Baidyanath Upadhyaya – Diganta

बैद्यनाथ उपाध्याय – दिगन्त

सोचेको कहाँ हुन्छ र
जिन्दगीमा…
बेला-बखतमा चढदछन
आफ्ना आकाङ्क्षाहरु
बलिवेदीमा
मुढो जस्तै एक्लै लडिरहेछु
बीच बाटामा
के के उम्मीदहरु लिएर
हिंडेथें त्यो प्रस्थानबाट हिजो
अब असम्भव भएको छ हिंडनु
फोका उठेकाछन पैतालाभरी
कालो मसी पोखिएको रात
खनिएको छ सडकको वार-पार
कस्लाई थाह छ
के गुज्रन्छ यो निविडतामा…
मेरो अन्तसको यो कोलाहलदेखि पर
बस फैलिएको आकाश छ
दूर दिगन्तसम्म…!

(Sent to Sanjaal Corps via Email)

Baidyanath Upadhyaya – Pahal

वैद्यनाथ उपाध्याय – पहल

दुनिया का असंख्य
पीडितहरू माझ
म आफ्नो पीडाको बोझ खोलेर
कस्लाई देखाउँ
सबै दुखी छन
सबै पीडित छन
यो दुख र पीडाको छछल्कोमा
को पो सग्लो छ र !
सबैलाई आ आफ्नै दुख
भारी छ।
सँधै आफ्नै दुख र पीडालाई
अधिक ठान्ने
यो मान्छेको जमातमा
आऊ! दुख,पीडा, लाचारीहरू सबै
हामी आपस्तमा
कुनै यस्तो पहल गरौं
जीवनलाई कुनै
सरल बाटोतर्फ डोऱ्याँऊ!

Baidyanath Upadhyaya – Samaya Ka Dob Haru

वैद्यनाथ उपाध्याय – समयका डोबहरू

अनुहारभरि कुँदिएका छन
समयका डोबहरू-
पीडाका भूगोलहरूमा
पहाडको दुर्गम उँचाई लम्कँदैंछ
मेरो समय
इच्छाहरूको पहिरो लागेर
थिचिएकाछन मेरा खुसीहरू
नदी नाला र खहरेहरूमा
विराग अलापदै
बगिरहेका छन
धेरै चाहनाहरू
अतृप्त, असंगत
भावनाहरूको भूमरी चलेको
यो अपांग क्षणमा
तिम्रो अनुहारभरि
दौडिएका उदासीका धर्साहरूमा
विचलित छन एकाएक
मेरा कयौं चाहनाहरू !
कालको बैशाखी उभिएर
नियालिरहेछु निस्पृह, निर्लिप्त
दोबाटोमा उभ्याइएको
निर्जीव सालिग सरह..

Baidyanath Upadhyaya – Mero Kabita

वैद्यनाथ उपाध्याय – मेरो कविता

मेरो कविता
भोका र नांगाहरूको लागि
एक मुट्ठी अन्न र एक चिथडो कपडा
भै दिए कति राम्रो हुने थियो।
संत्रासवादीहरूको चपेरामा परेका
आतंकग्रस्तहरूको लागि
निर्भयता बन्न सके
कविता कति सार्थक हुने थियो।
मेरो कविता
व्यर्थताले निराश बनेका हरूको लागि
आशाको एउटा झिल्कोनै बनिदिन्थ्यो भने
मनभित्र शांति छाउने थियो
मेरो कविता
कहिल्यै कसैको जाउलो टार्न सक्तैन
पीडाले छटपटाई रहेका हरूको
पीडा हर्न पनि सक्तैन
कति लाचार छ, कति विवश छ
मेरो कविता
मेरो जीवन जस्तै दुरुस्तै!

Baidyanath Upadhyaya – Thulo Manchhe

वैदयनाथ उपाध्याय – ठूलो मान्छे

ठूलो मान्छे बन्नु पर्छ भने
पहिले त तिमी मान्छे बन्नु पर्छ
मान्छे हुनु भनेको
आफैंप्रति इमान्दार बन्नु हो।

