Biyogi Budhathoki – Nasha Piyen Bhanthen Dasha Piyiyechha (Nepali Gajal)

वियोगी बुढाथोकी – नशा पिएँ भन्थें दशा पिइएछ (गजल)
(मधुपर्क पुस, २०६७)

नशा पिएँ भन्थें दशा पिइएछ
बोल्ने ओठलाई आफैँ सिइएछ

प्रेमको खोला तर्न भेट्न बोलाएँ
मायाको बदला चोट दिइएछ

मातिएका पाइला लर्खराएथे
होस् खुल्दा उनकै ओत लिइएछ

अठोटको लौरो टेक्दै धेरै धाएँ
बित्थामा निर्दोष पैताला खिइएछ ।

Rama Adhikari Kadambari – Gasnu Parne Man Haru

रमा अधिकारी ”कादम्बरी” – गाँस्नु पर्ने मनहरु

मनहरु
एकताको मालामा गाँसिएकै जाति हुन्छ
मनहरु
मायाको धागोमा उनिएकै बेस हुन्छ
मनसँग मन टाढिएको सुहाउँदैन
मनले मनलाई रुवाएको शुभ हुँदैन ।
मन फाटेपछि
घृणा साटेपछि
हिंस्रक हुन्छ मान्छे
त्रासद हुन्छ समय
जुनसुकै धु्रवको होस्
मन कोमल हुनर्ुपर्छ
जुनसुकै धर्म होस्
मनले त कर्मको पूजा गर्नुपर्छ
मनलाई बारुदको गन्धभन्दा
बाँसुरीको सङ्गीत मनपर्छ
मनले विनाशको आतंकभन्दा
विकासको लहर रुचाउँछ ।
बधशालामा बुद्ध बाँधेर
थपडी बजाउने मनहरुका विरुद्धमा
नवीन क्रान्ति उद्घोष गर्न
विश्ववन्धुत्वको सपना देख्नर्ुपर्छ ।
धर्ती रुवाएर
उत्सव मनाउने
शकुनी मनहरुका विपक्षमा
नयाँ युगको शंखघोष गर्न
‘बसुद्यैव कुटुम्बकम्’ को
धुन गुन्गुनाउनु पर्छ ।
मन आखिर जहाँ रहेपनि
मन नै त हो
श्रम रोपेर सिर्जना पस्कने
मनहरु र बुद्ध बनेर
शान्ति फैलाउने मनहरु
एकआपसमा गाँस्न पाए
सोच्नोस् त कस्तो हुन्थ्यो धर्ती – ।

Deep Raj Neyong-Hang – Salbalayeka Chepganda Haru

दीपराज नेयोङहाङ – सल्बलाएका चेपागांडाहरु

चेपागांडाहरु संग हुर्किएको मन
धानका गावा गावामा खेल्छ
समय कालखण्डमा धाँजा परेका मृटिकामा सास्ती भोग्दै
पुनारावृतिको आशामा
उभिएका छन् – भ्यागुत्ता बन्न नसकेका मनहरु

आकास झर्ने लागेको छ
धन्य – सयौं हुटिट्याउहरु उत्तानो छन्
ढुक्क एक मन लिएर
सयनी गुम्फ़न भित्र छिरेका तनहरु
एक्कासी आधारातमा हप्सिलो गीतमा
अघोरी बाबाहरु बागमती किनारा किनारा
छमछमी नाच्न थालेपछि
मुटुका तरंगहरु अप्रत्यासि हुइकिन्छन
अनवरत बतासिएर
रित्तो गाग्रो सुसेल्दै
अथक – रित्तो पेट हुनुमा
अथक – पसिना चुहाउनुमा
छुँदै-हुँदै आफ्नै तरंगहरु एकाग्र
भुमरिन्छन झुपडीहरुमा र बन्छ
एक ब्रह्माण्ड

सृष्टिमा माहागुरुहरुको उत्पति हुनुले
तिलहरु पहाडमा अनुदित हुँदै गर्दा
पहाडहरु तिलमा अनुदित हुँदै गर्दा
बिप्लेटिएका सहस्र जिन्दगीहरु
पाताले झरना भित्र पातालिरहेछ
उर्गल भित्र ढुट्टिएका दानाहरु झैं
अध्यारोले पिल्सिएका
जाडोले चिम्सिएका मनहरु
आवाजमा “प्रमिथस” कुर्लिरहेछ्न
कोलोराडो र गिला घाँटीका
मुहान र किनाराहरु
खोटेसिक्कामा लिलामी गर्नु भन्दा
सिंगो शरीर जिजीबिषामा तर्पण गर्ने मनहरु
सहर्स स्विकार्छन- जल्लाह्दहरुलाई
इतिहास र वर्तमानको समिकरणमा
अस्तित्वको योगफल निकाल्न ।

