Ram Prasad Prasain – Chhal Haru Sangako Sambaad (10 Parts)

राम प्रसाद प्रसाईं – छालहरूसँगको सँवाद (भाग १ देखि १० सम्म)

१.
मिथकीय शान्त समुद्र
शनैः शनैः
उत्ताउलो बन्दो छ—
छिचिमिराहरूको बिग्बगीसँगै

ऎतिहासिक
यो बिशाल सागर
बिस्तारै बिस्तारै
छिद्र छिद्रहरूमा
निख्रिदो छ
निथ्रिदो छ—
राजा महाराजाका
सिखण्डी प्रहसन तथा प्रदर्शनमा ब्यस्त
प्रवृतिभीरू एकलब्य मुसाहरूसँगै

शान्त समुद्र
असीम गहनता
अनि
आत्मिक प्रबोधन
विडम्बना
नूनिलो छ, नूनभन्दा पनि—
श्रमशालाको सम्मिलन
तथा
पसिनाको सम्मेलनजस्तै
कणकणमा पग्लेका सगरमाथाहरूझैँ

अन्धकारको रङ्ग उडेपछि
पूर्बतिर लाली छाउँछ
बसेपछि, हत्केलाका ठेलाहरू
फक्रन्छन्, यौवनका कोपिलाहरू—
चिन्तन परिपक्कताका मार्गहरूमा

स्मृतिका स्याउलाहरू
भावनाका प्रयोगशालामा
मनहरूसँगै लर्बराउंछन्
‘मनहरू’ मनमनै—
‘म-तिमी-अनि-उनी’
समागमका वियोगान्त
नाट्यशालाको
समाधि अनुष्ठान शुरू गरौँ
उधिनेर उभ्याऔँ
‘उम्दा-जाग्दा-जवान’ चिहानघारीहरूलाई

एवम् तवरले
सबलाङ्ग चेतनाहरू
रङ्गहरूको वैशाखीमा
ज्योति बोल्छ—
बुलन्द जिजीविषाको नापो
आकाशदीप नियालिरहन्छन्
अन्धकूपको धिपधिप

२.
प्रत्यक छालका लहरहरू
मनका लहडहरूसँगै
नापिरहेछन्—
दशगजाहरू
स्वाभिमानका

मनका मानसरोवारबाट
पिलिक्क पिलिक्क
चियाइरहन्छन्
झिल्का झिल्का प्रश्नहरू—
साँच्ची,
यी छालहरू
किन यसरी
मडारिरहेका होलान्?।—
सानो माछालाई
ठूलो मान्छेले खाने
मतस्य न्यायको विरूद्धमा
सेतो हिमशिखरसँगै

पग्लेका स्वाभिमान
अब
म्याथुसालेह बनी
भ्रूण बीजारोपण हुँदैछ
नीला पसिनाका लालसागरहरूमा
प्राकृत तथा रूमानी जलक्रीडा गर्ने
सामुद्रिक अभिप्सामाथिका
यान्त्रिक तोपका समयगोलाहरूमाथि—
जीवन मर्न
मृत्यु रम्न
श्रापित भूत—अभिसप्त वर्तमान—अधियाँ भविष्यमा
एक मूर्त क्षितिज स्पर्श गर्न

३.
ध्वनि घुलित छालका
प्रत्येक कोतराइहरू छेउमा
सर्रररररररररररर
सर्रररररररररररर
युगबिहीन सन्नाटामा
जन्मन्छन्
झ्याम्टाहरू
मेटालिकाका
मेडुसाका हरेक प्रतिकृतिहरू
मेरा पुर्खाका अस्तुहरू
बैतरणी जान सायद
यही बाटो हिँडे/दै होलान्
स्वाभिमानका बेर्नाका
ज्योतिपुञ्ज
यही सगरविन्दूमा देखिएलान्
झ्याउँकिरिका गीतहरूसँगै
उज्यालो लुटिइएका जूककिरिहरूसँगै

हातले छुँदा लाग्छ
चरिलमिनीका मनहरू
चिसा हुँदा हुन्
तिनै हातलाई
मुटुमा राख्दा लाग्छ
यो पानी न्यानो छ
अति न्यानो
हार्दिकता भन्दा पनि
स्पर्शहरू चिसा भए पनि
न्यानै रहेछन्
धड्कनहरू यहाँ
कत्लाहरूको कायापलटसँगै
माछाहरू चलायमान रहनुले
जिउँदै रहेछन्
हाम्रा छवि र अस्मिता
अनि अजर, अमर तथा कालजयी
रहनै पर्छ—
“जिजीविषाका हाम्रा ईप्साहरू यहाँ”

४.

अनुदार भोका मनहरू लिएर
यी छालहरू किन दगुरिरहेछन्
अब्यक्त शोकका बारातझैँ
सीमाबिहीन परिमाण
तथा
आयतनबिहीन फैलावट हुँदै
अन्तर्मुखी ब्यथाका मन्दिरहरू
मौनताका आवरणभित्र
पर्खिरहेछन्—
आशिर्वादका शितनिद्राहरू
अनि
सामाजिक जागीत्रका मोच मार्ने
पूर्व परागसेचनका भैरवी अनुहारहरू

जसै जसै जिजीविषाका पेण्डुलमहरू
समय बास्न थाल्दछन्
परित्यक्त परम्परागत बहीखातामा
निश्कर्षबिहीन वासलातबाट
भ्रामरी समयका मुनाहरूबाट
यी छालहरू
निरन्तर चलिरहन्छन्—
भोक निलेर
पेट अघाएको
अतिमानव जस्तै

५.

रमझमभित्र रूमलिइएका
समयको रमिते डाँडामाथि
छुपु छुपु रोपिइएका
युगबोधका बेर्नाहरू
अनि
जनप्रबोधनका रोपाहरू
मनभरि लिएर
स्मृतिपटलको विन्यासपूर्ण
अनुभूतिमा हेरिरहेछु
“शर्त-सन्दर्भ-सँयोग”-हरू
बनिरहन्छन्
अन्तरमन भित्र
अवचेतन मथिंगलका
अ/भेद्य क्षेप्यास्त्रहरू

छालहरूसँगको
एकालाप, प्रलाप र गनथनमा
अभ्यस्त भइरहँदा
छेवैमा ठेहेरिरहेका
जोडी ऊँटहरू
समय सङ्कल्पको टुकीमा
सभ्यताको सलेदो भएपछि
“जीवनले
चेतना बोलिरहनु पर्छ
जीवनमा
चेतना बलिरहनु पर्छ
मिर्मिरे उज्यालो
अनि गोधूली साँझका
युगलबन्दीहरूमा”

६.

