सोहोरेर मिस्त्रीले सारा समय
घडीमा कोचिदियो
ताहाँ उप्रान्त
पार्टपूर्जाले तोक्न थाले समय
अर्थात, सुतेकाले जाग्ने समय
जागेकाले जुलुस लगाउँने समय
र जातजातका तानाशाहलाई
घोडाबाट खसाल्ने समय
Author: admin
Aryabiman Chitrakar – Sunaulo Bihan
आर्यविमान चित्रकार – सुनौलो बिहान
आँखै अगाडी छर्लंगै रात बिते
नया दिन नया प्रभातले घच्घचायो
उठेर बाहिर यसो हेर्छु
झरी परेको रहेछ
सबै जाँगरहरु फेरी सुते
आगमन सायद उसको
होला नौलो बिहान
फेरी पनि बाँचेको छु
भित्र भित्रै खन्दै आफ्नै चिहान
दुखको ओच्छ्यानमा ढल्किदै
लगाएको छु पीडाको सिरान…..
हरेक रातको मानसिक तनाव
परेन केहि नयादिन को प्रभाव
मिथ्या लाग्छ, के बाच्नु यसरि
रोउ, कराउ, चिच्याउ बेस्सर
सक्दिन पो के गरूँ फेरी???
आँखै अगाडी छर्लंगै रातबिते
सबै जाँगरहरु फेरी सुते
निभेको दियो फेरी बालेनं कसैले
दन्केको मुटु चाल पाइनौ तिमीले??
फेरी पनि बाँचेको छु
भित्र भित्रै खन्दै आफ्नै चिहान
किन यो रात्री हुदैछ निशेष
किन दिन्नौ मलाई सुनौलो बिहान???
Saroj Dhatal – Manchhe Khaderi (Nepali Short Poem)
सरोज धिताल – मान्छे खडेरी
क्यामराको भीड ?
तस्वीर त रित्तो रै’छ !
मान्छे भए पो !!
फरवरी, २००४
Manoj Kafle (Mansoon) – Asha Jati
आशा जती निरासामा मोडिएर भार भयो
हांसीखुसी बाच्ने रहर तोडिएर भार भयो
साथसाथै रुनेहास्ने खाएनौ र कसमपनी
लत्तायेर गयेउ पर छोडीएर भार भयो
रानीबनको प्रेमपत्र रानीबनमै छोडीएछ
सपनाका टुसा हरु गोडिएर भार भयो
टुटे बरु हल्का हुन्थ्यो पथ्थर रैछौ तिमी
गंतब्येमा ढुंगा मुड़ा जोडिएर भार भयो
कहिँ त पुग्थे म एक्लै एक्लै हिंडेपनी
हिंडे तिम्रो साहाराले लोडिएर भार भयो
मनसुन
Indra Kumar Sunuwar – Khushi Chhu Maile Napaye Ni
ईन्द्र कुमार सुनुवार – खुसी छु मैले नपाए नि
गल्तीको गणना हुन्न मायामा
तिमीलाई लाखौं पटक माफ छ
दुखसुखको गोरेटोमा जहा जान्छौ
हरपल तिमीलाई मेरो साथ छ
चुम्बकको आबस्यक्ता छैन मलाई
तिम्रो मायालाई मुटु भित्र जोडिरहन
वास्ता मलाई तिमीले नगरे नि
आउदिन म तिम्रो खुसी तोडिदिन
आँखाको आँशु बन्न चाहन्छु
तिम्रो मनको बोझ पखाल्न
पबित्र आत्मालाई प्रार्थना गर्छु
तिम्रो दुखसँग मेरो खुसी बदल्न
तिम्रो हासोमा नै मेरो संसार छ
संसार त रहिरहन्छ म नरहे पनि
सृष्टीको अनुपम उपहार माया हो
तिमीले पायौ खुसी छु मैले नपाए नि
Sulochana Manandhar Dhital – Kritagyata
सुलोचना मानन्धर धिताल – कृतज्ञता
हृदयले रोपेको बिरुवाले
मायाले फुलाएको फूलले
आफूलाई हुर्काउने मालीलाई
साँच्चै नै चिन्न सक्छ र ?