पथरी – ५ किराती चोक
कोशी – मोरङ
हाल आबुधाबी यूएई

Likhat Pandey – Aagaka Filinga Haru

लिखत पाण्डे – आगाका फिलिंगाहरु

तुषारोले पुरेको चुलामा
आगो सल्काउँदा
उत्साहले रक्तिन्छन्
नौलो ओठहरु,
अँध्यारोले पोतेको संघारमा
राँको उदाउँदा
डरले तर्सिन्छन्
काला रातहरु ।
कति प्रिय हुन्छ आगो
ठिहिराएका औँलाहरुलाई
कति प्यारो हुन्छ उज्यालो
बादल परेका नयनहरुलाई।
करविरको ओत मुनिबाट
मान्छेको हाड चाट्नेले
आगाका फिलिंगाहरु उठाएर
चिसो हिउँमाथि थुपार्ने गरे,
कहिले सुखानीको जङ्गलमा लगेर
तिनले आगाका फिलिंगाहरुको
छात्ती चर–चरी चिरे,
कहिले भिमानको झारीमा पु¥याएर
आगाका फिलिंगाहरुको घाँटी निचोरे,
छिन्ताङ र पिस्करमा लोहोराले पिसिए
आगाका झरिला जोवनहरु ।
वीर प्रसुता धर्तीको कोखमा
शहीदका रगतले गर्भाधान गरेपछि
करविरका दूदूहरुले निभाउँदैमा
किन ओइलिन्थे र आगाका फिलिंगाहरु
इतिहासको अजायव घरमा थन्किएको
पुरातात्विक जिवाष्म
अर्थात् फाटेका लुगाहरुको
एउटा भुल्लो अवशेष
डढेर खरानी नबनुञ्जेल
आगो दन्किएर बलिरहन्छ
यस ठाउँमा ।
हो अहिले आगो जन्माउने हातहरु
हत्कडीमा सजिएका छन्
आगो हिँडाउने गोडाहरु अहिले
नेलकडीमा बाँधिएका छन्
उज्यालो चाहने सारा आँखाहरु पनि
अहिले त्रासको धारिलो सङ्गिनभित्र
उनिएका छन्
मेरो आँगन हिरोसिमा र नागासाकी
बनेर रहिरहन सक्तैन यतिखेर
नवजात ओठहरु हिउँमाथिबाट नै
ज्वालामुखी जन्माउन
कालो झण्डाको जुलुश हिँडाइरहेछन्
उज्यालोको निम्ति झुप्राहरु
बिस्तारै आप्mनो ठाउँबाट
आगो सल्काउने प्रयास गरिरहेछन् ।
हातमा झुलो चकमक र दर्शन ढुङ्गा लिएर
म सडक र गल्लीहरुमा उत्रिएको छु
शस्त्रास्त्रसहित सुसज्जित हुनु पर्ने बेला छ यो
आगोको निम्ति पहिले बाजा उठाउनेहरुले
अहिले आप्mनो सारङ्गीहरुमा
फलामे तार फेरेर खिया पार्नु हुँदैन
आप्mनी जननीको मुहारमा
पूर्वी अरुणिमा झुल्काउन
आकाशको अगेनामा सबै मिलेर
सगर उठाउनु पर्छ
पर्खिएका छन् नजरहरु गोरेटा गोरेटामा
नजरभरि रगतले रचेको दिन भर्न
एक मुरी शाहस बटुलेर
हिमाली आँगनबाट
एकै चोटी आगोका फिलिंगाहरु उठ्दै
ज्वालामुखीको शीखा उठाउनुपर्छ।

Khemchandra Adhikari – Devkota Prati

खेमचन्द्र अधिकारी – देवकोटाप्रति

सन्ध्याकालमा
भिखारी र यात्री अतिथिहरू बनेर
वसन्तपूणिर्माप्रति न्याय गर्नुपर्‍यो भनी
सम्झाउन आएको बेला
मैले हुरीको गीत गाइदिएँ,
शाहजहाँको इच्छा व्यक्त गरेँ ।
पागल र गरिब आएर
ज्वरशमन प्रकृतिको व्याख्या गर्दै
राजासँग कलम मागे,
हामी नेपालीको गैंडोपासना र
साँढे बन्ने इच्छा सम्झी
मेरो बक फुट्यो-
प्रभुजी भेडो बनाऊ ।
नववर्षको समयमा वनमा
झञ्झाप्रति बेवास्ता गर्दै
घाँसीले तिनको घँसिया गीत गाइरहेको बेला
मानिसको विराटरूप देखी
इन्द्रेणीको सात रङ्को रहस्य बुझेँ ।
गौँथली र देवकोटाले कसरी बात मारे होलान् ।
दार्जीलिङको बाघचुलीमा गर गम्दा पनि
पत्तो पाइँन ।
बाघले बच्चा किन खान्छ, र
एक सुन्दरी वेश्याप्रति किन मोह जाग्छ
यसको रहस्य पत्ता लगाउन सकिनँ ।
बढीकी विष्णुमतीसित
पितृविलापको चर्चा गरिरहँदा
विष्णुमतीको धमिलो पानीको
अपव्याख्या गर्दै
धोबिनीले पगली बोली
तर
जब मैले झञ्झावर्णन सुनाइदिएँ
त्यसपछि
मुनामदनको झ्याउरे लय सुसेल्दै
मायाविनी सर्सीलाई भेट्न ऊ गई ।
लुनी, कुञ्जिनी, शाकुन्तलजस्ता
प्रख्यात सहपाठीले सुनाएको
प्रमिथसको पराक्रम
सृजामातालाई सुनाएपछि
मेरो मन
अहिले केही हलुङ्गो भएको छ ।

