Bhupi Sherchan – Mardaichha Hami Ma Hami Bancheko Yug

बाँधका मुहान
अनि खोला नाला र तालका कुराहरुमा
थापेजस्तै माछा समाउने पोडेहरुले डोका र जालहरु
यो युग जसमा बाबुहरुले
भोगपछिको जिम्मेदारीसँग बाँच्न
थाप्तछन्
गर्भाशयतिर लम्केका आफ्नै सम्भावित सन्तान
शुक्रकीटहरुलाई नष्ट गर्ने पासोहरु,
र आमाहरु
आफ्m्नो आनन्दलाई चिन्तामुक्त गर्छन्
गर्भाशयको ढोकामा
आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई
निषेध गर्ने पालेहरु उभ्याएर
यो युग जसमा
भाग्यवश
संयोगवश
पाए भने कसैले प्रवेश गर्भाशयभित्र
तीमध्ये पनि कैयन् नष्ट गरिन्छन्
आफ्नै आमा–बाबुद्वारा खटाइएका
जिउँदो वा मुर्दा समाउने आदेश पाएका
यमदुतहरूद्वारा
यस युगमा
यस्तो युगमा जन्मेका छौं हामी
जन्मिनुअगावै मृत्युको त्रास बोकेर
हत्याको सुइँको पाएर
आएका छौं हामी यस पृथ्वीमा
आफ्नै निर्माताहरुको इच्छाविरुद्ध
उनीहरुको षड्न्त्रलाई तोडेर
पहिलो पटक
नीलो चहकिलो आकाशमुनि पहिलो पटक
पहिलो
पहिलो
र पहिलो पटक
खोल्यौं पनि त हामीले आँखा यस धरतीमा
पोलिनलाई ठीक भइसकेका
नाजी ग्याँसच्याम्बरका कैदीहरुले मुर्छा पारेर
अन्तिम घडीमा मुक्ति पाएर आँखा खोलेजस्तो
आफुलाई मृत
र आँखाअगाडिको संसारलाई
मृत्युपछिको अर्को लोक भन्ठानेर
त्यसैले हामी बाँचिरहेका छौं
बाँच्नुप्रति चिसो र शङकालु भएर
र हामी हुर्किरहेका छौं त्यस युगमा
जुन युगमा
हामीभित्र
हामी सँग–सँगै
हुर्किरहेको छ एउटा तीब्र अनास्था
स्वयं यस युगप्रति नै
यस युगको अस्तित्वप्रति नै ।

Rakesh Karki – Malai Pani Pad Chahiyo

इन्जिनियर राकेश कार्की – मलाई पनि पद चाहियो

हिजो म्याउँम्याउँ गर्ने त भयो
मलाई पनि पद चाहियो
पदमा बस्नेलाई हुने
खुशीको गद गद चाहियो

तपाईँहरु भन्दा छुट्टै माथी
आसन गर्न मन लाग्यो
माइकमा मुख बंग्याई बंग्याई
भाषण गर्न मन लाग्यो

कुखुराकै संगठन खोलेर भएनी
कुखुरे नेता हुन पाए हुन्थ्यो
तपाईँहरुकै सहयोग र चन्दाले
उडी आकाश छुन पाए हुन्थ्यो

टिकट मात्र किन्दै जानुस
कार्यक्रम हजार ल्याउँला
मंत्री मात्रको के कुरो
मंत्रालय नै यहाँ ल्याउँला

अमेरिकाका नेपाली हाँक्न
मलाई पनि पद चाहियो
दश औँले नमस्ते खाँदा हुने
खुशीको गद गद चाहियो ।।

