Prakash Rodung – Baadi Atikraman

प्रकाश रोदुङ – बादी अतिक्रमण

आज तिमीहरुले हियाएर हेरे पनि
श्रद्धाले हेरे पनि
भावनाले पुकारे पनि
आखिर म बादी हुँ
तिम्रै चाहानाको निम्ति
बनाइएकी हुँ म बादी

इतिहाँसको अध्याँरो कालखण्डमा
बलात्कृत Continue reading “Prakash Rodung – Baadi Atikraman”

Kabita Thapa – Jiwan Ma Sajiwata (Geet)

कविता थापा – जिवनमा सजिवता (गीत)

हिउँ भइ हिमालमा सुन्दरता भर्छौ
पग्लिदै शिखरदेखि सागरमा झर्छौ

रविको न्यानोपनमा माथि उड्छौ
पानी तिमी बादलभै आकाश छुन्छौ

पवनसित बहँदै शितलता छर्छौ
कल्पनामा रङ्गीन तरङ्ग कोर्छौ

विशाल धरतीमा वृष्टि बनि आउँछौ
जिवनमा सधैँ सजिवता ल्याउँछौ

क्यालिफोर्निया

Bhairab Aryal – Mero Kukur Swarge Bho

भैरव अर्याल – मेरो कुकुर स्वर्गे भयो !

घुक्ने काम उसको अखवारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कसिए
झै-झगडाको दायित्व साहित्यकारले टिपे
पुच्छर हल्लाउनेमा प्रशासक खटिए
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो
मेरो कुकुर स्वर्गे भयो !

अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्
या बिरालाले त्यसकमा सिंहदरबार सेकाउन्
मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन
अब बुद्धको आँखा उडाएर गिद्धहरुले समुद्र तारुन्
या सयौं बाज मिलेर एउटा परेवा मारुन्
मेरो कुकुरले चियो गर्ने छैन
ऊ त ठाडै भीमसेन थापाको सती गयो
मेरो कुकुर स्वर्गे भयो !

आऊ अब शोक सभा गरौं
शोक प्रस्ताव यहाँ रेडिमेड छ
दिवंगत कुकुरको स्मारक बनाउन
एक लाख डलरको इस्टमेट छ
मामा भानिज हो ! लौ अब एउटा टेण्डर देओ
स्मारक कालिमाटीको भए पनि हुन्छ
तर माटो किन्न हङकङ जानै पर्छ
यो निर्माण कार्यमा सम्बन्धितहरुले
अलि-अलि पर्साद खानै पर्छ
जाने त गयो गै गयो
मेरो कुकुर स्वर्गे भयो !

कि ए वीर नेपाली हो आओ अब
यो मृत कुकुरको जुँघा उखेलौं
हामी सबका बिरामहरु लुकाउन
यो मूर्दाको टाउको फोरौं
साँच्चै भनेको मैंले, नपत्याए सी.आइ.डी. ज्यूलाई सोध्नोस्
बडा हाकिमले घूस ज्यूनार हुँदा
यसले रिकावी टोकेको थियो
उपहाकिमले जङ्गबहादुरको घोडा मोलाउँदा
यसले रित्तो बोतल बोकेको थियो
त्यति मात्र कहाँ हो र ?
भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला
यो असभ्य गँवारले ख्वाङ् ख्वाङ् खोकेको थियो
अझ भनूँ भने पाण्डवहरु बैकुण्ठ जाँदा
यही कुकुरको जिजु बाजेले द्रौपदीको पिछा गरेको थियो
रुसले रकेट उडाएको बेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो
भन्नोस् अब जे भने पनि ऊ नसुन्ने भयो
मेरो कुकुर स्वर्गे भयो !

भीमसेन स्तम्भ मुनि गुँडुल्किएर
स्वामीभक्तिको साधना गर्ने यो कुत्तो
भीम मल्लको चिहान खोस्रर
बफादारीको विगुत लगाउने यो खिच्चो
साँच्चै मूर्ख थियो महामूर्ख
त्यसैले त पुण्यात्माहरुको शिकार भयो
उद्धार समितिको कारले किचेर
मेरो कुकुर स्वर्गे भयो !