हाल- कीर्तिपुर, काठमाडौँ

Min Bahadur Bista – Jar Saheb Ko Kukur

मिन बहादुर बिष्ट – जरसाहेबको कुकुर

बसन्तको पदचाप बज्नु हुदैन कहीँ
हावाले सिठी बजाउँदै दगुर्नु पनि हुदैन
नदीले यात्राका पैतालाहरु बगाउनु हुदैन कहीँ
भालेले समयको सङ्केत पनि दिनु हुदैन ।
चराहरुको भावविमोहित सङ्गीत गुन्जनु हुदैन कहीँ
केराको पातमा लोखर्के पनि नाच्नु हुँदैन
आरुको बोटमा ताराहरु झुण्डिनु पनि हुँदैन
आकाशमा बादल उड्नु हुँदैन कहिल्यै
बादल ओढेर जूनले बादलकै कोठाभित्र निदाउनु पनि हुँदैन
कोखिलामा चिचिलाहरु च्यापेर आमाहरुले कतै निस्कनु हुँदैन कहिल्यै
ज्यावल बोकेर किसानहरु फाँटतिर लाग्नु पनि हुँदैन
फाँटमा जौका टुँडाहरु लहलहाउनु पनि हुँदैन
बगैँचामा रङ्ग-बिरङ्गका फूलहरु पनि फुल्नु हुँदैन
तोतेबोली बाल्दै ससाना केटाकेटीहरुले पृथ्वीजस्तो गोल भकुण्डो
उफार्दै, गुडाउँदै मैदानतिर कुद्नु पनि हुँदैन
गौँथलीले बर्षातका निम्ति गुँड बनाउनु पनि हुँदैन
हूँदैन, सूर्य उदाउनु पनि हुँदैन, सूर्य अस्ताउनु पनि हुँदैन
चौबीसै प्रहर अपराधीले झैँ शङ्काले कान ठाडा पार्दै
बाह्रै मास घृणाको तीखो नजरले चारैतिर हेर्दै
हरसमय फोहोर र भद्दा आवाजले गाली गर्दै सबैलाई
हरवस्तु काँचै चपाउँला वा निलुँलाझैं गरी
भोको अजिङ्गरले झैं
थुतुनो फट्फटाउँदै
र तरबारजस्ता तीखा दाँतहरु चम्काउँदै
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ ।
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको थुतुनोजस्तो थुतुनो लिएर
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको मिजास जस्तो मिजास गरेर
मानौं जरसाहेबको अर्को रुपझैं
संसारका प्रत्येक कुरुप, फोहोर र
भद्दा कुकुरहरुको सम्मानमा
पुच्छरले सलामी चढाउँदै
मानिसको सुन्दर इलाकाभित्र
घरी धुरीमा चढेर, घरी पर्खालमाथि बसेर
आतङ्क र अराजकताको साइरनजस्तो
भद्दा आवाजमा भुकिरहन्छ
र जरसाहेब
त्यस नमीठो, रुखो र असभ्य आवाजलाई
यस प्रयोगको सबभन्दा मीठो सङ्गीत ठान्दै
खित्का मारेर हाँस्नुहुन्छ
उस्तै नमीठो, रुखो र असभ्य आवाजमा ।

Charan Pradhan – Swachalit Desh

चरण प्रधान – स्वचालित देश
(मधुपर्क भदौ , २०६७)

कसले चलाइरहेको छ यो देश ?
बीच सडकमा लम्पसार सुतिरहेका खातेहरुले
वा
गोला, बारुदको नशाले चूर मातेहरुले ?
खाते -जो आफैँ अचल छन्
उसले के चलाउला र !
माते -जसले ढाल्नेबाहेक अरु जानेकै छैन
उसले पो के चलाउला र !
सल्काइरहेको देखिन्छ
जलाइरहेको देखिन्छ
चिथोरिरहेको देखिन्छ
निमोठिरहेको देखिन्छ
तथापि
कसैले पनि चलाइरहेको देखिँदैन,
र पनि ढल्मलाउँदै चलिरहेको छ
मेरो देश ।
सायद स्वचालित छ मेरो देश !