छालहरूले
घाउ खोपिरहेछन्
घाउहरूले
छाल खपिरहेछन्—
जीवनका भग्नावशेषहरूमा
यहाँ
दहनका दहहरू
डाहाका दोहनहरू
विचार, समाज र अस्तित्वका त्रिवेणीमा
अनि
भावना र भँगिमाका दोभानहरू
युगको बयलीमा
रोपिरहनेछन्
चेतनाका मट्याङ्ग्राहरू
गुलेलीका विभीषिकाहरू
साथमा
साज सज्जायुक्त
स्वगानका स्वाभिमानी जुरेलीहरूझैँ
हरेक रातको मध्यान्तरपछि
भुकभुके उज्यालोका लालिमाहरूसँगै
जाग्दैछन्, जन्मदैछन्
अनि
विपठित हुँदैछन्
सँस्कार र संरचनाका चेपुवामा
सुमरिइएका जनघुनहरू
—खलामा
—भकारीमा
—धन्सारमा
अनि लिगलिगकोटका चेपेनदीहरूमा
संघर्षको गहिराइबाट
भोलिको वर्तमानका
स्वाधीन मानकहरूका लागि

७.

समयका भाँटीहरूमा
युगाव्हान लेख्नु र देख्नुले
मनभित्रका छालहरू
छालभित्रका मनहरू
काव्यात्मक हुन्छन्

आकाशका बादलहरू
धर्तीका बालुवासँगै
जिजीविषाका महामारीमा
“फुल्ने-फल्ने-फक्रिने” गरेका
अधकल्चा अङ्कुरणहरूसँगै
“जन्म-मृत्यु-पुनर्जन्म”का
निरन्तर चक्रहरूका लागि
छालहरूसँगै गीत गाइरहन्छन्
मरणशील जीवनमा
अमरत्वको पक्षपोषण गर्न

८.

“ढुङ्गामा देउताहरूको
रूपान्तरण हुनु
अनि
हामी मान्छेहरू
जड हुन नसक्नु”को
विडम्बनाले
स्मृतिका टाकुरीहरूमा
लाँकुरी भञ्ज्याङ्गहरू
झ्वाम्झ्वाम्ती
हाम फाल्छन्
आरोही अवरोही छालहरूसँगै
एक हुल परेवाहरू
मिसिँदा नमिसिँदै
शिकारी बाजहरू र भलाद्मी गिद्धहरूको बथानमा

मनै छेउमा
करेसाबारीको डिलबाट
एमानको ढुङ्गो पल्टिँदा
आङ्खोप, खँखोला, तोक्मे, दोरम्बा र थेवानका गाउँहरूमा
एक एक गरेर
अनेक पिपिरा सपनाहरू ओइलाइरहेछन्
पहेंलपुर तोरीबारीहरूमा
हो,
त्यसैले
स्वाभिमानी मौरीहरू
अनि
मौन सँस्कृतिका खेताला
हाम्रा भ्रमराहरू
परिरहन्छन्—पारिरहन्छन्
कुटिल क्रुरताका सिकञ्जाभित्र
अबोध जटिलताका
चँगुल लतिका र लंगुरबुर्जाहरूमा
सलहका नपखालिइएका श्रापहरूसँगै

त्यसैले
छालहरूले समातिरहनु पर्छ,
विद्रोहका चुला चम्काहरू


आवर्तित
परावर्तित
पर्त्यावर्तित

अनन्त जीवनका
सहगामी, समनामी र सहजकर्ता
अल खिदिर महानसँगै

९.

सोच मग्न मन रम्दै थियो
सपनाका कुनै रङ्गहरू हुनन्
यथार्थहरू त रङ्गीन हुनु पर्ने हो
तर
त्यसो भएनन्
त्यसैले त
छालहरू हार्न जान्दैनन्
छालहरू हार्न उठदैनन्
किनकि
यिनीहरूका रैकर कित्ताहरूमा
इतिहाँसले कुत बुझाइरहनु पर्दैन
मानौ,
यी छालहरू हार्न नजानेका
हार्न प्रशिक्षित नभएका
हेमिङ्ग्वेपन्थी मान्छेहरू हुन्
सपना खोज्दा खोज्दै नथाकेका
कोहेलो खर्कका स्यान्टियागोहरू हुन्

जीवन भ्रमण
परिभ्रमणका लोकसुसेलीहरूसँग
अभ्यस्त छन्
छालहरू
युग सम्वादका हरित बागहरूमा

१०.
आकाशभरिका आँशुहरू
शीतका थोपा थोपामा बदलिए पछि
धर्तीभरिका खुशीहरू
खगोल मण्डलभरि फक्रिएपछि
छालहरूका तराजुमा
नरमेधका नैवेद्यहरू
फस्टाउँछन्—
मृत्युगामी यात्राहरू

कुमारीहरूसँगै आमा
जन्मिन्छन्
मात्रृवत्सल धरातलबाट
नव नव नवजात शिशुका चित्कारहरू

एक जीवनको असामयिक कायापलट
अर्को जीवनको मरणशीलताको तख्तामा
दर्खास्त दाखिल नहुँदै
दाँतहरू दण्डित हुनुपूर्व
लालिमा—कालीमा
रूपान्त्रण हुँदाको क्षण

मृत्यु घोषणा गर्छ
जीवन अवलम्बन गर्छ
अस्तित्व गवेषण गर्छ
अनि
श्रष्टा खिसिटियूरीको शिकार हुन्छ
छालहरूले छेउमा उतारेका
शङ्खेकिराहरू त केवल
अस्तुको अस्मिता बोकेका
हाम्रा साक्षात्कारमा
सादृश्य र युगीन हुन नसकेका
तर
युगहीन र अमिट
छाप छोड्न सफल
सभ्यताका झझल्काहरू
करूणा र भयको
विरेचनामा मस्त
निरङ्कुशताको सिङ्गो पहाडलाई
गिज्याइरहेछन्
डाइनोसरहरू

रामप्रसाद प्रसाईं
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
(अबुधाबी श्रमशिबिरबाट)

(Sent to Sanjaal Corps via Email)

Biplav Pratik – Dar

बिप्लव प्रतिक – डर

मलाई डर छ
कतै कसैले मलाई प्रेम त गर्दै छैन ?
मलाई डर छ
कतै कसैले मलाई
पात–पात जोडेर
हाँगा–हाँगा खापेर
रूख त बनाउँदै छैन ?
म एउटा पात, जो पलाउँदा–पलाउँदै चुँडिन सक्छ
भुइँमा झ्र्न सक्छ र हावाले कतै लगेर मिल्काउन सक्छ
अनि माटोको गर्भमा कुहिदिन सक्छ
पातको के ठेगान, असमयमै झ्र्न सक्छ ।
मलाई डर छ
सहानुभूतिको मलम लगाएर
कसैले मलाई दया त गर्दै छैन ?
म गुलाफसँग उम्रिन्छु
पीपलसँग उम्रिन्छु
हावाद्वारा चुँडिन्छु, भुइँमा मिल्किन्छु, कुहिएर मल बन्छु
माटोसँग मिलेर फेरि उमार्छु अर्को नयाँ पूmल
चक्र जीवनको घुमाइरहन्छु निरन्तर
जीवनको धुनमा मग्न म
जिन्दगीकै गीत गाइरहन्छु निरन्तर
तर, मलाई डर छ आँसुले पखालेर
कतै कसैले मलाई बगाउँदै त छैन ?