Kamal Gurung – Royeko Nepal Aama

कमल गुरुङ – रोएको नेपाल आमा

चार जात छत्तिस बर्णको साझा फूलबारी
आज रक्तभूमीमा परिणत भएको छ l
विभिन्न थरीका वादहरुको पछी लगेर
एउटा नेपाली अर्को नेपालीकै शत्रू भएको छ l
ति लैबरीका भाखामा झुल्ने निर्दोष हातहरु
आज, संगिनको बिषालु धारहरु संगै रेटिदै छ l
इतिहाँस त जित्नेहरुको लागि मात्र हो
आफैमा हरेर आफ्नै इतिहाँस मेटिदै छ l
तमाम नेपालीहरुको घर आँगनमा
सुख र शान्तिको चाहना खड्किएको छ l
देश निर्माणमा जुट्नु पर्ने हजारौ काँधहरु
आज, पहाडे र मधिशे भनेर भड्किएको छ l
त्येसैले, हे नेपाली नर-नारीहरु हो
भनिदेउ यो हिंसा के को लागि ?
हे नया इतिहाँस लेख्ने पारखीहरु हो
लेखिदेउ यो युद्ध के को लागि ?
बुद्धले फैल्याएको शान्तिको शन्देस
बम र बारुदको धूँवा बनेर मडारिएको छ l
बहूरुपी रुपहरु धारण गरी
फेरी युद्धको बर्षात हुन हतारिएको छ l
युद्ध होस् त नालापानिको जस्तो
जस्ले नेपाल आमाको नाम उच्च परोस् l
मातृभूमिको लागि प्राण आहूति दिने
शहिदहरुको रगत त्यसै खेर नजाओस् l
त्येसैले, किन गर्छौ हतियार बोकेर लडाई
अंगालीदेउ अब शान्तिको बाटोलाइ l
छाडिदेउ दाजुले आफ्नै भाइ मार्नलाइ
हँसाउनु परेको छ नेपाल आमालाइ l

-इजरायल
(Sent to Sanjaal Corps via Email)

Simanta Lamichhane – Phool Ani Dhunga

सिमान्त लामिछाने – फुल अनि ढुंगा

मैले सानै देखि अमुल्य भनेर संगालेका
ढुंगा होईन फुल भनेर साँचेका भावहरु
आज कति निस्सार लागेका मलाई
यिनलाई उतारेर येही छोडौ
टाँसिएका छन् यिनीहरु
न बोकेर हिड्न सक्छु
सार्है गरुन्घो भए जस्तो लाग्छ

यिनलाई बोकेर हिड्न नसक्नुमा
शरीरको कमजोरी भएर होईन
मानसिकता कम्जोर भएर पनि होइन
पिडा त यिनको मूल्यको क्षय भएर भएको छ
मेरा आँखाले धेरै देख्न थालेकी
मेरा हातहरु ठुला भए
कि मेरो जम्काभेट भयो जीवन संग
त्यो म जान्दिन
तर
मैले इन्द्रेणी सोचेर सम्हालेका भावहरु
फगत बाटोमा ठेस लाग्ने ढुंगा जस्ता लाग्न थालेका छन्
तर यी ढुंगा बोकेर हिड्नु मेरो बानि भएको छ
सास फेरे झैं
ढुंगा पनि बोकेर हिडी रहन्छु म
थाहै नपाई
बिडम्बना यो छ कि
यी फगत ढुंगाहरु हुन्
जो मेरो मृत्युसंगै
उत्रिएर बगरमा समाहित हुने छन्
यति जान्दा जान्दै पनि
यिनै ढुंगा बोकेर म दौडी रहन्छु
संधै संधै

Karuna Ghimire – Phool Ra Jindagi

करुणा घिमिरे – फूल र जिन्दगी
(नेपाल साप्ताहिक, अंक ४००)

आखिर
फूल पनि त
झर्नकै लागि फुल्ने हो ।

कसले भन्यो
फूल ओइलिँदैन भनेर
बोटभरकिा काँडासँग
सम्झौता गरेर पनि
सायद
दुख्नै जान्दैन फूल ।

फूल फुल्दै जाँदा
फूल ओइलिँदै जाँदा
फूल झर्दै जाँदा
यस्तो लाग्छ
आखिर
फूलको सुन्दरताजस्तै
जिन्दगी पनि त
झर्ने न हो एकदिन ।

Ajay Garvi Gole – Sapana Haru Ko Mandi

सपनाहरुको मन्डी

सानै छँदा निमोनियाले थलिएर अस्पताल पुगी
पहिलो चोटी डाक्टरसाबलाई देख्दा
लाग्यो मलाई म पनि डाक्टर बन्छु

