Pushpa Adhikari – Euta Kabi

पुष्प अधिकारी ‘अन्जली’ – एउटा कवि


एउटा कवि
समय ओढेर
भोको यूगको
घाइते चिन्तन
बोकेर
लमतन्न सुतेको
आकाशमुिन
मानवता ओछ्याएर
थाकेको
विदिर्ण जीवन
लेखिरहेछु
समयले टेकेर छातीमा
इतिहास जन्माएको छ
अविष्कार गर्दै विज्ञानले
संसार चिनाएको छ
कम्प्यूटरमा वेभसाइट हेरेर
फेस वुक/हाइफाइवमा
आफ्नै अनुहारसँग
वेमेल लाग्ने
भिन्न भिन्न तस्विरहरुको भीडमा
कतै कहाली लाग्दा
कतै लोभ लाग्दा
समयका तस्विरहरु सँगै
एउटा कवि
भोको युगको
घाइते चिन्तन गर्दैछ
जाजरकोट भोकले
रोएको छ
दैलेख र रोल्पा
रोगले थलिएको छ
प्यूठानमा नुन छैन
सल्लेरीमा चामल छैन
मधेशको आगोले
पहाड चहराएको छ
तराइको वन्दले
काठमाण्डौ अनसन
बसेको छ
थाहाछैन
अलिना सपनाहरु
लोडसेडिड्ड भएर
कति दिन अँध्यारो बाच्नु पर्ने हो
मान्छेहरु
मानवता घोप्ट्याएर
संवेदनाहिन भएको छ
एउटा वादशाहको
विकल्पमा
सयौं वादशाहहरु
जन्मिएका छन्
समयले दिएको
वलियो विश्वास
भत्किएको छ
वारुदले पोतिएको
अग्लो पहाड
लाभा निस्केर
ज्वालामूखी भएर
फुट्न
तम्तयार छन्
कैयन भोका सपनाहरु
हिउँदका तुषारोले
निमिट्यान पारेका छन्

एउटाकवि
समय ओढेर
भोको यूगको
घाइते चिन्तन बोकेर
लमतन्न सुतेको
आकाशमुिन
मानवता ओछ्याएर
थाकेको विदिर्ण जीवन
लेखिरहेछु ।

Krishna Sharma – Rajani Madhu

कृष्णा शर्मा – रजनी मधु

खुशीका दिन सुहाना साह्रै नै सौम्य राम्रो ।
अर्को कतै भएन संसारमा जोडी हाम्रो ।।

रजनी मधु दुवैमा ज्यादैँ लुकको माया ।
एक आपसमा मिलेर रच्थ्यौं सुरम्य छायाँ ।।

छाँया मूनि लूकेको आनन्दी पूष्प सज्जा ।
सारा जगतै आँखा पर्दो थियौ यसैमा ।।

एक एक दिन बित्यो कर्तब्य कै अंगालो ।
किन हुन्थ्यो समय बेर्थै तितो तथा अमिलो ।।

सैतिस बर्ष विते सामिप्यमा दुबैको ।
भएन बिछोड एक दिनमा पनि कुनैको ।।

फुलबारीका फुलहरु सुम्पिई मालीलाई ।
आनन्दले बस्यौँ है कयौँ दिन अलि सुस्ताई ।।

जीवन र मृत्यु आखिर साश्वत सत्य सबको ।
एक दिन आई लगिगो सामुन्नेमा सबैको

कर्तव्य एकमात्र बाँकी थियौ बचेको ।
शुशिला र सुन्दर वाला हो वंंशको जमर्को ।।

भगवान आषिश देऊँ पु¥याउ मधुको इच्छा ।
हुन्छु यसैमा सन्तोष र यहि सदिक्षा ।।

कालिमाटी, वाफल

Mohan Bahadur Kayastha – Atma Bimba

मोहन बहादुर कायस्थ – आत्म बिम्ब

कलेटी परेका ती कन्चट र निधारका धर्साहरु
हिस्सी नपरेका ती अनुहारका रेखहरु
वर्षौंवर्षपन्जामा परेका ती भावनाहरु
यसै ओइलाएर सुक्नेछन्
धुजिएर जानेछन्, बिलाएर जानेछन्
किनभने
यहाको आबोहवाले नौलो रङ्ग लिएको छ
नया पालुवा फेरेको छ-आफै भित्र ।