तिमी आफुप्रति इमान्दार छैनौ भने
तिमी जुनसुकै उच्च ओहोदामा रहे पनि
तिमीले जत्तिनै ठाट-बाट देखाए पनि
समाज जीवनमा
त्यस्को कुनै मोल छैन।
“अरूलाई तिमी भाषा-साहित्य संस्कृति
जोगाउनु पर्छ
हामीले आफ्नो भाषाको
कदर गर्नुपर्छ भन्छौ”
अँ, यीनै कुराहरू
आफ्नै छातीमा हात राखेर भन
तिमी आफैंले
भाषा साहित्य र संस्कृतिको
के कत्ति जगेडा गरेका छौ
तिमीले त आफ्नो दिनचर्यामा
नेपाली पत्र पत्रिकाहरूलाई पनि
सामिल गरेका छैनौ।
तिमीमा नेपाली हुनुको
कुनै गौरव छैन
अब तिमी केवल
भाषणबाजीमा मात्रै जीवित छौ
किनकी तिमीले भनेका कुरा
तिम्रो जीवनमा कहीं कतै
लागु हुँदैन भने
ठूलो मान्छे हुनु त टाढाको कुरो
असलमा
तिमी मान्छे पनि बन्न सकिरहेका छैनौ।

Baidyanath Upadhyaya – Amritasaya Putra

वैद्यनाथ उपाध्याय – अमृतस्य पुत्रा

हजारौं पीडा खपेर पनि
मान्छे बाँचेकै हुन्छ।
गल्ली, बाटा र दोबाटोहरूमा
बाँच्न को लागि के के सामल
बटुलिरहेकै हुन्छ।
कसैलाई सामुन्ने देख्दा
रूञ्चे हाँसो हाँसि रहेकै हुन्छ।
कसैले कस्तो छ भनेर
सोधि हालेछ भने
ठीकै छ भनेर फुस्स
हाँसिरहेकै हुन्छ।
त्यो पीडा र ठीकै हुनुबीच
कोसौं को फासला भए पनि
आशा अझ साँचिरहेकै हुन्छ।
कस्ता कस्ता चोटहरू खपेर पनि
मान्छे ले कहिले पो हार मानो र !
यन्त्रणामा छटपटिएर
बरू उ मर्न सक्छ
तर मान्छे पराजित कहिल्यै हुँदैन।
शायद,
त्यसैले वाङ्मयकारहरूले
भने होलान
अमृतस्य पुत्रा!

Baidyanath Upadhyaya – Maya

वैद्यनाथ उपाध्याय – माया

पीडाले छताछुल्ल भएर
पोखिएको छ दूख
मेरो जीवनको फाँटभरि
म त्यो आकाशलाई
माया गर्छु
म यो धरतीलाई
माया गर्छु
म त्यो फूललाई
या कि त्यस्को सौन्दर्यलाई
माया गर्छु ?
यो माया
कहाँबाट उब्जन्छ
अनि कहाँ बिलाउँछ ?
अप्ठ्यारो भएर
काँडा जस्तै
कहीं बल्झिरहेछ
समय !

Baidyanath Upadhyaya – Swabhab

वैद्यनाथ उपाध्याय – स्वभाव

वृक्ष
पशु-पक्षी
आकाश-धरती
मान्छे
सब साथ छ।

फुल फुल्दछ
रुख बढदछ
नदी बग्दछ
चराले गाँउछ
स्वभावत
सबथोक हुँदै जान्छ।
कहीं हो-हल्ला छैन
आपत्ति छैन

बस
यहाँ मान्छे Continue reading “Baidyanath Upadhyaya – Swabhab”

Baidhyanath Upadhyaya – Samaya Ko Hawa

वैद्यनाथ उपाध्याय – समय को हावा

समय को हावा चल्दछ
अनि जिन्दगी को पाना खुल्दछ
रूखको सुकेको हाँगामा
एउटा चराले पँखेटा फिजाउँछ
घामले त्यस्लाई सुमसुम्याउँछ।

सयौंबर्ष देखि दबिएको सपना
सर्सराउँछ
कहीं भित्रबाट सुँकसुँकाएको
आवाज आउँदछ
सुन्दछु केही सरिरहेछ
आस्ते आस्ते…

उदासीको पर्दा उठाएर
बाहिर हेर्छु
आकाशको चादर टंगिएको छ
घाममा
हावाको कुनै आहट छैन
निधारमा पसीना पुछ्दछु

केही फुल फुलेका छन
आँगनमा
सापटीको सपना रोपेको थिएँ
सुकेछ
कँटीला झार उम्रिएका छन
बारी भरी

जिन्दगी
बस, एक किताब हो
कालो अक्षरमा खुल्दछ
यसैको अनुसार
जीउँदछु, जीउँदछु
अन्तिम पाना सम्म…