त्यस्को अर्को महिना बुवाको लाहुरबाट आएको तस्बिरमा
कम्मरमा गोर्खाली खुकुरी र हातमा बन्दुक देख्दा
लाग्यो मलाई म पनि लाहुरे बन्छु
एस एल सी पास भएर पहिलोचोटी काठमाडौँ आँउदा
नौबिसे नागढुंगाको नागबेली सडक देख्दा
लाग्यो मलाई म पनि सिभिल इन्जिनियर बन्छु

डा. बाबुराम भट्टराईले कोरेको नक्साबाट राष्ट्रिय वाणीज्य बैंक बनेको देख्दा
लाग्यो मलाई म पनि आर्किटेक्ट बन्छु

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा किनेको भूपी शेरचनको
“घुम्ने मेच माथि अन्धो मान्छे” पढ्दा
लाग्यो मलाई म पनि कवि बन्छु

नेपाल आर्ट ग्यालरीमा किरण मानन्धरको
चित्रकला प्रदर्सनी अवलोकन गर्दा
लाग्यो मलाई म पनि चित्रकार बन्छु

रेडियो सगरमाथामा
फत्तेमान र नारायण गोपालको गीत सुन्दा
लाग्यो मलाई म पनि गायक बन्छु

त्यसैले,
डाक्टर बन्न थुप्रै भ्यागुताहरु चिरें
इन्जिनियर बन्न पट्ट्यारलाग्दो गणितमा रमाउन खोजें
कवि बन्न चुरोट खान सिकें
लाहुरे बन्न बिहानै काँचो चना खाएर दौडें
चित्रकार बन्न धेरै कुची र रंगहरु खेर फालें
गायक बन्न रक्सि लाग्यो कि घोक्रो सुकाएर गाउन थालें

तर
न त मैले डाक्टर बनेर कसैको जीन्दगीसंग जुवा खेल्न सकें
न त इन्जिनियर बनेर कहीं कतै गोरेटो बनाउन सकें
न त आर्किटेक्ट बनेर कसैको झुपडीको नक्सा कोर्न सकें
न त लाहुरे बनेर “अच्छा लेकिन” भन्दै कान्छीको भट्टीमा पस्न सकें
न चित्रकार नै बनेर कसैको नाङ्गो तस्विर बनाउन सकें
न गायक नै बनेर उपचार नपाई असमयमै मर्न सकें
न कवि बनेर चुरोट किन्न पैसा नहुँदा कविता नै बेच्न सकें

सकें त केवल
अरुको घाउको बेवास्ता गर्दै
त्यही पुरानो गोरेटोमा हिंड्दै
भूपीको कविता सम्झंदै
कान्छीको भट्टीमा पसेर
कान्छीको नग्न चित्र दिमागको क्यानभासमा कोर्दै
नारायण दाईको सेन्टिमेन्टल गीत सुन्दै
ग्याम्पे भन्दै एकै सांसमा
रक्सी घुट्याउन सकें

म केवल असफल सपना
र महत्वाकांछ्याहरुको दास हुन सकें

अझै पनि लाग्छ मलाई मेरो सपना पुरा हुन्छ
तर थाहा छैन के हो मेरो सपना?

रातभर सपना मात्र देख्दा धेरै सपनाहरु बिर्सिएझैँ
मलाई पनि मेरा धेरै सपनाहरु बिर्सिएझैँ लाग्छन

धमिला लाग्छन मलाई मेरा सबै सपनाहरु
मरुभूमिमा तिर्खाएको यात्रीले देखेको “मिराज” जस्तै
प्यास बुझाउने लालसामा जति नजिक गयो
पानीको ताल उति टाढा भागे जस्तै

धमिलो पानीमा माछा पक्डन खोजे जस्तै
कहिले भ्यागुता त कहिले घोकि पर्छन मेरा हातमा
बरु सर्पनै जेलिए हुन्थ्यो जस्तो लाग्छ
कमसेकम उसको डसाइबाट म बिउंझने त थिएँ
सपनाबाट बिपनामा

अहिले त म “इन्सेपसन्” चलचित्रमा सपनाहरु बिच
हराइरहेको लियोनार्दो झैं अनुभव गरिरहेछु
सपना र विपना छुट्याउन नसक्दा
म पनि हराईरहेछु यो सपनाहरुको मन्डीमा