जुगौंपहिले हिस्सी परेको अनुहार
बान्किलो टम्म शरीर
आज कलेटी पर्न गएको छ
बान्किलो शरीर गलित भइसकेको छ
उठ्न-बस्न धौधौ परिसकेको छ (देखिन्छ)
किनभने
यहाको आबोहवाले नौलो रङ्ग लिएको छ
अनैतिकतालाई अगालेको छ- आफैंभित्र ।
भोकप्यासमा अल्झिएको त्यो दिव्य अनुहार
उधो न उभो भएको त्यो शरीर
ताजा रगतले भरिएको थियो कुनै बेला
सुन्दर-शान्त थियो कुनै बेला
किनकि
यस जुग खाएको कलेटीले देखाउछ-
जिउनुको परिश्रम अनन्त छ
अतिशय कठिन छ
औ यहाको आबोहवाले
पालुवा फेरेको छ- नैतिकतालाई बिर्सेंको छ ।

Hari Ghimire – Badhi

हरि घिमिरे – बाढी

वर्षा लागे पछि-
तिमी नदी-किनारका वस्तिहरु!
भयभित भएको कुरा गर्छौ
बाढी आउला कि भनेर
दुई महिनाका लागि
मुटु कमाउदै तर्सन्छौ
तर
दस महिनाको प्राकृतिक सुन्दरता र स्वच्छताको
हरियाली श्रेष्ठताको
कमसे कम उपभोग त गर्न पाएका छौ्।
नदी किनारका ओरिपरि
त्यै बाढीको पानीले
नयाँ सिर्जना त गर्न पाएका छौ
तर
हामी गाउँ-शहरका बस्तीहरुमा
सँधै वर्षा लागेको छ-
मृत्युको वर्षा
हत्या-लुट-बलात्कारको वर्षा
अपहरण-आतङ्क र अशान्तिको वर्षा
तिम्रो त मनसुनले आकाशबाट पानी बर्साउँदो हो
एकै छिन डर लागे पनि
मन रोमाञ्चित भएर उठ्दो हो
हाम्रा त-
आँखाबाट वर्सेका पानीले
बाह्रै महिना बाढी ल्याएको छ
त्यो बाढीभित्र-
विनासै-विनासको लीला छ
चिहानै-चिहानको खात छ।
हाम्रो त मुटु नै छैन
के कमाउँनु?
के तर्सनु?।

Mithila Pyakurel – Euta Tara

मिथिला प्याकुरेल – एउटा तारा
(Source: Himal Khabar)

एउटा तारा मलाई आकाशबाट हेर्छ राति173राति
नआउञ्जेल भानु प्यारा मलाई आकाशबाट हेर्छ रातिराति

मन हुँदो हो उसको पनि सँगै बस्न प्रीतले कस्न
तर ऊ Continue reading “Mithila Pyakurel – Euta Tara”

Sujan Budhathoki – Aakash ko Baaj Bhaye

हामिसङ्गै आकास उडेका
बचेराहरु पनि बाज भए
कास सोउचालयका किराहरु
अनि भमराज भए

अमृत पिलाए सप्नअफ्सरा झै
जस्ले अमर जिलाए,
अफसोच उनिहरु नै आज
नरकका यमराज भए
कास सोउचालयका किराहरु
अनि भमराज भए

तिमी जिन्दगिभर जस्लाइ कटेज
भनेर जिस्कायोउ
आएनोउ कैले पनि फर्किएर हेर!
त्यहा ऐले ताज भए
हामीसङ्गै उडेका बचेराहरु
आकासको बाज भए

यो देसको प्लेटफर्म
या जिन्दगिनै टर्निङ्ग प्वाइन्ट रहेछ
जस्तो कि हिजोका ती हातहरुमा
हतियार आज भए
कास सोउचालयका किराहरु
अनि भमराज भए

