Baidyanatha Upadhyaya – Sarthak Pahal

वैद्यनाथ उपाध्याय – सार्थक पहल

आकाड़्क्षाका ऊॅचा शिखरहरू
लम्कदै-
हर विषय र क्षेत्रहरूमा
आफ्नै लगन र प्रतिभाले
चम्कॅदै
अघि बढने अनि बढाउने
हामी प्रण गरौं।

अरूको इप्सीत कार्यहरूमा
तगारो हैन, सींढी बनिदिने
हामी प्रयत्न गरौं
पीडितहरूको पीडा हर्ने
हामी कुनै यस्तो काम गरौं

सारहीन, अर्थहीन
जीउनुभन्दा माथि
हामी केही सार्थक पहल गरौं।

Rakesh Karki – Nakabandi Ko Dashain

इन्जिनियर राकेश कार्की – नाकावन्दीको दसैँ

बा आमा आउन पाइन
तेल छैन बसैमा
नाकावन्दीले नदिने भो
टीको थाप्न दसैँमा
प्लेन पनि आउन छोड्यो
ठूल्दाई अड्किनु भो दिल्लीमा
वर्षौँ पछि वल्ल आको
दसैँको बेला विचल्लीमा
दिदीवहिनी पनि आउँछु भन्थे
खुसी हुँदै दसैँको वेला
आज भोली भन्दा भन्दै
छीमेकिले कहिले बाटो देला
मन सधैँ आफ्नो प्यारो
गाउँको घरैमा
रित्तो सिलिन्डर सुम्सुमाउदै
एक्लै डेरैमा

Baidyanath Upadhyaya – Pratibimba

बैद्यनाथ उपाध्याय – प्रतिबिम्ब

मरूभूमि जस्तो अतृप्तता
छ जीवनमा
कुनै चीजले पनि
तृप्त गराउन सक्दैन!
जानी-जानीकन भिडिएको छु
सूर्योदय देखि सूर्यास्तसम्मको दौडमा
म र मेरोको रंग पोतेर
उज्ज्याला अनुहारभरि
केवल आफ्नो तस्वीर हेर्न चाहने म मान्छे!
म चाहन्छु
मेरो समयमा
आफ्नै अनुहारको बिम्ब उत्रयोस
मेरो क्यानभासमा पीडाको ध्वाँसो खनिएर
धमिलिएको यो समय
चाहनाहरूको रंग पोखिएर
छताछुल्ल छ यो रात
असमन्जसमा छु
मैले उतार्न चाहेको त्यो प्रतिबिम्ब कुन हो?

(Sent to Sanjaal Corps via Email)

Baidyanath Upadhyaya – Ma Wakarudhha Bhayeko Chhu

वैद्यनाथ उपाध्याय – म वाकरूद्ध भएको छु

मान्छे भनिरहेछ एकथोक
गरिरहेछ अर्कैथोक
उ जे भनिरहेछ
त्यो अर्थ बुझाउन
आज शब्दहरू अक्षम भएका छन

उसको भन्नुमा, गर्नुमा
र हाम्रो बुझ्नुमा
जुन फासला छ
भाषा अब त्यो पुरा गर्न
नसक्ने भएको छ।

उ जे भनिरहेछ
सही अर्थमा
त्यो नै भनिरहेको छैन
त्यसमा धेरै किन्तु, परन्तु
इत्यादि मिसिएका छन।

समग्रमा उसको भन्नु
उसको गर्नुको बीच

अंध्यारा पाटाहरू भरिएका छन
बाहिर आफुलाई
चम्काउने प्रयास गरिरहेछ
तर भित्रबाट सडेको दूर्गन्ध फैलिरहेछ।

यो स्थितिलाई
म आज के अभिव्यक्ति दिऊँ

म अवाक छु
म वाकरूद्ध भएको छु।

Baidyanath Upadhyaya – Drishya

वैद्यनाथ उपाध्याय – दृश्य

अचानक
नाटकको दृश्य बदलिए जस्तै
बदलिन्छन घटनाक्रमहरू
मैले सोचेको
चाहेका धेरै सपनाहरू
आकार लिन नपाउँदै
फेरिए जम्मै उर्वर प्रदेशहरू
ठूल्ठूला आशाका
पहाडहरूले थिचिएर
विशृंखलताको पैह्रो लागेको
यो समय
जताततै अराजक शंखनाद!
रचनात्मकताको
एक मुट्ठी बिउ छरेर
सुनौलो फसलको
अपेक्षामा रित्तिएको समय
कस्तो दृश्य यो
आशंकाहरूले नजर धमिलिएको बेलामा।

