Jyoti Jungle – Nasamjheko Kahan Chha Ra

ज्योति जङ्गल – नसम्झेको कहाँ छ र ?

देखेकी छौ के
नबगेको नदी ?
छामेकी छौ के
नउडेको बतास ?
पलपल नबिसाइकन
बोकीहिँड्छ मुटुले ढुकढुक
त्यसैसँग चल्दैछ जिन्दगीको पाइला
र तिम्रो सम्झना समानान्तर
मैले Continue reading “Jyoti Jungle – Nasamjheko Kahan Chha Ra”

Krishna Kusum – Samaya Ra Ghoda Daud

कृष्ण कुसुम – समय र घोडादौड
(मधुपर्क २०६६ चैत)

वर्षौँदेखि उसैगरी
दौडिरहेछन् -टुँडिखेलमा घोडाहरू !
घोडचढी सिपाहीहरू
हातमा लगाम लिएर दौडाइरहेछन्
आ-आफ्नै घोडाहरू
विजयी हुने होडमा !
पहिले पहिले
राजामहाराजाहरू सवार हुन्थे र
नजर गर्थे घोडेजात्रा
तर आजभोलि
भैंसी गोठालाहरू
साधारण किसानका छोराहरू
आउँछन टुँडिखेल
अनि हौंस्याउँछन् खेलाडीहरूलाई
समय र घोडचढीहरू
उस्तैउस्तै रहेछन् आखिर !
घोडचढीहरू लगामले
आफ्ना घोडा दौडाउँछन्
र समय आफ्नो लगामले
समाजलाई दौडाउँछ
आफ्नो रफ्तारसँगै
समय र घोडाको
यो दौडा दौड हेरेर पनि
म आफू असमर्थ छु निक्र्यौल गर्न
समयको रफ्तारमा दौडिरहेछ घोडा
वा घोडाको रफ्तारमा दौडिरहेछ समय ??

नुवाकोट

Madhushree – Hami Nepali

मधुश्री – हामी नेपाली

हामी आफैँ श्रम गरी सजाउँनेछौं देश हाम्रो ।
पसिना र सिप घोली रंग्याउँनेछौँ देश हाम्रो ।।

सँगै ईँटा पोल्छौँ कतै सँगै गारो लाउँछौँ हामी ।
नभएत भोकै बस्छौँ हुँदा बाँढी खान्छौँ हामी ।।
सानो ठूलो भन्नु छैन समानता सत्य राम्रो ।
हामी आफैँ श्रम गरी सजाउँनेछौं देश हाम्रो ।

यौटा दुख्दा देश दुख्छ हाँस्दा हाँसो छाउँछ सँगै ।
बैरीहरू बिलाउँदै खुशीयाली आउँछ सँगै ।।
दास हुन्न मालिक नि मात्र नेपाली हो राम्रो ।
पसिना र सिप घोली रंग्याउँनेछौँ देश हाम्रो ।।

मित्रता र मानवता गाँसी माला बनाउँनेछौँ ।
हात माथि हात राखी आफ्नोपन जनाउँनेछौँ ।।
हृदयमा प्रेम भाव उमारेर सार्छौ हाम्रो ।
हामी आफैँ श्रम गरी सजाउँनेछौं देश हाम्रो ।