आखिर जस्लाइ मनमन्दिरमा
भगवान भन्ठानेर पुज्योहु
गलत जङ्गली हैन कि
हाम्रै ढोगी अन्ध अन्दाज भए
हामीसङ्गै आकास उडेका बचेराहरु
आज बाज भए

सोच्नुस, कि आज हाम्रो देस
कस्तो हुन्थ्यो होला?
यदि आज यो सरकार
र समाज हाम्रो माझ भए?
कास सोउचालयका किराहरु
आज भमराज भए

मलाइ बिस्वास छ कि,
मेरो पनि घरभरी घाम छिर्नेछ
के फरकपर्छ र यार
ऐले यति अन्धकार साझ भए?
हामीसङ्गै उडेका बचेराहरु आज
आकासको बाज भए

कारागारमा एक बाघलाई बन्द
गरेको देखेर, घरघरमा
कुत्ताबिल्लिहरु भन्छन
अब सब राजाहरु सखाब भए
हामीसङ्गै उढेका बचेराहरु आज
आकासको बाज भए

खायो बाढी,पहिरो
र भुकुम्पले सारा घरखेत बगायो
तर किसानले भन्यो कि
“म अब जन्मकैद आजाद भए

हामिसङ्गै उढेका बचेराहरु आज
आकासको बाज भए
कास सोउचालयका किराहरु
अनि आज भमराज भए!!

@आकासको बाज भए

Kum Shahi – Pokhara

कुम शाही – पोखरा

तिम्रै बिशाल काखमा
बिभिन्न नामले परिचित
बसन्त फुलाउदै कांडालाई पन्छाउदै
अंकुर फुटाउदै बहार उन्यौ ,
पृथ्वीमा घाम छरिदा नछरिदै
सरद्को दाना सगै फूलहरु हाँसिरहेका
धोबिनी चरी बोलिरहेकी
परिवर्तन र नयाँ यामको खोजिमा
तिमी कती भाग्यमानी पोखरा,
परिबर्तित मौसमसगै तरुनी तन्नेरीहरु मधुर मिलनलाई
मनको गति दिन करुण कहानी र जीवन गाथा यौवनको
बैसालु रस पस्कदै
अपुरो कथा पूर्ण गर्न ब्यस्त छिन्
पोखरा,
तिम्रै कोमल आलिँगन
अनेकौ नामधारी तालहरु
फेवा,बेगनास, रुपा
अरु अनगिन्ती नामहरु
प्राकृतिक मनोरम
मधुर रस कि धनी
पोखरा,
माछापुछ्रेको काखमा
सेतीलाई पोल्टामा लुकाएर
आफ्नो गन्तब्यमा पुग्न आतुर
कति शक्तिशाली तिमी
पोखरा,
तिम्रै स्पर्शले आँशु र सुस्केराहरुलाई
सदाचारको माला पहिराइ रहेछौ
मधुर चुम्बनको साथ
तिम्रो शताब्दियौ देखिको आगमनलाई
सुस्वागतम “पोखरा” ।

Sushmita Nepal – Kavita Ko Ghar

सुश्मिता नेपाल – कविताको घर

पहाडका चुचुराहरुलाई जग हालेर
ढुकढुकीलाई ढोका बनाएर
सप्तरङ्गी इन्द्रेनीलाई दलिन हालेर
हावाका झोक्काहरुलाई गाह्रो बनाएर
आकाशको छानो हालेर
बादलका बुट्टाहरुलाई आँखीभ्याल बनाएर
एउटा सानो कविताघरको
निर्माण गर्न लाग्दै छु

सानो कविताको घरमा
जून–ताराहरुको पिलपिल बत्ती
बोल्न चाहान्छु
बिहानीको सूर्यको किरण
अँजुलीमा उठाएर
मनको दैलो पोत्न चाहान्छु

जीवनको गोरेटोमा नै अल्झेका
आँखाहरुलाई
कुहिरोभित्र श्रमलिई हिँडेका पाउहरुलाई
समयसँग लरखराइरहेका हातहरुलाई
मेरो सानो कविताको घरमा
भित्र् याउन चाहान्छु