लस् एन्जेलस्

Bhira Khadka – Timro Bidai Utsab

भीरा खड्का – तिम्रो बिदाई उत्सव

हर्षोल्लासकासाथ
म तिम्रो बिदाई
फगत एक्लै
उत्सवको रुपमा मनाउँदैछु ।
आनन्दानुभूति गर्दैछु यतिबेला
आफु एक्लै अनि चुपचाप
तिम्रो बिदाई उत्सव मनाउनुमा
खुसि छु म ।
तिमीले छोडेर जानुमा
अहिले एक्लो बनायौ त के भो ?
म एक्लो कदापी छैन
मेरा अन्तस्करणबाट पग्लिएर
आँखाको बाटो भई आउने
मेरा आँशुलाई सोध
भक्कानिएर फुट्न लागेको
मेरो मुटुलाई सोध
मेरा छटपटी अनि
मेरा उदाशीलाई सोध
म कहाँ एक्लो छु ?
आँशु,रोदन व्यथित मन पिडामयी मुटु
अनि टुक्रिएको मानसिकता
सबै सबै त छन्
सधैभरी साथ दिने वाचा सहित
मसंग तिम्रो
बिदाइको उत्सव मनाउन
भेला भएका छन्
र म टिलपिल आँशु संगै
बोल्न नसकेका शब्द संगै
मुटुबाट निचरिएर आएको
रगतरुपी मदिरामा
आफुलाई विनिमय गर्दैछु,
हर्षोल्लासकासाथ
म तिम्रो बिदाइलाई
एक्लो फगत एक्लो
उत्सवको रुपमा मनाउदै छु ।

Durga Lal Shrestha – Gaye Raati [Bal Kabita]

गएराति यस्तो मैले
देखेँ सपनामा,
यत्ति राम्रो थियो कि त्यो
कत्ति भनूँ आमा !

यौटा गाउँ, दायाँबायाँ
झुपडी ससाना,
झललल सुन-सुनै
परालका छाना !

झुल्किँदै थ्यो छिर्के परी
बिहानको घाम,
लटरम्म बोटैभरि
असर्फीका दाम !

फूलै फूल जहाँतहीँ
फुलेजस्तै आस,
गाँवैभरि मगमग
पसिनाको बास !

२०५९ जेठ १

Dipesh Lama Tamang – Sandesh

दीपेश लामा (तामाङ) – सन्देश

युद्ध त होईन बुद्धको खोजमा
अल्मली रहेछु म नेपाली
संसार जित्ने सहास तिम्रो
भन के भो गोर्खाली
आज के भो गोर खाली

आँसुले होईन मलाई
मौनताको एकै क्षण त आभाष दिलाऊ
कलिला हातहरूलाई रगतले होईन
शान्तिको रंगले पोति देऊ

दुई आँखा तिम्रो ति नियाली हेर्ने
चार प्रहर तिमी हामीलाई
झुकाउँन सकुँ मेरो शिर
सधैंसधैं आशिर्वाद तिम्रो लिनलाई

क्रोधको प्रहारले होईन
मायाको दुई शब्द योग तिमी बनिदेऊ
जल्न सकुँ दिप भई
सधैसधै तिम्रो प्रकाशले
लेख्न सकुँ इतिहास फेरी
नयाँ एउटा शिसा कलमले

Shrijan Animesh – Pardeshi Ko Katha

श्रीजन अनिमेश – परदेशीको कथा

आफ्नो जन्मभूमि रक्तपातमा मुछिएको बेला
जताततै विनाकरण लास ढलेको देख्दा
हजारौ आत्माहरु अशान्तिले छट्पटाउँदा
जताततै कोलाहाल मात्रै मच्चिंदा
खुशी त कसलाई लाग्छ र
श्रृष्टिकै नियम उल्टिएको बेला

जताततै भोकमरी र समस्याले तड्पिएको देख्दा
बेरोजगारीले पुरै देशै खाएको बेला
औषधी उपचार नपाई मर्नु परेको देख्दा
महंगिले आकाश छोएको बेला
बिदेशिनु परेको छ अहिले
रहर त कसलाई हुन्थ्यो र बाध्यताले

बम र बारुद संगै मन उडेको बेला
हरियाली डढेर कालो बनेको बेला
कल्पिएका सपनाहरु सबै अधुरा भैदिँदा
मनमा कुनै आशाका त्यान्द्राहरु बाँकी नरहंदा
मनमा शान्ति त किन हुन्थ्यो र
रुदै रुदै विदेशिनु परेको बेला

रुदै रुदै भएनी केही आशले आइयो
दश हन्डर खाँदा त झन झन्डै बहुलाइयो
फुट्नै लागेको मनलाई बलैबलै थामी
लागियो मन बुझाउन यस्तै रैछ जीवन भनी
जन्मभुमिमा त नपाको सुख किन पाइन्थ्यो र यहाँ
कठै बिचरा भन्ने समेत कोही छैनन जहाँ