Gopal Parajuli – D.C. Ma Mero Prabesh

गोपाल पराजुली – डी.सी. मा मेरो प्रवेश

टनी मरिसनको परिचय आँखामा राखेर
डी.सी. हेरिरहेको म
काला जातिको संवेदनालाई
मरिसनले
र मेरा आँखाले
मेरो देशको संवेदनालाई
पुनर्जीवित गरेर
म कसरी बाँच्न सक्छु
अमेरिकालाई हेरेर
आफैँतिर फर्किरहेछु
शत्रुहरूको खराबीको भविष्यवाणी गरेर
र शत्रुहरूले
मानिसहरूलाई हेरेर ताकेका
बन्दुक हेरेर
आँखाको उच्चतम शिखरमा बसौँ
कि आधुनिक संवेदनालाई आत्मसात् गर्दै
आधुनिक अमेरिकाको जीवनलाई समाएर
विश्वलाई स्वतन्त्रताको भाव दिन सक्ने
कथा कविता लेखौँ
मेरो र देशको मौनताको बीच
उठ्न सक्ने
सबै पर्खालहरू ढालेर
मलाई मेरो कवि दिन सक्ने
समयलाई
र मेरो मनमा हुर्किएको
कुनै नवागन्तुक योद्धालाई
परिचयका साथ
साथमा लिँदै
असल खराबका बीच हुर्किएको
एउटा संसार
आफैँले राख्नका लागि छानौँ
कि जीवनको व्यापकतालाई
अमेरिकातिर हेरेर
देशलाई दिउँ
र सम्झनलायक समयको
प्रशंसामा
अमेरिकामै बसेर
अन्तिम कविता लेखौँ
म मानवीय संवेदनाको स्वर
मैले मलाई बाँच्न दिएको जीवनमा भरौँ
र आˆनै कविलाई
आफूसँग खोसेर
अमेरिकी भूमिमा उभिएर
संसारलाई दिऊँ
कि प|mस्ट हेमिङ्वे
हृविटमनहरु
शताब्दीको र मेरो भएको
खुलासा गर्दै
आˆनो सूचना लिन
नेपालबाट
अमेरिका प्रवेश गरेको कुरा
घोषणा गरौँ
कि अमेरिकाकी
कुनै कवयित्रीको गर्भबाट
बुद्ध झिकेर
यो संसारलाई दिन चाहन्छु भनौँ
र हातमा अस्त्र नहुनेहरुलाई
जीवित राख्न
यो संसारमा
एउटा असल मानिस जन्मनु
जरुरी छ भनेर
बिहान उठ्ने बित्तिकै
कविताको अन्तिम हरफमा
सही गरौँ
बन्दै गरेका
प्रश्नहरुलाई आँखामा राखेर
मेरा सबै उत्तरहरुलाई प्रतीक्षाबाट झिक्न
र बाँकी प्रश्न नगर्न
मेरो कविलाई हेरिरहेछु ।

-वुडबि्रज, भर्जिनियाँ,
अमेरिका, नोभेम्बर-६, २००५

Om Prasad Ghayal – Akhwariya

ओमप्रसाद घायल – अखवारिया

अखवारमा
जबजब, म लेख्न थाल्छु
स्वतन्त्रताका नविन गीतहरु
म उत्खनन् गर्छु तिम्रा काला कर्तुतहरु
र प्रकाशन गर्छु आफ्नो अखवारमा
तिम्रा बेहिसाव ज्यादतीहरु
त्यतिबेला तिमी मेरो Continue reading “Om Prasad Ghayal – Akhwariya”

Biplav Pratik – Awaj Ko Pida

बिप्लव प्रतिक – आवाजको पीडा

यतिखेर ओठ सिइएको छ मेरो
टम्म पारेर छिद्रविहीन
चर्कंदो छ छातीको घाउ र रसाइरहेछ रगत
ओठको कापबाट
गुनासो यति मात्र कि छातीको घाउचाहिँ यथावत् रहृयो
गुनासो यति मात्र कि अब पीडाको आवाज निलम्बित भयो ।

आवश्यकताहरू कहिलेकाहीँ गाँसभित्र मात्रै कैद हुन सक्तैनन्
आवश्यकताहरू सधैँ बासकै मात्र हुँदैनन्
आवश्यकताहरू कपासको मात्रै नहुन पनि सक्छन्
सजायले स्वाभिमान निल्न सक्तैन
र सयचोटि मर्नका खातिर
मान्छे कहिल्यै एकपटकका निम्ति बिउँझन हुँदैन ।

आवश्यकता मलाई त, विचार, क्रियाशीलता र बोलीको छ
मलाई बोली फिर्ता देऊ
मेरो छाती दुख्दैछ पीडाले ।
यो पीडा र दुःख
बोली र विचार अभिव्यक्त गर्न नसक्नुको हो
ए, मेरो आवाजका कारण मलाई लखेट्नेहरू !
मेरो छातीको पीडा तिमीहरूले बुझन सक्ने छैनौ ।

मलाई घाउबारे बोल्नु छ
मलाई दुखाइबारे बोल्नु छ
तर, छातीको घाउ नबोल्न
पीडा झेलिरहन र देखाउन नसक्न
यतिखेर ओठ सिइएको छ मेरो टम्म मिलाएर ।