– असन, काठमाडौँ

Banira Giri – Chot

बानिरा गिरी – चोट

चोट
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट सुरु गर
दुइ आँखाका कुलाबाट
यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू
र पाकिरहून् चोटका बालीहरू
तिमी र म
मितेरी लगाई एकाकार बनौं
सदा-र्सवदालाई ।
कति घतलाग्दो
एक दिन
सम्सांझै
दोबाटोमा तिमीसित
जम्काभेट भयो ।
मैले
आफूलाई सम्हाल्न नपाउंदै
एक्कासि बलात्कार गर्यौ तिमीले
त्यस बेलाका
ती क्रूर आत्मीय क्षणका साक्षी
रगतका कुमारी टाटाहरू
सर्जमिन नभएका बेवारिसे लासजस्तै
छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा
हरेक चोटि
हरेक दिन
हरेक प्रहर
हरेक पल
ओहोरदोहोर गर्दा ती टाटाहरूले
झवास्स-झवास्स
मलाई दिलाइरहन्छन् तिम्रो सम्झना
र चोट यस्तरी अब ता
तिमी मेरो
सम्झना बनिसकेका छौ ।
चोट
पहिले-पहिले
तिम्रो हरेक प्रहार मेरा निम्ति
आगोको मुस्लो हुन्थ्यो
कांडाको बिझाइ हुन्थ्यो
खुकुरीको धार हुन्थ्यो
औंसीको रात हुन्थ्यो
तर आजभोलि
तिम्रो हरेक प्रहार एउटा र्स्पर्श बनेको छ
म स्वयम्-आगो बल्ने चुलो बनेकी छु
कांडा उम्रने झयाङ बनेकी छु
खुकुरी राख्ने दाप बनेकी छु
गोमनको विषालु दांत बनेकी छु
औंसीको अंधेरी रात बनेकी छु ।

सर्कसमा रत्याएजस्तै बघिनीलाई
चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई
चोट
तिमीले कति चांडै रत्यायौ मलाई
अब त
तिमी र म
नङ र मासु बनेका छौं
कृपण र पैसा बनेका छौं
चोर बाटो र पैताला बनेका छौं
हिंड ममाथि
सम्पूर्ण चोरी र डकैतीका साथ
यो निश्चय छ
तिमी थाकौला
म थाक्तिनं ।
ममा उम्रेका
जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई
तिम्रा विध्वंसक आंधीबेरीका झोक्काहरू
लेसोत्तर पारिदेऊ
ध्वस्त पारिदेऊ
चोट
तिम्रो भीमकाय स्वरूपले गांज मलाई
तिम्रा लपलपाउंदा
डढेलाका जिब्राहरुले चाट मलाई
तर उल्टो
थेत्तर बनेर
तिम्रा चोटैचोट थन्काउने तोपखानामा
मुन्टो लुकाउन आउंछु म
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो
तर पक्का हो
कान फोरेर सुन चोट
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्न
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्न ।

Rishi Bastakoti – Udaundai Gareko Joon Ko Kura

ऋषि बस्ताकोटी – उदाउँदै गरेको जूनको कुरा

उज्यालाको खोजीमा
एक हुल घामहरु
सात समुद्र तरिरहेछन् ,
बचे खुचेका दुई फाँकी उज्यालाहरु पनि
सुरक्षाको खोजीमा
सहर झरिरहेछन् ,
यतिबेला
यहाँको पानी पँधेरो
कहर भइरहेछ
गाउँले मन र गाउँले जीवन
खण्डहर भइरहेछ ।

आशाको त्यन्द्रो
सुक्नै लागेको यतिबेला ,
पहिचानको गीत
लुक्नै लागेको यतिबेला
यौटा जून उदाउँदै गरेको देखें
विप्ल्याँटाका विरुध्द
समय हिंडाउने चेष्टामा
उज्यालाको गीत
गुञ्जाउने अभिष्टमा
यौटा वतास सुसाउँदै गरेको देखें ।

अँध्याराका विरुध्द
उदाएको जून
कठोरताका विरुध्द
पलाएको जून
वेनामहरुका लागि
नाम भइरहेछ
गुमनामहरुका लागि
नाम भइरहेछ ।

मैले देखेको जून
तिमीले खोजेको जून
यौटा मौजा बनाइरहेछ
यौटा विर्ता कमाइरहेछ
घामले बसाइँ सरेको बेला
अँध्याराले राज गरेको बेला
ताराहरुलाई जगाइरहेछ जून
आत्मीयता र स्नेहको
शीत चुहाइरहेछ जून
अध्यारा गौडा र गल्छेडाहरु भेटिरहेछ जून यतिबेला
असंगतिका धर्साहरु मेटिरहेछ जून यतिबेला

मेरो मित्र ,
उज्यालाको विकल्प अँध्यारो हुनै सक्दैन
यसैले उदाउँदै गरेको जूनलाई
एकपल्ट पूर्णीमा हुनदेऊ
अभैm मौजा पैmलाउन देऊ
विर्ता कमाउन देऊ
यसपालि पनि फिर्ता भयो भने जून
फेरि यो धर्तीमा घाम उदाउने छैन
उघ्रिनै लागेको उज्यालो फेरि
कहिल्यै आउने छैन ।

बरु होसियार मेरो मित्र
प्यारो जूनमा कतै दाग लाग्नुहुन्न
साझा जून कसैको भाग लाग्नुहुन्न
हामीलाई पूर्णीमाको जून चाहिन्छ ।