Mina Bantawa ‘Mridu’ – Afai Chhu Baishakhi

हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
पुरानो गाउँ घर बनपाखा छाडी

आफैँ छु बैसाखी आफैं छु साथी
बादलसंगै उड़दैछु पिछाई घामलाई
बोकेर चोट यो छाति भरि कति

हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
कोहि छैन अघि कोइ छैन पछि

आफैँ छु मुलो आफैं छु ओखती
तै पनि मलाई जिबनको माया
छैन है एकरति छैन है एकरति

हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
पुरानो गाउँ घर बनपाखा छाडी

Yogendra Raj Sharma -Jeevan-mrityu

जीवन-मृत्‍यु  -योगेन्द्र राज शर्मा

जीवन
टेबुलमुनी पैसा लिन्छ
जीवन
टेबुलमाथी दस्तखत गर्छ ।

जीवन
हतार हतार बस चढ्छ
अर्को जीवन आउँछ
र घचेट्छ
बाहिर
जीवन  चिच्याइरहेको हुन्छ
कालिमाटी, कुलेश्वर, बल्खु, किर्तिपुर
बल्खु,  कुलेश्वर, त्रिपुरेश्वर, बसपार्क

त्यो आइमाईको
पेटभित्रको जीवन
बेलुनजस्तो फुलिरहेछ ।

मृत्‍यु निस्सासिन्छ
टाउको फनफनि घुमाउँछ
शास फेर्न खोज्छ
उसको जम्मै पेट
मुख हुँदै
बाहिर निस्कन्छ ।

Bibek Dulal Chhetri ‘Damak’ – Desh

विवेक दुलाल क्षेत्री “दमक” – देश

सके तिमी
देशभित्र बस
नसके
देश बाहिर
जे भन तिमी
देश त देश नै हो .

तिमीले बुनेको सपना
तिमीले तुनेको खुशी
र तिम्रो टुक्रा टुक्रा बिस्वास
देशका कोठाहरूमा सजिएका छन्
तिम्रो श्रम र पसिनाको थोपा थोपा
देशका डाडा काडाहरुमा सिचिएका छन् .

जे भन तिमी
देश त देश नै हो.

देश तिम्रो बिहान हो
जती टाढा भए नि स्मृती गाढा हुन्छ
देश तिम्रो मुहान हो
नजिक हुदा उमंगहरूको बर्षा गर्छ
देश तिम्रा प्रियजनहरूसितै खिल्खिलाउछ .

जे भन तिमी
देश त देश नै हो .

तिमी टाढा हुदैमा
तिमीबाट देश टाढा हुदैन
मनमा छाईरहन्छ
मुटूमा आईरहन्छ
तिमी नजिक हुदैमा
देश धेरै हुदैन
आत्मियता संगालिरहन्छ
माया सजाई रहन्छ .

जे भन तिमी
देश त देश नै हो .

देश तिम्रो
उकालिदै गरेको प्राप्ती
देश तिम्रो
उन्मुक्त उर्बर माटो
देश तिम्रो
अखण्ड सपना र ओत .

देश बिना
तिम्रो अस्तित्व नै छैन.

सके तिमी
देशभित्र बस
नसके
देश बाहिर
जे भन तिमी
देश त देश नै हो .

अस्तु :

दमक ,झापा
हाल :अबुधाबी ,यू ए इ .

Matrika Pokhrel – Delhi Ka Machchhar Haru

मातृका पोख्रेल – दिल्लीका मच्छरहरु

उद्वेलित आगोका लप्काहरुको
चेतना बोकेर
हामी बारम्बार
बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं
तर प्रत्येक दिन
मक्किएको सन्धीको ठूटोमा बास बसेर
निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन्
दिल्लीका मच्छरहरु ।
***

एक भाँडो उज्यालो बोकेर
घरभित्र चियाउन पनि नपाइने
उसका लागि सधैंसधैं
कोठाहरु अँध्यारै राख्नु पर्ने
इतिहासले छादेका फोहोरहरु
फाल्ने रहर बोकेका आँखाहरु
ओछ्याउन पनि नपाइने,
स्वाधीन माटोको बास्ना
खोज्ने नाकहरु
बोक्न पनि नपाइने
बाक्लो स्वेटरलाई छेड्ने सुँड बोकेर
हर्दम यतै घुमिरहन्छन्,
हाम्रा बस्तीहरुको शान्त छातीमा
आतङ्कको दुन्दुभी बजाइरहन्छन,
दिल्लीका मच्छरहरु ।
***

मधेशको गर्मीमा मात्र होइन
हिउले ढाक्ने चिसा लेकहरु सम्म
बेग हानेर पुग्ने योजना कोर्छन उनीहरु,
सगरमाथाकै काखमा पुगेर
हाम्रो अभिमानलाई डस्न खोज्छन उनीहरु,
स्वाभिमानको एक झप्को निद्रा
सुत्न पनि दिंदैनन्,
आत्मसम्मानको एक झल्को सपना
देख्न पनि दिंदैनन्
हामी लिपुलेकबाट
एकजोडा सेता परेवाहरु उडाउन खोज्छौं
उनीहरु हाम्रा परेवाहरुका प्वाँखमा
विषालु सुँडहरुले चिल्छन्
हामी यतिबेला
आफैभित्र पनि प्रश्न कोरिरहेका छौं
किन पालीरहेछन् मान्छेहरु?
दिल्लीका मच्छरहरुको घार
हामी घृणाले निथ्रुक्क भिजेका छौं
यो युग अझै
विवेकको युग होइन जस्तो,
यो युग अझै
स्वाभिमानको युग होइन जस्तो,
यो युग अझै
स्वतन्त्रताको युग होइन जस्तो,
यो युगलाई,
निर्धक्क/निर्लज्ज हमला गरिरहेकाछन्
दिल्लीका मच्छरहरु ।