तर, अहिले मेरो आवश्यकता नै बोली हो
यतिखेर मलाई मेरो आवाज फिर्ता चाहिएको छ
मलाई अभिव्यक्तिका लागि पर्याप्त वाणी चाहिएको छ ।

नयाँसडक, १४ अप्रिल १९८७

Purushottam Dahal – Andhakar Ko Yatri

पुरुषोत्तम दाहाल – अन्धकारको यात्री
(Source: मधुपर्क साउन, २०६७)

पेट खाली थियो तर खाने केही थिएन
आज थाल भरी छ खाना
अरुचिले अघाएको छु, भोक हराएको छ ।
परिवार बसाउन घरबास खोज्दाखोज्दै
सबै क्षणहरू, समयहरू, दिनहरू कटे,
अहिले परिवार बसेको छ, उमेर घटेको छ
आयु आफैँ किनारा लागेको छ ।
आज म अन्धकार छाम्दै हिडिरहेको छु
आँखाहरू हुँदा दृश्यहरू थिएनन् र
फूलवारी, बगैँचाहरू, पहाडपर्वतहरू
नदीनालाहरू, वनजङ्गलहरू
गाउँ, सहरबस्तीहरू, भूमण्डल, ग्रहहरू
मेरा वरिपरि छन् म उनीहरूसँगै छु ।
तर के गर्नू ? मसँग आँखा छैनन्
अनुमान गर्न सक्छु, अनुभव गर्न सक्दिन ।
आनन्दबोध गरेझै हुन्छ, खुसी हुन सक्तिन ।
बाटो खन्दाखन्दै जीवन गयो
माटो बोक्दाबोक्दै सन्ध्या सुरू भयो
तर त्यो बाटोमा हिड्ने रहर कि भोक
आफैँ खुम्चिएर रहृयो र मर्दै गयो ।
मेरा पसिनाका थोपाहरूले
जसलाई सम्याउने काम भयो
मेरा आकाङ्क्षाहरू ज्ाहाँ आकार आधार थिए
मेरा सपनाहरूले जहाँको खाल्डाखुल्डी पुर्ने काम गरे
दिनरात। भोक-तिर्खा, घाम-पानी अँध्यारो-उज्यालो सबै खेप्दै
आज म त्यसलाई देख्न छाडेको छु ।
हिड्न सक्तिन् त्यो बाटो ।
भोग गर्न सक्तिन म निर्माता ।
मलाई चोर औँलो देखाएर जिस्काउँदै
बाटोमा दगुर्ने साना नानीहरू
मेरा पछि लस्करै आउँदै गरेकाहरू
फटाफट पाइला चलाइरहेका छन् ।
मैले बनाएका धारोहरूमा
तिर्खा मेट्दै हिड्नेहरू, गन्तव्य हेरिरहेछन् ।
म निर्माता, भोकाएको र तिर्खाएको जान पनि सक्तिन ।
एक बूँद पानी दिने फुर्सद कसैले देखाउन सकेनन् ।
पानी बोकेर हिड्नेहरू सुरूसुरू हिँडिरहेछन् ।
ती मलाई देख्दैनन्,
सायद मेरो याचना कसैलाई थाहा भएन क्यारे ?
जीवन यतै कतै अल्भिmएको छ ।
महासागरभित्र डुबुल्की मार्न उद्यत, शीतको सानो विन्दु,
कहाँ पर्छ ? कहाँ खस्छ ? र कहाँ हराउछ ?
आवृत्त आकाङ्क्षा, अनावृत्त तृप्ति
अन्धकारको म यात्री थाहा छैन
अबको मेरो आफ्नै बाटो, सम्झेर पनि हिँड्न सक्तिन्
हिजो आफैँले बनाएको बाटो
आज अन्धकारको यात्री
अन्धकारमा नै हराइरहेको छु र यसैमा बिलाइरहेको छु ।