Kangmang Naresh – Thaliyeko Gorkhali Itihas Ra Katmero Samjhana Haru

थलिएको गोर्खाली इतिहास र कटमेरो संझनाहरु

प्रत्येक छुट्टिमा
लाहुरेहरु घर फर्कन्छन
म्लेन्छसंग उठबस भयो भनेर
पानी पतिया गरिदिन्थे
बोडरहरुमा
देशका शासकहरुले
गाउँ गाउँमा जातिया
मिथकले छर्कि चोखाई दिन्थे
उसका बहादुरीहरु

चोखिएकी चोखिएनन
निलो गाडा र रातो रंगका
रिवनले झुण्डाएका
रसियन गनको काँचको धातु
भिक्टोरिया क्रसहरु
सरदार बहादुर तक्माहरु
आई.ओ.एमहरु
कि्रमीयान युद्धहरु
भोगेरघाटि
चेरेसिया र कावुल युद्धहरु

खुदादात खानको वीरता होस
या कुलबीर थापा मगरको
दोश्रो विश्वयुद्धको मौनधारण्
पुरै दुई हप्ता समय लाग्छ
संझनाका पुर्खाहरु
यसरी बाँचेका छन
ककिनविहीन चिहानहरुमा

फाक्सुसार्टर र निगालापानी गाउँ
कुलबीर थापा मगर
फोक्सिङ अल केफर
र कर्ण बहादुर
रस इज जोइ ट्‍युनिसिया
अर्जिया सुम्साको
लाल बं. भि. सि.को तितो कथा
वारपाक, गजेघले र
चीनहिल्स वर्माको फ्रन्टको अनुहार
घाइते गञ्जु लामाको
म्याको साङमो सिक्कीम
निङथोङखोङ गाउँ
राणाको हुकुमी उर्दी
गल्लावालको साथमा
लाहुर लागेर
भोगाङको रेलको लिखभरि
तुल बं. पुनले
गरीवीवीछ्‍याउदै वीछ्‍याउदै लडे

आपस्वारा ओखलढुङ्गाको
बहादुर अगमसींह रार्इको
ओखलढुङ्गा ठुलो छ कि
सिद्धीचरण श्रेष्ठको
ओखलढुङ्गा ठुलो छ
विशेनपुरले भन्ने छ कि
कविताले भन्ने छ
भि. सि. भानुभक्त बाजे हुकर्को
फाल्पु गाउँ,गोरखा
र स्नेडेन पुर्वको वर्मा
एउटै माया होइनन
दाहाखानी चितवन गाउँ
लछिमन गुरुङ र इन्द्रवति नदी
किनारकोटाङडाको बहादुरी सम्झनाहरु
पनि एउटै होइनन।
रम्घा गाउँ तनहुँ र
भानुभक्त आचार्यको
कुवाको कथा भन्दा
फाल्टै कथा वाचेको छ
तनहुकै भि. सि. नेत्र ब.थापा मगरसंग
विशेनपुर पहाडैपहाड वर्मातिर
लम्कदा झस्काइ दिन्छ
ती कथाहरुले
सान मारिनो राज्यको दादा
नाम इटाली
सेर ब.को रगत र पसीनाहरु
सम्भोग गरेका छन
घलेछाप गाउँ मानेर
थमन गुरुङको मायाको गाउँ
सिङला गोर्खा
परिकल्पना गरेको उहाको फोटो
अनुहारमा वीरता र केके केके
छापीएका छन
मोन्टेशान वार्ताले इटालीको लडार्इमा
हुरकेका छन वा छैनन
भी. सी. पदकका सन्तानहरु

राम व. लीम्बू र
च्याङथपु पाँचथर
सारवाक,वोर्नीयाको गर्मीमा
हाँसेरै त लडेनन होला
र रुवेर पनि लडेनन होला
भी. सी. पाएर बाँचेका र
युद्ध जीतेका गोर्खा साथीहरु
मरेकाहरुको खबर घरसम्म लगिदेउ
सम्झनाका सन्देशहरु

When you go home
Tell them for us and say
For your tomorrow
We gave our today

जब, तिमीहरु घर फर्कने छौ
आफन्तहरुलार्इ हाम्रो बारेमा भनिदेउ
तिमीहरुको भोलीको लागि
हामीले हाम्रो वलीदान आज दियौं
हामी के का लागि लड्‍यौं?
हामी कस्का लागि लड्‍यौं?
हामीलार्इ कस्ले लडन पठाए
युद्धमा?

Bimal Koirala – Dar Namanera Po Ke Garnu Ra?