यो सपनाहरुको मन्डीमा

Ramesh Prasad Gautam – Desh Ko Durdasha

रमेशप्रसाद गौतम – देशको दुर्दशा
(मधुपर्क २०६६ भदौ)

एउटा आलोक मान्छे
भौँतारिएर हिँडिरहेको सडकमा
आˆनै वेदनामा छटपटिएका
अनेक पीडाको प्रतिबिम्ब हो मान्छे ।
रुञ्चे हाँसो बोकेर
ठिङ्ग उभिएको मान्छे
आˆनै पीडाले लरखराएका खुट्टाहरू
टेकेको माटो र हेरेको आकाश नियाल्दै
पाइला सार्दै अजङ्गको मान्छे
अस्तित्व र पहिचानको खोजीमा
उकालीओराली र मैदानमा
भित्रभित्रै निहाली हेर्दै
नेपालभित्र बजि्रएको राष्ट्रिय समस्यामा
सूर्य-चन्द्र अङ्कित झण्डा बोकेर
एकतामा आबद्ध हुन नसक्दा
करोडौँ नेपालीको मुटुको चस्का बनेर
छटपटाइरहेको नेपालीको मनमा
चम्किलो भोलिको सपना हेरेर
बत्तीको ओझेलमा पर्न लागेको छ ।
कत्तिले भन्ने गरेका छन्-
बलिदान दियौ देशका लागि
पसिना बगायौ देशका लागि
तर पुगेन बलिदान सिँचिएन देश
मेटिन लाग्यो देशको पहिचान
अनि बल्भिmन लाग्यो मुटुको रोग
यसरी नेपालको मुटु चस्किरहेको छ ।
राजनीतिक दलहरूको भूकम्पले
कमजोर मुटुलाई हल्लाइरहेको छ ।
यहाँ क्रान्ति गरिबका नाउँमा हुन्छन्
सबैखाले विद्रोह देशका लागि भन्छन्
स्वदेशी र विदेशी सन्धि-सम्झौता गरिबका नाउँमा हुन्छन् ।
शान्ति-सम्झौता पनि तिनकै लागि भनिन्छ
गरिबीलाई नै दुहुनो गाई बनाउँदै आइरहेका छन् ।
इतिहासका दौडमा धेरै शासन बदलिए
व्यवहारमा खै आएन परिवर्तन
गरिबले नारा र झण्डा मात्र पाए
नाङ्गो शरीर र भोको पेट भर्न पाएनन्
हरेक दिनको जुलुसपछि साँझ गरिबले खै के पाए रु
जहिले पनि शोषण र उत्पीडनको माखेसाङ्लोमा परेर
हाम्रो इतिहास गरिबीको आँसु बन्न गएको छ
साँच्चै देशको दुर्दशा यस्तै छ ।

Ram Binaya – Naya Barsha Ka Mat Haru

राम विनय – नया वर्षका मतहरू
(मधुपर्क २०६६ जेठ)

खोज्दै गन्तव्य शिखर
बाढी मानिसको उर्लियो
पहाड मैदानको सङ्गममा
लागेको दाग मेटाउन
निणर्ायक आवाज बजि्रयो ।
शान्त नदी विश्वासको प्रवाहमा ।
ढोकाको ताला खोल्न समयको
हात हातमा सााचो लिएर
अनौठो गर्जन गर्दै
हुरी बतासले तुवालो पन्साउदै
चम्किला आवाज चम्कियो
गतिमान आस्थाको लहरामा ।
विगतका विश्वासघाती पर्खाल भत्काउदै
विवेकशील वर्तमान रोप्दै
भरपुर भविष्यको प्राण उमार्दै
नीलो आकाशमा गहिरिएर
रातो घाममा फैलिएर
अपेक्षाको हिमाल उठ्यो
विचारपूर्ण दूर दृष्टिमा ।
नव पल्लव चल्लाहरू
बाजको गाजाइमा पर्ला कि !
सफा स्वाभिमानी स्वरहरू
ब्वाासाको खेलको गोटी बन्ला कि !
चिन्तित छन् निणर्ायक मनहरू ।
त्यसैले दलबहादुर !
नीलो आकाशमा परेवा उडाउ-उन्मुक्त !
रातो घामको पाइला माथिमाथि उठाउ
भन्दैछन् नया वर्षका मतहरू ।