– कपन-३, काठमाडौं

N P Rijal – Bhikhari Ra Budhhatwa

एन. पी. रिजाल – भिखारी र बुद्धत्व

दशकौँ वर्ष भै सक्यो
सहरको बीचमा रहेको
पीपलको फेदमा बसेर
उसले ध्यान गरेको ।
हरेक बिहान, गेरु वस्त्र ओडेर
त्यो पीपलको बोटमुनी
बुद्धझै ध्यान मग्न भएर बस्छ ।
उसको बुद्धत्व सामान्य भिखारी झै
एक दुई रुपयाँ मागेर
भोको पेट भर्नु हो ।
सडकमा लाखौँ गाडी गुडीसके
करोडौँ मान्छेले यात्रा गरिसके
त्यो कोलाहल र दौढधुपको संसारमा
ऊ बुद्धको लयमा
इश्वर भक्तिको दाँत देखाएर
ध्यान मग्न छ ।
उसको बुद्धत्वको खोजी
जाडो, गर्मी र झरीले पनि
प्रभावित देखिदैन ।
तर उसको बुद्धको लय
रात पर्दै गए पछि
कान्छीको भट्टी पसलमा
सेकुवा र रक्सी खाने
जडियाको स्वरुपमा परिणत हुन्छ ।
उसको बुद्धत्व पनि
रक्सीको चुस्कीसंगै
विस्तारै जडियामय हुँदै जाँन्छ ।

अर्कोदिन, उही बुद्धको लयमा
पीलपको बोटमुनी
ध्यान मग्न हुन्छ भिखारी ।

– वुधबार, 7 श्रावण, 2071

Punya Gautam ‘ Bishwa’ – Anuttarit Prashna

पुन्य गौतम ‘विश्वास’ – अनुत्तरित प्रश्न
(मधुपर्क २०६६ माघ)

राजधानीको पाँचतारे होटलमा चल्दै थियो भव्य सेमिनार
ऊ र म दुवै सहभागी
ऊ धुरीको पदमा विराजमान/म धूलोबाट उठेको अञ्जान
उसले सुरु गर्‍यो/शान्तिको Continue reading “Punya Gautam ‘ Bishwa’ – Anuttarit Prashna”

Dr Badri Pokhrel – Ganit

डा. बद्री पोख्रेल – गणित
(मधुपर्क पुस, २०६७)

हो,
सन्तोष र सन्तुष्टिले
शून्य फलाउँछ,
असन्तुष्टि र आक्रोसले
नयाँ गणित बनाउँछ ।
दुई दुई जोड्दा चार हुँदैन
अर्कै हुन्छ,
आफू पदबाट हटेको दिन
सागर सुक्छ, सगर खस्छ,
झन्झावात आउँछ
एकबाट एक झिक्दा
एकै बाँकी रहने गणितको
अर्थ बिर्सन्छ
दृश्य सुन्न थाल्छ
शब्द देख्न थाल्छ
पारदर्शिताको नाममा
नाङ्गो हुन्छ ।
माघको ठण्डीमा
ताराको राप तापेर पसिना निकाल्ने
दौडमा सामेल हुन थालेपछि
होस र ताल भुल्न थाल्छ
भनिन्छ-
सपनालाई समात्नु पर्छ
विपना त अगाडि हुन्छ
लाटोलाई बोलाउनु पर्छ
वाचाल आफैँ बोल्छ
निबन्धमा गद्य बलियो हुन्छ
पद्य तरल हुन्छ ।
के मा के जोड्दा के बन्छ
कतिमा कति जोड्दा कति बन्छ
बाबु आमा जोडिँदा भाइ बन्छ
अपि|mकी र गैर अपि|mकी जोडिदा
वर्णशङ्कर बन्छ
गणित यै भन्छ ।
तर,
तिमी गुलाबलाई गुलाबमात्र देख्छौ
कलमी गर्न सिक
सुन्तलाको बोटमा नास्पाती फलाउ
नास्पातीको रुखबाट आरु टिप
ज्ञानको भण्डारबाट विज्ञान निकाल
अनि देख्छौ, सम्झन्छौं र अनुभव गर्छौ
दुईमा दुई जोड्दा
सधैँ एउटै उत्तरमात्र
न आउने यथार्थ गणितको
मनन गर्छौ
जगत्को गणित बुझ्छौं
अनि,
दृश्यलाई सुन्न सक्छौ
शब्दलाई देख्न सक्छौ
संसारको गणित
बुझ्न थाल्छौ