विमल कोइराला – डर नमानेर पो के गर्नु र ?
(मधुपर्क माघ, २०६७)

जब शान्त स्वरहरू
आक्रामणमा पर्छन्
जब दूधे बालक पनि
घाँटी निमोठ्याइमा पर्छ
जब मौन बहुमतमाथि
हल्लाखोर अल्पमतले शासन चलाउँछ
जब नम्र शरीरहरूमाथि
हिंस्रकले डण्डा बर्साउँछ
जब व्यस्त सहर पनि
जङ्गलमा अनूदित हुन्छ
असुरक्षित वातावरणमा कसको पो भर हुन्छ र, अनि
डर नमानेर पो के गर्नु र ?
सत्यको विजय हुन्छ, डर नमानी लड्नु
भन्ने नै त्रासदी बीच गयो भने
छिमेकी यन्त्रणाको शिकार हुँदा अर्को छिमिकी
ढोका थुनेर सुत्छ भने
जब सभ्यता र सौहादर््रताको पर्दा
निर्माण गर्नेहरू नै च्यात्न उद्यत हुन्छन् भने
लाजै नमानी शासनमा बस्नेहरू
जनताप्रति गैरजिम्मेवार हुन्छन् भने
डर नमानेर पो के गर्नु र ?
युद्धको विभिषिकामा परेर घाइते भए
जस्तो छ देश
जहाँ नागरिकभन्दा धेर सहिद छन्
नमारिएर छाडिदिएका दुर्बलहरू एकाध छन्
अपहेलित-अर्धमृत
भावना र अन्तिम सासको दोसाँधमा छन्
सिमाना मिचिएकाहरू सुस्ता र कालापानीमा
कराउँदै पनि छन्
राष्ट्रियताको बाक्लो बर्को ओढेर देश
मस्त निद्रामा छ
सपनामा पनि तर्साउन आउँछन् गिजाभरि
रगतको टाटा बोकेका राक्षसहरू-र, हैरान पार्छन्
बलात्कृत मैना र फूलमतीयाहरू
यौन क्षुधा शान्त गर्न पल्केकाहरू साँझ भट्टीमा सल्लाह गर्दैछन्,
आमा भन्छिन्-रातैभरि अनिदो बसेर पनि हुन्छ र ?
म भन्छु-डर नमानेर पो के गर्नु र ?
स्वतन्त्रताको जग हल्लिँदा पनि
मेरो कलमको निबबाट मसीको थोपा झर्दैन
आतङ्कित छु वैरीबाट होइन आफ्नै मित्रहरूबाट
जसले सिकाए प्रजातन्त्रको पाठ-र देख्दैछु
तिनको शासन गर्ने आडम्बर कहिल्यै मर्दैन
नदी किनारको बकुल्लाले माछा खान्न भनेर जोगी भए जस्तो
मालिकहरू बसेका छन् किनारमा
र मुण्टो लुकाएर बसेका छौँ हामी-यस्तोमा
प्रश्न सोधर हैरान पार्छन् साथीभाइहरू
तिमीले आँट गरे हुन्न र ?
मेरो भने जवाफ हुन्छ-यस्तोमा
डर नमानेर पो के गर्नु र ?
भयरहित वस्ती निर्माणको सपना
विस्तारै विस्तारै
भयपूर्ण विस्फोटको नजिक गइरहेछ
अनि,
डर नमानेर पो के गर्नु र ?
डर मानेर पो के गर्नु र ?

– ज्ञानेश्वर

Ajaya Paudyal – Kahile Yeta Farke

अजय पौड्याल – कहिले यता फर्के

कहिले एता फर्र्के जनतालाई बहलाए
फेरी उता फर्र्के मित्ररास्ट लाई पनी टकराए
फकाए, फुलाए, फेरी थुमथुमाए
भन्दै हिडछु सहकर्मी सबैलाई मैलेनै सम्झाए
जो कुरा अझै आफै नै सम्झिन सकिन खोई मैले कस्लाई के सम्झाए?

लेखु लेखु भन्दै आगाड़ी आए न लेखे न लेख्नन नै लागाए
थोरै मात्रै पो हो लिएको मैले जनताले के नै पो गुमाए?
सुंन्य माँ नै त हो मैले सुरु गरेको सुंन्य माँ नै अन्त्य गराए

माकुरीको चाला जस्तो नेपाल आमालाई आफै खाए
आफ्नो परिवार बलियो पारेर देशलाई टुक्रा टुक्रा बनाए
अझैपनी सगर्व नेपाली हु भन्ने साहस पनी बनाए

अब तपाईहरू नै भन्नुहोस म को हु र मैले देश कस्तो बनाए?

Mohan Sitaula – Santanabbe Saal : Ek Shabdachitra

मोहन सितौला – सन्तानब्बे साल: एक शब्दचित्र

आर्य घाट बडो भीड शोकाकूल समूहले
भेला भएर पर्खेका छोरो आउला घाटमा
प्रभात आँसुले ल्याप्फै भिजेर दिवसै पनि
साँझ र रजनी रुन्थे गए विष्णुचरण भनी

सम्पादन उनी गर्थे पत्रिका भीड–भेलको
पहिलो चिन्तना डाको नेपाली मुटुको सिपी
खिपेर चिन्तना नौलो, टिपेर रोशनी–लिपी
‘आवाज’ नै थियो त्यस्को–स्वतन्त्र कसरी बनूँ ?
समुन्नत धराव्यापी नेपाली कसरी बनुँ?
विश्वको रङ्गमञ्चैमा शुभ्र संस्कृति सिञ्चनु!