Tanka Subba – Aja Ko Aswa

टंक सुब्बा – आजको अस्व

अ अथवा अस्तित्व
स्व अथवा स्वभिमान
हरेक देश र जनतासंग
गासीएको
टासिएको
अलङ्कार हुन् यी दुइ अक्षरहरु
त्यो हरेक देश र जनताको लागि प्रीय हुन्छ
अ र स्व अथवा अस्व
कुनै देश
र जनताले गुमाउन चाहदैनन्
जव अस्व गुम्छ
तव त्यो देश देश रहदैन
र जनता जनता हुदैनन्
अथवा देश र जनता भए पनि
कठपुतली वन्नु पर्छ कसैको
त्यसैले त अस्वको लागि
हरेक युगमा हरेक देशमा
हरेक मान्छेमा युद्घ वाचीरहन्छ
कस्लाई सह्य होला र ?
स्वभिमान खोसीएको
कस्लाई मञ्जुर होला र?
अस्तित्व लुटिएको
त्यसैले अस्व गुमाउनु भन्दा
देश युद्घघोष गर्न तयार हुन्छ
र जनता देशको लागि वलि चढ्न तयार हुन्छन्
तसर्थ हरेक देश र जनतालाई
अति प्रीयकर हुन्छ अस्व
तर विडम्वना त्यहि अलङ्कारहरु
युगौ देखि कुल्चेकाछन् लुटेकाछन्
त्यसको विरुद्घमा आवाजहरु उठाए पनि
ब्यर्थ भएकाछन् ती आवाजहरु
किनभने लुटिनेहरु लुटिएकैछन्
कुल्चिएकाहरु कुल्चिएकै छन्
यहाँ त कसैको स्वभिमानलाई कुल्चिएर उभ्नु पनि
स्वभिमानै ठान्छन् मान्छेहरु
र अस्तित्वलाई अपहरण गर्नुलाई पनि
मानवता नै सोच्छन् मान्छेहरु
यो कस्तो मत्स्यन्याय हो ?
जव कि देश र जनतामा स्वार्थ पूर्तिको लागि
स्वभिमानको हवला दिएर
अरुको स्वभिमानलाई आफैले हडप्नु ?
र मानवताको वकालत गरेर
निर्दोष र निरीहहरु माथी हमला गर्नु
चरीत्र वनेकोछ आजका हिट्लरहरुको
अरुको सामु अस्वको वखान गरेर
भित्र हिंसा र हत्याको योजना वुन्छन्
त्यसैले वर्तमान भयानक संकटहरु ब्यहोर्दै गुज्रिरहेछ

Yuddha Prasad Mishra – Antar Byatha Ko Tufaan

युद्धप्रसाद मिश्र – अन्तर्व्यथाको तूफान
(बीणा – १:१)

र्घर्के दर्शन सब पुरातन भई झुल्के उज्याला दिन
ताता खून उठी सजीव बदला आए हिजोका लिन
जित्नुको परिपाटितातिर युवा जाँदै गए गर्जिदै
आए केश खुला भएर युवती हातमा हँसिया लिदै

पीडाका अनुभूतिबाट उठने तूफान प्रत्यक्ष भो
शोषणको प्रक्रिया खत्तम्तिर सबैको एउटै लक्ष्य भो
शोषक् वर्ग समूल नष्ट हुन गो दुर्दान्त बेला घटी
गो पर्नाकन रास- रंग गर्ने दर्वारमा छट्पटी

आस्थाको लहरी उठेर दुनियाँ छन् तोडदै हत्कडी
मुक्ती पारन गौरवान्वित रगत् पोखी अगाडि बढी
जोडेको भइ विश्व दृष्टिसितको सम्बन्ध ज्युँदोकन
मान्छेको बीच रुढ संस्कृति टुटेको आजको जीवन

तोडी बाल्मिकि व्यास आदिहरूका सामन्तवादी कथा
गर्ने राज्य समाप्त जागरुक भै तोडी विलासी प्रथा
साटो शोणितको अवश्य नलिई जान्नौं भनी र्सवथा
जागेको अहिले विशाल दुनियाँको मुख्य अन्तर्व्यथा