Mahendra Pyasi – Handar

महेन्द्र प्यासी – हण्डर

खोल्न खोच्छु मनका कुरा तिमि तर्काइ दिन्छेउ
हराउाछु भावनामा अफलाइन बसीदिन्छेउ
पिडाहरु मुटुभरी कति राखि रहुँ
ब्याधाहरु खोजि हिड्छु तिर खाइमरु
धड्कनहरु बढिरहे दिन रात गरी
सपनामै कल्पीनेभो जिवन यसैगरी
फुलभनि रोजेको थे माली हुनलाई

माया पाउछु भनेकोथे कोमल ह्दयलाई
सुनखरी सयपत्रि राम्रा हुन्छन भन्थे
मखमली फुल लाइ सधाबहार भन्थे
फुल टिप्न भएको थे काडामात्र पाएँ
हराएका खुसी खोज्दा रनभुलमा परे
फुलमात्र हैन जिवन काडापनि रैछ
मिलन मात्र हैन जिवन तिरस्कार नि रैछ
माँया पाउने भन्दा पनि दिने चाँहि ठुलो
मनकारी नैभदिए हण्डर खायो डुलो

Kedar Sunuwar Sangket – Arko Manav Ra Tyo Samaya

अर्को मानव र त्यो समय

म एउटा नक्सा बनाउन चाहन्छु
चौथो संसारको अन्तिम दिनमा

बेक्कार लाग्छन्
– सेटालाइट्का अप्रेटरहरु
– यो आकाश मेरो भनेर कुर्लनेहरु
– ती तिम्रा इच्छाहरू
– मेरोमात्र भन्ने ती औजारहरू
– यूद्धपोतका बन्दोबस्ती सामानहरु

यस्तो होस कि
नक्सा बालुवाको होस
जो हावाले मेटी दिन सकोस
यो जगत मान्छेकै हो
मान्छ्े जगतको भै सकेपछि
समुन्द्र त पानी हो
र त्यो पनि हाम्रै हो
सानै किनार किन नहाृेस
त्यो समान बाँडिनु पर्छ
जो सवै देशका सिमाना र्र्छोएर बग्नु पर्छ
सबैले नुनिलो पानी पिउनु पाउनु पर्छ ।

क्रोधका फूलहरु वशन्तमा फुल्न सक्दैनन
दानवहरू जन्मिएकाबेला
मानवहरु हेरेर बस्न पनि हुँदैन
तर यहाँ एउटा बृहत जालो छ
त्यो जालोको माकुरे खेलाडीहरु
हामी भन्दा अर्कै छन्
शत्तिमान छन्
तिनीहरु सकृय हुनुहुन्न
निस्कृय हुनुपर्द छ

परमाणु क्रोधको उल्का हो
बैज्ञानीकहरु तिमीलेनै यस्को रोकथाम आफैंल गर्नु पर्छ
अलिक दिन पछी माछाको नक्सा
केवल नक्सामा देखिने छ

अब पँन्छीहरुको गुञ्जन स्वर
गुगल्ले मात्र सुनाउने छ

हामी अव शोकको प्रतिक्षामा छौँ
रबरका तरुणीहरुको सम्भोग शिखरमा
अनित
मानिसको आयु
डाएपर जस्तो हुने छ

रगतका रंगहरु बदलीनेछन
आज मान्छे रातोमा बदल्दै छ
मानिस साँच्चै रातो हुने छ

विज्ञानले हामीलाई उडायो
अव खस्ने छौँ अन्त अन्त कतै

अनयासै सुँङ्छु
मेरो आफ्नो शरीरको गन्ध आफैले
मेरो जिउको बासना आमाको जस्तो मगमगाउछ
त्यो नो महिनाको वात्सल्यपलको उपज हो

म बुबाको मृत्यु पछीको अर्को एक रूप हुँँ
अर्थात मैले मूर्तरुपको निरन्तरता दिदैछु
मेरो अर्काे गन्ध
जहाँ बाबाको बिर्य गन्हाउन सक्छ ।

मेरा पुर्खा
म रगत भएर
अर्थात
म रगत सरेर बाँचिरहेछु

यो समय आंतङ्कित जस्तो लाग्छ हैन
यसको व्याख्याता हामीनै हौँ

सेतेले काले देख्ने वित्तिकै
भित्र–भित्रै
मेरो बाजेको दास हुन सम्झन्छ

कालेले सेतेलाई देख्ने वित्तिकै
मेरा बाजेलाइ दास बनाउने सम्झन्छ

हिउँ पग्लने छ
दूधको रँग कालो हुनेछ
मासुको स्वाद तितो र
पानी बाक्लो हुनेछ
किनकी हामीलाई विज्ञानले
तातो, कालो र रातो हुन सिकायो ।