कलाकृति थिए जस्का गद्यपद्य मिठासमा–
बग्दथे, पढ्थे पे्रय, श्रेय एकान्त कान्तमा
‘सुमती’ हैन दोस्रो त्यो नेपाली उपन्यासको
श्रीगणेश थियो साँच्चै पियारो इतिहासको
समाजको खुला ऐना नव्य दृष्टि सुलोचना
उद्धार र सुधारैका पाठ पढ्छन् सबैजना

सन्तानब्बे थियो कालो, काल लाल नेपालको
उग्र विद्रोहको साल, कालजयी कमालको
तन्नेरी, तरुणी धेरै हराए ,ध्.वस पारिए
लघारिए, कति मारे,कति पाशोमा बाँधिए
होम्मिए प्रौढ र बूढा युगान्तर गरौ भनी
मरेनन् ती सबै बोचे काल–खाल पसे पनि
मृत्युको व्दारमा पुग्दा मृत्यु दौडेर भाग्दथ्यो
गाथा अमरको गाई नवधुन बजाउँथ्यो!

पृथिवी कुरुक्षेत्रै हो नवचिन्तन–भेषको
योद्धाको युद्ध हो गाह्रो, नव निर्माण देशको
युग–पुरुषको उच्च अठोट, पुण्य कर्मको
गरौँ कि त मरौँ साँच्चो ! लीला कर्मठ पात्रको
सन्सार कार्यशाला हो लक्ष्य,प्रयोग,प्राप्तिको
उत्सर्ग जीवनी गर्ने मृत्युञ्जयी शहीदको
चौतारी उच्चमा बस्ने, महिमाको ,सुवासको
गौरव–गानमा बाँच्ने, मान, सन्मान सानको!

काललाई अँगालेर कालकै फूल भै फुले
नवयुग बनाएर, नव्य मौलो खड भए
सभ्यता सर्छ मौलेर चेतना–दीप पाउँदा
बलिदानी, तपस्वी र त्यागवीर पलाउँदा
इतिहास त्यहीँ बन्छन् जब नव्य अठोटका
एकै निमेष र स्थान ब्यूँझन्छन् दूर दृष्टिका
उठ्तछन् ,जुट्तछन् गाँठे!सशक्त भई चल्दछन्
दूर भविष्यका द्रष्टा बनेर जब बल्दछन्!

जीवन्त पान्थ हो मान्छे इतिहास बनाउँछ
उर्ध्व निकास नै खोज्दै नित्यै ऊ सुवसाउँछ
सतासी वर्षमा पुग्दा जेल झेलेर यातना
खपेर देशकानिम्ति, जेलबाट छुटे पनि
रोगी र बृद्ध थे तै’नि विद्रोह किन छोड्दथे?
लडी रहे दिए, हाले, भरे जोस र होस नै
वीरत्व हात पारेका विष्णुचरण उच्च हुन्
सपुत हुन् ,ठूला ज्ञानी, शुभ चिन्तक देशका
सद्बुद्धि, सूचना नौला नवयुगीन भेषका

स्वतन्त्रता र क्रान्तिका धन्य सेवी! समाजका―
बूढा–खाडा,कडा,काढा, खडा पीडा प्रगाडका,
अन्यायका सदा द्रोही, दूर दृष्टि भविष्यका
चित्तका, चेतका उच्च, जोसला, मुक्ति–मार्गका
बढारी तिस्कला,काँढा, उठाई रणका खुँडा
मडारी जोस, घम्सान, द्रोह, विद्रोह–खातिर
दुष्ट ,दुस्शासनी, दम्भी, हिङ्स्रक जन–मारक
हटाएर नयाँ ल्याउँक्ष्क, सभ्य शासक, पालक
समान न्याय,सन्मान, राष्ट्रिय, विश्व–भावना
रचना–रागका नाना,मानवीपन–चाहना
टेक अठोटको लिन्थे, टेका ,बोली, विचारले
आड पहाडझैँ दिन्थे, कहाँ काँतर टिक्दथे?
टिक्नेले कविता पाए एलिजिका मिठासमा,
सुवासमा,प्रशंसामा, मान्छेको इतिहासमा

पुनःपुनः नयाँ पुस्ता आउँछन् मृदु गानमा
तानमा ,धुनमा नौला, गुन्जाई स्वर लोकमा
दुःखको जीवनीबाट उठ्न दुःख सँगाल्नु छ
शत्रुता हैन मायाँको मधुर धार प्यूँनु छ
भुत्भुते बालुवाबाट उद्यानतिर लम्कन
ताप,सन्ताप तोड्नु छ ,सघंर्षशील बन्नु छ
व्देष,क्लेष,तीता डाहा सारा ध्वंस गराइद्यौ
प्रदूषण, खुराफाती सृष्टिबाटै पठाइद्यौ
मनको निम्नगाबाट म्लानभाव हठाइद्यौ
दिलको वागमा सङ्लो पे्रमधारा बहाइद्यौ
भुल्भुले मुटुका मूल सुवासित हुँदै बहुन्
हृदय–तालमा भाव–ताराहरू फुलि रहुन्।