Jagannath Acharya – Morcha Kasaun Hai Sab

जगन्नाथ आचार्य – मोर्चा कसौं है सब

बोल्नै बन्द गरेर नागरिकका आस्था दबिन्छन् भने,
लेख्नै बन्द गरेर भाव कविका भाका थुनिन्छन् भने ।
यातायात सुस्वास्थ्य सिर्जनकला नाका नथिन्छन् भने,
जो–जसले जति सक्छ चुस्छ निमुखा उसकै छ टीका भने ।

मुर्र्दाशान्ति त चाहिंदैन प्रभुको आदेश कालो हुने,
झन्डा बोक्नु छ लोकतन्त्रतिरको सम्मान साझा हुने ।
यौटा बोट उमार्नुपर्छ विधिको छाया दिने शीतल,
पाना पुस्तकको बसेर पदमा मूलै सुकेर मार्शल ।

उर्लेको जनक्रान्तिका लहरले पोल्ने छ मुढो अब,
झुल्के हेर न झन्डीका जुलुस ती ताली बजारौं सब ।
बारम्बार कठोर विघ्नहरूका उल्का र भुल्का खपी,
बाटो खन्नु छ एक नव्य विधिको आऊ जुटौं है तपी ।

लाखौंलाख जमात बास वनमा झुप्रा उदाड्डै कति,
जान्छन् विश्वविहार मर्न कु“डुलो दरबारका सन्तति
ढाल्नैपर्दछ झाडीको रुखबुढो शाही सजेको घर,
पुर्नैपर्दछ संस्कृति कुमतिका भण्डार थोत्रा थर ।

यौटा देव झरेर मानव कुनै देवत्व बन्ने भए,
को–को छन् अब हेर विश्वभरमा पुर्खा कतिका झरे ।
धोत्रो रुख छ भित्र–भित्र धमिरा गोलो छ कोट्याउने,
थोत्रो वंश परम्परा पनि ढल्यो पालो छ यसको पनि ।

फक्रेनन् वनमा वसन्त मुजुरा वैशाख बा“झै रह्यो,
त्यो आएन विहानी बाल बबुरो आस्था त का“चै रह्यो ।
बाचा बन्धन बोली फेर्न चतुरो स्वाधीन उसकै भयो,
वर्षौं वर्ष बिते कति तर डुबे हाम्रो दशा यै भयो ।

नौला सिर्जना झाङ्गियून् धरतीमा धारा बगोस् क्रान्तिको,
मान्छे मर्न सकोस् चिरञ्जीवि बनी मूलै मरोस् भ्रान्तिको ।
साँचो लौकिकतन्त्रको पथ नयाँ रोप्ने छ बेला अब,
तातो संगम क्रान्तिका लहरमा मोर्चा कसौं है सब ।

Dr Rupak Shrestha – Manchhe Harayo

डा.रुपक श्रेष्ठ – मान्छे हरायो

सूचना! सूचना !! सूचना !!!
आधा उमेर ढल्केको
गहुँगोरो, तिलचामले
अन्दाजी साढे पांच फुटको,
नेपाल राज्य मूल थलो भई
दुई दशकदेखि इंग्ल्याण्डमा बस्ने,
बिशुद्द निंग्लिश बोल्ने,
गोराको भिडमा अलग्गै सुनिने,
कालाको भिडमा अलग्गै देखिने
बृद्द बालक हराएको छ,
देख्नुहुनेले खबर गर्नुहोला ।

ममचा खान मन लाग्यो भन्थ्यो रे!
चाइनिज डम्प्लिंगले चित्त बुझाउन
चाइना टाउनतिर जाँदै थियो रे !
चाइना टाउनको चोकतिर खोजियो,
चाइना टाउनको गेटतिर कुरियो,
ख्वै उता देखिएन ।

बागबजारको बारा खान मन लाग्यो भन्थ्यो रे !
बर्गरले मन बुझ्छ कि भन्दै
बर्गरकिंगतिर बहकिंदै थियो रे !
उतै बेग हानें, बेलिबिस्तार लगाएँ
अंह, भेटिएन ।

दाल भात खान मन लाग्यो भन्दै
साँझपख साउथल ग्लासी जंक्सनबाट सुंइकिंदै
गुरुद्वारतिर गएथ्यो रे !
सोंचे, दाल भातले मन भर्ला र आउला
अंह, आएन ।