अव नयाँ ग्रहहरुको चमकले चकित हुनु छ
जस्तै ग्रहन लागे झैँ
सूर्यको प्रकाश महिनौ कुर्नु पर्ने छ
सदाको झैँ अब
चन्द्रमा मुस्कुराउन्दैन प्रिय मित्र

कृत्रिम ज्योतिको शहरहरूमा
हामी हल्लिने छौँ

चट्टानहरू राता देख्नु हुनेछ
मैदानहरू तातिने छन्
आखिरी तपाईंलाई विनाशले शुभकामना दिनेछ

हामी कहिल्यै पूर्ण भएनौं
बरु पृथ्वी पूर्ण थियो र छ आज सम्म
जहाँ त्यहाँ सुरुवात थियो
र, अन्त्य पनि थियो

यो त,
यो जगत बन्नु भन्दा पहिले पनि
– यस्तै थियो
– प्रलय भयो
– फेरी बन्यो
– फेरी प्रलय हुन्छ
– फेरी बन्ने छ यस्तै जगत
– यस्तै जीवन
– क्रमशः प्रलय यस्तै जीवन
तेस्रो विश्व यूद्ध
हो तेस्रो विश्व यूद्ध
अर्थात रिमोटको यूद्ध
समाप्त
सङ्केत
हाल काबुल

Basudev Dhakal – Jeevan Ko Paribhasha

वासुदेव ढकाल – जीवनको परिभाषा
(मधुपर्क मंसिर, २०६७)

जीवनको परिभाषा
तिम्रो अलग छ, मेरो अलग छ ।
भोगाई फरक भएर होला
अनुभव र अनुभूतिका
व्यथा अलग छ ।

आकाङ्क्षाको सीमारेखा
सबको बढ्दो छ ।
प्राप्तिको Continue reading “Basudev Dhakal – Jeevan Ko Paribhasha”

Sharmila Pokharel – Aamaharu

शर्मिला पोखरेल – आमाहरु

बर्षौं बर्षहरु परदेशमा बिताइसकेपछि
बाटो भुलेर कुनै एकदिन
आफ्नो घर गयौ भने
उसै गरि सदा झैं
चुलो र चौको गरिरहेको पाउनेछौ
तिमीले आमाहरुलाई
पहिले झै अझै पनि
तिमीलाई सम्झिएर Continue reading “Sharmila Pokharel – Aamaharu”

Ramji Timilsina – Raat Sakinchha

राम्जी तिमल्सिना – रात सकिन्छ
(मधुपर्क २०६६ भदौ)

झिसमिसेले चियाउँछ
रातको किनाराबाट सुटुक्क ।
पल्लो गाउँमा भालेको डाक सुनिन्छ
मानिसहरू चेतनाको कोल्टो फेर्छन्
प्रत्येक घरभित्र आवाज सुनिन्छ ।
सूर्य चुपचाप डाँडापारि उकालो चढ्छ
र रात यहीँनेर सकिन्छ
कोइलीको गीतले कुन्नि के पो भन्छ
र रात यहीँनेर सकिन्छ ।
विवेक आफ्नो स्वरको खोजीमा छ
सभ्यता फैलने धरतीको
ज्योति आफ्नो रूपको ।
हिजै मात्र सिङ्गारेको आलो भित्तामा
यौटा सूर्य त्यहीँ उदाएझैँ लाग्छ
बालकले खेल्ने आँगन
चराहरू उड्ने आकाश
तन्नेरीहरू भेट्ने देउराली
वृद्धहरूको चौतारी
इन्द्रेणी ओर्लने सिमसार
उज्यालिन्छन्
आहा
उज्यालामा कति रहरहरू पूरा हुन्छन् ।
अब हराएको मूलढोकाको साँचो
भेटिन्छ
अब गोप्यताहरू देखिन्छन्
नदी किनारामा सुतेको विद्रोही
अब ब्यूंझन्छ
र रात यहीँनेर सकिन्छ ।

Nirmal Kumar Acharya – Anshu Jhari Rahunjel Aash Banki Hunchha (Nepali Gajal)

निर्मलकुमार आचार्य – गजल
(मधुपर्क भदौ , २०६७)