Baidyanath Upadhyaya – Drishya

वैद्यनाथ उपाध्याय – दृश्य

मेरै पीडाहरूको
समागमले
प्रगाढ छ यो रात!
मेरो वश चल्दथ्यो भने
म सूर्य झूल्काई दिन्थें
त्यो कालो पर्दा जस्तो रात
म च्यातेर मिल्काई दिन्थें।
सँधैं
केही छुटीरहेछ
केही जुटीरहेछ
जीवनको क्रम..
मेरो बौद्धिक सीमादेखि पर
केही घटिरहेछ निरन्तर
भौतिक लालसाको विस्तारमा
खुम्चिएको छ आकाश
भोगवादको प्रवल्यले
डगमगाएको छ यो धरती
संकटग्रस्त हिमाल
वन-सम्पदाहरू
निद्राग्रस्तहरूको सपनाको
दैल्हो चियाई
शरण माँगिरहेछन
थरि थरिका
मानव अत्याचारले
पीडित
नदी-नालाहरू
आफ्नै अस्तित्वको
तलाशमा
काल्लिंदैं बगिरहेछन
अँध्यारो यो कैनवासभित्र
म यो कुन दृश्य
प्रत्यक्ष गरिरहेछु!

Baidyanath Upadhyaya – Aandhi Beri Ma

वैद्यनाथ उपाध्याय – आँधी बेरीमा

संक्रमणको आँधीबाट
गुज्रदैं छ समय!
ढोका खुल्दैछ
नयाँ नयाँ विश्व बजारको
अब त हामी आँफैं
किनिने र बेचिने पनि
भै सकेछौं।
तिम्रो शिप र खुबी को भाउ
तिम्रो दिमागको पनि
भाउ तोक्ने छ बजारले
सहानुभूति,दया,ममताको
उठिबास नै भै सकेछ
खै अब यो जीवन
निर्जीव यन्त्र सरह
घिस्रिंदैछ
कसैले थिच्दछ बुटाम कहीं
अनि खुल्नेछौं, दगुर्नेछौं
फेरि बन्द हुनेछौं
यो कस्को समय हो?
खै, अब त हैकिंग भै सके जस्तो छ
यो दिमाग पनि
मेरो आफ्नो भन्ने रह्यो नै
के र अब यो
आँधी बेरीमा!

Baidhanath Upadhyaya – Bheed

वैद्यनाथ उपाध्याय – भीड

मनभित्र घात गर्दछ
मान्छेहरुको भीडमा
एक्लो हुनूको पीडा !

तँछाड र मछाड
धक्का-मुक्की गर्दै
अघिबढने होड !

यो के हो ?
कुनै स्पर्धा हो
या मान्छेको सभ्यता !

भीडबाट धकेलिएर
कीनार Continue reading “Baidhanath Upadhyaya – Bheed”

Baidyanath Upadhyaya – Garibi Unmulan

वैद्यनाथ उपाध्याय – गरिबी उन्मुलन

वाङमयको उदघोष छ
दीन-दरिद्रहरुनै
साक्षात नारायणका रूप हुन।
दरिद्र नारायणको
सेवाको निम्ति
देशको सरकार चलेको छ
धुँवाको मुश्लो उडाउँदै
दीन-दरिद्रहरुको निम्ति
गुडुल्की रहेछन नेताहरुका
शीत-ताप नियंत्रित बाहनहरु
परिवर्तनको सोच राख्ने
नामी भलादमीहरु
दरिद्र-अवस्थामा परिवर्तन आओस भन्दै
एउटा च्यानलबाट अर्को च्यानल तर्फ दगुरिरहेछन।
दरिद्रताको खलबली
अब देशको संसदमा मच्चिदैंछ
नेताहरुको मन-मस्तिष्कबाट
दरिद्रताको
नयाँ संस्करण बोलिरहेछ
हत्यारा, बलात्कारी, लुटेरा
जे नै भए पनि
दीन-दरिद्रहरुको सेवा गर्ने
अधिकार उनिहरुको नै छ।
अब दरिद्रताको उन्मुलनका निम्ति विदेशको लगानी भित्र्याँइदैछ
झुग्गी-झोपडीहरुमाथि
बुलडोजर चलाएर
ठूला-ठूला उद्योगहरुको
जग बसालिंदैछ।
राजधानीका शीत-ताप नियंत्रित कोठाहरुबाट
लगातार आफ्नो भलाईमा
गरिबी म्यानेजम्यांटको
पाठ पढाईंदैछ।
देशले आज धेरै प्रगति गरेको छ।
दरिद्रता गाँउमा होस
अथवा
मान्छेको मन-मस्तिष्कमा
दरिद्रता त दरिद्रता नै हो।
मेरो भनाई यो छ कि
दरिद्रता त मासिनकै लागि हुन्छ
जन्मैदेखि हरएकले चाहेको हुन्छ सम्पन्नता
बाहिरी विपन्नताको त
कुनै उपाय होला
तर
मन-मस्तिष्कलाईनै
जकडने यो दरिद्रताको
उन्मुलनको लागि
म सोद्धछु
यो देशमा कुन योजना छ?
सवा सौ करोडको देश
आज मौन छ।