Yatiraj Ajanabee – Bidaai Nawa Barsha Lai

यतिराज अजनबी – बिदाइ नववर्षलाई

जुवाका सोइला भाँचेर
हल गोरुहरु उन्मत्त भई
छाडा साँढे भएको बेला
तिनले तिम्रो कुमारित्वसँग
सिँघौरी खेल्न के बेर
त्यसैले ए नववर्ष !
धेरै सिंगारिएर नआऊ
अझ दुई चार वर्ष पर जाऊ
नत्र कलङ्कित हुन सक्छ
तिम्रो सुन्दर नाऊॅँ
दुईटै हात भाँचिएको बेला
पूर्णीमा होस् वा अमावश्य
म ठेलो ,जस्केलो पोत्न सक्तिन
भाँचिएको हलोको टुढोले
म तिम्रो गर्भ जोत्न सक्तिन
त्यसैले बाँझै रहोस्
त्यो ब्याड यस पालि
धोका होला
धेरै ठूलो धोको लिएर नआऊ
कोखो दुख्ला सधैंभरि
भोको भएर नआऊ
शुभकामना र कोसेली खोज्दै
रित्तो ढोको बोकेर नआऊ
भरिएको गाग्रो घोप्ट्याएर
भर्ने निहूँमा पंधेरीमा नआऊ
रल्लिएर रक्सी र मदिरामा नआऊ
पात्रो र कात्त्रोमा हैन
हिम्मत भए छाप्रोमा आऊ
आउँछ्यौ नै भने घडीमा मात्रै हैन
प्रत्येक् मानव नाडीमा आऊ
यहाँ तिम्रो आगमनको
अर्थ उल्टो लाग्न सक्छ
तिम्रो केशको गुजुल्टो पनि
सजिलो चुल्ठो लाग्न सक्छ
तिम्लाई स्वागत गर्ने बहानामा
दियो पनि पुल्ठो बन्न सक्छ
आँधिहुरी चलेको बेला
झिल्को पनि
अगुल्टो बन्न सक्छ
नत्र हेर म पनि
उल्टै गरिरहेछु
तिम्लाई स्वागत गर्ने अवसरमा
बिदाई दिइरहेछु

२५ माघ २०६० ,विराटनगर

Laxmi Prasad Devkota – Jwarshamana Prakriti

भाग १

क.
ज्येठको आज मध्याह्न बेला सुस्ताउँछ पवन—
थाकेको श्रमझैं, लिनलाई दमझैं,
छहारीमुनि बटुवासरि, स्थगित–भ्रमण
दुइचार काक हानिए पूर्व शीतलको खोजमा
निधारमा लिई संसारको जरो,
छु आफ्नो गुँडको झ्यालको चरो,
म पनि मनको हपहप मर्ने कुञ्जको शोचमा !

ख. दक्षिणी चुली नीलिए गाढा उपल्ला घेरामा !
पाँच तह, बादल चाँदीका बुट्टा,
उक्लेर सुस्त मौन र मस्त,
उज्यालो हीरा भुवामा हाँसे, हिमालका दौरामा !
खँदिला चुली बाफ भई उक्ली,
चुलीमा चुली बाफ फुली, निक्ली,
जीवझैं बढ्छन् नदेख्ने गरी, अकासे गौँडामा !
सियाली छाया घामले छिरबिर दोरङ्गी डाँडामा !

ग.
प्रकृतिदेवी काम गर्छिन् कहीँ नजरका घेरामा
बादल–पूmल लगाउन झूल पृथ्वीका डेरामा
कलिला करले मुसार्छिन् मलाई हावाले निधारमा,
जुन वायु नीला वनबाट धाउँछ झोपडी किनारमा,
कलिलो पर्श ! कलिली सँगी ! एतान्त गुल्जार छ !
संसारको जरो रन्केको अब शीतल निधार छ !

भाग २

क.
दक्षिणी थुम्को सङ्गीतले ढाकिन्, पानीको कुइरोले,
एक पाखो पहाड शीतलमा डुब्छ,
त्यसको चाख अरुमा खूब छ,
शुभ त्यो सङ्गीत जलबिन्दु मधुर, शीतल वैरोले
सिन्धुको मीठो सम्झना सुन्छन्, वन र पहाड !
आज छ चहाड, आज छ भेटघाट, जलमा मिलन,
पीयूषपान, औषधिदान, सङ्गीत–भवन ।

ख.
सुन्दरी कोही, सधैँकी बहार, अमित सुषमा,
फुलका पाउमा चल्दछिन् मानो,
रेशमी पोशाक सल्सलाई स्यानो,
सिमलका मेरो तकिया सम्याई, मुसार्न शिरमा,
हरियो मानो कार्चोबी बिछयाई, प्यारले ज्वरमा,
बिरुवा जस्तै मलाई पनि सन्चोले लठ पारी,
पर्शेर आँग, गीत गाउँछिन्, गुन्गुन, पछ्यौरा लतारी,
होला कि चर्को रोशनी भनी, कागतले छेकारी,
आदिम गाना गीत गाउन थालिन् धाईको गुन्गुन
पोशाक सरसर सुनेझैं लाग्यो ज्वर यो शमन ।
कलिलो हातले सम्याउँछिन् जीवन, पीडितमा जरोले !
दक्षिणी शैल सङ्गीतले ढाकिन्, पानीको कुइरोले ।

भाग ३

क.
उत्तरमा हेरेँ हिमालउपर बाफिलो हिमाल छ,
शिरविन्दुतिर तान्नेको बादल लमतन्ने कमाल छ,
चूपचाम ती छन् तन्केको लामा सूर्यलाई भेट्टाउन,
सियाल हाल्ने कर्तव्य आफ्नो जगत्मा चुकाउन,

ख.
ए ! साथी ! हाम्लाई सम्झाई कोही छ, बिरुवा ! चरो हो !
घामले दुःखी ए पूmल राम्रा ! नबोल्ने कुरा हो !
हप्केका घाँस ! दुःख र सुख सम्झने ए प्राणी !
कसैको हेर ! करुणा छायो !
पग्लन्छ, झर्छ, अमृत भई वर्षाले अश्मानी
दक्षिणी चुली–किनारा पर कोही दिल छ दयालु !
उसकै सारा भावना छाए आकाशमा मयालु !