निंग्लिश बोल्दा बोल्दा दिक्क लाग्यो
नेपाली बोल्न मन लाग्यो भन्थ्यो रे !
“ह्याम्प्शायरमा नेपाली बढी भो!”
तितो पोख्दै सांसद होवार्थ कुर्लिएछन्,
कानोलाई आँखो
“अलिदिन अल्डरशटतिरै अल्झिन्छु”
भन्दै उतै हाम्फाल्दैथ्यो रे !
खोज्नुसम्म खोजियो,
अंह अत्तोपत्तो लागेन।

रोंटे पिंग खेल्न मन लाग्यो भन्दै
लन्डनआईतिर लागेथ्यो रे !
धित पुर्याई फर्की आउला भन्थें
आएन ।
लन्डन आईको छेउछाउ
अनि,
वाटरलु देखि वेस्टमिन्स्टर वरपर
भिडभाडमा खोजियो,
अंह, भेटिएन ।

महेन्द्रपुलबाट माछापुछ्रे हेर्ने मन लाग्यो भन्दै
टावरब्रिजतिर लम्किंदै थियो रे !
सोंचे मनभरी हेर्ला र आउला,
के आउंथ्यो, आएन ।
थेम्सको तिरैतिर खोजियो,
अंह कतै देखिएन ।

गंगास्नान गर्ने बिचार छ भन्दै
“पोर्ट्समथतिर जान्छु”
साथीसंग साउती मार्दै थियो रे !
लाग्यो धर्मकर्म जागेछ,
शूद्दीकरणमा लागेछ,
सोंचें,
फर्की आउला नि आत्मशुद्दी गरि
आएन !
आउंदै आएन !!

भगवानको दर्शन गर्ने इच्छा छ भन्थ्यो रे !
मनमा शान्ति चाहियो भन्थ्यो रे !
स्कन्दभेलको दर्शन गर्न
वेल्सतिर पो आईपुगे कि ?
लौन शिवजी,
उता त्यस्तो मान्छे भेटे
यता खबर गर्नुहोला ।

हिमाल हाँसेको हेर्ने हो भन्दै,
गुराँस फुलेको हेर्ने हो भन्दै,
डांडाकाँडा घुम्ने हो भन्दै,
स्कटल्याण्डतिर लागेथ्यो रे !
लौ न बिष्णुजी,
उता त्यस्तो मान्छे देखे
यता खबर गर्नुहोला ।

खुकुरी र झण्डा टाँसेको
भादगाउंले टोपी,
सबैले सोधेको सोध्यै गरेछन्,
दिक्क लागेर आफ्नो स्वाभिमान झिकेर फालेछन्,
दौरा र सुरुवालमा हिंड्दा कसैले जागिर नदिएसी
हुरुक्क भएछन्,
बिचरा बाँकी रहेको चिनारी खोलेर फालेछन्,
त्यसैले,
सँधै सुट र टाईमा हिड्ने,
हातमा ब्रिफकेश बोक्ने,
बिश्वग्रामको कल्पना गर्ने,
जन्भूमिलाई बिर्सन नसक्ने,
अनि,
आफ्नै मन कतै अड्याउन नसक्ने
यस्तो असन्तोषी अभागीलाई भेटे
यता खबर गर्नुहोला ।

सधैं देश गुमाएँ भन्थ्यो रे !
फर्के कि आफ्नै थातथलो भनि
सोधखोज गरियो घरतिर पनि
सुनाए अनाहकमा नानाथरी,
बिदेसियो रे !
भासियो रे !
अवसरबादी रे !
आमाको माया मारिस्, निर्दयी रे !
उफ!
एकाएक कानहरु थुने औंलाहरुले !

दिनभरि फ्याक्ट्रीसंग जुधेकी
ज्याककी आमालाइ सोधें,
“कतै त्यस्तो मान्छे देखिन् कि” ?
भन्छे,
म निकम्मा भएँ रे !
बेकम्मा भएँ रे !
समय चिनिन रे !
उनी बर्बाद भईन रे !

