Prakar Antar – Lek Besi Gardai Holi Meri Suwasini (Nepali Gajal)

प्रकार अन्तर – लेक-बेसी गर्दै होली, मेरी सुवासिनी (गजल)
(Sent to Sanjaal Corps via Email)

लेक-बेसी गर्दै होली, मेरी सुवासिनी
लडिन्छ कि डर्दै होली, मेरी सुवासिनी

म एक्लै परदेशमा, उ देशमा एक्लै
एक्लै जंघार तर्दै होली, मेरी सुवासिनी

रात लामो अन्धकारमा अल्झिरहँदा
आशैआशमा सर्दै होली, मेरी सुवासिनी

कोरी चित्र कल्पनाको खोला किनारमा
रंग अनेक भर्दै होली, मेरी सुवासिनी

टुटेपछी आशातार जीर्ण जिन्दगीका
निराशामा झर्दै होली, मेरी सुवासिनी

Mina Bantawa ‘Mridu’ – Timi Antai Basain Sare Pachhi [Nepali Gajal]

चटट्यां झैं बज्रेर टुटेको मनलाई अब,गाँसु कसरी
अतित घाउ भुली, ओठ-ओठ ढप्काएर हाँसु कसरी

तिम्ले आऊ भनि बोलाई, ठाडा पुराई छाडी दियौ
भुइँको पलाँस सिरमा फेरी,मैले आब टासुँ कसरी

जहिले देखि बसाईं सर्योउ तिमी, अन्तै शहर तिर
तिमीले दिएको उपहार, घाउलाई फेरी माँसु कसरी

हाँसी हाँसी थाहै नपाई,विष पिलाएर गयौ तिमी
अचानक बग्यो”मृदु”आँखाबाट आज आँसु कसरी

चटट्यां झैं बज्रेर टुटेको मनलाइ,अब गाँसु कसरी
अतित घाउ भुली,ओठ-ओठ ढप्काएर हाँसु कसरी

Manoj Kafle (Mansoon) – Kalpana Mai Bilai Gaye (Nepali Gajal)

मनोज काफ्ले मनसुन – कल्पनामै विलाई गए

कल्पनामै विलाई गए छालहरू जिन्दगीका
मुटु चिरी हासीरहे हालहरु जिन्दगीका

सिर्जनाका फूलहरु नफुलेरै ओइली गए
अन्येउलमै बिते चौबिस सालहरु जिन्दगीका

रोपियो झिरमा अनि आगोको रापमा बल्यो
दिउसै अन्धकार भए जालहरु जिन्दगीका

हर मोडमा गाली पाएकै छु फेरिपनि
बिना अर्थ कति खाएँ गालहरु जिन्दगीका

सुनौलो सपना कल्पना मा बितिरहेछ
यता हिंडे उता पुग्छन चालहरु जिन्दगीका

Komal Bhatta – Aafnai Desh Ka Byatha Haru

कोमल भट्ट – आफ्नै देशका व्यथाहरू

आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?

अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरु थुनिदिने कोही छौ कि ?

रोग,भोक,अशिक्षा र बेरोजगारी बढ्यो धेरै
सर्वसुलभ अवसर त्यो चुनिदिने कोही छौ कि ?

रुनेहरू रोएकैछन् कोही खित्का छोडछन् सधैं
सबले हाँस्न पाउन भनी गुनिदिने कोही छौ कि ?

परस्परका भेदभाव र बैमनश्य हटाएर
एकताको एउटै माला उनिदिने कोही छौ कि ?

पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
4th March,2013

Sumitra Wangdel Cheli – Paschim Bata Udaune Gham Kasto Hola (Gajal)

सुमित्रा वाङदेल ‘चेली’ – पश्चिमबाट उदाउने घाम कस्तो होला

पश्चिमबाट उदाउने घाम कस्तो होला
धेरै देखेँ कृष्णहरू राम कस्तो होला

देश हेर्छु उभिएर सुदूर पूर्वबाट
इलामले सोध्छ सधैँ अछाम कस्तो होला

हाँगाबाट चुँडालेर फूल टिप्छन् यहाँ
झर्‍या फूल चढाउने घाम कस्तो होला

मान्छे मात्छन् धन, मान, पद, प्रतिष्ठाले
नपिइकनै भात लाग्ने जाम कस्तो होला

– दमक, झापा

Bhupendra Mahat – Maisaap Hajur Achel [Nepali Gajal]

भुपेन्द्र महत – मैसाप हजुर अचेल पिउन थाल्नु भएछ

मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ

चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग
अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
वैँशको रापमा बाफिएको नसालु माद
बोझिलो भयो कि, नसकी खेप्न, फाल्नु भएछ

आँखा भरी बग्न लागेका अधुरा सपना
बिझ्ने भयो कि, नसकी थेग्न बाल्नु भएछ
अभिमानले भत्किएका मायाका प्रणय
कतै जोडिन्छ कि भनी लेख्न थाल्नु भएछ

Ashank Upadhyaya – Asha Boki Dhayeko Chhu (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – आशा बोकी धाएको छु

आशा बोकी धाएकोछु
लाग्छ साथ पाएकोछु

भावनाका बगैंचामा,
लहरिदैं आएकोछु

सपनीमा बोलाएर,
ढकमक्क छाएकोछु

तस्विर यो साक्षी राखी,
धेरै बाचा खाएकोछु

गज़लका शेर भरि,
तिम्रै भाका गाएकोछु

Rakesh Karki – Rastrako Yojana Fail Bhayo (Nepali Gajal)

राकेश कार्की – राष्ट्रको योजना फेल भयो

नपाउन्जेल चिप्लो तेल भयो
पाएपछि हुप्प फुलेल भयो

देशको शासन जालझेल मात्रै
कानून बिनाको खेल भयो

मान्नेलाई इनाम र बक्सिस
नमान्नेलाई कोर्रा जेल भयो

भोका नाङ्गा दु:खी असाह्यको
आँखामा आँशुको भेल भयो

मुखमा राम राम बगलीमा छुरा
स्वार्थी स्वार्थीको मेल भयो

स्वयंमको योजना बुन्दै थप्दै
राष्ट्रको योजना फेल भयो

– लस् एन्जेलस्

Komal Bhatta – Kasari Byakta Garaun

कोमल भट्ट – कसरी ब्यक्त गरौँ

कसरी ब्यक्त गरौँ ? यहाँ अत्याचार भएको छ
कसैको स्वच्छ भावनामा बलात्कार भएको छ

विकृति र विसंगति,बढेका छन् दिन दिनै
पवित्र विचारधारा पनि, निराधार भएको छ

बदमाशहरु मस्त सँग घुम्दै छन् जताततै
सोझा र सज्जनमाथि,सधैँ तलवार भएको छ

बेसरम र नकच्चर्याइले पराकाष्ठा नाघ्दा
गहिरो मित्रतामा अब वारपार भएको छ

सिर्जनामा हस्तक्षेपले,प्रतिभाहरु सोच्दै छन्
“आफ्नो परिश्रममा अर्कैको फलाहार भएको छ”

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Komal Bhatta – Biranu Baneko Shahar Le Ruwayo

कोमल भट्ट – बिरानु बनेको शहरले रुवायो

बिरानु बनेको शहरले रुवायो
अधिक झाँगिएको रहरले रुवायो

सधैँ उर्लिराख्ने खुसी प्रेम छर्दै
नजरमा घुमेको लहरले रुवायो

चढी पूर्व लाली मनै लट्ठ पार्ने
मधुर मिरमिरेको पहरले रुवायो

चखेवा चखेवी छुटाएर जोडी
निठुरले गरेको ठहरले रुवायो

रिसाएर सबको गलत सोच बढ्दै
मनैमा फुलेको जहरले रुवायो

वियोगी भएरै दिवस काट्नु पर्दा
अभागले दिएको कहरले रुवायो

( भुजङ्गप्रयात छन्द )
ISS ISS ISS ISS

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Acharya Prabha – Nabin Barsha Jhulkiyo (Nepali Gajal)