कहिल्यै आफैँ अघि सरेर
आफ्नो मालीलाई सम्झेर
‘धन्यवाद’ भन्न सक्छ र ?
Lekhnath Paudyal – Naitik Drishtanta
लेखनाथ पौड्याल – नैतिक दृष्टान्त
बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।
गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।
दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।
ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक ।
गरदैन कुनै सोझो ग्रहको पूजना–दिक ।।
टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महा–त्मा जुन्किरीसित ।।
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।
जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर ।।
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
मेटिंदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बने राम चौधै भुवनका पति ।।
धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?
सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।
Pravin Khaling – Shabdako Ris
प्रवीण खालिङ – शब्दको रिस
देश हर्बलले बाड़ेको विज्ञापन
जति पनि नपढ़िने त्यसको पर्चाले
राजनैतिक नंपुसकता छर्लङ्ग पार्छ।
त्यसको पोस्टर लेख्ने हातहरूले नै
प्रजातन्त्रको बाह्रखरी मेटाउछ।
अक्षरहरूको अनिकाल परेको बेला
निरक्षरहरू महाकाल भएर
मन्दिर,गुम्पा, गिर्जा र मस्जीदहरूमा पस्छन्
शान्तिलाई गलहत्याएर
आफैलाई ईश्वर घोषणा गरेर बस्छन्।
शब्दहरूलाई नाराको कन्सर्नटेशन क्याम्पमा हालिन्छ
भकाभक अक्षरहरूको टाउको काटिन्छ
प्रजातन्त्र लेख्न बस्यो कि त्यसको निबं भाचिन्छ
वर्णमालाको आँसु बग्छ।
‘गालामा आँशुको डोब बस्दैन हजुर
पहरामा खहरेको डोब बसेजस्तो’ – पारिजात
त्यसको टुमौटे परिभाषाहरूमा
अटाउँदैन शब्दको सिद्धान्त
मान्छेको मौलिक अधिकार
त्यसको रतन्धो आँखाले ठिम्याउन सक्दैन
त्यसले शब्दको आवेग पनि देख्दैन।
हुन त
त्यसले सत्ताको कुरा गर्छ
त्यसले सत्ताको धाक लगाउँछ
तर त्यसलाई थाहा हुँदैन
शब्दको रिस
जब शब्द रिसाउँछ पानीमा आगो बल्छ
आँखाबाट आँशु होइन आगो बग्छ
संविधान र देश त ढल्छ
त्यतिबेला त्यसको सत्ता कसरी चल्छ
हो त्यतिबेला त्यसको सत्ता कसरी चल्छ ?
Rabindra Nath Thakur – Rakshya Bandhan [From Geetanjali]
ईश्वर ! आज म तिम्रो बायाँ हातमा राखी बाँध्न आएको छु,
त्यो नलुकाऊ !
तिम्रो हातमा राखी बाँधेर म सबैलाई बाँधिदिन्छु, कोही पनि यो
बन्धनदेखि छुटकारा पाउनेछैन ।
आज आङ्खनो अर्काको भन्ने भेदभाव छँदैछैन :
आज म आङ्खनो भित्र–बाहिर सबैलाई एकै देखिरहेछु !
तिम्रो विरह–दुःखमा रुँदा–रुँदा म यति वेलासम्म घुमिरहेँ, तर, त्यो
विरह क्षणभरमा लोप भयो ।
अब तिम्रोमा दगुरेर आउँछु :
तिम्रो हातमा राखी बाँध्न आउँछु, त्यो हात नलुकाऊ !
