्छन्,हुर्काउछन,फलाउछन अक्सिजन
त्यसैले मुटुभन्दा प्यारो ठान्छन मेरा बा
यो पहाडलाइ,यो देशलाई ।

सिटिजन एफएम, महाराजगंज काठमाण्डौ ।

– मगलबार, 4 कार्तिक, 2071

Krishna Kattel – Antim Samjhana

कृष्ण कट्टेल – अन्तिम सम्झना

तिमीले अन्तिम पटक
फोनमा भनेको याद छ
ल राम्रोसँग बस्नुहोला
ठूलो मान्छे बन्नुहोला ।

त्यो अन्तिम फोनभन्दा
चार दिन अगाडीको अन्तिम भेटमा
मैले तिम्रो चिउडो समाएर भनेथेँ
मलाइ कहिल्यै नछोड है ।

त्यसबेला बगेको तिम्रो आँशु
मलाइ के थाहा
मेरोसामु बगेको तिम्रो
अन्तिम आँशु थियो भनेर ।

थाहा छ मलाइ
तिमीले छोड्न चाहिनौ
मैले छोड्न चाहिँन
तर छुट्नैपर्ने थियो तिमी म बाट
म तिमीबाट ।
मैले चाहिँन
तर तिमीले चाह्यौ ।

यसरी हो हाम्रो सम्बन्धमा
पूर्णविराम लागेको ।
आज तिमीले छोडेर गएको एउटा तस्विर बाहेक
केहि छैन मसँग ।

छनत छ
तिम्रै यादमा बगेर रित्तिएका
आँशु बिनाको आँखा
तिम्रै सम्झनाले एकोहोरिएको
चेत बिनाको मन्
अनि तिम्रै अभावले बाँझो बसेको
मेरो हृदयको फूलबारी ।

भन्न त भन्थेँ म
तिमी बिना बाँच्न सक्दिन भनेर
तर मलाइ माफ गर प्रीया
तिम्रो अभावमा मर्न नसकेर म
कवि बनेको छु ।

तिम्रै यादमा लेखिएको कविताले
मलाइ बाँच्न सिकाएको छ
मेरो भोलि देखाइदिएको छ
त्यसैले धन्य तिमीलाइ
जसले पागलप्रेमीबाट मलाइ
कवि बनाइदियौ ।।

ओखलढुंगा,कटुञ्जे

– शुक्रबार, 5 मङ्गसीर, 2071

Krishna Kattel – Sarkar Sanga Prashna

कृष्ण कट्टेल – सरकारसँग प्रश्न

सरकार !
मेरा बा को पसिनाले
हुर्कायो,बढायो अनि पढायो
मेरी आमाको मायाले
संस्कार सिकायो,

हो सरकार
अब म भित्र जाँगर पसेको छ,
सपनाहरु सजाएको छु मुटुभित्र
अब प्रयोग गर मलाइ तिमीले
किनकी म यहि माटोमा
स्वर्गीय फूल फूलाउन चाहन्छु

भन सरकार,
किन मौन छौ ?
मलाइ कहाँ देखाउछौ चुनौती ?
म तिमीले दिएको चुनौती सामना गर्न तयार छु,
त्यसबेला बगेको मेरो पसिनाले
यो देशको दुःख बगाउन सकोस ।

खै किन बोल्दैनौ सरकार ?
कि म पनि राहदानी बनाउने लहरमा बसौँ ?
आँसु चुहाउदै मेरी आमालाइ छोडेर
अर्काको लागी म दुःखको समुन्द्र तर्न चाहन्न
म यहि हिमाल,पहाड र तराइको लागी बाँच्न चाहन्छु
यहि माटोमा तागत रोप्न चाहन्छु
खै कहाँ ? के देखाउछौ मेरालागी चुनौती?
जसलाइ म अबसर ठानेर आमाको सेवा गर्नेछु

जसरी एकमुटठी चारोले
हजारौ परेवाको पेट भर्न खोजेझै
सिमित धोक्रोभित्र असंख्य बिचारहरु
र असंख्य जवानहरु थुपार्न नखोज
त्यसैले देखाउ चुनौती यी जुर्मुराएका सन्तानहरुलाइ
जो खोजिरहेका छन् फूलाउन
लालीगुरासझै यो देशलाइ ।।

ओखलढुङगा, कटुञ्जे ५

– बिहीबार, 19 भाद्र, 2071