साथीहरुलाई फोन गर्यो
हेल्लो भन्नु अघि नै
सोध्छन्,
कता बेपत्ता ?
कहाँ हराइस्?
म भन्छु,
म पनि त्यहि सोध्न फोन गर्दैछु
साथि हो,
म आफैलाई हराएर खोजिहिंड्दै छु
मलाई जिउँदो वा मरेको पायौ भने
मलाई तुरुन्त खबर गर्नु है,
म हराएको छु!
– बेलायत

Khagendra Thapa – Jeevan Mrityu Ho

खगेन्द्र थापा – जीवन मृत्यु हो

भोकको तिर्सना मेटाउन
ठूलो माछाले सानो माछालाई खानु हुदैन
सुख सपना हो, सुख कल्पना हो
भ्रमित छेपारो झै घाम ताप्दैमा जिन्दगी जानु हुदैन
स्वर्गिय आनन्द भेटाउन
त्यागको भजन गाउनु र भोगको भतेर खानु हुदैन
जीवन– जीवन हो, जीवन मृत्यु हो
मान्छेले आफ्नो कीर्ति कात्रोमा गुट्मुट्याएर लानु हुदैन।

मनको मैलो ओत्न
धर्मको छाता ओढेर कुनै कुकर्म गर्नु हुदैन
दुःख जीवन हो, जीवन दुःख हो
पाप र घृणाको बिल्ला लगाएर मान्छे मर्नु हुदैन
समानताको बाहानामा
पसिनाको सागर र पौरखको पहाडमा र्‍याल काड्नु हुदैन
विलाशिताको चाहानामा
धनीको लाससगै गरीबलाई दास बनाएर ज्यूदै गाड्नु हुदैन।

Krishna Bhakta Shrestha – Ma Merai Mrityu Marna Chahanchhu

कृष्णभक्त श्रेष्ठ – म मेरै मृत्यु मर्न चाहन्छु
(मधुपर्क माघ, २०६७)

म मेरै मृत्यु मर्न चाहन्छु-
विशुद्ध मेरो आफ्नै
अरूकै मृत्यु आफ्नै भन्ठानेर
युगौँ युगदेखि
थरी थरीको अर्थ लगाएर
धेरै मरे-व्यर्थै
धेरै Continue reading “Krishna Bhakta Shrestha – Ma Merai Mrityu Marna Chahanchhu”

Tika Bhakta Jirel – Panch Tukre Kabita

टीकाभक्त जिरेल – पाँच टुक्रे कविता
(मधुपर्क साउन, २०६७)


च्यातेर भ्रमको पर्दा
उभिँदा
ऐना अगाडि
थुक्यो भने ऐनाभित्रको मान्छेले
के हिँड्नु
दोसल्ला ओढेर….।।


बुढेनीलाई भाकेको
रातो भाले
स्यालले लगेपछि
बार्दलीबाट
बेस्कन भुक्यो-
मेरो भोटे कुकुर ।।


चोक-चोक
गल्ली-गल्लीमा
टाँगिएका
सिनेमाको कुनै
कामुक पोस्टर हेरेर
सपनामा सर्प नचाउँछ-
बालब्रहृमचारी ।।


तिमीले मेरो बौद्धिकता
मैले लगाएको
पुरानो कमिजमा खोज्यौ
धन्य ! तिम्रो बौद्धिकता ।।


तिम्रो-
मानसम्मान, पुरस्कार, स्याबासी…
केही चाहिन्न
तिमीले नचिनेर के भो र
मलाई
मेरो ईश्वरले चिने पुग्छ ।।

Biyogi Budhathoki – Sanjha Ko Batti Bale Jastai (Nepali Gajal)

वियोगी बुढाथोकी – गजल
(मधुपर्क २०६६ भदौ)

साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
दुःखमा साथ निभाउन व्यवहारमा आयौ ।
आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो
अन्धकार रातलाई छल्न बारम्बारमा आयौ ।
दिलको देउता देखाएर पूजा अर्चनामा
श्रद्धा सुमन चढाएर लगातारमा आयौ ।
घाइते मनको चाहनामा दुःख बाँड्न सखा
एक्लो भौँतारिँदै थिएँ म हरिद्वारमा आयौ ।
संयोग जुर्यो भेट भयो बसौँ चौतारीमा
चाह होइन वियोगीको हारगुहारमा आयौ ।

Nimesh Nikhil – Aba Yeso Garaun

निमेष निखिल – अब यसो गरौँ
(मधुपर्क मंसिर, २०६७)