Bimal Giri – Nirarthak
बिमल गिरी – निरर्थक
जिन्दगीका
बिर्सिनसक्नु
अप्रिय प्रसङ्गहरू
नियास्रोले भौतारी रहन्छन
कता-कता तुलानात्मक रुपले भन्नुपर्दा
काडालेझै कोत्रिन्छन, रगताम्मे हुन्छन मनहरू
खुशीले भक्कानिदै पीरमा हाँस्न मन लाग्छ
प्रेरक र निरर्थक भएर
चलिरहेछ जिन्दगी
घुम्ती र मोडहरूमा,
घामको झुल्कासँगै ब्युँझन्छु
जुर्मुराउछु
पीडा कोट्याउछु जलनका
बेदनामा जबाफ हुँदैन रहेछ
भोग्नुछ सहनुछ
बिघ्न बान्कीहरू निरन्तर
मनपरी र मनभरि
खितखिताउँछु प्रलाप
बेमौसमी जीवनको उमङ्ग
जहिले पनि
भावमा रङ्गभर्दै दुखिरहन्छ,
अव्यवस्थित दुख्ने गराहरू
सुक्खा बगर सरह
निरन्तरता अगालेर
मलाई ध्वस्त गराउछ
चिताग्नी बनेर
गुनासो नै के छ र ??
यस पृष्ठलाई बाँड्नुहोस्
Laxmi Prasad Devkota – Jhanjha Prati
क.
आ ! फिंजारी घनका भाँक्रा, सगर–सागर गाँसी !
उग्ररुपिणी ! प्रलयसदनि ! वर्षकी वेदनाराशि !
नाश् रे शेष शिशिर, भंडारी ! शोध् रे पृथिवी–वासी !
ख.
सत्ययुगको निद्रा तेरो ! कलिको प्रबोधन–वेला !
विकल–प्राण–पवन–संगमा अश्रुकी जलधिवेला !
अतीत–कारागत सब आत्माहरुको क्रन्दन फोई
नाच् रे खण्डित कृष्ण घनमा, इन्साफ मागेर रोई !
चम्की ! झञ्झकी हे आत्मा !
सुत्छ मनुज अँधेरी रातमा !
भाइ भुल्छ भाइ आज ! विषम थितिमा यो समाज !
चल्दो छ धूलिई, मासी !
ग.
लङ्का सल्क्यो ! सुन्दर विलपी ! रुद्रभृकुटीज्वाला !
क्रान्ति उठ्छ मनुज थिचिंदा, हुरी ! मै विषम–चाला !
जर्जर आडम्बरका विटप खडा छन् अझ रे काला !
छन् अँधेरी–सेज–स्वपित मरेका हृदयवाला !
जाग् रे ! वायुबघिनी ! गर्जी रे ! झञ्झाकी काली !
मानव अझ छ मानवान्ध ! आँखामा डालेर जाली !
सडल जगत् जा बढारी ! जर्जर दलका दल !
मानव दानवहरुका कृतिले, अझ छ बगाउँदो भल !
धूलीदलका छाया–लहर बढार्दै भूतका राशि !
आ ! फिंजारी घनका झाँक्रा सगर सागर गाँसी
घ.
कुपित सृष्टिकार सपना ! दिव्य दण्डकी हावा !
हे बेरोक ! पगली शक्ति ! असत्यको बोल् तँ धावा !
क्या विलासी सुरको भवन प्रलय छायाले छायो !
ङ.
नाची नागिनी बिजुली ! स्वर्गले डसिई, क्रन्दन गायो !
नर–भविष्य बदलीमा छ ! निफन्दे सृष्टिको डाली !
ढुक्क रहेको शोषण–मुटुमा मृत्युको असिना फाली !
ध्वंसिनी ! हे ! तेरा क्रूर गतिमा करुणा हुन्छन् !
सक्रिय शान्त मुटुमा तेरो सुन्दरले स्वपना बुन्छन् !
भोलि हुन्छ धौत गगन, पवन निर्मल सन्त !
ऋतु वसन्त हाँस्छ मधुर, शिशिर हुन्छ अन्त !