चराहरुले गाउने मीठो सङ्गीत
धरतीले आफै जन्म लिँदाको रोदन
आवाजहरु तोते बोली बोल्दै
मेरो ढुकढुकीको ढोका
घचघच्याउन आइपुग्छन्
ठीक त्यसैबेला नै
म एउटा सानो कविताको घर
निर्माण गर्न लाग्दैछु ।

Ajit Chhetri – Prem Ek Antaheen Yatra

अजित क्षेत्री – प्रेम-एक अन्तहीन यात्रा

महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।

उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

उ झुकी
बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको
मृग सरी आत्मसमर्पण गरें
लाग्दैथ्यो
उसले सिकार गरिसकि
र, अब खान्छे पनि
काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको
समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
ब्यग्र प्रतिक्षा थियो
उग्र चाहना थियो
मिठो मिलन थियो
उ ममा र म उमा
कैद थियौ बेकसुर
प्रेमको अन्तहीन जेलमा

छोरा टिभी हेर्दै थियो
हामी एक अर्कालाई बेर्दै थियौं,

लाग्दैथ्यो-
यो समयको सुई यहिँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा
यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौं
बिना पाइला
बिना बाटो
प्रेमको एक सुदुर यात्रामा ।

हामी सिमानामा थियौं
दुई ज्यानको
दुई मनको ।
तर निसंकोच उ हस्तक्षेप गर्दै थि
मेरो सिमाना माथी
मेरो अस्तित्व माथी
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन-यो कस्तो खेल हो
न हार हुने न जीत ?

अनायसै उसले सोधी-
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशंकोच जवाफ दिएँ-आमा

प्रेमको यो महासागरमा
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिन
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढि मायाँ गर्छु
प्रिय,तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आईपुग्छ
आफ्नी आमाको काखमा
र,लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी
मेरो छोराको पहिलो प्रेम हौ
र,मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।।

-युएई

Radha Baskota – Badalindo Man

राधा बास्कोटा – बदलिदो मन
(मधुपर्क असार, २०६७)

हरिया छन्-पातहरू
मनसँग दाँज्नु थियो
चङ्गा छन्-वैंसहरू
लहरासँग बाँच्नु थियो
जीवन गतिमा
धेरै गल्तीहरू गरिएछ
बोल्नै नहुनेसँग-बोलिएछ
सँगै पाइला चाल्नेसँग
सधैँ सधैँ टाढिएछ
खै, म
मान्छे त चिन्छुजस्तो लाग्थ्यो
त्यो पनि
केवल अहङ्कार रहेछ
असलको आडलाई
सधैँ घृणा गरेर
पश्चातापको साथ लागिएछ
सेता
नरम
बादलका टुक्रासँग
सधैँ झूटो बोलेर
काला
विषालु
बादलको लहरमा लागिएछ
आँखाहरू
भर्खर खुलेजस्तो लाग्दैछ
अहङ्कारको बादल फाट्दैछ
किरिया खाएर भन्दैछु
अब झूटो बोल्न सक्तिन
फुकाएर
मनका विगतलाई
म तिम्रो
सेतो सिमलको भुवाजस्तै
मनभित्र मन राखिदिन्छु
सत्ते
धरोधर्म
विगतका
गलत पानाहरू पल्टाएर

गर्मीको जेठ पनि देखाइदिन्छु
सुकेको शिशिर पनि देखाइदिन्छु
सत्ते
धरोधर्म
मन साक्षी राखेर
आत्मा साक्षी राखेर
म तिम्रो सिमलको रुखजस्तो
शरीरमा
भुवा भएर घुम्नेछु
विगतका विषालु फोहोर
झिजाएर तिम्रै सामु
गरुङ्गो मन विसाएर
रुने छु
फूलका पत्र फक्रेर
धरोधर्म
तिमीलाई दिएको घृणा छुनेछु
चन्द्रमा जस्तै
तिम्रो दिलको दिल बनेर छुनेछु
सत्ते, धरोधर्म ।