Baidhyanath Upadhyaya – Khushi

वैद्यनाथ उपाध्याय – खुसी

पीरले लोलाएको
यो समयमा
उलझिएका छन
मेरा प्रत्येक दिनहरु!
मन भित्र भित्रै
चलिरहेछ
अविरल
एक घमासान!
असाध्यै राम्रो लागेर
अपनाएको चीज पनि
केही क्षणमै वाक्कै लाग्ने
यो कस्तो विडम्बना!
रातको प्रगाढता
लम्पसार भएर
तेर्सिएको छ वारी-पारी
क्षितिजभरी
पूर्पूरोमा हात राखेर
नियालिरहेछु,हरेक अनुहारहरु
आखिर मैले चाहेको
त्यो खुसी के हो?

असम

Baidyanath Upadhyaya – Daud

वैद्यनाथ उपाध्याय – दौड

दगुर्दा दगुर्दा हामीहहहस
फेरि त्यही आई पुग्दछौ
जहा बाट हिडेथ्यौ
हिजो-
नया को खोजमा ।

फेरि उही इच्छाहरू
त्यही आशा, त्यही वासनाहरू
त्यही सुखको कामना
उही अक्षमता
उही दुख

बस
एक वर्तुलाकार छ यो दौड
कोही पुग्दैन कही
यो दौडमा
जान्दछौ
केही मिलनेवाला छैन
यो पुरा दौडमा

तैपनि
मान्छे दौडिरहेछ
लगातार
सूर्योदय देखि सूर्यास्त सम्म।

Baidyanath Upadhyaya – Bidambana

वैद्यनाथ उपाध्याय – विडम्बना

दिन रात खुल्ने यी दृश्यपटहरूमा
आफ्नोपनको कहीं
केही आभाष सम्म पनि छैन।

च्वास्स च्वास्स दुखीरहेछ
कहीं भित्र भित्रै
उखेलिंदैं गरेका
आफ्ना जराहरू।

आकांक्षाका उर्लंदो
विकराल भेलहरूमाझ
मेरा थोपा थोपा इच्छाहरू
मिसएर कता बगे कता!

खै अब यो बासनाको
उर्लंदो भेललाई
अँजुलीभरी थापेर
यो मेरै चाहना हो भनेर
म कसरी भनुँ ?

मेरै जीवनका उकाली- ओरालीहरूलाई
एकाकार गरेर
भेल बगिरहेछ छताछुल्ल चारैतिर
मैले बाँचेको यो कस्को समय हो?
अगाडी खुल्दैछ भयानक दृश्यहरू
आफूसंग आफ्नै परिचयको
कुनै निसान सम्म पनि छैन
छातीका धडकनहरूलाई साक्षी राखेर
म अझै बाँचेको छु भनेर
कसरी भनुँ?

Baidyanath Upadhyaya – Ma Kahan Chhu

बैद्यनाथ उपाध्याय – म कहाँ छु

जीवनका पानाहरुमा
कोरिएका छन
अव्यक्त वेदनाका धर्साहरु!
कसरी मानूँ म
यो मेरो जीवन हो?
जबकि आफ्नोपनको
कहीं कतै आभाष पनि छैन
यो देह त
आफ्नै यात्रा हिंडिरहेछ।
असमन्जसताको तुवाँलो छाएको
यो समयमा
खोज्दैछु
म कहाँ छु!

Baidyanath Upadhyaya – Euta Saglo Pratibimba

वैद्यनाथ उपाध्याय – एउटा सग्लो प्रतिबिम्ब

चौतरफा
विश्वायनको हुरी चलेको छ
कपास सरी उडिरहेछन
नैतिकता, आदर्श र
मान्यताका धुजाहरु
भागमभागको
यो चर्को प्रतिस्पर्धामा
लडखडाएका पाईलाहरू सम्हालदै
आफ्नै Continue reading “Baidyanath Upadhyaya – Euta Saglo Pratibimba”

Baidyanath Upadhyaya – Ritto Jeevan

वैद्यनाथ उपाध्याय – रित्तो जीवन

जीवनका भोगाइहरू पनि
थुक्क-
कति दिक्क लाग्दा हुन्छन
कोई बेला त आफैंलाई
धिक्कार लागेर आँउछ
एकछिन अघिका खुसीका क्षणहरू
लगत्तै विरक्तिका भावहरूले
घेरिएका हुन्छन।
अनि हाम्रो खुसी
बिजुलीको झिल्का जस्तो
मात्रै हो त ?
सधैंभरी न पुग भएको भान
कसरी भरिएला
यो मनको घैंटो !
मैले चाहेको यो पनि हैन
त्यो पनि हैन
सूर्योदय देखि सूर्यास्त सम्मको
दौडमा भिडिएर
आज व्यर्थैमा रित्तिएजस्तो
लागेको छ
आफ्नै जीवन!