Krishna Pradhan – Andhyaro Raatsita Ek Chhin
कृष्ण प्रधान – अँध्यारो रातसित एकछिन
(मधुपर्क २०६६ माघ)
अँध्यारोमा
जे पनि हुन्छ ।
लेनदेन
वार्तालाप
विच्छेद ।
अहिले यस्तो अँध्यारो छ-
झलमल्ल बत्ती बालेर पनि देखिन्न ।
मैले तिमीलाई
तिमीले मलाई
केही गरे पनि देखिन्न
भेट भएकै छ ।
संवाद भएकै छ ।
तर सम्वादहीनता जस्तो
अँध्यारो अँध्यारो,
तिमी र मबीच उभिरहेछ ।
न तिमी चिर्न सक्छौ
न म नै चिर्न सकिरहेछु ।
यो कस्तो अँध्यारो र
अँध्यारो शृङ्खला ?
गतिहीनताको पदचाप
एकतमाससित
अँध्यारोसितै बढिरहेछ ।
कोही द्यौरालीमा टुकी बालेर
अँध्यारो हटाउन खोज्दैछन् ।
कोही गाम बेंसीतिर दियालो बालेर
अँध्यारो चिर्न खोज्दैछन् ।
कहाँबाट आउँछ फेरि अँध्यारोकै शृङ्खला ?
हावाको एक झोक्का सितै त्यो टुकी पनि निभ्छ ।
दियालोमा अर्को रात
फेरि छिप्पिन्छ ।
अँध्यारोमा बस्ने बानी भएपछि
उज्यालो निको लाग्दैन ।
अँध्यारोमा जे पनि हुन्छ ।
वार्तालाप
महाप्रस्थान ।
सुन्यताका पदचापहरू
उज्यालोबाट अँध्यारोमा छन्,
यो बेला शुभ छैन
अँध्यारो हेनर्’ ।
अँध्यारोमा छन् पाइलाहरू
अँध्यारोमा छन् गतिहरू
पहाड
मधेस
हिमाल
उज्यालोको आकाश
उघ्रेको छैन ।
म उज्यालो
पर्खिरहेछु ।
– ८४, संगमगल्ली, काठमाडौँ
B J Bantawa Rai – Bho Aba Ma Yuddhak Nagar Janna
बी जे बान्तवा राई – भो अब म युद्दक नगर जान्न
भो अब म त्यो युद्दक नगर कहिल्यै जान्न,
जहाँ दैनिकीको रुप चिहानी श्रंखला
लाशहरुको उदगम स्थल
रगतहरुको क्यास्पियनमा डुबेको नगर।
युद्दनै युद्दको खेल,
निरन्तर बग्ने रंगीन राता नाईलहरु
शान्तीको खोजीमा कहिले नकटिने नैराश्यताका
हजारौं माईलहरु,
म कहिले लिबर्टी सालिकको
शिरमा उभिएर सेतो परेवा उडाउन सकिन
रोग, भोक र सोकको सहयोगार्थ
एक गाँसको सहयोगी रथ गुडाउन सकिन।
त्यसैले मैले त्यहाँ बसेर
अश्रुका अमेजनहरुमा डुबीरहनु भन्दा
आज म आफ्नै समस्थली
कुटीको खोजीमा टाढिन्दैछु,
फेरी मलाई नसोंच कायर भनी
म मेरो दाजुभाईको गर्धन सेरेर
अनी यो शहरको छानोमा आगो बालेर
बीरताको ढोंङ् रच्ने ढुकुम्बासी बन्न चाहन्न।
मलाई नाज छ, यो युद्दको ज्ञान गोब्रे खोपडीमा
लादिएएको मा,
आफ्नो शिकार गर्न आफ्नै पिंठ्युँभरी
बमबारुदको बोझहरु छाँदिएकोमा।
त्यसैले म रणभुमीरुपी ग्रेटवाल भित्र
आफ्नो जिन्दगीलाई हरियो झिँगाको
आहारा बनाउन चाहन्न |
जहाँ दुई गाँस
ढिडोको स्वाद मजाले लिन पाइयोस,
बूकी फूलको शुबासना बिहान बेलुका पाईयोस
बरु चढ्छु मेरो पहाडका चुचुराहरु