J N Dahal – Ulto Yug Ko Manis

जे एन दाहाल – उल्टो युगको मानिस

अँधेरी सुत्छ झिस्मिसे उठ्छ अँधेरी देख्द छ
नयन भित्र लागेछ जाली उभिण्डो लेख्द छ
भन्द छ दोषी लाउदै यहाँ संसार कस्तो छ ?
त्यो लोभी पन , घमण्डी मन मानिस उस्तो छ।

उल्टो Continue reading “J N Dahal – Ulto Yug Ko Manis”

Abhishek Darnal Biswa – Ek Din

एक दिन

धन सम्पत्ति
तुच्छ हुन्छ मेरो अघि
लोभ,लालचले मलाई
अलिकति छुँदैन
रिस, डाह के हो?
यस्ता कुनै शब्द हुँदैन
कुन रात अनि
कुन दिन
म, कुनै वास्ता गर्दिनँ
परिवार होस्
या त प्रियसी
म कसै संग बोल्दिन
रिसाएर होइन
बस म बोल्दिन

मेरा रुपले अनि बलले
घमण्ड गर्न छोडिदिन्छ
कसैलाई लुट्न
कसैलाई छल्न
सबै कुरा बिर्सिदिन्छ
म संग कुनै रहर
न कुनै कर,केही पनि हुँदैन

आँखाले सपना देख्न
मुखले ओंठ खोल्न
कानले कुरा सुन्न
नाकले गन्ध सुंगन
अनि
खुट्टाले पाइला चाल्न
सबै कुरा बिर्सिन्छ
भोकले भोजन माग्दैन
प्यासले पानी माग्दैन
जस्तै ठु..लो बिमारले पनि
मलाई कुनै असर पार्दैन
ढुङ्गाले थिचोस्
या त
अगुल्टोले पोलोस्
म केही बोल्दिन

ए हजुर,
अचम्म नहुनुहोस्
म बोल्न खोजेर पनि
बोल्न सक्दिनँ
हिँड्न खोजेर पनि
हिँड्न सक्दिनँ
जहाँ लैजाउँ
जता लैजाउँ
म केही बोल्दिन
रिसाएर होइन
बस म बोल्दिन

किन कि
त्यो एक दिन
म,म हुन्न
म केवल संसारले मृत घोषित गरेको
एउटा अचेत लाश हुन्छु
त्यसैले म केही बोल्दिन
मेरो नामले सबै कुरा बोलिरहेको हुन्छ।

Sushila Khadka – Sundar Sapana Haru

सुशीला खड्का हसिना – सुन्दर सपनाहरू

मेरी आमाले
पैतलामा काँडा बिझाउँदै
भोको पेट कसेर
भालेको डाकसँगै
वनमा पुगेर ल्याएकी
डोकोभरिको घाम
हेरेर म खुसी हुन्थेँ,

मेरो बुबाले
झिसमिसे उज्यालोमा
आँखा
मिच्दै
चरचर चिरिएको हातले
गोबर पन्छाउँदै
गोठभरि छरेको जून
हेरेर म दङ्ग पर्थें,

एकातिर
मेरी आमा
निभेको चुलो बाल्न बस्थिन्
उद्देश्यका दीपहरू सल्काउँदै
डालीभरि चाहनाका ताराहरू बटुल्दै
हरेक साँझ जाँतोमा
सुख, दुःख पिस्थिन्
प्रत्येक बिहान पँधेरीमा
गाग्रीभरि आशा भर्थिन्
अर्कोतिर
हलोजुवा काँधमा बोकेर
हलगोरु खेद्दै ओरालो लाग्थे बुबा
बाँझो बारीसँगै जोतिन्थे
उहाँका अनगिन्ती इच्छाहरू
खेतका आलीसँगै लेप्सिन्थे
भोकमा सिस्नु र खोलेमै रमाउथे
जुन दिन समयले कोल्टे फे¥यो
झरेन आँगनीमा
कुनै नौलो बिहानी
उनिएन खुसीहरू
सम्झौताको डोरीमा
भरिएन सुख–शान्ति,