यस्ता सद्भाव ती राख्थे,यस्तै नै पनि बोल्दथे
कार्यका क्षेत्रमा सारा उतारिकन छाड्दथे
यिनकै स्निग्ध अन्तेष्टि गर्न पवित्र पुत्रले
उज्यालो मार्गको दीप्ति बाल्न सुपुत्र रोकिए
अनन्त छुट्टिँदो आत्मालाई निहाल्न छेकिए
प्राणयाम महायान भनी विकल भैरहे
थुनिएका थिए भित्रै सिद्धि एकान्तमा रहे
दागबत्ती र अन्तेष्टि सारा अरुले पो गरे

–प्रकाशोन्मुख ‘सिद्धिसुधा’ बाट

Sandesh Rai – Sankramit Buddha

सन्देश राई – संक्रमित बुद्द

असम्भव यहाँ केही रहेन
पिपलको फेदमा बस्ने बुद्धलाई
एच.आई.भी. भएको छ

परिवर्तित छन् सोँचाईहरु
हराएको छ आफ्नोपन
मौलाएको छ गलत मानसिक्ता
बुद्ध संक्रमित छ

सम्झी सम्झी विर्सँदैछौँ आफैलाई
मष्तिष्कमा भर्दैछौँ हिंसाका कुहिराहरु
बाध्य पार्दैछौँ पुछिनलाई सिउँदोहरु
टुहुराको सम्मान दिँदैछौँ दुधे बालकलाई
डुबुल्की मार्दैछौँ रगतको स्विमिङ्ग पुलमा
पेटपुजा गर्दैछौँ परेवालाई काटेर
बुद्ध संक्रमित छ

मानव अस्थिपञ्जरको हाउभाउ लिएर
हराईसकेका आफ्ना वाणीहरुसँगै
हिपहप संगीतको तालमा झुमिरहेछ
अस्तित्वहिन वाँचीरहेछ
बिरामी बुद्ध
आधुनिक बुद्ध

थाकेको शरिर
विर्सिएका शान्तिसन्देशहरु
क्रमभंग तपस्याहरु
जताततै चिच्याहट र घाउहरु
एड्स हुन सक्छ बुद्धलाई
संक्रमित बुद्धलाई

मान्छेलाई मान्छे सोचिएको छैन यहाँ
भाइ–भाइ फुटेका छन्
बाँच्न सक्छ बुद्ध शायद
काँधमा काँध मिले
हिमाल, पहाड र तराई जुटे

Sabin Singh – Janawar Haru

सबिन सिंह – जनावरहरू

सडकमा,
एक हुल भेडाहरू,
गन्तव्यतिर लम्कदैछन,
कुनै भावना, कुनै आक्रोश नराखी
चुपचाप लाम लाग्दैछन ।

चोकमा,
एक हुल चमेराहरू
बाटो छेकी बसेका छन्
चिच्याउँदै, उफ्रिँदै, विद्रोहको आगो बाली
राप तापी रहेका छन् ।

अनि सेतो दुलोमा,
अलि सानो हुल स्यालहरू
आराम फर्माउँदैछन्,
सिनो कुरेर, ढोकामा चुकुल मारी
सुख सुविधामा रमाउँदैछन ।

रातो खोपीमा,
एउटा म परेवा
सानो झ्यालबाट यी हुलहरू चियाउँदै बसेको छ,
साँझ गुँडसम्म कसरी पुग्ने भनी
चिन्ता गर्दै योजनामा डुबीरहेको छ ।

Sanju Bajagain Nepal – Rupantar

सन्जु  बजगाईं नेपाल – रूपांतर

रंग मेटिएको
क्यानभास जस्तो जीन्दगी
शुन्य सडकको सालिक भएर
केवल रात रुंगीरहेछ ।
लाशहरुले छोपिएर
लम्पसार तन्किएका बाटाहरुमा
धुकधुकी बोकेर
‘म’ म हुनुको सट्टामा
ऊ भैरहेछु ।
एक ग्यालेन पेट्रोल
एक सर्को बारुद पोल्टोमा
आगो सल्किन बाँकी क्षण
आकाश पर्खिरहेछ
अझै पनि ‘म’
म हुनुको सट्टामा
ऊ भैरहेछु ।
मौन ठडिएर झुठो बसन्त
पर्खिरहेका बग्रेल्ति पहाडहरु
काकाकूल किनार
घिस्रिएको नदी
थोपा-थोपा आँखाहरुमा
फेरी पनि ‘म’ हुनुको सट्टामा
ऊ भैरहेछु ।
छातीभित्र थोत्रो कम्पास
पाताल आकाश
आकाश पाताल भैरहेछ ।
भूत पछिल्तिर
भविष्य अगाडि
वर्तमान चेपिएको
तथापी
‘म’ हुनुको सट्टामा
ऊ भैरहेछु ।

– ब्रसेल्स, बेल्जियम