आप्पा शेर्पाले झै पटक-पटक
म मरे पनि मरुला पासङ ल्हामुले झैं
अमर मेरै पहाडका खोंचमा झरेर
मेरै गल्छिँडामा पुरिएर।
त्यसैले म त्यो युद्दक नगर अब जान्न,,,,
किनकी म युद्वको खेल खेल्दिन,,,,,
त्यसैले म युद्दक नगर जाँदै जान्न।
१८-अप्रील २०१०
Bhim Darshan Roka – Timi Eklai Chhainau
हाम्रो उठबस र कैयौँ सहवासहरुले
बनाएका क्षितिज र कैयौँ आकाशहरुले
धेरै दिनका धेरै धेरै कुरा
कथा, कविता र इतिहासहरुले
साथ तिमीलाई दिइरहेछन्
साथ तिम्रो लिइरहेछन् ।
डाँडाकाँडा वनपाखा तसवीरहरुले
पहिरो र पहाडहरु थामिरहेका भीरहरुले
अघि अघि र अहिलेका वीरहरुले
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन् ।
फूल र पातहरु ली उभिरहने रुखहरुले
कुरा बुझ्ने म्ुटु र मौन मौन मुखहरुले
सबैका आप्mना आप्mना सुख र दुःखहरुले
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन् ।
Dinesh Chapagain – Samtriptata Ka 5 Haiku Haru
दिनेश चापागाईं – संतृप्तताका ५ हाइकुहरू
पूर्णताभित्र,
रिक्तता भेट्टाउॅदा-
स़़ंतृप्तता छ ।१।
आँखा र जिब्रो,
नाक, कान र छाला-
अनि शून्य छ ।२।
खाली आकास,
केही नभए जस्तो-
संसार नै छ ।३।
जंगल भित्र,
रुखहरूको माझ-
पात पूर्ण छ ।४।
रिक्तताभित्र,
पूर्णता भेट्टाउॅदा-
संतृप्तता छ ।५।
Bhoj Raj Neupane – Aashish Haraune Desh
भोजराज न्यौपाने – आशिष हराउने देश
वुबा सानो छँदा
जिजुवुवाले दशैंमा टिका लगाएर
आशिष दिंदै भन्नु हुन्थ्यो रे
‘डिठ्ठा भएस् सुवेदार भएस्
पण्डित भएस् विचारी भएस् ।’
म सानो छँदा
हजुर वुवाले दशैंमा टिका लगाएर
जमरा सिउरिंदै पातीले पर्सेर
आशिष दिनु हुन्थ्यो –
‘सवैको मान्य भएस् सवैको प्यारो भएस्
ठूलो भएस् उँचो भएस् ।’
अहिले मेरो छोरालाई
वुवाले दशैंको टिका लगाउँदा
आशिष दिंदै भन्नुहुन्छ
‘असल हुनु ठूलो मान्छे नहुनु ।’
समय न हो हेर्दा हेर्दै वदलिंदो छ
समय न हो छाम्दा छाम्दै घर्किदो छ
भोलि कुनै दिन
मेरो छोराले
उसको नातिलाई दशैंमा टिका लगाउँदै भन्नेछ
‘वावु ,मान्छेको अनुहार लिएर जन्मँदैमा
कोही मान्छे हुँदैन,
अहिले मान्छेमा विवेक हराएको छ
अहिले मान्छेमा विचार हराएको छ ।
यो जन्ममा यस्तै भैहाल्यो
अर्को जन्ममा मेरा सन्तान मान्छे नहोउन
किनभने
मान्छेले पुर्खाको अंश खोज्छ
र पुर्खालाई नै घृणा गर्छ ।
मान्छेले पुर्खाको सदाचार सिक्दैन
पुर्खाको सम्मान गर्दैन
यो आशिष हराउने देश हो वावु
मान्छौ भने शिरको आशिष शिरमैं राख ।’