२०३६

Asha Gurung – Shailaja Timi Banchi Rakha

आशा गुरुङ – सैलजा तिमी बाँचिराख

जन्मियौ पूर्वको काख मोरङमा तिमी,
राजनितिक बातावरणमा ओतप्रोत भएकी तिमी,
फलस्वरुप काँङ्रेसको झन्डा समाई अघी बढयो
कहिले छोडिनौ पार्टी जिबनका अन्तिम घडीहरु सम्मपनि,
क्रान्तिकारी काँङ्रेस नेत्री तिमी,
नारीको लागि एतिहासिक उदाहरण पनि तिमी।

जिबन जेलमा बिताएनौ कि,भूमिगत तिमी भएनौ कि,
नौ बर्षे भारत निर्बासनमा तिमी गएनौ कि, संघर्षको दिनहरु तिमीले काटेनौ कि
आखिर भयौ पनि सम्मानित मन्त्रि,उपप्रधानमन्त्री पदहरुबाट,
षडएन्त्र र आलोचनाको पात्र पनि भयौ तिमी।
तर तिमी हटिनौ,तिमी डराइनौ,न त गर्‍यो आत्मसमर्पण नै,
गरेउ त केबल पार्टीको निम्ति,देशको निम्ती र जनताको निम्ती।

तर के थाहा थियो र तिमीलाई नै ?
जिबनका तीनबीसका दिनहरु नै यति कठिन हुन्छ भन्ने।
गैइनौ र कहाँ तिमी उपचार गर्न ?
त्यो एकमुठी झिनो सास तिमी भित्रै गाँठो पारिराखन ।
कति लडाईं खेलेयौ होला तिमी, त्यो अल्जाइमर रोगसँग,
तिम्रो आफ्नै जिबनसँग , ती अतितका पानाहरुसँग ।
तर कोही बुझ्न आएनन तिमीलाई, तिम्रा ती त्यागहरुलाई सम्झेर,
आए त केबल ढोङ गर्न,कोही आइपुगे त तिम्रो मृत शरीरमा फुलहरु फ्याँक्न,
कसैले लगाईदिए अबिर, कसैले ओढाईदिए पार्टीका झन्डा,
पूजा गरे, ढोगे र चर्किए तिम्रो अमरताको लागि।

तिमीले केही सुन्यौ र सैलजा ? देख्यौ र कतै तिमीले यो रमिता ?
कठै ! किन भैदिएन यो? जहिले तिमी थियौ यहाँ जिउँदै।
बुझिदिएनन मान्छेहरुले सत्य जिबनको,
ओइरिए सबै, जब छोडेयौ संसार भबसागरको

स्रदाञ्जली तिमीलाई सिर्जिदैछु म,सारा नेपालीको प्रतिनिधित्व गर्दै,
तिम्रो आत्माको चिर शान्तिको कामना गर्दै,
सैलजा तिमी सधैं यसैगरी मरीमरी बाँचिराख है ।
तिम्रा हरेक सिदान्तहरु अर्को नयाँ जन्मको लागि साँचिराख है ।।

Bhupin Byakul – Samundra Heri Raheko Manis

भूपिन ब्याकुल – समुद्र हेरिरहेको मानिस

बग्दै गरेको
कुनै समुद्रझैं देखिन्छ मानिस
जब ऊ समुद्रअघि उभिन्छ !

हिमपहिरोबाट बग्दैबग्दै
पग्लदै आएको बरफको ढिक्काजस्तो
मानिस जब समुद्रमा हामफाल्छ
बिलाउँछ ऊ
असिनाहरु बिलाएझैं माटोमा
यात्रीहरु बिलाएझैँ बाटोमा

फुट्न तयार
हजारौं ज्वालामुखीहरु छन् समुद्रसँग
खलपात्र सन्तानको पेट बोकेकी आमाको गर्भझैं
लाखौंको ज्यान लिने
सुनामीहरु छन् समुद्रको गर्भमा
मान्छे निल्ने साइक्लोनहरु छन्
ढुंगा काट्ने छालहरु छन्
र पृथ्वी नै हल्लाउने
भयङ्कर हलचल छ समुद्रसंग

समुद्रअघि उभिएको मानिससंग पनी
यी सबै छन्
सीमाहीन सीमाहरू छन्
जहाँ कोह कोलम्बस पुगेको छैन अझसम्म
जीवनभरी हिंडेर नसकिने
अन्नत बाटाहरु छन्
दुर्घटित
इतिहासका किम्बदन्तीहरु छन्
अभेद्य प्रश्नहरु छन्

समुद्र बोकेर पिठ्युँमा
प्रकाश छिरेझें झ्यालबाट चोटामा
मानिस घरभित्र छिर्छ
अफिस जान्छ
बैठकको निर्णयमा हस्ताक्षर गर्छ
पहाड चढ्छ र ओर्लन्छ
उसको मुटुले छाती बझाएझैँ
मन्दिर गएर घन्ट बजाउँछ
मौन बस्छ
कविता लेख्छ
र समुद्रझैँ
जीवन र मृत्युका सीमनाहरुमा बगिरहन्छ !