ममताको अँगालोमा
सधैँ–सधैँ
उस्तै दुःख उस्तै पीडा
झन्झन् थपिँदै जाँदै छ
उहाँहरूको जीवनमा
अझै अप्ठ्यारो
अझै अँध्यारो
अब कैयौँ
बाधा र व्यवधानका बाबजुद् पनि
लड्ने छु म नियतिसँग
कोर्ने छु भाग्यरेखा
सुकाउने छु, आँसुको तलाउ
बनाउने छु आफ्नै सुन्दर संसार
जहाँ प्रगाढ माया र स्नेहले
सुरक्षित जेलेर राख्ने छु
सुख, शान्ति र हर्षसँग
मेरी आमा र मेरो बुबाको
सुन्दर सपनाहरू
सजाउने छु क्षितिजको पानाभित्र ।

दोलखा, हाल ः काठमाडौँ ।

– बिहीबार, 19 भाद्र, 2071

Pratap Koya Rai – Nango Sansar

प्रताप कोय राई – नाङ्गो संसार

ममतामयी आमाले नाङ्गै जन्माइन्
तोते बोलि र बामे सर्न पनि सिकाइन्
अनि लाज ढाक्ने बस्त्र पनि दिइन्
हुर्काइ बढाई लक्का जवान् पनि बनाइन् ।

जवानीले उन्माद भई भौतारी हिँडदा
अप्सराको माया जालमा बाँधिन्न पुगेछु
मायाको ब्यापारमा मोडल बनाई
संसार हेर्न उनले मलाई नङ्गाईन् ।

तब पो बल्ल होस आयो
प्रश्नहरु तेर्सिए समाधान बिहिन
आफैलाई सोधें संसार के हो त ?
झुट्टो माया जाल की ? नौटंकी गर्ने रङ्गमञ्च ??

गीतकारले गायक र गायिकालाई नङ्गाईन्
गायक र गायिकाले नर्तकीलाई नङ्गाईन्
नर्तकीले दर्शक सबैलाई नङ्गाईन्
बाँकी के नै रह्यो र ?

स्वार्गको वकालत गर्ने ओशो पनि नाङ्गै
महात्मा कहलिन्ने मोहनदास पनि नाङ्गै
गोरेटो बनाउँने कवि, लेखक, साहित्यकार पनि नाङ्गै
मूलबाटो बनाउँने कलकार, समाजसेवी,
प्रसाशक,राजनितीज्ञ पनि नाङ्गै
न्याय दिलाउँने वकिल अनि न्यायधिश पनि नाङ्गै
त्यति मात्र कहाँ हो र ?
समाजको ऐना हुँ भन्ने पत्रकार पनि पो नाङ्गै
त साँचो संसार के हो ?
नाङ्गो नौटंकी नै संसार हो त ???

Kailash Shikhar – Ek Juwan Banki Ghaam Ma

Poet Kailash Shikhar

कैलाश शिखर – एक जूवां बाकि घाम म

मेरो
एऊटा थोत्रो जिन्दगी
एऊटा पुरानो जिन्दगी
जस्लाई आफ्नै प्रत्येक निस्कृयताले
गिज्याई रहेछ।

आज म संग
हिजो जस्तो आफ्नो सम्पूर्णता छैन।
आज म संग मेरो विगत Continue reading “Kailash Shikhar – Ek Juwan Banki Ghaam Ma”

Upendra Shrestha – Hamro Laagi Yo Hinsa Ra Hatya Kina?

उपेन्द्र श्रेष्ठ – हाम्रो लागि यो हिंसा र हत्या किन ?
(मधुपर्क असार, २०६७)