चरिकोट, दोलखा; हाल: काठमाण्डौं
समाप्त
Bhupendra Mahat – Akhir Tyahi Bhayo [Nepali Gajal]
भुपेन्द्र महत – आखिर त्यही भयो
आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो
टलक थियो थेन जलपको भरमा छल्नु भो
उज्यालो छर्न नि पिधमा पुगी सक्यो तेल
धिपधिप गरेर फेरि किन आँफै बल्नु भो
हुकुमको एक्का हपिए चल्ने आँट कसको
खेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो
बर्तमान थर्कमान हुन्छ जो सित भने
पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो
रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो
छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो
Biplav Pratik – Antim Kshan
बिप्लव प्रतिक – अन्तिम क्षण
यतिखेर
म मृत्युशैयामा छु
मर्दैछु म केहीबेरपछि नै
म, मरणासन्न छु ।
मृत्यु भोग्नुपर्ने अवस्था कति गाह्रो हुन्छ
त्यही गाह्रो म भोगिरहेछु
तर, थाहा छैन किन हो
त्यसैमा आनन्द छ मलाई ।
केही बेरपछि नै
म तिम्रा बन्धन, जिन्दगीका बाध्यता र समाजका औँला
सबैसबैबाट बन्धनमुक्त हुनेछु ।
र, अहिल्यै म देखिरहेछु
कति आँखाहरू रोइरहेछन्
र कति आँखाहरूचाहिँ
मनमा खुसी हुलेर
केवल आँसु बगाइरहेछन् ।
Komal Shrestha Malla – Asahaj Man Bajra
कोमल श्रेष्ठ मल्ल – असहज मन बज्र
पीडाका गस्तीहरु
छाती माथी
मोती थोपा बोकेर
जब बर्सन्छन
अनुहार कोपर्दै
कहाली लाग्दो मन
औँशीमा जुन खोज्दै
ऐनामा बजारिन्छ
एक्लो मुड्की कसिनुमा
रक्ताम्य भएर ।
निर्दोष ऐना
यसरी छरिन्छन टुक्रा टुक्रा
बाँकी पर्खाल टोलाई रहन्छ
ऐनाको भगनावशेष बोकेर ।
कुरुप अनुहारका बिसौनीमा
अझ मन चट्याङ्गका बज्रले
छिया छिया छाती भित्र
असहज परेड खेल्दै
जीवन किनाराको बिगुल फुक्छ ॥
Rakesh Karki – America Aauna Saath (Nepali Gajal)
इन्जिनियर राकेश कार्की – अमेरीका आउनासाथ (गजल)
अमेरीका आउनासाथ नै मस्ती कहाँ हुन्छ यहाँ
आउनेलाई था छ कसोरी परिवेशले थुन्छ यहाँ
लोग्ने छोडी आउनु पर्ने स्वास्नी छोडी आउनु पर्ने
बच्चा छोडेर आउनेको मन त कठै रुन्छ यहाँ
यस्तै छ याँ काम माथी काम गोरु जोतीए झैं सधैँ
नेपाल पठाउने डलरलाई रुपैंयाले गुँन्छ यहाँ
गर्न शरम आफ्नो देशमा यहाँ गर्नु पर्ने रैछ
उताको धक्कु र बखान कल्ले पो सुन्छ र यहाँ
थला परेँ ऐया मरेँ बिमा पनि छैन हरे
नेपाली मायालु हातले यसो कल्ले छुन्छ यहाँ
यता देख्छ उता देख्छ जोडाजोडी भा सँगसँगै
आफ्नो मायालु परीवार ल्याउने सपना बुन्छ यहाँ