समुद्रअघि उभिएको मानिस
समुद्रमा मिसिएको पानीजस्तो देखिन्छ !

Krishna Bause – Sambandha Yesto Pani Ta Huna Sakchha

कृष्ण बाउसे – सम्बन्ध त्यस्तो पनि त हुनसक्छ
(मधुपर्क भदौ , २०६७)

तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
कृपया मलाई निरपेक्ष रहन देऊ…..तटस्थ रहन देऊ ।
मनभरि
मुठ्ठीको माखो बनाउने माकुरेजाल बुन्दै
मलाई
अझ प्रगाढ मित्रता को मन्द विष नपिलाऊ ।
नियतिको सिकार भएको म
एक्लै रुन चाहन्छु
सान्त्वनाको निहुँ पारेर
मेरो मझेरीमा
तिम्रा कलुशित बुटहरू नबजाऊ ।
थाहा छ-
एकपल्ट आफन्त ठानेर
सहयोगको भीख मागें भने तिमीसँग
तिमीले मेरो सिरिखुरीमै आँखा गाड्नेछौ
र मलाई
मेरै घरमा
सधैँको लागि मगन्ते बनाउने छौ ।
त्यसै भएर
तिमीले चुम्बा खान खोज्दा पनि
विष-कन्याको गन्ध आएको हो मलाई
मौकामा घाँटी निचोर्न खोजेर
बेमौकामा अँगालो मार्न खोज्ने तिम्रो बानी सम्झँदा
एउटा सुधो गाई
र छट्टु ब्वाँसोको सम्झना भएको छ मलाई ।
तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
सम्बन्ध त्यस्तो पनि छ, हुनसक्छ
अपरिचितहरूको जस्तो सम्बन्ध ।
कृपया मलाई निरपेक्ष रहन देऊ……..तटस्थ रहन देऊ ।

पोष्टबक्स नं.४५२५, काठमाडौँ

Rakesh Karki – Bachunjel Ho America

राकेश कार्की – बाँचुन्जेल हो अमेरिका

इन्टरभ्यु दिनेको ताँती
बुढो-बादेखि काखे नाती
भिसा पाउने बल्ल ढुक्क
नपाउने ट्वाल्ल थु’क्क

हातमु’ख जोर्न नसक्नेलाई
थाहै छैन अमेरिका
थाहा हु’नेलाई पनि
रिजेक्ट गर्छ अमेरिका

पढ्न गुन्न नपाउनेलाई
बाटो गाह्रो अमेरिका
पढी भाग्य खु’ल्नेलाई
ब्रेन ड्रेन अमेरिका

मरेपछि स्वर्ग जाने
बाँचु’न्जेल हो अमेरिका
नपाउनेलाई पस्न गाह्रो
पस्नेलाई हो अमेरिका

उकुसमुकुस भा’को मु’टु
अब चल्छ अमेरिका
नबु’झ्नेलाई बु’झ्न गाह्रो
बुझ्नेलाई हो अमेरिका

जन्मनु’ मात्र जीवन हैन
जीवन रैछ अमेरिका
जति गर्यो धेरै दिने
भण्डार रैछ अमेरिका

मानिस यहाँ हराइदिन्छन्
किनकि मन पराइदिन्छन्
ती पौरख हातगोडाले
अर्थतन्त्र फलाइदिन्छन् ।

Hem Nath Ghimire – Naya Barsha

हेमनाथ घिमिरे – नयाँ बर्ष

रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले ।
पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥
हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा ।
नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥

हाम्रा यी जति छन् कुभाव मनमा फालौँ सबैले अब ।
राम्रो काम गरौँ सबै तरहले धर्ती उठाऔँ अब ।
हाम्रो माथ उठोस् सदा सगरमा नीचो न ह्वौं क्वै कतै ।
हाम्रा यी सब सन्तती सफल हुन् राखुन् सुकिर्ती सधैं ॥ २ ॥

चारैतर्पु बहोस् नयाँ पवन त्यो नौलो छरी जाँगर ।
एकै भै सब बाल-बृ-बनिता उर्लोस् महा-सागर ॥
नौलो जोश नयाँ उमङ्गहरुले माथी उठोस् देश यो ।
डाकौँ यूग नयाँ सबै जन मिली फालौँ सबै क्लेश त्यो ॥ ३ ॥

झुल्कोस् घाम नयाँ छरी किरणका नौला बिहानीहरु ।
आओस् यूग नयाँ हटुन् जति थिए पीडा र बाधाहरु ॥
नौलो दृष्टि खुलोस् सबै जन मिलुन् सन्तान एकै सरी ।
आओस् बर्ष नयाँ मधू-सुमनको वास्ना सुनौलो छरी ॥ ४ ॥

डा हेमनाथ घिमिरे
बाहुन डाँडा लमजुङ् ।

Dinesh Adhikari – Satta

दिनेश अधिकारी – सत्ता

जसरी पनि
जालन्धरलाई मार्नैपर्ने
उद्देश्यमा समर्पित छ विष्णु
र, उसका लागि ठूलो चुनौती
बृन्दाको निष्ठा भएको छ ।

शक्तिले नसकेपछि
षड्यन्त्रमा ओर्लन्छ देउता पनि
विष्णु
जालन्धरको भेषमा
बृन्दाको सतित्त्व हरण गर्न उद्यत भएको छ
बृन्दास“ग
जालन्धरजस्तै बोलिरहेछ
जालन्धरजस्तै हा“सिरहेछ
जालन्धरजस्तै जिस्किरहेछ
र, जालन्धर हुनुको विश्वासमा पारेर
एउटै ओछ्यानको आनन्द भोग्न खोजिरहेको छ ।

म अनुभूत गरिरहेछु
मैले भोगिरहेको
अहिलेको समय पनि विष्णुमय भएको छ ।

ए, क्रान्तिको मसाल बोक्नेहरू !
के तिमीलाई थाहा छ
सत्ता भनेको सधै विष्णु हो
र, विष्णुले जहिले पनि
अरूलाई चुकाउने गरेको छ
र, विष्णुले जहिले पनि
अरूलाई चुकाउने गरेको छ !!

Kalyan Shrestha – Mero Thotro Bhatbhate Ko Khali Tyanki

कल्याण श्रेष्ठ – मेरो थोत्रे भटभटेको खाली ट्यांकी

सूत्र र प्रक्रियाका जाल नबुनी
मेरा साधा सपनामाथि कात्रो
अरबियन सीका वरिपरी
विश्वको कस्तो यो जात्रो
कुन देशको झेल, कहाँको तेल
टाउकेहरुको तालमेल;
अफिस, भेला, घर, मेला
नबुनियेका यी समय, बेला;
दोषी मेरा वायुपंखी
मरभुमीमा जल नपाए सरी
मेरो थोत्रे भटभटेको खाली ट्यांकी

सुन्दर बसन्तमा न्यानो घाम
प्रकितिले स्याहारेको मेरो तन;
उडीरहुन मस्त तालमा पुतली
गाउन अमृत स्वर लिएर चराचुरुंगी;
शितल आँखामा हरियो छाप
रहुन फूल रंगीचंगी;
जस्तै स्वर्गका झिल्का भएपनि
मनको चाप, नेताको पाप, दरिद्र राप
मेरो थोत्रे भटभटेको खाली ट्यांकी

Rajab – Bhatkandai Bandai Chha

मौलिकता गुमेको यो अनुहारभन्दा
भग्न अनुहारमा
कलाको निजत्व हुनसक्छ
थुप्रै पुराना कुराहरू छन् त्यो अनुहारमा
तिनलाई चिथोरेर
निजी र अर्थपूर्ण बनाउन सकिन्छ
तर डेरिडाको नाक र
रोलाँ बार्थको आँखा जोगाउन
दृष्टिहरू भत्काउँदै छ
उत्तरआधुनिक प्रोफेसर