हाम्रो लागि
कहाँ छ खोइ एउटा गाँस ?
कहाँ छ खोइ एउटा बास ?
कहाँ छ खोइ एकटुक्रा कपास ?
हाम्रो लागि
यहाँ खाँचो छ हामीलाई वासको
यहाँ खाँचो छ हामीलाई गाँसको
यहाँ खाँचो छ हामीलाइ कपासको
यहाँ खाँचो छ हामीलाई बाँच्ने स्वतन्त्रताको,
हाम्रो लागि
यो परम्पराको पुनरावृत्ति किन ?
यो ढुङ्गो सभ्यत्ता र संस्कृति किन ?
यो हिंसा र हत्या किन ?
हाम्रो लागि
यो आतङ्कवादको
कुनै अर्थ छैन,
हाम्रो लागि
यो हिंसा र हत्याको
कुनै मूल्य छैन,
हाम्रो लागि
यहाँ खाँचो छ हामीलाई बाँच्ने हक,
र बाँच्ने अधिकारको
यहाँ खाँचो छ हामीलाई बाँच्ने स्वतन्त्रताको
हाम्रो लागि
यो हिंसा र हत्या किन ?
हाम्रो लासिग
यो धार्मिक सम्प्रदाय किन ?
हाम्रो लागि
यहाँ खाँचो छ एउटा गाँस
एउटा बास
र एउटा स्वतन्त्रताको

Binod Roka – Kata

बिनोद रोका – कता ?

जन्मायो येही धर्तीले तिमीलाई
बढायो झर्दै आँशुका ढिका
कर्म त गर्ने पर्ने हो यो देशमा
किन जान्छु कोस्टारिका
परिबर्तन र बिकासका खातिर
देखाऊ बल तन्नेरीका
पढ लेख येही देशमा
किन जान्छु अमेरिका
दुख गर आफ्नै देशमा
बरु बन ड्राइभर ट्याक्सीको
अन्यथा नसोच नेपाली
किन बेर्थ जान्छु मेक्सिको
बन्छ मिले हामी यो देश
नगरौ बिकासको लागि हतार
ऋणै ऋण थाप्लोमा बोकी
किन जानु साउदी कतार
काम गर्दा चौबिसै घण्टा
परदेशमा हामी हुन्छौ घयेल
सोच फेरी राष्ट्र भक्तहो
कि जान्छौ त इज्रायेल
दुख गरि अर्काको देशमा
किन बच्नु आफ्नो देश बिना
पैसा टिप्न मिल्दैन थिताहो
किन जान्छौ अर्जेन्टिना
परिश्रम गर आफ्नै माटोमा
कुर आफ्नै देशमा काल
गौरब गर नेपाली हुनुमा
भन प्यारो देश नेपाल
भन प्यारो देश नेपाल ||

Shree Purush Dhakal – Samjhana

श्रीपुरुष ढकाल – सम्झना
(मधुपर्क २०६६ असोज)

सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।

काफल टिप्न रूख चढ्थ्यौँ
गाई चराउन जाँदा हामी
ऐँसेलु टिप्दै खान्थ्यौँ
काँडेदार हाँगा तानी
गर्मी हुँदा पौडी खेल्थ्यौँ
जाडोमा धुनी बाल्थ्यौँ
खोला पुग्दा बल्छी हाल्दै
माछा पोली खान्थ्यौँ ।

कपर्दी र डण्डीबियो
खेल्ने गथ्र्यौ हामी
कहिलेकाहीँ रिसाएर
कुस्ती लड्थ्यौँ हामी
रिसाएको एकैछिनमा
भेटी हालौँ लाग्थो
अँगालेर आपसमा
बोली हालौँ लाग्थ्यो ।

असार पन्ध्र हिलो खेल्दै
दहीचिउरा खान्थ्यौँ हामी
साउने सङ्क्रान्तिमा
लुतो फाल्ने गथ्र्यौ हामी
दसैँ तिहारमा पिङ खेल्थ्यौँ
टीका पनि लाउँथ्यौ
पुसको पन्ध्र घिउखुट्टे
माघमा खिच्रो खान्थ्यौँ
सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।

-ल.पु.,सानेपा

Keshar Thulung – Mera Bhagawanharu

केशर थुलुङ – मेरा भगवानहरु

आमाको गर्भबाट पहिलोपल्ट
जब धर्तीमा पाइला टेकेँ
रगताम्य भइन् मेरी आमा
मूर्छा परिन् मेरी आमा
तथापि मेरो चिच्चाहटमा
होस सम्हाल्दै
मसँगको स्पर्षमा
बिर्सिन् सम्पूर्ण कष्टहरु।