आँसु झरिरहुन्जेल, आस बाँकी हुन्छ
मन रोइरहुन्जेल, सास बाँकी हुन्छ ।।

जितहार, चितपट, ठेगान छैन क्यै’को
जुवा खेलिरहुन्जेल, तास बाँकी हुन्छ ।।

सन्तोक-असन्तोकको, सीमा छैन केही
ईख राखिरहुन्जेल, खास बाँकी हुन्छ ।।

घाइते यो दुनियाँमा, संवेदना हरायो
मान्छे मरिरहुन्जेल, लास बाँकी हुन्छ ।।

भरोसाको मूर्ति कुनै, देवालयमा छैन
यात्रा चलिरहुन्जेल, बास बाँकी हुन्छ ।।

Roshan Subedi – Shabda Gatha

रोशन सुवेदी – शब्दगाथा
(मधुपर्क २०६६ माघ)

ओ ! शब्दको आकाश !
ओ ! समयको आवाज !!

ओ ! जीवनका गीतहरू
छेकेर बन्दुकको मृत्यु हुंकार
टियर ग्याँस र लाठीका लाभाहरू
छिचोल्दै कˆर्युका काला रातहरू
चुडाउँदै
कालो सिक्रीले बाँधिएको समय
भत्काउँदै
अजङ्ग दाशताका सगरमाथाहरू
काला अँध्यारा समय पर्खालहरू छन् ।
यतिखेर
शब्दहरू मुक्तियोद्धा भएका छन् ।

निरकुंशताका बुटमुनि
पिल्सिएका सडक र शब्दहरू
यतिखेर निर्बन्ध भएका छन् ।

कुज्याइएका स्वतन्त्रताका पखेटा
घाइते अस्मिता उठाएर
चेतना र उज्यालो समयको दियो बाल्दै
यसबेला
शब्दहरू उज्यालोका बाटो भएका छन्

ओ नदीको लहर
ओ जीवनका यात्री
अझै यात्रा टुङ्गएिको छैन
अझै तिमीले घाउको मलम बन्नुछ
अझै अधिकारको बाटो कोर्नुछ
अझै च्यातिएका भोटाहरू फेर्नुछ
भोका बस्तीहरू
र रोगले थलिएका अनुहारहरूको सेवा स्याहार गर्नुछ
कालो चुक रातझैँ अन्धकार फैलिएका गाउँमा
चेतनाको आगो पुर्‍याउनुछ ।

अँध्यारा कालो खोपीका षडयन्त्र र
खिया परेका पुरातन आस्था ˆयाँकेर
जनअधिकारका चार किल्लाहरू आफैँ कोरेर
नयाँ नेपालको इतिहास लेख्नुछ
नयाँ नेपालको चित्र कोर्नुछ ।

-साब्ला, तेह्रथुम, हालः काठमाडौँ

Sulochana Manandhar Dhital – Julus

सुलोचना मानन्धर धिताल जुलुस

जीवनका थुप्रै क्षणहरू
जुलुस बनिसकेछन्
अझै झुक्याउँदै
सिङ्गो जिन्दगीलाई
जुलुस
जुलुसै भएर सकिँदै छ ।

Kiran Budhathoki – Chirantan

किरण बुढाथोकी – चिरन्तन

म छँदै छु
घोप्टिए पनि,
झरे पनि,
मासिए पनि,
नाशिए पनि,
या डुबे पनि,
चाहे जे भएपनि
मत छु-छु।

शरीरको धोक्रोमा
अक्सिजन जमाई,
एउटा पोकोमा
अलिकति रगत पोको पारी
हिडिरहेको,
वास्तविक म होइन
नत म
गिदी जिब्राको दास हुं
न भोगी हुं
न रोगी हुं
नत योगी नै हुं
अँह,
ब्यर्थको अहंकार पालीहिड्ने
ढोंगी त म हुंदै होइन
म यस्ता कुराले छुइन्न।

न खोलाजस्तै बग्छु
न समुद्र भेट्न तम्सन्छु,
हुन त म तिमीजस्तै देखिन्छु
तर म तिमी होइन
च्यातिए पनि
टुक्रिए पनि
मत म नै हुं र रहन्छु
यो ब्रह्माण्डमा
बनेर एक
चिरन्तन कण।

Sagar Kafle – Kanchuli Fernu Parchha

सागर काफ्ले – काँचुलि फेर्नु पर्छ

अब माटोबाट खुशी उब्जाउनु पर्छ
हिमालबाट चाँदी भित्र्याउनु पर्छ
जँगलबाट बैध्य जन्माउनु पर्छ
पानी बाट डलर झिक्नु पर्छ