Bodh Raj Pant – Bhram

बोध राज पन्त ‘अनागत’ – भ्रम

किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

दिउसै रात पार्न घाम नै छेक्नु पर्छ र ?
तिमीले आँखा चिम्लिदा
मैले समय बिर्षेको थिएँ
झटारो हानेर पहराको काखमा
हामीले मारेको मलेवा
एकैछिनपछि फेरि उडेको हाम्रै आँखाले देखेका त हौं नि
अब पनि के भनिरहनु पर्छ
किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

दलिनमा
गौंथलीको गुँड थियो
गौंथली थिएन
झरीमा बरालिएको भंगेराले
बेलौतीको हाँगामा बसेर कागसंग कुरा गर्यो
मात्र सन्चो बिसन्चोको कुरा
झरी बतासको कुरा
कुन्नि किन उसले त्यो खाली गुँडको कुरा गरेन
कुन्नि किन उसले गौंथलीको अनुपस्थितिको कुरा गरेन
हामीले मारेको जस्तो
उसले त्यो मलेवाको पनि कुरा गरेन
अहिले तिमी रिसाएको बेला
म सोंच्दै छु
किन म त्यो भंगेरा हुन सक्दिन
किन तिमी त्यो भंगेरा हुन सक्दिनौ
किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

मणिग्राम, रुपन्देही

Narayan Prasad Sharma Gaire – Chhunu Munu Aanganima (Nepali Bal Gajal)

नारायण प्रसाद शर्मा गैरे – छुनुमुनु आँगनीमा

छुनुमुनु आँगनीमा नाच्छिन् मेरी नानी
मनमनै धेरै कुरा साँच्छिन मेरी नानी

कहिले बन्छिन आगोजस्तै कहिले बन्छिन पानी
मनमा सुन्दर सरल चित्र टाँस्छिन् मेरी नानी

रोए पनि उत्तिखेर दुख बिर्सिएर
मलाई हेरी मुसुमुसु हाँसछिन् मेरी नानी

संगीसाथी बटुलेर खेल्छिन् मीठा खेल
साथीभाईमा मीठो प्रीति गाँस्छिन् मेरी नानी

सबैप्रति दर्साउँछिन् समताको भाव
देखिएमा बैरभाव मास्छिन् मेरी नानी

Komal Bhatta – Kasari Byakta Garaun

कोमल भट्ट – कसरी ब्यक्त गरौँ

कसरी ब्यक्त गरौँ ? यहाँ अत्याचार भएको छ
कसैको स्वच्छ भावनामा बलात्कार भएको छ

विकृति र विसंगति,बढेका छन् दिन दिनै
पवित्र विचारधारा पनि, निराधार भएको छ

बदमाशहरु मस्त सँग घुम्दै छन् जताततै
सोझा र सज्जनमाथि,सधैँ तलवार भएको छ

बेसरम र नकच्चर्याइले पराकाष्ठा नाघ्दा
गहिरो मित्रतामा अब वारपार भएको छ

सिर्जनामा हस्तक्षेपले,प्रतिभाहरु सोच्दै छन्
“आफ्नो परिश्रममा अर्कैको फलाहार भएको छ”

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Arun Bahadur Khatri ‘Nadi’ – Naya Barsha

अरुणबहादुर खत्री “नदी” – नयाँ वर्ष
(मधुपर्क बैशाख, २०६७)

नयाँ आशा नयाँ भावना
नयाँ इच्छा लिएर
आयो नयाँ वर्ष
शुभकामना बोकेर ।
गाउँगाउँ वस्तीवस्तीमा
अँध्यारो होइन
उज्यालो छाएर
पूणिर्माको जूनझैं
चम्किएर आयो नयाँ वर्ष
सहरमा बेरोजगारी
जङ्गलझैँ बढिरहेको छ
सुन्दर, शान्त, विशाल
हिम स्वच्छता उजिल्याउँदै
आˆनै देशको माटोमा बसेर
विकास, उन्नति र प्रगतिको
भावना जगाउँदै
रोजगार गरौं है सबैले
सम्पूर्ण व्यक्तिमा
बुद्धको शान्तिको
सन्देश घन्काउँदै
नयाँ वर्ष तिमी
नयाँ हुनुको गर्भको
महिमा गाएरै आयौ ।

सामाखुशी मार्ग, ९३५/५४,
काठमाडौँ