Baidyanath Upadhyaya – Hindnu Nai Jeevan Ho

बैद्यनाथ उपाध्याय – हिंडनु नै जीवन हो

जति सजाए पनि
जति नै माया गरे पनि
देह यो
कहिल्यै आफ्नो हुँदैन।
देह त यो
आफ्नै यात्रा हिंडिरहेछ
यस्ता कयौं चोलाहरू फेर्दै
यात्रामा छ यो
मेरो ‘म’ पनि!
यादहरूको क्षितिजमा
कालो रात खनिएर
अन्धकार पोतिएको आकाश
आफ्नै पीरले आँसु खसालेर
तरक्क रोएको छ आज!
मेरा खुसीका ताराहरू
पीडाको क्षितिजपारी
लखतरान भएर निद्रामग्न छन
सुन्दछु आफ्नै छातीमा
समयका पदचापहरू
हिंडिरहेछ, हिंडिरहेछ
मानौं-
हिंडनु नै जीवन हो
हिंडनु नै मृत्यु हो
हिंडनु नै सबथोक हो।

Baidyanath Upadhyaya – Paisa Ko Lagi

वैद्यनाथ उपाध्याय – पैसा को लागि

कैयौं टूक्राहरूमा बाँडिएर
बाँच्न अभ्यस्त छौं
हामी
सीसा जस्तै
टूटतछन
हाम्रा संकल्पहरू
हाम्रो आशा
जीऊँछौं
लक्ष्यहीन,उद्देश्यहीन
बेसूर भएर
इमानलाई दबाएर
झूठको बैशाखीमा खडा भएर
आफैंलाई ऊँचा देखाउने
ढोंग सीकेका छौं
हामीले
जीवनलाई ढाल्यौं
एउटा मशीन सरह
यस दौरमा
हामीले बाँच्न भूल्यौं
केवल मरिरहेछौं
पैसाको लागि।

Baidyanath Upadhyaya – Aakash Ko Antya

वैद्यनाथ उपाध्याय – आकाशको अन्त्य

जम्मै उमेर लगाएर
खोजि हिंडे
जीवनको अर्थ
कहीं कतै पत्तो लागेन।

हिंडदा हिंडदै
आकांक्षाका पहाड र कन्दराहरूमा
जीवन भरको हिसाब नै हराएको छ
खोज्दै हिंडें
जम्मै सीप लगाएर
कहीं भेटिएन।

मैले इन्द्रेणीको
सातौं सिंढीमा पुगेर
आफ्नो रंगीन आकाशलाई
ब्रह्मपुत्रमा धँसाइदिएको छु।

अब आकाशको अन्त्य आएको छ।

Baidyanath Upadhyaya – Haami

वैद्यनाथ उपाध्याय – हामी

सुन्दर विचारहरूले
पृथिवी सुन्दर छ ।
दुष्ट विचारहरूको कालो मुश्लो
उठदै छ क्षितिजभरी
चारैतिर अस्थिरता, नश्वरता
छाएको यो समयमा
कुन स्थायित्वको सोचमा
मग्न भएछौं हामी..?

सुरसाको Continue reading “Baidyanath Upadhyaya – Haami”

Baidyanath Upadhyaya – Mero Jiwan Ko Indreni

वैद्यनाथ उपाध्याय – मेरो जीवनको इन्द्रेणी

मनभित्र खेलिरहेकाछन
अनेकौं इच्छाका रंगहरू

पीडा बर्सिएर
छताछुल्ल
कल्पनाको आंगनबाट
म हेरिरहेछु
मेरो जीवनको रंग इन्द्रेणी

जीवनबाट
उडिसकेका यौवनका
नानाथरि रंगहरू
कहिल्यै वास्तवायित
हुन नपाएका
मेरा कयौं अभिलाषाहरू

सबै मिसिएका छन
रंग विरंग
इन्द्रेणीको रंगमा !