धोति र सुरुवालले मित लागाउनु पर्छ
मँगोलले आर्यन, आर्यनले मँगोले भित्राउनु पर्छ
मन्दिरमा कुरान अनि मस्जितमा बेदले स्थान पाउनु पर्छ
्ुॐ भुरभुव् स्वस््ु र ्ुॐ मानेपेमे्ु मिसायर
्ुअल्लाहो अकबर्ु र ्ुगुरु ग्रन्थ साहिब्ु मिसायर
मूल मन्त्र कथ्नु पर्छ

(हामि सबै मिलेर नेपालको काँचुलि फेर्नु पर्छ)

Jayanta Sharma – Aaundai Chhan Hisab Magna

जयन्त शर्मा – आउँदैछन् हिसाब माग्न

तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिँडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है !
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही पुरानो नमिठो थप्पडले फेरि बिउँझायौ है ।

अत्याचारको शिकार, अन्यायको मूक गवाही
बोली त तिमीले पहिले नै खोसिसकेका रहेछौं !

तर भुस्याहा कुकुरहरूको मिथ्या भुकाइमा
तर्सिन छाड्यो त्यो कमजोर रामबहादुर
दबाउन सक्दैन आवाजहरूलाई कसैले
बोल्ने बोलेरै छाड्छ अब अन्धकारविरुद्ध
भीरबाट खस्ने गोरुको लङ्गडो ढिपीमा

राम राम भनिन्छ अब काँध थाप्ने छैनन् कोही !
लाखौं आमाहरूको आँसुले सजाएको त्यो मन्चमा
तिम्रो देशभक्तिको कालो चिट्ठा मन्चन हुँदैछ
कुरीति र कुशासनको पटाक्षेप हुँदैछ
गाँस-बास-कपास दिन्छु, नयाँ आश दिन्छु
झुक्किने छैन घरिघरि त्यो सोझो मानबहादुर
तिम्रो यस्तो फुस्रो कुरा गराइमा ।

न्याय, समानता, हक र परिवर्तन
कुनै किराना पसलमा पाइने खाद्य वस्तु हो ?
पाइने भएको भए पनि तिमीले कहाँ दिन्थ्यौ र ?
खोक्रो आडम्बर, ढोङ्गी सहानुभूति त हो तिमीले दिने !

कुरा ठूला-ठूला तर सस्तो मानसिकता
उद्घोष नयाँपनको तर सोच बर्बर
अब छोप्न सक्दैनौ तिमीले आफ्नो नपुङ्सकता !

भाइ मारेर ज्वाइँ पोस्ने तिम्रो फोहोरी चाललाई
अब कसैले सफा भन्ने छैनन्
तिमीले फेरेको काँचुलीलाई परिवर्तनको नाम त दियौ
तर उही पुराना रुग्ण मानसिकता भने छाड्न सकेनौ
तिमीले पनि त कति गाडी घरहरू फेर्‍यौ
कङ्गालीको करङ्गमाथि घुम्ने कुर्सीको स्वाद पनि फेर्‍यौ !

गरिब श्यामबहादुरको खुन पसिनामा बाँच्ने तिमी
कति लासहरूमाथि महँगो हृविस्की पनि फोड्यौ ।

तिम्रो स्वार्थ पूरा गर्न हजारौं सपनाहरूले बलि चढाए
तिम्रो विश्वासको भुमरीमा लाखौँ इच्छाहरूले आत्महत्या गरे
तिमीले पनि तिनीहरूको मृत्युलाई बलिदानको नाम दिएर महान् बनायौं
श्रद्धाञ्जलिस्वरुप तिनीहरूको लासमाथि सहिदको ‘लेबल’ पनि टाँस्यौं
महानताको गाथा गायौं अनि डकार्यौ उनीहरूको रगत सर्बत
तिनीहरू सहिद भएर अमर, तिमी सहिद बनाएर अमर !

तर अब जुर्मुराउँदैछन्
तिनै राम, श्याम र मानबहादुरहरू
बुहारीको पुछिएको सिन्दूर, मुछिएको मर्म
छोरीको लुटिएको अस्मिता, फुटेको कर्म
खोसिएको आफ्नो घरबार, मान्छे हुनुको धर्म
सबैको हिसाब माग्न उठ्दैछन्, जुर्मुराएरै आउँदैछन् ।