अब यसो गरौँ ।
समातौँ दुखहरूको कठालो
र हमला बोलौँ सबै रोग भोकहरूमाथि
कुलेसो काटौँ मनका भ्रमहरू निकाल्न
अनि सम्पादन गरौँ असम्भव सपनाहरूलाई
बयोवृद्ध Continue reading “Nimesh Nikhil – Aba Yeso Garaun”

Reshma Shakya – Andolanma Dherai Jana Marnuparchha Hajur (Nepali Gajal)

रेशमा शाक्य – आन्दोलनमा धेरै जना मर्नुपर्छ हजुर

आन्दोलनमा धेरै जना मर्नुपर्छ हजुर
निरंकुश तन्त्र सट्ट फ्याँक्नु पर्छ हजुर

हान्नु पर्छ ढुङ्गाले हान्न जान्नु पर्छ
राजतन्त्र बाली बाली ताप्नु पर्छ हजुर

सक्छौ भने छेपारो झैँ रङ्ग फर्नेहरू
भटाभट चिनेर मास्नु पर्छ हजुर

आफू आफू झगडा गरी स्वार्थी बन्नेहरू
उस्तै परे कहिलेकाहीँ त्याग्नु पर्छ हजुर

नत्र फेरि फिर्ता जाला लिएको अधिकार
खबरदार गर्नु परे गर्छ रेशमा हजुर

Kashiram Biras – Piratiko Nasaama Jhulekai Ta Raamro (Nepali Gajal)

काशीराम विरस – पिरतीको नसामा झुलेकै त राम्रो (गजल)
(मधुपर्क बैशाख, २०६७)

यौवनका फूलहरू फुलेकै त राम्रो
पिरतीको नसामा झुलेकै त राम्रो ।

फूल पनि फुल्न खोज्छन् घामपानी मिल्दा
समझदार भएर खुलेकै त राम्रो ।

द्यौरालीमा पर्खिबसें आँखा डुलाएर
चौतारीमा बोलाएर भुलेकै त राम्रो ।

मनको फूलबारीमा रोपिएर फूल
भँमरा भै लटि्ठएर डुलेकै त राम्रो ।

यौवनका फूलहरू फुलेकै त राम्रो
पिरतीको नसामा झुलेकै त राम्रो ।

Pradeep Chapagain – Taara Ra Jun Ka Kura

प्रदीप चापागाईं – तारा र जुनका कुरा

आमा
कोशौँ टाढा स्वदेशमा
उनको स्नेहले भरिएको मन
अनी परदेशिएको सन्तान
यादै यादले घोच्ने समय
उनका रित्तिएका आँखाहरु
बाटोभरी ओछ्याएर
पर्खाईमा थाक्दिनन् आमा आफ्नो छोरोको
तर्कनाहरु बुन्दै बस्छिन् मायाको डोरोको !!

बिरानो माटोभित्र नपाउने आत्मियता
झझल्कोमा त्यही पखेरोको सामिप्यता
वरिपरी लाखौं अनुहारहरु
मागेर नमिल्ने गुहारहरु
सुखदु:खको मझेरीमा अल्झदै
दिन र रातको फरक नदेखि
बढ्दो छ अघी तिम्रो छोरो आमा
तिम्रै वचनलाई साक्षी राखेर
तिम्रो व्यग्र चाहनालाई
थाती मै राखे अझै केहि वर्ष आमा
अनि
मेरा हँसिला तस्विरलाई
छाती मै राखे अझै केहि वर्ष आमा !

करेसामा मैले रोपेका फूलहरु
रोदनले फुल्दै होलान्
साथीसँगी का बेसारे हूलहरू
म विनै डुल्दै होलान्
मेलापातको रौनक
चाडबाडको उत्साह
र छिमेकीका गुनासाहरु
एक एक गरी सबैलाई
मिलाउँदै बसे अझै केहि वर्ष आमा
छुटेको साथ अनि टुक्रेको मन
सिलाउँदै बसे अझै केहि वर्ष आमा !

घडी पक्कै पनि रोकिने छैन
आशा पक्कै पनि भाँचिने छैन
त्यही सुनौलो दिनको बिहानीमा
तिम्रो मन टाल्न
तिम्रो काख भर्न
अनि तिम्रा सपनाहरु सजाउन
तारा र जूनका कुरा बोकी आउँला आमा,
सकेँ भने सुनका चुरा बोकी आउँला आमा !