प्रगाढ प्रेममा लिप्त भएर– बुबा
मेरो आगमनसँगै
घण्टौ खटिरहे सायद
आमा र मेरो सुरक्षामा

ताते–ताते गर्दै हिँडाउने
तीनै कोमलहातहरु
मेरो आँत भरिदिने
तीनै मीठास बोलीहरु
उनैको अमूल्य चुम्वनहरु
जसले मजवूत बनायो– मलाई ।

स्पष्ट थाहा छ मैले जानेदेखि
हरेकपल घोटिरहे आफ्ना हाडहरु
बगाइरहे पसिनाका नदीहरु
म र मेरो भविष्यको निम्ति
मेरो सुरक्षाको निम्ति
मेरो खुसीको निम्ति ।

म दुख्दा निदाएनन् कति रात
पल्टेर दुखिरहे मसँगै
मेरो सफलतामा
मेरो खुसीमा खुसी साटेर
फूलजस्तै फुल्थे
संसार आफ्नै बनाउँथे
आफ्नै भन्थे ।

सताउँथे कति, घुर्काउथे कति
दिक्दार लगाउँथे कतिहो कति
तैपनिआफ्नै छातीमा टाँसेर
मायाले सुम्सुमाउँदै
जीवन्त दिव्योपदेश भर्थे
मेरो मनभरि÷मष्तिष्कभरि ।

धन्य ! धन्य !! छु म–
ममा प्राण भरिदिने
यो संसार चिनाउने
अर्जुनजस्तै खरो उतारिदिने
चुनौतिहरु चिर्न सिकाउने
मलाई ‘म’ को दर्जा दिलाइदिने
कर्मठ÷सुयोग्य योद्धा बनाएर उभाइदिने
स्वावलम्वी मेरी आमा
स्वाभिमानी मेरो बुबा
मेरा भगवानहरु भन्नु नै उनै
उनैलाई मेरो साष्टङ्ग दण्डवत
सर्वदा ! सर्वदा !!…….. ।

दिरुम न.पा.–१०, खोटाङ
हालः काठमाडौँ ।

Marcel Mansingh Murmu – Shanti

मार्सेल मानसिहं मुर्मु – शान्ति

कसैले भन्देउ मलाई शान्ति भाववाचक कि द्रव्यवाचक?
कसैले चिनाई देउ मलाई शान्ति कर्म कि तटस्थता?
कसैले बुझाइ देउ मलाई शान्ति बाहिरी कि भित्री?
सबैले उत्तर देउ मलाई शान्ति प्राकृतिक कि मानविकी?

भाववाचक हो भने किन पार्थिव नियम र ऐन बनाउने?
होइन भने शान्तिको परिपुर्णता कसरी अनुभव गर्ने?
द्रव्यवाचक हो भने किन यो यश-विलासामा पाइन्न?
होइन भने किन हतियारले रगतद्वारा माग्न छोडिन्न?

शान्ति कर्ममा हो भने किन मजदुरको भावी अकास कालो?
होइन भने भिक्षु बनी परोपकारी गर्ने किन अास्तिक जालो?
तटस्थतामा हो भने किन बेरोजगारी अनिदो रात चहार्छ?
होइन भने किन थकित बिहार गुम्तामा तपस्या गर्छ?

शान्ति बाहिर पाइन्छ भने दौड धुप गरि किन प्राप्त गरिन्न?
होइन भने एकान्तमा गई किन टोलाई बस्न छोडिन्न?
यो अाफै भित्र छ भने किन सबै अन्तरदृष्टिले चिन्दैन?
होइन भने अन्तर-मानष किन तृष्ति हुन छोड्दैन?

यो प्राकृतिक हो भने किन प्रकोप हुदा डर नाश अाउछ?
होइन भने प्राकृतिक सुन्दरता बिच अान्नद किन खोजिन्छ?
मानवीय हो भने किन सबैले बराबर पाउदैनन्?
होइन भने किन मानव सकारात्मक हुन छोड्दैन्न्?