Baidyanath Upadhyaya – Sparsha

वैद्यनाथ उपाध्याय – स्पर्श

पीडाहरूको ध्वाँसो पोतिएर
प्रगाढ बनेको यो रात!
सुनिरहेछु
छातिभरी भूकम्पको हलचल
धरफराएका छन
आदर्शका स्तम्भहरू
भत्किएर सम्झनाका बाँधहरू
आकाशभरी उत्रिएको छ
सपनाका ‘कोलाज’ हरू
केही ठम्याउनै न सक्ने गरी
के हो यो ? प्रेम
या मेरो पागलपन !
उडिरहेछ यो मन हावासरी
खोजेर तिम्रै सान्निध्यका मीठा पलहरू
चारै दिशाहरू अँध्यारोले
धूमिल भएको बेला
कहाँ भेटिएला, मैले खोजेको
मायाका कोमल स्पर्शहरू!

Baidyanath Upadhyaya – Goreto Haruma Hidnu

बैद्यनाथ उपाध्याय – गोरेटोहरुमा हिंडनु

सजिलो हुँदैन
गोरेटोहरुमा हिंडिरहनु
जहाँ दुवैतिर काँडे झारहरु उम्रिएका हुन
र बेलुकीको समयले
दिनको उज्ज्यालोलाई क्रमश निल्दै गरेको होस
र त्यहीं हिंडनेलाई
आफ्नो गन्तव्यको पनि थाह नहोस…
तब यसरी हिंडदै जानु
बीहड जङ्गलमा, एकलै
कति यातनाहरु जन्माउँछ।
मेरा साथी!
म पनि यस्तै गोरेटोहरुमा
हिंडिंरहेछु साँझ-बिहान
काँडे झारहरुको चुम्बनले
हरपल रगताम्य छन पाइलाहरु
अनेक वेदनाहरुको चिच्याई
सुनेको नसुनै रहन्छ एकान्तका पलहरुमा।
बाटामा छोडिएका रक्तिम पदचिह्न
धुलाको तरपमुनि गुमनाम सुतेका छन।
थाह छैन अरु अगाडि
कति बाटो हिंडनु छ
गुज्रदैं इ गोरेटाहरुबाट
कति व्यथाहरु झेल्नु छ
म दिशाहीन र पथभ्रष्ट भएको छु
कहाँ कहाँ अरु कति ठोकर
खानु छ…
यस्तो स्थितिमा इच्छा-अनिच्छाको
के सवाल उठन सक्छ!
केवल हिंडदै जानुनै
आफ्नो नियति भएको छ
बिकल्पको कुरानै यहाँ
कहाँ?

Baidyanath Upadhyaya – Ek Din

बैद्यनाथ उपाध्याय – एक दिन

एक दिन
कसैलाई नभनि
साथ लिइ
आफ्नो टुङ्गो-टाङ्गो
एकलै चुपचाप निक्लन्छ मान्छे
अनन्तको यात्रामा…।
जिन्दगीको भागदौडबाट
वाक्क भएर
उ खोज्दो होला
यो दुनिया देखि टाढा
कहीं कुनै विश्रामस्थल।
अघाडिको बाटो आँफै बनाउँदै
आफूले गरेकोमा आँफैँ पछुताउँदै, एकलै
साँपको काँचुली जस्तै आफ्नो देहलाई पनि यहीं त्यागेर,
निक्लन्छ मान्छे एकदिन
अनन्तको बाटोमा…
दुनियाबाट जानेहरुको पनि
भीड लाग्दो होला बाटामा।
कुनै परिचित, कोइ आफन्त पनि पर्दो होला नजरमा-
आफ्नै कर्मको भारी बोकेका।
भागमभागको भीडमा
एक अर्काबाट आँखा छल्दै
झल्दबाजीमा
स्टेशनमा बोझा उठाउने
कुलिहरु जस्तै
भटकिंदा होलान णान्छेहरु
कुनै अनजान बाटाहरुमा।

(Sent to Sanjaal Corps via Email)

Baidyanath Upadhyaya – Jeevan Ko Gati

वैद्यनाथ उपाध्याय – जीवनको गति

कति कुराहरू यस्ता हुन्छन
जस्ले जीवनका गतिनै मोडि दिन्छन।
भित्र भित्रै कति व्यथाहरू
उर्लिरहेका हुन्छन
समुद्रका उछालहरू जस्तै
कसलाई भन्ने?
यी दुखका गाथाहरू
कतिले त सुनेर खिल्लि उडाउलान
अनि कसैले लेग्रो तान्दै
कठैवरा भन्लान
अझ बल्झिएलानि पीडाहरू!
कसैले सहानुभूतिको स्वाँग रचाउँदैमा
कसरी खुलेर भन्न सकिन्छ र
मुटूभित्र बिझेका कुराहरू!
म जुन दुखले भन्दैछु
जे भन्छु
त्यसलाई त्यसै रूपमा
सही सही बुझिदिनेहरू
कहाँ भेटिएलान!
कसैले भन भन्दैमा
कहाँ खुल्छन र
मनका गाँठाहरू!