आचार्य प्रभा – नविन बर्ष झुल्कियो (गजल)

हर्षले छायो, मनमा हेर, बिहानी आएर
उमंगसँगै, उदायो सूर्य, झल्मल्ल छाएर।

नविन बर्ष, झुल्कियो अब, लिएर सुखद
सबैको मन, हर्षित बन्यो, आनन्द पाएर ।

बाँच्नेछन् सबै, हाँसोमा रमी, खुशी नै भएर
लडाइँ अब, लड्दैनौ भनि कसम खाएर ।

रगतको खोलो, चाहिन्न अब, सद्भाव चाहिन्छ
बाँचौला सबै, एकार्का माझ, नजिक धाएर ।

नव यो बर्ष, खुशीले मान्दै, मनमा फुलाउँ
मायाको साक्षी, बनेर बाँचौं पिरती लाएर ।

(नयाँ बर्ष २०६७ सालको आगमनलाई हार्दिक स्वागत गर्दै सिर्जिएको गजल)

Bhupendra Mahat – Akhir Tyahi Bhayo [Nepali Gajal]

भुपेन्द्र महत – आखिर त्यही भयो

आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो
टलक थियो थेन जलपको भरमा छल्नु भो

उज्यालो छर्न नि पिधमा पुगी सक्यो तेल
धिपधिप गरेर फेरि किन आँफै बल्नु भो

हुकुमको एक्का हपिए चल्ने आँट कसको
खेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो

बर्तमान थर्कमान हुन्छ जो सित भने
पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो

रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो
छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो

Dr. Ghanshyam Neupane Parishrami – Ramra Ramra Fulharu (Nepali Bal Gajal)

डा. घनश्याम परिश्रमी – राम्रा-राम्रा फूलहरु

राम्रा-राम्रा फूलहरु चुन माहुरी
फूलबारीमा गर भुनभुन माहुरी

कसरि पो फूलबाट रस चुस्दछौँ
हामीलाई पनि सिकाऊ न माहुरी

नटोक है हामी सानासाना नानी हौँ
मन लाग्छ तिमीलाई छुन माहुरी

बनाएर हाम्रै लागि मह पोसिलो
धेरै-धेरै लगाउँछौ गुन माहुरी

तिम्रो नाच हेर्दा हामी मख्ख पर्दछौं
हाम्रो पनि गजल एउटा सुन माहुरी

Rakesh Karki – Fatakka Thakaaidine Raataima Timile (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – फतक्क थकाइदिने रातैमा तिमीले (गजल)

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले

घरी घरी आवेगमा माया बटुलेर
लुकाउने अँगालोको तातैमा तिमीले

घुमाउने ल रमाउने हँसाउने दिनैमा
फतक्क थकाइदिने रातैमा तिमीले

लस् एन्जेलस्

Acharya Prabha – Samjhana Dar Lagyo (Nepali Gajal)

आचार्य प्रभा – सम्झन डर लाग्यो (गजल)

सम्झन डर लाग्यो
बिर्सन कर लाग्यो

तिम्रा नाटक हेरी
केनै पो भर लाग्यो?

यत्ती ढाँट्यौ मलाई
झनै अभर लाग्यो ।

जाली,झेली देख्दा त
अझ पो पर लाग्यो ।

बिस्वाश यत्ति थियो
शंखा नै तर लाग्यो ।

(रचना ३ /२५ /२०१० )

Bajra Kumar Rai – Jiundo Yo Lash Lai (Nepali Gajal)

बज्र कुमार राई – जिउँदो यो लाशलाई ढलाई देऊ बरु

जिउँदो यो लाशलाई ढलाई देऊ बरु,
चिन्तामाभन्दा चितामा जलाई देऊ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु,
आउ यो भौतिक शरीर बलाई देऊ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो,
पलपलको यो लाचारीबाट छलाई देऊ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ,
आउ आँशुमै बिष छरेर चलाई देऊ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता,
भैगो त्यो बहुरुपी माया नलाई देऊ बरु