ग.
पृथिवी तिम्लाई गर्मी छ, पख, स्वर्ग नै रुनेछ
ए जीव हो ! तिम्लाई ताप छ, पख, मलमले हुनेछ
ए रोगी तिम्लाई ताप छ, पख, मलमले हुनेछ
किनकि कोही लुकेर हेर्छ मायाले हुनेछ !

भाग ४

क.
कुवेरका जुहार एक घरभन्दा आँखाका झलझल,
वर्षाको मलाई एक मुट्ठी पीठो, अमृत सलिल
धनीकी छोरीको कटाक्षभन्दा, चपला झलक्क !
स्वर्गमा बसी बादलमहल झिल्किने मिलिक्क !
समाजको उत्सव, मिलनभन्दा, सिन्धुको सम्झना—
बादलभरि लेखेका कोमल करुण भावना
झरीका जस्तो कहिल्यै हुन्नन् पृथिवी धनी रे !
महफील हुन्न एकान्त जस्तो स्वर्गका मनि रे !
विलास भन्नु डाँडामा बस्छ, पीरती पातमा
सुखका घडी भएनन् त्यस्ता
बिताएँ मैले अकेला जस्ता
प्रकृतिसाथमा !
मानिसलाई दर्शाएँ दुःख, देखायो लाचारी
प्रकृतिलाई देखाउँदा मुस्किन्, माथलाई मुसारी
काँढालाई फुलले जान्दछिन् मार्न प्रकृति केवल ।।

भाग ५

झरनै लागे झोल्लेका बादल, साँवलो आकाशमा
शून्यलाई ढाकी भरेको मन लुकेझैं समाजमा !
आकाशलाई कवि कल्पेर फैल्यो अबलाई गीत गाउँछ
वनले सुन्छन्, तृणले सुन्छन्, मन यो रसाउँछ
विशालबाट विशाल भाव विशालमा झुकेर,
विशालतिर लैजान हाम्लाई आपूmलाई वर्षाउँछ
आफैं छ जल, आफैं छ खोलो, आफैं छ सागर,
कसैको विशाल आत्माको छाल मलाई हुत्याउँछ
बालककालमा इन्द्रेनी लिई बस्दथ्यो आकाशमा,
त्यसैले मलाई आँखामा पसी,
कानमा पसी, मुटुमा बसी, गीत गाउन सिकाउँछ,
गीतमा बसी संसारको ताप सकल गिज्याउँछ,
पहाड, खाल्टा, मनका वन मुरली बजाउँछ !
चिनेर उसको सुसेली बसेँ झ्यालको बतासमा !

भाग ६

क.
मानिसको छानो आकाश जान, पहाड दीवार
मानिसभन्दा ठूलो छ मानिस, मानिसमा विचार
भँडार जसको प्रकृति सारा, हरियो खजाना,
जसको जमीन बाँधिन्न कहीँ लिएर सिमाना !
ऋतुको भाइ, बादलको सँगी, वायुको पियार,
चराको साथी, वनको लाल, दिव्यको मुसार !

ख.
चून र ईँट संसार होइन, गणित हिसाब
दिवस अन्धा, हृदय गन्धा
निधारमा हाम्रो संसारी जरो, कुत्सित स्वभाव !
ए साथी ! सत्ते ! कोही काम गर्छ जिउँदो र मयालु
प्रकृतिदेवी इङ्गितबाट वञ्चित छन् नशालु
धनी छ आकाश, धनी छ धरा, धनी छ पहाड !
हामीले भुल्यौँ हिस्सा है लिन उर्लदा चहाड !
प्रकृतिदेशमा प्रवेश कम भो, कम भो बहाड !

ग.
रोगायो मानिस गिरिवनबाट पुगेर सुदूर
आँखा र कान मुटुले हेर !
संसार छिनछिन अद्भुत छ धेर !
त्यै सबमा धनी, ली मानव जुनी, जो बस्छ सुनेर !
बनाउँछिन् राज एक स्पर्शद्धारा प्रकृति मानिसलाई !
अद्भुतको संसार मुटुले खोल,
गरीब छु भनी नरोऊ मानिस ! निन्देर आफुलाई !

घ.
सहस्रकोटी सागरका मोती गीत गाए झरर !
विफलताका हज्जार ज्वाला मारेर सरर !
बादल भुवाले मलम लाए छातीमा चरर !
निधारको जरो शीतल भो, आत्मा आँखामा बरर !
गरीब मानिस सम्झेर रुन्छु हर्षले दुःखी भै,
यो धन बाँड्न मन लाग्छ मलाई समाजमा हरर !

Chhabiraman Silwal – Man

छविरमण सिलवाल – मन

असन्तोषको
ज्वारभाटामा
रुमल्लिरहेको
यो पापी मन
भो पुग्यो, चाहिदैन
कहिल्यै भन्दैन्
शरिरको भित्री कुनामा
लुकेर
मान्छेहरुलाई
जीउँदै डढाई रहन्छ
डढेलो सल्काई रहन्छ
***
मान्छे मान्छे विच
द्धन्द्धका पहाडहरु
उठाउँने दुस्साहस गर्छ
अभाव र असुरक्षाका
पीडाहरु खसाल्दैं
मान्छे मान्छे विच
युद्धका खाडलहरु
खनिरहरेछ
***
सद्भाव र सहचारीको
भाषा बोल्न नसक्ने
यो मन
मान्छे भित्र नवसे
हुन्न र ?
कहिल्यै स्थिर रहन नसक्ने
दुराचारीहरुको पक्षमा मात्र रम्ने
यो मन
अब मान्छे भित्र नवसे
हुन्थ्यो ?
लोभी र पापीहरुको संंसर्गबाट
छुट्टिए हुन्थ्यो मन
मान्छे मान्छे विचको तनाव
कम गर्ने पक्षमा हिड्न
सक्ने भए हुन्थ्यो मन
मान्छे मान्छे विच
सद्भाव कायम गर्न
सक्ने भए हुन्थ्यो मन ।

२०६६–९–५

Krishna Dev Rimal – Mech Nach

कृष्णदेव रिमाल – मेच नाच

वेपर्वाह नाच
नाच्दैछन् मेचहरु
संसारकै मन तान्ने
मनमोजी नाच
वाह ! क्या रङ्गीन
यो भुईँफुट्टे नाच ।
घरी पाङ्ग्रा गुडाउँदै
कैल्हे ज्यान मर्काउँदै
छारो छर्केर आँखाहरुमा
भुलाएर दुनियाँलाई
वाह ! क्या शानले
नाच्छ यो मेच ।

पाङ्ग्रा खुस्किए पनि
खुट्टा भाच्चिएर पनि
ज्यूँका त्यूँ तन्मयता
मादकता थै थै मा
मचकता पादहरुमा
वाह क्या गजवको
कर्कान छ मेचको ।

हल्लाउँदै हर भट्टीहरु
कल्लीका छमछमीले
टक्क रोकिएला कि
ब्रम्हाण्डै भने झैँ
वाह ! क्या वेहोस छ
असरल्ल नाच यो ।

मर्काउँदै कम्मर अनि
झिम्काउँदै आँखा पनि
त्यै पारीको लुठासँग
नाचिरा’छ हाम्रो मेच
वाह ! क्या लहसिँदै
नेपथ्यको निर्देशनमा
उफ्रीरेछ हाम्रो मेच ।

जामाको फहरानमा
पगरीको फुस्कानमा
यो मोजको मेच नाच
समिपकाले सनेत्र हेरे
दूरकाले दुर्विनले हेरे
कतै हजुर चैँ
छुट्नु भो कि भन्ने
यो ज्यानलाई
यत्ति एउटा खुट्को रह्यो ।

Laxmi Prasad Devkota – Ughrera Bigreko Bihan

रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी,
आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी,
धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !
दुष्ट स्वप्न विनष्ट भो, तिमिर गो, गो काठिने शासन !
धोएको छ हवा, तथापि धनको यो व्योममा आसन !
टुक्रा धूर्त भए, वरिपरि रहे, चाँदी बनी फूलिए !
चूली–चञ्चल–हात बाल रविको पीछा गरी डम्मिए !
यौटा घोष भयो सुवर्ण–स्वरको उत्तुङ्ग है श्रृङ्गमा !
तान्थी जागृति आँग भूमितलमा, न्यानो पसी अङ्गमा !
बोले पङ्ख उडेर अल्प हुन गो आनन्द सारा तर !
छोप्यो बादलले, चिसो जगत भो, आगो निभ्यो सुन्दर !
रोगी हुन्छ बिहान, दुर्बल तथा रुन्चे, निकम्बा अब !
आँधी हो कि कराउने ? विफल भो विस्फोटको, गौरव !
काँपी थुर्थुरि घाम भाग्छु दुनियाँ आशा टुसैमा मरी !
आगो बाल्नुप¥यो घरैघर बसी, को खप्छ यो थुर्थुरी !

Shrawan Mukarung – Ishwar Ghisriyeko Gohi

यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यो मन्दिरको अशक्तताछेउ
दिनभरि उफ्रेका पपगीतहरूले
कुल्चिगएको हुनुपर्छ–
केही गम्भीर गजल, भजन र मालश्री धुनहरू
यो बुद्धजस्तो साँझलाई
वेदका केही वृद्ध ऋचाहरूले तरबार बनाएको हुनुपर्छ
र यो काटिएको अल्लाह– आकाशको आँखाभरि
बाइबलको केही रोमान्टिक पदहरूले
आफ्नो पिरो स्वप्न खोजिरहेको हुनुपर्छ
यहीँबाट–
खर्पनमा मृतसूर्य बोकेर गएको नित्सेजस्तो ब्रेकफेल ट्रक
फर्केको हुनुपर्छ–
दर्जनौँ एब्स्ट्रयाक्ट तराईबासीहरू लिएर
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !

यहीँबाट–
निक्खर सेतो परेवा मङ्गोलियन शिशुको आँखा खाएर
सगरतर्फ उडेको हुनुपर्छ
उसको नाबालिक आमाको सांस्कृतीय वक्षबाट
बहिरहेछ– आधुनिकता
चुरोटको आर्टिस्टिक धुवाँसँगै
रेस्टुराँका गुप्त क्याबिनहरूमा फैलिरहेछ– शास्त्रीय सङ्गीत
–पाखे ईश्वर…! पाखे ईश्वर…!!
यहीँबाट फर्कन्छन् रात्रिबसहरू सुदूर गावोँन्मुख भएर
टोपीमा साङ्लो लिएरै आइपुग्छन् ओशोहरू–
ईश्वर बन्ने सपनासित दुर्घटित हुन
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !

यहाँका यी हास्यमुदित सहरहरू
कहँदैनन्– ईश्वरत्व
चिहानभित्र फेरि बौरेको थाहा पाएर फर्काइएका जस्ता–
डिप्रेसिस्ट दर्जनौँ राष्ट्रवादी कविहरू
लेख्ने आँटै गर्दैनन्– ईश्वरका कविता
यहीँ फुल्छ स्टिफन हकिङलाई सुहाउने गुलाफ
तर चेपिन्छ– त्यो
हस्तरेखाको पोस्तक

र छात्राहरूका टिनएज् अटोग्राफहरूमा
थाहा छैन– यहाँका भद्र कलाकारहरूलाई
थिएटरजस्तो अखबारका प्रभातीय पृष्ठहरूमा
कस्तरी चिच्याउँछ– ईश्वर ?
दासत्वका विदेशी ब्रह्म–भैँसीहरू धपाउँदै धपाउँदै
यहीँबाट फर्कन्छन्– गाउँवादी नेताहरू
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !

यहीँबाट–
जसै आइरहेछ– गृहलक्ष्मीहरूका नारीवादी खित्काहरू
लोकल दादाजस्तो जून चुइँकिरहेछ– बाहिर
झ्यालबाट फुत्त उफ्रिन्छ– बिरालो
फुटाइजान्छ केही टिपिकल गमलाहरू
छेवैको अर्धनिद्रित छिँडीबाट
सुप चपाउँदै निस्कन्छन्– केही उपबुज्रुकहरू
–इराकमाथिको कारबाही…
–देवेगौडाको फेन्टास्टिक् मुस्कान…
–महाकाली सन्धि…
–मिस नेपाल/ग्रेटर नेपाल…
–उग्र राष्ट्रवाद/दैविक राष्ट्रवाद…
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !

यो पेन्टी, ब्रा र मगमगाइरहेको वीर्यको सुगन्ध
–ईश्वर स्त्री हुनुपर्छ
यो गुन्द्रुक, किनेमा
–ईश्वर गाम्ले हुनुपर्छ
यो कार, क्यासिना
–ईश्वर सहरिया हुनुपर्छ
यी त खातेहरू हुन्
अर्को पागल
अर्की सस्तो वेश्या
अरू अरूहरू हुन्
यसरी हेरिरहँदा टाढा देखिने अस्पष्टता
ईश्वरको निर्दोषिता हुन सक्छ

यी भोका पर्खालहरूबाट पखालिँदै गएका नाराहरूसित
ईश्वरको केही अंश हुनुपर्छ
यी नाङ्गा भित्ताहरूबाट च्यातिँदै गउका पम्पलेटहरूसित
ईश्वरको केही अवशेष हुनुपर्छ
भर्खरै रेलिङ तोडेर गएको जुलुसभित्र ईश्वर थिए–थिएनन् ?
यस्तरी सडक भत्केको छ
यस्तरी मन्दिर र गुम्बाहरू भत्केका छन्
लतारिएको छ– बिजुलीको तार
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यहीँनिर–
कुनै आदिम मान्छेको हृदयसित
दु्र्घटित भएको हुनुपर्छ– ईश्वरको बौद्धिकता ।

Yuddha Prasad Mishra – Mushlo Bandai Aayo

युद्धप्रसाद मिश्र – मुश्लो बन्दै आयो

लूटपाटले बलात्कारले
हत्याले हिम चुचुरो नाघ्यो
सबै अवस्थाले चुसिएका
हाडखोरको दुनियाँ जाग्यो

संगीन खेल्दछ पीडितमाथि
अथवा पीडित संगीनमाथि
न्याय उचाल्न जग लाग्यो ताँती
सत्य उठ्यो बलिदान समाती

हृदय हृदयको चर्को आगो
एकै मुश्लो बन्दै आयो
भाग भाग अब धरतीदेखि
देशद्रोही हो भन्दै आयो

आत्म र्समर्पण गर्न नमान्ने-
हरूको ठेलम्ठेला आयो
अमर अभेद्य जनश्रोत उमडिदै
युग परिवर्तन बेला आयो

(०४४ भाद्र )

Rakesh Karki – Rastrako Yojana Fail Bhayo (Nepali Gajal)

राकेश कार्की – राष्ट्रको योजना फेल भयो

नपाउन्जेल चिप्लो तेल भयो
पाएपछि हुप्प फुलेल भयो

देशको शासन जालझेल मात्रै
कानून बिनाको खेल भयो

मान्नेलाई इनाम र बक्सिस
नमान्नेलाई कोर्रा जेल भयो

भोका नाङ्गा दु:खी असाह्यको
आँखामा आँशुको भेल भयो

मुखमा राम राम बगलीमा छुरा
स्वार्थी स्वार्थीको मेल भयो

स्वयंमको योजना बुन्दै थप्दै
राष्ट्रको योजना फेल भयो

– लस् एन्जेलस्

Rupesh Rai – Mero Gaun Ko Bato

रुपेश राई – मेरो गाउँको बाटो

बर्खा लाग्छ… फेरि हिउँद…
क्रमशः फुल्ने, फल्ने, फक्रने अनि फलाउने
क्रमहरू अन्योलमा पर्छ, प्रकृति।

मेरो गाउँको बाटो…
हिलै छ, कताकता चुहेको छ। कहीँकहीँ फाटोको छ।

दर्जी अचेल गाउँमा छैन। फाटेको सिउनलाई।
एमसी अचेल दोकानमा छैन। चुहेको टाल्नलाई।

अनि…
यो बाटो उहिले पनि यस्तै थियो रे…
अहिले पनि यस्तै छ। परिचयहीन। परिचय खोज्दा खोज्दा
यो बाटोले त्यही खिही सकेको चप्पल
त्यही गम्बुट र पानी जुत्ताको आवाज सुनाउछ
आधारातमा, कहिले बिहानै ठिहीमा।

कहिले त्यही आवाज हिस्सी परेर
गन्गनाउदै डोको बिसाउछ, बिड़ी खानलाई
गरीबि डड़ाएर। तरै पनि त्यो बाटोको
खोकन्दी साह्रै गन्हाउछ, पर्फ्युम नपाएर
डेनिमहरूमा घोलिनु नपाएर।

यसै र यो बाटोको पनि कति
इच्छा होला! नाम्लोमै तुहेर गए…
कति सपना होला! डोकोमै रित्तिएर गए…

यो मेरो गाउँको बाटो…!!

-मैसोर, कर्नाटक

Baidyanath Upadhyaya – Jeevan Ko Gati

वैद्यनाथ उपाध्याय – जीवनको गति

कति कुराहरू यस्ता हुन्छन
जस्ले जीवनका गतिनै मोडि दिन्छन।
भित्र भित्रै कति व्यथाहरू
उर्लिरहेका हुन्छन
समुद्रका उछालहरू जस्तै
कसलाई भन्ने?
यी दुखका गाथाहरू
कतिले त सुनेर खिल्लि उडाउलान
अनि कसैले लेग्रो तान्दै
कठैवरा भन्लान
अझ बल्झिएलानि पीडाहरू!
कसैले सहानुभूतिको स्वाँग रचाउँदैमा
कसरी खुलेर भन्न सकिन्छ र
मुटूभित्र बिझेका कुराहरू!
म जुन दुखले भन्दैछु
जे भन्छु
त्यसलाई त्यसै रूपमा
सही सही बुझिदिनेहरू
कहाँ भेटिएलान!
कसैले भन भन्दैमा
कहाँ खुल्छन र
मनका गाँठाहरू!

Rakesh Karki – Satta Ma Pugne Sajilo Bato

इन्जिनियर राकेश कार्की – सत्तामा पुग्ने सजिलो बाटो

हाम्रो देश नेपालमा
बम बिष्फोट गराउनेहरु छन्
चोर औँला ठड्याउँदै
शान्ती खल्बलाउनेहरु छन्

कहिले को पड्काउँदै हिँडछन्
कहिले को पड्काउँदै हिँडछन्
तालिम लिएर दक्ष बनेर
देशको अङ्ग पड्काउँदै हिँडछन्

नियम कानून छैन कतै कस्तो
नेपाली निमुखाको सातै गएजस्तो
सत्तामा पुग्ने सजिलो बाटो
भिजिरहेछ नेपाली रगतले माटो

छाति फुलाएर नाक फुलाएर
घट्नाको जिम्मेवारी आफै लिएर
ढेर लगाउँदै हाड र मासुको
बमैले उडाईदिन्छन् दर्द आँशुको

हिजो पडकाउने आज पड्किन्छन्
आज पडकाउने भोली पड्किन्छन्
जन्मिदै जान्छन् पड्काउनेहरु
बदलिँदै जान्छन् शासकहरु ।।

Hari Manjushri – Rupantaran

हरि मञ्जुश्री – रूपान्तरण

आफ्नो सामाजिक मान्यतालाई रूपान्तरण गर्न
उनीहरूले माया गरे र बिहे गरे
बिहे गरे र फेरि माया गरे
त्यो जीवन पनि नीरस लाग्यो उनीहरूलाई
र जीवनमा आमूल परिवर्तन ल्याउन
उनीहरूले सशस्त्र क्रान्ति गरिरहने रहर गरे
क्रान्तिबाटै शान्ति र आनन्द आउने ठहर गरे
एउटाले आफ्नो हतियार उठायो
र अर्कोमाथि प्रहार गर्यो
अर्कोले हार्न नमान्दा
उसबाट पनि जवाफी कारवाही भयो
यसरी कयौंपटक उनीहरूले
आक्रमण र प्रत्याक्रमणको रणनीति बनाए
र हाँसी हाँसी कार्यान्वयन गरे
उनीहरूकै क्रान्तिको फलस्वरूप
जन्म भयो नयाँ सत्ताको
छोरी र छोराको
शान्ति र आनन्दको
स्वास्नीले छोरीलाई माया गरी
लोग्नेले छोरालाई माया गर्यो
उनीहरूले सोचेजस्तै ल्याइदियो
क्रान्तिले जीवनमा आमूल परिवर्तन
अनि भयो जीवनको रूपान्तरण
तर छोराछोरीको चढ्दो उमेरसँगै
उनीहरूको माग पूरा गर्न नसकेर
अहिले लोग्नेस्वास्नी
हतियार बिसाएर मनमनै पछुताइरहेछन्
पुर्पुरोमा हात राखेर झोक्राइरहेछन्
उनीहरूले क्रान्ति गर्ने सोख यति धेरै पूरा गरिसके
कि अब उनीहरूमा क्रान्ति गर्ने कुनै रहर छैन
उनीहरूले जीवनमा यति धेरै सास्ती खाइसके
कि अब उनीहरूले काट्न बाँकी कुनै कहर छैन ।

Kalanidhi Dahal – Prajatantra Ko Pramithus Ho U

कलानिधि दाहाल – प्रजातन्त्रको प्रमिथस हो ऊ

पूर्वी दिशाको प्रणयपताका
बोकी, फैली फरफर फर्फर !
हृयूँचुली पग्ली र्झन सिपालु
चेतनाताका झरना झर्झर !
पश्चिम उड्ने प्वाँख सजाई
नाग्बेलीका घुम्तीहरूमा !
सजल सजेको मानवताको
बत्ती बलेको एक कलामा !
कल्पतरुझैँ कलरवधुनमा
कल्पनाका चञ्चु उघारी !
फैली शाखा शाश्वत युगका
भाका खोल्ने जलको झारी !
पोथ्रा सिञ्ची वागहरूमा
फक्री गुलाफी पत्र हजार !
प्रजातन्त्रको बत्ती बलेको
हेर्न उजेलो सब संसार
आर्तहरूका आँचल पक्री
मलम लगाई हिँड्न तयार
कलियुगको ऊ मानव बत्ती
नवभाकाको उच्च निधार
टललल टल्क्यो झलल झल्क्यो
उद्बोधनको विद्युत् तार
तरङ्गहरूमा तैरीतैरी
भवको खिच्दै भावुक सार
सललल सङ्लो दिलको खोली
तनको छोप्यो तातो धार
चेतनाताका ज्वार उफारी
सागर छल्क्यो छलछलछल्
बालु किनारा भित्र उमार्यो
अक्षरहरूका बिरुवा कोमल
बिरुवावयमा कतिकति फक्रे
रागसुवासी सुन्दर सार
यमुना किनारा टुकुटुकु दौड्यो
प्रणयलताका पक्री धार
शाहजाहँको सुन्दर खोपी
ज्वरशमनाको खोली द्वार
यसजगमा ऊ तप्क्यो तपतप
शीत सजाई, बाजु बजाई
गौरवगहमा लाई धाप
ताप बलेको अनलाग्निमा
हिमचुलीको ऊ एक धरोहर
तपतप पग्ली थपथप अग्ली
गगन छोई चुक्छ सरोहर
पग्ली पुग्दछ झोपडी चुम्न
फैली सवेरै झिल्का छर्न
प्रमिथसको ऊ दिव्य मुटु हो
एक्लै हिँड्दछ पीडा हर्न
अक्षर वनका कल्पतरुमा
मानवताका शाखालाई
दिव्य दयाका लहर लताका
धर्तीबाटै क्षितिज सजाई
किरणप्रभाका साथ ऊ ओर्ली
तिरमिर तारा फैलिरहेछ
फैलिफैली जनका मनमा
हिमचुलीजस्तै अग्लीरहेछ
अग्लीअग्ली भरना बन्दै
इन्द्रेनीमा पग्लीरहेछ
प्रजातन्त्रको प्रमिथस हो ऊ
अमरपताका फैलिरहेछ
भावहरूका दिलदिल भाका
सिमसिम झरीझैँ तैरिरहेछ

-ओखलढुङ्गा, बिगुटार

Shekhar Dhungel – Khatara Jindagi

कहिले कता दुख्छ
कहिले कता घोच्छ
आज भोलि त
डा. बाको
वर्कसप मै दिन बित्ने भो
किनकि जिन्दगी खतरा भो

तान्नु जति तानियो
घिसार्नु जति घिसारियो
अनिश्चित गन्तब्यको यात्रा
अब लरखराउन थाल्यो
किनकि जिन्दगी खतरा भो
घटाउछु भन्यो
जिम्मेवारीको भार
झनै थपिंदै गयो
मार्छु भन्यो मनको आशा
झनै तङ्रिदै गो
यसरी नै जाने हो भने त
जिन्दगी बिना चैन डुब्ने भो
किनकि जिन्दगी त खतरा भो

जुत्ता मात्र फेरेर के गर्नु ?
खुट्टा लुलो भैगो
जति क्रिम दले पनि
छालाले हड्डी छोडि गो
किनकि जिन्दगी खतरा भो
सुन्या थियो ओल्ड इज गोल्ड
यहाँ त खोइ न्यु कै ठूलो मोल
उहिल्या’ कुरा खुइले
उस्का कुरा कस्ले सुन्ने ?
किनकि उ त खतरा भो

टाउकामा हफ्तै पिच्छे
पेन्ट गर्नु पर्ने भो
आँखामा वाइपर थप्दा पनि
साँझ परेसि देख्नै गार्हो भो
इन्जिन थोत्रो भे’ पछी
टायर् फेरेर के पो हुन्छ हो ?
किनकि जिन्दगी खतरा भो

चाहिने तालुको रौं झरेर
न चाहिने कान र नाकमा
बढ्न गो
जति शक्तिबर्धक पेले पनि
झन त पचाउन नै गार्हो भो
किनकि जिन्दगी खतरा भो